कवितामार्फत् साहित्यले धेरै अग्रगति पाएको छ – भीम धमला
युवावर्ग वर्तमान अवस्थामा सक्रिय देखिन्छन् । इन्टरनेटको प्रचलनले गर्दा उनीहरूलाई पठनपाठनदेखि लिएर खोज आदि गर्न सजिलो पनि भएको छ ।
अरुणोदय साहित्य प्रकाशनका सभापतिसमेत रहेका रामपुर जागुन, असम निवासी भीम धमला (1965) का शिखरका बाटामा (नाटक), साथी (लघुकथा), म ठोक्किएर बनेको संसार र इतिहासको एउटा अध्याय (जीवनी) लगायतका अनुदित कृति पनि प्रकाशित छन् ।
साहित्यपोष्टका लागि भीम धमलासँग दीपक सुवेदीले गरेको कुराकानी

लेखनका दृष्टिले तपाईँको पहिलो विधा र रचना कुन हो ?
मेरो लेखन लघुनाटकबाट भएको हो ।
प्रकाशनका दृष्टिले चाहिँ पहिलो रचना कुन होला ?
प्रकाशनका दृष्टिले पहिलो लघु नाटक, शिखरका बाटामा हो ।

कहाँ र कसरी बित्यो बाल्यवस्था ?
पेङरी अम्विकापुर असममा बाल्य अवस्था बितेको हो । अति मिठो द्वन्द्व रहित, पीडा रहित थिए ती दिनहरू । निस्वार्थता पूर्ण र मुक्त जीवन मान्दछु ।
साहित्यमा प्रवेश गर्दाको शुरुका दिनलाई कसरी सम्झनु हुन्छ ?
कसैको प्रेरणाबाट प्रेरित भएर नै साहित्य जगत्मा प्रवेश गरेको हुँ । जो आजसम्म कायम छ ।
प्रेरणा के कहाँबाट मिल्यो ?
पहिलो प्रेरणाको स्रोत पिताजी, त्यसपछि शिक्षा दिने गुरूबाट ।
आफूलार्इ कुन विधाको स्रष्टा भनिन रुचाउनुहुन्छ ?
कथाविधा, किनकि कथा द्वारा समाजको विकृति अथवा द्वन्द्व पीडा छर्लङ्ग दर्शाउन सजिलो पर्छ कविता वा अन्यान्य विधामा भन्दा ।
कवितालार्इ कसरी परिभाषित गर्नुहुन्छ ?
कविता एक सजिलो विधा हो । लेखन कार्यको थालनी प्रायः कविताबाटै शुरुआत भएको देखिन्छ र प्रारम्भिक रूपमा लेखिने यस विधाको अहम भूमिका छ ।
कवितामा के हुँदा राम्रो हुन्छ ?
कवितामा प्रकृति चित्रणदेखि लिएर प्रेम, वात्सल्य, समाज, जाति, देशप्रेम आदिले सजिए मात्र राम्रो लाग्दछ ।

तपार्इँका कवितामा समाजका के कस्ता भाव भए जस्तो लाग्छ ?
मेरा कवितामा प्रायः नै सामाजिक विसङ्गतिहरू दर्शाउने प्रयास गरेको छु।
भारतीय नेपाली सहित्यमा कविता लेखन र प्रकाशनलाई चाहिँ कसरी हेर्नुहुन्छ ?
भनिहालेँ नि, कविता विधामार्फत हाम्रो साहित्यले धेरै अग्रगति पाएको छ । धेरै प्रतिभाहरू जन्मिन सकेका छन् । आउँदा दिनहरूमा अझ प्रखर बन्दै एकदिन हाम्रो साहित्यलाई समृद्ध तुल्याउने छन् निश्चय भन्ने आशा राखेको छु।
असमका नेपाली कविता लेखनमा स्रष्टाको अवस्था कस्तो छ ?
असममा नेपाली पढ्ने व्यवस्थासम्म छैन तापनि यति धेरै स्रष्टावर्गले नेपाली भाषाका विभिन्न विधामा निरन्तर कलम चलाइरहेका छन् यो एक शुभ लक्षण नै हो भन्नु पर्छ।
असमका नेपाली कविता विधामा आशा लाग्दा स्रष्टाहरू के कति हुनुहुन्छ ?
यो कुराको निर्क्यौल गर्न अलिक अप्ठ्यारै पर्छ किनकि यहाँ त्यस्तो सम्भावना बोकेका सर्जक धेरै छन् ।
नेपाली कविताको अध्ययन र लेखनमा यूवावर्गको वर्तमान अवस्थालार्इ कसरी हेर्नु हुन्छ ?
युवावर्ग वर्तमान अवस्थामा सक्रिय देखिन्छन् । इन्टरनेटको प्रचलनले गर्दा उनीहरूलाई पठनपाठनदेखि लिएर खोज आदि गर्न सजिलो पनि भएको छ ।
असमको नेपाली कवितामा आफूलार्इ कुन स्थानमा वा कहाँ पाउनुहुन्छ ?
समसामयिक धारामा कविता कोर्ने एक विचार लिएर यसो कति कति बेला कविता लेख्नेको पङ्क्तिमा सामेल भएको हुँ भन्ने मात्र ठानेको छु आफूलाई।
असममा नेपाली कविताका सम्भावना र चुनौतीहरू के कस्ता छन् ?
चुनौतीहरू हजारौँ छन् तर एकदिन असमका स्रष्टावर्गले विश्वद्वारमा एक उज्वल नक्षत्र सरह आत्मप्रकाश गर्ने छन् भन्ने कामना साँचेको छु।
ती चुनौतीहरूको समाधान गर्न के कस्ता पहल गर्नुपर्छ जस्तो लाग्छ ?
आत्मबल दह्रो पारेर उत्कृष्ट लेख लेखादिको सृष्टि हुँदा त्यस्ता वाधाविघ्न आफैँ गौण हुने छन् ।
कविहरूको दायित्व कस्तो हुनु पर्दछ जस्तो लाग्छ ?
कविहरूको दायित्व भने मेरो व्यक्तिगत विचारमा उठिआएका नयाँ पिँढीलाई प्रेरणाको स्रोत बनेर सत्मार्गमा डोहोर्याउँदै लैजान सके पुग्छ ।
स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नु पर्दछ ?
स्रष्टाहरूलाई एक सशक्त र कर्मठ तुल्याउने इच्छा सरकारलार्इ यदि हुन्छ भने, त्यसको लागि राज्य स्तरमा विभिन्न कार्यक्रम आयोजना गर्नुपर्छ, समय समयमा कर्मशाला आदिको आयोजन गर्नु, पठनपाठनको सुविधा मिलाइ दिनु, पुरस्कारको व्यवस्था गर्नु जस्ता अनेक प्रयास आवश्यक देखिन्छ ।
कविताको समकालीन बजारलाई कसरी हेर्नु हुन्छ ?
कविताको समकालीन बजारलाई मैलै सकारात्मक दृष्टिकोणले नै हेरेको छु ।
अहिलेसम्मका नबिर्सने क्षण के कस्ता छन् र किन ?
सामन्तवादी सोच राख्दै कुनै दिन विशिष्ट साहित्यकारले दुत्कारेका थिए आज उनले सलाम ठोक्छन् । यसलाई नै नबिर्सने क्षणका रूपमा स्वीकारेको छु।
जीवनलाई परिभाषित गर्नु पर्यो भने के भन्नु हुन्छ ?
आत्मबललाई अक्षुण्ण राखी जसले कर्म गर्दै जान्छ उसले एकदिन निश्चय नै सफलता पाउने छ।
जीवनका भावी लेखकीय इच्छाहरू के छन् ?
अझ सशक्त बन्दै उत्कृष्टभन्दा उत्कृष्ट रचना लेख लेखादिद्वारा समाजलाई केही सहयोग पुर्याउन सकूँ ।
अहिले साहित्यमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?
कति कति बेला आफूलाई ग्लानि उब्जिने गर्छ । किन साहित्य, समाज र जाति भन्दै मरिमेट्ने ? अरूहरू आफैँमा मस्त छन् । रमाएका छन् आफू चाहिँ ? तर साहित्यको मझेरीमा रमाउँदा जुन सुख छ त्यो पृथ्वीभरि नै कुनै कर्ममा पाइन्छ जस्तो मलाई लाग्दैन।