होजाई (असम) का मोहन सुवेदीका पृथिवी जसरी भोग्दै छु (सन् १९८७), केही शब्द र धुवाँ (सन् २००४) र नीलो चरो र अन्य कविता (सन् २०१६) कवितासङ्ग्रह, माटो, मान्छे र माया (सन् १९९८) र मृतकहरूको देशमा (सन् २००८) कथासङ्ग्रह, गीतको मूर्च्छना (सन् २०१२) गीतसङ्ग्रह, साहित्य र समीक्षा (सन् २००५), विवेचना र मूल्याङ्कन (सन् २०२१) समालोचना सङ्ग्रहलगायत दुईवटा अनुवाद कृतिसमेत प्रकाशित छन् ।

प्रस्तुत छ, हाल भारतीय जीवनबिमा निगम, तेजपुरका प्राशासनिक अधिकारीका रूपमा कार्यरत मोहन सुवेदीसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीको सम्पादित अंश-

तपाईँको लेखनको दृष्टिले पहिलो रचना कुन हो ?

लेखनको दृष्टिले मेरो पहिलो विधा कविता नै हो । त्यो असमिया भाषामा लेखिएको थियो । कविताको शीर्षक हो– नूतन दिन (नयाँ दिन) नेपाली भाषामा चाहिँ पहिलो लेखिएको हो गीत ।

प्रकाशनका दृष्टिले चाहिँ ?

प्रकाशनका दृष्टिले मेरो पहिलो रचना असमिया भाषामा नै प्रकाशित भएको  थियो । मैले पढेको स्कुल लङ्का हाइस्कुलको वार्षिक पत्रिका रेङ्नी (सन् १९८०) मा ‘नूतन दिन’ नामको कविता छापिएको थियो । नेपाली भाषामा पहिलो प्रकाशित कविता ‘नवसूर्यको जन्म’ सन् १९८१ मा लामजिङ्ग (असम) बाट के.बी. नेपालीको सम्पादनमा निस्किने ‘विन्दु’ पत्रिकामा छापिएको थियो ।

मोहन सुवेदी

जीवनका भोगाइ र बाल्यकाललाई हेर्दा कस्तो देख्नुहुन्छ ?

मेरो बाल्यकाल म जन्मिएको ठाउँ लङ्काको रङ्गमहल गाउँमा नै बितेको थियो । मेरो बाल्यकाल त्यति पीडादयक थिएन । ठूलो परिवारमा जन्मिएको हुनाले दुःखहरूभित्र पनि भिन्नैखालको आनन्द र फूर्ति थियो । गाउँको रमाइलो परिवेश, खेलचौर, खोलानाला आदि नैसर्गिक वातावरणसितै म हुर्किएँ । गाई हेर्ने, खेतमा धान रोप्ने, गोठमा बस्ने आदि कृषि र गौपालन जीविकासँग समर्पित मेरो ठूलो परिवारको सदस्य हुनाले हुनाले मसित यी कर्महरूको प्रत्यक्ष अनुभव छ । सानैदेखि गीत गाउने रहर हुनाले गीत गाउँदै, खेतको काम गर्दै अनायास बाल्यकाल बितेर गयो । धेरै स्मृति जडित छन् बाल्यकालका । सपनाजस्तै लाग्छ अहिले ती दिनहरू सम्झँदा ।

साहित्यमा प्रवेश गर्दाका सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?

मैले असमिया कविताबाट साहित्यको विशाल संसारमा पाइला टेकेको हुँ । मेरो घरमा नै साहित्यचर्चाको एउटा सुन्दर वातावरण थियो । मेरा पिताजी स्व.यज्ञप्रसाद सुवेदी संस्कृतका विद्वान्‌ हुनुहुन्थ्यो । उहाँले ज्योतिषशास्त्र पनि अध्ययन गर्नुभएको थियो । उहाँले हामीलाई भानुभक्तको रामायण, गीताका श्लोक, गुणरत्नमालाका श्लोक, कथा आदि पढेर सुनाउनुहुन्थ्यो र हामी मख्ख परेर सुन्थ्यौँ । यसरी घरमा भएका हितोपदेश, कृष्णचरित्र, श्रीमद्भागवद्गीता, असमिया भाषाका विभिन्न ग्रन्थहरू, बङ्गाली, अङ्ग्रेजी र हिन्दी भाषामा लेखिएका विभिन्न वरेण्य साहित्यकारका ग्रन्थहरू पढेर स्वतः म साहित्यप्रति आकर्षित भएको हुँ । विशेष गरी पञ्चतन्त्रका कथाहरूप्रति यति साह्रो मोहित भएको थिएँ कि मेरो यो प्रिय ग्रन्थ म अझै पनि पढ्ने गर्छु ।

अन्तर्वार्ताकार : दीपक सुवेदी

प्रेरणाचाहिँ कहाँबाट मिल्यो ?

घरको परिवेश र पिताजी तथा दाजुभाइहरूको प्रेरणाले नै मलाई लेखनतर्फ डोऱ्याएको हो  । साथीभाइ र आत्मीयजनहरूको प्रेरणामय आशीर्वाद अझ पनि मेरो शिरमा छ ।

आफू कुन विधाको स्रष्टा हुँ जस्तो लाग्छ ?

कवितासित मेरो सुदीर्घ चालीस सालको सम्पर्क रहेको छ । धेरै कविता सिर्जना भए मबाट । कथा, निबन्ध, समालोचना, अनुवाद, गीत आदि विभिन्न विधामा कलम चलाए तापनि कविताले मलाई जुन आनन्द र सन्तुष्टि दिएको छ, त्यसप्रति म अधिक आकर्षित हुने गर्दछु । त्यसैले कसैले मलाई कविता विधाको स्रष्टाभन्दा अप्ठ्यारो लाग्दैन ।

साहित्य के हो ?

साहित्य भन्नाले समग्र जीवन र जगत्‌का बारेमा लेखिएको जनहितकारी सिर्जनालाई नै बुझिन्छ । जीवन र जगत्‌बारेमा अभिव्यक्त गरिएका विभिन्न पक्षको यथार्थ चित्रण नै हो साहित्य ।  यसले सुरुदेखि आजसम्म क्रमशः उद्धरण हुँदै विकासको बाटामा अग्रसर भइरहेको पाउँछौँ । मूलतः साहित्यमा विभिन्न वाद, सिद्धान्त, विचार आदिको स्वरूप प्रतिफलित भएर समकालीन भावना र अनुभूतिको अभिव्यक्ति पोखिएको पाइन्छ । एकसमयमा साहित्यलाई जति व्यक्तिगत अन्तरङ्ग अनुभवको अभिव्यक्तिको स्रोत मानिन्थ्यो तर समसामयिक कालमा यसको परिसर क्रमशः व्यापक हुँदै गएको छ । अचेल साहित्यका लागि व्यक्तिगत अनुभूति र उपलब्धिमात्र केन्द्रीय नीति होइन बरु सामूहिक चर्चाका एउटा फराकिलो क्षेत्र मानिएको छ । साहित्यको मूल विषयवस्तु हो मानिस । मानिसको स्वभावगत चरित्रको वास्तविक प्रतिफलको स्पष्ट छवि हो साहित्य । युगको परिवर्तन हुन्छ, समस्याहरू भिन्नाभिन्नै हुन्छन् तर समयले मानिसको स्वभावगत प्रवृत्तिलाई छोप्न सक्दैन । समाजमुखी साहित्य सधैँ निरपेक्ष, सार्थक एवम् कालजयी हुन्छ नै । जीवन र समाजको पृष्ठभूमिमा हुर्किएको निविड सम्पर्कको आधारमा मात्र महान् साहित्यको सिर्जना हुने गर्दछ ।

कवितालाई परिभाषित गर्नुपरेमा के भन्नुहुन्छ ?

कविता हो, मानवीय अनुभूतिबाट जन्मिएको चेतनाबोधको आवेगरूपी प्रकाश । सत्यका लागि अनुसन्धानात्मक चेतनाबोध नै कविताको मूल आधार मानिन्छ । यसको लक्ष्य हो, वस्तुजगत्‌, जनजीवन, सामाजिक व्यवस्था र चिन्ता चर्चामा शृङ्खलाबद्धता ल्याउनु । त्यसैले वास्तविक अनुभूतिको सम्प्रेषणीय, काव्यिक भाव अभिव्यक्तिको असल माध्यम हो कविता । जहाँ कविको कलात्मकता, निजी दृष्टिकोण, मानवीय सभ्यता, संस्कृति, ऐतिहासिक चेतनाबोध आदिको चिन्ताधारा व्यक्त गरिएको हुन्छ ।

केले कवितालाई राम्रो बनाउँछ ?

अध्ययनपुष्ट वास्तविक र मौलिक विचारले मात्र एउटा राम्रो कविता जन्माउँछ । त्यसपछि शब्दचयन, शैली, सम्प्रेषणीयता आदि इत्यादिको कुरो आउँछ । मननीय अभिव्यक्तिको काव्यिक फसल हो कविता । संवेदनशीलता, अनुसन्धानात्मक काव्यिकता, समसामयिक कला चेतना, तीव्र वास्तविक अनुभूतिले एक जना प्रतिभावान् कविलाई जन्माउँछ । कवि नेरुदाले भनेझैँ– ‘कविता हुनुपर्छ रोटीजस्तै, शिक्षित अशिक्षित सबैका लागि ।’

तपाईँको आफ्नै कविता लेखनकलाका बारेमा केही बताइदिनू न ।

क्षणिक आनन्दका लागि अथवा जनप्रियताका लागि लेखिएका कविता दीर्घम्यादी हुँदैनन् । मनोरञ्जनका लागि मैले कहिल्यै कविता लेखिनँ । मभित्रको गहिरो अनुभूतिले जन्माएको दायित्वबोध एवम् द्वन्द्वलाई कविताका हरफहरूमा पोख्ने म अनवरत प्रयास गर्दछु । असमेली नेपाली कविताको क्षेत्रमा रहेका केही रित्तोपनलाई छाम्दै अलिकति नौलो स्वाद दिने सदिच्छा र समाजको हितकारी पक्षलाई मध्यनजर राख्दै कविता लेखनसित जडित हुँदै आएको छु । आधुनिक जनजीवनले भोग्नुपरेका समस्याहरू जस्तै द्वन्द्व, युद्ध, मनोवैज्ञानिक विषमता, विच्छिन्नता, मूल्यबोधको स्खलन, आइडेन्टिको हाहाकार, भोगवादको प्रबलता, आर्थिक सङ्कट आदिलाई कविताको मार्फत उपस्थापना गर्न सके असल हुन्छ । कविता प्रवाहमय हुनाले यसको स्रोतसित हामी मिस्सिन सक्नुपर्दछ ।

असमेली नेपाली साहित्यमा धेरै लेखिएको विधा कुन छ ?

असमेली नेपाली साहित्यमा कविता विधामा नै धेरै कृति प्रकाशित भएका छन् । साहित्यमा प्रवेश गर्दा  (प्रायः सबै भाषाका साहित्यक्षेत्रमा) सहजरूपले कविताबाट नै लेखन सुरु भएको हामी पाउँछौँ । नवोदित कलमकारहरूको मनमा यस्तोखाले सोचाइ उत्पन्न हुन्छ होला कि कविता लेख्न साह्रै सजिलो हुन्छ । समय पनि कम्ती लाग्छ, जे लेखे पनि कविता भइहाल्छ । जुनचाहिँ गलत धारणा हो । यस प्रकारको मानसिकतालाई अझै पनि हामीले त्याग्न सकेका छैनौँ । उपन्यास, कथा, समालोचना अथवा नाटक विधाको सिर्जनशीलतामा धेरै अभिज्ञता, मननशीलता र समयको आवश्यक पर्दछ । सजिलो मानेर धेरै जना कवितातिर लम्किएका हुन् कि जस्तो लाग्छ मलाई त ।

थोरैचाहिँ नि ?

यस भेगमा थोरै सङ्ख्यामा लेखिएका छन् समालोचना, नाटक र शिशुग्रन्थहरू । नाटकको क्षेत्रमा एक-दुई जना मात्र स्रष्टाहरूको निरन्तरता पाइन्छ । शिशुसहित्यको क्षेत्र प्रायः बाँझो अवस्थामा छ । अनुसन्धानमूलक ग्रन्थ लेखक अथवा पूर्णकालीन समालोचकको अभाव पनि उत्तिकै छ । यी विधाप्रति आग्रही भएर अघि बढ्ने सिर्जनशील लेखकहरूको कमी नै यसको मूल कारण हो । अझ प्रकाशकको अभाव, वितरण र विक्री व्यवस्थाको शून्यता आदि पनि अन्यान्य कारण हुन् ।

समग्रमा असमेली नेपाली साहित्य कस्तो छ ?

वर्तमान असमेली नेपाली साहित्यको अवस्था राम्रो छ । साहित्यका विभिन्न विधामा प्रशस्त मात्रामा कृतिहरू प्रकाशित भइरहेका छन् । विशेष गरी कविता विधामा नयाँ उत्साही लेखकको आगमनले यस भेगको साहित्यको भूमि उर्वरशील देखिन्छ । नयाँ सोच, विचार र ध्यान अनि धारणाहरू साहित्यमा समाहित भएको पाइन्छ । अहिले यहाँको स्थिति सन्तोकजनक नै छ भन्नुपर्छ ।

असमेली नेपाली साहित्यमा सम्भावनाहरू के-के हुन् ?

सम्भावना त धेरै नै देखिन्छ । वर्तमान र आउने पिँढीका लागि सिर्जनात्मक आधार निर्माण भइसकेको हुनाले नवोदित युवा लेखकहरूको सृष्टिकर्मशीलता अति नै उत्साहजनक स्थितिमा रहेको पाइन्छ । जसले गर्दा अनागत दिनमा यस भेगमा अझ मननशील र स्तरीय कृतिहरू पढ्न पाउने आशा गर्न सकिन्छ तर चुनौती पनि छन्  ।

चुनौतीचाहिँ के के छन् ?

विशेष गरी प्रकाशकको अभाव, बिक्रीवितरणको दुःखजनक स्थिति, प्रचारप्रसारको अभाव आदि हामीले भोग्दै गरेको स्थिति हो । जसले गर्दा प्रकाशित कृतिहरू पनि आग्रही पाठकको हातमा पुऱ्याउन हम्मे पर्दछ । पाठक पनि सीमित सङ्ख्यामा नै छन् । यताका बाङ्ला वा असमिया भाषाका कृतिहरूको जस्तो व्यापक सङ्ख्यामा पाठकहरू पाइँदैनन् । त्यसैले लेखकहरूले आफैँले खर्च गरेर निकालेको पुस्तकको दुई सयप्रति बिक्री गर्नलाई साह्रै अप्ठ्यारो पर्दछ । साँचो अर्थमा भन्नु हो भने, लेखकले स्वयं प्रकाशक, प्रचारक, समीक्षक, बिक्रेता, वितरक आदि सबैको काम गर्नुपर्ने हुन्छ ।

यी चुनौतीलाई समाधान गर्न कसले के गर्नुपर्छ जस्तो लाग्छ ?

यो एक्लैले गर्ने काम होइन । यसका लागि सर्वप्रथम त आग्रही प्रकाशहरू अघि बढेर आउनुपर्छ । साङ्गठनिक रूपमा सभा वा राज्यस्तरीय साहित्यिक संस्थाहरूले छलफल गरेर यसको समाधान सूत्र निकाल्नुपर्दछ । यी संस्थाका शाखा उपशाखाका सदस्यहरूले पुस्तक किनेर पढ्ने बानी बसाल्नुपर्छ । नेपाली पुस्तकहरू खोजी-खोजी पढ्ने अभ्यास गर्नुपर्छ । पुस्तक किनेर पढ्ने मानसिकता नजन्मिए यसको समाधान कहिल्यै पनि नहोला जस्तो लाग्छ ।

असमेली नेपाली साहित्यमा आशा लाग्दा कवि कहाँबाट को-को हुनुहुन्छ ?

वर्तमान यस भेगमा धेरै जना आशालाग्दा कवि कवयित्री निरन्तर सिर्जनशील भइरहेको पाइन्छ । प्रवीण कविहरू साथै केही उदीयमान काव्यकारका रचनाहरू पनि पढ्ने गर्दछु । कसैको नाम लिईकनै म यति मात्र भन्न चाहन्छु कि उहाँहरू अझ परिश्रमी, अध्ययनशील र अनुभवी हुनुपर्छ ।

समकालीन असमेली कवितालाई कसरी हेर्नुभएको छ ?

मैले अघि नै भनिसकेँ, वर्तमान असमेली कविताको क्षेत्र उर्वरशील नै छ । दुई-चार जना नयाँ कविहरूलाई पढेर म आशावादी नै छु । हुन त, असमेली नेपाली कविताको फाँट निकै फराकिलो हुँदै जाँदै छ तर सर्वभारतीय स्तरमा उभिनका लागि हाम्रा कविवर्गले धेरै नै परिश्रम गर्नुपर्छ । केवल सामाजिक सञ्जालको स्टेटसमा कविता लेखर लाइक, कमेन्ट आदि पाउँदैमा कविले क्षणिक आत्मसन्तुष्टि त पाउन सक्ला तर ती सृष्टिकर्म कति मननयोग्य र चिरस्थायी हुन्छ, त्यस बारे कविहरू सचेत भई आत्म विश्लेषण गर्ने बेला आएको छ । कविता समकालीन हुनका लागि कविताभित्र समकालीन चेतना हुनु नै पर्दछ । यो चेतना समकालीन राजनीतिक घटना, वातावरणको प्रभाव, मानवीय पक्षको हनन, अन्ताराष्ट्रिय आर्य सामाजिक प्रभाव, परिवर्तित मूल्यबोध आदि धेरै विषयमा निर्भर गर्दछ । यस्तो समकालीन दृष्टिकोणलाई यस भेगमा धेरै जना कविले अँगाल्न सकेका छैनन् ।

कविहरूको दायित्व केकस्तो हुनुपर्दछ जस्तो लाग्छ ?

निश्चित रूपले कविहरू दायित्वशील हुनुपर्छ । हिजोआज ‘कविता मात्र कविताका लागि’ जस्तो मनोभाव लिएर काव्यसृष्टि गर्ने दिन छैनन् । समकालीन कविहरूमा कालचेतना आवश्यकीय मात्रामा रहुनपर्छ । आर्य सामाजिक, राजनीतिक, मनोवैज्ञानिक, दार्शनिक, विज्ञान आदि विभिन्न दिशालाई कवितामार्फत प्रतिफलित गराउन सकेमात्र सफल कविता जन्मिन्छ । मानवीय अनुभूतिसम्पन्न मुक्तिको जयगीत गाउने पक्षमा कविहरू सचेत रूपले उभिनुपर्दछ । यो तथ्यलाई अस्वीकार गर्न सकिँदैन कि कविताले सोझै समाज परिवर्तन गर्न सक्दैन तर समाज परिवर्तन गर्ने क्षेत्रमा एक जना कवि दायित्वशील सैनिक हुन सक्छ ।

कविहरूको प्रोत्साहनका लागि राज्यले केकस्तो भूमिका खेल्नुपर्छ ?

भाषा र साहित्यको विकास एवम् प्रचारप्रसारका लागि राज्यले ठूलो भूमिका लिएको हुनुपर्छ । विभिन्न भाषा र साहित्यका कविहरूलाई प्रोत्साहन दिनका लागि राज्यले विभिन्न प्रकारको परिकल्पना लिनु अनिवार्य हुन्छ । कविगोष्ठीको आयोजना, कविता महोत्सव, कवि संवर्धना, ग्रन्थमेलाको आयोजना, नवीन र प्रवीण कविहरूबीच सम्पर्क साधन, कविहरूको समस्याबारेमा वार्तालाप, सम्मान र पुरस्कार प्रदान आदि विभिन्न कार्यसूची लिएको खण्डमा कविहरू उत्साहित हुन स्वाभाविकै हो ।

साहित्यको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?

विश्वको परिप्रेक्ष्यमा हेुर्न हो भने, साहित्यको समकालीन बजार निराशाजनक छ भन्न मिल्दैन । पुस्तक पढ्ने चाह पाठकबीच अझै पनि जीवित छ । अझै पनि पाठकवर्ग साहित्यका नयाँ स्वादका मूल्यवान् कृतिहरू पढ्नलाई उत्सुक देखिन्छन् । कालजयी कृतिहरू आज पनि पढिँदैछन् । आग्रही पाठकहरू नयाँ धाराका कृतिहरू पढ्नलाई उत्साहित देखिन्छन् र ती कृतिहरूको बजार व्यवस्थापन सन्तोषजनक नै छ तर तपाईँले असमेली नेपाली साहित्यको  समकालीन बजारको कुरो सोध्नुभएको हो भने त्यो त शून्य स्थितिमा नै छ । अति दुःखलाग्दो कुरो, यस भेगमा साहित्यको बजार एउटा अद्भुत अनुभव हो हाम्रा लागि । आफ्नो गोजीका पैसाले पुस्तक छपाएर एक-दुई सयप्रति उपहार दिएर अरूप्रति अलमारीमा सजाएर राख्नुबाहेक अन्य उपाय छैन । यो अति निर्मम सत्य हो ।

तपाईँका अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् ?

जीवनमा नबिर्सने क्षणहरू त धेरै छन् । कुन भनूँ कुन नभनूँ । बाल्यकालको, छात्रावस्थाको, जागिरे जीवनको कि साहित्यिक सामाजिक जीवनको ? मेरा लागि जीवनका प्रत्येक क्षण नै बिर्सन नसक्ने क्षण हुन् । त्यसभित्र एउटा जन्मजात अविस्मरणीय क्षण के हो भने, सन् १९८९ मा म भारतीय जीवनबिमा निगमको जागिरे भएर असमको डिगबोई भन्ने ठाउँमा पुगेपछि त्यहाँ अग्रज साहित्यकार भविलाल लामिछाने, खडकराज गिरी, अग्निबहादुर छेत्री, जसु सुब्वा, गहीन उपाध्याय, चिन्तामणि सुवेदी, गुरुभक्त धिताल, इन्द्र गिरी, कृष्णविक्रम राणा, सुन्दर छेत्री आदि विभिन्न मान्यव्यक्तिको संसर्गमा आएँ । त्यसताका डिगबोईमा ‘स्वतन्त्र साहित्य मञ्च’ को बैठक नियमित रूपले सम्पन्न हुने गर्दथ्यो । एकपटक डिगबोईकै नजिक पेङ्री भन्ने ठाउँमा त्यहाँका एक-दुई जना साहित्यानुरागीको आग्रहमा त्यसपटकको बैठक बस्ने निर्णय लिइएको हुनाले मञ्चका सबै सदस्यहरू त्यस ठाउँमा पुगेर प्रायः दिनभरि नै कविता वाचन गऱ्यौँ । सुन्तलाको बोटमुनि बसेर सुन्तला खाँदै, प्राकृतिक सौन्दर्य उपभोग गर्दै सबै जनाले आआफ्नो कविता पाठ गरेका थिए । बडो रमाइलो दिन थियो त्यो, बिर्सन नसक्ने । त्यसै अवसरमा हामी सबै जना मिलेर कवि हरिभक्त कटुवालको वासस्थान पनि दर्शन गऱ्यौँ । तीर्थभूमिको दर्शन गरेजस्तै आवेगपूर्ण क्षण थियो त्यो । हृदयभरि आलो नै छ त्यसदिनको छवि ।

जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?

मानवजीवन एउटा वरदानस्वरूप हो, जसलाई भरसक परिपूर्णरूपले उपभोग गर्नुपर्दछ । दुःख र निराशाहरूभित्र नै सुख र आशाहरू पलाउने गर्दछन् । जे जति छ, त्यसमा नै सन्तुष्टि लिएर आशावादी बन्नुपर्दछ । जीवन एउटा सलल बगेको नदीजस्तै हो ।

तपाईँलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सर्जनाका बारेमा केही जान्न सकिन्छ ?

मलाई उत्कृष्ट लागेका  ग्रन्थहरूको सूची लामो छ । केही उल्लेखनीय विश्वस्तरीय सर्जकहरूमा रवीन्द्रनाथ  ठाकुर, प्रेमचन्द, लक्ष्मीप्रसाद देवकोटा, जे हेनरी, गार्थिया लोर्का, लु चुन, पाब्लो नेरुदा, नाजिम हिकमत, टलस्टय, मुल्कराज आनन्द, हीरेन भट्टाचार्य आदि हुन् । यी महान् लेखकहरूको ग्रन्थ साथै हिन्दी, असमिया, बाङ्ला तथा अङ्ग्रेजी भाषाका सर्जकहरूका ग्रन्थहरू पनि मन पर्छन् ।

नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले के-के गर्नुपर्ला ?

नेपाली साहित्यको स्तरीयकरणका लागि लेखकहरू स्वयम् सचेत हुनुपर्छ । प्रचुर अध्यय, परिश्रम तथा निरन्तर लेखनले मात्र हाम्रो साहित्यलाई उचाइतिर लिएर जाने छ । सस्तो जनप्रियताको लोभ र पुरस्कारप्राप्तिको मोहलाई त्यागेर रचनाकारहरू आफ्नो प्रतिभा र परिश्रमको बलले साहित्यसिर्जनाको काममा साधनारत हुन सक्नुपर्छ । विश्वव्यापीकरणको मूलआधार हो अनुवाद । अनुवादको माध्यमबाट नेपाली साहित्यका श्रेष्ठ कृतिहरू विश्वका विभिन्न भाषामा अनुवाद गर्ने एउटा प्रणालीबद्ध परिकल्पना लिने समय आएको छ । त्यसो गर्दा अन्य भाषा र देशका पाठकहरू नेपाली साहित्यको ग्रन्थप्रति सजिलै आकर्षित हुनेछन् र त्यसरी नेपाली साहित्यले विश्वदरवारमा एउटा दह्रिलो स्थान ओगट्न सक्नेछ ।

विगतदेखि वर्तमानसम्म आइपुग्दा शासक र सर्जकबीचको सम्बन्धलाई कुन रूपमा हेरिरहनुभएको छ ?

प्राचीनकालदेखि नै शासक र सर्जकका बीच राम्रो सम्बन्ध रहिआएको कुरालाई अस्वीकार गर्न सकिँदैन । राजा महाराजाको दरबारमा राजकीय मर्यादा पाएर काव्य, नाटक आदिको सिर्जना गरिएको थियो । वर्तमान समयमा पनि एकांश सर्जकहरू शासकसित सम्बन्धित भएर सृष्टिकर्ममा तल्लीन भएका छन् तर यो अति आवश्यकीय विषय होइन कि सृष्टिकर्मका लागि सर्जकहरू शासकको पक्षमा रहनु नै पर्छ । बरु त्यसले उसको सृष्टिशीलताको क्षेत्रमा धेरै मात्रामा तगारो भइदिन्छ । स्वतन्त्र मानसिकता लिएर स्वकीय धाराको लेखन प्रक्रियाले नै असल साहित्यकृति जन्माउँछ जस्तो मलाई लाग्छ ।

आफ्ना रचना वा कृतिलाई सम्झनुपरेको खण्डमा कुन रचना वा कृतिलाई सम्झनुहुन्छ ?

आजसम्म मैले सम्झनुपर्ने वा श्रेष्ठ कृति अथवा रचना लेखिएकै छैन । अरू सायद यस्तो कृति मद्वारा कहिल्यै पनि नलेखिएला । अझ भनूँ भने, म एउटा रचना वा कृति लेखेपछि अर्कामा प्रवेश गर्दा सधैँ आफूलाई सिकारु नै भेट्दछु । विगत चालीस सालदेखि म एउटा-दुईवटा गर्दै शब्दहरू जोड्ने प्रयासमा छु तर पाठकले मन पराउने समसामयिक अनुभवका रचनाहरूले भने मलाई निश्चित रूपले सन्तुष्टि दिने गरेको छ । आजसम्म प्रकाशित कृतिहरूमा मेरो २०१६ सन्‌मा प्रकाशित ‘नीलो चरो र अन्य कविता’ लाई आग्रही पाठकहरूले धेरै मन पराइदिनुभएको छ । त्यस सङ्कलनको ‘नीलो चरो र हिराकुसाको वेदना’ कवितालाई विशेषरूपले सम्झने गर्दछु ।

जीवनका लेखकीय भावी योजना के-के छन् ?

भावी लेखकीय योजनाहरू थुप्रै छन् । विशेष गरी कविता र कथाविधामा दुईवटा कृति प्रायः तयारी नै छन् । विश्वसाहित्यका पच्चीस जना कवि र कथाकारहरूको जीवनीमूलक ग्रन्थलाई पनि अन्तिम रूप दिइसकेको छु । त्यसरी योजनाबद्ध तरिकाले म केही लेख्दिनँ । जसरी रचनाहरू लेख्दै जान्छु अनि त्यसरी नै थपिँदै जान्छन् । म धेरै पढ्ने गर्दछु, लेख्छु थोरै ।

साहित्यमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?

अहिले साहित्यमा लागेर मैले धेरै थोक पाएँ ।  भारतीय साहित्यका धेरै जना महान् साहित्यकारको सत्सङ्ग पाएँ । विश्वको साहित्यिक इतिहास, राजनीतिक परिवेश, आर्य सामाजिक जनजीवनलाई छेउबाट छुन पाएँ । पाठकवर्गको मायाँ पाएँ । यति भए अरू के चाहियो र ? हराउनु के छैन ।

नवोदित स्रष्टालाई के सल्लाह दिनुहुन्छ ?

एक जना साधारण कविको हैसियतले समकालीन कविप्रति मेरो आस्था सुदृढ छ । कवितालेखनप्रति नयाँ कविहरू अध्ययनशील र आस्थावान् हुनुपर्दछ । प्रचुर अध्ययन, परिश्रम, निरन्तरता तथा निजस्वशैली निर्माणप्रति अधिक सचेत हुन सकेमात्र राम्रो कविता सिर्जना गर्न सकिन्छ । अब हामीले सङ्ख्यात्मक होइन, गुणात्मक कृतिहरू सिर्जना गर्नुपर्दछ ।