
गोवर्धन पूजा नेपाली साहित्यमा एक सुपरिचित नाम हो । प्रवासमा रहेर पनि नेपाली साहत्यको विकासमा अति सक्रिय पूजा अहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष छन् । आफ्नो अध्यक्ष-कार्यकाललाई उपलब्धिमूलक पार्न उनी अति सक्रिय देखिएका पनि छन् । सरल एवं मृदुभाषी गोवर्धन पूजाका कविताहरू निकै चर्चित छन् । प्रस्तुत छ साहित्य पोष्टका लागि विश्वराज अधिकारीले गोवर्धन पूजासँग गर्नु भएको कुराकानी ।
अचेल के गर्दै हुनुहुन्छ ?
एउटा साहित्यको विद्यार्थी हुनुको आनन्दमा रमाइरहेको छु । सिर्जनात्मक लेखन एक हातमा छ भने अर्को हातमा अनेसासको नेतृत्वदायी कर्म लिएर दौडिरहेको छु ।
अहिले तपाईं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अध्यक्ष पदमा रहनु भएको छ । आफ्नो कार्यकालमा नेपाली साहित्यको विकासमा के के गर्ने योजना निर्माण गर्नु भएको छ ?
लामो इतिहास बोकेको अनेसासलाई भाषा र साहित्यको व्यवस्थित साझा संस्था बनाउन प्रयासरत छु । नियमित कार्यक्रम र दीर्घकालीन योजनामा लागिरहेको छु । नेपाली साहित्यलाई भूगोलको सबै भागमा पुर्याउन सबैसँग सहकार्यको हात मागिरहेको छु ।
तपाईं सम्बद्ध रहेको संस्था अनेसासलाई ‘केही व्यक्तिहरूको झोले संस्था’ भन्नेहरू पनि छन् । यो भनाइप्रति तपाईंको प्रतिक्रिया के होला ?
पक्कै पनि हाम्रो संस्थाको स्थायी घर छैन, सबै सामग्री झोलामा अटाउनु परेको कारण सीधा अर्थमा अनेसास झोले संस्था हो भन्न सकिन्छ । तर सबैको मनमा बसेको भाषा र साहित्यको संवर्द्धनमा लागेको संस्था पवित्र मन्दिरजस्तै छ । प्रवासमा अनेसासजस्तो र जत्रो सबैको मनमा बस्न सकेको संस्था अर्को कुनै पनि छैन । र अझै केही समयसम्म यो क्रम भङ्ग पनि हुनेछैन ।
अर्को कुरा , तपाईंले कतैबाट सुन्नु भएको आरोप हो भने म यसको प्रतिवाद गर्छु । अनेसासको विधान अनुरुप प्रत्येक दुई-दुई वर्षमा केन्द्रीय कार्यसमितिको निर्वाचन हुन्छ र नयाँ कार्यसमिति आउँछ । यसको आफ्नै बोर्ड परिषद् छ, चार-चार वर्षमा निर्वाचन हुन्छ । च्याप्टरहरू पनि समयमै निवाचन गर्न निर्देशित छन् । आजीवन सदस्यहरूको हक र अधिकार सुरक्षित छ । हो अपवाद जुनसुकै संस्थामा पनि हुन्छ । विरोध र आरोप जहाँ पनि हुन्छ तर अनेसास गाली गर्नेहरूले पनि सम्मान गर्ने संस्था हो ।
अनेसासले नेपालभित्र एवं बाहिर नेपाली साहित्यको विकासमा के कस्तो योगदान पुर्याएको छ ?
नेपाल भित्रका साहित्यकारहरूको कृति पुरस्कृत गर्ने, सम्मान गर्ने, सभा-सम्मेलन गरेर देश-विदेशको भ्रमणको अवसर प्रदान गर्ने जस्ता काम गरिरहेका छौँ भने बाहिर बस्नेको कृति प्रकाशनमा सहयोग गर्ने, साहित्यिक सभा-सम्मेलन गरेर सिर्जना गर्न प्रेरित गर्ने, कृति प्रकाशनमा सहयोग गर्ने, सुझाव दिने, प्रशिक्षण दिने लगायतको काम गरिरहेका छौँ ।
नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु पर्छ भन्ने गरिन्छ। अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने भनेको के हो ?
सबैको आवाज यस्तै सुन्ने गरेको छु । नेपाली साहित्यलाई विदेशमा रहेका नेपाली भाषी साहित्यकारसम्म पुर्याउने एउटा आवाज हो भने नेपाली साहित्यलाई अनुवाद गरेर अनेपाली भाषीसम्म पुर्याउनु अर्को आवाज हो । वास्तवमा पहिलो उद्देश्यमा हामीले यतिखेर धेरै काम गरिरहेका छौँ भने केही कृति अनुवाद गरेर अनेपाली भाषीसम्म पुर्याउने अर्को प्रयासमा पनि हामी सजक छौँ ।
नेपाली भाषाका कृति अंग्रेजीमा अनुवाद गरेर नेपाली पाठकलाई नै किन्न लगाउने वातावरण हटाएर अनेपाली भाषीसम्म पुर्याउने प्रयासमा लाग्नु आजको आवश्यकता हो।
नेपालको साहित्यिक क्षेत्रमा अति गुटबन्दी छ । कृति चर्चा, पुरस्कार, आदिमा पनि गुटबन्दीले अति प्रभाव पारेको छ । राम्रो होइन, हाम्रो मान्छेलाई पुरस्कार दिने, सम्मान गर्ने, खादा ओढाउने चलन छ । के यी भनाइहरू सत्य हुन् ?
सबै सुनेका कुरा सत्य नहुन सक्छन्, तर केही सत्य नसुनेका पनि हुन सक्छन् । सम्बन्ध र सम्पर्कले प्रभाव नपारेको कुनै पनि क्षेत्र छैन र हुँदैन पनि । सीधा अर्थमा भन्ने हो भने स्वार्थ सबैमा हुन्छ । तर यो स्वार्थ कहाँ कति लगाउने भन्ने महत्त्वपूर्ण हुन आउँछ । नेपाली साहित्यमा गुटबन्दी पक्कै छ । कतिपय लेख्न भन्दा गुट बनाउन व्यस्त देखिएका पनि छन् । यसले क्षणिक रुपमा लेखकलाई चिनाउन सक्ला तर लेखनलाई बचाउन त सक्दैन । बाँच्ने त आखिर कृति नै हो ।
अर्को कुरा पुरस्कार सम्मानको लेनदेन सामान्य कुरा होइन, चल्छ, चलेको पनि छ, चलिरहन्छ । खादा ओढ्ने र ओढाउने परम्परा चलेको छ र चलिरहन्छ । यो प्रचलन पानीको फोकाजस्तै देखिने सुन्दरता होला तर अनुभूत गरिने सागर बन्न कदापि सक्दैन । अमर रहने त सिर्जना नै हो ।
नेपाली साहित्यको विकासमा के के कुराहरू समस्याको रुपमा प्रस्तुत भएको देख्नुहुन्छ ?
समस्या जहाँ पनि छ र हुन्छ । यसलाई जितेर देखाउनु विजेताको कर्म हो । नेपाली लेखकले लेखेर बाँच्न सक्ने दिन आएको खण्डमा यावत समस्या समस्याका रूपमा रहँदैनन् । देश- विदेश जहाँ बस्ने लेखक पनि दाना- पानीकै लागि संघर्षरत छन् । खाडीमा बस्ने लेखकहरू पारिवारिक ऋण तिर्न पसिना बगाइरहेका छन् । अमेरिका- युरोपमा बस्ने लेखकहरू गाडी, घर, आदिको ऋण तिर्न हडबडाई रहेका छन् । नेपालका लेखकहरू यी दुबै समस्यालाई जित्न प्रयास गरिरहेका छन् ।
बढीभन्दा बढी पाठकहरूले साहित्य पढ्ने र पुस्तकहरू खरिद गर्ने वातावरण सृजना गर्न के गर्नु पर्छ होला ?
पाठकले मनमा शान्ति लिएर फुर्सदसाथ कृति पढ्न पाउने दिन आएमा पुस्तक बिक्नेछन् । यसका लागि समय र सम्पत्ति पहिलो आवश्यकता हो ।
नेपाली सिनेमा जगतका चर्चित व्यक्तित्व एक साहित्यकार प्रकाश सायमीले केही दिन पहिले एक कार्यक्रममा ‘गोवर्धन पूजा कवि होइन कविता हुन्’ भन्नुभएको थियो । उहाँले त्यस्तो के सन्दर्भमा भन्नु भएको हो ?
गोवर्द्धन पूजालाई नजिकबाट चिन्ने व्यक्तित्वमध्ये प्रकाश सायमी पनि एक हुन् । हाम्रो लामो सम्बन्ध छ । मेरा निजी जीवन र साहित्यिक जीवन दुबै उनले पढेका छन् । त्यसैले मेरो सरलपना, जीवनबोध, मैले भोगेको सामाजिक घटनाबस्तु सबै सबै कविताजस्तै हुनु म कविता हुनु हो कि ?
हालै तपाईंद्वारा लिखित कवितासङ्ग्रह ‘पीडाअवतार’ को दोस्रो संस्करण प्रकाशित भएको छ । पहिलो संस्करण बजारमा नभएर दोस्रो संस्करण प्रकाशित भएको हो ?
हजुर, पक्कै हो । २०५७ मा १ हजारप्रति छापिएको सबै प्रति सकिएकोले छापिएको हो । त्यतिबेला १ हजार छापिनु पनि ठूलो संख्या थियो। हुन त अहिले पनि १ हजार नै छापिन्छन् ।
पीडाअवतारका पाठकहरूले यो एक उत्कृष्ट कविता सङ्ग्रह हुन पुगेका भनेका छन् । के त्यस्ता भन्नेहरूले तपाईंलाई खुसी पार्न भनेका हुन् ?
पीडाअवतारमा मैले प्रतियोगितामा पुरस्कार जितेका कविताहरूलाई बढी स्थान दिएको छु । मैले त्यतिबेला लेखेका कवितामध्ये एक चौथाईलाई ‘सेलेक्सन’ गरेको थिएँ, ‘कलेक्सन’ मात्र गरेको थिइनँ । त्यो कारणले पनि मन पराइएको हुन सक्छ । तर दोस्राे कविता कृति ‘वाचाल ओठहरु” पनि पाठकले मन पराएको अर्को कृति हो, जसको राम्रो बिक्री भएको थियो।
साहित्य लेखेपछि, वा साहित्यकारले आफ्नो मनोभाव एवं विचार पाठक समक्ष पुर्याउने हो वा पाठकहरूले माग गरेअनुसारका सामग्रीहरू लेखेर पुर्याउने हो ?
म चाहिँ पहिले समाज र पाठक हेर्छु । समाजमा चलेका प्रचनन वा प्रथालाई सिर्जनामा उतार्न रुचाउँछु। यसो गर्नु भनेको हामी ( मैले) ले बाँचेको समाजको चित्रण गर्नु पनि हो । पत्रकारले समाचार लेख्छ । जे देख्छ त्येही लेख्छ । पाठकलाई सूचित गर्छ । साहित्यकारले साहित्य सृजना गर्छ । आफ्नो विचार समेत पनि पाठकहरूलाई दिन्छ।
साहित्यकारहरूले साहित्य सृजना आफ्नो सन्तुष्टिको लागि लेख्ने हो वा समाजको लागि लेख्ने हो ?
साहित्यकार भन्नु पनि समाजको एक अङ्ग नै हो । लेखनमा लेखक सन्तुष्ट हुनु भनेको समाज सन्तुष्ट हुनु पनि हो । यसैले यी दुबै एकै हुन् भन्ने ठान्नु पर्ला ।
कविताप्रति तपाईंको रुचि किन अधिक रहेको होला ?
म कथा लेखनबाट भित्रिएको हुँ । उपन्यासको प्रकाशन पहिलो भयो । गजलको प्रचार र प्रसारमा लागेँ । रहरमा हाइकू, तांका, मुक्तक लेखेँ र लेखिरहेको छु । सबैभन्दा बढी यात्रासंस्मरण लेखेँ। मैले एम.ए. नेपालीमा नै गरेको हुँ । मेरो थेसिस पनि मैले यात्रा संस्मरणमा नै लेखेको थिएँ । तर प्रस्तुति गर्न सजिलो र सन्तुष्टि पनि धेरै कवितामा पाइने हुनाले म कविता लेख्दा बढी रमाउने गर्छु ।
आफ्ना कविताहरूमा तपाईं के भन्न चाहनुहुन्छ ?
कवितामा म जीवनको एक अंश देखाउने प्रयास गर्छु । त्यो मैले भोगेको, देखेको वा देख्न चाहेको जुनसुकै पनि हुने गर्छ।
तपाईंका कविताका उद्गम स्थलहरू तपाईंका विचार हुन् वा खास कुनै विशेष परिस्थितिहरू हुन् ?
म आफ्नो सिर्जनामा मेरा विचारलाई कम र विशेष परिस्थितिलाई बढी स्थान दिन्छु । यसैले मेरा कविता सबैको साझा अनुभूति बनाउने प्रयासका मेरा अनुभूतिका रङ पनि हुने गर्दछन् ।
पिडाअवतारभित्र रहेका कविताहरूले निकै चर्चा पाए । त्यसरी चर्चा पाउनुको पृष्ठ-कारण ती कविताहरूलाई जन्म दिने विशेष परिस्थिति हुन् वा तपाईंका चिन्तन धाराहरू हुन् ?
यसमा विशेष परिस्थिति पनि छन् । तर बढी चिन्तन धारा पनि हुन सक्छन् ।
‘विदेशमा बसेका नेपालीहरू र खास गरी मध्यम वर्गीय नेपालीहरूले विदेशमा बसेर नेपालको निकै आलोचना गर्छन्।’ नेपालमा धेरै व्यक्तिहरूले यस्तो भनेको पाइन्छ । के उनीहरूको त्यो भनाइ सत्य हो ?
हो, यस्तो मैले पनि अनुभूत गरेको छु । मलाई पनि ‘भगुवा’ भन्ने साथीहरू छन् । कसैले मायाले भन्छन् , कसैले मिल्ने साथी छुटेको चोटमा पनि भन्छन् । अझ भेटेर ‘जाँड” खाएको बेलामा त यो प्रेमले भन्छन् ।
देश छोड्नु मेरा लागि रहरभन्दा पनि बाध्यता भयो । २-४ वटा कलेजमा पढाउथेँ, अन्नपूर्ण पोस्टमा वरिष्ठ उपसम्पादक थिएँ । मैत्री एफ.एममा कार्यक्रम चलाउथेँ तर पनि खर्चले सधैँ धौँ- धौ बनायो र प्रवास आएँ ।
विदेशमा बसेका वा परदेशिएकाहरूलाई स्वदेश (नेपाल) को झनै बढी माया लाग्छ । त्यस्तो हो ?
वास्तवमा अमेरिका आएपछि म ‘बढी नेपाली’ बनेको छु । माटोको माया र मान्छेको माया, जो मनमा छ, स्वभावतः हुन्छ नै । अझै पनि नेपाल फर्केर साथीहरूसँग १४ वर्ष अघिको संसार भोग्न मन छ । त्यही ट्याम्पोको यात्रा , थकाली भान्छाघरको दिवा भोज । साहित्यिक गोष्ठीको समोसा र चिया । चाड- पर्वको मन्दिरको सांगीतिक माहौल । रात्रिबसको लामो यात्रा … !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

