साहित्यकार मालिका केशरी विशेषतः आख्यानका क्षेत्रमा कलम चलाउँछन् । विशेषगरी नारीका कथाव्यथा र संवेदनालाई आफ्नो लेखनकाे विषय बनाउने केशरीका शुवर्णलता र पुनरूत्थान गरी २ उपन्यास प्रकाशित भइसकेका छन् । त्यस्तै उनकाे तेस्राे उपन्यासकाे रूपमा ‘दुङाल’ चाँडै बजारमा आँउदै छ ।
प्रस्तुत छ, आख्यानकार मालिका केशरीसँग साहित्य पोस्टका लागि प्रकाश थापाले गरेको कुराकानीकाे सम्पादित अंश:
मालिकाजी, तपाईंको तेस्रो उपन्यास ‘दुङाल’ केही दिनमा आउँदै छ । अहिलेसम्म नामै नसुनिएको शब्दमा उपन्यास लेख्ने आँट कसरी आयो ? के छ यसको कथावस्तु ?
‘दुङाल’ शब्द तिब्बती र तामाङ भाषाबाट नेपाली भाषामा भित्राइएकाले नौलो लाग्नु स्वाभाविक हो । आनो देशबाट लखटिएर नेपालमा शरणार्थी जीवन बिताइरहेका तिब्बतीहरुको भोगाइ र अनुभव नै दुङालको मुख्य विषय हो । उपन्यासको नाम पनि परिवेश र कथा सुहाउँदो हुनुपर्छ भन्ने लागेर नै ‘दुङाल’ नामकरण गरियो ।
नेपाली साहित्यमा तिब्बती शरणार्थीका कुरा खासै उठेका छैनन् । उठ्दा पनि ‘कन्स्पिरेसी थ्यौरी’ लगाउने चलन छ । शरणार्थी समस्यालाई उपन्यास बनाउनुको कारण के हो ?
तिब्बती शरणार्थीका समस्या नेपालमा नउठाइनुको मूल कारण नेपालको भूराजनीतिक अवस्था नै प्रमुख हो भन्ने लाग्छ । नेपाल-चीनबीचको मैत्री सम्बन्धमा यस्तो विषयको उठानले प्रभाव पार्न सक्छ भनेर सचेत हुनु स्वाभाविक पनि हो । हामीले के बिर्सनु हुँदैन भने ती शरणार्थी पनि मानिस नै हुन् । यो पृथ्वी हामी सबैको साझा हो । मानवीय समस्यालाई मानवीय आँखाबाट नै हेरिनु पर्छ । शक्ति र सम्बन्धको नाममा निरीहको आवाज दबिनु हुँदैन । शरणार्थी पीडा पनि हामी सबैले सुनिदिनु पर्छ भनेर नै मैले यो विषय चयन गरें ।
तपाईंले दोस्रो उपन्यास ‘सुवर्णलता’पनि बौद्ध दर्शनमाथि नै लेख्नुभएको थियो । अहिले पनि तिब्बती शरणार्थीको कथामार्फत बौद्ध दर्शनमै लेख्नुभएको रहेछ । आखिर तपाईं बुद्धिस्ट पनि होइन । बौद्धदर्शनमा तपाईंको सम्मोहन किन?
मानव सभ्यताको विकाससँगै विकसित दर्शनमध्येमा सबैभन्दा उत्कृष्ट दर्शन बौद्ध दर्शन हो भन्ने मलाई लाग्छ । जसले जीवनबोध गर्दै जीवन जिउने कला सिकाउँछ । म पनि बौद्ध दर्शनको विद्यार्थी भएकाले मेरा लेख रचनामा बौद्ध दर्शनको धेरथोर अंश पक्कै छ । ‘सुवर्णलता’मा मात्र होइन, त्यस अघिको उपन्यास ‘पुनरुत्थान’ पनि बौद्ध दर्शनबाट प्रभावित छ । दुङालमा पनि धेरथोर बुद्धका ज्ञानलाई समेट्ने प्रयास गरेको छु । थोरै नै भए पनि पाठकले मनोरञ्जनको साथमा बुद्धले सिकाउनुभएका ज्ञान पनि सिकून् । उहाँले देखाउनुभएको मध्यमार्ग भएर जीवनलाई सरल तरिकाले व्यतीत गर्न सकून् भन्ने नै मेरो मुख्य उद्देश्य हो ।
तपाईंको अघिल्लो उपन्यास ‘सुवर्णलता’ मा अद्भुत कथावस्तु छ । बुद्धको प्रेममा परेकी राजकन्या २५०० वर्षसम्म पनि जवान नै छिन् । यस्तो बिछट्ट कल्पना कसरी गर्नुभयो ?
सर्वप्रथम सुवर्णलताको कथावस्तुलाई बिछट्ट मानिदिनुभएकोमा यहाँलाई धन्यवाद ! सुवर्णलताको कथालाई धेरैले हुनै नसक्ने कल्पना भनेर उडाए पनि । हामीले हिन्दु र बौद्ध ग्रन्थमा ऋषिमुनि र साधकहरु हजारौं हजार वर्षसम्म जीवित रहेर तपस्यारत रहेका कयौं कथाहरु भेट्न सक्छौं । ईश्वरबाट वरदान प्राप्तिका लागि दस हजार वर्षसम्म तपस्या गरेका उदाहरण श्रीस्वस्थानी व्रतकथा आदि पवित्र ग्रन्थमा प्रशस्तै छन् । ‘सुवर्णलता’की राजकन्या २५०० वर्षसम्म जवान रहेको कल्पना तिनै ग्रन्थमा पढ्दै सुन्दै आएको कथाबाट जन्मिएको हुनुपर्छ ।
अहिलेसम्म तपाईंले तीनवटा उपन्यास लेखिसक्नुभयो । तीनवटै उपन्यासमा प्रमुखपात्र नारी नै छन् । एउटा पुरुष लेखकले नारी पात्रमाथि लेख्दा कत्तिको न्याय होला ?
पक्कै पनि मेरा तीनवटै उपन्यासका नायक नारी छन् । म स्वयं पुरुष भईकन पनि नारी पात्रका बारेमा लेखिरहँदा म स्वयं नारी हुँ कि जस्तो अनुभूति हुन्छ । पात्रले भोगेका पीडा म स्वयंले अनुभूति गरिरहेको हुन्छु । म पात्र (पुरुषपात्र) भन्दा नारी पात्रमा लेखिरहँदा मेरी आमा, श्रीमती, बहिनीको पीडालाई बुझिरहेको छु भन्ने लाग्छ । पूर्ण नभए पनि मैले नारी पात्रमाथि न्याय गर्ने पुरापुर कोसिस गरेको छु ।
मालिकाजी, प्रायःजसो लेखक कविता, कथा हुँदै उपन्यासमा लाग्छन् । तपाईंचाहिँ कथा, कविता नै नलेखी किन उपन्यासमा आकृष्ट हुनुभयो ?
मैले सिधै उपन्यास लेखेको होइन । म पाँच-छ कक्षातिर हुँदा माङ (आमा) को कविता हेरेर आमाको जस्तै कविता लेख्ने कोसिस गर्ने गर्दथे । फेरि छोटा लघु उपन्यास लेख्न थालें । सायद ती लेखहरु प्रकाशन नगरेर उपन्यास मात्र प्रकाशित भएकाले यहाँलाई त्यस्तो लाग्नु स्वाभाविक हो । मलाई मन पर्ने विधा कविता पनि हो । पछिल्लो पुस्ताका युवा गजलकारको गजल पनि मन छुने खालका छन् ।
मालिकाजी, तपाईंकी आमाले पनि कविता लेख्नुहुन्छ ?
लेख्नु हुन्छ भन्दा पनि लेख्नुहुन्थ्यो भन्नु पर्ला । मैले जीवनको पहिलो साहित्यिक प्रतियोगितामा आमाकै कविता वाचन गरेर प्रथम भएको थिएँ ।
तीनवटा उपन्यास लेखिसक्दा पनि तपाईंको खासै प्रचार-प्रसार छैन । तपाईंले प्रचारप्रसारमा रुचि नदेखाउनुभएको हो कि तपाईंलाई सञ्चारमाध्यमले बेवास्ता गरेका हुन् ?
एउटा वृतमा उपन्यासको चर्चा भएकै हो । हुन त म सञ्चारकर्मी साथीहरुको बीचमा नै छु र पनि मेरो बारेमा केही लेखिदिनू भनेर कहिल्यै भनिनँ । आज तपाईंले मेरो बारेमा मेरो कृतित्वको बारेमा कुरा उठाउनु’भो । भोलि अरु कोहीले पक्कै उठाउला । मेरो काम लेख्दै जानु हो, म आफ्नो कर्तव्यमा लागिरहनेछु । राम्रो लेख्न सकेको दिन चर्चा पक्कै होला ।
एउटा लेखकका रुपमा भन्दा तपाईं किन लेख्नुहुन्छ ? तपाईं लेखन संसारमा आउनुको मुख्य कारण के हो ?
कतिपय विषय यस्तो हुन्छ, जसले मनको गहिराइमा छुन्छ । त्यो विषयमा केही भन्न मन लाग्छ, केही लेख्न मन लाग्छ, तब म लेख्छु । मेरा लागि लेख्नु आफूले आफैंलाई खुसी या सन्तुष्ट पार्ने एउटा तरिका पनि हो ।
तपाईंको खास नाम प्रकाशकुमार श्रेष्ठ हो । तर तपाईंको ‘पेन नेम’चाहिँ स्त्रीको जस्तो छ । मालिका केशरी हुनुको कुनै किस्सा छ कि ? मालिका केशरीका नाममा साहित्य लेख्दा तपाईंलाई त्यस्तो कुनै समस्या पो आइलागेको छ कि ?
मलाई धेरैले गर्ने प्रश्न यही हो । एक पुरुषको नाम मालिका केशरी ! झट्ट सुन्दा स्त्रीको जस्तो सुनिन्छ पनि । बाल्यकालमा जब मैले साहित्यका पुस्तक पढ्न सुरु गर्दै थिएँ, त्यो समयमा गीता केशरी, भूतको भिनाजु जस्ता उपनाम खुबै सुन्थें । अलिक ठूलो भएपछि सरुभक्त, भूतनाथ, अकेला आदि उपनाम राखेको भेटें । सोच्थें, म पनि यस्तै कुनै कलमी नाम राखेर लेख्छु । यही लहडले नै मैले आफैंलाई नयाँ नाम दिएँ – मालिका केशरी ।
यो नामसँग जोडिएको एउटा रमाइलो घटना छ । मैले मेरो पहिलो उपन्यास ‘पुनरुत्थान’को प्रोफाइल फोटो राखेर मालिका केशरीको नाममा फेसबुकमा आईडी खोलेको थिएँ । खोल्नासाथ पुरुषहरुके यति धेरै फ्रेन्ड रिक्वेस्ट आयो कि म छक्क परें । म अनलाइनमा हुनासाथ फोन, च्याट गरिहाल्ने । तीमध्येका एक जना मेरै मित्र पनि थिए । जुन दिन मैले मेरो आफ्नो तस्बिर पोस्ट गरें, ती काम सबै बन्द भए । ती मित्र आजसम्म पनि मसँग खुलेर बोल्न सकेका छैनन् ।
साहित्यमा तपाईंको ‘रोल मोडल’ को को हुन् ? तिनका कुन-कुन गुणबाट प्रभावित हुनुहुन्छ ?
रोल मोडलभन्दा पनि म धेरै साहित्यकारको लेखनीबाट प्रभावित छु । उहाँहरुको लेखन शैलीले मलाई छोएको छ । विशेषतया बीपी कोइराला, गीता केशरी, सरुभक्त, कृष्ण धरावासी, नारायण ढकाल, नयनराज पाण्डे लगायतका साहित्यकारका लेखनीले वास्तवमै मन छोएको छुन्छ ।
तपाईंको अबको उपन्यास पनि बौद्ध दर्शनमै हुन्छ कि दायाँबायाँ लाग्ने विचार छ ?
पक्कै म बौद्ध दर्शनको विद्यार्थी हुँ । बौद्ध दर्शनमा मेरो गहिरो अभिरुचि रहेकाले पनि मेरो आगामी लेखन पक्कै यही विषयमा केन्द्रित हुनेछ । बौद्ध दर्शनलाई अझ गहिराइबाट अध्ययन गरेपछि एउटा गैरआख्यान लेख्ने योजना बनाउँदै छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।