आफूलाई साहित्यको विद्यार्थी भन्न रुचाउने राजु पौडेल दुई दशकदेखि निजी क्षेत्रमा कार्यरत छन् । हाल आइएमई ग्रुपअन्तर्गत वरिष्ठ प्रबन्धक एवम् प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरिरहेका पौडेल कथा, कविता, गजल तथा लेखहरु लेख्छन् । यसर्थ आर्थिक पृष्ठभूमि रहेर साहित्य र कलामा रमाइरहेका पौडेको सिर्जना–साधना लोभलाग्दो देखिन्छ ।

प्रस्तुत छ, उनै पौडेलसँग साहित्यपोस्टका लागि ऋतु काफ्लेले गरेको साहित्यिक कुराकानीको सम्पादित अंशः

व्यवसायिक क्षेत्रमा कार्यरत् रहँदा–रहँदै साहित्यप्रति लगाव कसरी रहन गयो ?

म पहाडी विकट गाउँमा जन्मे हुर्केको मान्छे, पढ्ने सन्दर्भ सामग्रीहरु त्यति उपलब्ध हुँदैनथ्यो । विद्यालयमा पनि लाइब्रेरी हुँदैनथ्यो । काठमाडौँबाट गोरखापत्र जान्थ्यो तर चार–पाँच दिन पछाडि । विद्यालयमा छ–सात सय विद्यार्थी हुन्थे, क–कसले पढ्नू ?

७ कक्षा पढ्दा म्याक्सिम गोर्गीको “आमा” उपन्यासको नेपाली अनुवाद पढेपछि साहित्यप्रतिको धारणा नै बदलियो । यो पुस्तक मैले पाँच–सातपटक नै पढेँ हुला । त्यही उपन्यासका कारण बाल्यकालबाटै एक किसिमको लगाव बाल्यकालदेखि नै भयो । त्यसपछि भने विद्यालयमा प्रधानाध्यापकसँग पुराना गोरखापत्रहरु अनुरोध गरेर पढ्न थालेँ । बाल्यकालबाटै म शान्त स्वभावको थिएँ । पहाडको ठाउँ जहिलेसुकै जाडो नै हुन्थ्यो । घाममा बसेर गोरखापत्र पढेर सिध्याउँथेँ । त्यस्तै, साहित्यको लगावमा विद्यालयका नेपाली पढाउने गुरुवर्गहरुको पनि भूमिका छ ।

गाउँबाट बसाईँ सरेर चितवन आइयो । गाउँबाट आएकालाई चितवन ठूलो बजार । साहित्यको लागि चितवन उर्वरभूमि पनि । एफएम स्टेसनहरु खोल्न भर्खर सुरु भएको थियो । एफएममा पनि साहित्यिक कार्यक्रमहरु आउन थालेका थिए । ती एफएम स्टेसनहरुमा आफ्ना कथा, गजल, कविता, गीति कथाहरु पठाउन थालेँ र त्यहाँबाट प्रसारण हुन थाल्यो । त्यो खालको अभ्यास गर्दै जाँदा मैले चितवन पोस्टलगायत त्यहाँका स्थानीय पत्रिकामा गजल, कविता, कथा र लेखहरु दिन थालेँ र छापिन थाल्यो । लिट्रेचर फेस्टिबल जनकपुर, पोखरामा भइरन्थ्यो । स्रोता भएर त्यसको रसस्वाद गर्न पाएँ । त्यसले पनि मलाई एउटा समाजमा र भाषाको अनुशासन तय गर्न ठूलो योगदान गरेको छ । काठमाडौँ आइसकेपछि आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयवस्तुमा पनि कलम चलाउनुपर्छ भन्ने हिसाबले लेख, आर्टिकल पनि लेख्ने गरेको छु ।

तपाईं रोजाइमा कस्ता पुस्तकहरू पर्छन् ?

मैले सुरुमा पढेको पुस्तक मेक्सिम गोर्गीको उपन्यास आमा हो । त्यसपछि राजनीतिक, दर्शनका तथा संस्कृतिका पुस्तकहरु बढी पढेँ । पुस्तकहरुको अहिले जस्तो सहज उपलब्धता थिएन तर पारिवारीक पृष्ठभूमि राजनीतिक भएकाले राजनीतिक पुस्तकहरुमा पहुँच सहज भयो । त्यस समयमा विश्वेश्वरप्रसाद कोइरालाका किताबहरु, मदन भण्डारीका दस्तावेजहरु तथा आस्था र सिद्धान्तसँग सम्बन्धित किताबहरु पढ्ने मौका पाएँ । सङ्ख्यामै गन्ने हो भने ४ सयको हाराहारीमा पुस्तक पढेँ होला । मेरो चाफ्नै लेखनको कुरा गर्दा चाहिँ कथा, कविता, गजल र लेखहरु गरेर विभिन्न सञ्चार माध्यममा ३ सय बढी मेरा सिर्जनाहरु प्रकाशित भएका छन् ।

गजल, कविता, कथालगायत विधामा कलम चलाउँछु भन्नुभयो, आफ्ना सिर्जनामा कस्ता विषयवस्तु र परिवेश समेट्नु हुन्छ ?

गजल लेखनको सुरुवात मैले २०–२२ वर्षको उमेरमा, कलेज पढ्दै गर्दा गरेको हुँ । तर त्यतिबेला मलाई गजल लेखनका बारेमा ज्ञान थिएन । त्यतिखेर साथीसङ्गतमा मायाप्रेमका विषयलाई समेटेर गजल लेख्ने, गाउने गरेँ । आफ्नो सन्तुष्टिका लागि लेखेँ । पढ्ने र पढाउने शिलशिलामा साहित्यसम्बन्धी बुलेटिनहरु प्रकाशन गरिन्थ्यो । पढाउँदा शिक्षकको हैसियतले साहित्यिक बुलेटिनमा सल्लाहकारका रुपमा काम गरेँ ।

कलेजमा हुँदा बुलेटिन सम्पादन गरेँ । यसरी काम गर्दा मैले साहित्यले दिन खोजेको सन्देश र भाव बुझ्न पाएँ, जुन मेरो लेखनमा सहयोगी बन्यो ।
पढाउने शिलशिलामा विद्यार्थीहरुले गजल, कविता, कथा लेखेर ल्याए भने करेक्सन गरिदिने काम गर्थेँ । त्यसले पनि साहित्यमा माथि उठ्न मद्दत गर्यो । ०६२ सालमा अफिसकै कामको शिलशिलामा साउदी गएँ । तीन महिनाका लागि गएको म झण्डै आठ वर्ष बसेँ । तर विदेशी भूमिमा पनि मैले साहित्यसँग सम्बन्धित गतिविधिलाई खण्डित हुन दिइनँ । त्यहाँ अन्तर्राष्ट्रिय साहित्य मञ्चमा रहेर काम गरेँ । गैरआवासिय नेपाली संघले अनलाइन पोर्टलमा साहित्यसम्बन्धी विषयवस्तु राख्ने हुँदा त्यसमा मैले लेख्ने मौका पाएको थिएँ । त्योबेला भने मैले त्यहाँका श्रमिकहरुका पीडालाई साहित्यमार्फत् सम्प्रेषण गर्ने कोसिस गरेको थिएँ ।

सानैदेखि आफू शान्त स्वभावको भएको बताउनु भयो, साहित्य र सालिनताको गठबन्धन मिलेको हो ?

नेपाली साहित्यमा एउटा कथन छ – जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कवि । तर त्यहाँसम्म पुग्नका लागि धीरता चाहिन्छ । साहित्य शब्दमा समाजको समस्याहरुलाई उजागर गर्ने हो । समाजका समस्या थाहा पाउन धीरताका साथ अध्ययन तथा अनुसन्धान गर्नसक्ने साधना चाहिन्छ । भाषा, साहित्यमा लगाव हुने सबै मान्छे शान्त हुन्छन् वा हुनैपर्छ भन्ने छैन । चञ्चला, विद्रोह र क्रान्ति पनि साहित्यिक अनुभूति बनेर मुखर भएका छन् । स्वभाव जस्तो भए पनि धैर्यचाहिँ आवश्यक हो । यसर्थ, साहित्य र धीरताको गठबन्धनचाहिँ मिलेको भन्न सकिएला कि !

साहित्यप्रति नवपुस्ताको लगाव कस्तो पाउनुहुन्छ ? तपाईंको परिवारमा के छ ?

सामाजिक सञ्जालमा आउने मनोरञ्जनात्मक सामग्रीहरूले अहिलेका पुस्तालाई पुस्तकबाट टाढा पुर्याएको मेरो व्यक्तिगत अनुभव छ । हाम्रो पलेँटी कसेर पढ्ने संस्कारलाई अहिले समाजिक सञ्जालमा उपलब्ध सामग्रीहरुले लोभउन्मुख बनाएको छ । त्यसैले नवपुस्तामा गहिरो ज्ञानको कमी छ । आयातित संस्कृति र सतही ज्ञानमै अभ्यास्त बन्दै गहिरहेको छ । जुन समाज तथा पठन संस्कृतिको विकासका लागि ठुलो समस्या हो ।

पहिला हजुरबुबा र हामीमा धेरै ठूलो जेनेरेसन ग्याप थिएन । तर अहिले नयाँ पुस्ता र हाम्रो पुस्तामा लवाइखुवाइ, संस्कृति र जीवन पद्धतिमा ठुलो जेनेरसन ग्याप देखिएको छ । विज्ञान र प्रविधिको अभूतपूर्व विकासँगसँगै यो ग्याप झन् झन् बढ्दै गइरहेको छ । हामीले पढ्ने पत्रपत्रिका र साहित्य हाम्रा छाराछोरीले पढ्दैनन् – यो पनि जेनेरेसन ग्यापकै बढ्दो रुप हो । हाम्रा छोराछोरी र हामीबीच कति ठूलो खाडल छ ? विचार र विश्लेषण गर्न ढिला गर्नु हुन्न ।

पछिल्लो समय पढिरहनुभएको पुस्तक कुन छ ?

पछिल्लो समय “लिडर्स” भन्ने किताब पढिरहेको छु । यो किताब तेस्रोपटक पढ्दै छु । व्यस्तताको बाबजुद पनि दिनको पढ्नकै लागि दुई घण्टा छुट्याउँछु । उमेरसमेत बढ्दै गएको अवस्थामा धार्मिक तथा आध्यात्मिक पुस्तकहरूमा अलि बढी मन जान थालेको छ । पछिल्लो समय पढेको धार्मिक पुस्तक महाभारत पनि हो ।

तपाईंलाई मन पर्ने साहित्यकार को हुन् ?

दौलतविक्रम विष्टको उपन्यास “भोक र भित्ताहरू” पचासको दशकतिरै थिएँ । यही उपन्यासले मलाई लगातार साहित्य पढ्न सिकायो । त्यसैले, मलाई मन पर्ने लेखक उहाँ हुनुहुन्छ । अग्रज साहित्यकारहरुमा विपी कोइराला र लक्ष्मीप्रसाद देवकोटा मन पर्छ । वर्तमान् समयका लेखकहरुमा विजयकुमार, रविन्द्र मिश्र र सुविन भट्टराईका पुस्तकहरु नछुटाईकन पढ्छु ।

राज्यले साहित्य, सर्जक र भाषाका क्षेत्रलाई गरेको उपेक्षा गर्ने गरेको आवाज सधैँ उठिरहन्छ । तपाईंलाई के लाग्छ ?

हामी अहिले विश्व आर्थिक व्यवस्थासँगै निर्वाद उपभोगवादी, पुँजीवादी भएका छौँ । सिर्जनाबाट सर्जकलाई के प्राप्त हुन्छ ? सर्जकले सिर्जना फुराउनका लागि कति समय खर्चन्छ ? यसको हिसाब कतै हुँदैन । राम्रै समय खर्चिएर लेखेको आर्टिकल कुनै पत्रिकामा छापियो भने सर्जकले पाउने धेरैमा ३ हजार पारिश्रमिक हो । मुख्यतः हाम्रो देशमा सर्जकहरुलाई रोजीरोटीकै समस्या छ । सिर्जनामात्र गरेर बाँचेका सर्जक औँलाभरि पुग्दैनन् । सर्जकहरुको मिहिनेत र बौद्धिक अभ्यासको उचित सम्मानका लागि राज्यले युग सुहाउँदो सुविधाको व्यवस्था गर्नुपर्छ । यदि यसो हुन सके साहित्य, सिर्जना र संस्कृतिका माध्यमले देशको पहिचानलाई थप मजबुद बनाउने छ ।

पछिल्लो समयमा साहित्यको श्रीवृद्धिमा सञ्चारमाध्यमले खेलेको भूमिकालाई कसरी हेर्नुभएको छ ?

सञ्चारलाई राज्यले चौथो अङ्ग माने पनि आफ्नो गरिमा राख्न नसकेको साँचो हो । समाजलाई सुसूचित, सुव्यवस्था र नेतृत्वलाई खबरदारी गर्नु सञ्चारमाध्यमको कर्तव्य हो तर यसअनुसार काम हुनसकिरहेको छैन । मिडियालाई मुनाफा कमाउने उद्योगको रुपमा मात्र हेरिनु हुँदैन भन्ने मेरो मान्यता हो । साहित्यकै हिसाबमा हेर्ने हो भनेचाहिँ मिडियाले साहित्ययलाई प्रशस्त स्थान दिएका छन् । नितान्त साहित्यिक पत्रपत्रिका तथा अनलाइनहरु खुल्नेक्रम बढेको छ । मुख्यतः अनलाइन माध्यमका पत्रपत्रिकाहरुले नयाँपुस्ताका सिर्जनालाई प्राथमिकताका साथ स्थान दिएको पाइन्छ । जुन एकदमै सरहानिय कुरा हो ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

भाषा–साहित्यको सम्मान राज्यदेखि नागरिकसम्म सबैले गर्नुपर्छ । भाषा, संस्कार, संस्कृति बाँचेमात्र हामी हुनुको अस्तित्व बाँचिरहन्छ । नेपाली हुनुको पहिचान नै हाम्रा भाषा, साहित्य र संस्कृति हुन् । भाषाको हिसाबले नेपाल धेरै समृद्ध मुलुक हो यसर्थ यसको संरक्षण गर्नु सम्पूर्ण नेपालीहरुको प्रथम दायित्व हुनुपर्छ ।