‘१९८६’ कथासङ्ग्रह लिएर साहित्यमा प्रवेश गरेका छुदेन काविमो हाल साहित्यको आख्यान विधामा दरिलो उपस्थित देखाइरहेका छन् । उनको दोस्रो कृति ‘फातसुङ’ले उनलाई चर्चामा उभ्याएको छ भने उनको यस पुस्तक बाङ्ला, अङ्ग्रेजीमा अनुवाद भइसकेको छ भने हिन्दीमा पनि चाँडै आउन लागेको छ । प्रस्तुत छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक गोष्ठीतिर व्यस्त बनिरहेका अख्यानकार छुदेन काविमोसित वियोगीले गरेको कुराकानी सम्पादित अंश:
दाइ, खबरको खबर होइन तपाईंको खबर के छ नि ?
खबर ठिक छ । यसचोटि अलि धेर साहित्यक उत्सवतिर दगुराइ भयो । जयपुर लिटरेचर फेस्टिभल पुगियो । सिक्किमको रिड एन्ड ग्रोमा गइयो । उत्सवतिर पुग्दा रमाइलो त हुने हो । तर सधैँ लेखिरहने रूटिन चैँ बिग्रिने रहेछ । त्यसैले अहिले त्यही बिग्रिएको लय पक्रिने कोसिसमा छु । अब हिँडाइ कम गर्ने हो । लेख्न कोसिस गर्ने हो ।
यी सृजनात्मक उत्वसवले आफूलाई कतिको उत्साह र उर्जा थप्यो जस्तो लाग्यो नि ?
फातसुङ आएयता दुईचार साहित्यिक उत्सवमा पुगियो । नेपाल लिटरेचर फेस्टिभलका निम्ति पोखरा पुगेँ । पिपल्स लिटररेरी फेस्टिभलका निम्ति कलकत्ता गएँ । जेएनयू र जादवपुर यूनिभर्सिटी पुगेँ । पछिल्लोचोटि जयपुर लिटरेचर फेस्टिभल पुगेँ, जसलाई धर्तीकै सबैभन्दा ठूलो साहित्यिक उत्सव मानिने रहेछ। उत्सवले लेखकलाई दिने उर्जा नै हो। अरूको दाँजोमा हाम्रो साहित्य कहाँ छ ? त्यो सोच्ने अवसर पनि पाएँ । हरेक उत्सवबाट केही सिक्ने कोसिस चैँ मैले पक्कै गरिरहेँ । अँ ! सबैभन्दा ठूलो कुरा चैँ यी उत्सवहरूले लेखनप्रतिको मेरो विश्वासलाई अझै दरिलो बनाइदिएको छ । सुरूमा कालेबुङ आउँदा म साह्रै नर्भस टाइपको मान्छे थिएँ । मेनरोडमा कवि/ लेखक देखे, भागेर स्ट्याण्डको बाटो लागिदिन्थे । मलाई मान्छेसँग आँखा जुझाएर बोल्नै गाह्रो लाग्थ्यो । यस्तो मान्छेले कसरी फेस्टिभलतिर गएर बोल्ने होला ? त्यो मेरो लेखनले नै सम्भव गराइदिएको हो ।
सिक्किमको नाम उल्लेख गरिहाल्नुभयो । सिक्किम साहित्यिक-साङ्गीतिक-सिर्जनशील भइरहेछ, दार्जीलिङचाहिँ राजनीति-राजनीति-राजनीति मात्र हुँदै गइरहेछ जस्तो लाग्दैन ?
अघिल्लो हप्ता मिरिकमा समालोचक पेम्पा तामाङले भन्नुहुँदै थियो, ‘सिक्किममा किताब पढ्दैनन्।’ तर मलाई लाग्छ, सिक्किमबाट नयाँ हाँचका पाठकहरू निकै ठूलो संख्यामा निस्किरहेका छन् । जुन संख्या दार्जीलिङ र कालेबुङभन्दा गतिलो छ । यसको निम्ति लेखक/कविहरूको जतिको भूमिका छ, त्यतिकै ठूलो भूमिका शिक्षक विजयकुमार सुब्बाहरूको पनि छ, उहाँका कारण युवाहरूले किताबलाई प्रेम गर्न सिकिरहेका छन्। अहिले यस्तै काम राज्यव्यापी रूपमा सिक्किमका सांसद इन्द्रहाङ सुब्बाको अगुवाइमा भइरहेको छ । उनी यसलाई अझै बृहत् रूप दिने कोसिसमा छन् । म त्यसैको निम्ति पनि त्यहाँ पुगेको हुँ । सिक्किमका सांसदलाई भेटेपछि म चकित भएँ, उनलाई राजनीतिको जतिकै चिन्ता साहित्यको पनि छ । त्यही भएर होला, हामी जति समय गफियौँ, त्यहाँ सबैभन्दा धेर कुरा किताबकै भयो । लेखनकै चर्चा भइरह्यो ।
जुनसुकै क्षेत्रमा किन नहोस् ? एकजना किताब पढ्ने मान्छे छ भने उसले केही त पक्कै फरक पारिहाल्छ । सिक्किमका सांसद इन्द्रहाङ सुब्बालाई भेटेपछि मलाई यस्तै अनुभव भएको हो । उनी खूब किताब पढ्छन् र नै त्यहाँका नानीहरूलाई किताब पढाउन चाहन्छन् । दार्जीलिङका सांसद, विधायक र नेताहरूले त चुनाव घोषणापत्रबाहेक अरू खासै केही पढाएजस्तो लाग्दैन। तब हुने त यही भयो । होइन र ?
दार्जीलिङ त दार्जीलिङमै छैन ! यहाँको साहित्यिक, सामाजिक र शैक्षिक(राजनीतिको त कुरै नगरौँ) स्तर कहाँ पुगेको देख्नुहुन्छ ?
अघिल्लोचोटि गाउँ पुग्दा थाह पाएँ, मैले बाह्र कक्षसम्म पढेको स्कूलमा उसले पनि शिक्षक नियुक्ति पाएछ, जसले पाँचौँचोटि सेन्टअप परीक्षा फेल भएको झोँकमा स्कूलको नोटिस बोर्ड नै उखालेर फ्याँकेका थिए । कसरी पायो नि उसले चैँ ? म छक्क परेँ । जवाफ एकै वाक्यको मात्रै थियो, ‘एक समय पार्टीमा कम खटेको हो !’
शिक्षक नियुक्ति अचेल योग्यताको भरमा हुँदैन, झण्डा बोकेको भरमा हुन्छ । अनि मलाई लाग्छ, यसको लाइसेन्स ८६ सालदेखि नै सरकारले पहाडको सत्तालाई दिएको छ। किनकि उनीहरू जान्दछन्, कुनै पनि समाजलाई भत्काउने हो भने सबैभन्दा पहिले त्यहाँको शैक्षिक धरातललाई भत्काइदिए पुग्छ । अरू सब गर्ल्यामगुर्लुम ढलिहाल्छ ।
अब तपाईँ आफैँ भन्नूस्, हाम्रो समाज वा शैक्षिक अवस्थाको वर्णन मैले किन गरिरहनु पर्यो र ?
दार्जीलिङलाई घोषणापत्र मात्र पढाउनुमा केवल जनताको मात्रै दोष छ कि साहित्यकार र बुद्धिजीवीहरूको काफरे विचारको पनि अंशग्रहण छ ?
नेतादेखि बुद्धिजीविसम्म, ठेकादारदेखि सय दिने रोजगारको सुपरभाइजरसम्म, पार्टीको प्यारेन्टबडीदेखि भातृसंगठनसम्म, सबसँग आ-आफ्नो स्वार्थ छ । खासमा यो दोष अहिलेलाई त्यही स्वार्थलाई नै दिइराखौं होला, होइन ?
दाइ च्याट गर्दा गर्दै जी.टी.ए चुनाव हुने कुरा आयो । तपाईंले जयपुर लिट फेस्टमा भन्नुभा’थ्यो, नेताहरू सत्तामा पुगेपछि जनता नै नेताको दुश्मन हुन्छ । किन हुन्छ दाइ ?
केही दिन अघि एउटा कथा पढेको थिएँ। कसको कथा थियो ? शीर्षक के थियो ? सब भुलेछु । तर, आशय ठ्याक्क यही प्रश्नको उत्तरजस्तै थियो ।
एकजना क्रान्तिकारी हुन्छ । ऊ सत्ताको शोषणदेखि यति हैरान हुन्छ कि उसले कसम नै खान्छ, अब शोषकलाई मारेरैमात्र शान्तिको श्वास फेर्नेछु । त्यसपछि उसले हरेक शोषित जनतालाई बटुल्छ । नयाँ नारा दिन्छ । आन्दोलित बनाएर सडकमा ल्याउँछ । त्यसपछि शोषकको दरबार घेराउ गर्न जान्छ । जनता यति आक्रोशित हुन्छ कि, जसको सामु दरबारको सुरक्षा व्यवस्था नै लड्खडाउँछ । तब बल्ल क्रान्तिकारी नेताले दरबारभित्र पस्ने अवसर पाउँछ । किनकि, उसलाई दरबारभित्र पसेर शोषकलाई मार्नुछ । बाहिर आक्रोशित जनताले नारा लगाइरहेकै हुन्छन् । तर जब ऊ दरबारभित्र पस्छ, पहिलो पहरेले भन्छ, ‘म पनि त शोषित नै छु । तपाईँलाई भित्र पठाउन त चाहन्छु तर मलाई तपाईँले घुस दिनुपर्ने हुन्छ।
‘यत्रो आन्दोलन चलिरहेको छ । केको घुस ? क्रान्तिकारीसँग पैसा हुँदैन, थाह छैन ?’नेता चिच्चाउँछ। पहरेले लामो श्वास फेर्छ र बिस्तारै आएर कानमा भन्छ, ‘पैसा पर्दैन । तपाईँको आँखामात्रै दिनुस् । त्यसको सट्टामा अर्को आँखा पाइहाल्नु हुन्छ। तपाईँ अन्धो बन्नुहुन्न।’
‘ठिक छ । त्यति त गरिहालौं ला नि ।’, क्रान्तिकारीले आँखा दिन्छ। अनि बल्ल दोस्रो तल्ला छिर्न पाउँछ । तर, त्यहाँ नि फेरि त्यही घटना दोहोरिन्छ । नयाँ पहरेले भन्छ, ‘कान दिनूस् घुसमा, र अर्को कान लैजानुस् । तपाईँ बहिरो बन्नु हुन्न । अनि बल्ल अर्को तल्लामा चढ्न पाउनु हुनेछ।’
मिल्दै गरेको कुरा किन बिगार्ने ? क्रान्तिकारीले घुसमा कान दिन्छ। अनि बल्ल तेस्रो तल्ला पुग्छ, जहाँ फेरि अर्को पहरेसँग क्रान्तिकारीको जम्काभेट हुन्छ । तब पहरेले भन्छ, ‘यहाँबाट छिरेपछि त तपाईँले शोषकको हत्या गरिहाल्नु हुन्छ। तर, घुसको रूपमा मलाई तपाईँले मुटु दिनुपर्छ । त्यसको सट्टा तपाईँले नयाँ मुटु पाउनु हुनेछ ।’
‘लैजान त यो मुटु’, जब क्रान्तिकारीले घुसमा मुटु दिन्छ, ऊ साँच्चै नै शोषककै चौकीको छेउमा आइपुग्छ। क्रान्तिकारीले अब शोषकको हत्या गर्छ त ? अहँ गर्दैन ।
उसले फर्केर तल सडकमा चिचाइरहेका आक्रोशित जनतातिर एकचोटि फर्केर हेर्छ । देख्छ, जनता त खुसीले नाँचिरहेका छन्। उनीहरू यति खुसी छन्, सत्ताको समर्थनमा गीत गाइरहेका छन् । यति शान्ति र खुसीको संसार क्रान्तिकारीले अघि कहिले देखेकै हुँदैन ।
सत्ता र सम्झौताको आन्दोलन भनेको ठ्याक्क यस्तै हुन्छ। अब आफैँ भन्नुस्, ‘क्रान्तिकारीले जसलाई नाँचिरहेको देख्छ, उसले उल्टो कुरा गरेको सुने रिस उठ्दैन त ? दुश्मन बन्दैन त ?’ हाम्रो स्थिति ठ्याक्क यस्तै त छ।
सपनाले सताउँछ कि सुख दिन्छ दाइ ?
तपाईँ दुःखमा हुनुहुन्छ भने सपनाले खुसी हुने बाटो देखाउनेछ । संघर्षमा हुनुहुन्छ भने परिश्रम गर्ने आँट सिकाउनेछ । पीडामा हुनुहुन्छ भने खुसीको आभास दिलाउनेछ । रूँदा होस् वा हाँस्दा, दुख्दा वा खुसी हुँदा, कुनैथोक बराबर प्रिय हुन्छ भने त्यो केवल सपना नै हो।
उपन्यास नेपालीमा लेख्नुभयो, तर नाम लेप्चा भाषामा राख्नु भयो । सोझै ‘माटोको कथा’ भने के हुन्थ्यो ? नभनेर के भयो ?
उपन्यास लेखिसकेपछि मेरो सबैभन्दा ठूलो समस्या थियो, नाम के राख्ने ? एक साँझ कवि राजा पुनियाँनी र प्रकाशक सुरज रोसूरीसँग म चिया गफ गर्दै थिएँ । कुरा यही उपन्यासको वरिपरि घुमिरहेको थियो । लगभग पाँच-पाँच कप चिया पिएपछि होला, राजा दाले आइडिया निकाले, ‘लेप्चा भाषामा माटोलाई के भन्छ ?’
मैले जवाफ दिए, ‘फात।’
अनि कथालाई ?
सुङ ।
लौ किताबको नाम फातसुङ राखौं।
मैले एकचोटि नाम दोहोर्याएँ । मिठो गीत बजेजस्तो भयो । एक किसिमको रमाइलो फिल भएर आयो । अनि त उपन्यासको नाम फाइनल भयो, ‘फातसुङ’। माटोको कथाभन्दा मिठो छैन र फातसुङ ?
मेरो प्रश्नमा तपाईंले दिइरहेको उत्तरको अन्तमा पनि प्रश्न नै छ । प्रश्नले उत्तर खोजिरहन्छ, उत्तरले नि प्रश्न नै खोज्ने रै’छ । के जिन्दगी प्रश्न र उत्तर, उत्तर र प्रश्न हो ?
प्रश्न भनेको जिज्ञासा हो । जिज्ञासाबिना त जिन्दगी के रमाइलो होला र ? त्यही भएर जीवन प्रश्न बनेर घुमिरहन्छ, र नै हामी उत्तर खोज्दै खोज्दै एकदिन बुढो हुनेछौं ।
किताबी काम कुरो गर्ने यात्रामै केही महिनाअघि दुर्घटनामा पर्नुभयो । मृत्युदेखि डर लाग्दोरहेछ दाइ ?
म दुईचोटि दुर्घटनामा परेको छु । एकचोटि बर्खाको घिसखोलाले बगाएको हो, तर छालले पारि फ्याँकिदियो र म बाँचे । यसचोटि बाइक दुर्घटनामा परियो । छेवाङजीको खुट्टा भाँचियो । संयोगवश मेरो केही भएन । दुर्घटनापछि केही दिन सुत्न सकिनँ । फिक्सन लेख्ने बानी भएर होला, दिमागमा नयाँ नयाँ कुरा घुमिरहन्थ्यो, ‘रेलको पट्रीमा टाउको परेको भए के हुन्थ्यो होला ? दुर्घटना हुँदा बाइकको पछिल्तिरको मान्छे हुँइकिएर अघिल्तिर जाने रहेछ। यसो हुँदा गाडीको बनेटमा ठोकिएको भए, के हुन्थ्यो ? चक्कामुनि नै परेको भए के हुन्थ्यो होला ?’ तर, तेस्रो दिनमा मैले रियलाइज गरेँ, ‘जीवनमा धेरै काम गर्न अझै बाँकी नै छ, र नै म बाँचेँ ।
अनि ?
अनि, फेरि मैले लेख्न सुरू गरेँ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।