पेस युनिभर्सिटी, न्युयोर्कबाट पुस्तक ‘प्रकाशन’मा एम.एस. र त्रिभुवन विश्वविद्यालय, काठमाडौँबाट अङ्ग्रेजी साहित्यमा एम. ए. गरेका रामचन्द्र के.सी.का नेपाली र अङ्ग्रेजी भाषामा अनुदित पुस्तकहरू प्रकाशित छन् । सन् २०१७ देखि २०१९ सम्म इमरजेन्सी चिकित्सकहरूको विश्‍वव्यापी संस्था एसेपमा ‘एडुकेसनल कन्टेन्ट म्यानेजर’ र ‘म्यानेजिङ एडिटर’का रूपमा काम गरेका उनी नेपाली द्वन्द्वकथामा आधारित ग्राफिक नोभेल जस्टिस लगायत विभिन्न प्रकाशन प्रोजेक्टमा संलग्न छन् ।

प्रस्तुत छ, साहित्यपोस्टका लागि अनुवाद र विश्व साहित्यका बारेमा रामचन्द्र केसीसँग कृष्ण ढुङ्गेलले गरेको कुराकानीकाे सम्पादित अंश;

मेटामोर्फसिसबाटै कुरा सुरु गरौँ – यस पुस्तकलाई लिएर पाठकहरूबाट केकस्ता प्रतिक्रियाहरू पाइरहनुभएको छ ?

सर्वप्रथम मलाई सम्झिएर आम पाठकमाझ आफूले जानेका र सिकेका कुरा राख्ने अवसरका लागि साहित्यपोस्टलाई धन्यवाद । ‘मेटामोर्फसिस’ दस वर्षअगाडि एडुकेसन बुक हाउसले छापेको थियो । त्यति वेलै धेरैले यो कृति मन पराउनुभयो । पुस्तक गज्जबको छ, अनुवाद मौलिक छ, लेखकको मूल कृति नै पढेको अनुभूति हुन्छ भन्ने प्रतिक्रिया पाएँ । विना बजारीकरण पनि पुस्तक राम्रो बिक्री राम्रो भयो त्यति वेला । तिनै प्रतिक्रिया र उत्साहको निरन्तरतास्वरूप नै बुकहिलमार्फत यसको परिमार्जित संस्करण प्रकाशित भएको हो । अहिलेका प्रतिक्रिया पनि उत्साहप्रद छन् ।

के कुराले गर्दा तपाईँलाई “यस पुस्तक अनुवाद गरिनुपर्छ” भन्ने लाग्यो?

हुन त यसको अनुवाद पहिल्यै गरेको हुँ मैले । सन् २०१५ मा न्युयोर्कको पेस युनिभर्सिटीमा पुस्तक ‘प्रकाशन’ अध्ययन गर्दाताका युनिभर्सिटीको पहिलो तलामा रहेको पसल वार्न्स एन्ड नोबेलमा केही किताब खोज्दै थिएँ । त्यहाँ कुनै समय आफैँले अनुवाद गरेको कृति ‘द मेटामोर्फसिस’को ग्राफिक नोभेल बनेको देखेँ । आफूसँगै पढ्ने अमेरिकी साथीहरूलाई ‘द मेटामोर्फसिस’ पढेका छौ भनेर सोधेँ । काफ्काको उक्त कृति अन्तर्राष्ट्रिय बजारमा आज पनि उत्तिकै रुचाइँदो रहेछ । त्यसपछि नै मलाई काफ्काको यो लघु-उपन्यास मेरा लागि मात्र नभएर धेरैका लागि एक बेजोड कृति हो, अनुवाद हुनुपर्छ र जीवनकालमा यो पुस्तक सबैले एकफेर पढ्नुपर्छ भन्ने लाग्यो ।

रामचन्द्र के.सी.

अनुवाद सजिलो काम पक्कै होइन, यस पुस्तक अनुवाद गर्दाको केही विशेष अनुभूति भए सुनाइदिनुहोस् न !

अवश्य! काफ्काको यो पुस्तक मैले सिधै जर्मनीबाट नेपालीमा अनुवाद गरेको होइन । ‘अनुवाद’ को पनि ‘अनुवाद’ भएको हुँदा यस कृतिका बारेमा अलि गहिरो अध्ययन हुनु आवश्यक थियो । त्यसका लागि मैले काफ्काको जीवनीदेखि लिएर उनले लेखेका कृतिका मुभी हेर्ने, इन्टरनेटमा लेखकको ‘सोर्स कल्चर’का बारेमा रिसर्च गर्ने आदि गरेँ । लामा वाक्यहरूलाई अधीनमा लिएर आफ्नो पनमा ढाल्दा रमालो लाग्यो । नयाँ सृजना गर्दाको जस्तो आनन्द लाग्यो ।

मेटामोर्फसिस लयायत तपाईँले अन्य कृति पनि अनुवाद गर्नुभएको छ । कुनै पनि पुस्तकको अनुवाद गर्दा तपाईँका प्राथमिकतामा केकस्ता कुराहरू पर्छन् ?

मैले खासै त्यस्तो प्राथमिकता बनाएर अनुवाद त गरेको छैन । ‘मेटामोर्फसिस’ अनुवादको कुरा गर्नुपर्दा कृति बेजोड लागेपछि अधैर्य भएर अनुवाद गरेको हुँ । यसभन्दा अघिको नेपाली द्वन्द्वकथाहरूको सङ्ग्रह ‘रेबल’ भने नेपाली साहित्य विश्वबजारमा जानुपर्छ भन्ने सोचले अनुवाद गरेँ । यसमा गोविन्दराज भट्टराई र बलराम अधिकारीको प्रोत्साहन र सहकार्य महत्त्वपूर्ण छ तर कुनै पनि कृति अनुवाद हुँदैमा विश्वसाहित्यमा जान्छ भन्ने पनि रहेनछ । मेरा लागि सहकार्य अर्थात् ‘कलाबोरेसन’ प्राथमिकतामा पर्दछन् ।

कुनै पनि कृतिलाई अनुवाद गर्दैगर्दा एक असल अनुवादकले के–के कुरामा ध्यान दिनुपर्छ ?

अनुवाद गर्दा ‘सोर्स कल्चर’ को गहन अध्ययन त प्रमुख नै भैहाल्यो । दोस्रो कुरा अनुवादक ‘पर्फेक्सनिस्ट’ स्वभावको हुनुपर्छ । ‘पर्फेक्सनिस्ट’ अर्थात् पुनर्लेखन र पुनर्अध्ययनमा रमाउने ।

अमेरिकामा हुनुहुन्छ, नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउनका लागि मरिमेट्नुहुन्छ । बाहिर हुँदा आफ्नो भाषा र साहित्यप्रतिको संवेदना र निकटता बढाउँदो रहेछ, हो ?

पुस्तक प्रकाशनको विद्यार्थी भएकाले धेरै गर्नुभन्दा पनि कसरी गर्न सकिएला गर्ने भन्ने कुरामा अलमलिएको भने पक्कै छु । अर्को कुरा मानिस काम अध्ययन आदिको सिलसिलामा देशबाहिर हुँदैमा आफ्नो भाषा साहित्यबाट विमुख हुन्छ वा हुनुपर्छ भन्ने होइन । जहाँ ज जस्तो अवस्थामा रहे पनि केन्द्रमा त आफ्नो भाषा साहित्य नै हुन्छ, होइन र ?

विभिन्न सङ्घसंस्थाहरू खुलेका छन् तर अहिलेसम्म पनि नेपाली साहित्यको विश्वव्यापीकरण गर्न सकिएको छैन । हाम्रो साहित्य नै कमजोर छन् या अनुवादकहरू कमजोर भएका हुन् अथवा अरू नै केही ?

अरू केही !

विश्वव्यापीकरणको सन्दर्भमा मूलधारे पुस्तक प्रकाशक र तिनले प्रयोग गर्ने सिस्टमको कुरा आउँछ यहाँ । अमेरिकी र अन्ताराष्ट्रिय प्रकाशक प्रकाशनमा ‘प्रयोग’ अर्थात् ‘एक्सपेरिमेन्ट’ गर्न रुचाउँछन् । यसमा डिजिटल प्रविधि नै अगाडि आउँछ । हामी भने इबुकको अभ्यास गर्दै छौँ भर्खरै । विश्वव्यापीकरणका लागि लेखक पनि अलि बढी नै लागि पर्नुपर्छ । तपाईँले कुनै अमेरिकी लेखकलाई हेर्नुभयो भने उसलाई पुस्तक लेख्नबाहेक प्रकाशन र बजारीकरणसम्बन्धी कुराको पनि जानकारी हुन्छ जसले गर्दा प्रकाशकलाई पनि त्यस्ता लेखकसँग काम गर्न सजिलो हुन्छ । अर्को कुरा, हाम्रो साहित्य कमजोर छ भन्ने मलाई लाग्दैन । हामीकहाँ संस्थागत पहल, भिजन, र लिडरसिपको अभाव हो । अस्ति भर्खर दुइटा समाचार पढेको थिएँ । सन्दर्भ जापान र जर्मनीको थियो । ती देशका कुनै दुई संस्थाले आफ्ना देशका चर्चित पुस्तकको क्याटलग निकालेछन् र आफ्नो देशको पुस्तक अनुवाद गरेर छाप्ने अन्ताराष्ट्रिय अमेरिकी प्रकाशकलाई राहत नै दिने घोषणा गरिदिएछन् ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यको स्थान कहाँ छ ? भविष्य कस्तो देख्नुहुन्छ ?

केही अपवादबाहेक अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यको स्थान बढी नै पछि  छ । मलाई लाग्छ एउटा पनि नेपाली कृति अन्ताराष्ट्रिय बजारमा ‘बेस्टसेलर’ छैन । यहाँको मूलधार प्रकाशन सिस्टममा छिर्न नसक्नु नै प्रमुख कारण हो । औँलामा गन्न सकिने केही राम्रा नेपाली लेखका कृति यहाँबाट छापिएका पनि छन् तर ती सबैजसो ‘सेल्फपब्लिस’ हुन् । म आफै न्युयोर्कस्थित एक लिटेरेरी एजेन्सीमा इन्टर्न्सिप गर्दा मलाई लगभग ३,५०० लेखकका इमेल चेक गर्न  दिइयो । विभिन्न देशका लेखकले आफ्ना पाण्डुलिपिका स्याम्पल पठाएका थिए त्यहाँ । त्यसमा केही लेखक भारतीय लेखक पनि थिए । नेपाली लेखक भने एउटा पनि थिएनन् । नेपाली साहित्यलाई अन्ताराष्ट्रिय बजारमा पुऱ्याउन केही व्यक्तिगत तवरमा पहल भएका पनि  छन् तर संस्थागत पहल वा लिडरसिप हुन सक्यो भने नेपाली साहित्यको भविष्य राम्रो देख्छु विश्वबजारमा ।

अन्त्यमा, तपाईँका अबका तयारीहरू केकस्ता छन् ?

अमेरिकी गृह-युद्दका कथा आज पनि लेखिन्छन्, हरेक कोणबाट ।  ती ‘बेस्टसेलर’ पनि हुन्छन् । नेपाली द्वन्द्वकथामा आधारित एउटा ग्राफिक नोभेलको तयारीमा छु । ‘क्राउडफन्डिङ्ग’ मोडेलबाट जाँदै छु । स्क्रिप्ट राइटर्ससँग काम गरेर सकेँ । अहिले ग्राफिक डिजाइनर, सम्पादक र चित्रकारसँग काम गर्दै छु । क्याम्पेन सफल भयो भने मे वा जुनसम्म पुस्तक निस्कन्छ । ‘ग्राफिक नोभेल’ अहिले अमेरिकामा चलेको विधा हो भने ‘क्राउडफन्डिङ’ भित्रभित्रै अभ्यासमा रहेकको पुस्तक प्रकाशनको एउटा मोडेल हो ।