पछिल्लो समय गीत, गजल, कविता र कथा लेखनमा सक्रिय नाम हो सिम्रन क्षेत्री । चितवन र आसपासका जिल्लाका युवाहरुमा उनी कवि र गजलकार भनेर परिचय बनाएकी कृयाशिल युवा लेखक हुन् । तर पछिल्लो समय उनको परिचय एकाएक फेरिएको छ । कारण हो उनले लेखेको उपन्यास झुमर । यतिखेर उनी झुमरकै कारण देशविदेशमा चर्चामा छिन् । सबैसँग सजिलै घुलमिल हुन सक्ने स्वभावकी सरल तर शान्त देखिने सिम्रन सुन्दरी लेखिकाका रुपमा पनि लेखकहरु माझ चिनिएकी छन् । हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवन साहित्य परिषद्, गजल मञ्च चितवन, नेपाली लेखक संघ चितवनजस्ता साहित्यिक संस्थाहरु सँग पनि उनी जोडिएकी उनको स्थायी ठेगाना दियालो रोड, नारायणगढ-१ चितवन हो । उनी गृहणी र कुशल व्यवसायी पनि हुन् । केही समय पहिला चितवनमा विमोचित उनको यो उपन्यास युएईमा समेत एक कार्यक्रममाझ विमोचित भएको छ ।

प्रस्तुत छ, आख्यानकार सिम्रन क्षेत्रीसँग ‘झुमर’मा केन्द्रित रहेर साहित्यपोस्टका लागि अजित उत्सवले गरेकाे कुराकानीकाे सम्पादित अशं;

तपाईँको साहित्य लेखनको सुरुवात कसरी भयो ?

भूमिगत भएर आख्यान लेखेँ, लेखिसकेपछि बल्ल साहित्यिक क्षेत्रमा फाट्टफुट्ट कविता, गजल,मुक्तक, कथा लेखेर साहित्य जगतमा पाइला राख्न थालेँ। साहित्य क्षेत्रमा प्रवेश गरे सङ्गै पहिला गजलकार भएर चिनिएँ साथै त्यसपछि कविता पनि लेख्न थालेँ मेरा कविताहरु पनि मन पराइन थाले । त्यसपछि म कवि भएर चिनिएँ ।

सिम्रन क्षेत्री

तपाईं त कविता, गजल, गीत लेखेर परिचित हुनुहुन्थ्यो, एक्कासी आख्यानकार भएर आउनु भयो, आख्यानकार नै बन्नु पर्ने रहर कसरी जाग्यो ?

आख्यान लेखिरहँदा मलाई कसैले चिन्नुहुन्थेन । आख्यान लेखिरहँदाको समय मैले आख्यानमै डुबेर लेखेकी हुँ। आख्यान लेखेर सकिसकेपछि बल्ल म बाहिर निस्केकी हुँ, त्यसो त कविता, गजल, गीतभन्दा अगाडि आख्यान नै मेरो बाटो भयो मात्रै नतिजा हामी सबैमाझ ढिला आइपुग्यो।

झुमर कसरी जन्म्यो ? यो मधेशी जनजीवनको कथा हो ?

हाम्रा सामाजिक गतिविधिहरु, बेथितिहरु,पितृसत्तात्मक सोच, महिलामाथि सदियौंदेखि हुँदै आएको दमन ,अत्याचार, कहिले धर्मको नाउँमा, कहिले परम्पराको नाउँमा हाम्रो नेपाली समाजले महिलासँग सधैं हिसाबकिताब मागिरहने यो प्रचलनले गर्दा नै झुमर जन्मिएको हो। यो मधेसी जनजीवनको कथाभन्दा पनि हरेक घर घरभित्रको कथा हो। अझै भन्नुपर्दा यो नेपाली समाजको कथा हो।

पुस्तकको आवरणमा झुमर उपन्यास महिलावादी उपन्यास भनेर चित्रित गरिएको छ, महिलाको मुद्दा त प्रायः लेखकले उठाएकै मुद्दा हो, यस पुस्तकमा नयाँ के छ ?

पक्कै पनि दु:ख, पीडा, भोगाइ कहिले पनि पुराना हुँदैनन् मात्रै माध्यम फरक होलान् । र अर्को कुरा झुमर पढ्नु भयो भने धेरै कुराहरु नयाँ पाउनुहुनेछ। अहिलेको युवा पुस्ताको जीवन शैली, आधुनिक प्रेमको झुठो नाटक, अहिलेका युवा पुस्ता कतातिर धकेल्लिरहेका छन् , जुन समय सापेक्षित छ ,यस्ता धेरै कुराहरु नयाँ पाउनुहुन्छ।

अन्तर्वार्ताकार : अजित उत्सव

लेख्नु सोख हो कि लक्ष्य ?

मलाई लाग्छ, सोखको पछि दौडनु हुँदैन । कुनै सोख निकै जिद्दी हुन्छन्, पूरा गर्न सकिँदैन । फेरि सोख भनेको समयसँगै परिवर्तन हुन्छन् । त्यसैले म लक्ष्यमा विश्वास राख्छु। कुनै पनि काम गर्छु भनेर लक्ष्य राखियो भने त्यो जसरी पनि पूरा गर्न सकिन्छ । लक्ष्यमा अलिकति सोख जाग्यो भने त सुनमा सुगन्ध थपेझैं भने हुन्छ ।

नारीले नारी संवेदनाका कथामा कलम चलाउन पुरुषलाई भन्दा सहज हुने हो ?

म यो कुरा चाहिँ मान्दिनँ, किनभने जति पनि पुस्तकहरु छन्, उपन्यास, कथाका ठेलीहरु, प्रायः जसो महिला पात्र तथा महिलाका मुद्दाहरुमा नै केन्द्रित भएर जति पनि लेखिएका छन् । ती सबै पुरुष लेखकहरुबाट नै लेखिएका छन् । सजिलोको हिसाबले कुनै न कुनै मुद्दाहरुमा आफ्नो भोगाइ पनि मिस्सिने हुनाले पुरुषको तुलनामा महिला लेखकहरुलाई नारी संवेदनाका कथामा कलम चलाउन केही सहज भने होला ।

पुस्तकको बिक्री निक्कै राम्रो छ भन्ने सुनिन्छ, कत्तिको उत्साहित हुनुहुन्छ ?

हजुर पक्कै पनि । पहिलो कृति भएका कारण मलाई खुसीसँगसँगै कता कता डर पनि लागेको थियो । तर किताब बजारमा आइसकेपछि झुमरको माग झनै बढ्यो र बढिरहेकै छ। विभिन्न कारणले पाठकहरु समक्ष उपलब्ध गराउन पनि सकेका छैनौँ तर कोसिस गरिरहेकै छौँ । अहिले चाहिँ बिक्री नहोला भन्ने डरभन्दा पनि झुमर सबै पाठकसामु पुर्याउन सकिएला नसकिएला भन्ने डरले छोपेको छ। यस किसिमको पाठकहरुको मायाले म निकै खुसी छु।

बिक्रीको रेकर्ड हेर्दा दोश्रो संस्करण छिट्टै आउन सक्ने बजार हल्ला छ नि ?

हजुर यो कुरा साँचो हो, किनभने चितवनमा मात्रै धेरै मात्रामा किताब बिक्री भएको छ । चितवनभन्दा बाहिर तथा विदेशबाट पनि उत्तिकै मात्रामा झुमरको माग बढिरहेको छ । यस हिसाबले पनि अब छिट्टै दोस्रो संस्करण पनि आउनेछ ।

यसपछि के लेख्नु हुन्छ ? कि कवि सिम्रन क्षेत्री अब पूर्ण रुपले आख्यानकारकै रुपमा स्थापित हुने सोच हो ?

अहिले भर्खरै त यही लेख्छु भनेर सोचेकी छैन । पाठकहरुसँग नजिक भएर झुमरबारे धेरै कुराहरु साट्ने मन छ, र कोसिस पनि गरिरहेकी छु । अब केही समय झुमरमै व्यस्त रहन्छु। र आयो कविका कुरा । साहित्य एउटा जरा हो र कविता, गजल ,मुक्तक, गीतजस्ता सिर्जनाहरु यसका हाँगा हुन् जस्तो लाग्छ, त्यसकारण पनि म फाट्टफुट्ट कविता, गजलहरु पनि कोरिरहेकी हुन्छु। साथै कार्यक्रमहरुमा जाँदा सुनाउँछु पनि ।

झुमर लेख्ने सोच कसरी पलायो र यसका पात्रहरु कसरी जन्मे ?

मैले अघि नै पनि भनिसकेँ। नेपाली समाजले महिलालाई मानिस भएर बाँच्न नदिएका कारणले गर्दा झुमर अङ्कुरायो । नेपाले नारीको प्रतिनिधि आवाज हो झुमर । झुमरले नेपाली समाजको तितोसत्य बोलेको छ । यसका पात्रहरू पनि नेपाली समाज भित्रै छन् । देशका विभिन्न ठाउँहरु जाने क्रममा देखिएका,सुनिएका घटनाहरु तथा समाचार, पत्रपत्रिका, सिनेमाहरुले पात्रहरू जन्माउन सहयोग गरे ।

एउटा गृहिणी अनि व्यवसायीले आख्यान लेख्न समय चाहिँ कसरी व्यवस्थापन गर्नु पर्दो रहेछ ?

सबैभन्दा खुसीको कुरा त म नेपालमा बसेर लेख्न पाएकी छु । नेपालमा अलिकति मात्रै दु:ख गरिदिए समयको व्यवस्थापन गर्न सकिन्छ । नेपालभन्दा बाहिर पनि ठूलो सङ्ख्यामा स्रष्टाहरु हुनुहुन्छ । व्यस्त मुलुकहरुमा रहेर पनि सिर्जना गरिरहनुहुन्छ । उदाहरणका लागि उपन्यासकार निलम कार्की निहारिका दिदी, वहाँलाई हेरेर , वहाँको कृतिहरू पढेर पनि मैले धेरै कुराहरु सिकिरहेकी हुन्छु । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ इच्छा राख्नुपर्छ, सिर्जना भन्ने कुरा कहिल्यै मर्दैन झनै झाङ्गिएर जान्छ ।

गीत, गजल गाएर मञ्च र महफिलमा वाह वाह बटुल्ने उमेरमा तपाईं आख्यानमा जम्नु भो, अलिक छिटो भए जस्तो लाग्दैन ?

यो कुरा मलाई धेरै अग्रजहरुले पनि भन्दै आउनुभएको पनि हो, “अलि छिटो लेख्यौ नानी, नहतारिएको भए हुन्थ्यो ।” मलाई कति बेला हो कि जस्तो पनि लाग्थ्यो । फेरि यस्तो पनि लाग्यो, युवा भएर लेख्दा जति युवाका कुराहरुलाई उतार्न सजिलो हुन्छ त्यति अरु उमेर समूहका कुराहरु उतार्न गाह्रो हुन्छ । अझै म बालिका, नाबालिका भएर लेख्न सकेको भए त्यति बेलाका उतारचढाव, दु:ख,खुसी पलहरुलाई समेट्न सक्ने थिएँझैं लाग्छ । यसकारण पनि कुनै पनि काम गर्दा त्यसमै एकाग्र भएर, उद्देश्य, इच्छा, लक्ष्य,धैर्यता र निरन्तरता राखेर एउटै काममा केन्द्रित हुने हो भने त्यस काम गर्न कुनै पनि उमेरले छेक्दैन भन्ने कुराको अनुभव बटुलिरहेकी छु।

यतिखेर पनि केही लेख्दै हुनुहुन्छ कि?

यतिखेर म कविता, गजल ,कथा केही न केही त लेखिरहेकै हुन्छु।

यसबेला पढिरहेको पुस्तक चाहिँ कुन होला ?

यसबेला सानु शर्माजीको ‘फरक’ पुस्तक पढिरहेकी छु ।

अबका योजनाहरु के के छन् यहाँका ?

खासै ठुलो योजना त केही पनि छैन तर पनि साङ्गीतिक क्षेत्रका अग्रजहरुसँग मिलेर साङ्गीतिक क्षेत्रमा प्रवेश गर्ने सोचमा छु। हुन त साङ्गीतिक क्षेत्रमा प्रवेश गरे भन्दा पनि हुन्छ । यही कृष्ण जन्माष्टमी पारेर कृष्ण राधाको भजन बजारमा आउँदै छ । जसमा राम्रो टिमसँग काम गर्न पाएकी छु। जसमा हुनुहुन्छ आदरणीय सरहरु आन्नद कार्की, मुरलीधर,गोविन्द मधुर, ज्योति प्रकाश, सन्तोष पौडेल तथा The Music Era उहाँहरु सबैप्रति आभारी छु। त्यस्तै अर्को भजनमा हुनुहुन्छ , आनन्द कार्की सर ,चन्द Chand Singh , Generic Studio एकैपटक दुई ओटा भजनहरु आउने तयारी हुँदैछ । साथै यस भजनले सबैजनाको माया पाउनेछ भन्ने कुरामा म विश्वस्त छु ।