युनाइटेड सिमेन्ट उद्योगका बजार प्रमुख हुन् सुवास खतिवडा । कीर्तिपुरमा जन्मिएका खतिवडा २५ वर्षदेखि  कामाडौँस्थित कुलेश्वरमा बस्दै आएका छन् । खतिवडाको रुचि कला र साहित्यको क्षेत्रमा पनि विशेष छ । प्रस्तुत छ, ६ वर्षदेखि युनाइटेड सिमेन्ट उद्योगका बजार प्रमुखका रुपमा काम गरिरहेका खतिवडासँग साहित्यपोस्टका लागि ऋतु काफ्लेले गरेको कुराकानीको सम्पादित अंशः

व्यवसायिक व्यक्ति, साहित्यप्रति कसरी झुकाव रहन गयो ?

म साहित्यिक पारिवारिक पृष्ठभूमिमा हुर्किएको हुँ । मेरो बुबा कविता लेख्नुहुन्छ । मेरो दाइ कथा–कविता लेख्नुहुन्छ । उहाँले लेखेको देखेर मलाई बच्चादेखि नै एक किसिमको छाप पर्यो । साहित्य मेरो व्यवसायिक विधा होइन, तर पहिलो कविता लेखेको भनेको कक्षा एकमा पढ्दा नै हो । कविता भनेको के हो ? त्यसबेला मलाई थाहा थिएन । तर त्यो कविता वाचन पनि गरेको थिएँ मासमा गएर । कक्षा ४ मा पढ्दा बालकार्यक्रम आउँथ्यो नेपाल टेलिभिजनबाट, त्यो कार्यक्रममा गएर मैले कविता वाचन गरेको थिएँ । त्यसबाट पनि मलाई साहित्यप्रति रुचि जाग्यो । त्यसपछि भने लामो ग्याप भयो ।

ब्याचलर पढ्न थालेपछि मैले फेरि कविताहरु लेख्न थालेँ । लेख्दै जाँदा कस्तो हुँदोरहेछ भने केही समयपछि आफूले लेखेको कविता आफैँलाई नै चित्त नबुझ्ने रहेछ । पछि मैले राम्रो कविता लेख्ने २–४ जना गुरुहरुसँग पनि सोधेँ । उहाँहरुले सुझाव पनि दिनुभयो । त्यसपछि मैले फेरि सुधार गरेर लेख्न थालेको हुँ ।

कवितामा कस्ता विषयवस्तुलाई प्राथमिकता दिनुहुन्छ ?

मेरो कविता सामान्यतः प्रेममा आधारित हुन्छन् । धेरै क्षेत्रहरु समेटेर मैले कविता लेख्ने गरेको छैन । धेरै चल्ने र समेट्न सजिलो लाग्ने नै प्रेम हो, मलाई । अर्को भनेको समाज हो । समाजका विकृतिहरुलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्न मन पर्छ ।

पहिलोपटक पढ्नुभएको कृतिचाहिँ कुन हो ?

मैले पहिलोपटक पढेको कृति माधवप्रसाद घिमिरेको ‘गौरी’ हो । मलाई राम्रा लाग्ने भनेको महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविताहरु पनि हुन् । लेखनाथ पौड्याललाई एकदमै मान्छु । जुन नैतिकताको गहिराइमा पौड्यालका कविताहरु छन्, त्यसलाई मेरो पूर्ण सम्मान छ ।

किताब पढ्न कुन समय उपयुक्त लाग्छ ?

यही नै भन्ने छैन । बिदाको दिनमा दिउँसै पनि पढ्छु । प्रायःजसो बेलुकाको समयमा पढ्छु । अहिले पूर्ण रुपमा पढेर सक्काएको कर्णाली ब्लुज हो । प्रेतकल्प, पल्पसा क्याफे, लूजस्ता किताकहरु पढेर सकाएको छु । सबैको नाम लिन सम्भव छैन । अहिले भने रक्तबिज र सद्गुरुको एउटा किताब पढ्दै छु ।

तपाईंकाे किताब किन्ने आधार के हो ?

साँच्चै भन्नुपर्दा मैले ज्यादै कम किताबहरु किनेको छु । बजारमै गएर किनेको नवराज पराजुलीको कवितासङ्ग्रह ‘सगरमाथाको गहिराइ’ र बुद्धिसागरको ‘कर्णाली ब्लुज’मात्र हो । मैले पढ्ने किताबहरुको मुख्य स्रोत भनेकै मेरो दाजु हुनुहुन्छ । दाजुले किताब किनेर ल्याइरहनुहुन्छ, म पढ्छु ।

मन पर्ने लेखकचाहिँ को हो ?

उपन्यासको विधामा मलाई बुद्धिसागर औधी मन पर्छ । कवितामा पुराना कविहरू महाकवि देवकोटा र पौडेल मन पर्छ । गजलकारमा प्रदीप रोदन, नयाँ कविमा छन्दकवि सुदेश सत्याल र नवराज पराजुली मन पर्छ । विदेशी लेखकका चाहिँ मेरा प्रिय लेखक रवीन्द्रनाथ ठाकुर हुन् ।

साहित्य या सिनेमाका कुनै यस्तो पात्र, जोसँग तपाईं समय बिताउन चाहनुहुन्छ ?

साहित्यमा म नवराज पराजुलीसँग समय बिताउन चाहन्छु । एड्भेन्चरमा निर्मल पूर्जा । निर्मल दाइलाई कतै बाटोमा भेटेँ भने म सिधा सेल्फी खिचौँ न भन्छु होला ।

तपाईंकाे बुझाइमा साहित्य के हो ?

साहित्य भनेको नदी हो । त्यसलाई बुझ्न नदीसँगै गहिराइमा पुग्नुपर्छ, डुब्नु पनि पर्छ ।

पछिल्लो समय युवापुस्तामा नेपाली भाषाप्रतिको मोह र प्रेम घट्नुको कारण के हो जस्तो लाग्छ ?

मैले महसुस गरेको कुरा के हो भने, पश्चिमी सभ्याताको सिकाइ नै सर्वोच्च हो भन्ने बुझाइका कारण नेपाली भाषा कमजोर बनेको छ । अर्कोचाहिँ, अङ्ग्रेजीमा कसैले केही लेख्न सक्यो भने त्यो सुप्रेरियर हुने, नेपाली भाषामा लेख्यो भने चाहिँ पुरानो ढर्राको हुने बुझाइ छ । अहिलेको पुस्तालाई ‘म नेपालीमा कविता लेख्छु’ भन्दा यो त गाउँतिरबाट आएको मान्छे रैछ भन्ने ठान्छन् । म देख्छु, कतिपय नयाँपुस्ताले अङ्ग्रेजीमा लेख्नुहुन्छ । त्यसैलाई ‘नेपालीमा लेख्नुहोस् न !’ भन्दा लेख्न सक्कनुहुन्न ।

हामी अङ्ग्रेजी र हिन्दी सिक्न हत्ते गर्छौँ, तर हाम्रै देशकै अन्य भाषाहरु सिक्न किन मिहिनेत गर्दैनौँ होला ?

नेपाली भाषालाई कम महत्व दिएर हो । उदाहरणका लागि उनन्साठी भनेर भन्यौँ भने ‘उनन्साठी भनेको कति हो ? मलाई नेपालीमा आउँदैन’ भन्ने जमात ठुलो भइसकेको छ । हामीले जबसम्म अंग्रेजीमा अनुवाद गर्नुपर्ने र नेपालीमा भन्न नजान्ने परिपाटीलाई गम्भीर रुपमा लिँदैनौँ तबसम्म भाषा विकास हुँदैन । अर्को कुरा, हामीले स्कुलदेखि नै भाषालाई गम्भीर भएर सिकाउन छोड्यौँ । स्कुलमा एउटा मात्र नेपाली किताब पढाइ हुन्छ, बाँकी सबै अङ्ग्रेजी । त्यसले गर्दा अंग्रेजीबिना बोल्नै नसक्ने भए बच्चाहरु । हामी पनि त्यही भाषामा रमाउने भयौँ । नेपाली भाषाको विकासका लागि हाम्रो ध्यान छैन । त्यसैले स-साना गल्तीहरु धेरै हुन्छन्, भाषमा ।

मलाई लाग्छ, भाषको विकासका लागि स्कुलमा प्राथमिक तहबाटै सिकाउनुपर्छ । नेपाली भाषा पढ्नका लागि भार होइन, पहिचान हो भनेर सिकाउनुपर्छ ।

अन्त्यमा, भाषा जाने वा नजानेका कारण पाएको सुविधा वा असुविधा केही छन् ?

मलाई पनि शिक्षा प्रणालीले बिगारेकै हो । बोल्दै जाँदा कतिपय शब्द नेपालीमा पाउदिनँ । त्यसैले अङ्ग्रेजी मिसाएर बोल्नुपर्ने हुन्छ । यो बाध्यता पनि हो । म प्रायःजसो कार्यक्रममा सहभागी भइरहेको हुन्छु । त्यहाँ बोल्दै गर्दा कतिपय प्राविधिक शब्दहरु अङ्ग्रेजीमा बोल्दा नै सजिलो हुन्छ । त्यो कार्यक्रममा आउने कतिपयले त्यस्ता शब्दहरु बुझ्नुहुन्न । यो हाम्रो पनि समस्या छ ।