दुई दिनअघि हामीले वरिष्ठ गीतकार रत्नशमशेर थापालाई गुमायौँ । गायक प्रेमध्वज प्रधान र नारायण गोपालका प्रिय मित्र भएका कारण रत्नशमशेरका धेरै गित ती हस्तीहरुले गाए । नेपाली चलचित्रमा उनका गीत अनिवार्य जस्तै मानिन्थे । गीत, गजल, मुक्तक, हाइकुहरुमा बढी रमाउने रत्नशमशेर थापासँग साहित्यपोस्ट प्रतिनिधि भगवती बस्नेतले एभेन्युज टेलिभिजनका लागि एउटा पूर्ण अन्तरवार्ता गरेकी थिइन् । संयोगले यो नै स्वास्थ्य अवस्थाको अन्तिम अन्तरवार्ता हुन पुग्यो । उक्त अन्तरवार्ताको मुख्य अंश साहित्यपोस्टले प्रस्तुत गरेको छः
आजभोलि केही लेख्दै हुनुहुन्छ कि सुस्ताउन मन लागेको छ ?
होइन, लेख्दैछु । नलेखी मन मान्दैन । कहिले कविता लेख्छु अनि कहिले गीत ।
तपाइका केही कृतिहरु प्रकाशनमा छन् तर धेरै प्रकाशन हुन बाँकी छन् । तिनीहरुलाई प्रकाशन गर्ने योजना छ कि ?
हाइकुको संकलन गर्दैछु । मलाई कविताको विविध रुपमा कलम चलाउन मनलाग्छ । हाइकु कविताको सबैभन्दा छोटो रुप हो । त्यसमा पनि म तान्का लेखनतिर लागेको छु ।
यो जापानबाट शुरु भएको हो क्यारे । नेपालमा पनि निकै लोकप्रिय भयो, किन होला ?
हाइकुको जम्मा तीन लाइन हुन्छ । पहिलो लाइन पाँच, दोस्रो लाइन सात र अन्तिम लाइन पाँच अक्षरको हुन्छ । तान्काको चाहिं पाँच सात पाँच हुन्छ र थप दुई लाइनमा सात–सात गेरर एकतीस अक्षर हुन्छ ।
यो किन लोकप्रिय भयो भने यसमा सानो कुराले पनि ठूलो र गहिरो अर्थ बोकेको हुन्छ । त्यसैले यसैमा नयाँ नयाँ प्रयोग गर्न खोजिरहेकोछु ।
नयाँ प्रयोग कसरी ?
क देखि त्र सम्मकोमा अक्षर राखेर । उदाहरणका लागिः
कक्क्रिन्छन् कठै
कुहिरोको कैदमा
किरणहरू
तपाईँले नेपाली र अंग्रेजी दुबै भाषाका साहित्य राम्रोसँग अध्ययन गर्नु भएको छ । अहिले जति नेपाली साहित्य लेखिएको छ ती कसरी आइरहेका छन् जस्तो लाग्छ ?
पछिल्ला कृतिहरु कसरी आइरहेका छन्, त्यसको अध्ययन गर्न सकेको छैन । यसमा अलिकति सुस्तता आएको छ । तर कुरा के भने समयले साहित्यलाई परिवर्तन गरिरहेको हुन्छ । अहिले नयाँ पुस्तामा मैले केही राम्रा साहित्यकारहरु देखिरहेको छु र उनीहरुका कृतिहरुले समयलाई पछ्याइरहेका छन् । यो चाहीँ भन्न सक्छु ।
तपाईंले गीतमा एउटा उचाइ बनाउनु भयो । तर मुक्तक, कविता, नाटक, कथा, लघुकथा सम्पूर्ण विधाहरूमा पनि कलम चलाउन छाड्नु भएन । यसो गर्दा तपाईलाई सबै विधामा कलम चलाउने लोभ जागेको हो ? अथवा तपाईंको रुचिको विधाहरु कुन कुन हुन् ?
मलाई विशेष रुचिको विषय भनेको कविता र गीत नै हुन् । गीतभन्दा अगाडि मैले कविता लेखें । गीत किन लेख्न थालेँ भने मैले थाहा पाउँदा हाम्रो लागि प्रतिभा देखाउने एउटा मात्रै थलो रेडियो नेपाल थियो । त्यो बेला हाम्रा कलाकारहरुले गाउने गीतको अलि अभाव देख्थें । कहिले काहीं रेडियोका कलाकारहरुले हिन्दी गीत पनि गाउँथे रेडियो नेपालबाट । त्यो बेला आजको जस्तो रेकर्ड गर्ने चलन थिएन । लाइभ नै गाउनु पर्दथ्यो । यो देखेपछि मलाई के लाग्यो भने हामीले पनि केही मिहिनेत गर्यौं भने हाम्रा गीतहरु पनि राम्रा हुन सक्छन् । यलाई पनि रुचाउन सकिन्छ ।
अनि चान्सले कस्तो पनि पर्न गयो भन्दादेखि मेरो सेकेण्ड फेजको पढाई मैले त्रिचन्द्र कलेजमा गरेँ । त्यहाँ मानविकी पढ्दा नातिकाजी र नारायणगोपालहरु मेरा क्लास मेट भए । नारायणगोपालको स्वर मीठो, उसले क्लासमा प्रोफेसरहरू नआउँदासम्म बेञ्चमा तबेला जस्ताे बजाएर हिन्दी गीत गाउँथ्यो । त्यो हुँदाहुँदै उसले रेडियो नेपालबाट छ वटा गीत रेकर्ड गर्ने कोटा पायो । नारायणगोपालले एउटा यो फोक कलरको गीत लेख्देऊ भनेर मैले लेखेको थिएँ । ‘गाजलु आँखा मोहनी रुप हँसिलो मुहार‘ भन्ने । त्यो गीत निकै चल्यो । त्यसपछि उसले मसँग गीतहरु मागेर कलकत्तामा गएर रेकर्डिङ गर्यो । त्यो बेला उसले मेरा छ वटा गीत रेकर्ड गरेको थियो । त्यसमा ‘ए कान्छा‘, ‘कुञ्जनमा गुञ्जियो‘, ‘बिछोडको पीडा‘ र ‘स्वर्गकी रानी‘…. लगायतका गीतहरु रेकर्ड भए ।
तपाईंले जुन विधामा हात हाल्नु भयो, त्यसमा धेरै पुरस्कृत हुनु भयो । गौरव अनुभव हुन्छ कि ठिकै हो भन्ने लाग्छ ?
गौरव छँदैछ, त्यसको प्लस मानसिक सन्तुष्टि पनि मिलेको छ ।
मैले सुनेअनुसार तपाईं गीत पनि गाउनुहुन्थ्यो रे, हो ?
हो । २०१४ सालमा केही गाएको थिएँ । अभै पनि दुई वटा गीत लाइब्रेरीमा होलान् । यसमा एउटा ग्राम सेवा पुस्तकालय भन्ने झम्सी खेलमा त्यो लाइब्रेरी थियो अर्काे राष्ट्रिय पुस्तकालय भन्ने थियो ।
गायनमा रुचि हुँदा हुँदै अचानक लेखनतर्फ ढल्किनु पर्ने कारण चाहिँ के थियो ?
म अलिअलि गाउँथे । रुचि पनि थियो तर प्राक्टिस गर्ने टाइम भएन । घरमा पढाइलाइ जोड दिनुहुन्थ्यो । यस्तो बेलामा प्राक्टिसको अनुकूलता थिएन । बरु पढ्ने बहानामा गीत लेख्न सजिलो भयो ।
तपाईंलाई आफ्नो समयको प्रयोगवादी कवि र फरक गीतकारको रुपमा चिन्ने गरिन्छ । तपाईं आफैँ पनि नयाँ–नयाँ प्रयोग खोजिराखेको छु भन्नु हुन्छ । मैले गरेको जस्तो अरुले नगरुन भन्ने हो ?
वास्तवमा म छुट्टै हुन चाहेको होइन । हिस्ट्री अफ नेपालिज् लिटेचरको किताबमा डा. अभि सुवेदीले हि इज ब युनिक पोइट (उनी विशेष खालका कवि हुन्) भनेर लेखेका रहेछन् । उनले मलाई एक दिन के भने भने तपाई समकालीनहरू अग्रजहरूमा सबैको उस्तै उस्तै भए पनि तपाईको चाहीँ भिडमा छुट्टै हुन्छ । नाम नराखेर पनि यो रत्न दाइको रचना हो भनेर चिन्दछु भने । मलाई खुसी लाग्यो । तर फरक हुन खोजेर होइन, भएको हो ।
तपाईंले कालजयी गीतहरू रच्नु भएको छ । अहिलेका गीतहरू र यहाँले रच्नु भएका गीतहरूमा कतिको भिन्नता पाउनु हुन्छ ?
पहिलेका गीतहरूमा जति गहिराईहरू हुन्थ्यो त्यो अहिलेका गीतहरूमा म पाउँदिन । अहिले हल्काफुल्का जस्तो नि, क्षणिक आनन्दको लागि लेखेकाे देखिन्छ । मैले अहिलेकालाई नराम्रो भन्दिन किनभने कलाकारले जस्तो स्क्रिप्ट पायाे, त्यस्तै चरित्रमा अभिनय गर्छन् । अहिलेका गीतकारहरुको अवस्था पनि त्यस्तै हो । तर पनि जुन गीतहरू लेखिन्छ त्यो अलि गुण भएको वा खँदिलो हुनुपर्छ भन्ने मलाई लाग्छ ।
ए कान्छा भन्ने मेरो गीतमा अरुले लेखेको भए रित्तो सिउँदो भन्थे होला अथवा खालि सिउँदोमा सिन्दूर भन्थे होला तर मैले ओभानो सिउँदो प्रयोग गरें त्यसमा नि । त्यै ओभानो लाई मैले पछि लगेर अमरजीसँग एउटा गीत लेखें मैले एउटा ट्यूनमा गोरेटो त्यसरी लेखिदिएको मैले । म ट्यूनमा लेख्छु । त्यो हमिङ सुनेपछि पुग्छ मलाई ।
तपाईं प्रायः धुनमा गीत लेख्नु हुन्छ । यो निकै गाह्रो काम हो भनिन्छ । के भन्नुहुन्छ ?
बानी हो । मलाई गीत मात्रै लेख्न पनि सजिलो लाग्छ । कसैले ट्युन दियोे भने पनि खासै गाह्रो लाग्दैन ।
तपाईंको एउटा गीत एम ए को कोर्समा पनि राखिएको छ, थाहा छ ?
हो थाहा छ ।
आँखैमा रात गली शितमा तारा डुबे
बाटैमा आँधी चली आशाका मुना उडे
धुपी पिपल अनि लहरा पात झुके
जुही सिमल पनि छहरासाथ सुके
बारी बँगैचा भरी मुजुर वएली गए
बाटैमा आधि चली आशाका मुना उडे
आँखेमा रात गली…
यो गीतमा कति धेरै विम्व छन् । कति सिमल छ, धुपी छ, हरेक किसिमका विम्वहरु खेलाउनु भएको । यसरी गीतहरु रच्नका लागि कुन समयमा बढी फुर्छ यहाँलाई ?
ज्यादा जसो राति।
भनेपछि सबैजना सुतिसकेपछि ?
हो । लेट नाइटसम्म लेख्छु ।
गीतमा प्रसिद्धि त कमाउनु भएकै छ । कविता र मुक्तकमा पनि यहाँले प्रसिद्धि कमाउनु भएको छ । कस्तो लाग्छ ?
त्यो मेरो सौभाग्य हो । एउटा मुक्तक त राजेश पायल राईले गाए पनि ।
कुल्ची हिंड हाँसीहाँसी, यो छाति तिम्रै बाटो हो,
मेरो देह केही होइन, केवल एक थुप्रो माटो हो
गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन
त्यो त झरि सुकेको एक थोपा आँसुको टाटो हो
त्यो त झरी…
यो मैले धेरैअघि लेखेको हुँ । २०१७/०१८ सालतिर सम्मेलनहरूमा मैले पाठ गर्दा समजीले दुई चोटि तीन चोटि दोहोर्याउन लगाउनु हुन्थ्यो ।
तपाईंले मुक्तक लेख्नु भएको मात्र छैन कि मुक्तकमा विशिष्टता नै हाँसिल गर्नु भएको छ । मुक्तक कसरी लेखिन्छ र मुक्तकको परिभाषा के हो भन्दा खेरि कसरी दिनु हुन्छ जवाफ ?
मुक्तकलाई माने, जस्तो इंग्लिसमा Quatrain भनिन्छ । यो चार लाइनमा आफूले भन्न खोजेको समस्त कुरा अटाउन सक्नुपर्छ । मेरो आफ्नो विचारमा आखिरी लाइन सारै नै पावरफुल हुनुपर्छ ।
यो उमेरमा पनि साहित्यिकका कार्यक्रमहरूमा गइरहेको देखिन्छ । नयाँ पुस्ताहरूलाई पनि एउटा प्रेरणा मिलिरहेको छ ।यो सक्रियताको रहस्य के होला ?
मलाई के लाग्छ भने आफूसित भएको प्रतिभाले समाजलाई केही दिन सक्छ भने त्यसलाई आफूभित्र लुकाएर राख्नु हुँदैन भन्ने विचार राख्छु म नि । त्यसले गर्दा एउटा समाजलाई पनि राम्रो होस् भन्ने हो । जस्तो मैले कुनै चीज कन्सिभ गरेर आफूभित्र राखिछोडेँ भने त्यसको कुनै अर्थ रहँदैन । र, अर्को कुरा के भने म प्रत्येक साहित्यकारहरू भनौं यी कलाकारहरू यिनीहरूमा के हुन्छ भने आफूले गर्ने काममा सम्पूर्ण रुपमा इमान्दारिता हुन्छ…।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।