
म त पोएट आइडललाई क्रान्तिको रूपमा देख्छु, कविताको क्रान्ति । प्रभाव अवश्य पार्छ र प्रभाव पनि राम्रै पार्छ, पारिेहेको छ र पारिरहनेछ ।
“द पोइट आइडल” को मञ्चबाट बाहिरिनु भएका कविहरुसँग गरिँदै आएको कुराकानीका क्रममा आज भने स्याङ्जाका कवि अस्मित भुसाल अर्थात् अव्यग्र अस्मितसँगको कुराकानी प्रस्तुत गर्नेछौँ । कवि अस्मित आइडलको उत्कृष्ट ११ मा पुगेर बाहिरिनु भएको छ । झापाकी कवि मल्लिका खतिवडासँगको अन्तिम प्रतिस्पर्धामा कवि अस्मित २२.५ अङ्कको अन्तरले पराजित हुनु भएको हो । दुई सय पूर्णाङ्कको “आशु कवि राउण्ड” मा कवि मल्लिकाले १५२.५ अङ्क र कवि अस्मितले १३० अङ्क प्राप्त गर्नुभएको थियो ।
हरेक हप्ता सबैभन्दा कम्ती भोट प्राप्त गर्ने दुई जना कवि रेड जोन अर्थात बटम टुमा पर्ने गर्छन् । बटम टुमा परेका कविहरु बिच पुन: प्रतिस्पर्धा गराइन्छ । जसका लागि निर्णायकहरुद्वारा दिइएको विषयमा आधा घण्टाभित्र कविता लेखिसक्नु पर्ने हुन्छ । कवि अस्मित गत फागुन ४ गते बिहीबार प्रसारित आइडलको १५ औँ एपिसोडबाट बाहिरिनु भएको हो । यो हप्ता फागुन ११ गते बिहीबार १७ औँ एपिसोडबाट महेन्द्रनगरकी कवि पिङ्की बोहोरा बाहिरिनु भएको छ । आइडलको मञ्चमा अब ३ महिलासहित ९ जना कविहरु प्रतिस्पर्धामा हुनुहुन्छ ।
कवि अव्यग्र अस्मितको जन्म स्याङ्जाको पुतलीबजार नगरपालिका – १३ मा २०६१ साल असोज १९ गते भएको हो । आमा देवका भुसाल र बुबा याम नारायण भुसालका उहाँ कान्छो सन्तान हुनुहुन्छ । अध्ययनको सिलसिलामा हाल उहाँ पोखरामा बस्दै आउनु भएको छ । उहाँ पोखरास्थित पिएन क्याम्पसमा BSC. CSIT को विद्यार्थी हुनुहुन्छ । २०७६ साल अर्थात् १५ वर्षको उमेरबाट कविता लेखनको यात्रा प्रारम्भ गर्नुभएका कवि अस्मित विशेषगरी छन्दमा कलम चलाउनु हुन्छ । १८ वर्षकै उमेरमा यो किसिमको काव्यिक चेत, छन्दप्रतिको ज्ञान र लगाब आफैँमा सुन्दर कुरा हो उहाँका लागि पनि र नेपाली कविता जगतका लागि पनि ।
कविताका अलवा निबन्ध लेखनमा पनि रुची राख्नु हुने कवि अस्मित गायन र नृत्यमा पनि चासो देखाउनु हुन्छ । उहाँको अर्को रुचीको विषय यात्रामा निस्कनु पनि हो । छोटै भए पनि आफ्नो लेखन यात्रा रमाइलो भइरहेको र आगामी दिनमा अझै रमाइलो बनाउँदै लैजाने योजना रहेको उहाँ सुनाउनु हुन्छ । जहाँ धारणा/भावना हुन्छ त्यहाँ स्वतः कविताको जन्म हुने कुरामा उहाँ विश्वास राख्नुहुन्छ । कवि अस्मित पोखरामा सञ्चालन भइरहेको पठन संस्कृति अभियानका संयोजक हुनुहुन्छ । त्यसैगरी उहाँ याक्टिभ सोसल सर्भिस एण्ड लिटरी युनिट नेपाल र राष्ट्रका लागि सिर्जना- नेपालमा आबद्ध रहेर साहित्यिक गतिविधिमा पनि सक्रिय हुनुहुन्छ । विभिन्न कविता प्रतियोगितामा भाग लिएर विजेता बन्दै आउनु भएका कवि अस्मित पोइट्री अफ प्रतिभाबाट सम्मानित हुनुहुन्छ ।
कवि अस्मितसँगको कुराकानी सुरु गर्नुभन्दा पहिले पोइट आइडलको बारेमा अलिकति भन्छु है त ? कत्ति भन्नु परेको ? भन्नु होला । के गर्नु ? भन्न मन लागिहाल्छ त ।
जो कवितामा केही नयाँ गर्न चाहन्छ उसका लागि पनि र जो वषौँदेखि कविता लेख्दै आएको थियो तर नेपाली साहित्यको मानिँदै आएको मूलधारले पत्याइरहेको थिएन अथवा भनौँ चिनिरहेको थिएन, उसका लागि पनि पोइट आइडल एउटा अवसर बनेर आएको छ । जस्तो ताप्लेजुङका कवि लक्ष्मी प्रसाद मादेन अर्थात् लेकाली कान्छा मुक्कुम पहिलो पटक काठमाडौँ आउनु भयो । कविता र पोइट आइडलले यो मौका जुराइदियो । जीवनको ४२ औँ वसन्त पार गर्दै गर्दा पहिलो पटक राजधानीको अनुहार हेर्न पनि कवि लेकाली कान्छालाई पोइट आइडल आउनु पर्यो ।
पोइट आइडलले यो अवसर नजुराएको भए काठमाडौँ टेक्ने अवसर पाउनु हुन्थ्यो, हुन्थेन स्वयम् उहाँलाई पनि थाहा छैन । आइडलको उत्कृष्ट १४ मा पुग्न सफल कविहरुलाई आज विश्वभर रहेका नेपाली भाषी कविताप्रेमीहरुले चिन्नु भएको छ । उहाँहरुका कवितालाई मन पराइदिनु भएको छ । पोइट आइडल नआइदिएको भए हामीले उहाँहरुलाई यसरी सायदै चिन्थ्यौँ होला । नेपाली साहित्यको स्वघोषित केन्द्रमा हुनुको अहमताले पनि आज दूरदराजका कविताहरु सुनिरहेको छ । त्यो पनि फरक स्वाद र फरक शैलीमा ।
पोइट आइडलकै कारण योगेश भट्टराई जस्ता चर्चित नेताहरुको पनि ध्यान कवितामा आकर्षित हुन पुगेको छ । त्यति मात्रै होइन नेता भट्टराईले ताप्लेजुङका कवि लेकाली कान्छा मुक्कुमलाई जिताइ दिन अनुरोध गर्दै फेसबुकमार्फत भोटका लागि अपिल गरिदिनु भएको छ । हिजो कवि मुक्कुमहरुले उहाँलाई भोट दिएर पठाए । आज उहाँहरुले मुक्कुमका लागि भोट मागिदिनु भएको छ । रमाइलो छैन त ? योभन्दा सुन्दर पक्ष आइडलको अर्को के हुन सक्ला र ? एउटा कुरा याद आयो । कमेडी च्याम्पियनको दोस्रो सिजनका प्रतिस्पर्धी भरतमणि पौडेललाई पनि भोट गरिदिन आग्रह गर्दै नेता भट्टराईले अपिल गर्नुभएको थियो । पछि च्याम्पियनको उपाधी तिनै ताप्लेजुङ निवासी कमेडियन पौडेलले जितेका थिए । अब पोइट आइडलमा पनि कतै ? प्रश्न उब्जिन सक्छ ।
पोइट आइडलको बारेमा आज यहाँ भन्दा धेरै चाहिँ नभनौँ होला । किनभने यसअघिका लेखहरुमा यसको बारेमा थुप्रै कुराहरू भनिसकेको छु । अब अलिकति चाहिँ भन्छु है त ? पोइट आइडल AP1 टेलिभिजनमा हरेक बिहीबार र शुक्रबार राती ८:३० बजे प्रसारण हुन्छ भने पछि OSR रियालिटीको युट्युब च्यानलमा पनि हेर्न सकिनेछ ।
आइडलबाट बाहिरिने कविहरुसँग गरिँदै आएको कुराकानीमा केही प्रश्नहरु एउटै छन् । यसलाई अन्यथा नलिइदिनु होला । किनभने सबैसँग एउटै विषय बस्तुमा केन्द्रित रहेर कुराकानी गर्नु पर्ने हुँदा प्रश्नहरुको पुनरावृत्ति हुनु स्वभाविक हो भन्छ अन्तरवार्ताको सिद्धान्तले । यस्तो सिद्धान्त कहाँ पढिस् ? भन्नुहोला । म आफैँले लाज पचाएर बनाएको सिद्धान्त हो । अब लागौँ कवि अव्यग्र अस्मितसँग गरिएको कुराकानीको सम्पादित अंशतर्फ !
***
अहिले कस्तो लागिरहेको छ ?
– गजब लागिरहेको छ ।
पोइट आइडलको मञ्चबाट बिदा हुँदै गर्दा तपाईं मुस्कुराइरहनु भएको थियो । साँच्चै खुसी भएर मुस्कुराउनु भएको थियो अथवा पीडा नदेखियोस् भनेर ?
– आफ्नो पीडा आफूसँग लुकाउन सकिन्छ होला त, दाजु ?
पोएट आइडलको यस प्रक्रियालाई मैले आत्मसात गरिसकेको थिएँ । त्यही कारण पनि म त्यति दुखी थिइनँ । पोएट आइडलले मलाई जति दियो त्यतिमा म खुसी छु ।
हिजोको कवि अस्मित र अहिले पोइट आइडलपछिको कवि अस्मितमा के कति परिवर्तन भएको महसुस गरिरहनु भएको छ ?
– मभित्रको अनुभवको घैँटो अलिकति भरिन पुग्यो ।
सामाजिक सञ्जालमा तपाईंलाई माया गर्नेहरु र तपाईंका लागि भोट अपिल गर्नेहरुको माहोल हेर्दा तपाईं यति चाँडै रेड जोनमा पर्नु होला जस्तो लागेको थिएन । कहाँनेर हिसाब मिलेन ?
– द पोइट आइडल एउटा खेल हो र खेल जतिबेला पनि परिवर्तन हुनसक्छ ।
भोटका आधारमा “रेड जोन” अर्थात् बटम टुमा परेपछि आइडलको मञ्चमा एक महिलाले चिया पकाउँदै गरेको दृष्य देखाइन्छ । त्यसमाथि कविता लेख्नका लागि ३० मिनेटको समय दिइएको थियो । त्यसरी दिइएको विषयमा आधा घण्टाभित्र कविता लेख्न कत्तिको गाह्रो हुँदो रहेछ ?
– संसारमा सायदै केही कुरा सजिलो होला । त्यहीँमाथि ३० मिनेटमा कविता लेख्नु भनेको सामान्य कुरा होइन । आशु कवि हुन सजिलो कहाँ छ र ? अब कतिबेला मनमा के भाव/विचार आउँछ भने कुन बेला लेख्नै मन लाग्दैन । अब त्यो ३० मिनेटमा यदि त्यस्तो केही कुराले छोएकै छैन भने कविता जबरजस्ती लेख्नुपर्ने हुन्छ । “लेखिने” र “लेखाइने” कवितामा तपाईंले फरक त छुट्टाउन सकिहाल्नु हुन्छ ।
विषय बस्तु हेरिसकेपछि कविता लेख्न सुरु गर्नुभन्दा पहिले हातले निधार र छातीलाई छुँदै ढोग्नु भएको थियो । के सम्झेर अथवा कसलाई सम्झेर त्यसरी ढोग्नु भएको थियो ?
– हाम्रो हिन्दुशास्त्रअनुसार केही कर्म गर्नु अगाडि गणेश देवतालाई सम्झिनु अनिवार्य छ । मैले हरेक कर्म गर्नु अघि भगवान् गणेशलाई स्मरण गर्दै कार्य आरम्भ गर्ने गरेको छु । साथै कविता लेख्ने बेलामा मैले देवी सरस्वतीलाई पनि स्मरण गर्दै ढोगेको थिएँ ।
कविताका लागि देखाइएको उक्त विषय बस्तु हेर्दै गर्दा त्यसमा कस्तो कविता लेख्न सकिएला भन्ने लागेको थियो ?
– मैले त केही पनि सोचेको थिइन । कलम आफैँ चल्दै गयो । कविता बन्यो कि के बन्यो कुन्नी ?
तपाईंसँगै समूह B मा रहनु भएकी कवि मल्लिका खतिवडासँग आफू पनि रेड जोनमा पर्दा कस्तो महसुस गर्नुभएको थियो ?
– अब आफू रेड जोनमा पर्दा कसलाई चाहिँ नराम्रो नलाग्ला र ? अझ त्यहीँमाथि आफूसँग अत्यन्तै नजिक भएकी प्रिय दिदी र साथै उच्च कवित्वपन भएकी कवि मल्लिका खतिवडासँग । “खर्बुजा चक्कुमा खसे पनि अथवा चक्कु खर्बुजामा खसे पनि काटिन त आखिर खर्बुजाले नै पर्छ” भने जस्तै हामीमध्ये जो आउट भएपनि छुट्टिने भनेको हामी नै थियौँ ।
कवि मल्लिकासँग बटम टुमा परेपछि उहाँसँग अन्तिम प्रतिस्पर्धा गर्दै गर्दा पोइट आइडलमा आफ्नो यात्रा अघि बढ्छ अथवा यहीँ टुङ्गिन्छ, के लागेको थियो ?
– मलाई के लाग्छ भने मैले जे गर्छु त्यो मेरो कर्म हो । यदि मैले जे गर्न खोज्छु र त्यो कुरा पूरा हुँदैन भने त्यो पनि मेरो कर्म नै हो । सोही कारण मैले केही सोचेको थिइनँ । जे हुन्छ स्वतः हुन्छ ।
१८ वर्षकै उमेरमा र कविता लेखनको छोटो समयमै पोइट आइडलको उत्कृष्ट ११ मा पुगेर प्राप्त गरेको यो सफलतालाई कसरी हेर्नुहुन्छ ?
– जीवनमा कि जितेर सिकिन्छ कि हारेर सिकिन्छ । तर सिकिन्छ । त्यही कारण म यसलाई सिकाइ र अनुभवको रूपमा हेर्छु ।
नेपालका अन्य रियालिटी शोलाई आधार मानेर भन्ने हो भने कार्यक्रमले स्रष्टालाई केही समयसम्म चर्चामा ल्याइदिने तर पछि बिस्तारै सर्जक हराउँदै जाने परिपाटी खुब छ हाम्रोमा । कवि अव्यग्र अस्मितको अवस्था त्यस्तो हुँदैन भनेर हामीले विश्वास गर्न सक्ने ठाउँ कत्तिको छ ?
– म आफ्नो कर्म गर्दै जानेछु । म हराउने र भेटिने कुरा अब आफ्नै ठाउँमा छन् ।
आइडलमा भाग लिएर एक किसिमको पहिचान बनाइसकेको कवि अव्यग्र अस्मितको भोलिका दिनमा कविता लेखन यात्रा कसरी अघि बढ्ला ?
– अब झन् द्रुत गतिमा बढ्नेछ ।
पोइट आइडलमा छानिएका उत्कृष्ट १४ जना कविहरुमध्ये छन्दमा कलम चलाउने तपाईं मात्र हुनुहुन्थ्यो । यसलाई कसरी हेर्नुहुन्छ ?
– छन्दको प्रतिनिधित्व गरेको भन्दै गर्वका रूपमा पनि हेर्छु । यस विधालाई संरक्षण र युवा वर्गमाझ पुर्याउन सकेकोमा खुसी छु ।
छन्द कवितामार्फत आइडलको मञ्चमा तपाईंले जुन किसिमको प्रस्तुति दिनुभयो त्यो निकै गज्जबको थियो । छन्द कवितालाई आइडलको मञ्चमा त्यसरी प्रस्तुत गर्न सकिएला भन्ने लागेको थियो पहिले ?
– सुरुमा त कसरी गर्ने होला ? भनेर म अचम्ममा थिएँ । तर हरेक कुरा समयसँगै हुँदै जाने रहेछ ।
युवा पुस्तामा कविताप्रति प्रेम हुनु, त्यसमा पनि छन्दको कठिन बाटो रोज्नु आफैँमा ठुलो कुरा हो । कवितामा छन्दप्रतिको मोह चाहिँ कसरी जाग्यो ?
– मैले १० कक्षाको अन्तिमबाट पद्य कविता लेख्न सुरु गरेँ । कक्षा ११ मा पढ्दै गर्दा मैले युट्युबमा छन्द कविता सुनेँ र त्यही छन्द कविताले मलाई छन्दप्रति मोह जगायो ।
आइडलको क्लोज क्याम्पको माहोल चाहिँ कस्तो थियो ? साथै त्यहाँ हुने कविहरु आफैँमा एक अर्काका प्रतिस्पर्धी पनि हुन् । आपसी सम्बन्ध चाहिँ कस्तो रह्यो ? फेरि तपाईं त १४ जनामा सबैभन्दा कान्छो कवि पनि । कत्तिको माया पाइयो साथीहरूबाट ?
– क्लोज क्याम्पले घरको न्यास्रो लाग्न दिएन । कान्छो हुनुको निकै फाइदा छन् । सबैभन्दा बढी माया पाइने रहेछ । मैले सोचेको भन्दा बढी माया पाएँ । उहाँहरूबाट भौतिक रूपमा टाढिँदा अलिकति दुःख छ । तपाईंहरुको कान्छोले तपाईंहरुलाई धेरै माया गरिरहनेछ ।
विभिन्न विषय दिएर कविता लेखाउने पोइट आइडलको तरिका कस्तो लाग्यो ?
– गजबको लाग्यो । यसले अभ्यास र साधना बढाउँछ ।
द पोइट आइडल हुँदैछ भनेर कहिले/कसरी थापा पाउनु भएको थियो र यो समाचार पहिलो पटक सुन्दा/पढ्दा कस्तो महसुस गर्नुभएको थियो ?
– सामाजिक सञ्जालबाट नै थाहा पाएको हो । सुरुमा खबर सुन्दा अब कविहरूका पनि दिन आए भने जस्तो लागेको थियो ।
पोइट आइडलमा भाग लिएर कहाँसम्म पुग्छु भन्ने सोच्नु भएको थियो सुरुमा चाहिँ ?
– कहाँसम्म पुग्छु यो सोचेको थिएन । तर जुन दिन निस्कन्छु सबको मन जितेर निस्कछु भनेर सोचेको थिएँ ।
पोइट आइडलमा भाग लिएर विशेष के कुरा सिक्नु भयो कविता सम्बन्धि ?
– कविता भावना हो । कविता हृदयको भाषा हो । कविता जस्तो पनि हुन सक्ने रहेछ ।
पोइट आइडललाई समग्रमा कसरी हेर्नुहुन्छ ? यस किसिमका कार्यक्रमहरुले नेपाली कविताको क्षेत्रमा कस्तो प्रभाव पार्ला भन्ने यहाँलाई लाग्छ ?
– म त पोएट आइडललाई क्रान्तिको रूपमा देख्छु, कविताको क्रान्ति । प्रभाव अवश्य पार्छ र प्रभाव पनि राम्रै पार्छ, पारिेहेको छ र पारिरहनेछ ।
पाेइट आइडलको यात्रा अवधिभरमा अहिले तपाईंले सबैभन्दा धेरै मिस गर्ने कुरा के हो ?
– पोएट आइडलमा बिताएका हरेक क्षण ।
जाँदाजाँदै अन्त्यमा केही ?
-यी सबै कुराका लागि पोइट आइडललाई धन्यवाद छ । म सधैँ पोइट आइडलको साथमा हुनेछु । सबैलाई माया छ । तपाईं डिजी दाजु र साहित्यपोस्टलाई पनि धन्यवाद छ । मबाट कयौँ गल्ती भएका छन् । सानो बच्चा सोचेर क्षमा गरिदिनु होला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

साताका पुस्तक : भवानी पाण्डेकाे ‘अक्षुण्ण’देखि विवेक ओझाको ‘ऐँठन’सम्म

फिल्मले नै आत्महत्या गर्नबाट बचाएको ‘नाटु नाटु’का कोरियोग्राफर
