साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

आविष्कारको सानो भेटीः साहित्य संग्रहालय

Chovar Blues Mobile Size

नेपाली साहित्यमा चासो राख्नेहरुका लागि ‘साहित्य संग्रहालय’ परिचित वेबसाइट हो। यहाँ सबैजसो साहित्यकारहरुका सामग्रीहरु एक साथ पाइन्छन्। प्रायः साहित्य अनुरागीहरू यस वेबसाइटका बारेमा जानकार भए पनि यसका संचालकबारे बेखबर छन्। किन यो संग्रहालय तयार हुँदैछ, धेरैका लागि यो चासोको विषय रहँदैआएको छ। यही चासो अमेरिकामा रहेका साहित्यकार कृष्ण कुशुमलाई पनि लाग्यो। सोधखोजको क्रममा फेला परे, आविष्कार भारतीलाई। भारती तिनै व्यक्ति हुन्, जसले साहित्य संग्रहालय चलाइरहेका छन्।

डेढ दशकदेखि अमेरिकामा बसोबास गर्दै आएका आविष्कार पेशाले सूचनाप्रविधिका इन्जिनियर हुन्। स्कुले दिनदेखि नै उनमा साहित्यको रुचि रहेछ। लामाभन्दा छोटा रचनामा पूर्णता पाउने लघुकथा, हाइकु, सेन्यु मुक्तक र कवितामा रूचि छ र उनी तिनै कुरा सिर्जना गर्छन्। उनको ‘टुसाएको मन’ हाइकु र सेन्यू संग्रह प्रकाशित छ।

साहित्य संग्रहालय के हो? यो वेबसाइट सुरु गर्न केले प्रेरित गर्यो ?

‘साहित्य सङ्ग्रहालय’ अन्तर्जालमा छरपष्ट रचनाहरुलाई एउटा थलो दिउँ भनेर सुरु गरेको एकल प्रयास हो। धेरै वेब पत्रिकाहरुमा साहित्यिक रचनाहरु छापिन्छन् तर विभिन्न कारणले ती बन्द भइदिन्छन्। जसले गर्दा लेखकको सामग्री प्राप्त गर्न कठिन हुने देखियो। यसरी ती सामग्री हराउनु भाषा र साहित्यका लागि राम्रो होइन भन्ने लाग्यो।
अर्को कारण, म पराइ भूमिमा छु। यहाँ नेपाली साहित्यका किताब, रचनाहरू पाउन सन् २०१२ सम्म निकै गाह्रो थियो। कसैले केही लेखेको थाहा हुन्थ्यो तर केही दिनपछि भेट्टाउन गाह्रो भएपछि सुरुमै संकलन गर्न थालेँ । तर दैनिक जम्मा गर्दै जाँदा यो भण्डार बन्न पुग्यो र वास्तवमै संग्रहालय बन्न थाल्यो। सन् २०१३ मा यसलाई ब्लगबाट सुरु गरेको थिएँ तर यो यति ठूलो हुँदै गयो कि यसका लागि बेग्लै वेबसाइट नै बनाउनु पर्यो । सन् २०१६ देखि यसलाई वेबसाइटमा परिवर्तन गरेर चलाइरहेको छु।

तर बाहिर धेरैलाई यो कुरा थाहा छैन, किन होला ?
यो पूर्णतः अव्यावसायिक र नाफारहित काम हो। त्यसैले प्रचार-प्रचार गर्नु उपयुक्त लाग्दैन। फेरि म काम गर्न रुचाउने मान्छे हुँ। मलाई साहित्यले धेरै दिएको छ। असल मान्छे बनाएको छ। त्यसैले यो मेरो तर्फबाट नेपाली साहित्यलाई सानो भेटी मात्र हो।

सबै विधालाई समान रुपमा संग्रह गर्नु भएको रहेछ। अहिलेसम्म कति रचना संकलित भए त?
आजको मितिसम्म (असार १ गते) ४ हजार ६ सय ९४ लेखक कविका करिब २० हजार रचनाहरू सङ्कलित भएका छन्। सुरुमा कथा, कविता, लघुकथा, गजल, मुक्तक, हाइकु, एकाङ्की र निबन्ध मात्र संकलित भएका थिए। त्यो पनि एउटा रहरबाट संकलन गर्ने कार्य प्रारम्भ भएको थियो। पछि जसैजसै अन्य विधाका बारेमा बुझ्दै गएँ, मन रौसेर आयो। ती विधाका बारेमा पनि बुझ्ने चाहना झन् बढेर आयो। त्यसपछि अन्य विधाहरु पनि थपिदै गए।

sagarmani mobile size

कुन विधाका कति रचना संकलन भएका छन्, त्यसको डेटा छ ?
साहित्यका १ सय ८३ विधाका रचनाहरू संकलित छन्। नेपाली काव्यअन्तर्गत महाकाव्य, खण्डकाव्य, शोककाव्य, लघुकाव्य, गद्यपद्य कविता, छन्द कविता, गीति कविता, केस्रा, गजल, गेडी, छेस्का, ताङ्का, तियाली, मुक्तक, रुबाई, लिमरिक, सिजो, सेदोका, सेन्र्यू, हाइकु, देउडा गीत, नेपाली गीत, नेपाली पप गीत, नेपाली प्यारोडी गीत, नेपाली भजन, रोइला र चुड्का, लोकगीत, स्वदेश गान आदि रहेकाछन्। यी विधाका सङ्ख्या लगभग बाह्र हजार छन्।

नेपाली गद्यअन्तर्गत नेपाली कथालाई मैले विभिन्न उपविधाहरु बनाएर संकलन गरेको छु। जसमा सामाजिक, आधुनिक, लोक, हास्य, मनोविश्लेषणात्मक, यौन, जातक, नैतिक, पौराणिक गरी फरक-फरक संकलन गरेको छु।

त्यसैगरी पत्र साहित्य, पुस्तक अंश, मनोवाद र स्वगत, लघुकथा, सूत्रकथाका साथसाथै २५ वटा नेपाली उपन्यास–लघुउपन्यास पनि सङ्कलन गरिएको छ। यस विधामा चार हजार ५ सय रचना संकलित छन्।

निबन्ध–प्रबन्धअन्तर्गत एक हजार वटा रचनाहरू जम्मा भएका छन्। जसमा निबन्ध, विचार मन्थन र चिन्तन, संस्कार–संस्कृति परिचय, इतिहास, कार्यपत्र, खोजपत्र, शोधपत्र, पुस्तक समीक्षा, विभिन्न साहित्यिक लेख, समालोचना, कृति–व्यक्तित्व समीक्षा, स्थान परिचय, अनुभूति, नियात्रा–यात्रा संस्मरण, संस्मरण, स्रष्टा चिनारीजस्ता सामग्री रहेका छन् ।

नाटक–रङ्गमञ्च नेपाली साहित्यको कम लेखिने तर अभिन्न अङ्ग हो। यस विधाअन्तर्गत पचहत्तर वटा रचना एकाङ्की, नाटक, प्रहसन र रेडियो नाटकमा सङ्कलन गरेको छु। बाल साहित्यको पनि बाल उपन्यास, बाल एकाङ्की, बाल कथा, बाल कविता, बाल गजल, बाल गीत, बाल नाटक लगायत लगभग तीन सय पचास रचना सङ्कलित छन्।

यीबाहेक विश्व साहित्यबाट नेपालीमा अनुदित र नेपालीबाट अङ्ग्रेजी भाषामा अनुदित रचनाहरूलाई छुट्टै विधाअन्तर्गत राखिएको छ। यस्ता रचनाहरु चार सय एक्काइस पुगेका छन्। त्यसैगरी नेपालमा बोलिने अन्य भाषाका रचनाहरु पनि संकलन भएका छन्।

रचना कसरी संकलन गर्नुहुन्छ ?
मैले अन्य वेबसाइटमा प्रकाशित भएका रचनालाई संकलन गर्ने हो। त्यसबाहेक वेबसाइटमा भएको इमेलमा प्राप्त हुने रचनालाई पनि स्थान दिन्छु। यसलाई मैले मेरो फुर्सदको समय मात्र नभएर दैनिक केही समय छुट्ट्याउने गरेको छु। मैले कम्प्युटर चलाउन जानेदेखि नै कतै नेपाली रचना भेट्यो कि त्यसलाई नोटप्याडमा राखिरहेको हुन्थेँ।

साहित्य सङ्ग्रहालयमा एक चौथाई रचनाहरू पुराना किताबबाट आफैँ टङ्कण गरेर राखेको पनि छु। जहाँबाट प्राप्त भएको रचना हो, त्यसको स्रोत लगभग सधैँ खुलाएको हुन्छु । पब्लिक डोमेनमा रहेका रचनाहरू साभार गरेर सङ्कलन गर्ने गर्छु।

वेबसाइटमा फुटकर रचना मात्र छैनन्, केही त पूर्ण पुस्तकहरु पनि संकलन गर्नु भएको छ। सिंगो पुस्तक राखेपछि रोयल्टी पनि दिनुपर्ला। कसरी व्यवस्थापन गरिरहनु भएको छ?
हो, केही पूर्ण पुस्तक पनि छन्। केही उपन्यास, लघु–उपन्यास, महाकाव्य, खण्डकाव्य, शोककाव्य, कविता सङ्ग्रह, समलोचना सङ्ग्रह पनि छन्। यीमध्ये धेरैजसो पब्लिक डोमेनमा रहेका र रचनाकारले साभार गरेर राख्नु भन्नु भएकाले राखेको हुँ। केही पुस्तक प्रतिलिपि अधिकार ऐन, २०५९ को दायराअनुसार कसैको कानुन हकदाबीबाट बाहिर पेरिसकेको मानेर सङ्कलन गरेको हुँ। कसैले लेखस्व खोज्नु भयो भने वा आपत्ती जनाउनु भयो भने म ती हटाउने छु तर आजसम्म कसैले पनि त्यसो भन्नु भएको छैन।

परदेशको बसाई चुनौतीपूर्ण नै हुन्छ तैपनि आम्दानी नहुने साहित्य सेवा गरिरहनु भएको छ। यी काम गर्दा के कस्ता कठिनाई भोग्नु पर्यो?
परदेशमा घरदेशको न्यास्रो ज्यादा लाग्दोरहेछ। जसरी आमा–बा अनि देशका यादले मनमुटु रन्किन्छ, त्यसैगरी आफ्नो भाषामा बोल्न नपाउँदा र लेख्न–पढ्न नपाउँदा–नभ्याउँदा अर्कै नमज्जा लाग्ने रहेछ। त्यही न्यास्रो मेट्न यो काम गरेको हुँ। यसै कारण धेरै कठिनाई भोग्नु परेन तर यसलाई बचाइराख्न केही खर्च त लाग्छ। एक्लो प्रयासमा यसलाई थेग्न केही भारी भयो। यो समस्यालाई पनि कसैगरी पन्छाएँ। कहिलेकाहीँ लेखकहरुले आफ्नो रचना त्यहाँ राखेको भनेर गाली पनि खानु परेको छ।
खासमा यो व्यावसायिक नहोस्, लेखकका रचना मात्र संकलन होऊन्, धेरै जनामा नपुगोस् भन्ने चाहना छ। नत्र लेखकलाई गाह्रो हुन्छ भन्ने बुझेको छु। गाली खाँदा पनि मेरो गुनासो नहुनुको कारण पनि त्यही हो तर धेरैबाट हौसला पाएको छु।

त्यसबाहेक सामाजिक र पारिवारिक कारणले आजभोलि धेरै रचनाहरु राख्न छुटाएको छु। परदेश होस् या आफ्नै देश, परिवार, काम र अन्य सामाजिक कृयाकलापमा ढल्किँदा धेरै रचनाहरूलाई यहाँ राख्न पाएको छैन। यो सम्झँदा भने नमज्जा लाग्छ।

तपाईं आफैँ लेखक। आफ्नो मौलिक लेखनलाई संकलक र सम्पादक व्यक्तित्वले ओझेल पारेको अनुभव हुँदैन ?
म लघुकथा, मुक्तक, सेन्र्यु तथा हाइकु र फाट्टफुट्ट गीतमा कलम चलाउँछु र आफ्नो लेखन पनि जारी छ। सिर्जनाको वातावरण पाएको बेला उम्रिन दिन्छु। साहित्य सङ्ग्रहालयले मेरो मौलिक लेखन कार्यमा केही असर गरेको छैन। बरू यत्तिका रचना-भावना पढेर मलाई र मेरो लेखनलाई खारिन मद्दत गरेकोझैं महसुस हुन्छ।

कति समय यस्तो पनि आयो कि ‘ह्या किन म एक्लै यो सङ्कलन गरिरहेछु? आखिर कसलाई पो काम लाग्छ र? आखिर के पो फाइदा हुन्छ र?’ भन्ने सोच आयो तर मनोबल सधैँ पाठक र रचना प्रेषण गर्नुहुने साहित्यकार एवम् साहित्यभोगीहरूले उकासी रहनुभयो र मलाई अगाडि बढ्न अदृश्यरुपमा हौस्याइरहनुभयो । मसँग धेरै कृति र फुट्कर रचनाहरू इमेलहरुमा प्राप्त भएका छन्, जुन थप्न बाँकी नै छ।

साहित्य संग्रहालयलाई आगामी दिनमा कसरी अघि बढाउने सोचमा हुनुहुन्छ?
आगामी दिनमा यसको एउटा छुट्टै मोबाइल एप होस् र सहज तरिकाले सबैसामु नेपाली साहित्यका चम्किला मोतीहरू छर्न सकियोस् भन्ने मनमा छ। तर धेरै साथीहरूले यहाँका रचना प्रयोग गरेर एन्ड्रोइड एप बनाउनु भएको छ। तर ती साथीहरुले धेरै विज्ञापन राखेर झन् भद्दा र पैसा कमाउने भाँडो बनाउनु भएको छ। यो मलाई बिल्कुलै मन परेको छैन। आगामी दिनमा साहित्य सङ्ग्रहालयलाई सर्वसुलभ बनाउन एउटा एप बनाउन मन छ। दोश्रो, नेपाली साहित्यकर्मीहरूको वैयक्तिक विवरणको पूर्ण डाटाबेस बनाउने रहर पनि छ।

तपाईंको हाइकु र सेन्यू संग्रह ‘टुसाएको गगन’ आएको छ । पाठकबाट कस्तो प्रतिक्रिया पाउनु भयो ?
मेरो पुस्तक ‘टुसाएको गगन’ नोभेम्बर २, २०१९ मा नेपाल र अमेरिकामा एक्कै दिन लोकार्पण भएको थियो । यो ५२५ हाइकु र सेन्र्यु सङ्कलन भएको पुस्तक हो। हाइकु अनि सेन्र्यु अन्य विधा भन्दा कमै पढिने विधा हो जस्तो लाग्यो तर पनि यसका प्रकाशक ‘शब्दार्थ प्रकाशन’का अनुसार यसको बिक्री सन्तोषजनक भयो । देशमा के कस्तो मूल्याङ्कन भयो भनेर पछ्याउन अलिक मुश्किल हुँदो रहेछ तर पनि समीक्षकहरूले राम्रो मन्नु भएको देखें । अमेरिकामा जतिले पढ्नु भयो, सबैले राम्रो मान्नु भयो । यस पुस्तकको जति लेखस्व आयो, त्यो रकम सिन्धुपाल्चोकको एक विद्यालयमा टिफिन भन्ने कार्यक्रमका लागि समर्पण गरेकोछु र भविष्यमा पनि गर्नेछु ।

अन्त्यमा आफूलाई भन्न मन लागेको तर मैले समेट्न नसकेका कुराहरु केही छन् कि?
साहित्य सङ्ग्रह मैले कुनौटोमा बसेर थुपार्दै लगेको थुप्रोलाई घुन लाग्न नदिन साथ दिने सबैलाई हार्दिक धन्यवाद। यस साहित्य सङ्ग्रहालयको सङ्कलनलाई अभिलेखालयको रूपमा अगि बढाउने सोचमा साथ पाउनेछु भन्ने आशा राखेको छु। गल्ती मनिसबाटै हुने हो। यसमा धेरै त्रुटिहरू हुनसक्छन्। यसलाई सच्याउन मद्दत माग्दछु। के गर्दा यो अझ चुस्त होला सुझाव दिनुहुनेछ भन्ने विश्वास राखेको छु।

प्रतिक्रिया
Loading...