तनहुँ बन्दीपुर जन्म भई स्थायी ठेगाना गोरखा बजार रहेकी सीता अर्यालको हालको बसोबास संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन सहरमा रहेको छ । प्रवासमा रहेर पनि नेपाली साहित्यमा सक्रिय रहनुभएकी अर्याल कथा, कविता, मुक्तक, हाईकु, सुसेली, गजललगायत समसामयिक विविध विषयहरूमा लेख रचनाहरू सिर्जना गर्ने क्षमता राख्नुहुन्छ । सीता अर्यालका चारवटा कथासङ्ग्रहहरू प्रकाशित भई सकेका छन् भने भर्खरै गीतसङ्ग्रह प्रकाशित भएको छ । हालै प्रकाशित उहाँको त्यो गीतसङ्ग्रह ‘अनुपमा’ निकै चर्चामा रहेको छ ।
प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले साहित्यकार सीता अर्यालसँग गर्नुभएको कुराकानीकाे संपादित अंश;
पुरुष मनोविज्ञान र महिला मनोविज्ञानबीच ठूलो अन्तर हुन्छ । यस्तो भन्नेहरू धेरै छन् । गर्भावस्था र प्रशवको पीडामा महिला मनोविज्ञान कस्तो हुन्छ भन्ने कुरा केवल महिलाहरूलाई मात्र अनुभव हुन्छ, पुरुषहरूलाई हुँदैन । त्यसैगरी पुरुष मनोविज्ञान पनि केही खास अवस्थमा महिलाहरूलाई थाहा हुँदैन । तर तपार्इँले लेख्नु भएको गीत सङ्ग्रह “अनुपमा” मा पुरुष मनका भावहरू पनि व्यक्त गर्नु भएको छ । एउटा महिलालाई पुरुष मनका भावहरू कसरी थाहा हुन सक्छ ?
स्वलिङ्गी मानिसहरूको मनोविज्ञान बुझ्न जति सजिलो हुन्छ त्यति विपरीत लिङ्गीकोमा हुँदैन । म महिला हुँ र महिला मनोविज्ञानको ‘अनुभव’ ममा धेरै हुन्छ भने पुरुष मनोविज्ञानको मैले ‘अनुभव’ गर्ने नभई ‘अनुभूति’ (कल्पना शक्तिबाट प्राप्त भएको मानसिक अनुभवको अवस्था) मात्र गर्न सक्छु । अनुभूतिको आधारमा पनि पुरुष मनका भाव बुझ्न त्यति कठिन हुँदैन किनकि छोरा मेरै कोखबाट जन्मन्छ । अनि श्रीमान्, बाबु, दाजुभाइ, देवर, जेठाजु आदि पुरुषहरूसँग पारिवारिक सहकार्य प्रचुर मात्रामा हुने गर्छ । त्यही आधारमा हामी महिला सर्जकहरूले पुरुष मनका भावहरू थाहा पाउने गर्छौँ ।
विगतमा गीत लेख्दा महिला मनोविज्ञान अभिव्यक्त भएका गीतहरू पनि पुरुषहरूले लेखे । साहित्यमा महिलाहरूको उपस्थिति कम भएर त्यस्तो भएको हुन सक्छ । खासगरी नेपाली र हिन्दी गीतहरूमा यस्तो स्थिति देखिएको छ । के अहिले खास महिला मनोविज्ञान अभिव्यक्त हुने गीतहरू केवल महिलाहरूद्वारा मात्र लेखिएको छ ?
कम र बेसीको कुरा मात्र हो, महिला मनोविज्ञानका गीतहरू पुरुषले र पुरुष मनोविज्ञानका गीतहरू महिलाले लेख्दै आए, लेखिरहेछन् र लेख्दैजाने छन् पनि । महिला मनोविज्ञान अभिव्यक्त हुने गीतहरू महिलाहरूद्वारा मात्र लेखिएको छैन र त्यस्तो हुँदैन पनि ।
गीतहरू कविताभन्दा बढी लोकप्रिय हुनुको कारण के होला ?
कविताको तुलनामा गीतहरू प्राय: सरल भाषामा लेखिन्छन् अनि बोधगम्य हुन्छन् । छोटा र गेयात्मक हुन्छन्। सुरिलो स्वर र सङ्गीतको समिश्रणले झन् कर्णप्रिय बनाउँछ । सर्वसाधारणसमेतको बहुत ठूलो हिस्सालाई गीतले समेटन सक्छ । परिणामत: लोकप्रिय हुन पुग्छ ।
गीतहरू गीतकारका मनका भाव हुन्, गीतकारका विचारहरू हुन् वा गीतकारले समाजलाई दिन खोजेका सन्देश हुन् ?
मूलत: गीत गीतकारको मनको भाव हो । त्यसो भन्दैमा विचार होइनन् र समाजलाई दिन खोजेको सन्देश होइन भन्न पनि सकिँदैन । केही मात्रामा यी दुवै पनि हुन् ।
खास किसिमका गीतहरूले पाठकहरूलाई विशेष किसिमको विचार निर्माण गर्न सहयोग गर्छ । अर्थात् गीतहरू पढेर वा सुनेर पाठकहरूले एक खास किसिमको विचार निर्माण गर्छन् । त्यस्तो हो ?
हो, विचार निर्माण हुन पनि सक्छ ।
प्राय: गीतहरू किन रूप, सौन्दर्य, माया, प्रेम र बिछोड बयान गर्न लेखिएका पाइन्छन् ?
श्रृङ्गार, हास्य, करुण, रौद्र, भयानक, बीभत्स, वीर, अद्भुत र शान्त यी नवै रसमा गीहरूको रचना गरिन्छन् । प्रश्नमा उल्लेख गरिएका विषयहरू साधारणतया श्रृङ्गार रसमा पर्दछन् । प्राय: श्रृङ्गार रसको बयान गरिन्छजस्तो लागे तापनि बढी चल्तीको करुण रस हो भन्छन् विद्वानहरू ।
एउटा पुरुष वा महिला अर्को महिला वा पुरुषप्रति प्रेमभावले आकर्षित हुने हो कि प्राकृतिक नियमले ?
प्राकृतिक नियमले । प्रेमभाव प्राकृतिक नियमभित्रकै एउटा रूप हो ।
महिलाहरूले अहिले पनि स्वतन्त्र भएर लेख्न सकेका छैनन् । आफ्नो मनमा लागेका कुराहरू वा उत्पन्न भएका भावहरूलाई निर्धक्क भएर पोख्न सकेका छैनन् । यस्तो भन्नेहरूको यो भनाइ सही हो ?
केही हदसम्म सही हो । कानुनले बन्देज नगरे तापनि सामाजिक सोच, रीतिस्थिती र चालचलनले गर्दा पुरुष सरह निर्धक्क र पूर्ण स्वतन्त्र भएर कतिपय विषयहरूमा लेख्न र आफ्नो भाव पोख्न सकिरहेका छैनन् नेपाली महिलाहरूले ।
तपाईँले लेख्नुभएको अनुपमा गीतसङ्ग्रहमा कस्ता गीतहरू समावेश गर्नु भएको छ ?
यसमा मिश्रित स्वाद र विषयका गीतहरू छन् । एकातिर मायाप्रेमले ओतप्रोत प्रेमिल गीतहरू छन् भने अर्कोतिर प्रेम वियोगका गीतहरू, जन्मदाता, जन्मभूमि अनि देशप्रेम छताछुल्ल भएका गीतहरू छन् । देश दुख्दा र परदेसिँदा आफूले महसूस् गरेका पीडाहरू पनि छन् अनुपमामा ।
अनुपमामा समाविष्ट गर्न यस्ता गीतहरू लेख्छु भनेर प्रायोजित किसिमले गीतहरू लेख्नु भएको वा मनमा आएका भाव, विचार, चिन्तन आदिलाई गीतको रूप दिनु भएको हो ?
मैले साहित्य सिर्जना प्रायोजित किसिमले कहिल्यै गरिनँ । विशेषत: मनमा उठेका विभिन्न भावनाहरूलाई पोखेकी हुँ । विचार र चिन्तनको पनि केही भूमिका त हुन्छ नै ।
तपाईँ कस्ता किसिमका गीत लेख्न रुचाउनु हन्छ ?
मेरो रुचिको विषयमा भाव फुरेन भने म कसरी गीत लेख्न सक्छु र ? त्यसैले रुचि अनुसारको गीत लेख्न वा सिर्जना गर्न गाह्रो हुन्छ । वातावरण र परिवेशले उत्सर्जन गरेको भावनाको आधारमा गीत लेख्छु म ।
तपाईँले हालै पढिरहनुभएको र त्यसपछि लगत्तै पढ्ने पुस्तक कुन रहेको छ ?
वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाको ‘आत्मकथा’ पढ्दैछु र अर्को मेरो माइती गाउँको विषयमा लेखिएको ‘Back to the future in Bandipur’ भन्ने बन्दीपुरे अग्रज शिक्षाविद् चीज कुमार श्रेष्ठले लेख्नुभएको, Mike Gill द्वारा अनुवादित पुस्तक पढने छु ।
तपाईँका पति स्वयं एक चर्चित साहित्यकार हुनुहुन्छ । तपाईँको साहित्य-यात्रामा उहाँबाट के कस्ता सहयोग पाउनुभएको छ ?
हो, मेरा पति राजेन्द्रप्रसाद अर्याल पनि साहित्यकार हुनुहुन्छ । नेपाली साहित्याकाशमा दम्पती साहित्यकारको संख्या अत्यन्तै न्यून छ । न्यूनताभित्र हामी पर्न पाएकोमा गर्वको अनुभूति भैरहेछ । हाम्रो लेखन समय र टेवल एउटै हो । आपसी समस्याको गाँठो फुकाउन अत्यन्तै सहज भैरहेछ । एक अर्काको पहिलो पाठक पनि हामी नै हौँ । यी अवस्थालाई अवसरको रूपमा लिएका छौँ । आपसी साहित्यिक परामर्श, छलफल र राय सल्लाहले हाम्रो लेखन यात्रालाई अवश्य टेवा पुर्याएको छ ।
गीतहरू हतियारभन्दा पनि शक्तिशाली हुन्छन् रे हो ?
निश्चित रूपमा शक्तिशाली हुन्छन् । गीत सङ्गीतको प्रभावले खुसी भई हाँसेका मात्र छैनन् द्रवीभूत भई परेला भिजाएका पनि छन् । त्यति मात्र कहाँ हो र ? मृत्यु पत्र टेवलमा राखेर मर्न उद्यत कायरले नव जीवन पाएका छन् साथै गीतकै प्रभावले घाटीमा सुर्कनी कस्न लालायित व्यक्ति पनि भेटिन्छन् समाजमा । त्यसैले भन्न सकिन्छ गीतहरू हतियारभन्दा शक्तिशाली हुन्छन् ।
तपाइँले धेरे पटक सुन्नुभएको नेपाली गीत कुन होला ?
मैले धेरैपटक सुनेको चाँदनी शाहले रचना गर्नु भएको “एउटा मान्छेको मायाले” भन्ने गीत हो । यो गीत पुरानो हो तर जति सुने पनि म तृप्त हुन सकिरहेको छैन ।
नेपालमा पठन संस्कृतिको विकास गर्न के गर्नु पर्छ होला ?
यसको एउटा या दुइटा मात्र ठोस उत्तर छैनन् । पठन संस्कृतिको विकास गर्न विविध कुराहरूको समिश्रण आवश्यक छ । ती मध्येमा शिक्षा क्षेत्रलाई अधिक महत्त्व दिनु पर्छ । मूलत: जनता शिक्षित भएमा मात्र क्रमश: पठन संस्कृतिको विकास हुँदै जानेछ ।
अन्य आधारभूत आवश्यकताका वस्तुहरू बढी बिक्री भएझैँ पुस्तक किन त्यसरी बिक्री नभएको होला ?
सास धान्न चाहिने न्यूनतम आधारभूत आवश्यकताका वस्तुहरू नै पर्याप्त किन्न नसकेको गरीब नेपाली समाजमा पुस्तक बिक्री त्यो सरह कसरी हुन सक्छ र ? मलाई लाग्छ – हाम्रो देशमा मात्र हैन युरोप अमेरिकामा पनि आधारभूत आवश्यकताका वस्तुसरह पुस्तकहरू बिक्री हुन सक्दैनन् होला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।