साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

उमेर वर्षमा होइन, स्वभाव र स्वास्थ्यमा निर्भर हुन्छ – उर्मिला घिसिङ

ratna book ads

लेख्नका लागि समय चाहिन्छ । साहित्य रचनाका लागि समयसँगै एकाग्रता पनि आवश्यक पर्दछ । त्यसमध्ये पनि नारी लेखनको हकमा भने लेखन बडो चुनौतीपूर्ण नै हुन्छ । लेख्नु र लेखेपछि कृतिको साथमा निरन्तरता दिइरहनु सामान्य कार्य भने होइन । भारतीय नेपाली साहित्यमा नारी हस्ताक्षरको खडेरी आजसम्म पनि सन्तोकजनक रूपमा मलिलो बनेर उर्बर बनेको स्थिति छैन । यसै सन्दर्भमा, झन्डै आधा दर्जनजति कृति प्रकाशित गरिसकेकी भारतीय नेपाली साहित्यकी नारी हस्ताक्षर हुन् उर्मिला घिसिङ ।

प्रस्तुत छ, घिसिङसँग साहित्यपोस्टका लागि अजित वियोगीले गरेकाे कुराकानीको सम्पादित अंश;

अहिले के गर्दै हुनुहुन्छ ?

दुई जना श्रीमान् श्रीमती छौँ । केही लेख्यो केही पढ्यो । मोबाइलमा फेसबुक युट्युब हेऱ्यो । उमेरले पनि आजकल साह्रो जाँगर चल्न दिँदैन । कोभिडको आतङ्क कायम नै छ । धेरै कुरा लेख्नुपर्ने छ जस्तो लागिरहन्छ तर लेख्न पनि सकिएको छैन । तैपनि एउटा नयाँ किताबको तयारीमा छु । कतिपयले लेख, रचना मागेका थिए उनीहरूलाई पठाउँदै बसिरहेको छु ।

अनि सिर्जनशील नै हुनुहुन्छ नि यस समयमा पनि । नयाँ किताबचाहिँ केकस्तो विषयमा छ नि ?

नयाँ किताबमा चाहिँ यसपालि युवाहरूलाई लिएर एउटा पुस्तक तयार पार्दै छु । विशेष गरेर ती युवाहरू जसले आफ्नो कृति प्रकाशित गरिसकेर पनि पाठकसमक्ष पुग्नमा सक्षम भए कि भएनन् भन्ने कौतुहलता पुष्टि गर्न पुस्तकचर्चा अथवा निरूपण गर्ने कोसिस गरेकी छु । यसमा कतिपय चर्चित कृतिकारहरू पनि परेका छन् ।

पुस्तकको नाम भन्न मिल्छ गुरुआमा ?

उर्मिला घिसिङ

मिल्छ नि । ‘केही व्यक्ति केही अभिव्यक्ति’ ।

तपाईँ त उष्मा प्रकाशनको सचिव पनि हुनुहुन्छ । कोभिडले हो कि बहाना मात्र हो हिजोआज त्यति कार्यक्रम हुँदैन नि किन हो ?

हो कोभिडकै कारण हो । बहाना त होइन । विश्वव्यापि सङ्क्रमणलाई मध्यनजर त गर्नैपर्ने हुन्छ नि । पहिला त सुरक्षित हुनुपऱ्यो । यद्यपि केही कार्यहरू भने उष्मा प्रकाशनले गरेको छ । बाल सचेतना कार्यक्रम । नीमा तामाङको रुवाई कृति । अन्ताराष्ट्रिय महिला दिवस पालन लगायतका कार्यक्रमहरू गऱ्यौँ । निकट दिनमा पनि विविध कार्यक्रमका योजनाहरू छन् ।

हजुर त नाटक लेख्नुहुन्छ साथै खेल्नु पनि हुन्छ ! अहिले त नाटकमञ्चन नै हुन छाडे, कस्तो लाग्छ ?

कुरा सत्य हो तर नाटकमञ्चन हुन चट्टै छोडिहालेको भने छैन । आज पनि सिलगढीको दीनबन्धु मञ्चमा नेपाली नाटकहरू कतिपय सङ्घसंस्थाहरूले बेला-बेलामा गराउँछन् । दार्जीलिङतिर पनि सडकनाटक हुन्छ तर जति हुनुपर्ने हो त्यति भएको छैन । १९७०-७२ सालतिर दार्जीलिङ, खर्साङ, कालेबुङ, सिलगढीतिरका नाटककारहरूले नाटक लेखेर मञ्चन गरेर यस विधालाई उच्च शिखरमा पुऱ्याएका थिए । उसबेला कुनै पनि चाडपर्व नाटकविना खल्लो लाग्थ्यो तर हिजोआज समयको परिवर्तनले पारम्परिक संस्कृतितिर ध्यान दिएको जस्तो लाग्दैन । नाटक लेख्ने र अभिनय गर्ने भएकाले दुःख भने लाग्छ ।

साहित्य अकादमी विवादविनाको कुनै वर्ष नै हुँदैन के कारणले हो जस्तो लाग्छ ?

साहित्य अकादमीले धेरै वर्षअघिदेखि नै यस्तो विवादको सामना गरिरहेको हामी सुन्दै आइरहेका छौँ किनभने अकादमीले चयन गरेर पठाएका जुरीहरू स्वच्छ विचार र निष्पक्ष रूपले निर्णय गर्ने प्रवृत्तिका हुनुपर्छ । साथै जुरीहरूले पुरस्कृत व्यक्तिको कुन पुस्तकले पुरस्कार ग्रहण गर्दै छन् सो पुस्तक पूर्ण अध्ययन गरेको हुनुपर्छ नत्र व्यर्थमा विभिन्न आरोपहरू आइपर्ने सम्भावना हुन्छ । यस्ता विषयहरू परामर्श समितिका सदस्यहरूले देखरेख गर्न अनिवार्य ठहर्दछ । विशेष गरी अकादमीबाट पुरस्कृत व्यक्तिले कतिपल्ट पुरस्कार ग्रहण गरेका छन् त्यसको छानबिन भएको हुनुपर्छ किनभने यस विषयमा नै धेरैजसो विवाद सृष्टि भएको हामी सुनिरहेका छौँ । यति गर्न सके मलाई लाग्छ हाम्रो साहित्य अकादमीले विवादको घेरामा अल्झिरहनुपर्ने छैन ।

अजित वियोगी

तपाईँलाई मन पर्ने पाँच अनुज कविहरू को-को हुन्?

मलाई मन पर्ने अनुज कविहरू हुन् – नितेश राई, कुशल राई, सञ्जोग खवास र प्रवीण राई ।

अनि तपाईँलाई मन पर्ने ३ अग्रज साहित्यकारहरू ?

मन पर्ने अग्रज साहित्यकारहरू सर्वश्री मदनकुमार ओझा, श्री ग्याल्पो लामा, श्रीमती स्नेहलता राई ।

श्रीमान्‌को सहयोग कस्तो पाउनुहुन्छ त लेखनकार्यमा ?

मेरो श्रीमान् आफू एक साहित्यप्रेमी भएका हुनाले मलाई साहित्यिक कार्यक्रम सञ्चालन गर्नुदेखि लिएर मेरो कतिपय कविता, लेख, नाटक इत्यादि टाइप गरिदिने, लेखाइमा भूल भए संशोधन गरिदिने साथै साहित्यिक कार्यक्रममा उपस्थिति दिन कुनै बाधा पुऱ्याउनु हुन्न । यसरी मलाई मेरा श्रीमान्‌ले मेरो साहित्यिक यात्रामा सहयोग पुऱ्याउनुभएकोमा म अत्यन्तै हर्षित छु ।

उमेरको यो चौतारीसम्म आइपुग्दा अब कहिलेसम्म लेख्न सकिएला जस्तो लाग्छ ? घाम डुब्न लाग्दा कवितासङ्ग्रह नै निकाल्नुभयो नि ! जिन्दगीको घाम डुब्दै छ भन्ने महुसुस हुन्छ ?

उमेर वर्षमा होइन यो स्वभाव र स्वास्थ्यमा निर्भर गर्छ । किनकि जीवन क्षणिक छ अब म पनि सोच्छु मेरो पनि बित्दो उमेरको अन्तिम चौतारीतिर लाग्नुपर्ने दिनहरू आइसकेको छ । साँच्चै भनूँ भने मानिसले साठी वर्ष नाघेपछि अस्ताउँदो घामसरह उमेरको घडी हेर्दै ती दिनहरू गन्न लाग्दा रहेछन् । एक समय मलाई पनि यस्तै सोचहरूले सताउँदा घाम डुब्न लाग्दा कवितासङ्ग्रह प्रकाशित गरेकी हुँ । हुन त मानिसलाई वर्षले होइन कर्मले नाप्नुपर्छ भन्छन् । त्यसैकारण आउँदो पाँच – छ वर्षसम्म यो मुटुको ढुकढुकी जीवित रहे यो साहित्यिक क्षेत्रको लेखन कार्य मात्र होइन आफूले गर्दै आएको अन्य क्षेत्रमा पनि सक्रिय रही हाम्रो जाति र समाजमा केही योगदान प्रदान गर्न सकिन्छ कि जस्तो मलाई लाग्दछ ।

अन्तमा मैले नसोधेको र तपाईँलाई भन्न मन लागेको कुरा केही छ ?

विशेष मलाई भन्न मन लागेको कुराहरू के हुन् भने यहाँ हामीले साहित्यका कुराहरू गरिरहेका छौँ । साहित्यले कुनै पनि विषम परिस्थितिमा मानिसलाई सहानुभूति जगाउने र बढाउने कर्तव्य गर्दछ अनि सूर्यको प्रकाशले झैँ बौद्धिक ज्ञान दिन्छ । यी सबैको अनुभव हुँदाहुँदै पनि वर्तमान परिस्थितिमा यी सबैलाई नकारात्मक दृष्टिकोणले हेर्ने र व्यापक कुसंस्कार फैलाउने चेष्टा गरेकाले नै होला यस क्षेत्रमा अनुशासनहीनता देखा परेको मेरो मनमा गुनासो लाग्दछ ।

यस्ता प्रक्रियाहरू चाँडै नै स्वच्छ र सुन्दर परिवेशमा परिवर्तन होस् भन्ने सुझाव राख्दछु ।

अन्तमा, मेरा अग्रज अनुज शुभचिन्तकले मलाई प्रेरणा प्रदान गरी लेखन कार्यमा निरन्तरता जारी राख्ने हौसला बढाइदिनुभयो उहाँहरू सम्पूर्णमा आभार व्यक्त गर्दै धन्यवाद टक्राउँदछु ।

प्रतिक्रिया
Loading...