भवानी अधिकारी नेपाली एवं मणिपुरी भाषामा कलम चलाउने मणिपुरका साहित्यकार हुन् । अधिकारीले मनका आवेग (निबन्धसङ्ग्रह २००३) एवं आँखीझ्यालभित्र मणिुपर (निबन्धसङ्ग्रह २०१७) कृति दिएर नेपाली साहित्यमा सेवा पुऱ्याएका छन् भने कोरौगी मशेक मङाल (मणिपुरी कवितासङ्ग्रह २००३), आइगी लोकताक इशेङ शेङले (मणिपुरी निबन्धसङ्ग्रह) पुस्तक सृजना गरेर मणिपुर साहित्यमा पनि सेवा पुऱ्याएका छन् । अधिकारी नेपाली साहित्य परिषद् मणिपुरका वर्तमान अध्यक्ष पनि हुन् । हालैमा उनले साहित्य अकादमीबाट अनुवादमा अकादमी पुरस्कार पाउन सफल भएका छन् ।

प्रस्तुत छ, भवानी अधिकारीसँग साहित्यपोस्टका लागि हर्कबहादुर लमगादे ‘राेहित’ले गरेकाे कुराकानीको सम्पादित अंश;

हालैमा साहित्य अकादमीबाट अनुवादमा पुरस्कार अर्जित गनुभएकोमा हार्दिक अभिनन्दन । अनुवाद गरिएको पुस्तकमा के विशेषता छ ?

धन्यवाद छ तपाईँलाई । यसपल्ट मणिपुरमा साहित्य अकादमीको पुरस्कार अनुवाद पुरस्कारबाट नेपाली साहित्यमा प्रवेश भयो । आधुनिक मणिपुरी साहित्य जगत्‌मा नयाँ तरिकाका लेखनहरूले नयाँ मोड ल्याउने लेखकहरूमा एलाङ्बम दिनमणि एक प्रमुख लेखक । उहाँका कथाहरूमा नव प्रयोग, सामाजिक विविध पक्षलाइसहज र केही हास्य रस भरेर लेखिएको ‘पिस्तौल अमा कुन्दा लै अमा’ सन् १९८२ मा मणिपुरीमा साहित्य अकादमी पुरस्कृत कथासङ्ग्रहलाइसन् २००३ मै गरिसकेको हुँ । पछि मणिपुरी अकादमी परामर्श समितिले अकादमीबाट छपाउने कुराले लानु पनि भयो । पाण्डुलिपि हराउनाले कार्बोन कपीबाट फेरि सारेको हुँ । पति पत्नीको सम्बन्ध विश्वासमा चल्छ, मानिसका भित्री र बाहिरी रूप अलग-अलग हुन्छन् । सरकारी योजना कसरी खातामा सीमित राखी भ्रष्टाचार गरिन्छ, अन्ध भक्तिले कुनै विधिको विधान टार्न सक्दैन । परिश्रम र लगनशीलतासँग कार्य गरे सफलताको माथिल्लो शिखरसम्म पुगिन्छ आदि भावका कथाहरूले मलाई आकृष्ट गर्नाले, मैले यो पुस्तक रोजेको हुँ ।

भवानी अधिकारी (मणिपुर)

साहित्यमा रुचि कसरी जागृत भयो ? साहित्यिक गुरुको हुनुहुन्छ ?

घरबाट प्रथ म साहित्यमा रुचि जागृत हुन लाग्यो । अक्षर घरमै चिनियो । यसपछि स्वस्थानी कथा पढ्नुपर्ने । बाले लयमा रामायण, महाभारत, गुणरत्नमाला, नम्रनिवेदन, मुनामदन पढ्नुहुन्थ्यो । हामी सुन्थ्यौँ । पछि पढ्न सिक्यौँ । साहित्यिक गुरु स्कुलबाट आलोक गौतम, कालेजबाट दुर्गा शर्मा बाँस्कोटा र पछि टङ्कनाथ खतिवडा, रामप्रसाद पौडेल र स्वर्गीय आशारानी राई । ठुला मामा पण्डित बद्रीशरण खतिवडाको प्रेरणा र स्थापित भएपश्चात् मणिपुरका हाम्रा जनसाधारणको माया र अनौठो समर्थनले म अघि बढ्न सकेको छु ।

नेपाली साहित्य परिषद्‌को अध्यक्षको हुनुहुन्छ । जिम्मेवारी एवं सृजनालाई कसरी तालमेल बनाउनुहुन्छ ?

परिषद् त अध्यक्ष हुँदा सरलसँग चलेको छ । हामीसँग उठबस गरेका कर्मठ, लगनशील युवाहरू, सचिव, सह-सचिव आदि हुनुहुन्छ । कार्यकारी समिति सदा मिलनसार र एक मतका रहिन्छ । योजना परिकल्पना सहित, पाठ्यक्रम, पाठ्यपुस्तक व्यवस्था, जनजागृति सहित साहित्यिक कार्य गरिन्छ । युवाहरूलाई प्रोत्साहन, सबै लिएर हिँड्नुपर्छ तर एक्लै होइन । सचिव १३ वर्ष रहनुपरेको थियो, पालो नै नपाई । हिजो आजजस्तो सञ्चार माध्यम थिएन । झोला भिरेर जति कुदियो, सायदै अब कसैले त्यति खट्नुपरोस् । त्यस बेला मन खिन्न हुन्थ्यो, छोडूँ कसले जिम्मा लिने ? नछोडूँ मनले हरेस खान्थ्यो । सृजना त मन प्रेरित नभई आउँदैन मलाई । मनले चाहेपछि त भनिन्छ नि ‘खाने मुखलाई जुँघाले थुन्दैन’ ।

मणिपुरमा बस्ने मुट्ठीभर नेपाली भाषीको साहित्यको सूत्रपात कसरी भयो ?

यो मुट्ठीभर नभनौँ होला । तुलचन आलेले सन् १८९३ मा मणिपुरको सवाई लेखेर श्रीगणेश गरेको भारतीय नेपाली साहित्य । यसको प्रेरणा र जातीय भावनाले हामी सदा यसमा जडित छौँ ।

हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

मणिपुरमा नेपाली भाषाको विकासका लागि ककसले र कुन रूपमा आफ्नो योगदान पुऱ्याए ?

मणिपुरको नेपाली भाषी जनता । जसले सदा सजगतासँग आफ्नो जातीय अस्तित्वको मूल आफ्नो मातृभाषा हो भनी सदा यसको जगडा गरी ल्यायो । १९५१-५२ मणिुपर गोर्खा सुधारक सङ्घ, १९६७ अखिल मणिपुर गोर्खा विद्यार्थी सङ्गठन, १९८३ नेपाली साहित्य परिषद् मणिपुर, स्थापित जातीय भाषा संस्कृति, आदिको रक्षाका लागि हो । यहाँपछि अखिल भारतीय नेपाली भाषा समिति शाखा भाषा मागमा खोलियो, अन्य अनेक संस्था र व्यक्तिहरूको योगदान छ । नाम व्यक्तिगत धेरैतिर लेखियो, यहाँ उल्लेख नगरौँ होला ? कोही छुटन गए अन्याय हुनेछ ।

मणिपुरमा कुन नेपाली पत्रपत्रिका प्रकाशित हुन्छन्?

‘सन्देश’ गोर्खा विद्यार्थी सङ्गठन, ‘नेती’ नेपाली साहित्य परिषद् मुखपत्र संस्थागत हुनाले थोरै निस्के पनि हराएका छैनन् । अन्य पत्रिका मेरा स्मरणमा रहेका कति बिर्सियो एउटा पछि देखै पर्न नसकेका धेरै छन् । मैले जानेकाहरू हुन बिरुवा, समिधा, चिह्नारी, कङलातोम्बी बेला, सुप्रभात, नारद गङ्गा, सङ्कल्प, मञ्जरी, गोर्खाज्योति, र सिरोई सिर्जना । यहाँ के देखियो भने संस्थागत भए जहिले भए पनि निस्किन्छ । व्यक्तिगत प्रकाशित पत्रिकाहरू व्यक्ति शिथिल भए लुप्त हुन्छन् ।

मणिपुर शिक्षा प्रणालीमा नेपाली भाषाको कस्तो स्थान छ ?

शिक्षामा पहिलैदेखि नेपाली पढ्ने प्रथा थियो । स्वतन्त्रतापछि असमको जिल्ला बनी मणिपुर धेरै वर्ष रह्यो । तब कुनै पनि परीक्षा कलकत्ता हाल कोलकाताद्वारा चलाइँदा नेपाली उता भएअनुसार यहाँ पढिन्थ्यो भनिन्छ । १९७२ मा पूर्ण राज्यपछि बोर्ड अफ सेकेन्डरी एजुकेसन मणिपुर स्थापित भो । तब नेपाली स्वतः यहाँ खोलियो । हामी १९७२ मा यहाँ ऋतुविचार, मुनामदन, रामायण सुन्दर काण्ड आदि पढेर कक्षा नौ दस पार गरेका हौँ । यता गुवाहाटी विश्वविद्यालयले कलेजका परीक्षाहरू लिँदादेखि स्नातकसम्म नेपाली थियो र पछि मणिपुर विश्वविद्यालयमा पनि छ दुर्भाग्य भन्नुपर्छ, इम्फालका दुई नामी कलेजमा दिएका शिक्षक सेवानिवृत्तपछि विद्यार्थी नरहनाले, दुवैमा यो उठ्ने सम्भावनामा छ ।

विद्यार्थी नरहे पनि पुन: आवेदक बोलाइएको हो, हामीले योग्य व्यक्ति दिन सकेका छैनौँ । प्रारम्भिक कक्षा आठसम्म आफ्नै प्रयासले चल्नुपर्ने । आफू बहुल क्षेत्रमा विद्यालयहरूले कसो कसो व्यवस्था मिलाएर पढाइन्छ । अङ्ग्रेजी मुख्य, स्थानीय राज्य भाषा मणिपुरी, राष्ट्र भाषा हिन्दी माथिबाट नेपाली पढाउनु सरल छैन तर पनि पढेको छ । कक्षा नौदेखि मात्र सरकारी पाठ्यक्रमअनुसार कलेज स्तरसम्म नेपाली छ । दस पार भएपछि छात्र सङ्ख्या घट्दै जान्छ । कोही राज्यबाहिर कोही कता कोही कता ?

मणिपुरको परिदृश्यमा प्रमुखतामा गन्दा – निबन्धकार, कवि, कथाकार, गजलकार, सोधात्मक लेख आदि लेख्ने को-को हुनुहुन्छ ?

यो प्रश्न त अति उत्तम, तर जटिल पनि हो । विधागतमा डाक्टर चन्द्रेश्वर दुबे अनेक विधामा प्रखर रहेको सबैलाई विदित छ, यो नाम अलग म विधागतमा छुट्याउँदिनँ । यसपछि म यहाँ स्मरण गर्छु, कोही छुट्नु भएन । अलग-अलग प्रश्न रहेछन् । यसरी हामी यसलाई लियौँ । निबन्धमा पं. पण्डित बद्रीशरण खतिवडा, मुक्ति गौतम, भवानी अधिकारी । स्मरणलेखनमा वसन्ती पौडेल र युवामा हर्कबहादुर लामगादे ‘रोहित’ का निबन्धहरू हामीले गन्न सकिन्छ । कविमा आलोक गौतम, अनिरुद्ध गौतम, सीताराम लम्साल, कमल थापा प्रकाश, कृष्णप्रसाद काफ्ले, पदमबहादुर राई, भवानी अधिकारी, घनश्याम कोइराला, कीर्तिमणि खतिवडा, देवी थापा मामा, दीपक पन्थ, राहुल राई बोगीको, डा. सीताराम अधिकारी, सृष्टि पौड्याल पन्थ, वसन्ती पौडेल, सीतादेवी छेत्री, सूरज चापागाईँ, हर्कबहादुर लामगादे रोहित आदि उल्लेखनीय नाम हुन । रोशन दियाली, प्रवीण नेपाल, सुमित प्रधान तथा नयाँ अर्को पिँढीमा सुनिल लिम्बु, महेश रिजाल, सौरव सुवेदी, साजन घिमिरे, मोहन गौतम, सुभाष लिम्बु तथा अन्य युवाहरूबाट भविष्यले आशा राख्न सक्छ ।
कथामा आशारानी राई, पदमबहादुर राई, देवी थापा मामा, राहुल राई बोगीको, सीतादेवी छेत्री, रोशन दियाली आदिले आफ्नो योगदान दिएको छ ।

गजलमा म त्यति स्पष्ट छैन । दीपक पन्थ, वसन्ती पौडेल स्थापित नाम हुन् र नयाँ युवाहरूले फटाकफुटुक लेखेको देखिन्छ । सबै नामहरू भन्न यहाँ असमर्थ छु । सोधात्मक लेखमा मुक्ति गौतम, डा. गोमादेवी शर्मा अधिकारी, भवानी अधिकारी, घनश्याम आचार्यको (अङ्ग्रेजीमा) गर्दा सायद यति नै नाम होलान् ।

‘मणिपुरमा साहित्यको विकास गर्नु ढुङ्गामाथि फूल फुलाउनु समान हो’ यो महेश पौड्यालको कथनलाई कुन रूपमा लिनुहुन्छ ?

महेश पौड्यालले कुनै प्रसङ्गमा कसैलाई प्रोत्साहनका निम्ति यो भनेको हुनुपर्छ । यसलाई हामीले नदोहोऱ्याएको राम्रो होला ? मलिलो जमिन हुनेले रुखो जमिनको कर्मठ व्यक्तिलाई रुखो भए पनि मिहिनेतले बालीनाली राम्रो भएछ भनी प्रेरणा दिएको कुरो, बारम्बार गर्दा जमिनवालाको मनोबल कमजोड हुन सक्छ । काठमाडौँको सहुलियत त नेपालमै अन्य क्षेत्रमा नहोला ? यता दार्जीलिङ, सिक्किम कतैसँग हाम्रो दाँजो हुन सक्दैन । हामी, हामी हौँ । मणिपुरलाई मणिपुरको नजरले हेर्ने र यसै किसिमले अगाडि बढ्नुपर्छ । यस किसिमको प्रशंसालाइसकारात्मकतर्फ लानुपर्दछ । परिस्थितिअनुसार चल्नुपर्ने मानव समाज, परिस्थिति प्रतिकूल छ भने पनि त्यसलाई अनुकूल बनाएर चल्नुपर्दछ । कसैको घर ठुलो छ र मेरो झुप्रो छ भने म झुप्रोमा रमाउन सक्नुपऱ्यो । मिहिनेत धेर गर्नुपऱ्यो, सबै अरू हुँदै जान्छ । अध्ययन अलिक बढी गर्नुपऱ्यो । म यसलाई यसरी लिन्छु ।

वर्तमानमा मणिुपर राज्यमा नेपाली साहित्यको विकासलाई टेका दिने के भाषाप्रेमीको अग्रसर देखिँदै छ ?

मैले अनेक ठाउँ भनिसकेको छु जनसाधारण नै हो । सर्वप्रथम भाषा अध्ययनको आवश्यकता पर्दछ । अल्पसङ्ख्यक जातिले सतर्क हुने यसमा हो । हाम्रा अभिभावकहरू जसले बालबालिकालाई एक विषय नेपाली बल गरेर पढाएको छ । व्यक्तिगत चलाएका तथा सरकारी विद्यालयहरू जहाँ हाम्रा विद्यार्थीहरूलाई नेपाली भाषा पढ्ने सहुलियत दिएको छ । हाम्रा शिक्षकवर्ग जसले अनेक विषय पढाएर पनि आफ्नो भाषाको सेवा ठानी नेपाली विषय अतिरिक्त समय दिएर पनि पढाएको छ । यही अध्ययनले भाषा साहित्यप्रति प्रेम उत्पन्न गराउँछ । रोहित भाइ सम्झनू त सानामा संस्कृत विद्यालय पढेको, कति ठुलो योगदान हुन्छ प्रारम्भिक शिक्षाको । यसपछि सङ्घसंस्था, मठमन्दिर, क्लब आदिको भूमिका छ । लेखक कविहरू त हुने नै भए । साहित्य परिषद् छुट्टै भाषा साहित्यका काममा संलग्न संस्था छ । एक-दुई व्यक्तिको मात्र योगदानले सबै सम्भव हुँदैन तर एउटा दुखको विषय छ ।

हाम्रा युवाहरू सामाजिक सञ्जालमा सबै संलग्न रहन्छन् । त्यसमा प्रयोग हुने भाषा अङ्ग्रेजी भइसकेको छ । आपसमा अङ्ग्रेजी भाषामा आदानप्रदान हामीलाई घातक भइसकेको छ । नेपाली भाषा प्रयोग गरे तापनि लिपि रोमन लेख्न मात्र हात लागेको देखिन्छ । मेरो सबै कुरो युवाहरूले मानी ल्याएका छन् तर यसमा सबैको तर्क हुन्छ, “मलाई नेपाली टाइप आउँदैन, मेरो फोनले अथवा लेपटपले नेपाली सपोर्ट गर्दैन ।” सपोर्ट गर्ने किनौँ, नेपाली सिकौँ को अभियानको आवश्यकता देखिन्छ । युवाहरूले बुझ्नुपर्ने कुरो हो यो । सबै भाषा, मणिपुरी, हिन्दी, अङ्ग्रेजी जानेको अति उत्तम तर मातृभाषाको ज्ञान नरहे जीवनमा पश्चात्ताप हुन्छ । यसकारण यो कुरो गहनतामा युवावर्गले लिनेछ भन्ने आशा राखिन्छ ।

भवानी अधिकारीलाई साहित्यकारका रूपमा लिनुहुन्छ कि ने.सा.प. को अध्यक्ष कि ? वा भाषाको उत्थान गर्ने कार्यकर्ताको रूपामा ?

स्वयंले स्वयंलाई के भनेर लिनु र ? भाषाको सेवा गर्ने इच्छामा भाषातर्फ लागियो । साहित्य परिषद्‌ले सुम्पेको कार्यभारको त पालना गर्नुपर्छ समयभरि । पदहरू सदा कसैका पेवा हुने होइन । आफ्नो कार्यकालभरि सो पदमा रहेर फेरि नयाँ कार्यकारिणी गठन हुन्छ । तब अरू नै बनिनुपर्दछ । यसमा पदको मर्यादा पालन राम्ररी गर्न सकियोस् त्यसको ध्यान राखिन्छ । भाषाको त उत्थान होस्, स्थानीय मणिपुरी साहित्य जगत्‌सँग नेपाली साहित्य परिषद्‌को भातृत्वको सम्बन्ध रहोस्, यो त गरी ल्याएको हो र सफलता पनि पाइएको छ । यो पनि एक्लो प्रयास होइन, सामूहिक प्रयास चाहिन्छ । सबैको सहयोग पाएको छ तर हाम्रो मणिपुरी साहित्यमा अझ ठुलो भूमिका हुनुपर्नेमा हुन सकेको छैन । आफूलाई बहुसङ्ख्यकसँग चिनाउने माध्यम र स्थानीय जातिमाथिको राम्रो ज्ञान हुनु अल्पसङ्ख्यकलाई अति जरुरी हो ।