Chovar Blues Mobile Size

साहित्यकार गोवर्द्धन पूजा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का केन्द्रीय अध्यक्ष हुन् । अध्यक्ष हुनुपूर्व पूजाले अनेसासको महासचिव र वरिष्ठ उपाध्यक्षका रूपमा काम गरिसकेका छन् । पूजा लामो समयबाट अमेरिका बस्दै आए पनि नेपाली भाषा तथा साहित्यकाे उन्ययनका लागि सक्रिय छन् । नेपालमा छँदा अन्नपूर्ण पोस्ट दैनिकमा वरिष्ठ उपसम्पादक, मैत्री एफएमको कार्यक्रम प्रस्तोता र विभिन्न कलेजमा नेपाली साहित्यको प्राध्यापन गरेको लामो अनुभव बटुलेका उनले भूगोल र नेपाली साहित्यमा मास्टर्स गरेका छन् ।

पूजा अनेसासको नेतृत्वमा आएपछिको ठुलो सम्मेलन अर्थात् च्याप्टर सम्मेलन आगामी मार्च १० देखि १२ तारिखसम्म अमेरिकाको बोस्टन हुँदैछ । पाँचौँ च्याप्टरसँगै महिला सम्मेलनसमेत जोडिने भएको छ । प्रत्येक दुई वर्षमा हुने यो सम्मेलन गत कार्यकालमा कोरोनाको कारण जूम (अनलाइन) प्रविधिबाट गरिएको थियो । कार्यक्रमका लागि होलिडे-इन होटल बुक गरिएको छ भने कार्यक्रम नेपाली कम्युनिटी भवनमा गरिने छ । तीन दिने कार्यक्रममा अनेसासका च्याप्टरका प्रतिनिधिहरू र महिला साहित्यकारको सहभागिता रहने छ ।

प्रस्तुत छ, अनेसास तथा च्याप्टर सम्मेलनको सेरोफेरोमा रहेर अनेसासका अध्यक्ष पूजासँग साहित्यपोस्टका लागि गरिएको संवादकाे सम्पादित अंश;

===

गोवर्द्धन पूजा

कोभिड–१९ का कारण अनेसासले चौँथो च्याप्टर सम्मेलन जुम प्रविधिमार्फत् भएको थियो । अनेसासले नयाँ नेतृत्व पाएपछि पाँचौँ च्याप्टर सम्मेलन भौतिक रुपमै हुँदैछ । समाजको केन्द्रीय अध्यक्षका रुपमा यस सम्मेलनमा तपाईंका तर्फबाट थप प्रयासहरु के–के भएका छन् ?

– पक्कै पनि यो कोभिड प्रकोपपछिको अनेसासको ठूलो कार्यक्रम हुनेछ । हाम्रा च्याप्टर परिवार र साहित्यकारहरूसँगको भेटघाट र विचार विमर्श नै यसका मुख्य उद्देश्य हुन् । तर यसबाट निस्कने निष्कर्ष र राम्रा विषयले अनेसासलाई आगामी दिनमा कसरी अघि बढाउने भन्ने मार्ग निर्दिष्ट पनि गर्ने छ ।

च्याप्टर सम्मेलनको इतिहास हेर्ने हो भने म महासचिव भएको बेलामा यसको सुरूआत भएको हो । सौभाग्यवश त्यतिबेलाका अध्यक्ष पदम विश्वकर्मा यतिखेर अनेसास बीओटीको अध्यक्ष बन्नुभएको छ । हाम्रो त्यतिबेलाको साझा सपनालाई अझ चम्किलो बनाउन सहयोग मिल्नेछ ।

हामीले यसलाई अझ विशेष बनाउने योजनाअनुसार महिला सम्मेलनलाई पनि जोडेका छौँ । महिला दिदीबहिनीहरू र च्याप्टर हाँक्ने च्याप्टर प्रतिनिधिहरूको उपस्थिति नै विशेष रहनेछ । साहित्यिक व्यक्तित्वहरूको सहभागिताले कार्यक्रम महत्त्वपूर्ण हुने त भइहाल्यो ।

अनेसासले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणको कुराहरु गरे पनि नेपाली साहित्यले विश्व साहित्य बजारमा सन्तोषजन उपस्थिति जनाएको देखिँदैन । सम्मेलनले यो कुरालाई कसरी सम्बोधन गर्दैछ ?

– हो, यो एउटा ठूलो आशा र चुनौती हो- अनेसासका लागि । हामी नेपाली साहित्यकलाई भुगोलका कुनाकुनामा फैल्याउने अभियानमा लाग्दै गर्दा नेपाली साहित्यलाई विश्वबजारमा पुर्याउने जिम्मेवारी पनि जोडिएको छ । केही सीमित कृतिको अनुवादबाट यो सम्भावना पूरा हुँदैन तर पनि हामी लागिरहेका छौँ । सबैको साथ र सहयोगले भविष्यमा केही काम गर्न सकिने आशा छ ।

सम्मेलनमा हामी नेपाली साहित्यकै कुरामा सीमित भएर संस्थाको विस्तारमा केन्द्रित रहने हुदाँ केही गैरनेपाली भाषाका साहित्यकारहरूको उपस्थिति रहेमा मात्र पनि हामीले सन्तोष गर्ने ठाउँ रहनेछ ।

अनेसासलाई विदेश भ्रमण गर्ने माध्यमका रूपमा पनि लिने गरिन्छ । यो च्याप्टर सम्मेलनले पनि त्यही रूपलाई प्रतिनिधित्व गर्ने त होइन ?

– साहित्यकारले देश- विदेशमा हुने सभा-समारोहमा प्रतिनिधित्व गर्नुभनेको कोही सामान्य व्यक्तिले भ्रमण गरेको जस्तो मात्र हुँदैन । उनीहरूले लेख्ने संस्मरण, कविता वा कुनै लेखहरूबाट पाठक लाभान्वित हुन पाउने छन् । यसैले साहित्यकारले विदेश भ्रमण गर्नुभनेको हजारौँ पाठकलाई सिर्जनात्मक उपहार सङ्कलन गर्ने अवसरका रूपमा पनि लिनु पर्दछ ।

अनेसासको वेव–साइटमा ‘‘अनेसासलाई ‘अनेसास’ बनाउने अभियान’’ शीर्षकमा सन्देश राखिएको छ । यो च्याप्टर सम्मेलन तपाईंको त्यो अभियानलाई सहयोग गर्छ ? कसरी ?

विश्वमा विभिन्न संघसंस्थाहरू खुलेका छन् । हामीले अनेसासलाई भाषा र साहित्यमा केन्द्रीय गर्न सके अन्य संस्था स्थापनाको उद्देश्यसँग बाझिनु पर्दैन भन्ने हो । हामी हाम्रो जिम्माको काम गरौँ , राजनीतिभन्दा पर रहेर मानवीय मन र मुटुलाई जोडने प्रयास गरौँ भन्ने हो ।

यो सम्मेलनमा पनि हामी नेपाली भाषा र साहित्यलाई माया गर्ने सदस्यहरूका साथै सर्जकहरूको सहभागिता रहने छ । हामी केवल साहित्यका कुरा गर्नेछौँ । भाषाका कुरा गर्नेछौँ । नेपाली साहित्यको विश्व बजारको वर्तमान अवस्थाको कुरा गर्नेछौँ ।

‘‘अनेसासलाई ‘अनेसास’ बनाउने अभियान’’ नाराको अर्थ यसअघि चाहिँ अनेसास अनेसास जस्तो थिएन भन्ने हो ?

– स्थापना कालदेखि नै अनेसासले नेपाली भाषा र साहित्यको फैलावटको लागि काम गर्दै आएको छ । स्थापनाकाल र अहिलेको समयमा धेरै परिवर्तन देखिसकेका छौँ । अब हामी अनेसासको उद्देश्यलाई अझ केन्द्रीकृत गरेर भाषा र साहित्यमा समर्पित गर्न सके केही ठोस उपलब्धि हासिल गर्न सजिलो होला भन्ने हाम्रो सोचाइ हो ।

तपाईं अनेसासको नेतृत्वमा आउनुभएको धेरै भएको छैन, नतिजा खोजिहाल्नु हतारै होला । तर तपाईं जुन कार्ययोजनाहरु बोकेर अध्यक्षमा निर्वाचित हुनुभएको छ, ती घोषणामै सीमित हुने त हैन कतै ?

– म जुन रहर र उद्देश्य बोकेर अनेसासको अध्यक्ष बनेको छु त्यो पूरा गर्न मेरो कार्यकालको अन्तिम दिनसम्म पनि लागिरहनेछु । मैले घोषणा गरेका केही काम पूरा हुँदैछन् र केहीका आधारशीला तयार गरिरहेको छु । यो पद भनेको रिले दौडमा दौडने धावकको दौडजस्तै हो । अघिल्ला अध्यक्षले राखेका राम्रा योजनाका जगमा सपनाको तला थपेको जस्तै सबैले काम गर्ने हो । मेरा अधुरा काम आगामी नेतृत्वले गर्नेछ, जसरी मैले निवर्तमान नेतृत्वको गरिरहेको छु । यसैले योजनाहरू बनिरहेका छन्, ती योजनाले अनेसासलाई एउटा शिखरमा पुर्याउने छ ।

नेपाली साहित्य र साहित्यकारलाई संवर्द्धन गर्ने कुरा त भइहाल्यो, अनुज पुस्तालाई नेपाली भाषा–साहित्यका माध्यमबाट संवर्द्धन गर्न कस्ता योजनाहरु लिनुभएको छ ?

– म यो समयको यस्तो पुलको रूपमा बसेको छु, मैले अघिल्लो पुस्ता र पछिल्लो पुस्तासँग् राम्ररी सम्पर्कमा रहने अवसर पाएँ । कलमले कापीमा लेख्ने पुस्ता तथा ल्यापटप र आइप्याडमा लेख्ने पुस्ता दुबैको साक्षी बनेको छु । यसैले अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन गर्ने परम्पराले मलाई प्रेरित गर्यो र मैले पनि सिकेको कुरा बाँड्दै छु ।

विदेशमा रहेका नयाँपुस्तालाई नेपाली भाषा र साहित्यतर्फ आकर्षण गर्नु अहिलेको आवश्यकता हो । यसका लागि हामीले भाषा पाठशाला र साहित्य प्रशिक्षणका कक्षाहरू सञ्चालन गरिरहेका छौँ । जुमका माध्यमबाट साहित्यिक सिर्जनावाचन कार्यक्रमहरू गरेका छौँ । विभिन्न प्रतियोगिता गरेर प्रोत्साहित पनि गर्ने गरेका छौँ ।

साहित्यमा धेरै किसिमका गुट–उपगुट छन्, अनेसासमा पनि पक्कै होलान् ? यसलाई कसरी व्यवस्थापन गरिरहनुभएको छ ?

– मान्छे सामाजिक प्राणी हो । मन मिल्नेहरूको झुण्ड हुनुलाई म गुट भन्दिनँ । अनेसासमा पनि २४ सय मनहरू छन् । यसमा सप्तरङ्गी स्वभाव भएन भने इन्द्रेणीको स्वाद चाख्नै पाइँदैन नि । यो सुन्दरताको आभाबाट निस्कने ओजले संस्था झन् रङ्गीन बन्नेछ । सबैको सम्मान गर्न जान्ने हो भने समूहको माया झन् बढ्छ । अनेसास यो स्नेहको फूलले सजिएको बगैँचा हो । यसैले अनेसास सबैको साझा बन्न सकेको छ । म सबै स्वादको आनन्दमा रमाइरहेको छु ।