साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

“प्रेम साहित्यमा यौन आउनु स्वाभाविक हो”

Chovar Blues Mobile Size

नवपुस्ताका लेखक कृष्ण आचार्य पेशाले पत्रकार हुन्। उनको अप्रिल फुल नामक प्रेमिल उपन्यास प्रकाशित छ भने विभिन्न सञ्चारमाध्यममा लेख तथा रचना पनि निरन्तर प्रकाशित भइरहेका छन्।

प्रस्तुत छ, उनै पत्रकार तथा उपन्यासकार कृष्ण आचार्यसँग साहित्यपोस्टका लागि कृष्ण ढुङ्गेलले नवपुस्ता, पत्रकारिता, प्रेमिल आख्यान लेखनलगायत विविध विषयमा गरेको अन्तरङ्ग संवादको सम्पादित अंशः

सुरु वर्तमानबाटै गरौँ, लक डाउनका दिनहरू कसरी बिते, बिताउँदै हुनुहुन्छ ?

लक डाउन म, हामी वा नेपाली जनताले मात्र भोगिरहेको संकट होइन । सिंगो विश्वले नै यसको सामाना गर्नुपरेको छ । त्यसैले मन त्यति धेरै उथलपुथल नहुँदो रहेछ । सायद, नेपालमा मात्र यस्तो संकट निम्तिएको हुन्थ्यो भने पक्कै त्यसको प्रभाव फरक हुन्थ्यो होला ।

कोभिड–१९ संक्रमणबाट आफूलाई सुरक्षित राख्ने सबैभन्दा उत्तम उपाय भनेको ‘होम क्यारेन्टिन’ हो । म पनि सुरुवाति दिनदेखि नै यसको अभ्यास गरिरहेको छु । परिवारसँग समय बिताउँदाको खुसी र आनन्द महसुस गर्न पाएको छु । आफ्नै केही अपूरा कामहरू पनि सिध्याउने अवसर पाएँ । पढ्न नभ्याएर थन्किएका केही पुस्तकहरूमा नजर डुलाउन पाएँ ।

sagarmani mobile size

तपाईँ उपन्यासकारभन्दा पहिले पत्रकार, सामान्य अवस्थामा भन्दा कोरोना माहामारीका बेला नेपालको परिपेक्षमा पत्रकारहरूले कतिको जोखिम मोल्नुपर्ने हुँदोरहेछ ? काम गर्न कत्तिको सहज रहेछ ?

जति जोखिम स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई छ त्यति नै जोखिम पत्रकारलाई पनि छ । जिम्मेवारी र भूमिका सबैको फरक–फरक भए पनि उत्तरदायित्व सबैको एउटै हो– समाज र जनता । पत्रकार पनि दिन–रात फिल्डमा खटिनु परिरहेको छ । पत्रकार सम्मेलन होस् या बालुवाटार वा माइतीघरको प्रदर्शन, पत्रकार पुगेकै छन् । मजदुर–श्रमजीवीको आवाज प्रवाह गर्न होस् या क्वारेन्टिनको भद्रगोल अवस्थाबाहिर ल्याउन, पत्रकारको उपस्थिति देखिएकै छ । यसमा सुरक्षाको कुरा आउँछ ।

अर्को कुरा, मिडिया हाउसमा आइरहेको आर्थिक मन्दीका कारण संचार माध्यमहरू संकटमा छन् । संचार माध्यमहरू संकटमा पर्नुभनेको श्रमजीवी पत्रकारको रोजिरोटी संकटमा पर्नु हो । त्यसैले जागिरको पनि जोखिम छ । यति हुँदा हुँदै पनि कोरोना महामारीले पत्रकारितामा एउटा नयाँ अभ्यासको विकास गरेको पाटोलाई भने सकारात्मकरूपमा लिनुपर्ने हुन्छ । त्यो हो, ‘वर्क फ्रम होम’ ।

पत्रकारहरू, त्यसमा पनि नवपुस्ताका पत्रकारहरू एउटै संस्थामा लामो समयसम्म टिकिरहेको पाइँदैन । किन होला ?

अवसरले गर्दा नै हो । त्यो अवसर पैसा, मिडिया हाउस र नयाँ प्रयोगसँग जोडिएको हुन्छ । पहिलो, उसले पाइरहेको तलबभन्दा अर्को ठाउँमा ५ या १० हजार बढी तलब आउँछ भने त्यो अवसर किन गुमाउनु भन्ने हुन्छ । दोस्रो, काम गरिरहेको मिडिया हाउसभन्दा अवसर प्राप्त मिडिया हाउसमा आफ्नो करियर बढी सुरक्षित देख्छ भने उसले फड्को मार्छ । तेस्रो, भनेको नवपुस्ताको नयाँ प्रयोग गर्ने चाह हो । हरेकमा नयाँ सोच र क्षमता हुन्छ, ऊ आफूले काम गरिरहेको स्थानमा यी कुरा दबिरहेको महसुस गर्छ र त्यहाँबाट हिँड्छ । कसैको लहलहैमा लागेर र सम्बन्धका आधारमा एउटा मिडिया छाडेर अर्कोमा जानेहरू पनि छन् ।

नवपुस्ताको विषयवस्तुको ज्ञान र लेखन शैली अघिल्लो पुस्ताभन्दा फरक छ । विज्ञान तथा प्रविधिको प्रयोगमा अब्बल छन् । त्यसैले मिडिया हाउस पनि उनीहरूलाई प्रयोग गर्न चाहन्छ । काम लगाउन सजिलो र खट्ने, मेहनत गर्ने बानीका कारण पनि उनीहरू मिडिया हाउसहरूको नजरमा परिरहेका हुन्छन् ।

तपाईँ उपन्यासकार पनि, पत्रकारिता गर्नु र स्वतन्त्ररूपमा लेखक कर्म गर्नु के कति रूपमा सामान र के कति रूपमा फरक पाउनुभएको छ । तुलनात्मकरूपमा कुन चाहिँ गाह्रो काम हो ?

पत्रकारितामा समाजको सत्य, तथ्य घटनालाई उजारण गर्ने काम गरिन्छ । उपन्यास लेख्नुभनेको घटनाक्रममा प्लटको प्रयोग गरेर लम्बाउने वा आफैँ कुनै घटना रच्ने काम हो । भन्नुको मतलब, दुवैको धरातल एउटै हो, तर प्रस्तुति फरक हो । मैले उपन्यासमा पात्रको छनोट गर्दा गरिबलाई धनी बनाइदिन सक्छु, रामलाई श्याम बनाइदिन सक्छु, बलात्कारीलाई मृत्युदण्ड दिन सक्छु, आफैँलाई आकासमा वायुपङ्खे घोडामा उडाउन सक्छु, तर पत्रकारितामा त्यसो गर्न मिल्दैन । गरिबलाई गरिबकै रूपमा प्रस्तुत गर्नुपर्छ, रामलाई राम नै लेख्नुपर्छ, बलात्कारीको भेद खोल्नेबाहेक उसलाई सजायको दायरा तोक्न मिल्दैन, आफूलाई हवाइजहाजमा चढाउनुपर्छ (हाँस्दै) ।

उपन्यास कल्पना हो भने समाचार सत्यता । उपन्यास सत्य घटनामा आधारित भए पनि त्यसलाई ‘फिक्सनाइज’ गरिएको हुन्छ । समाचारलाई त्यसो गर्न मिल्दैन । साहित्यको विभिन्न विधा भएजस्तै परिकारिताको पनि विधा हुन्छ । कोही समाचार लेख्छन्, कोही फिचर लेख्छन्, कोही स्टोरी लेख्छन् । समाचार लेख्न जति सजिलो छ, फिचर र स्टोरी लेख्न त्यति नै गाह्रो छ । साहित्यमा पनि ‘नन–फिक्सन’ लेख्न जति सजिलो छ, त्योभन्दा गाह्रो ‘फिक्सन’ लेख्न छ । अर्थात, पत्रकारिताभन्दा साहित्य गाह्रो छ, साहित्यमा पनि सबैभन्दा गाह्रो भनेकै उपन्यास लेख्न हो । एउटा उपन्यास तयार पार्न कम्तिमा पनि १ वर्ष समय लाग्छ ।

तपाईँको उपन्यास ‘अप्रिल फुल’बाट कस्तो पाठक प्रतिक्रिया पाउनुभयो ? स्वतन्त्ररूपमा लेखेरैमात्र बाँच्न सकिने कुरामा कतिको आशावादी हुनुहुन्छ ?

एउटा लेखकका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै पाठकको प्रतिक्रिया रहेछ । सायद, पाठकले मेरो उपन्यासलाई प्रेम नगरेको भए म अर्को उपन्यास लेख्ने आँट गर्दिनथेँ होला । लेखे पनि अब मैले ‘अप्रिल फुल’ भन्दा अब्बल कृति लेख्नुपर्छ भन्ने दबाब महसुस गर्दिनथेँ होला । मैले यो पुस्तक विशेष गरी युवा पुस्ता, त्यसमा पनि किशोर–किशोरीको मनोभाव, मनोविज्ञान र जीवन समेटेर लेखेको थिएँ । उहाँहरूले मिठो प्रतिक्रिया दिनुभयो ।

अहिले नेपाली साहित्यमा लेखेर मात्र बाँच्ने लेखक ८–१० जना हुनुहुन्छ । यसको सिधा अर्थ के हो भने नेपाली साहित्यकारहरूको अझै लेखेरमात्र बाँच्न सक्ने अवस्था आइसकेको छैन । फेरि बाँच्नु भनेको आफूमात्र बाँच्नु पनि होइन नि ! आफूसँगै आफ्नो परिवारलाई पनि बचाउनुपर्यो । आफ्नो हरेक आवश्यकता र जिम्मेवारी पूरा गर्न सक्ने हैसियत बन्नुपर्यो । यदि बाँच्नु आफूमात्र बाँच्नु हो र साँझ–बिहानको छाक टार्नु हो भने त्यो भने सम्भव छ । वर्षमा एउटा पुस्तक ३–५ हजार प्रति बिक्री भयो भने राम्रै पैसा हात पर्छ । लेख–रचना छाप्ने थुप्रै ‘प्ल्याटफर्म’ छन् । त्यहाँबाट पनि केही रकम आउँछ । तर, भोलि दुःख, बिरामी पर्दा कसैसँग हात फैलाउने अवस्था आउँछ भने लेखेरमात्र बाँच्न सकिन्छ भनेर किन धाक दिनु र !

अर्को पुस्तकको तयारी के छ ? विषयवस्तुको बारेमा केही सोच्नुभएको छ ?

अर्को पुस्तकको लेखन तथा सम्पादनको काम सकिएको छ । २०७७ सालभित्रै पाठकको हातमा पर्नेछ । दशैंअगाडि नै प्रकाशन हुने सम्भावना पनि छ । प्रकाशकसँग यसबारे कुराकानी हुँदै छ ।

विषयवस्तुको कुरा गर्दा लेखकको रुचि र दख्खल जे कुरामा छ उसले त्यसमै लेख्ने हो । मैले हिजो प्रेमका विषयवस्तु लेखेँ र त्यसलाई आम पाठकले मन पराइदिनुभयो । यसबाट के प्रमाणित भयो भने मैले प्रेमलाई विषयवस्तु बनाएर लेख्दा न्याय गर्न सक्दो रहेछु । मेरो जुन प्रकारको भाषा, शैली र प्रस्तुति छ त्यो प्रेम लेख्नकै लागि होजस्तो म आफैँलाई पनि लाग्छ । बरु यसका आयामहरू फरक हुन सक्लान् । प्रेम एउटा नदी हो । नदीमा पानी र ढुङ्गा मात्र हुँदैन नि ! डुङ्गा चलाएर जीवीका चलाउनेको जीवन पनि नदीसँगै जोडिएको हुन्छ । नदीमा पौडी खेलेर आनन्द लिनेहरू मात्र हुँदैनन्, नदीमा आत्महत्या गर्नेहरू पनि हुन्छन् । कसैलाई नदी सुसाएको, आफ्नै तालमा बगेको, बढ्दो बहावसँगै छालहरू फालेर अघि बढेको मन पर्ला, तर त्यही नदीले कटानी गरेर कसैको सर्वस्ब लुट्दा उसलाई कस्तो पीडा होला ! कसैले नदीको जल खाला, कसैले नदीमा मुत्र विसर्जन गर्ला । यसरी, एउटा नदीका अनेकन कथा छन् र नदीसँग जोडिने मानिसका फरक–फरक घटना र अनुभव । त्यस्तै, प्रेम पनि निकै व्यापक छ । प्रेमका पनि अनेक कथा, व्यथा र आयामहरू छन् । र, सबैभन्दा महत्वपूर्ण कुरा यी कथा, व्यथा र आयामहरू समाजसँग जोडिएका छन् । त्यसैले प्रेम लेखेर सकिने विषय होइन ।

एकखाले बौद्धिक जमातले त प्रेम र प्रणयका विषयमा लेखिएका साहित्यलाई ‘यौन साहित्य’को ट्यागसमेत भिराइदिएको छ नि !

क्यानडाका अनुसन्धानकर्ताले सन् २०१२ मा मस्तिष्कको एक भागको अध्ययन गरेका थिए । जसले भावना (इमोसन)लाई नियन्त्रण गरेको हुन्छ र त्यहाँबाट यौन चाह प्रकट हुन्छ । उनीहरूले भावना र यौन चाह आउने ‘इन्सुलर कोर्टेक्स’ बाट हो भन्नेमा स्पष्ट प्रमाण प्रस्तुत गरेका छन् ।

हामी प्रेम नभएको अवस्थामा पनि यौन छनौट गर्न सक्छौँ, तर यस्तो अवस्थामा भावनालाई नियन्त्रण गर्न गाह्रो पर्न सक्छ । यौन चाह र प्रेमले तपाईंको दिमागमा उस्तै खाले प्रतिक्रिया प्रवाह गरिरहेको हुन्छ । त्यसैले तपाईं प्रेम दर्शाउँदा यौन चाहलाई पनि नियन्त्रण गर्न सक्नुहुन्न । अथवा, यौन चाह प्रकट गर्दा म प्रेम प्रकट गरिरहेको छु भन्ने लाग्न सक्छ । यसको मतलब प्रेम र यौन मस्तिष्कका दुई फरक अनुभव होइनन् । त्यसैले प्रेम साहित्यमा यौन आउनु पनि स्वाभाविक हो ।

प्रेम साहित्यमा यौनकर्मलाई प्रोत्साहन गर्ने, समाजलाई गलत दिशामा लैजाने सन्देश दिने काम सायद कसैले गरेका छैनन् । हामीले प्रेमलाई यौन र समाजसँग जोडेर त्यसका सकारात्मक र नकारात्मक पाटो केलाउने प्रयास गरेका छौँ । मान्छेको जीवनजस्तै साहित्यमा प्रेम र यौन बगेको छ । मेरो पुस्तकको कुरा गर्दा मैले वर्तमान समय र समाजको चित्र र चरित्र उतार्ने प्रयास गरेको छु । प्रेम, यौन र मदिराको प्रयोगले मैले रचना गरेका पात्रको जीवनमा अनेकन उतार–चढाव आएका छन् ।

मेरो पुस्तक पढ्ने युवा पिढीले प्रेम, यौन र मदिराको लिमिटेसन के भन्ने कुरा मज्जाले बुझ्न सक्छन् । यसले समाज र परिवारमा पार्ने असरबारे जान्न पाउँछन् । मैले सामाजिक परिवेशमा कथा बुनेको हुँ । समाजमा के हुँदै छ र युवा पुस्ताले कुन बाटो समाउँदै छन् भन्ने कुरा कथामा छ । यसो गर्दा विकृति फैलाएको भयो कि सचेतना ? प्रेम लेख्दा ‘यौन साहित्य’ हुन्छ भने कसैले राजनीतिलाई विषय बनाएर लेख्छ भने त्यसलाई ‘भ्रष्टाचार साहित्य’ भन्ने त ? अपराध लेख्नेलाई ‘हत्यारा साहित्य’ भन्ने ? यति हुँदाहुँदै केही नवपुस्ताले विषयवस्तुको गहनता नबुझी लोकप्रियताका लागि यौनलाई चर्चाको माध्यम बनाएको कुरालाई भने नकार्न सकिँदैन ।

प्रेम नै लेखेर स्थापित भएका लेखकका रूपमा सुविन भट्टराईलाई लिने गरिन्छ । उनीपछिका नवपुस्ताका लेखकहरूलाई उनकै बाटो पछ्याएको आरोप छ । तपाईँ पनि भट्टराईले बनाइदिएकै बाटोमा हिँड्नु भएको हो ?

बाटो एउटै होला विचार, धारणा र दृष्टिकोण फरक हुनुपर्छ । एउटै बाटोमा हिँड्ने मान्छेहरू एउटै विचार बोकेर हिँड्दैनन् । प्रेम लेख्नेहरूको बाटो प्रेम नै हो । राजनीतिक बाटोबाट हिँडेर प्रेम लेख्न सकिँदैन । मैले माथि नदीलाई प्रेमसँग जोडेर हेरेको थिएँ नि । यहाँ पनि सोही कुरा लागू हुन्छ । प्रेमको आयाम, विषय, घटनाक्रम, काल–खण्ड, परिवेश निकै गहिरो र फराकिलो छ । जसरी समुन्द्रबाट एक गिलास पानी झिक्दैमा समुन्द्र सुक्दैन त्यसैगरी एक, दुई वा १० जनाले प्रेम लेख्दैमा यसको मुहान वा विषयवस्तु समाप्त हुँदैन । लेख्ने र लेखिनुपर्ने प्रेमका विषय धेरै छन् अझै । ‘फिक्सन’ भनेको भाषा, शैली र प्रस्तुति पनि हो । जुन हरेकको फरक–फरक हुन्छ ।

मेरो उपन्यास ‘अप्रिल फुल’ को कुरा गर्दा मैले प्रेम र यौनलाई समाजसँग जोडेर लेखेको छु । डान्सबारमा काम गर्ने युवतीको मनोविज्ञान, बुबा–आमाको सपना बोकेर सहर छिरेको युवकको मनोदशा, परिवारले आफ्ना छोरा–छोरीको मनोभाव नबुझ्दा उत्पन्न हुने परिणाम, प्रेममा भएको पीडा, विछोड र त्यसले उब्जाउने परिस्थिति मेरो उपन्यासका मुख्य विषय हुन् । भाषा, शैली र प्रस्तुति पनि मेरो मौलिक छ । त्यसैले कसैले खनेको बाटोमा हिँड्नु र उसको पाइला पछ्याउनु फरक कुरा हुन् । पाइला चाहिँ पछ्याउनु भएन । विषय तथा घटनाक्रममा नयाँपन र मौलिकता हुनुपर्यो । सुविन भट्टराईले प्रेमको विषयमा लेखेर नेपाली साहित्यमा उपन्यासलाई प्रेम गर्ने पाठकहरू बढेका छन् र ती पाठकहरूले हाम्रो पुस्तक पनि पढेका छन् । यसमा युवा पुस्ताले उहाँलाई धन्यवाद दिनै पर्छ, सम्मान गर्नै पर्छ । उहाँले प्रेमको बाटो खन्नुभयो अब हामीले त्यो बाटोको संरक्षण, संवद्र्धन गर्ने र त्यसलाई फराकिलो पार्ने काम गर्नुपर्छ । मेरो आगामी पुस्तकमा पाठकहरूले त्यसको अनुभव गर्नु हुनेछ भन्ने विश्वास मलाई छ ।

युवा हुनुहुन्छ, नवपुस्ताको कुरा गरौँ । तपाईँ लगायत नवपुस्ताको साहित्य लेखन लहड मात्र हो कि उनीहरू वैचारिक तथा गम्भीररूपमै साहित्यमा होमिएका छन् ? यो पुस्ताले नेपाली साहित्यलाई नयाँ उचाइ दिन सक्ला त ?

सबै गम्भीर भएर साहित्यमा लागेका छैनन् । कोही रहरले त कोही लहडले लागेका छन् । धेरैमा एउटा पुस्तक प्रकाशन गरेपछि सेलिब्रेटी भइन्छ भन्ने भ्रम छ । यसो हुँदा लेखनमा गहनता र वैचारिक पक्ष कमजोर हुने भइहाल्यो । कमसल रचना आउँदा पाठकहरू पनि भड्किने सम्भावना हुन्छ । लेखक पनि फ्रस्टेड हुन्छ । नवपुस्ता प्रतिको विश्वासमा संकट आउने अवस्था आउँछ । अहिले भइरहेको यही हो । केही राम्रा सिर्जनाको बीचमा धेरै लहडमा आएका सिर्जनाहरू मिसिनु गम्भीररूपमा साहित्यमा लागेका नव पुस्ताका लागि दुःखद् छ । यसमा लेखक आफ्नै र यस्ता सिर्जना छाप्ने प्रकाशन गृहको पनि कमजोरी छ । यदि सबै आ–आफ्नो ठाउँबाट गम्भीर भएर लेखनमा लाग्ने हो भने यो पुस्ताले नेपाली साहित्यलाई एउटा उचाइमा पक्कै पुर्याउने छ । अहिलेको अवस्थामा भने यसै भन्न सकिन्न ।

पत्रकारिताको अनुभवमा, नवपुस्ताका साहित्यकारहरूको शक्ति र कमजोरीहरू के–कस्ता पाउनु भएको छ ? नवपुस्ता पनि गुट र उपगुटमै त अल्झिरहेका छैनन् ?

साहित्यमा सबैभन्दा ठूलो शक्ति भनेको लेखन नै हो । तर, भाषा, शैली र प्रस्तुति मात्र भएर पुग्दैन । एउटा लेखकमा आफूले लेख्ने विषयवस्तुमा राम्रो पकड र ज्ञान हुन आवश्यक छ । विज्ञान तथा प्रविधिको विकासले हातमै संसार छ । यसको प्रयोगले सहजै पकड र ज्ञानमाथि कब्जा जमाउन सक्ने अवस्था छ । र, विस्तारै नव पुस्तामा यो अभ्यास भइरहेको पनि छ । यति हुँदाहुँदै पनि लेखनको प्राविधिक पक्षमा यो पुस्ता निकै कमजोर छ । कुनै पुस्तक र लेखकको समीक्षा गर्ने भनेको उसले लेखेको पुस्तकमा प्राविधिक पक्ष कत्तिको बलियो छ भन्ने आधारमा हो । लेखनमा यसलाई ‘टेक्निकल इरर’ भन्ने गरिन्छ । मलाई धेरैले पुस्तक सम्पादन गर्ने जिम्मा दिनुहुन्छ । उहाँहरूको लेखन र विषयवस्तु गज्जब हुँदाहुँदै पनि मलाई यस्तै कुराले निराश गराउँछ । यसलाई नव पुस्ताले सुधार गर्ने हो भने उनीहरूको कृति अब्बल आउने पक्का छ । यो समस्या किन देखिएको हो भने हामी राम्रा पुस्तक मात्र पढ्न खोज्छौँ । नराम्रा भनिएका पुस्तक पनि पढेर तिनमा रहेको कमजोरी केलाउने काम पनि गर्ने हो भने यो समस्या धेरै हदसम्म हट्ने विश्वास मलाई छ । अर्को कुरा प्रकाशित भएका नवपुस्ताका केही पुस्तक डायरीको छिपोटजस्ता छन् । उपन्यासमा हुनुपर्ने प्रस्तुति, शैली र क्रमबद्धता नै छैन ।

गुट र उपगुटमा लाग्ने भनेको अवसरको खोजीमा हो । नव लेखकले सम्पर्क स्थापित गर्न कुनै गुटको सहारा लिनुपर्छ । गुटमार्फत आफूभन्दा अग्रजबाट केही जान्ने, सिक्ने अवसर प्राप्त हुन्छ । तर, कुनै गुट एउटा गुटको आलोचना र अर्कोको पक्षपोषण गर्ने खालको हुनु हुँदैन । गुट साहित्यिक प्रतिस्पर्धाको माध्यम हुनु हुँदैन । ज्ञान र अनुभवहरू आदान–प्रदान गर्ने अवसर हुनुपर्छ । गुट कसैलाई तल खसाल्न र कसैलाई माथि उठाउन क्रियाशील हुनु हुँदैन । नयाँ र पुराना साहित्य सिर्जनाको छलफल तथा समीक्षा गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यको चर्चा गर्ने साथीहरूको समूह हुनुपर्छ ।

भोलिको साहित्यिक यात्राको बारेमा के सोच्नु भएको छ । निरन्तरता दिनुहुन्छ ?

भविष्यमा के, कस्तो मोड आउने हो अगामी यात्रा पनि त्यहिँबाट निर्धारण होला तर, परिस्थिति सबै ठिक भए साहित्य लेखनमा मेरो कलम पनि रोकिने छैन । एउटा पुस्ताले प्रेम लेख्ने लेखकलाई साहित्यकार मान्दैन भन्दैमा म प्रेम लेख्न छाडेर राजनीति लेख्ने काम भने गर्दिन । म प्रेम लेख्छु यसको मतलब यो होइन कि मलाई राजनीतिको ज्ञान छैन । पत्रकारितामा मैले हरेक विषय र विधामा कलम चलाइरहेको छु । मैले लेख्ने पाठकका लागि हो र पाठकले जबसम्म मलाई स्वीकार्नुहुन्छ तबसम्म म पाठककै लागि लेख्नेछु ।

 

प्रतिक्रिया
Loading...