शिलङ्खुट्टी, असममा सन् १९७२ अप्रिल ०१ का दिन इन्दिरादेवी गौतमको जन्म भएको थियो । गौतम असम नेपाली साहित्य सभा ओदालगुडी शाखाको सभानेत्रीसमेत रहेर असमेली नेपाली साहित्यमा पछिल्लो समयमा निक्कै सक्रिय हुनुहुन्छ ।
प्रस्तुत छ, हाल गोल्मा गाउँ, ओदालगुडी निवासी इन्दिरादेवी गौतमसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंशः
तपाईँको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ?
मेरो लेखनको पहिलो विधा कविता हो । नेपाली कविताबाट मेरो लेखनको सुरु भएको हो ।
प्रकाशनको दृष्टिले चाहिँ पहिलो कुन रचना हो ? कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?
प्रकाशनको दृष्टिले चाहिँ मेरो पहिलो रचना असमिया भाषामा (शिशु कविता) बाल कविता हो । कविताको नाम थियो ‘उल्टा-पुल्टा’ । असमिया साप्ताहिक पत्रिका ‘सादिन’ मा सन् १९९१ को जुनमा प्रकाशित भएको थियो ।
जीवनका भोगाइ, प्राप्ति र पीडाका विम्बमिश्रित बाल्यावस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ? कसरी बित्यो बाल्यावस्था ?
म घरकी कान्छी छोरी हुनाले कुनै पीडा अनुभव भएन । भिन्नाभिन्नै जाति र समुदाय रहेको रमाइलो सानो गाउँ । सानो हुँदा दशैँमा नाटकमा नाच्ने, ठुली भएपछि अभिनयतिर रमाएँ । धेरै भाषाभाषी रहेको गाउँ हुनाले सबै भाषा मिसिएको नाटक मेरो दादा हेमचन्द्र उपाध्यायले लेख्नुहुन्थ्यो । हली, गोठाला, शिक्षक र छात्र सबैले अभिनय गर्न रहर गर्थे । पात्र हेरेर संवाद लेख्नुपर्थ्यो । विभिन्न भाषा, कला, संस्कृतिलाई एउटै मञ्चमा उपस्थित गराएर एकताको गाँठो अझैसम्म दरिलो छ । अहिले पनि बाल्यकालका ती रमाइला पल सम्झिँदा फर्किएर उतै रमाउन मन लाग्छ । अर्को घटना तिहारमा हामी छ-सात जना केटीहरू मिलेर भैलो खेल्न निस्किएका थियौँ । स्कुलको छेउमा ठुलो पिपलको रूख थियो । त्यहाँ पुग्नासाथ ढुङ्गा बर्सिन थाले । डरले चिच्याउँदै छेउको घरमा पस्यौँ । त्यस घरकी दिदीले यो रूखमा भूत छ भन्दा डरले कोही नखेल्ने भए । पछि ती दिदीले आफ्नो छोरासहित रातभरि भैलो खेलेर तीन जनाको भाग दिनुपऱ्यो । पछि थाहा लाग्यो उहाँको छोराले डर देखाएको पो रहेछ ।
साहित्यमा प्रवेश गर्दाका सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ?
तेजपुर जामुगुडीबाट मामा साहित्यिक गुरुप्रसाद उपाध्यायले ‘स्पन्दन’ पत्रिका ल्याइदिनुभएको थियो । मैले त्यति बेला भर्खर देवनागरी लिपि सिक्तै थिएँ । क्लासको किताबभित्र लुकाएर त्यो मात्र पढ्थेँ । मैले देखेको पहिलो नेपाली पुस्तक पनि त्यही थियो । त्यति बेला थाहा भयो आफ्नो मातृभाषा पढ्दा भित्रको धित मर्दो रहेछ । बिस्तारै-बिस्तारै कविता लेख्न थालेँ यसमा डा. खगेन शर्मा दाजुको ठुलो भूमिका छ । उहाँले बेलाबखत कविता हेरिदिनुहुन्थ्यो । पछि पश्चिम सिक्किमका साहित्यकार गहर उदासीज्यूले पत्रमार्फत धेरै सिकाउनुभएको थियो र सिक्किमका पत्रपत्रिकामा मेरा लेख प्रकाशित गरेर मसम्म पठाइदिनुहुन्थ्यो ।
प्रेरणा केबाट मिल्यो ?
पहिलो प्रेरणा बाबाआमाबाट हो । घरमा काम नभएका बेला किताब पढ्नु नै पर्थ्यो । गाउँमा भानु जयन्ती भएका बेला मञ्चमा गरेका कविता वाचन सुन्दा मलाई पनि त्यसरी नै गाउने इच्छा हुन्थ्यो । आफ्नो नाम पत्रपत्रिकामा देख्न चाहन्थेँ । पहिलो कविता असमिया ‘सादिन’ पत्रिकामा पोस्ट मार्फत पठाएँ । प्रकाशित हुँदा कति खुसी लाग्यो लाग्यो, कल्पना गर्न सक्तिनँ ।
कविता के हो ?
कविता साहित्यको कलात्मक विधा हो । कविताको शाब्दिक अर्थ काव्यात्मक रचना हो । काल्पनिक मनोभावनालाई मिठो तरिकाले पस्किन सक्नु र घटनालाई भावात्मक बनाउनु यसको मुख्य उद्देश्य हो । मनमा भावनाहरू जन्मिएर प्रस्फुटित हुन्छन् । ती भावनालाई जागृत पारि कविताले सबैका सामु साझा गर्दछ । जस्तै अरूमा परेको पीडामा करुणा जाग्ने गर्छ ।
कविताले के राम्रो बनाउन ?
पहिला कविताले मान्छेको मनोभावनालाई जीवन्त बनाउँछ । मान्छे कहिले प्राकृतिक मनोरम दृश्यमा रमाउँछ भने निष्ठुरदेखि विचलित पनि हुन्छ । कविताको प्रेरणाले मान्छेलाई सही मार्ग देखाएर नयाँ जीवन दिन्छ । सृष्टि र सौन्दर्यमा रमाएर अनुचित कार्यबाट टाढा रहन्छ ।
कविता धेरै लेखिन्छ तर कमैमात्र पढिन्छ र बिक्री पनि कमै हुन्छन् नि कस्तो लाग्छ ? किन यस्तो भएको ?
सबै कविताले पाठकको मन छुन सक्दैन । स्तरीय कविता नहुनु नै यसको प्रमुख कारण हो जस्तो लाग्छ । कविता विधा, कथा, उपन्यास वा अन्य विधाभन्दा कम शब्दमा लेखिने भएकाले सबै घटनाका पात्रहरूलाई समेट्न सक्दैन ।
लघुकथा पनि लेख्नुहुन्छ ? के के कुरामा ध्यान दिनुपर्छ ? कसरी लेख्ता राम्रो हुन्छ लघुकथा ?
अहिले म लघुकथा लेख्तै छु । लघुकथा आख्यानको विधामा लोकप्रिय हुँदै गएको छ । लघुकथा संरचना गर्दा कम्तीमा ५० बाट सुरु गरी ३०० शब्दको हाराहारीमा हुनुपर्दछ भन्ने विद्वान्हरूको मत छ । लघुकथामा कथाको भाव, घटना, शीर्षक सन्देश, कौतुहलतामा निकै ध्यान दिनुपर्दछ । यसमा विम्बमिश्रित देखिन आवश्यक छ ।
लघुकथाको यात्रा मलाई आकर्षक लाग्यो । मेरा गुरुवर र अग्रजहरूले कविताभन्दा बढी मेरा लघुकथा रुचाउनुभयो । उहाँहरूले देखाइदिएको बाटामा हिँड्न सिक्तै छु । त्यसै पनि म अभिनय मन पराउने मान्छे । कथाको पृष्ठभूमि तयार पारेर पहिला आफूले नै भूमिका खेल्नुपर्छ । कथालाई कसरी ज्वलन्त बनाउन सकिन्छ भन्ने विषयमा ध्यान दिनु आवश्यक छ ।
असमेली नेपाली साहित्यमा नारी स्रष्टाको अवस्था कस्तो छ ?
अहिलेको अवस्थामा एकदमै आशलाग्दो भन्न सकिन्छ । कथा, कविता निबन्ध, उपन्यास, मुक्तक सबै विधामा नवीन कलमहरू चलिरहेका छन् । पछिसम्म यसरी नै निरन्तर रूपमा चलिरह्यो भने कोरोनाकालीन समयले असमेली नेपाली साहित्यमा नारी स्रष्टाको ठुलो भूमिका रहेको हुनेछ भन्ने लाग्छ ।
असमेली नेपाली साहित्यमा आशलाग्दा नारी स्रष्टाहरू को को कुन कुन विधामा हुनुहुन्छ ?
असमेली नेपाली साहित्यमा अहिलेका आशा लाग्दा स्रष्टाहरू धेरै नै देखिनुभएको छ । दिन दुगुना रात चौगुना भनेजस्तो । दिनदिनै बढ्ने क्रम जारी छ । यहाँ कविता लेखनमा पूजा उपाध्याय, अनुपमा कट्टेल, नीलिमा आचार्य, कविता पौड्याल, नैना अधिकारी, पूजा आचार्य, पद्मावती देवी, रुक्मिणी शर्मा, दक्षिणा देवी गजुरेल, मञ्जु देवी, कुञ्जदेवी उपाध्याय, पद्मा उपाध्याय कथाकारको रूपमा इन्दिरा गौतम, विनीता उपाध्याय द्विपान्विता गजुरेल, डुलुमणि उपाध्याय, उपन्यासकार नीलिमा आचार्य, मनीषा दाहाल निबन्ध लेखनमा कल्पना देवी आत्रेय, समीक्षा लेखनमा पद्मा देवीको नाम लिन सकिन्छ । मुक्तक लेखनमा मीना पौड्याल, मीना फँयेल, सृजना अधिकारी र प्रियङ्का शर्माको नाम लिन सकिन्छ । यहाँ अरूको पनि नाम छुट्न सक्छ त्यसका लागि क्षमा चाहन्छु ।
विश्व साहित्यका धेरै कुरा उठ्ने गरेका छन् । नेपाली साहित्य विश्व साहित्यमा कहाँ छ ?
नेपाली साहित्य विश्व साहित्यमा एक विशिष्ट स्थान ओगट्न सफल छ जस्तो लाग्छ । नेपाली जातीय संरचना नै विश्वभरि छरिएर बसेको हुनाले विश्व दरबारमा आफ्नो साहित्य पनि फिँजारिएको पाइन्छ ।
समकालीन लेखनलाई कसरी हेर्नुहुन्छ ?
पुर्वाञ्चलीय नेपाली साहित्य इतिहासलाई विद्वान्हरूले समय र कालको विभिन्न आधारमा विभाजन गरेका छन् । मणिपुरका तुलाचन आलेले सन् १८९३ मा ‘मणिपुरको लडाइँको सवाई’ लेखेर पुर्वाञ्चलमा कविताको बीजारोपण गरेका हुन् । सन् २००० देखि वर्तमानको युगलाई समकालीन युग मान्दै आएको देखिन्छ । यस दुई दशकको अवधिमा असमका विभिन्न ठाउँबाट नवीन प्रवीण साहित्यकारले साहित्यिक वातावरण सिर्जनामा सक्दो सहायको भूमिका निर्वाह गरिरहेका छन् । कथा, कविता, गजल, हाइकु, गीत, उपन्यास, महाकाव्य, खण्डकाव्य, निबन्ध र अनुवाद साहित्य प्रकाशित भएको देखिन्छ ।
तपाईँ अध्यापन पनि गर्नुहुन्छ । असमेली नेपाली भाषा साहित्यको अवस्था कस्तो छ ?
हजुर, स्कुलमा पढाउँछु । अहिले नेपाली साहित्यको अवस्थाले भने निकै फड्को मारेको छ । अहिलेको अवधिमा असमका विभिन्न भेगबाट निरन्तर पत्रपत्रिका प्रकाशित भएका छन् । यस यात्रामा हरेक विधामा कलम चलाउने थुप्रै सर्जकलाई जन्माउन सक्षम भएको छ ।
साहित्यकारहरूको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?
साहित्यकार भनेका समाजका पथप्रदर्शक हुन् । तपाईँ अर्को जुनसुकै ठुलो नोकरी गर्नुहुन्छ, ठुलो गल्ती भयो भने मान्छेको नजरमा त्यति छिटो पर्नु हुन्न तर साहित्यकार भएर सानो गल्ती पनि गर्न सक्नु हुन्न । साहित्यमा साहित्यकार भनेका आकाशका ताराजस्तै हुन् । उनीहरू ताराजसरी युगौँदेखि दूर आकाशमा चम्किरहेका छन् र आआफ्नो समयलाई प्रतिनिधित्व गर्दै आएका छन् ।
स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले कस्तो भूमिका खेल्नुपर्दछ ?
गत साल ‘असम भाषागौरव योजनाको’ अन्तर्गत यहाँका विभिन्न भाषाका साहित्यकारलाई पचास हजार रुपियाँ राशिको आर्थिक अनुदान र लेखक संवर्द्धना सम्मान सुरु गऱ्यो । यहाँ साहित्यकारलाई पेन्सनको व्यवस्था पनि छ । असम नेपाली साहित्य सभालाई गतसाल ठुलो आर्थिक अनुदान प्रदान गरेको छ । यस अनुदानबाट आउने दिनहरूमा सभाले अझ धेरै राम्रा कार्यहरू गर्न सक्षम हुनेछ ।
साहित्यको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?
समकालीन साहित्यको बजार सन्तोषजनक छैन । प्रकाशन र बजार व्यवस्था लेखकहरूको पक्षमा नरहेको अनुभव गरेकी छु । हुन त आजको समयमा नेटका माध्यमबाट पनि पुस्तक किनबेचको सुविधा उपलब्ध छ, तर सबै लेखकले यो सुविधा लिन सकेका छैनन् । अनि जम्मै पाठकले यो व्यवस्थाबाट मन पर्ने कृतिहरू नलिएको नै बढी मात्रामा देखेकी छु । लेखकले आफ्नो धन खर्चेर पुस्तक प्रकाशन गरिरहेको अवस्था छ । प्रकाशक र पुस्तक पसलको अभावले लेखकले आफ्नो लगानीको सामान्य अंश पनि प्राप्त गर्न सक्षम छैन । समकालीन साहित्यको बजारमा सुधार हुन आवश्यक छ, भन्ने अनुभव गरेकी छु ।
अहिले सम्मका नबिर्सिने क्षण कुन हुन् र किन ?
गत केही वर्षअघि म काठमाडौँमा डेढ साल थिएँ । धुलिखेल ग्रेस एफएममा शनिबार बाह्रबजे हँसिमजाक भन्ने कार्यक्रम हुन्थ्यो र अहिले पनि हुन्छ । रेडियो कलाकार बासुदेव अधिकारीज्यूले कार्यक्रम चलाउँदा फोनमार्फत उहाँसँग बात मार्नुपर्ने हुन्थ्यो । उहाँ मिमिक्री गर्ने मान्छे मेरो फोन ठ्याक्कै लागेपछि मैले पनि हजुरआमाको आवाजमा बोलेँ । खोइ, उहाँलाई के मन पऱ्यो । अर्को दिन बोलाएर अन्तर्वार्ता लिँदै फेरि अभिनय गर्न भन्नुभयो । म प्रस्तुत थिइनँ । एक्कासि अभिनयमा डाँको छोडेर रुँदै भने “तिमी कति निष्ठुरी रहेछौ, मायामा शङ्का गऱ्यौ, भयो अब मेरा सामु आउने कोसिस नगर” भन्दै भन्दै बिस्तारै बिस्तारै रुन छोडे तर घुँक्क-घुँक्क निकै बेरसम्म गरेँ । पछि प्राविधिक भाइले रेडियो नाटकको अफर दिनुभयो र डि. एन. दाहाल भाइसँग भक्तपुर एफएममा नाटक गर्ने अवसर मिल्यो ।
जीवनलाई परिभाषित गर्नुभयो भने के भन्नुहुन्छ ?
जन्म र मृत्युबीचको सङ्घर्षमय अवधिलाई जीवन भनिन्छ । मान्छेको जन्म ईश्वरीय वरदान हो । जीवनको सम्बन्ध केवल जिउनुमा मात्र होइन भन्ने लाग्छ । कुनै पनि जीव अमरत्व प्राप्त गर्न सक्षम छैन । जसलाई हामी जीवन भन्छौ त्यो त मृत्युतिर लम्किरहेको हुन्छ । गाँस, बास र कपास मान्छेको न्यूनतम आवश्यकता हो र यसको पछि लाग्दा लाग्दै बेलुनजस्तो जीवनको कहाँ कतिखेर हावा जान्छ थाहै हुँदैन । व्यक्ति विशेषको मानवीय स्वभाव अलग अलग हुन्छ । खुसी, निराशा, सफलता र असफलताबीचको यात्रालाई आधार बनाएर मान्छे जिउने गर्छ । मानिसले आफ्नो जीवन अवधिमा जाति र देशलाई केही न केही उल्लेखनीय योगदान, कृति आदि दिएर जान सक्नु नै सफल जीवन हो भन्ने कुरामा म विश्वस्त छु ।
तपाईँलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा केही जान्न सकिन्छ ?
त्यति धेरै म भन्न सक्तिनँ । मलाई उत्कृष्ट लाग्ने सर्जक संस्कृतका महाकवि कालिदास र उनको अभिज्ञानम् शकुन्तलम्, रवीन्द्रनाथ ठाकुरको गीताञ्जली, प्रेमचन्द्रको गोदान, नेपालीमा कृष्ण धरावासीका शरणार्थी र राधा, लीलबहादुर क्षत्रीको बसाइँ, वीक्रमबीर थापाको बिसौँ शताब्दीकी मनालिसा, झमक घिमिरेको जीवन काँडा कि फूल?, असमियामा लक्ष्मीनाथ बेजबरुवाको बुढी आइ र साधु, होमेन बरगोहाईँको प्रज्ञा र साधना आदि हुन् ।
नेपाली स्तरीकरण विश्वव्यापीकरणका लागि ककसले के-के गर्नुपर्ला ?
नेपाली साहित्यलाई स्तरीकरण गर्न हाम्रा सिर्जनाहरू स्तरीय हुनुपर्दछ । विश्वका विभिन्न भाषामा अनुवाद गरी संसारभरि पुऱ्याउन सक्नुपर्छ । विश्व साहित्यसँग सहकार्य गरी अनुवाद साहित्यलाई बढी प्राथमिकता दिनुपर्दछ ।
नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह र सुझाव दिनुहुन्छ ?
म आफैँ नवोदित हुँ । उहाँहरूलाई पहिला धेरै पुस्तक अध्ययन गर्न सल्लाह दिन्छु । भाषा र व्याकरण ज्ञान सबैभन्दा ठुलो कुरा हो । आफ्नो लेखहरू बारम्बार पढ्नुहोस् । प्रकाशित गर्न हतार नगर्नुहोस् । एकपल्ट छापिसकेपछि राष्ट्रको साझा सम्पत्ति हुन्छ । त्यसैले जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व गर्ने साहित्य रचना गर्नुहोस् ।
जीवनमा भावी लेखकीय इच्छाहरू के छन् ?
अब लेख्ने क्रम जारी छ । बीचको बाह्र वर्ष म हराएकी थिएँ । अब पछि नफर्किने विचार छ । अगाडि बढ्दै जाने समय र परिस्थितिसँगै । सामाजिक कार्यहरूको दायित्व आएका छन् जिम्मेवारीसँगै गर्दै जानु छ ।
अहिले साहित्यमा लागेर के पाएँ के गुमाएँ जस्तो लाग्छ ?
अहिले साहित्यमा लागेर किन विगतका केही समय त्यसै खेर जान दिइएछ झैँ लाग्छ किनभने ती समय त कसै गरी फर्किआउने छैनन् तर आजभोलि दिनदिनै धेरै पाएकी छु । सामाजिक सञ्जालमा आबद्ध भएर देश विदेशमा रहनुभएका सर्जकका सृजना पढ्ने सौभाग्य प्राप्त भएको छ । साहित्यिक कार्यक्रममा सहभागी भई हालको स्थितिसँग परिचित हुनका साथै अग्रजहरूको आशीर्वाद प्राप्त भएको छ । आफूभन्दा सानालाई पनि सँगै डोहोऱ्याएर लानुपर्दछ भन्ने मेरो मत छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।