असम सरकारबाट लेखक सम्मान (२०२१) प्राप्त स्रष्टा हुन् गोमा अधिकारी । उनका नेपाली भाषा र संस्कृति (सन् २०१२), मणिपुरमा नेपाली साहित्य एक अध्ययन (सन् २०१६), भारतीय नेपाली साहित्यको इतिहास (सन् २०१८), आतुर शब्द (हिन्दी साझा कविता सङ्कलन, २०१८), पूर्वोत्तर काव्य सृजन (हिन्दी साझा कविता सङ्कलन, २०१९), साहित्य लहर (हिन्दी काव्य, सम्पादन, २०२१) लगायतका कृति प्रकाशित रहेका छन् । पूर्वोत्तर हिन्दी साहित्य अकादमी सम्मान (२०१७), महाकवि तुलसीदास अन्ताराष्ट्रिय सम्मान (२०२१) लगायत पुरस्कारबाट सम्मानित अधिकारी पूर्वोत्तर हिन्दी साहित्य अकादमी, मणिपुर एकाइ अध्यक्ष पनि हुन् ।
प्रस्तुत छ, स्रष्टा गोमा अधिकारीसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंश;
तपाईँको लेखनको दृष्टिले पहिलो रचना कुन हो ?
मेरो पहिलो रचना बीरे शीर्षक एकाङ्की हो ।
प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना हो र कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?
प्रकाशनका दृष्टिले पनि बीरे शीर्षक एकाङ्की जेठो हो र सन् १९९९ मा सङ्कल्प पत्रिकामा प्रकाशित भएको थियो ।
जीवनको भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित बाल्यावस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ? कहाँ र कसरी बित्यो बाल्यावस्था ?
मेरो बाल्यावस्था मणिपुरको इराङ, भाग २ मा स्थित पानीखेती गाँउमा बित्यो । मलाई आफ्नो बाल्यावस्था एउटा मिठो सपनाझैँ लाग्छ । निश्चल प्रकृतिको काख, प्रकृतिको अनुपम छटामा रमाउने ग्रामीण परिवेश, वरपीपलको रम्य छहारीमा पिट्ठु, टोपी लुकाइ, कबड्डी खेलेको, जङ्गलका ताजा ऐँसेलु, खनिउँ, गुहेली, काफल जस्ता फल टिपेर खाएको अहिलेजस्तो लाग्छ । गाँउको बरपीपल डाँडाबाट देखिने पहेँलै धान पाकेको खेतको दृश्य, इराङ र तपन नदीको दोभान र दुई खोलाको फाँटिलो मैदान, हातेमालो गरेर उभिएझैँ लाग्ने पहाडहरूको दृश्य मेरो अवचेतनमा बसेर अझै पनि झकझक्याउने गर्छन् । प्रकृतिको सान्निध्यमा हुर्किएको त्यस बाल्यावस्थाले आजको सहरी जीवनलाई पनि धेरै प्रभावित पारेको छ । मलाई आज पनि बिहान उठदा खुल्ला अकाश देखिनुपर्छ । सहरी कोलाहाल र भिडभाडभन्दा अलि छुट्टै बस्न रुचाउँछु । वरिपरि हरिया रुखपात भएको आनन्द लाग्छ ।
साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?
हामी साना हुँदा हाम्रो घरमा बेलुका सधैँ रामायण, महाभारत, स्वस्थानी व्रतकथा, गीता जस्ता पुस्तकहरू पढ्ने गर्दथ्यौँ । हजुरबा, बुबाको निर्देशमा हामी दिदीबहिनी, दाजुभाई स्वर हालेर श्लोक गाउने प्रतियोगिता गर्दथ्यौँ । बुबाले केही मात्रामा पत्रपत्रिकाहरू पनि ल्याउनुहुन्थ्यो । यसरी थाहै नपाई मनमा भाषासाहित्य अनुरागले जन्म लिएछ । अलि ठुला भएपछि अलइन्डिया रेडियोको नेपाली कार्यक्रम सुन्ने गर्दथ्यौँ । त्यसमा केही कविता कोरेर पठाउँदा रेडियोबाट प्रसारण हुन्थे । यसरी बाल्यावस्थामै साहित्यतिर लम्कन थालिएछ । साहित्यको प्रेरणास्रोत मेरो घरको माहोल नै थियो । कलेज पढ्दा साहित्यिक वर्गसँग सम्पर्कमा आएँ जसमा मणिपुरका प्राध्यापक लेखक रामप्रसाद पौड्याल, पदमबहादुर राई ओल्ड ब्वाय, आलोक गौतम, मुक्ति गौतम जस्ता व्यक्तित्वहरूबाट थप मार्गदर्शन प्राप्त भयो । विश्वविद्यालय पढदा सबैभन्दा बढी साहित्यिक माहौल पाउने सौभाग्य जुऱ्यो । यसरी आफूभित्र अलिअलि गर्दै एउटा ठुटे सर्जक जन्म लिँदै गरेको अनुभव भयो ।
साहित्य के हो जस्तो लाग्छ ?
जीवनजगत्को अनुभूति, भोगाइ, सामाजिक व्यवहार, यथार्थ स्थिति आदिलाई आफ्नो विवेकको चाल्नामा चालेर त्यसमा व्यक्तिगत कल्पना र विचार मिसाएर समाजअघि पस्किएको कलात्मक मौखिक वा लिखित वाङ्मयलाई म साहित्य भन्छु । साहित्य शब्द, अर्थ, अनुभूति, भावना र विचारको एउटा बेगिलो धारा हो र यो सधैँ उच्च आदर्शको बाटातिर बगेको हुन्छ र यसले युग-युगसम्म आफ्नो प्रभाव छाड्छ । यो मानव जातिको ज्ञान र अनुभवको सञ्चित कोष पनि हो । अर्को अर्थमा भन्नु हो भने यो कुनै पनि जाति, समुदाय, समाज र देशको सभ्यतालाई चिनाउने एउटा माध्यम पनि हो ।
भारतीय नेपाली साहित्यमा बढी लेखिएको विधा कुन छ ? अरू विधाको तुलनामा यो किन बढी लेखिएजस्तो लाग्छ ?
भारतीय नेपाली साहित्यमा बढी लेखिएको विधा कविता हो । अरू विधाको तुलनामा यसलाई बढी मात्रामा लेखिने केही कारणहरू छन् । पहिलो कारणमा यसको आकार सानो हुनाले यसलाई लेख्न बढी समय खर्चिनु पर्दैन । यसलाई लेख्नका लागि कुनै गहिरो अध्ययन गर्नु पर्दैन । खोज-अनुसन्धान गर्नु पर्दैन । एक ठाउँमा बसेर लेख्न सकिन्छ । गद्य कविताले त अझ यसलाई खुकुलो बनाइदिएको छ । छन्दमा बसाउने, गण गन्ने, मात्रा र वर्णको गन्ती गर्ने झमेला छैन, न भाषामा कलात्मकताको आवश्यकता हुन्छ । थोरै शब्दमा आफ्ना भावहरू पोख्न सजिलो पर्दो रहेछ, त्यसैले कविता बढी फस्टाएको म देख्छु ।
थोरै लेखिने विधा चाहिँ कुन छ अहिलेसम्म र किन कम्ती लेखिएजस्तो लाग्छ ?
भारतीय नेपाली साहित्यको सन्दर्भमा सबैभन्दा थोरै लेखिएको विधा डायरी, रिपोर्ताज, रेखाचित्र हुन् । यी विधाहरू नगण्य देखिन्छन् । समग्र नेपाली साहित्यमा पनि यि विधाहरू नगण्य नै छन् कि जस्तो मलाई लाग्छ । यी कम्ती लेखिने केही कारणहरू देखिन्छन् । यी विधाहरूप्रति लेखकहरूको अनभिज्ञता एउटा ठुलो कारण हो । एकाध लेखिए तापनि माउ साहित्यिक संस्था साथै अग्रज साहित्यिक वर्गले यस्ता विधाका लेखहरूलाई प्रोत्साहन नदिनु, परम्परागत चलिआएका विधाहरूको चर्चा नै बढी मात्रामा साहित्यिक कार्यक्रम, सामचार पत्रपत्रिका, रेडियो, दूरदर्शन, सामाजिक सञ्जाल आदिमा गरिनु, प्रोत्साहनका लागि पुरस्कार सम्मान आदिको व्यवस्था नहुनु यी विधा फस्टाउन न सक्ने केही कारणहरू हुन् ।
समीक्षा र समालोचनामा सक्रिय देखिनुहुन्छ । के अन्तर छ यिनीहरूमा ?
प्रश्न कडा राख्नुभयो । हामी अहिलेसम्म पनि यी दुइटा शब्दलाई प्रायःजसो एउटै अर्थमा लिने गर्छौँ । यस सम्बन्धमा मेरो उत्तर सबैका लागि ग्राह्य हुन नसक्ला तर मलाई लागेको कुरा म भन्न सक्छु । हुन त समीक्षा र समालोचना कुनै पनि वस्तु, व्यक्ति, स्थिति आदिको गरिन्छ तर म यहाँ आफ्ना कुरा साहित्यलाई केन्द्रमा राखेर गर्नेछु ।
समीक्षा — समीक्षालाई अङ्ग्रेजीमा Review भनिन्छ । कुनै पनि कृति बजारमा आएपछि, वा सार्वजनिक भएपछि त्यो कस्तो छ, त्यसमा के विशेषताहरू छन्, एउटा आम पाठकका लागि यो कत्तिको सार्थक हुन सक्छ भन्ने प्रश्न रहन्छन् । समीक्षामा यिनै प्रश्नको निर्क्योल समग्रमा गर्ने प्रयास गरिन्छ । समीक्षाले कृतिको विषयवस्तु, भाव, शैली, भाषा र सार्थकताको चर्चा गर्छ । समीक्षा पढेपछि एउटा पाठकले उक्त कृति उनीहरूका लागि उपयुक्त छ वा छैन, किन्नु सार्थक हुन्छ वा हुँदैन भन्ने ठम्याउन सक्छ । त्यसैले, समीक्षा एउटा कृतिको साङ्गोपाङ्ग सिंहावलोकन हो । एउटा तटस्थ र वस्तुपरक समीक्षकले पाठकहरूलाई एउटा कृतिको सीमा र शक्तिको जानकारी गराउने काम गर्दछ । समीक्षा गर्नका लागि समालोचनाका सिद्धान्त अथवा सूत्रको ज्ञान आवश्यक हुँदैन । एउटा आम पाठकले पनि प्रतिक्रियास्वरूप समीक्षा लेख्न सक्तछ । कुनै पुस्तक समीक्षाका लागि पाठकले पहिले पुस्तक पढ्दछ, त्यसलाई बुझ्ने प्रयास गर्दछ र त्यसपछि त्यसको आकलनस्वरूप समीक्षा गर्दछ । समीक्षामा लेखकले पुस्तकको एउटा समग्र दृष्टिकोण प्रस्तुत गर्दछ । उसले पुस्तकको खण्ड-खण्डको विश्लेषण गर्दैन, समग्र मूल्याङ्कन प्रस्तुत गर्दछ । यो सकारात्मक या नकारात्मक दुवै हुन सक्छ ।
आलोचना – भिन्नाभिन्नै भाषामा आलोचनाको भिन्नाभिन्नै अर्थ रहेको पाइन्छ । हिन्दीमा आलोचना भन्नाले साहित्यको एउटा विधा बुझाउँछ । नेपालीमा कसैको विचार, वस्तु, कृति आदिको तार्किक आधारमा दोष निकालेर त्यसको निन्दा गर्नु आलोचना भनेर जानिन्छ भने असमिया भाषामा आलोचना भन्नाले सरसल्लाह वा विचार-विमर्श भन्ने बुझिन्छ ।
समालोचना — अङ्ग्रेजीमा समालोचनालाई Criticism भनिन्छ । सम् भनेको वस्तुपरक अथवा सम्यक् वा समान र लोचन भनेको आँखा, यानि हेराइ । यसरी हेर्दा, समालोचना भनेको कुनै आग्रह वा पूर्वाग्रह नराखी गरिने कुनै कृतिको नीरक्षीर मूल्याङ्कन हो । समीक्षामा समग्रता हेरिन्छ भने समालोचनामा कृतिको एउटा पक्षलाई गहनताका साथ, कुनै स्थापित सिद्धान्त, अध्ययन पद्धति वा सूत्रको कसीमा हेरिन्छ । उदाहरणका लागि, समालोचकले एउटा पूरा लेखमा कुनै कृतिको भावको मात्रै विवेचना गर्न सक्छ, जसका लागि भावविश्लेषणका स्थापित सिद्धान्तको प्रयोग गर्छ । कसैले शैलीको चर्चा गर्ला र शैलीविज्ञानका सूत्रहरूको प्रयोग गर्ला । एकभन्दा बढी सिद्धान्त वा सूत्रको प्रयोग पनि हुन सक्छ तर सिद्धान्त, पद्धति वा सूत्रको प्रयोगविना समालोचना हुँदैन । समालोचनाले खण्ड-खण्ड विशेषताको आधारमा कृतिको विवेचना गर्छ र कृतिको वास्तविक मूल्य निर्धारण गर्छ । एउटा समालोचकले, आफू्ले विवेचनाका लागि उठाएको कृति किन, कुन कारणले र कुन कसीमा अब्बल वा कमजोर छ र त्यस कृतिको आगमनले साहित्यको परम्परा कसरी प्रभावित भयो, त्यो पनि दर्साउँछ । यसरी हेर्दा, समीक्षा एउटा समग्र प्रतिक्रिया हो भने समालोचना सिद्धान्त अथवा सूत्रबाट निर्देशित, कृतिको कुनै पक्षको बृहत् र गहन अध्ययन हो । सिद्धान्त, अध्ययन पद्धति वा सूत्रको ज्ञान नहुने मान्छेले समालोचना गर्न सक्दैन । यो एउटा गहन प्राज्ञिक काम हो, फगत पाठक प्रतिक्रिया होइन ।
समीक्षा र समालोचनाले पुस्तकलाई के गर्छ ?
समालोचनाले समीक्षाले कुनै पनि कृतिको समग्र अवलोकन गरेर त्यसको वैशिष्ट्य केलाउँदै साहित्य परम्परामा आलोच्य कृतिको स्थान निर्धारण गर्दछ भने समालोचनाले त्यसमा निहित गुणदोषलाई केलाउने काम गर्दछ ।
पुस्तकको समीक्षा र समालोचना किन गरिन्छ?
पुस्तकको गुण दोष हेर्न, त्यसमा के विशेषता छ, अगाडिबाट चलिआएका त्यस विधा विशेषका पुस्तक परम्परामा यो कृति कुन ठाउँमा उभिएको छ, यसले पाठकलाई केकस्तो नौलो आस्वाद दिन सक्छ, लेखक वा रचनाकारले के कस्तो नौलो भाव, विचार, परम्परा, शैली आदि प्रयोग गरेका छन् आदि-आदि तमाम तथ्यहरू केलाउन, त्यस पुस्तकको स्थान निर्धारण गर्न साथै पाठकलाई पुस्तकको साङ्गोपाङग परिचय दिनका लागि कुनै पनि पुस्तकको समालोचना वा समीक्षा गरिन्छ ।
अहिले लेखक र पुस्तकलार्इ न्याय गर्न सकेका छन् समीक्षक समालोचनकहरूले ?
दीपकज्यू, अहिलेको समयमा साँचो कुरा भन्नु हो भने सर्जकहरू अनगिन्ती र समीक्षक, समालोचकहरू औँलामा गनिने मात्र देखा परेका छन् । सिद्धान्त र सूत्रको सम्यक् ज्ञान र पुस्तकको साङ्गोपाङ्ग अध्ययनविना कुनै पुस्तकको न समीक्षा हुन्छ न समालोचना नै । थोरै समालोचकहरूले सबै पुस्तकहरूको समालोचना गर्न सक्ने सम्भावना देखिँदैन । यसमा पनि केही समालोचकहरू आफ्नो फाँटिलो दृष्टि लिएर अध्ययनको आधारमा कृतिको समालोचना वा समीक्षा कार्यमा संलग्न देखिएका छन्, उनीहरू साधुवाद का पात्र हुन् । अर्कापट्टि प्रभाववादी समालोचनाको भने बाढी आएको देख्छु । त्यसमा समीक्षकले आफूले पुस्तक पढेर प्राप्त गरेको स्वानुभव मात्र लेखेको पाइन्छ । त्यसमा पुस्तकको न सम्यक् समालोचना हुन्छ न समीक्षा । यसरी सम्पूर्ण रूपमा भन्नु हो भने आज आंशिक मात्रामा मात्रै समीक्षक र समालोचकहरूले पुस्तक र लेखकप्रति न्याय गरेको देखिन्छ । अर्कोपट्टि समीक्षा नभएका उत्कृष्ट पुस्तकहरूको ठेली पनि छ भन्ने कुरालाई इन्कार गर्न सकिँदैन ।
समीक्षक समालोचकहरूले प्रशंसापरक समीक्षा र समालोचना मात्र लेख्नु रहर कि बाध्यता हो ?
जहाँसम्म मेरो अध्ययन छ हामी आफ्ना दोषहरू न हेर्न चाहन्छौँ न कसैले औँल्याएको कुरा सहन्छौँ । प्रायः हामी सबैले मैले लेखेको पुस्तक चैँ अब्बल छ भन्ने सोच पालेका छौँ । यस्तो स्थितिमा कसैले दोष देखाइदिए हामी आफ्नो आत्म अहंमा चोट लागेको महसुस गर्छौँ । सही कुरा लेख्दा लेखकसँग सम्बन्ध पो बिग्रिएला कि भन्ने डर, फेरि वाह-वाह लेखिदिँदा लेखकका नजरमा सम्मान बढ्ने, यसैले रचनाकारहरूले चाहेअनुसार सम्यक् आलोचनाभन्दा बढी प्रशंसापरक लेख लेख्ने गरेको देखिन्छ ।
अर्को कारण के हो भने कृतिको समीक्षा गर्न गहन अध्ययनको खाँचो हुन्छ । मात्रै एउटा कृतिको अध्ययनको आधारमा समीक्षा/समालोचना लेखिँदैन । यदि कुनै कविताकृतिको समीक्षा प्रस्तावित छ भने समीक्षकले सम्पूर्ण कविता परम्पराको अध्ययन गरेको हुनुपर्छ । कविताका तत्त्वजस्तै भावपक्ष र शिल्पपक्षमा हुने विशेषताहरू, भाषिक ज्ञान, भाषा प्रयोग, बिम्ब, प्रतीक, छन्द, अलङ्कार, समीक्षा समालोचनाका सिद्धान्त सूत्रहरूको ज्ञान, वर्तमान जीवन जगत्को दृष्टिकोण समीक्षकसँग हुनुपर्छ । अब यस्तो ज्ञान राख्ने थोरै समीक्षक र समालोचकहरू देखिन्छन् । रचनाकारहरूको सङ्ख्या धेरै र समालोचक थोरै हुँदा समालोचनाका नाममा प्रशंसापरक लेखहरू लेखेर समालोचनाको क्षतिपूर्ति गर्न खोज्नु एउटा बाध्यता पनि हो । कतिपय लेखकहरूले रहरले पनि समालोचना लेखेको देखिन्छ ।
फेरि अर्को कुरा समालोचनालाई कविता, कथा, उपन्यास जस्ता रचनात्मक विधाभन्दा हामीले अलि कम मूल्य दिएका छौँ कि? जति रचनात्मक कृतिहरू पुरस्कृत हुन्छन् त्यति समालोचनाले पुरस्कार पाएको म देख्दिनँ । समालोचना वा समीक्षालाई प्रोत्साहित गर्न सङ्घसंस्थाहरूले भूमिका खासै खेलेको म देख्दिनँ । आज पनि राम्रा समीक्षा पुस्तकहरू प्रशस्त छन्, राम्रा समालोचनाहरू लेखिएका छन् तर समालोचक/ समीक्षकहरूलाई खासै प्रोत्साहित गरिएको पाइँदैन । यसले गर्दा राम्रा समालोचकहरूले आफ्नो क्षेत्र छाडेर कविता, कथातिर ढल्किएको देखिन्छ । यस्तो अवस्थामा प्रभाववादी र प्रशंसामूलक समालोचनाहरू बढी लेखिएको देखिन्छ ।
अनुसन्धानमा पनि सक्रिय देखिनुहुन्छ । अनुसन्धानमूलक लेख र पुस्तकहरू कमै मात्रमा प्रकाशन हुन्छन् नि किन यस्तो भएको हो ?
म आफूलाई सम्पूर्ण रूपले अनुसन्धाता मान्दिन । हो, यस कार्यमा मलाई बढी रुचि भने छ । अनुसन्धानमूलक लेख वा पुस्तक लेख्नु सहज हुँदैन । यस्ता पुस्तक वा लेख लेख्दा धेरै अध्ययन र फिल्डवर्कको आवश्यकता हुन्छ । यसमा बढी धैर्य, समय र अर्थको खाँचो हुन्छ । विषय अध्ययन गर्न सन्दर्भ पुस्तकहरू चाहिन्छ । हाम्रोमा पुस्तकालयहरूको सधैँ कमी छ । नेटमा नगण्य पुस्तकहरूको उपलब्धता । पुस्तक किन्ने पैसा चाहियो । अब यत्रो कष्ट किन उठाउने ? फेरि मानिसहरूको चित्त बुझाउन गाह्रो । कुनै लेखकले अनुसन्धानमूलक पुस्तक वा लेख लेखेमा हामी त्यसमा मेरो नाम छ छैन भनेर मात्रै हेर्छौँ । मेरो नाम आएन भने त्यस पुस्तकलाई तल्लो दर्जाको संज्ञा दिन्छौँ । लेखकले केकस्तो साहित्यिक दस्तावेज तैयार पाऱ्यो, यसको सामाजिक मूल्य के हो भन्ने देख्ने बौद्धिक आँखाहरू औँलामा गनिने मात्रै हुन्छन् । समाजबाट प्रोत्साहनको कमी, प्राज्ञ वर्गले यस्ता कृतिहरूको सन्दर्भमा मूक बस्नुजस्ता कृत्यहरूले गर्दा अनुसन्धानमूलक लेख र पुस्तकहरू कम मात्रामा प्रकाशित हुने गर्दछन् ।
अन्य लेखन र अनुसन्धानात्मक लेखनमा के अन्तर हुन्छन् ?
लेखन धेरै किसिमका हुन्छन् । अनुसन्धानमूलक लेखनमा वस्तुनिष्ठता, तथ्यपरकता, ऐतिहासिक ज्ञान, लेखन परम्पराको जानकारी, पूर्व परम्पराको ज्ञान, युगीन चेतना, तटस्थता, तार्किक दृष्टिकोण, गहन अध्ययन आदिको खाँचो हुन्छ । रचनात्मक लेखनमा भाव, विचार र अनुभूतिको आवश्यकता हुन्छ । रचनात्मक लेखन घरैभित्र कुर्सीमा बसेर कल्पनाको सहारामा गर्न सकिन्छ भने अनुसन्धानात्मक लेखनमा खोजअनुसन्धान, अध्ययन र तथ्यात्मकताको प्रधानता हुन्छ ।
नेपाली भाषा र साहित्यको अध्ययन, अनुसन्धान र लेखनमा युवावर्गको वर्तमान अवस्थालार्इ कसरी हेर्नुहुन्छ ? अवस्था कस्तो छ ?
युगीन समस्या भनौँ, आफूलाई नचिनेको वा चिन्न नखोजेको हो, स्वभाषा, स्वसंस्कृतिभन्दा पाश्चात्य भाषा र संस्कृतिलाई बढी महत्त्व दिने युवा वर्गको ठुलो जमातमा नेपाली भाषा र साहित्य प्रेम खासै देखिँदैन । अर्कातिर आफ्नो भाषा साहित्यप्रति मरिमेट्ने युवा वर्गको एउटा जमात पनि देखिन्छ । आज इन्टरनेटको युगमा विश्वको सबै ज्ञानकोष आफ्ना हत्केलामा छ, मन हुँदा सिक्ने माध्यम आफूसँगै छ र पनि युवाहरूमा आफ्नो भाषाप्रति त्यत्रो माया देखिँदैन । सामाजिक सञ्जालमा हेरौँ । नेपाली लेख्नका लागि बढी रोमन लिपिको प्रयोग गरेको देखिन्छ । अर्को कुरा नेपाली भाषाविद् एवं वैयाकरणहरूले नेपाली लेखनमा बढी अन्योल सृष्टि गरेको पनि देखिन्छ । हिजो एउटा हिज्जे सिकेको, आजको व्याकरणले अर्कै देखाउँछ । यस्तो किसिमको अप्ठ्यारो स्थिति सृष्टि भएको हुँदा नेपाली (देवनागरी) भन्दा रोमनमा लेख्न नै सजिलो मान्दछ युवा वर्गको एउटा जमात । कोस–कोस पर पानी बदले, चार कोस पर वाणी भन्ने सत्यतथ्यलाई ठ्याम्मै बिर्सिएर एउटा स्थान विशेषमा बोलिने नेपाली भाषाको रूप नै संसारले स्विकार्नैपर्छ भन्ने धारणा थोपिदिँदा भाषा सिक्नेहरू बढी अन्योलमा परेका पनि देखिन्छन् । समयसँगै मानिसलेझैँ भाषाले पनि आफ्नो स्वरूप फेर्दै जान्छ, संसारसँग नजिकिँदै जाँदा एउटा भाषाले अर्को भाषा साथै स्थानीय बोलीहरूबाट शब्दहरू ग्रहण गर्दै जान्छ र ग्राह्य भाषाको एउटा गुण हो र भन्ने कुराप्रति आँखा चिम्लिन मिल्दैन ।
भारतीय नेपाली साहित्यको सन्दर्भमा हेर्दा नेपाली भाषासाहित्यको अध्ययन हुँदै आएको छ । नेपाली भाषी बहुल क्षेत्रमा विद्यार्थीहरूले स्कुल, कलेजहरूमा नेपाली विषय पढ्न पाउँछन् । उत्तर बङ्ग विश्वविद्यालय, सिक्किम विश्वविद्यालय, बनारस हिन्दू विश्वविद्यालय साथै उत्तराखण्ड विश्वविद्यालय, के.के हेन्डिक विश्वविद्यालय गुवाहाटीमा नेपालीमा उच्च डिग्री हासिल गर्ने सुविधा प्राप्त छ । समय समयमा साहित्य एकाडेमी, विश्वविद्यलय तथा अन्य साहित्यिक सामाजिक संस्थानहरूले आयोजना गरेका सङ्गोष्ठी, व्याख्यानमालाजस्ता कार्यक्रम, शोध जर्नलहरूले पनि युवा वर्गलाई अनुसन्धान क्षेत्रतिर प्रेरित गर्ने काम गरेको देखिन्छ । यति हुँदाहुँदै पनि अनुसन्धान क्षेत्र बढी मौलाएको छ भन्न मिल्दैन तर रचनात्मक लेखनमा भने युवावर्गले निकै रुचि लिएको देखिन्छ ।
भारतीय नेपाली साहित्यमा समीक्षा र समालोचनामा सक्रिय पछिल्लो चरणका समीक्षक र समालोचकप्रति कतिको आशा गर्नुहुन्छ । को–को छन् यसमा ?
भारतीय नेपाली साहित्यमा रामकृष्ण शर्मा, इन्द्रबहादुर राई, गुमानसिंह चामलिङ, लक्खीदेवी सुन्दास, कुमार प्रधान, राजनारायण प्रधान, शान्ति थापा जस्ता समीक्षकहरूले भारतीय नेपाली समीक्षा वा समालोचनालाई निकै ठुलो टेवा दिएको पाइन्छ । पछिल्लो चरणमा यस क्षेत्रमा आशालाग्दो कार्य लिएर अघि बढ्ने कलमकारहरूमा गुप्त प्रधान, ज्ञानबहादुर छेत्री, नवीन पौड्याल, डाँ. कविता लामा, रूपेश शर्मा, राजकुमार क्षेत्री, पेम्पा तामाङ आदिका समालोचनाहरू सैद्धान्तिक, गहन दृष्टिकोणयुक्त र उच्चस्तरीय रहेको पाइन्छ ।
समग्रमा भारतीय नेपाली साहित्यको अवस्था कस्तो छ ?
समग्रमा भारतीय नेपाली साहित्यको अवस्था सन्तोषजनक नै छ । सन् १७४४ देखि वर्तमानसम्म आइपुग्दा यसले थुप्रै मोडहरू पार गरिसकेको छ । समय-समयमा भएका विभिन्न साहित्यिक आन्दोलनहरूले यसको स्वरूप निर्माण गर्नमा ठुलो भूमिका खेलेका छन् । कविता, कथा, निबन्ध, नाटक, उपन्यास, समालोचना जस्ता विधाहरूको एउटा विशाल भण्डार तयार भइसकेको छ । भारतीय नेपाली साहित्य पनि अन्य भारतीय साहित्यको हाराहारीमा उभिएको देखिन्छ । बर्सेनि नेपाली साहित्यमा लेखिएका उत्कृष्ट कृतिहरूले साहित्य एकाडेमी पुरस्कार प्राप्त गर्दछन् । साथै केही लेखकहरू पद्मश्री सम्मानले सम्मानित पनि भइसकेका छन् ।
भारतीय नेपाली साहित्यका सम्भावना र चुनौतीहरू के के हुन् ?
आशलाग्दा लेखकहरूबाट अझ उत्कृष्ट साहित्य लेखिने सम्भावना देखिन्छ । यसमा केही चुनौतीहरू पनि छन् । पुस्तकको भरपर्दो बिक्री व्यवस्था न हुनु, साहित्यिक सङ्घसंस्थाहरूमा पुस्तक किन्ने व्यवस्था नहुनु, आम पाठकमा साहित्यिक अनुरागको कमी, स्थानीय पुस्तकालयहरूको कमी, पुस्तक समीक्षकहरूको कमी हुनु, कम पुस्तकहरूले उत्कृष्टताको कसीमा पुग्ने सफलता पाउनुजस्ता थुप्रै चुनौतीहरू भारतीय नेपाली लेखकले झेल्दै आएका छन् ।
साहित्यकारहरूको दायित्व केकस्तो हुनुपर्दछ जस्तो लाग्छ ?
एउटा साहित्यकारको समाज र साहित्य दुवैप्रति समान दायित्व हुन्छ । साहित्यकारलाई सामान्य भन्न मिल्दैन । ऊ सर्वसामान्यबाट अलि छुट्टै, एउटा संवेदनशील सामाजिक प्राणी हो । विभिन्न विधाहरूको माध्यमबाट आफ्नो समकालीन युग-जीवनको चित्रण गर्नु मात्रै उसको दायित्व न भएर युग-जीवनलाई नेतृत्व गर्दै समाजको पथप्रदर्शन गर्नु पनि उसको महत्त्वपूर्ण दायित्वभित्र पर्दछ । समाजमा प्रत्यक्ष र अप्रत्यक्ष घटित घटनाहरूको अनुभव र सामान्य प्रतिक्रिया हरेक मानिसले गर्छ तर त्यसको गहन अनुभूति र सजग-सक्रिय प्रतिक्रिया कुनै युगको साहित्यकारको सजग कलमको माध्यमबाट नै हुने गर्दछ । यसैले एउटा साहित्यकार समाज को अगुवा त बन्छ नै, समाजप्रति उसको उत्तरदायित्व पनि बढ्दछ । समाजका कतिपय शाश्वत मूल्यहरू हुन्छन् जसले एउटा सभ्य समाजको घडेरी तयार गर्दछन् । जति नै सामाजिक विकृति देखिए तापनि यस्ता मूल्यहरूको महत्त्व कम हुँदैन । एउटा साहित्यकारले यस्ता विकृतिहरूको चित्रण आफ्नो लेखनमा गर्न सक्दछ त विकृतिहरू पस्कँदा उसले समाजलाई ठ्याम्मै बिर्सिएर आफूले लेखेको साहित्यलाई आफ्नो निजी सम्पत्ति मान्ने भूल गर्न हुँदैन । सामाजिक विकृतिलाई आफ्नो विवेकको चाल्नामा चालेर कलात्मक ढङ्गले पाठकोचित बनाएर पस्कनु लेखकको दायित्व हो । साथै उसको लेखनमा व्यक्तिगत अनुभव मात्रै नभएर समाजलाई दिशानिर्देश दिने तत्त्वहरूको समायोजन पनि हुनु अनिवार्य हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।