असमेली नेपाली साहित्यमा पहिलो हाइकु कवि मानिन्छन् गोविन्द शाण्डिल्य । उनको जन्म २०१९ साल पुस ०१ गते असमको चिराङ जिल्लाको पाटाबारी गाउँमा भएको थियो ।

शाण्डिल्यका कुरुक्षेत्र (कविता- १९९६), पूर्वारुण (हाइकु- १९९७), मेरो मुटुमा मेरो देश (कविता- २००२), गजल गान्धार (गजल- २००६), फूल-फिलिङ्गाहरू (हाइकु -२००८), परिमित अक्षर (हाइकु- २०११), मृगतृष्णा (गजल- २०११), मसीमा कैद मनहरू (कविता- २०१५), तिमी चाँदनी हौ (गीत- २०१७) शतभिषा (हाइकु- २०१७), एमुठी हाइकु (असमिया हाइकु- २०१७) लगायत कृति प्रकाशित छन् ।

प्रस्तुत छ, असम नेपाली साहित्य सभा, असम नेपाली साहित्य परिषद्, असम गोर्खा सम्मेलन, अखिल भारतीय नेपाली भाषा समिति, अखिल असम नेपाली छात्र सङ्घलगायत संस्थामा संलग्न रही हाल उत्तर आमटेका गाउँ, चिराङ जिल्ला निवासी गोविन्द शाण्डिल्यसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंश;

तपाईंको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ?

मेरो लेखनको प्रारम्भ कविताबाट नै भएको हो ।

प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना हो ?

भानु पुकार (कविता), लीलबहादुर छेत्रीको सम्पादनमा प्रकाशित सम्मेलन पत्रिकामा सन्  १९८३  मा प्रकाशित भएको थियो ।

जीवनको भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित बाल्यवस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ?  

दुई छाक टार्ने परिवारको निम्न आर्थिक परिपाटीभित्र गुज्रियो बाल्यकाल । तत्कालीन धेरै दुर्गम क्षेत्रमा गनिने जन्मगाउँ पाटाबारीकै छिमेकी गाउँ आमटेकामा (आफ्नो डेढ वर्षको उमेरदेखि हालसम्म म जहाँ छु)  एकखाले दुखैदुखमा बित्यो । यद्यपि अहिले सम्झिँदा रमाइलै लाग्दछ कहिल्यै फर्केर नआउने त्यो बाल्यावस्था ।

गोविन्द शाण्डिल्य

साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनु हुन्छ ?

कविता भनेर केही लेख्न सक्दा र कसैलाई यस कुनै सामूहिक कार्यक्रममा पढ्न पाउँदा साह्रै खुसी लाग्थ्यो । झन् झुक्किएर कुनै पत्रपत्रिकामा मुद्रित अक्षरहरूमा आफ्नो रचना देख्दा त अति नै हर्ष लाग्थ्यो, र मैले लेखेका कविता पनि पत्रिकामा चढ्न सक्ने योग्यता कायम हुनसक्ने रहेछ भन्ने आत्मविश्वास जाग्थो । यो त जसोतसो छापियो अब पो यत्तिको राम्रो लेख्न सक्ने हुँ कि होइन (?) भन्ने भित्रभित्रै डर पनि लाग्थ्यो ।

प्रेरणा कहाँबाट मिल्यो ?

प्रेरणाको कुरा गर्दा….. मेरा बाबा (पिता) वनारस विश्वविद्यालय (सम्पूर्णानन्द) का साहित्यशास्त्री रहनुभएकाले सायद शिक्षा र साहित्यप्रति उहाँको अनुराग थियो गम्भीर । स्थानीय सरकारी प्राथमिक विद्यालयमा असमिया माध्यमको विद्यार्थी थिएँ म । घरमा उहाँले मलाई बिहान बेलुका गृहकार्य गराउँदा  र विशेषगरी भाषा पढाउँदा बेला बेला “छोरो धेरै पढेर कवि हुन्छ है, हुन्छ कि हुँदैन कवि ?”  ‌भन्ने गर्नु हुन्थ्यो । म केही बुझ्दिनथेँ त्यसबेला । कहिले स्वरमा स्वर मिलाउँदै ‘ल,  हुन्छ’ भन्थेँ त कहिलेकाहीँ ‘त्यो भनेको के हो, कसरी हुन्छ ?’ इत्यादि प्रश्न गरेर वाक्क पनि पारेको सम्झना छ । … सन् १९७८ मा म कक्षा दसको विद्यार्थी । डिसेम्बर महिनामा विद्यालयको निकटस्थ सहर बङाईगाउँमा अखिल असम नेपाली छात्र सङ्घको अधिवेशन । कसोकसो जीवनको पहिलोचोटि प्रतिनिधि बनेर जाने मौका पाएँ । त्यहाँ भोलिपल्ट बेलुकी भएको कविगोष्ठी देखेर र सम्मिलित कतिपय कविहरूका क्रान्तिकारी कविताको वाचन सुनेर मेरो अन्तस्करणमा पहिलोपटक कविताको महत्त्व बोध भयो । यतिखेरै सम्झिएँ बाबाले‌ “छोरो कवि बन्छस् नि ?” भनेको कुरा र त्यसको अर्थाभिप्राय पनि । यसपछि मेरो मनमा कसरी कविता लेख्ने भन्ने जिज्ञासा बढ्दै गयो । एक समयमा यो जिज्ञासा एकखालको खट्पटीमै परिवर्तित हुन पनि पुग्यो।

सन् १९८०  देखि कसैले थाहा नपाई जानी नजानी अलि अलि लेखेर आफैँ पढ्दै थन्क्याउँदै गर्न थालेँ । सन् १९८२ ‌को भानु जयन्तीदेखि मञ्चमा आवृति प्रारम्भ भयो । स्थानीय र राज्यभरि हुने नेपाली जातीय अधिवेशनहरू हुँदै यो क्रम जारी रह्यो । मेरो साहित्य लेखनको प्रेरणा श्रोतबारे सम्झिँदा यस विवरणका साथ साथ साहित्यिक/समाजसेवक दाइ एग्येप्रसाद शर्माको (सद्य स्वर्गीय) नाम बिर्सन सक्दिनँ ।

गीत, गजल, कविता, हाइकु आदि लेख्नु हुन्छ । आफूलाई कुन विधाको स्रष्टा भनि रुचाउनु हुन्छ ?

हजुर, तीनै विधा मेरा निम्ति समानै प्रिय छन् । हाइकु अलि धेरै लेख्छु । उत्तरचाहिँ पाठकहरूलाई छोड्न रुचाउँछु जसले जुन विधाको भन्न खोज्छन् त्यही भनुन् ।

अन्तर्वार्ताकार : दीपक सुवेदी

हाइकुलाई कसरी परिभाषित गर्नुहुन्छ ?

महाकवि मात्सुओ बासो भन्छन् – “हाइकु दैनिक जीवनमा अनुभूत‌ हुने सत्यको अभिव्यक्ति हो, तर हाइकुमा अभिव्यक्त त्यो सत्य विराट सत्य हुनु पर्दछ ।” किन्तु अहिलेका सबै हाइकुले विराट सत्यको गायन त्यति गर्न सकिरहे झैँ लाग्दैन । यसोसले हाइकु मानवीय अनुभव-अनुभूतिको तीखो संवेदनसिक्तलाई शब्दको मितव्ययितासहित बिस्तार गर्ने काव्य विधा हो भन्न मन लाग्दछ ।

हाइकु र सेन्यु कसरी छुट्याउने ?

जापानमा पहिले हास्य भावसम्पन्न हाइकु (होक्कु) लाई सेन्यु भनिन्थ्यो । पछि पछि प्राकृतिक/ऋतुबोधक बिम्ब-प्रतीक (कीगो) नलागेका सम्पूर्ण मानवीय एवम् व्यवहारिक ५+७+५ वर्णक्रममा आधारित रचनाहरू सेन्युका श्रेणीमा गनिन थाले । अझपछि कीगोविहीनलाई पनि हाइकु नै ठानिने मान्यता बन्यो । यद्यपि जापान र पश्चिमी मुलुकमा अहिलेसम्म सेन्यु लेखिँदैछन् । तर नेपाली साहित्यमा हाइकु र सेन्यु वर्गीकृत नगरेकै राम्रो होला । हिन्दीमा पनि अहिलेसम्म यस्तो विभाजन देखिन्न ।

केही हाइकुकार हाइकुमा प्राकृतिक बिम्ब वा किगो नराखे पनि हुन्छ भन्छन् नि, यहाँलाई कस्तो लाग्छ ?

हाल हाइकुमा कीगो बाध्यतामूलक कतै छैन । जापानी हाइकुमै पनि यसमा स्वतन्त्रता भित्रिएको धेरै भयो । मलाई पनि कीगो अनिवार्य नभएको नै ठिक हो जस्तो लाग्छ ।

केही हाइकुकार हाइकुमा शीर्षक राखेर लेख्नछन् नि, के भन्नुहुन्छ ?

मेरो विचारमा यसो गर्नु उचित होइन । यसले हाइकुको सुस्थापित परम्परामा चोट लाग्छ । हाइकु एक प्रकारले मुक्तकीय छन्द हो । मुक्तकमा शीर्षक राखिँदैन । शीर्षक राख्ने चलनले हाइकुलाई फुटकर कवितामा लगेर मिसाउन पनि सक्छ । यसो गर्दा हाइकुको मौलिक अस्तित्व विघ्नित हुने डर छ ।

हाइकुमा अक्षर सङ्ख्या पुर्याउन खुट्टा पनि काट्छन् नि !

यसो गर्नु हाम्रो भाषिक परम्परा र‌ व्याकरणिक नियमभित्र त ठिकै हो । तर जबर्जस्ती गर्नु कदाचित् उचित होइन ।

हाइकुलाई केले राम्रो बनाउँछ ?

फराकिलो अनुभूति, सुतीक्ष्ण (धारिलो) संवेदनासिक्तता र अभिव्यक्तिको निरपेक्ष स्वरूप सम्पन्न हाइकुहरू राम्रा हाइकुको श्रेणीमा परेको बुझिन्छ । प्रकृति अनि सनातन (विराट ?)  सत्यको अलङ्काररहित प्रस्तुतीमा प्रभावी व्यञ्जनाको उपस्थितिले हाइकुलाई राम्रो बनाउँछ भन्छन् ।

हाइकु कमै लेखिन्छ । कमैमात्र पढिन्छ र बिक्री पनि कमै भन्छन् । कस्तो लाग्छ ? किन यस्तो भनिएको हो ?

हो, तुलनात्मक रूपमा कमै लेखिन्छ । कमै पढिन्छ र नै बिक्री पनि कम भएको हुनुपर्छ । हाइकु विदेशबाट आयातीत एकखाले नौलो विधा हुनका साथै आकृतिगतरूपमा पनि निकै सूक्ष्म भएकाले धेरैले यसलाई त्यति महत्त्व नदिएको झैँ लाग्दछ । तर यथार्थमा हाइकु विधाको मर्मोपलब्धीको अभावले यस्तो भएको हो । यद्यपि आ‌जभोलि यस विधाप्रति नवीन-प्रवीण उभय प्रजन्मका स्रष्टाको आकर्षण बढ्दै गएको छ भने हाइकुप्रेमी पाठकको सङ्ख्यामा पनि वृद्धि भइरहेको देखिन्छ । समग्रमा स्थिति त्यति निराशाजनक छ भन्नचाहिँ मिल्दैन ।

प्रयोग भन्दै हाइकुमा हाइकु कथा, हाइकु काव्य आदि लेखिँदै छन् नि, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ ?

हो‌, लेखिँदैछ। नेपालीबाहेक अरू भाषा-साहित्यमा पनि यो चलन छ । मेरो विचारमा यो नराम्रो होइन । यसले हाइकु विधाको अवधारणा जनजनमा पुर्याउन सहयोग गर्छ । प्रकृत हाइकुशिल्पको भविष्य सुध्रिन सम्भावना बढ्छ ।

भारतीय नेपाली साहित्यमा हाइकु लेखनको इतिहास र वर्तमान कस्तो छ ?

छुटफुट चर्चा कतै केही पहिलेदेखि भइआएको भए तापनि ५+७+५ = १७ विधानको हाइकु मौलिक कृति भने सन्  १९९७  मा देखिएको हो । मेरो “पूर्वारुण” नामक त्यो कृति शङ्ख प्रकाशन, गुवाहाटीमार्फत् प्रकाशित भएको थियो । यसपछि पश्चिम बङ्गाल (सिलगढी, दार्जीलिङ) गरी अहिलेसम्म मात्र १५/१६  वटा मौलिक कृति छापिएका छन् । सिक्किमतर्फ पनि लोकप्रियता नभएको होइन । पत्रपत्रिका र सामाजिक सञ्जालमा धेरथोर हाइकुको चर्चा  त हुन्छ तर राष्ट्रिय परिप्रेक्ष्यमा बिचार्दा यो त्यति चित्तबुझ्दो स्थिति हो भन्न‌ मिल्दैन।

असमेली नेपाली साहित्यमा चाहिँ ?

माथि भनिए झैं ५+७+५ परिपाटीको ‌भारतकै पहिलो नेपाली हाइकु कृति सन् १९९७  मा असमबाट निस्किएको हो भने हालसम्म एक दर्जनजति मौलिक  हाइकु पुस्तक प्रकाशित छन् । पत्रपत्रिकामा अलिअलि छापिन्छन्। यहाँ विगत केही समयदेखि सामाजिक सञ्जालमा चाहिँ हाइकुको व्यापकरूपमा चर्चा परिचर्चा भइरहेको छ । नवीन प्रजन्मसँगसँगै प्रवीण साहित्यकार पनि हाइकुतर्फ आकर्षित भएको पाइन्छ । खुसीको कुरा के छ भने असमेली नेपाली हाइकुमा नारी स्रष्टाहरूको सहभागिता अहिले निकै नै उत्साहजनक स्थितिमा रहेको परिलक्षित हुन्छ ।

आशा लाग्दा हाइकुकारको नाम लिनुपर्दा कहाँ कहाँबाट कस कसको लिन सकिन्छ ?

असमबाट बुद्धि सुवेदी, भीम महाराजी, हृषिकेश अधिकारी, नीलिमा आचार्य,  इन्दिरा गौतम,  कवितापूर्णा पौड्याल, मनिषा दाहाल, पद्मा शर्मा, महेश सुवेदी आदि । दार्जिलिङ (पश्चिमबङ्गाल) बाट राजेन्द्रपासा, भानु अधिकारी, अर्जुन शर्मा उप्रेती, लोचन ब्लोन, नीरा सुब्बा, सिक्किमबाट लुइस बिष्ट, भाष्कर पौड्याल (भारतकै‌ परिप्रेक्ष्यमा मात्र हेरियो यहाँ) ।

अन्य विधाका रचना लेखन र हाइकु लेखनमा के कस्तो अन्तर पाउनु भयो ?

एउटा वाक्यलाई तीनहरफमा विभाजित गरेर लेख्दैखेरि हाइकु भइहाल्दैन । हाइकुको संरचनागत मर्मलाई आत्मसात् गरेर फगत सत्र अक्षरमा ठूलो भावभूमिलाई पूर्णता प्रदान गर्नु निकै चुनौतीपूर्ण काम हो । अर्को कुरा, हाइकुमा दृश्य या भावलाई एकोहोरो भनेर या लेखेर मात्र पुग्दैन । नभने-नलेखेको अंशले ‌पाठकलाई भन्ने-बोल्ने, भाव विचरण गर्ने प्रशस्त अवकाश पनि छोड्नु पर्दछ । मलाई लाग्दछ, अन्य विधामा रचनाकारले यस्तो पेचिलो चुनौती सायद कमै झेल्नु पर्दो हो ।

साहित्यकारहरूको दायित्व के हुनु पर्दछ जस्तो लाग्छ ?

साहित्यकार सामाजिक प्राणी त हो नै, त्यस अतिरिक्त समाजले उसलाई तुलनात्मक दृष्टिकोणबाट अरूभन्दा अलि बढी संवेदनशील  र दूरदृष्टि सम्पन्न ठान्दछ । अनि उसको प्रत्यक्ष-परोक्ष मार्गदर्शनको प्रतीक्षा र प्रयोग देश-काल निर्विशेषमा घरिघरि भइआएको पनि छ । अत: समाजलाई गतिशील र युगसापेक्ष बनाउने दायित्व धेरै हदसम्म साहित्यकारले निभाएका छन् । मानवताको संरक्षण, सम्वर्द्धन गर्दै “वसुधैव कुटुम्बकम्” तर्फ डोहोर्याउने सोच अनि प्रयास साहित्यकारमा उहिलेदेखि नै थियो । यस्तै फराकिलो र कल्याणकारी दायित्व आज पनि रहनुपर्दछ जस्तो लाग्छ ।

स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नु पर्दछ ?

आर्थिक समर्थन, कृति प्रकाशनका निम्ति अनुदान, एकांश कृति/पुस्तकहरूको सरकारी खरिद, यथावश्यक प्रशिक्षण, अनुवादको व्यवस्था, शोधकार्य, भ्रमण अनुदान, पुरस्कार, वृत्ति पेन्सनजस्ता सुविधा प्रदान गरेर प्रोत्साहित गर्न सक्छ ।

साहित्यको समकालीन बजारलाई कसरी हेर्नु हुन्छ ?

त्यति राम्रो छैन । नयाँ प्रविधिको प्रत्याह्वानपूर्ण प्रतिस्पर्धा पनि छ । यद्यपि राम्रा कृतिहरूको बिक्री वितरण भने ठिकै रहेको भनिँदैछ । निराश होइन, आशावादी रहनु पर्छ।

तपाईँकाे अहिलेसम्मका नबिर्सने क्षण कुन कुन हुन् ?

सामुदायिक: २० अगष्ट १९९२ मा भारतीय संसदमा नेपाली भाषाले मान्यता पाएको दिन । भारतीय नेपालीहरूले पुस्तौँदेखि गरेको सङ्घर्ष र प्रतीक्षाले संवैधानिक निस्तार पाएको दिन हो यो ।

पारिवारिक: ३१ मे २०११ मा बाबा (पिता) को चौरासी अनुष्ठान सुसम्पन्न भएको दिन । कताकता एउटा पुत्रले निर्वाह गर्नुपर्ने निम्नतम‌ कर्तव्य र सम्मान प्रदर्शनको काम पिताको जीवनकालमै गर्न पाए-भ्याएको अजानित खुसी र हर्ष महसुस भयो । यस अवसरमा आफ्नो पारिवारिक औकातअनुरुपको सानो एउटा साहित्य सम्मान (पुरस्कार) बाबाकै बाहुलीबाट थालनी गराउन सकेको सन्तुष्टिले पनि मेरा निम्ति बिर्सन नसक्ने क्षण बन्नपुग्यो सायद ।

जीवनलाई परिभाषित गर्नु पर्यो भने के भन्नुहुन्छ ?

जीवनलाई शब्दमा परिभाषित गर्न निकै कठिन छ । छोटकरीमा भन्नै पर्दा जन्म अनि मृत्यु यी दुई बिन्दु बिचको यात्रा हो जीवन । हार-जित र सुख-दुखहरू सहयात्री हुन जीवनका । दया, प्रेम, परोपकारजन्य सेवाहरू निर्मल निधि मानिन्छन् यसका ।

जीवनका भावी लेखकीय इच्छाहरू के छन् ?

कविता, हाइकु र गजलका केही सङ्ग्रह (मौलिक) हरू निकाल्नु छ । पत्रपत्रिकामा छरिएका निबन्धहरू सङ्ग्रहको तयारी गर्नु छ । केही गीतहरू छन् खातामा कताकता, बटुल्न भ्याएको छैन । असमिया र हिन्दी हाइकु निकै छन् पुस्तको रूप दिन परिबन्द‌ नपरिरहेका । इच्छा त अरू पनि धेरै ‌छन् । हेरौँ, के कति गर्न समयले साथ दिन्छ ।

अहिले साहित्यमा लागेर के पाए जस्तो लाग्छ ?

पाएको,
– केही राम्रा अनुरागी साथी र प्रिय पाठकहरू
– थोरै नेपाली र अन्य साहित्य पढ्ने अवसर
– गुनीजनको धेरथोर प्रेरणा, प्रशंसा, पुरस्कार-सम्बर्द्धना ।

अनि के गुमाए जस्तो लाग्छ ?

गुमाएको,  गुमेको पनि निकै ‌छ छन् त । तर त्यसको हिसाब अहिले नगर्नु नै श्रेयकर ठान्दछु ।