साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हामीले विपरीत शिक्षा लिइरहेका छौँ – पण्डित बद्रीनाथ

संस्कृतप्रति रूझान नहुनुको प्रमुख कारण नै वर्तमान शिक्षा पद्धति हो । यसमा आजका विद्यार्थीहरूलाई दोष दिन मिल्दैन । यथासम्भव आफ्नो भाषा, संस्कृति एवं संस्कारप्रति संवेदनशील रहेर आफ्नो सन्ततिलाई हिँड्न प्रेरित गर्नु आजका बुद्धिजीवीहरूको कर्तव्य हो ।

Chovar Blues Mobile Size

पण्डित बद्रीनाथ खतिवडा मणिपुर, भारतमा रहने सनातन धर्मका विस्तारक हुनुहुन्छ । ३४ वर्षको उमेरमा नेत्रहीन हुँदा पनि उहाँले सनातन धर्म, संस्कृति र संस्कारको उत्थानको कार्यलगायत साहित्यमा पनि प्रशंसनीय योगदान दिनुभएको छ । उहाँका चार धार्मिक निबन्ध प्रकाशित छन्ः कुमारी दीक्षा, कुम्भ श्राद्ध, आशा देवी व्रतविधि एवं ९ परिदिर्शन । उहाँले मणिपुर राज्यका महामहिम राज्यपालदेखि लिएर भारतको शिक्षा मन्त्रालयबाट पनि सम्मान र पुरस्कार अर्जित गनुभएको छ। नेपाल लगायत पूर्वोत्तर भारतरमा चार सयभन्दा बढी पुराणमा वाचन, सोह्र विश्व शान्ति महायज्ञ एवं अनगन्ती पूजाआजा गरेर उहाँ सबैबिच सम्माननीय हुनुहुन्छ।

प्रस्तुत छ,पण्डित खतिवडासँग साहित्यपोस्टका लागि मणिपुर स्थायी घर भइ हाल दिल्लीमा बसोबास गर्दै आएका हर्कबहादुर लामगादे ‘रोहित’ले गरेको अन्तर्वार्ताको सम्पादित अंश;

स्वयंको परिचय दिनुपर्दा के भनेर दिन मन पराउनु हुन्छ ?

आफूलाई म बद्रीनाथ खतिवडा अर्थात् आफ्नै नाउँमा परिचय दिन मन पराउँदछु ।

सनातन धर्मको रक्षा किन आवश्यक छ?

sagarmani mobile size

सम्पूर्ण जगत्को रक्षा र समृद्धिका लागि सनातन धर्मको नितान्त आवश्यकता छ।

तपाईं ‘संस्कृत नै संस्कार हो’ भन्ने गर्नु हुन्छ ? कारण ?

‘संस्कार’ भन्नुको अर्थ विशेष गरी बुझ्नु पर्ने हुन्छ । यसलाई मेरो एक पक्षीय विचार लिनु मात्र उचित हुँदैन । त्यसैले हाम्रा ऋषि-महर्षिहरूले सम्पूर्ण चराचरलाई व्यवस्थित र शुद्ध रूपमा राख्ने उपायहरू संस्कृत शास्त्रमा बताएको हुँदा, संस्कृत अत्यावश्यक देखिन्छ । त्यसैले म यो कुरा भन्ने गर्दछु ।

दृष्टिविहीन हुँदा तपाईंले आफ्नो जीवनलाई कसरी स्थिर पार्नु भयो ?

नेत्रको उपचार गर्न धेरै अस्पताल धाएँ। आरम्भिक अवस्थामा त म अत्यन्तै विचतिल भएको थिएँ। बद्रीनाथ धाम गएर त्यही बस्ने अनि जप गर्ने विचार गरेँ । ईश्वरको आशिर्वाद एवं गुरुजनहरूको आज्ञाले म समाज सेवाको कार्यमा पुनः प्रवृत भएँ । आजसम्म गुरुहरूकै आज्ञाको पालन यथासम्भव गरिरहेको छु।

प्रायःले तपाईंसँग दैवीय आशिर्वाद छ भन्ने गर्छन् । के तपाईंलाई आफूमाथि दैवीय शक्ति छ जस्तो लाग्छ ?

म आफूलाई सर्वदा ईश्वरको कृपा छ भन्ने ठान्दछु जसरी सबैमा ईश्वरको कृपा रहन्छ । सबै कुरा ईश्वरकै कृपाद्वारा सम्पादन हुने गर्छ ।

पडिण्तले यजमान गरेर जीवन यापन गर्ने चलन आरम्भ भयको थियो र अहिले पनि चलिरहेको छ । दान लिनु अनिवार्य हो या विकल्प ? तपाईंले दानलाई कुन रूपमा लिँदै आउनु भएको छ ?

ब्राह्मण जातिको वृत्ति नै भीक्षाटन हो । त्यही क्रममा दक्षिणा लिनेदिने चलन छ । यज्ञपुरुषकी पत्नी हुन् दक्षिणा भनेकी । तर तोकेर दक्षिणा भनी लिने चलनलाई म व्यक्तिगत रूपमा चाहिँ दक्षिणा भन्ने ठान्दिनँ । भगवत् कृपाले आजका दिनसम्म यही व्रत पालना गरिरहेको छु।

तपाईंले वेद पाठशाला आरम्भ गर्नु भएको थियो सन् 1958 मा, के त्यो पाठशाला अहिले पनि छ ? मणिपुरमा वेद पाठशाला कति छन् ?

केही समय विषम परिस्थितिका कारण मैले सन 1958 मा आरम्भ गरेको वेद पाठशाला बन्द भए तापनि वर्तमानमा ‘धर्मोदय वेद पाठशाला’ पुनः आरम्भ भएको छ। मणिपुरमा मैले जानेका दुर्इवटा वेद पाठशाला चलिरहेका छन्।

मणिपुरमा तपाईंले संस्कृत पठनको घडेरी हाल्नमा आफ्नो ठूलो योगदान दिनु भएको छ। सुरुआतमा कस्ता अड्चन् आए ?

संस्कृत पठन-पाठन आरम्भ गर्नमा आएको विषम परिस्थितिहरूको उत्तर लेख्न आरम्भ गर्दा त एउटा पुस्तकै हुन जाला ! तथापि सत्कर्मको फल अवश्य प्राप्त हुन्छ भन्ने विश्वास लिएर हिँडेँ । समाजमा एउटै प्रवृतिका मानिसहरू मात्र हुँदैनन्, सत्कर्म गर्ने सज्जनहरू प्रशस्त पाइन्छन् । आजसम्म विषम परिस्थिति आउँदा पनि मणिपुर सकारले एम.आइ.एल. का रूपमा संस्कृतलाई स्वीकर गर्नु, पाठ्यक्रम तयार गर्नु एवं यति साना राज्यमा 2-2 वटा वेद पाठशाला हुनु उपलब्धिको प्रथम सोपान हो भन्ने ठानेको छु ।

धार्मिक एवं संस्कारित दृष्टिमा हेर्दा वर्तमान समाजमा के कस्ता विकृति आएका छन् ? आएका छन् भने त्यसको पुनरुत्थान गर्ने जिम्मा कसको हो ?

धर्म एवं संस्कारका दृष्टिमा हेर्दा आज हाम्रो समाजमा मात्र नभएर सम्पूर्ण मानव जातिमै विकृति फैलिएको छ। तर हामीले भगवान्को त्यो उपदेश बिर्सनु हुँदैन ।

‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम।’

त्यसैले सचेत समाजको प्रमुख भूमिका नै पुनरुत्थानका लागि प्रेरक बन्ने छ, न कि कुनै व्यक्ति या जाति ।

‘सनातन संस्कृत विद्यालय’ तपाईंको कल्पना एवं अथक प्रयासमा स्थापना भएर अहिले पनि सुचारु रूपमा चल्दैछ? के तपाईंले देखेको सपना विद्यालयले साकार गर्दैछ ?

संस्कृत, संस्कृति, संस्कार आदिको संरक्षण सम्वर्द्धन गर्नु परम कर्तव्य हो भन्ने विचारले साथै समाजमा रहेको विविध कुरीतिहरूको बहिष्कार होस् भन्ने उद्देश्यले आरम्भ गरिएको कार्यहरू हुन् । मैले अघिनै भनिसकेँ- प्रथम सोपानमा छ, शिखरसम्म पुग्न धेरै बाँकी छ।

कैयन् पुराण वाचन एवं धर्मकाण्ड कार्य गरेर तपाईंको नाम भिन्न रूपमा प्रतिष्ठत् भएको छ। तपाईंको यो थाती सम्हाल्ने व्यक्ति तपाईंकै परिवार या मणिपुरमा कोही छ ? या विषय तयार पार्नु भएको छ ?

तपाईंको यो प्रश्नमा मैले भन्नु पर्ने के हुन्छ भने- मैले आफ्नो सम्पूर्ण जीवन ‘सर्वजन हिताय, सर्वजन सुखाय’को बाटोमा लगाएको छु । भगवान्को उपदेश अरूलाई मात्र नसुनाएर सकेसम्म आफ्नो जीवनमा पालन गर्ने निश्चय गरी, फलाशा नराखीकन कार्य गर्ने प्रवृति लिएको हुँदा कर्म गर्नुमा नै आफूलाई विश्वास राख्छु । मैले ‘यो वरको र त्यो परको’ भन्ने विचारै गरेको छुइनँ ।

नेपालसम्म पनि तपाईंले सनातन धर्मको प्रसारमा धार्मिक यात्रा गर्नु भएको छ। नेपाल र मणिुपर राज्यमा बस्ने नेपाली एवं हिन्दु अनुयायीमा के समानता एवं भिन्नता छ ?

ठाउँ-ठाउँको चलन अनुसार विचार र चिन्तनमा फरक पर्नु भनेको स्वाभाविक नै हो । सनातन परम्परा भनेको देश र राज्यका सिमानाले छुट्याउन सक्ने चिज होइन । शास्त्रका वचनहरू सर्वदा सर्वत्र एकसमान नै हुन्छन् । यो भिन्नता भनेको सोचमा मात्र हो, सनातन परम्परामा होइन।

तपाईंले जीवनपर्यन्त समाज सेवाका लागि जीवन खपाउनु भयो । साना जातिको उत्थानका लागि कार्य गर्दा समाजले तपाईंलाई समाज हटक पनि गरेको सुनिएको छ । के यो सत्य हो ?

तपाईंले सुनेको घटना सत्य हो। एक पल्ट मात्र होइन अनेकपल्ट मैले समाजबाट यस प्रकारको निर्णय भोग्नु पर्यो । मैले अघि नै भनिसकेँ कि म कर्म गर्नमा विश्वास गर्दछु फल भगवद् इच्छानुसार जस्तो मिल्छ त्यसैमा सन्तुष्ट हुन्छु। यस्तो घटना अझै पनि भोग्दै आएको छु। ईश्वरसँग पुनः पुनः यही प्रार्थना छ कि मलाई भोग्न सक्ने शक्ति सर्वदा बनिरहोस् ।

समाजमा तल्लो वर्णलाई माथिल्लो वर्णले गर्ने भेदभावकै कारण पछिल्लो समय, तल्लो वर्णले अपहेलित महससूस गरेर, धैरे मात्रामा धर्मान्तरण गरिरहेका छन् । के यो हाम्रो हिन्दु समाजका लागि शुभ संकेत हो ? यसलाई रोक्ने जिम्मेवारी कसको हो ? माथिल्लो वर्णको भूमिका कस्तो हुनु पर्दछ ?

यो प्रश्न मलाई व्यक्तिगत रूपमा सोध्नुभन्दा समाजलाई सोध्दा अझ प्रासङ्गिक र उत्तर दिने अधिकर पनि हुन्थ्यो होला जस्तो लाग्दछ। मलाई सोधेको हँदा मेरो व्यक्तिगत विचार चैँ के छ भने मैले भनिरहनु पर्छ होला जस्तो लाग्दैन, किनभने अघिकै उत्तरमा मैले भनिसकेँ कि हाम्रा बन्धुहरू जसलाई हामी निम्न वर्ग भन्दछौँ, उनीहरूकै उत्थानको कार्य गर्दा अनेकपल्ट समाजमा विकृतिहरू फैलिएको देखियो । तसर्थ मेरो व्यक्तिगत विचार यिनै घटनाहरूले व्यक्त गरिरहेका छन् । यसको मतबल वर्ण व्यवस्था नै समाप्त गर्नु पर्छ भन्ने होइन । तर यस भित्रका कुरीतिहरू चैँ अवश्य समाप्त गर्नुपर्दछ। यसो गर्नका निमित्त समाज जाग्रत हुनु अनिवार्य छ । त्यसैले विश्व हिन्दु परिषद्को जिलाध्यक्षको रूपमा मात्र नभएर, कर्मकाण्ड गर्ने एउटा ब्राह्मण पुत्र भएर, आफ्नै नेतृत्वमा अनेकौँ परिवारलाई परावर्तन र पुनरावृत्ति एवं प्रायश्चित आदि कर्म गराई स्वधर्ममा सामिल गर्ने कैयौँ कार्य गरिराखिएको छ ।

वर्तमान शिक्षा प्रणालीमा केही कमी छ जस्तो लाग्छ तपाईंलाई ?

वर्तमान शिक्षा प्रणालीको कुरा गर्ने हो भने त यो प्रणाली हाम्रो अर्थात् भारतीय शिक्षा प्रणाली नै होइन । आज समाजमा जे जति प्रकारका समस्याहरू छन् तिनमा अधिकांश समस्याहरूको उत्पति नै यही शिक्षा पद्धतिबाटै भएको ठान्दछु । किनकि हामीले जुन प्रकारको शिक्षा लिनु पर्दथ्यो त्यसको विपरीत शिक्षा लिइरहेका छौँ ।

संस्कृततिर विद्यार्थीको रूझान् नहुनुको कारण के हो ? रूझान् बढाउने तपाईंको सुझाउँ ?

संस्कृतप्रति रूझान नहुनुको प्रमुख कारण नै शिक्षा पद्धतिको दोष हो । यसमा आजका विद्यार्थीहरूलाई दोष दिन मिल्दैन । यथासम्भव आफ्नो भाषा, संस्कृति एवं संस्कारप्रति संवेदनशील रहेर आफ्नो सन्ततिलाई हिँड्न प्रेरित गर्नु, आजको बुद्धिजीविको कर्तव्य हो ।

वर्तमान समाजमा तपाईंले मुख्य रूपमा के के सामाजिक कुरीतिहरू पाउनु भएको छ ?

धेरैजसो समाजमा आ-आफ्ना पद्धतिहरूको चलन चलिरहेको हुन्छ । समयानुसार आएको विकृतिहरूलाई हामीले विचार नगरी प्रयोग गर्नु या आफ्नो सुविधानुसार प्रयोग गर्ने बानीले कुरीतिको स्थान लिन्छ । यस्ता प्रकारका कुरीतिहरू हाम्रो समाजमा यत्र-तत्र हेर्न पाइन्छ। यसमा कुनै पाटो छुटेको जस्तो मलाई लाग्दैन । धार्मिक, सामाजिक, सांस्कृतिक सबै प्रकारमा हेर्न सकिन्छ ।

धार्मिक कार्यको साथ-साथै साहित्यिक कार्यमा पनि अग्रसर हुनुहन्छ । साहित्यमा तपाईंले दिएको योगदानलाई कसरी स्मरण गर्दै आउनु भएको छ ?

साहित्यिक क्षेत्रमा त्यस्तो ठूलो योगदानको कार्य गरेको छु होला भन्ने त मलाई लाग्दैन । तथापि आफूले अत्यावश्यक मानेका केही कुराहरूलाई सर्व सामान्यमा रूपमा जानकारी होस् भन्ने विचार लिएर, सहयोगीहरूको साथ लिई, केही पुस्तकहरू तयार भए- कुमारी दीक्षा, कुम्भ श्राद्ध, आशा देवी व्रतविधि एवं 9 परिदिर्शन। हुनत बाल्यावस्थादेखि नै साहित्यमा मेरो रुचि थियो । त्यसैले छापा अक्षर आएपछि, छापिएका कागजका टुकुरा कहीँ भेटे पनि टिप्ने र तुरन्तै सबै काम छोडेर त्यो नपढी हुँदै हुँदैनथ्यो । त्यस बेला त त्यति याद भएन तर आज सम्झँदा त्यो साहित्यप्रतिको रुचि रहेछ भन्ने अर्थ लाग्दछ। आज पनि भनेजस्तो कलम चलाउने व्यक्ति भेटेमा अरू कैँयन् कार्य सम्पादन गर्ने इच्छा शक्ति जीवितै छ। तर आजको यस भागदौडमा सबैलाई आफ्नो जीवन निर्वाह गर्न धौ-धौ परिरहेको छ। त्यसैले जे जति भए त्यसैमा चित्त बुझाएको छु । मेरो विचारमा, इच्छा शक्ति अत्यन्त प्रबल छ भने बाधाहरू पनि मार्गदर्शक र प्रेरक बन्दछन् भन्ने कुरामा पूर्ण विश्वस्त छु ।

तपाईंको जीवन समाजका लागि प्रेरणास्रोत छ। तपाईंको जीवनबारे सबैले जान्न जरुरी भएको सबैलाई आभास हुन्छ । यो खुसीको कुरा पनि हो कि ‘ज्योत्स्ना प्रकाशन’को जमर्कोमा तपाईंको अभिनन्दन ग्रन्थ पुस्तक प्रकाशन हुने प्रक्रियामा चल्दैछ। ज्योत्स्नाको यो प्रयासले तपाईंलाई कत्तिको प्रसन्नता दिएको छ ? कतै यस प्रकारको पुस्तक प्रकाशन हुनेमा विलम्ब भएको जस्तो लाग्दैन तपाईंलाई ?

कुनै पनि कार्य सम्पादन हुन समय आउनु पर्दछ तसर्थ मलाई विलम्ब भएको जस्तो लागेको छैन। सबै कुरा ईश्वरेच्छानुसार हुने हो ।

जीवनभरको अनुभवलाई साक्षी राखेर भन्नुपर्दा समाजलाई के सन्देश दिन चाहनुहुन्छ ?

आज समाज सशक्त, जाग्रत साथै समयसापेक्ष बन्नु अत्यन्तै आवश्यक छ । आगामी सन्ततिहरूलाई हामी सबैको प्रयासमा चारित्रिक शिक्षा दिनु अत्यन्तै अनिवार्य भएको छ । साथै प्रत्येक समाजका पथ प्रदर्शकहरूले आफू स्वयं अध्ययनशील बन्नु पदर्छ। जीवनका केही क्षण समाजोत्थानका कार्यमा मैले पनि योगदान दिनु पर्दछ भन्ने विचार, समाजका सबै व्यक्तिमा भएपछि मात्र समाजको सर्वाङ्गीण उन्नति हुनेछ भन्ने आशा राख्दछु ।

प्रतिक्रिया
Loading...