२०७७ सालमा, साहित्यपोस्टको संयोजन तथा क्रान्तिकारी नेतृ योगमायाका अध्येता उत्तमप्रसाद पन्तको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम कृति पुरस्कार– २०७८”का लागि ११ पुस्तकहरूको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा सर्वोत्कृष्ट एक कृतिको घोषणा गर्नुअघि उत्कृष्ट एघार कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ उत्कृष्ट एघारमा छनोट भएको अन्तर्वार्ता सँगालो ‘सुगन्धपुर‘का स्रष्टा विश्व कुइकेलसँगको संवाद प्रस्तुत गरिएको छ ।
तपाईँको पहिलो कृति (कथासङ्ग्रह) “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि उत्कृष्ट पुस्तकको सूचीमा पर्न सफल पर्यो । कस्तो अनुभूति गरिरहनुभएको छ ?
सर्वप्रथम त साहित्यपोस्टप्रति आभार व्यक्त गर्न चाहन्छु कि “सुगन्धपुर” कथासङ्ग्रह प्रारम्भिकरूपमा उत्तम कृति पुरस्कारको लागि छनौट भएको छ । यसमा स्वभाविक रूपमा नै खुसी लाग्नुपर्ने हो तथापि मेरो अनुभूति भने मिश्रित छ । एकातर्फ खुशी लागिरहेको छ भने अर्कोतर्फ यसलाई हेरिने वा हेरिएको दृष्टिकोणप्रति गम्भीर पनि भएको छु । साथसाथै एक किसिमको उत्साह पनि सिर्जना भएको छ ।
“साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि ११ कृति छनोट भएका छन् । अर्थात् तपाईँका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको साहित्यिक यात्रामा के अर्थ राख्छ ?
कुनै पनि कृतिलाई बलियो मानिनुको पछाडि तीनले बोकेको विधागत तथा विशिष्ट विशेषता र ती विशेषतालाई हेरिने दृष्टिकोण एवम् व्यक्तिगत रूचीको विषय पनि हुन्छ । यहाँ छनौट भएका कृतिहरू विविधतायुक्त पनि छन् । विधागत रूपमा पनि फरक फरक छन् । सैद्धान्तिक कसीमा पनि विभिन्नता छ । उठाएका मुद्दाहरूमा पनि समानता छैन तर प्रत्येक मुद्दाहरू आफैँमा महत्वपूर्ण पनि छन् । प्रत्येकले बोकेको आआफ्नै विशेषताले गर्दा बलिया पनि छन् । त्यसैले मलाई पनि लाग्छ, छनौट भएका कृतिहरू निश्चय नै बलिया छन् तथापि प्रत्येक कृति बलियो हुनुको पछाडिका अर्थहरू भने फरक नै छन् । ती बलिया कृतिहरूको बीचमा “सुगन्धपुर”ले पुरस्कार जित्नु वा नजित्नुले धेरै फरक पार्दैन किनभने पुरस्कार नजित्नु भनेको अस्वीकृत हुनु पटक्कै होइन । त्यसै पनि छनौटमा परेका एघारमध्ये एक हुनुले नै यसको जग ठीक ठाउँमा लागेको छ भन्ने पुष्टि भने भइसकेको छ ।
बाँकी रह्यो पुरस्कारको कुरा, पुरस्कृत हुँदा र नहुँदा दुवै अवस्थामा बढ्ने भनेको चुनौति र अझ राम्रो लेख्ने भोक नै हो । यो साहित्यिक यात्रामा निस्कनु अघि नै एक किसिमको मानसिक द्वन्द्व व्यवस्थापन गरिसकिएको हुँदा पुरस्कार नपाउँदा पनि यात्रामाबिराम भने लाग्दैन । तथापि पुरस्कृत भएमा एक बलियो मनस्थिति र लगावको सिर्जना भने पक्कै हुन्छ ।
“सुगन्धपुर”मा सङ्ग्रहित कथाहरुले के कस्ता विषयवस्तु र अनुभूतिहरु समेटिएका छन् ?
“सुगन्धपुर”भित्रका कथाहरू सामाजिक यथार्थमाथि बुनिएका कथाहरू हुन् । यसमा मैले बिताएका पल, पात्र र परिवेश घोल्ने प्रयास गरेको छु । काठमाडौँको काँठ क्षेत्रलगायत सुदूरपश्चिमका कथाहरूको बाहुल्य छ । स्थानीय भूगोल, संस्कृति र भाषिक भेदलाई पनि सकेसम्म समेट्ने प्रयास गरेको छु । नलेखिएका खालका कथाहरू लेख्ने हुटहुटी पनि छ ममा । धेरै कथाहरू यात्रामा भेटिएका पात्रहरूलाई जोडेर लेख्न खोज्दा नियात्रामूलक कथा बन्न पुगेका पनि छन् । यो सायद तत् तत् स्थानप्रतिको भावनात्मक सम्बन्ध र कथाका पात्रहरूलाई न्याय गर्ने लालसाले उब्जाएको परिणती पनि हो । अधिकांश कथामा सानो वा ठूलो पात्रको रूपमा म आफैँ पनि छु । यसर्थ पनि समग्र कथासङ्ग्रह मेरो अनुभूति नै हो । लामो समयदेखि मनमा गढेर बसेका घटनाहरूलाई आख्यानीकरण गरेको छु यसमा । आफ्नो बाल्यकालदेखि जागिरे जीवनसम्मको भोगाइ र अनुभवको सङ्ग्रह पनि हो “सुगन्धपुर”।
सङ्ग्रहमा सङ्ग्रहित कथाहरुमा तपाईँको व्यक्तिगत जीवन र अनुभूतिहरुका प्रतिबिम्ब के कति छन् ?
एकदमै धेरै छन् जुन मैले माथि पनि भनिसकेँ जसको प्रमाण सङ्ग्रहभित्रकै कथाहरूले पनि दिइरहेका छन् भन्ने लाग्छ । व्यक्तिगत जीवन र अनुभूतिहरूको प्रतिबिम्ब नै हो भनी प्रष्ट्याउने भोकले गर्दा नै एउटा कथामा त वास्तविक व्यक्तिकै नाम, स्थान र परिवेश समेत राखेर लेखेको छु ।
“सुगन्धपुर”ले पुरस्कार पायो भने आर्थिक राशिले के गर्नु हुन्छ ?
मैले यसको खास योजना बनाएको छैन । धेरै महत्वाकांक्षी र आदर्शवान् भएर कुनै कुरा भन्न पनि चाहन्न । तथापि पुरस्कार पाइहालें भने त्यो राशि गैरसाहित्यिक कर्ममा चाहिँ प्रयोग गर्दिनँ ।
अन्त्यमा, भविष्यको साहित्यिक यात्राका योजनाहरु के के छन् ?
कलम चलुञ्जेल लेख्ने नै हो । आख्यान र गैरआख्यान दुवैमा मेरो रूची छ तथापि बढी सन्तुष्टीचाहिँ आख्यान लेखनमा नै पाउने गरेको छु । यसमा शुभचिन्तकहरूबाट प्रोत्साहन पनि पाइरहेको छु । लेखनमा निरन्तरता छ । केही कथाहरू र एउटा उपन्यासको पाण्डुलिपी तयार भई अन्तिम रूप दिने प्रयासमा छु । प्रकाशनको लागि हतार गरौँ कि नगरौँ ? दोधारमा छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।