साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

थिएटर ठूलो राजनीति हो: घिमिरे युवराज

अन्तर्वार्ता

शिल्पी थिएटर, काठमाड़ौं, नेपालका निर्देशक घिमिरे युवराज-सँग सिलगढ़ी, भारतका कवि राजा पुनियानी-ले गरेको थिएटर संवादको मुख्यांशः

नेपाली थिएटरको अवस्थान के हो अहिले नेपालमा ?
काठमाड़ौँमा गत १५ वर्षदेखि नियमित नाटक मञ्चन भइरहेको छ । विगत ५ वर्षदेखि थिएटरको संख्या पनि बढेर गयो । काठमाड़ौं त थिएटर हब जस्तो भएको छ अचेल । तर काठमाडौंबाहिर त्यस्तो छैन । केही औँलामा गन्न सकिने समूहहरूले वर्षमा एक दुई पटक नाटक मञ्चन गर्छन् । प्रायः नाटक नेपाली भाषामै हुने गरेका छन् । काठमाडौंमा कहिलेकाहीँ अंग्रेजी भाषामा पनि हुने गर्छ । तर अरु भाषाको रंगमञ्चको स्थिति राम्रो छैन । जनकपुरमा मैथिली, काभ्रेमा तामाङ र बर्दियामा थारु भाषाको नाटक गर्ने समूह छ । तर, नियमित नाट्यकर्ममा उनीहरुलाई संकट छ । यहाँ नेपाली रंगमञ्च भन्ने बित्तिकै काठमाडौको मात्रै रंगमञ्च र नेपाली भाषाको मात्रै रंगमञ्च भन्ने भ्रमलाई छोड्नु पर्छ ।

दार्जीलिङे नेपाली थिएटरको अतीत र वर्तमानबारे के भन्नुहुन्छ ?
इतिहास पढेर मैले दार्जेलिङको नेपाली रंगमञ्चको बारेमा थाहा पाएको हुँ । त्यहाँको रंगमञ्चले नेपाली रंगमञ्चलाई निक्कै सम्पन्न बनायो । मन बहादुर मुखियाका नाटकहरुले नेपालको रंगमञ्चलाई पनि निक्कै ठूलो गुन लगायो । काठमाडौँले त्यो गुन सम्झियो । यहाँ उताका नाटक मञ्चन भए । राम्रो भयो । यतिखेर काठमाडौँको रंगमञ्च निक्कै सम्पन्न छ । उता पनि काम भएको होला तर हामीबीच आदानप्रदान शून्य भयो ।

bahulako diary small and inside post

नेपाली थिएटरका समस्या र चुनौतीहरू के के हुन् ?
रंगमञ्चको स्कुलिङ र नाट्य संस्थाहरुको प्रवर्धन बाहिर देखिने समस्या हुन् । युवाहरुमा इच्छा शक्तिको अभाव अर्को ठूलो समस्या हो । रंगचमञ्चको आधुनिक शिक्षा बेगर नै कलाका अरु विधाहरुसँग रंगमञ्चले गर्नुपर्ने प्रतिस्पर्धा र आर्थिक विपन्नता नेपाली रंगमञ्चका मूल चुनौती हुन् ।

थिएटर र राजनीतिको अन्तर्सम्बन्ध र अन्तर्विरोध कस्ता हुन्छन् ?
थिएटर ठूलो राजनीति हो । थिएटरभित्र गरिने सबै काम राजनीतिक हुन् । अलिक मूर्त रुपमा भन्दा गैर सरकारी थिएटरहरु सधैँ सत्ता र शक्तिको बागी हुन्छन् । आम मानिसको पक्षमा हुन्छन् । खासमा राजनीतिले रंगमञ्चलाई सुन्दर बनाउँछ ।

नेपाली थिएटरले के समयलाई एड्रेस गरिहेको छ त ?
अहिले भनिहाल्न गाह्रो छ । अहिले भइरहेको कामको एउटा कालखण्ड हेर्नु पर्छ । तर, हाम्रो जस्तो समूहगत र निजी नाट्यसंस्थाहरु आफूले भोगेको समयलाई आधार बनाएर प्रायः नाटक मञ्चन गर्छन् ।

सम्बन्धित पोस्टहरु

नेपाली थिएटरको मूलधारा-कन्टेन्ट के हो अहिलेलाई ? मान्छेको सोचलाई रूपरान्तरण (कहिलेकाहीँ परिवर्तन) गराउन के थिएटरले प्रेरक भूमिका वहन गर्ने हो त ?
अहिलेको नेपाली रंगमञ्चको मूल र वैकल्पिक धार म देख्दिनँ । अहिले हामीले बाँचिरहेको समाजको प्रत्यक्ष प्रभाव छ काठमाडौँ र काठमाडौँ बाहिर गरिने रंगमञ्चमा । यो लामो प्रक्रिया हो तर रंगमञ्चले समाजलाई वा समाजमा अभ्यास भैरहेका अन्य कलालाई कहीँ न कहीँ तरंगित गर्छ भन्ने विश्वास मेरो छ ।

अन्तरवार्ताकार राजा पुनियानीसँग नाटक निर्देशक घिमिरे युवराज

नेपालको नेपाली थिएटरमा चलिरहेका प्रयोगहरू के कस्ता छन् ? थिएटरका कुन कुन नयाँ मोडल नेपालमा भित्रिएका हो ? तपाईं कुन मोडलमा काम गरिरहनुभएको छ ?
२० र ३० को दशकको कुरा गरौँ । अलिक अघिको कुरा गरौँ । सत्ताको विरुद्धमा गाउँघरमा, सडकमा, विभिन्न पार्टीका कार्यक्रममा एकखाले नाटक मञ्चन हुन्थे । रंगमञ्चमा लाहुरेका कथा वा गाउँले मायाप्रेमका कथा पनि धेरै आए । ४०को दशकमा जनकपुरमा मिनाप, काठमाडौँमा सर्वनाम र आरोहण, धरानमा अनाम जस्तै अरु धेरै समूहहरुलाई हेर्न हो भने नाटकमा राजनीति प्रत्यक्ष रुपमा आयो ।
प्रायः साहित्यिक मूल्य भएका प्रसिद्ध नाटकहरु पनि राजनीतिक अर्थ बोकेका नै हुन्थे । मञ्चनको शैली भन्न गाह्रो छ । नेपाली रंगमञ्चमा शैलीको कुरा गर्नु वर्जित प्रायः भयो । शैलीको कुरा गर्ने बित्तिक्कै यहाँ प्रायः रंगकर्मी तर्सिने चलन छ । सबै रंगकर्मीलाई लाग्छ, म संसारका सबै शैलीमा पोख्त छु । तर अहिले यो अलिक बृहत भएर आएको छ । युरोप वा अमेरिकामा जस्तो स्टोरी टेलिङ, क्लाउन, मास्क वा पूर्ण प्रयोगात्मक रंगमञ्च जस्तो स्पस्ट शैली छुट्याएर हामी कहाँ काम हुन्न । हाम्रो रंगमञ्च अचेल समग्रतामा चल्छ । यथार्थपरक नाटकमा पनि एक दुई पात्र मास्क लाएर आइदिन सक्छन् । त्यो मास्कको चरित्र पनि यहाँ लोप छ । परिचयविहीन मास्क आउँछ । त्यो पनि अर्थपूर्ण नै छ ।
अहिले काठमाडौको रंगमञ्चमा विविधता छ । शैली र प्रयोगको बहस नभए पनि करिब १० वटा समूह नियिमित नाटक मञ्चनमा छन् । यिनको काम र शैलीमा फरक छ । यसैले काठमाडौँका रंगमञ्चलाई सम्पन्न बनाएको छ । मेरो स्कुलिङ कमेडिया देलार्ते र शारीरिक रंगमञ्चको हो । यसैको आधारमा म पनि अन्य धेरै अनुभव र शैली मिसाएर काम गर्छु । नाटकको शैली सधैँ योजनाले आउँदैन । अचेतन मनले पनि आउँछ । तर, मैले गरिरहेको रंगमञ्च मनोरञ्जन चाहिँ हैन ।

हिन्दी र अङग्रेजी सिनेमा के थिएटरको दुश्मन हो त ? थिएटरको दर्शक पाउनु र बढ़ाउनु के सजिलो छ ?
हैन । कुनै पनि कला एकअर्काको दुस्मन हैनन् । परिपुरक हुन् । दर्शकले मन पराएका नाटक मारामार चलेका छन् काठमाडौँमा ।

थिएटरको मूल उद्देश्य के हो र? थिएटरको ‘पावर’ भनेको के हो ?
विचारको मन्थन ।

नाट्यकला रूपले के सत्ताको वा सिस्टमको सांस्कृतिक हस्तक्षेपमाथि प्रति हस्तक्षेप गर्न जरूरी छ ?
छ । तर यसो गर्दा रंगमञ्चको एस्थेटिक भ्याल्लु मर्नु हुन्न जस्ले गर्दा रंगमञ्च कला नभएर नारा नहोस् । त्यस्तो खत्रा हुन लाग्यो भने बरु कहिलेकाहीँ कलाकर्मीहरु सिधै सडकमा ओर्लनु बेस् ।

प्रतिक्रिया
Loading...