‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ संवाद; गीतामा मनका कुरा
साहित्य सिर्जनालाई मनोरोग निवारणको माध्यम बनाउन सकिन्छ - प्रा.डा. अजय रिसाल
२०७७ सालमा, साहित्यपोस्टको संयोजन तथा क्रान्तिकारी नेतृ योगमायाका अध्येता उत्तमप्रसाद पन्तको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम कृति पुरस्कार– २०७८”का लागि ११ पुस्तकहरूको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा सर्वोत्कृष्ट एक कृतिको घोषणा गर्नुअघि उत्कृष्ट एघार कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ उत्कृष्ट एघारमा छनोट भएको गैरआख्यान विधाको कृति ‘गीतामा मनका कुरा’का स्रष्टा प्रा.डा. अजय रिसालसँगको संवाद प्रस्तुत गरिएको छ ।

तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि उत्कृष्ट पुस्तकको सूचीमा पर्न सफल भयो । कस्तो अनुभूति गरिरहनुभएको छ ?
पुरस्कृत हुने सूचीमा पर्नु आफैँमा एक गौरवान्वित गराउने विषय हो । त्यसमाथि मेरो यो पहिलो प्रयास, अनि हृदयदेखिकै लगाव, परिश्रम अनि आफूले मनैदेखि चाहेको अनि आफ्नो पेसागत अनि संस्कारगत रूपमा नै रही आएको विषयसँग सम्बन्धित रहेको कृति भएकाले अलि विशेष नै लागिरहेको छ यो अनुभव ।
“साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि ११ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?
आफैँ पुरस्कृत हुन पाइएमा एउटा प्रेरणा अनि प्रोत्साहन त हुने नै भयो । आफ्नो कृति नभएमा नै पनि कुनै न कुनै विशेष कृतिले अथवा कसै न कसैको पहिलो प्रयासले पुरस्कार पाउने भएको हुँदा सन्तोष नै मान्दछु । पुरस्कार जित्नु या नजित्नुले मेरो साहित्यिक यात्रामा खासै ठूलो प्रभाव पार्दैन । कर्मयोगमा विश्वास राख्ने भएकाले मेरो साहित्यिक अनि आध्यात्मिक यात्रा निरन्तर नै रहन्छ, अहिले नै फल पाए पनि नपाए पनि ।
“गीतामा मनका कुरा” किन लेख्नु भयो ?
पेसाले म मनोचिकित्सक अनि मनोविज्ञानको विद्यार्थी-शोधार्थी पनि । बाह्र वर्षभन्दा बढी भयो यो पेसामा लागेको । अध्ययनको अवधि पनि जोड्दा चिकित्सा पेसामा लागेको दुई दशक बढी भयो, मनोचिकित्साकै विषयमा अध्ययन–चिन्तन गरेको १५ वर्ष बढी भयो । सानैदेखिको पारिवारिक अनि विद्यालयको संस्कारको प्रभावले श्रीमद्भगवद्गीतासँग नजिकिने अनि यसको अध्ययन–पठन गर्ने सौभाग्य प्राप्त भयो । बुझ्ने भएदेखि नै गीताको कृष्ण–अर्जुन संवाद प्रेरणादायी अनि मनोवैज्ञानिक उपचारले ओतप्रोत भएझैँ लाग्ने गर्दथ्यो । अझ आफ्नो अध्ययनको विषय अनि रोजीरोटीको श्रोत नै मनोचिकित्सा भएकाले झनै गहिरिएर अध्ययन गर्ने अनि आफ्नो पेसागत परिधिमा जोख्ने–परेख्ने गर्न थालेँ । मनोचिकित्सा र अध्यात्म (अझ हाम्रो पूर्वीय संस्कृति) लाई जोड्ने नै मैले जीवनको उद्देश्य बनाएकाले पनि “गीतामा मनका कुरा” नै उपयुक्त माध्यम बन्न पुग्यो ।
कृति लेखनका अनुभूति र प्रकाशनका बारेमा थोरै बताइदिनुहोस् न ?
भगवद्गीता र मनोचिकित्सासँग सम्बन्धित छोटामोटा लेखहरू पहिले पनि यदाकदा लेख्ने, पत्रिकाहरूमा छपाउने गरी नै राखेको थिएँ । कोभिडकालमा अलिकति समय पनि मिलेको अनि त्यहीताका प्रातःस्मरणीय पिताजीको देहान्त पनि भएकाले आफ्नो व्यक्तिगत शोकको क्षणमा श्रीमद्भगवद्गीताको अध्ययनको रफ्तार पनि बढ्यो । गीतामा अध्ययन गरेको विषयलाई मनोचिकित्साको कसीमा ढाल्दै जाँदा अरू लेखहरु पनि थपिए । सुरुका ५–६ लेखहरू शिलापत्र अनलाइनमा प्रकाशित पनि हुँदै गए । पछि साहित्यपोस्टका प्रधानसम्पादकसँग सम्पर्क हुन पुगेपछि गीताका लेखहरू “मनोचिकित्सामा अध्यात्म” स्तम्भमा प्रत्येक बुधवार प्रकाशित गर्दै जाने अनि पुस्तकाकार बनाएर प्रकाशन गर्ने सहमति भयो । लेख्दै जाँदा, गर्दै जाँदा “गीतामा मनका कुरा” को जन्म भयो ।
तपाईँ मनोचिकित्सक, मनोचिकित्सामा साहित्यको भूमिका के कस्तो रहन्छ ?
मनोचिकित्सामा साहित्यको ठूलो भूमिका रहन्छ । केही मनोवैज्ञानिक आवेग भएका क्षण (जस्तैः हाइपोम्यानिया) लाई साहित्य सिर्जनाका उर्बर समय पनि मानिएको छ । साहित्यकारहरू स्वभावैले कोमल मनस्थितिका हुने अनि उनीहरू मनोवेगको प्रभावमा चाँडै नै पर्ने भन्ने पनि छन् यदाकदा । त्यस्तै साहित्य सिर्जनालाई मनोरोग निवारणको माध्यम पनि बनाउन सकिन्छ भनेर पनि धेरथोर अध्ययनहरू पनि भएका छन् ।
“गीतामा मनका कुरा”ले पुरस्कार पायो भने आर्थिक राशिले के गर्नु हुन्छ ?
“गीतामा मनका कुरा” मैले आफ्नै तलबबाट प्राप्त रकमले भनौँ या आफ्नै बचत/खर्च कटाएर जम्मा गरेको श्रोतले प्रकाशित गरेको हुँ । हामीकहाँ साहित्य सिर्जनाबाट नै जीवन धान्ने अवस्था छैन । अझ हामीजस्ता आफ्नो पेसागत धर्म निर्वाह गरेर रुचिका लागि साहित्य सिर्जना गर्नेहरूले त प्रकाशनका लागि आफ्नै श्रोतमा नै भर पर्नुपर्ने अवस्था छ । फेरि पुस्तक बिक्री भएर लगानी उठ्न पनि त्यत्ति सजिलो रहेनछ यहाँ । किनेर पुस्तक पढ्ने संस्कृति विकास भएको छैन हाम्रो समाजमा । या, “पहिलो कृति भएर पो मलाई त्यस्तो लागेको हो कि ?”, मलाई थाहा छैन ।
मैले अघि नै भनिसकेँ, म साहित्य सिर्जनामा निरन्तर लाग्न चाहन्छु । त्यसैले भगवद्कृपाले “गीतामा मनका कुरा”ले पुरस्कार पायो भने त्यो आर्थिक राशिलाई साहित्य सिर्जनाकै बीजका रूपमा बचत गरेर मेरो अर्को प्रकाशनका लागि प्रयोग गर्दछु ।
अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरु के के छन् ?
मनोचिकित्सा, मनोविज्ञान, अध्यात्म अनि साहित्यकै क्षेत्रमा निरन्तर कलम चलाउने योजना छ । “चरैवेति, चरैवेति” भनेझैँ हिँड्दै जाउँ, गर्दै जाउँ । आगे आगे देखेगें, होता है क्या !