साहित्य अकादेमी नयाँ दिल्लीबाट सन् २००९ मा साहित्यिक भ्रमण अनुदान प्राप्त सुकराज दियाली राङभाङ समवाय साहित्य सदन दार्जीलिङ महासचिव हुन् । त्यस्तै उनी नेपाली कल्याण उच्चतर माध्यामिक विद्यालय, सिलीगुढीका अध्यापक समेत हुन् । दियालीका बन्द गर्न नसकेका आँखाहरू (संयुक्त कवितासङ्ग्रह – १९९०), मुनाहरू अनि फूलहरू (संयुक्त कवितासङ्ग्रह – १९९०), विभ्रान्ति (कवितासङ्ग्रह- २००४), चित्रण (कवितासङ्ग्रह- २००९), अनुहारमा भूगोल (कवितासङ्ग्रह- २०१४), गथासो (गीतिसङ्ग्रह- २०१५), आकारभित्रका भावहरू (लेखादि कृति- २००६), समीकरण (समालोचनासङ्ग्रह- २०१३), समकालीन भारतीय केही कविता – एक चर्चा (समालोचना- २०१७), तेलनगरीका कविताहरू : एक अध्ययन (समालोचना- २०१७), विमर्शको कसीमा जीवन नामदुंगको बखतबहादुरहरू (समालोचना- २०१९) लगायतका कृति प्रकाशित छन् ।

प्रस्तुत छ, दार्जीलिङका साहित्यकार सुकराज दियालीसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंश;

जीवनमा पहिलोचोटि कृति प्रकाशन हुँदाको अनुभव ?  

जीवनको पहिलो कृति प्रकाशन गर्ने रहरलाई परिपूर्ण गर्नका निम्ति आमालाई फकाएर घरमा पालेको दुहुना गाईलाई बेचेर किताब छापियो । त्यस समय आमालाई लोभ देखाएर किताब छापेपछि त्यो किताब छापिएपछि बिक्री भएर डब्बल पैसा आउँछ जुन पैसाले फेरि हामी राम्रो गाई किनेर पाल्न सक्छौँ भन्ने विश्वास दिलाएँ । आमा निरक्षर र कमानको वातावरणमा बाँचेकी हुनाले मेरो कुरालाई विश्वास गर्नुभयो फेरि म नै पहिलो सन्तान त्यसैमाथि पनि पढ्दै गरेको छोरो विश्वास नगर्ने कुरै आएन ।

सुकराज दियाली

खरसाङको बस्नेत प्रेसमा किप्रसुसको प्रकाशन भनेर बन्द गर्न नसकेका आँखाहरूका पाण्डुलिपि बुझाएँ । यो छापिएर पनि आयो । यो नै मेरो पहिलो प्रकाशित कृति थियो । हुन त यो किताब सहलेखनमा भए पनि मेरा लागि चाहिँ पहिलो थियो । खुसीले गद्गद भएँ । छापिएको सम्पूर्ण किताब किशन प्रधानको घरमा लगेर थुपारेँ । त्यति बेला आजको जस्तो विमोचन हुँदैन थियो । मैले विमोचन भनेको सुनेको पनि थिइनँ । मैले सम्झेँ ती किताबहरू छापिएपछि किताब दोकानले किनिदिन्छ भनेर तर मेरो सोच त्यति बेला एकदमै गलत रहेछ । म सानै विद्यार्थी नै थिएँ । मलाई किताब र प्रकाशनको त्यति ज्ञान थिएन । किताब छापिएपछि कतैबाट पनि एक पैसा पाइन । आमालाई मैले पैसा फर्काउन सकिनँ । पहिलोचोटि नै आमाको विश्वासमा म फेल भएँ ।

साहित्यिक लेखनमा लाग्नुका प्रसङ्गहरू बताइदिनुहुन्छ कि

छैटौँ श्रेणीमा पढ्दै गर्दा विजय प्रधान भन्ने साथीले कोविदको उपन्यास सीमा पढ्न दिएको थियो । यसलाई पढ्दा खुसी लाग्यो । साथीको घरमा उनको दाज्यू र दिदीले त्यति बेला कोविदको उपन्यास पढ्थे । साथीले स्कुलमा ती पढिसकेका उपन्यास लिएर आउँथ्यो । श्रेणीमा पिरियड ग्याप रहँदा त्यो उपन्यास पढिरहन्थ्यो । उसले पढेपछि मलाई दिन्थ्यो, कोही-कोही बेला हिन्दी उपन्यास, कोही-कोही बेला नेपाली उपन्यास । यसरी पढ्दा-पढ्दै केही लेख्ने इच्छा जाग्न थाल्यो ।

अन्तर्वार्ताकार : दीपक सुवेदी

सन् १९८५ मा किशन प्रधान, विरेन बम्जन, सञ्जय वान्तवाहरूले नागरी फार्म क्लब घर (अहिलेको गुम्बा)- मा हरिभक्त जन्मजयन्ती मनायौँ । हामी ससाना थियौँ, मलाई उक्त जयन्तीमा हरिभक्त कटुवालको आकाशका तारा के तारा कविता वाचन गर्ने अवसर दिनुभयो । मेरो जीवनमा पहिलोचोटि मञ्चबाट थरथर काँप्दै उक्त कविता वाचन गरेँ साथै खुसीले पनि गद्गद भएँ । त्यसपछि घुम जोरबङ्ग्लाबाट प्रकाशित हास्यव्यङ्य र बैँसालु- निरन्तररूपमा पढ्न थालेँ । दाज्यूहरूलाई भेट्न जान्थेँ । दाज्यूहरूसँग उठबस हुन थाल्यो । बिस्तारै साहित्यप्रति प्रेरित बन्दै गएँ । कविता लेख्दै किशन प्रधान दाज्यूलाई देखाउँथेँ, लेख्दै जानू भन्नुहुन्थ्यो । नभन्दै एकदिन छैटौँ श्रेणीमा पढ्दै गर्दा बैँसालु-मा सानो टुक्रा-आमा शीर्षकमा कविता पठाएको दुई महिनामा छापिएछ । स्कुलमा नेपालीका शिक्षक डि.के. श्रेष्ठले  देखाउँदै श्रेणीमा साथीहरूलाई जनाउनुभयो । साथीहरू सबैले ताली मारेर, मेरो पहिलोचोटि छापिएको कवितालाई बधाई टक्राइदिँदा म झन् खुसीले गद्गद भएँ । सबै श्रेणीका साथीहरूले कविजी भनी बोलाउन थाले । मेरो कविता पत्रिकामा प्रकाशित भएको स्कुलभरि हो-हल्ला फैलियो ।

नचिन्ने, मलाई याद नगरेका दाजुदिदीहरूले चिन्न थाले । ए केटा भनी सम्बोधन गरी बोलाउने सर-गुरुमाले पनि सुकराज भनी बोलाउन थाले । बिहानबेलुकी कविता लेख्ने इच्छा जाग्न थाल्यो । घरमा काम सकेर कोठामा बसेर सोच्दै कविता लेख्न थाले । शिक्षकहरू श्रेणीमा उपस्थित नहुँदा कविता नै लेखिरहन्थे । कोही साथीहरू हल्ला गर्न व्यस्त हुन्थो, कति टेबल ठोक्दै गाउँथे, सबै जना आआफ्नै तालमा मस्तमा हुन्थे । कतै कवि गोष्ठी भएको चाल पाएँ कि दगुरेर गोष्ठीमा पुग्थेँ । त्यति बेला सायद मेरो कविताहरूजस्तै नभएर होला कि नचिनेर कविता पढ्ने अवसर दिँदैन थियो । एक-दुईओटा पत्रपत्रिकाहरू हाम्रो भेल्लीबाट प्रकाशित हुन्थ्यो । त्यसमा रचना (कविता) छाप्नका निम्ति पठाउँथेँ छापिँदैन थियो । ९० कै दशकमा मिरिकबाट कवितासङ्ग्रह छापिँदैछ भन्ने खबर पाएर हामी एक आइताबार मिरिक जाने सल्लाह भयो साथी कृष्ण पी. ठटालसित ।

उनलाई पनि टर्जम चियाबारीका स्पन्दनका सम्पादक कमल चामलिङले जानकारी दिएका रहेछन् । त्यति बेला हाम्रोमा त्यस्तो पैसा पनि हुँदैन थियो । गाडी भन्दा पनि मानिसहरू प्रायः हिँडेरै खरसाङ, मिरिक, सुकेपोखरी, पोख्रेबुङतिर आउनेजाने गर्थे । हिँडेरै मिरिक बस्तीको विरही काइँलालाई भेट्न पुग्यौँ । उहाँलाई भेटेर २/२ ओटा कविता छोडिराख्यौँ । पछि मिरिक सम्मेलनका कविता सङ्ग्रहमा ती कविताहरू छापियो । त्यो पढ्न पेर खुसी भयौँ । त्यसपछि टर्जमबाट प्रकाशित हुने स्पन्दन (सम्पादक, दिवाकर चामलिङ), मगरजोङ अरेन्जभिल्लाबाट प्रकाशित हुने धुरी (सम्पादक, रवि राई) मा ससाना कविताहरू प्रकाशित भयो । यसरी प्रकाशित भयो । यसरी प्रकाशित हुँदै जाँदा साहित्यप्रति चासो बढ्न थाल्यो । त्यति बेला दार्जीलिङ सहर नदेखेको हामीले । टाढा भनेको हामी मिरिक जान्थ्यौँ । खरसाङ रेडियो स्टेसन जाँदा धजे नाम्सु हुँदै अम्बटे कमान भएर हिँडे पुग्थ्यौँ । बेलुकी फर्किँदा त्यसरी नै । धजेबस्तीबाट पुल्ठो बालेर राति घरमा पुग्थ्यौँ । आकाशवाणी खरसाङमा युवावाणी अन्तर्गत कविता पाठ गर्थ्यौँ, त्यहाँबाट हामीलाई पैसा पनि प्राप्त हुन्थ्यो, कविता पढेकोमा ।

बेला-बेलामा नागरी सेलेम्बोङतिर हुने कविता प्रतियोगितामा भाग लिने अवसर पाउँथ्यौँ । विशेष गरी पत्रपत्रिकामा रचना छापिँदा एकदमै खुसी लाग्थ्यो । ९१ सालदेखि सरकारी महाविद्यालयमा पढ्ने अवसर प्राप्त भयो ।

महाविद्यालयबाट प्रकाशित हुने पाइन्स एन्ड क्यामिलियाजमा कविता प्रकाशित भयो । त्यसपछि सैनिक समाचार, हिमालचुली, सुनचरी, आजभोलि, सागरमाथा आदि पत्रपत्रिकामा निरन्तर रूपमा रचनाहरू प्रकाशित भइरह्यो ।

प्रेरणा केवल सकारात्मक मात्र हुन्छ कि अरू पनि प्रकारका

सानो छँदा आमाले भन्नुहुन्थ्यो, “विष नभएको साँप र इख नभएको छोरा एउटै हो ।” त्यसैले होला मलाई कसैले अवहेलना गर्दा, नपत्याउँदा मलाई इख लाग्थ्यो । पर्खिस् म पनि केही गरेर देखाउँछु । मानिस नामबाट होइन कामबाट चिनिनुपर्छ भन्ने सिद्धान्त मेरो पिता हर्कबहादुरले दिएको थियो । त्यसैले पिताले काममा विश्वास गर्नुहुन्थ्यो हामीमा । कामलाई प्राथमिकता दिनुहुन्थ्यो मेरो काममा पिताजीले । पछि विद्यार्थीकालमा नै एकदिन वरिष्ठ साहित्यकार डा. जीवन नामदुङसित भेट हुँदा कुरैकुरामा भन्नु भयो, “मान्छेको नाम होइन काम बोल्छ ।” त्यति बेला मेरो पिताको सिद्धान्तले मेरो हृदय-मस्तिष्कमा बलियोसित जरा गाडियो ।

१९८० कै दशकतिर साहित्यिक भ्रमणमा विजय वान्तवा पोख्रेबुङ भेल्लीमा साहित्यिक भ्रमण (साहित्य अकादेमीबाट प्राप्त) आउँदा सेलेबुङ मल्टीजियम भवनमा कविगोष्ठी सम्पन्न भयो । हामी स्कुलबाटै उक्त गोष्ठीमा गएको थियौँ । सबैले कविता पाठ गरिसकेपछि मैले  पनि एउटा कविता पाठ पढ्छु भनेर विनति चढाएँ तर पढ्ने अवसर दिएन । मेरो कविताको पाण्डुलिपि घरी यता घरी उता देखाऊ, ढिस्कानालाई भन भनेर नै अन्तमा गोष्ठीको अध्यक्षमा पुऱ्याएपछि अध्यक्षले भन्नुभयो, “अर्कोपालि पढ्नू नि ल” भनेर हल्का प्रकारले जबाफ दिनुभयो । मनमा एक प्रकारको नराम्रो लाग्यो । मलाई एक प्रकारको इख लागेर आयो, यो मेरो साहित्यिक जीवनको थप प्रेरणा नै हो भनी स्वीकार गरेँ । यस्तै एउटा साहित्यिक पत्रिकाले मेरो रचनालाई नछापिदिएको समय स्थितिले पनि अझै साहित्यमा केही गर्नुपर्छ भन्ने थप प्रेरणा थप बोध गरेको छु ।

साहित्यकार हुँदा सन्तुष्टिलाई शब्दमा कुन रूपमा व्यक्त गर्नुहुन्छ

साहित्यकार चाहिँ भनिहाल्न नमिल्ला तर साहित्यमा चासो राख्ने र साहित्यप्रेमी चाहिँ हुँ जस्तो लाग्छ । साहित्यिक कृतिहरू अध्ययन गर्दा जुन आनन्द हासिल गरिन्छ । त्यसले जीवनलाई पोजिटिभ दिशातिर ठेलिरहेको आभास हुन्छ । आफ्नो सृजनाहरू पत्रपत्रिकातिर प्रकाशित हुँदा जुन खुसी लाग्छ त्यसमा सन्तुष्टिका श्वासहरू भरिएको पाउँछु । आत्माविश्वास भरिलो बन्दै गएको हुन्छ । समाज, देश र जातिप्रति केही काम गरेको सार्थक समय भनी मनले स्वीकार गरेको पाउँछु । सङ्घसंस्थामा सम्बन्धित रहेर साहित्यभाषाको सेवा गर्दा आफैँलाई भाग्यमानी सम्झन्छु । सबैलाई यस्तो भाग्य जुर्दैन ।

साहित्यमा जति चासो राख्थेँ उति नै चासो फूल तथा अर्किडको खेती गर्न लाग्थ्यो । सुरुमा फूलको खेती व्यापक रूपमा गरेको हुँ । विशेष रूपमा अर्किड र विभिन्न जातिको फूलको खेतीपातीमा चासो धेरै राख्ने मान्छे हुँ । मेहनत गरेर रोपेको अर्किडले फूल फुल्दा जति मन रमाउँछ उस्तै कथा, कविता तथा साहित्यिक सृजना भएपछि आत्मानन्द आउँछ । साहित्यमा चासो नराख्ने भएको भए अर्किड फूलको खेती गर्ने कृषक हुन्थ्ये होला । खेतीपाती गर्न, फूल खेती गर्नलाई साह्रै मन पर्छ त्यसैले होला अहिले पनि समय पाउँदा सानो किचन गार्डनमा विभिन्न फूलहरू उमार्ने गर्छु । कृषिक्षेत्रमा मेरो धेरै चासो छ ।

आफ्ना रचनाहरूको प्रेरणाकोस्रोत र पर्यावारण बारे बताई दिनुहुन्छ कि

मेरो साहित्यिक सृजनाहरूको प्रेरणास्रोतहरू भन्नुपर्दा मेरो आमाबाबाले भोगेको चिया कमाने दुःखकष्ट, मेहनत र परिश्रमको उचित मूल्य नपाएको स्थिति हो । चियाबारीमा थिचिएर शोषित भएर बाँच्नुपरेको अवस्था, सामाजिक व्यवस्थामा रहेको भेदभाव, अवहेलनाको परिवेशहरू नै हुन् । गाउँघरमा धनीले हेपेको, शोषण गरेको पक्षहरूलाई नाङ्गो आँखाले देखे पनि विरोध बोल्न नसकेका कुराहरू टिपेर साहित्यिक सृजनाद्वारा प्रस्तुत गर्न आत्मा सन्तुष्टि ठान्थे । समाजको रूढिवादी विचारधारा, गरिबधनीको भेदभाव, जातपातको भेदभाव आदिमा चेप्टेर रहेको मेरो अशिक्षित आमाबाबाले जुन पीडामय जीवन तथा हेलित भएर बाँच्नुपऱ्यो त्यसको विरोध गर्न साहित्य सृजनामार्फत व्यक्त गर्दा एउटा ठुलो युद्ध जितेझैँ लाग्थ्यो । समाजमा केही परिवर्तन ल्याउनुपर्छ भन्ने  विचारले साहित्यलाई माध्यम बनाएर मात्रै सम्भव होला भन्ने सोचलाई प्राथमिकता दिएँ । कविता सृजना गर्दा आमा बाबाले भोगेको अभावका गीतहरू सुन्थेँ, बाबाले समाजबाट पाएको भेदभावको पुरस्कार हेर्थेँ । उत्तमशिक्षादेखि वञ्चित भएको धमिलो नक्साहरू हेर्दै राजनीतिक अवस्थाबाट ओझेल परेर दासझैँ जीवन भोगाइलाई छाम्दै साहित्यमा पोख्न चाहन्थेँ । अपुग र अभावको चर्को घाम निधारमा टल्केको सुन्दर पर्यावरण र समाजको आँगन नै खासमा मेरो साहित्यिक सृजनाको स्रोत हो भनी ठान्छु ।

साहित्यिकार हुँदाका सन्तुष्टिलाई शब्दमा कुन रूपमा व्यक्त गर्नुहुन्छ साहित्यकार हुँदा जुन सन्तुष्टि लिएको छु त्यो सन्तुष्टिलाई शब्दमा व्यक्त गर्न सकिँदैन ।

साहित्यकार नहुनुभएको भए तपाईँ के हुनुहुन्थ्यो होला यस्तो परिकल्पना कहिल्यै गर्नुभएको छ

साहित्यकार नहुने हो भने म साधारण शिक्षक मात्रै हुन्थेँ । साहित्य सृजना र पठनपाठन नगरेको भए कृषक भएर जीवन बिताउँथे ।

तपाईँ आफ्ना सृजनाहरूमध्ये तुलनात्मक रूपमा सबभन्दा बढी सन्तुष्ट कुन रचनासँग हुनुहुन्छ र किन

आफ्ना सृजनाहरू सबै राम्रो लाग्दो रहेछ । विशेष कविता सृजना गर्दा बढी सन्तुष्टि लाग्दो रहेछ । समालोचना साह्रै मन पर्छ । साहित्यमा मन परेको विधा समालोचना भए तापनि कवितामा जीवनभोगाइ पोख्न सकिन्छ । समाजमा छाइरहेको जडत्वमय विसङ्गति, कुनीतिमाथि विरोधात्मकपक्षलाई बोल्न नसके तापनि  कवितामा व्यक्त गर्दा केही हदसम्म रिलिप भएको बोध हुन्छ । आफ्ना कविता सृजनाहरूमा बालासनको मायाँ, कोर्नुको भाग्य……सुनमायासित सन्तुष्ट छु आजसम्मको कविता सृजनामा ।

सर्जकको सृजनाको मूल्याङ्कन समालोचक र पाठकले गर्ने हो तैपनि तपाईँ आफैँले आफ्ना सृजनाको स्वमूल्याङ्कन कुन रूपमा गर्नुहुन्छ

सर्जकको सृजनाको मूल्याङ्कन समालोचक र पाठकले गर्ने हो तर आफ्नो सृजनाको स्वमूल्याङ्कन भनेर मूल्याङ्कन गर्ने पाटो आफूमा एउटा अप्ठ्यारो विषयजस्तो लाग्छ । केही कविताहरू प्रकाशित भइसकेर यस्तो हुनुपर्थ्यो जुन कविताले सर्जकको वास्तविक विषयलाई पाठकसम्म सही रूपले सम्प्रेषण गर्न नसकेकको पक्षलाई सम्झिरहन्छु । हामीजस्ताले लेखेका कुराहरूले समाजमा के प्रभाव पर्छ भन्ने नेगेटिभ भाव पनि  भएजस्तो मन लाग्छ । वरिष्ठ/कनिष्ठको यी भूगोलभित्र आफू परियो होला कनिष्ठ । हल्लावादी र विज्ञापनमा भर पर्ने यो युगमा आफू विज्ञापनदेखि टाढा रहेकाले, मूल्याङ्कन गर्ने बेला भइसकिहालेजस्तो लाग्दैन । कारण भर्खरै साहित्यमा केही सिकूँ र बुझूँ भन्ने स्थितिमा रहेकाले बामे सर्दै गरेको अवस्थामा छु ।

समसामायिक साहित्यलेखनलाई कुन रूपमा देखिरहनुभएको छ

समसामयिक साहित्यिक लेखन भन्नाले वर्तमानकालीन तथा आजको विषय बुझिन्छ । मानिसको वर्तमान सधैँ पूर्वतिर आधारित हुन्छ । भविष्यको रूपरेखा तयार गर्छ समसामयिकले । यसैले समसामयिक विषय र साहित्यिक लेखनले हाम्रो समाजको वरिपरि भइरहेको सामाजिक अवस्था, राजनीतिक, आर्थिक एवं समाजसित गाँसिएको विभिन्न विषयमाथि केन्द्रित साहित्य भन्नेलाई केही फरक प्रकारले प्रस्तुत गरिरहेको छन् । आजको साहित्यिक सृजनाले स्रष्टाको भूगोल र पर्यावारण प्रस्तुत गरेको देखिन्छ ।

सर्जकको समग्र सृजनाको मूल्याङ्कन गणितीय अङ्कमा हुन सक्छ कि सक्दैन होला सकिन्छ भने कुन-कुन आधारमा कति-कति पूर्णाङ्क दिन सकिन्छ होला

सर्जकको मूल्याङ्कन गणितीय अङ्कदेखि बाहिरको विषयजस्तै लाग्छ । प्रकृतिको सुन्दर वर्णनलाई जसरी गणितीय अङ्कनमा गर्न सकिँदैन उसरी नै सर्जकको मूल्याङ्कनलाई पनि ।

समसामयिक साहित्यिक लेखन कस्तो हुनुपर्थ्यो होला

समसामयिक साहित्यिक लेख्न विशेषरूपले जडत्वको रूपमा रहेको जातपात भेदभाव र मानवहीन क्रियाकलापको पक्षमा विरोधात्मक मात्रै नभेर उन्मुक्तिको दिशामा हुनसके राम्रो भन्ने विशेष समाजको आडम्बरी देखावटीमा आधुनिकता भए पनि विचारधारा चाहिँ पुरानै बोकेर बाँचेका मानिसहरूमा मानवता र निःस्वार्थ भाव सृजना गर्ने साहित्यिक लेखन हाम्रो समाजलाई केही नयाँ दिशा दिन्थ्यो कि ?

समसामयिक साहित्यिक लेखनलाई कुन रूपमा देखिरहनुभएको छ ?  

समसामायिक साहित्य लेखनलाई आजको उत्तरआधुनिक साहित्यलेखनको पक्षमा कसी लाउन सकिन्छ ।

नवलेखनलाई कुन रूपमा देखिरहनुभएको छ ?

नवलेखनको रूप र ढाँचा भनेर हेरिरहँदा फरक तरिकामा मानवसमाजकै कुराहरूलाई साहित्यमा फरक तरिकामा प्रस्तुत गरिरहेको सृजना मात्रै बुझिरहेका छौँ । हुन त अविनाशको सिद्धान्तानुसार न सृजना गर्न सकिन्छ, न त नाश नै  तर एक रूपदेखि अर्को रूपमा परिवर्तन मात्रै गर्न सकिन्छ भनेर बुझिरहँदा नवलेखनको रूप स्पष्ट हुन्छ कि । साहित्यमा विभिन्न प्रकारको वाद, धारा र प्रवृत्तिहरू भित्रिँदै आइरहेछ । आजको सोसियल मिडियाले हाम्रो भाषा साहित्य मोबाइलभित्र प्रवेश गरिसकेका छन् । गुगलको भित्तामा साहित्यको अध्ययन अडेस लिनुपर्ने स्थितिमा छौँ । आज हामीले लेखिरहेको कुरा, बोलिरहेको कुरा क्षणभरिमा नै विश्वभरि छरिन्छ । अनेकौँ मान्छे तथा पाठकको धारणासित मन्थनमा हुन पुग्छ । साइबर संस्कृतिले भित्राएको मानवीय संवेदनशीलता सर्जक सामाजिक प्राणी हुन् । उनले समाजमा रहेर सामाजिकता भोगिरहेको हुन्छ । समाजमा भइरहेको विसङ्गतितिर र बेतिथितिलाई सर्जकले माथि उठेर हेरिरहेको हुन्छ । चिन्ता र चिन्तनलाई कुलमा राखेर सर्जकले समाजको दिशामा चिन्तन गर्छन् ।

इतिहासदेखि आजसम्म आइपुग्दा शासक र सर्जकका बिचको सम्बन्धलाई कुन रूपमा देखिरहनुभएको छ ?

इतिहासदेखि आजसम्म आइपुग्दा शासक र  सर्जकका बिचको सम्बन्धलाई  रूखमा फुलेको अर्किडफूलसित तुलना गर्न सकिन्छ । शासक भनेको ठुलो ढुङ्गा हो । सर्जक भनेको सचेत पुञ्ज हो । जसलाई सधैँ ढुङ्गामुनि थिचेर चेप्टाउन खोज्छ तर ढुङ्गामुनि चेप्टिएको घाँसपात, झारपात सधैँ ढुङ्गाको चेपबाट पनि उम्रन्छ ।

सर्जक र सामाजिक सदस्यका बिचको सम्बन्धलाई कुन रूपमा देखिरहनुभएको छ ?

सर्जक सामाजिक सदस्य हुन् उनले लेख्ने भनेको नै समाजको अव्यवस्थित र विसङ्गति हो । समाजमा छाएको परिवेशमा सामाजिक सदस्यले आफूलाई बाँच्नमा अनुकूल खोजिरहेको हुन्छ ।

तपाईँलाई उत्कृष्ट लागेका नेपाली सर्जक र सृजनाका बारेमा कारणसहित जान्न सकिन्छ ?

नेपाली साहित्यको सृजनाहरू सबै उत्कृष्ट लाग्छ । ती सृजनाहरू आफैँमा उत्कृष्टको विशेषणले पोतिएको पाइन्छ कारण प्रत्येक साहित्यिक सृजनाको आफ्नै प्रकारको छुट्टै विशेषताहरू रहेको पाइन्छ ।

तपाईँलाई लाग्छ, अहिलेकै लेखन गतिले नेपाली साहित्यमा विश्वस्तरीय साहित्य सृजना हुन सक्छ ?

विश्व साहित्य सृजनामा अहिलेको लेखनले जुन प्रकारले स्थान लिनुपर्ने एउटा अवस्था देखिन्छ तर हाम्रा साहित्यिक सृजनाहरू अनुवादको कमीमा चेप्टिरहेको जस्तो लाग्छ । यदि हाम्रा कतिपय साहित्यिक सृजनाहरू अनुवाद भएर विश्व साहित्यमा गए अवश्य नै केही स्थान ओगट्ने देखिन्छ ।

तपाईँका लेखन र प्रकाशनसम्बन्धी भविष्यका योजनाहरूका बारेमा केही बताउन मिल्छ कि ?

भविष्यमा एउटा राम्रो साहित्यिक कृति प्रकाशन गर्ने योजना रहेको छ । केही छुटपुट कृतिहरूको फाइल तयारी छ तर आर्थिक व्यवस्थाले गर्दा प्रकाशनको काम गर्वमा नै चेप्टिरहेको छ ।

नेपाली साहित्यमा चलिरहेको सम्मान र पुरस्कारलाई यहाँले कुन रूपमा लिनुभएको छ ?

नेपाली साहित्यमा चलिरहेको मान, सम्मान र पुरस्कारले सर्जकलाई सृजनामा प्रेरणा र उत्साह मिलिरहेको जस्तो लाग्छ । सम्मान र पुरस्कारले सर्जकलाई जिम्मावारीको काँध थपिदिएको जस्तो पनि लाग्छ । सम्मान र पुरस्कारले सर्जकको समाजमा परिचय स्थापित गरिदिएको जस्तो पनि लाग्छ ।

तपाईँलाई नेपाली साहित्यिक पत्रकारिता कस्तो भइदिए हुन्थ्यो भन्ने लागिरहेको छ ?

नेपाली साहित्यिक पत्रकारिता पेसाको रूपमा भइदिए हाम्रो साहित्यको पत्रकारिता मौलिएर हौसिएर जान्थ्यो कि ।