लामो समयदेखि अमेरिका बस्दै आएका अन्तर्राष्ट्रिय नेपाली साहित्य (अनेसास) समाजका पूर्वअध्यक्ष साहित्यकार पदम विश्वकर्मा हाल बीओटी (BOT) उपाध्यक्ष हुन् । पछिल्लो समय क्वारेन्टाइन उपन्यास चर्चामा छ । क्वारेन्टाइन उपन्यासमा विश्वकर्माले महामारीको रापमा पिल्सिएको मानव जातिको दु:ख, रोदन, चीत्कार, सन्ताप, हाहाकार आदि पक्षलाई कारूणिक रूपमा प्रस्तुत गरेका छन् ।
प्रस्तुत छ, साहित्यपोस्टका लागि साहित्यकार पदम विश्वकर्मासँग उपन्यास क्वारेन्टाइन, नेपाली साहित्यका साथमा विविध पक्षमा कृष्ण ढुङ्गेलले गरेको कुराकानीकाे सम्पादित अंश;
क्वारेन्टाइनकै कुरा गरौँ – पाठकहरुबाट के कस्ता प्रतिक्रियाहरु पाइरहनुभएको छ ?
पाठकहरुबाट राम्रो प्रतिक्रियाहरु पाइरहेको छु । नेपालमा रहनुहुने पाठकहरुले किताब पढिरहनु भएको छ, समीक्षा लेखिरहनु भएको छ । सुझावहरु प्राप्त भइरहेका छन् । त्यस्तै अमेरिकामा रहनु हुने पाठकहरु पनि जसले पढ्न पाउनु भएको छ, उहाँहरुबाट पनि सुन्दर समीक्षा र प्रतिक्रियाहरु पाइरहेको छु । अमेरिकामा क्वारेन्टाइनको माग भइरहेपछि ती पाठकहरुसमक्ष किताव पुर्याउन सकिरहेको छैन । यस्तै पढ्न चाहनेहरुको संख्या पनि उत्तिकै छ । जेजतिले पढ्नु भएको छ, उहाँहरुले मनपराइरहनु भएकोमा सारै खुशी लागेको छ ।
सन्तुष्ट हुनुहुन्छ ?
खासगरी उपन्यास क्षेत्रमा यो मेरो पहिलो उपन्यास हो । पाठकहरुले मन पराउनु होला वा नहोला भन्ने डर लागिरहेको थियो तर यसले जेजति चर्चा पाउन सक्यो, त्यसमा म सन्तुष्ट पनि छु ।
उपन्यासको पृष्ठभूमि र लेखनका अनुभवबारे छोटकरीमा बताइदिनुहोस् न !
क्वारेन्टाइन जतिबेला अमेरिकामा कोरोनाले भयवित पारेको थियो, त्यहि समय र धरातलमा लेखिएको कृति हो । कोरोनाले आक्रान्त पारेको खासगरी सन् २०१९ को अन्त्यदेखि विश्वभरी नै फैलिएको महामारीका कारण मानवजातिले भोग्नुपरेको त्रासदी यसले समेटेको छ । महामारीको रापमा पिल्सिएका मानवजातिको दुःख, पीडा, रोदन, चीत्कार, सन्ताप आदि पक्षलाई यस कृतिमा कारुणिक रुपमा प्रस्तुत गरिएको छ । समग्रमा भन्नुपर्दा क्वारेन्टाइन विश्व मानव जातिकै सङ्कटको जीवन्त कथा हो, दस्तावेज हो ।
लेखनका कुरा गर्दा विश्वभरि जतिबेला कोरोनाले भयावह अवस्थाको सृजना गरेको थियो, आफूले आफ्नै आँखा अगाडि देखिएका भयावह अवस्थाहरु जुन थुप्रै आफन्तजनहरु गुमाउनु परेको थियो, अस्पतालमा भर्ना गरिएका थिए थुप्रै आफन्तहरु, छिमेकीहरुले अकालमा ज्यान गुमाउनु परिरहेको थियो । कोही घरमै बसेर पिडा बोकिरहेका थिए, केंयौ बिरामीहरु अस्पतालमा भर्ना हुन पाएका थिएनन् । एउटा त्रासदीपूर्ण अवस्थामा आफूले देखेको भोगेको अवस्थालाई लेख्नुपर्छ भन्ठानेर मैले यो उपन्यास लेखेको हो ।
तपाईँ कविता र कथा लेखिरहेको मान्छे, एकाएक उपन्यासका कसरी हामफाल्नुभयो ? उपन्यासको बजारले लोभ्यायो कि विषयवस्तुले ?
हो, म कविता र कथा लेखिराखेको मान्छे । उपन्यास लेख्छु भनेर मैले सोचेको थिइनँ । जब अमेरिकामा कोरोनाकाल सुरु भयो र यसले अमेरिकी जन-जीवन अस्तव्यस्त बनाइदियो । त्यसपछाडि मैले यस विषयमा केही लेख्नुपर्छ भनेर सोचेँ । लेख्दै जाँदा यसले उपन्यासको स्वरुप पाएको हो । यसले शारीरिक, मानसिक, आर्थिक, मनोवैज्ञानिक विभिन्न विषयमा पारेको प्रभाव लेख्नको लागि उपन्यास जस्तै एउटा लामो कथा प्रसंग जोडेर लेख्नुपर्ने हुन्छ । खास गरेर विषयवस्तु लामो भएको हुनाले र कथा र कवितामा जस्तै धेरै कुराहरु समेट्न नसकिने हुनाले मैले उपन्यासको रुपमा यसलाई प्रस्तुत गरेको हुँ । उपन्यासको बजारले लोभ्याएको कारण होइन ।
उपन्यासले कोभिड-१९ को पहिलो लहरले अमेरिकामा निम्त्याएको कोलहालपूर्ण अवस्थालाई चित्रण गरेको छ । तर कोभिडका नयाँ नयाँ प्रकारले विश्वलाई अझैसम्म पनि आक्रान्त पारी नै रहेको छ । केही समय पर्खेर औपन्यासिक रुप दिएको भए हुनेझैँ लागेको छैन ?
छैन, त्यस्तो लागेको । किनभने यस किताबमा कोरोनाले पारेका सबै पक्षहरु समेटिएका छन् । हामीले कोरोनाको पहिलो लहरमा जुन समस्या, जुन अनुभूति, जुन भोगाइ भोग्नुपर्यो, अहिले पछि देखापरेका लहरहरुमा पनि त्यस्तै अनुभूति छन् । कोरोनाले पारेका सामाजिक, आर्थिक, साँस्कृतिक, मनोवैज्ञानिक प्रभावहरु सबै यसमा समेटिएकोले अलि छिटो भयो कि भनेर सोच्नु पर्छ जस्तो लाग्दैन मलाई । यसमा कोरोनाको साँगोपाँगो सबै आइसकेको छ । केवल यसले पारेको प्रभावको सङ्ख्यामा मात्रै फरक हो तर अनुभूतिहरु उस्तै त हुन् नि । त्यसैले यसले पारेको प्रभावको अनुभूति, अनुभव र यसका विविध पाटाहरु सबै यस पुस्तकमा समेटिएकाले पर्खिनुपर्थ्यो जस्तो पटक्कै लाग्दैन ।
लेखकलाई विश्वभर नै प्रबुद्ध वर्गको रुपमा परिभाषित गरिन्छ । तपाईँको विचारमा लेखकले समाजप्रति के कस्ता उत्तरदायित्वहरु बहन गर्नुपर्छ ? तपाईँ स्वयंले गरिरहनुभएको छ ?
लेखक पनि समाजको एउटा अभिन्न अङ्ग, सदस्य भएकोले समाजमा घटिरहेको घटना, समाजको अवस्था, परिवेश आदि पक्षलाई लेखकले आफ्नो लेखनमा उल्लेख गरेको हुन्छ । यस्तै अनुभवहरु अरु सामान्य सदस्यहरुले पनि गर्न सक्छन् तर उनीहरुले लेख्न नसकेका विषयवस्तुहरु लेखकले लेखिदिन्छन् । त्यसैले मैले पनि समाजका विषयवस्तु, समाजका घटना आदि पक्षलाई समेटेर लेख्ने गरेको छु । मेरा लेखनहरू, कविताहरू, कथाहरुमा देख्न पाउनुहुन्छ । यसभन्दा अगाडि प्रकाशित कथासङ्ग्रह तमसुकमा पनि त्यस्तै समाजका विभिन्न पाटाहरुलाई उल्लेख गरेर लेखेको हुँ । यस्तै क्वारेन्टाइनमा पनि समाजमा भएको यथार्थवादी विषयवस्तु समेटेको छु । त्यसैले मलाई लाग्छ म समाजभन्दा भिन्न छैन र एउटा लेखकले आफ्नो समाजको बारेमा जे देखेको छ, लेख्नुपर्छ भन्ने लाग्छ ।
अमेरिका बस्नुहुन्छ । भूगोलले टाढा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रेम गर्नुहुन्छ । तपाईँको बुझाइमा भाषा, साहित्य र संस्कृति भन्नु के रहेछ ? यसलाई देश र भूगोलसँग जोड्दाको योगफल के हुँदो रहेछ ?
खास गरेर भाषा, साहित्य र संस्कृति मानव जीवनका अभिन्न अङ्ग हुन् । ती अङ्गहरुलाई हामीले चाहेर पनि भुल्न र बिर्सन सक्दैनौँ । हामी जता जता जान्छौँ हामीसँगै उतै उतै पुग्ने गर्छन् । भाषा, साहित्य र संस्कृति पनि एउटा यस्तो पक्ष हो जसले आफ्नो देश, आफ्नो मातृभूमिलाई जोडि राख्ने एउटा पुलको काम गर्ने गर्छ । भाषा, साहित्य, संस्कृति आफू जहाँ पुग्यो उतै लिएर जाने एउटा उपहार रहेछ । यो राष्ट्र र राष्ट्रियताको उच्च नमूना हो र मातृभूमिको अगाध स्नेह पनि ।
तपाईँ अनेसासको अध्यक्ष रहिसक्नुभएको छ, साथै साल बोर्ड अफ ट्रष्टीको उपाध्यक्ष पनि हुनुहुन्छ । तपाईँको नेतृत्वमा संस्थागत रुपमा तथा व्यक्तिगत रुपमा समृद्ध भाषा र नेपाली साहित्यको विश्वव्यापीकरणका लागि के कस्ता कामहरु भएका छन् ?
नेपाली भाषा, साहित्यको विश्वव्यापीकरण अभियानमा हाल आएर विभिन्नरुपमा विभिन्न किसिमका कामहरु भइरहेका छन् । यतिबेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, एनआरएनए भाषा-साहित्य समितिलगायत अन्य संघसंस्थाहरुबाट नेपाली साहित्यका उत्कृष्ट कृतिहरूको अनुवाद गर्ने र त्यसको प्रकाशन गर्ने कामहरु भइराखेका छन् । यसका साथसाथमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट अन्तर्राष्ट्रियस्तरका साहित्यकारहरुलाई जम्मा गरेर नेपाली साहित्यको अवस्थाका बारेमा छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको थियो । तर कोरोनाले गर्दा सम्पन्न हुन सकिरहेको छैन । कोरोना सकिसकेपछि सम्भवत आयोजना हुनेछ ।
नेपाली साहित्यको विश्वव्यापीकरणको लागि अनुवाद मुख्य हतियार हो । हामीले नेपाली साहित्यका उत्कृष्ट कृतिहरु अनुवाद गर्नुपर्छ र यसलाई विश्व बजारमा लैजान सक्नुपर्छ । विश्वका विभिन्न विश्वविद्यालयमा नेपाली साहित्यको पाठ्यक्रम राख्नका लागि अनुरोध गर्नुपर्छ र विभिन्न देशका साहित्यकारहरु र नेपाली साहित्यकारहरुबीच भेटघाट, सभा सम्मेलन, छलफल र अन्तरक्रिया हुनु जरुरी छ । त्यसो हुन सक्यो भने नेपाली साहित्यलाई विश्वव्यापीकरण गराउन सजिलो हुन्छ भन्ने लाग्छ । यसको साथमा अन्तर्राष्ट्रियस्तरमा भइरहेका साहित्यिक सभासम्मेलनहरुमा हाम्रो उपस्थिति हुन पनि जरुरी छ । त्यस्ता सभासम्मेलनहरुमा नेपाली साहित्यको बारेमा चर्चा परिचर्चा हुनु जरुरी छ ।
नेपाली साहित्यको विश्वव्यापीकारण तथा प्रवर्धन गर्न भनेर विभिन्न संस्थाहरु खुलेका छन् तर अहिलेसम्म पनि नेपाली साहित्यको स्थान विश्वस्तरमा जहाँको त्यहीँ छ । कारण के होला ?
तपाईंले जायज प्रश्न उठाउनुभएको छ र हामीलाई पनि त्यस्तै लागेको को हो । तर नेपाली साहित्यलाई विश्वस्तरमा लैजानको लागि मैले माथि उल्लेख गरेजस्तै हामीले अनुवादमा उत्कृष्ट साहित्यलाई छनौट गर्ने, राम्रोसँग अनुवाद गर्ने, विश्व बजारमा लैजाने, अन्तर्राष्ट्रियस्तरका सभा-सम्मेलन हाम्रो उपस्थिति गराउने । धेरै सङ्ख्याले बोलिने भाषाहरु जस्तै हिन्दी, चिनिया, जापनिज, अङ्ग्रेजी भाषामा अनुवाद गर्न सके ती बजारमा नेपाली साहित्यका कृतिहरु धेरै सङ्ख्या बिक्री हुन सक्छन् । तर त्यस्ता कामहरु हामीले गर्न सकिराखेका छैनौँ । त्यस्ता काम गर्न सकिएको अवस्थामा नेपाली साहित्यलाई विश्वस्तरमा सजिलै पुर्याउन सकिने सम्भावनाहरु देखिन्छ । यो ठूलो काम हो र यसलाई हामी सबै, विभिन्न सङ्घसंस्थाहरु, सरकार मिलेर योजनाबद्ध ढङ्गले लाग्न सक्यौँ भने मात्रै सम्भव हुने काम हो । निजीस्तरमा वा सानो तिनो प्रयासमा सम्भव छ जस्तो लाग्दैन ।
तपाईँको अनुभवमा समृद्ध भाषा र नेपाली साहित्यको विश्वव्यापीकरणका लागि राज्यस्तरबाट कस्ता खालका पहलहरु हुन आवश्यक देख्नुहुन्छ ?
नेपाली भाषा साहित्यको विश्वव्यापीकरणमा राज्यस्तरबाट गर्न सकिने कामहरु धेरै छन् । उत्कृष्ट कृतिहरुको छनोट, तिनको अनुवाद, विश्वबजारको खोजी, सभासम्मेलनहरुको आयोजना धेरै कार्य हुन सक्छ । अन्तर्राष्ट्रियस्तरका सभासम्मेलनमा नेपाली साहित्यकारहरुलाई पुर्याउनको, समन्वयन, सम्पर्क गरिदिने लगायत यस्ता धेरै कार्यहरु हुन सक्छ । यस्ता कामहरु राज्यस्तरबाट हुनसकेमा नेपाली साहित्यले राम्रो स्थान पाउन सक्ने विश्वास लिएको छु ।
दलित समुदायको कला र साहित्य सिर्जनाहरुको प्रवर्द्धनका लागि “पदम विश्वकर्मा साहित्य प्रतिष्ठान”को स्थापना गुर्नभएको छ । प्रतिष्ठानले के कस्ता कामहरु गरिरहेको छ ? पृष्ठभूमि तथा उदेश्यका बारेमा छोटोमा बताइदिनुहोस् न !
खासगरी दलित समुदायका सदस्यहरुले भोग्नुपरेको पीडा, दर्द, अन्याय, अत्याचार, विभेदका विरुद्ध नेपाली साहित्यमा खासै उल्लेख्य कामहरु भएको पाइँदैन । त्यसैले यस्ता कामहरूलाई संस्थागत बनाउनका निम्ति पदम विश्वकर्मा साहित्य प्रतिष्ठान स्थापना गरिएको हो । प्रतिष्ठानबाट हरेक वर्ष विभेद विरुद्ध लेखिएका कृतिहरुको प्रकाशन गर्ने, विद्यालयकास्तरका विद्यार्थीहरुलाई जनचेतना जगाउनका निम्ति कविता प्रतियोगिता आयोजना गर्ने र विभेद अथवा छुवाछुत कृतिहरु प्रकाशन गरिराखेका दलित समुदायका साहित्यकारलाई सम्मान गर्ने गरिएको छ ।
अन्त्यमा, भाषा तथा साहित्यलाई लिएर तपाईँका भावी योजनाहरु के कस्ता छन् ? बताइदिनुहोस् न !
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट देवकोटाको बारेमा अङ्ग्रेजीमा कृति प्रकाशन हुँदैछ । त्यस्तै पुरस्कारहरु प्रदान, कृतिहरु प्रकाशन, विभिन्न साहित्यिक गोष्ठीहरु, सभा सम्मेलनको आयोजना हुने छन् भने पदम विश्वकर्मा साहित्य प्रतिष्ठानबाट कृतिहरु प्रकाशन, अनुवाद, प्रतियोगिताहरु सञ्चालन, सम्मान कार्यक्रमहरु आयोजना गरिने छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।