भारतको मेघालय राज्यको सिलाङ्ग सहरमा जन्मेका गोविन्दसिंह रावतको स्थायी बसोबास काठमाडौँ हो । रावत सर्वनाम नाट्य समूहका संस्थापकमध्येका एक हुन् । रङ्गमञ्चको प्रयोग र खुलामञ्च नाटकको माध्यमाबाट नेपाली नाटकलाई विश्वरङ्मञ्चमा परिचय गराउनमा उनको योगदान अतुलनीय छ । उनले नाटक विषयमा नै विद्यावारिधि गरेका छन् ।

लामो समयदेखि क्यानाडाको टोरन्टो सहरमा बसोबास गरिरहेका रावत नेपाली साहित्यलाई विश्वव्यापीकरण गर्न अहोरात्र खटिरहेका छन् । प्रस्तुत छ, साहित्यपोस्टका लागि रावतसँग विश्वराज अधिकारीले गरेको कुराकानीकाे सम्पादित अंश;

अचेल के गर्दै हुनुहुन्छ ? के कस्तो साहित्यिक गतिविधिमा लाग्नुभएको छ ?

त्यस्तो खासै ठूलो काममा लाग्ने मौका पाएको छैन । उत्तरअमेरिकाको साहित्यको इतिहासको टिपोटपछि हाल कहिले कृति समीक्षा र भूमिका अनि भर्चुअल काव्य गोष्ठीको प्रत्यक्ष समीक्षात्मक टिप्पणीमा समय काटिरहेको छु । समय समयमा कथा लेख्ने प्रयास गर्दै आएको छु । सन् २०२२ मा अर्को कथासङ्ग्रह प्रकाशित गर्ने विचार छ ।

तपाईँ क्यानाडाको टोरन्टो सहरमा बस्नु हुन्छ । टोरन्टोमा नेपाली साहित्यिक विकासका के कस्ता गतिविधिहरू हुने गरेका छन् ?

क्यानडामा म सन् २००२ मा आएपछि यहाँ साहित्यिक गतिविधि शून्य जस्तै थियो । अनेसासको शाखा रहेको बारे सुनेको थिएँ । तर कागजमा मात्रै थियो । अनि आफैँ साहित्यकर्मी र स्रोता खोज्न थालेँ । सन् २००४ वसन्त पञ्चमीका दिन चार जना मित्रहरु मिलेर कविता वाचन गरेर ‘नेपाली साहित्य समाज’को नामबाट पहिलो साहित्यिक संस्था खोल्यौँ । त्यसपछि प्रत्येक वर्ष दुई चारवटा गोष्ठी गर्दै गयौँ । अनि विस्तारै नेपाली साहित्य समाज, क्यानडाको दर्ता गर्यौँ । नेपाली टोपी लगाएर मात्रै उपस्थित हुन पाउने गरी ‘टोपी इभेन्ट’ (सन् २०१०) कार्यक्रमको थालनी गरायौँ । अहिले अन्तर्राष्ट्रिय टोपी दिवसका रुपमा विश्वभरी मनाइन्छ । पहिलोपटक न्याग्रा फल्सको अगाडि काव्य वाचन गराएर सीमा वारस्पारी काव्य गोष्ठी (२०१८) गरायौँ । भानु जयन्तीको दिनलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रुपमा मनाउँदै आएका छौँ । ‘क्यानडाको काव्य सुसेली’ कवितासँग्रह प्रकाशित गर्यौँ । अन्य सहरमा समाजको शाखाहरु पनि खोलिन थाल्यो । अहिले समाज सक्रिय भएको छ । जन्माएको सन्तान हुर्केको देख्दा खुसी लाग्छ ।

तपाईँले नेपालभन्दा नेपालले तपाईँ खोजिरहेको जस्तो लाग्दैन ?

नेपालले खोज्नु भनेको नेपाल चलाउने व्यक्ति समूह अर्थात सरकार चलाउने दल, प्रशासनिक तन्त्र, कर्मचारीतन्त्र, सामाजिक सङ्घसंस्था, शैक्षिक, साहित्यिक, साँस्कृतिक प्रतिष्ठान आदिले आफ्नो आवश्यकता र अनिवार्यताका लागि प्रवासिएका आप्रवासीलाई खोज्नु पर्ने हो । विस. २०४६ सालको जनआन्दोदनपछि देशको उज्वल भविष्य बनाउन र विकासको क्षेत्रमा नयाँ ठोस काम गर्न विदेशिएका धेरै नै विद्वान् र कर्मठ कार्यकुशलता भएका नेपालीहरु स्वदेश फर्केका थिए । धेरैले जिम्मा पनि पाएर काम गर्दै गएका थिए । तर राजनीतिक खिँचातानी र समाजसेवकका रुपमा परिचय दिने नेता भनौंदाहरुको व्यक्तिगत र पारिवारिक स्वार्थले गर्दा २०४८ सालपछि विगत ३० वर्षमा कुनै पनि सरकारले स्थायित्व पाएको छैन । सरकारसँगै प्रशासनिकतन्त्र चल्ने हो, देशको कार्य सञ्चालन हुने हो, अनि सरकार ढल्नेबित्तिकै देशको बागडोर नै डामाडोल हुन जान्छ । सबै कार्य प्रणाली फेरबदल हुन थाल्छ । कुनै पनि निकायले कार्यकाल पूरा गर्न पाउँदैन । यस्तोमा तपाईँको योग्यताभन्दा बढी पार्टीगत चाकरी विशेषता चाहिन्छ । फर्केर गएपछि पनि तपाई यहाँ जस्तै आफ्नो सीमिततामा बस्नु पर्ने हुन्छ । त्यसैले मलाई लाग्छ नेपालले मलाई खोजिरहेको भन्ने आभाष मनले दिनासाथ म फर्कने छु ।

नेपालमा हुँदा हास्यव्यङ्गको क्षेत्रमा के कस्ता योगदानहरू पुर्याउनु भयो ?

हास्यव्यङ्ग्य नै मेरो पहिलो रोजाईको विषय हो । स्कूल पढ्दादेखि नै मलाई कुराको चुरा बनाएर हँसाउने बानी थियो । कालान्तरमा हास्य कलाकारका रुपमा मञ्चमा उपस्थिति दिन थाले । कक्षा १० मा पढ्दा एम.पी. (जे सोधे पनि एम.पी. भनेर त्यसमा आधारित उत्तर दिने) प्रहर्सन स्कुलदेखि कलेज हुँदै शिलाङ्गभरी मेरो परिचय बनेको थियो । यही एम.पी. टियुदेखि रेडियोको रसरङ्ग र प्रज्ञाको गाईजात्रा महोत्सवमा राजाको उपस्थितिमा समेत प्रदर्शन भएको र मलाई परिचय दिलाउन सहयोगी बन्यो । असीको दशकमा काठमाडौँमा हुने साँस्कृतिक कार्यक्रममा आफ्नो हास्यव्यङ्ग्य देखाउने मौका पाउँदै गए । २०४८ देखि रेडियो नेपालमा ‘दिन प्रतिदिन’ हास्यव्यङ्ग्य कार्यक्रम २०६० सालसम्म चलाएँ । रेडियो नेपालबाटै ‘गीति गन्थन’ हास्यव्यङ्ग्य गीति प्रस्तुति कार्यक्रम चलाएँ । २०३७ सालदेखि बन्द नभएसम्म रेडियोको रसरङ्ग र प्रज्ञाको गाईजात्रा महोत्सवमा सहभागी हुँदै आएको थिएँ । त्यसपछिका दिनहरुमा लाका (ललितपुर कला संस्कृति संघ) द्वारा आयोजित गाईजात्रा कार्यक्रममा भाग लिएर हास्यव्यङ्ग्य प्रस्तुति पस्कँदै आएको थिएँ । प्रजातन्त्रपछि रेडियो नेपालमा दिन प्रतिदिन कार्यक्रम सञ्चालन गर्न थालेपछि हास्यव्यङ्ग्य लेखनमा नै बढी समय लगाउन थालियो । यसै क्रममा नेपाल टेलिभिजन र स्वतन्त्र भिडियो चलचित्रका लागि स्क्रिप्टहरु लेखियो ।

नेपालको रङ्गमञ्चको क्षेत्रमा, खास गरी नाटक र सडक नाटकमा के कस्ता योगदानहरू रहे ?

भारत (शिलाङ्ग) मा मलाई सङ्गीतमा रुचि थियो र साँस्कृतिक कार्यक्रममा मेन्डोलिन बजाउने गर्थे । त्यसैबेला अभिनयप्रति पनि सौख बढ्दै गएपछि हिन्दी, अङ्ग्रेजी, नेपाली र बङ्गाली नाटक तथा प्रहर्सन गर्न थालेँ । सन् १९७५ मा तत्कालीन प्रधानमन्त्रीले लगाएको इमरजेन्सीका विरुद्ध जताततै विरोध हुन थाल्यो । शिलाङ्गका रङ्गकर्मीहरुले नुक्कड नाटकको प्रदर्शनबाट विरोध गरेका थिए । यही नाटकमा पहिलोपटक खुलामञ्च नाटकमा अभिनय गर्ने मौका पाएको थिएँ । यसका आठवटा प्रस्तुतिमा अभिनय गरेको थिएँ ।

नेपाल आएपछि नाटकप्रति नै बढी रुचि बढ्दै गयो । नाटकको निरन्तरताका लागि कीर्तिपुरमा अध्ययन गर्दै वि.स. २०३७ मा मूर्दावादमा उठेका हातहरु नाटकको मञ्चन गरेर सर्वनामको स्थापना मैले र अशेष मल्लले कीर्तिपुरको अडिटोरियम हलबाटै गरेका थियौँ । त्यसपछि सर्वनाम नाट्य संस्थाको नामबाट प्रज्ञाप्रतिष्ठानको नाटक महोत्सवमा भाग लिन थाल्यौँ । नाटकप्रति रुचि बढ्दै गएपछि नाटक महोत्सवमात्र नकुरेर अरुबेला पनि नाटक प्रदर्शन गर्न थाल्यौँ । नेपालमा प्रयोगात्मक नाटकका माध्यमबाट दर्शनलाई नयाँ स्वाद दिन थाल्यौँ । यसरी नाटक देखाउन घरघरमा गएर टिकट बेचेर खर्चमात्र उठाउने प्रयास गर्दा पनि गाह्रो भयो । त्यसबेला मैले शिलाङ्गमा गरेको नुक्कड नाटकको बारेमा छलफल भएपछि वि.स. २०४० सालमा ‘मूर्दावादमा उठेका हातहरु’ र ‘समाप्त असमाप्त’ नाटक कीर्तिपुरको कोरोनेशन गार्डनमा प्रयोगका रुपमा टियुका विद्यार्थीको उपस्थितिमा देखाएपछि काठमाडौँका विभिन्न चौक र गल्लीहरुमा देखाउदै गयौँ ।

सडक नाटकलाई सामुदायिक विकासको क्षेत्रमा ग्रामीण जनतालाई विकासका विभिन्न कुराहरुबाट अवगत गराउन तथा जनचेतना बढाउन सडक नाटकलाई माध्यम बनाएर गाँउ गाँउमा मञ्चन गर्न थाल्यौँ । तत्कालीन परिवार नियोजन सङ्घले सडक नाटकलाई माध्यम बनाएर परिवार नियोजनका बारेमा जनचेतना फैलाउने काम सर्वनामलाई दिएपछि हामी पूर्वदेखि पश्चिमसम्म जनचेतनामूलक सडक नाटक गर्दै हिड्यौँ । त्यसपछि नेपालका सरकारी, गैरसरकारी तथा अन्य अन्तर्राष्ट्रिय सङ्घ–संस्थाको म्यासेजलाई विषयवस्तु बनाएर सामुदायिक सडक नाटकको अवधारणालाई अगाडि बढाउदै नेपालभरी नै सडक नाटक मञ्चन गर्दै हिँडियो । यसै क्रममा २०४२ मा जिरीमा सडक नाटक मञ्चन गर्न जाँदा सडक दुर्घटनामा परेर झण्डै मरेर बाँचेपछि महिनौँ घरमा नै थन्किनु परेको पनि सम्झना छ । २०४६ सालपछि अरु नाट्य संस्थाहरु पनि सडक नाटक गर्न थाले । विभिन्न सरकारी–गैरसरकारी संस्थाका वार्षिक कार्यक्रममा सामुदायिक सडक नाटक राखिन थालियो । सडक नाटकले नेपालमा लोकप्रियता पाउदै जान थाल्यो ।

यसरी सडक नाटकलाई नेपालमा चिनाएपछि सामुदायिक सडक नाटकका माध्यमबाट विभिन्न गैरसारकारी तथा अन्तर्राष्ट्रि सङ्घ–संस्थाका प्रतिनिधिहरुसँग भेट्ने मौका पाएपछि अक्फोड (एशियन कल्चरल फोरम अफ डेभेलपमेन्ट) का बारेमा जानकारी पाएँ । अक्फोडले समय समयमा साँस्कृतिक अन्तक्रिया कार्यक्रम राख्ने गरेको बारे थाहा पाएपछि मैले यसको बैङ्कक कार्यालयमा सम्पर्क गरेर सामुदायिक सडक नाटकको अवधारणलाई अगाडि सारेर अक्फोडको साँस्कृतिक अन्तर्क्रियामा सहभागी बन्ने इच्छा देखाएपछि सन् १९९१ मा दक्षिण कोरियाको सिओलमा सम्पन्न समुदाय नाटकको ३ हप्ते प्रशिक्षार्थी प्रशिक्षण गोष्ठीमा सहभागी हुने मौका पाएँ । त्यहाँ मैले एकल प्रस्तुति गरेको थिएँ ।

पहिलोपटक संयुक्त नाटक एशियाको रोदन (क्राय अफ एशिया – संयुक्त नाटकमा कलाकारले आआफ्नो राष्ट्रिय भाषमा संवाद बोल्ने गर्छन् र यसमा विशेष गरेर नाटकीय शारीरिक हाउभावबाट संवाद सम्प्रेषण हुने गर्छ । मैले नेपालीमा बोलेको संवाद थाइल्याण्डका कलाकारले थाई भाषामा फर्काउँछ र यसरी नै नाटक अगाडि बढ्दै जान्छ) अवलोकन गरी संयुक्त नाटक निर्माण प्रक्रियाबारे प्रशिक्षण लिने मौका पाएँ । यो सिओलको सहभागिताले मेरो रङ्गमञ्चीय क्रियाकलापमा विश्वका अन्य मुलुकमा जाने ढोका खोलिदियो । उक्त गोष्ठीमा एशियाका विभिन्न राष्ट्रबाट आउनु भएका रङ्गकर्मी मित्रहरुसँग परिचय भएको थियो । यो परिचयलाई नेपाल फर्केपछि मैले निरन्तरता दिँदै गए । अनि आफूलाई सडक नाटकको प्रशिक्षकका रुपमा अगाडि बढाउँदै गएँ ।

सन् १९९२ मा हङकङ र ताइवानमा भएको एशियाली नाटक महोत्सवमा एकल नाटक प्रस्तुति र नाटक कार्यशाला गोष्ठी सञ्चालन गरेको थिएँ । त्यसै साल एशियन थिएटर फेस्टिभल समिति र अन्तर्राष्ट्रिय नाटक समिति (आई.डी.टी.ए.– इन्टरनेशनल ड्रामा थिएटर एशोसिएसन) को सदस्य भएर विभिन्न अन्तर्राष्ट्रिय नाटक गोष्ठी तथा महोत्सवमा सहभागी बन्ने मौका पाएँ । अक्फोडकै पहलमा सन् १९९२ मा पाकिस्तानको लाहोरमा दक्षिण एशियाली नाटक उत्सवको आयोजना भएको थियो । त्यहाँ सर्वनामबाट नाटक प्रस्तुति गरेर एउटा बेग्लै छाप बनाउन सफल भएपछि त्यसैबेला दक्षिण एशियाली नाट्य मञ्चको स्थापना गराएर संस्थापक महासचिव भएँ ।

सन् १९९३ मा बाङ्लादेशमा दोस्रो दक्षिण एशियाली नाटक उत्सवमा र कार्यशाला गोष्ठीमा सहभागी भएको थिएँ । यहीँ मैले सिओलमा अवलोकन गरेको संयुक्त नाटक एशियाको रोदन (क्राय अफ एशिया) जस्तै नाटको अवधारण अगाडि सारेपछि सिक्स्थ रिभर (छौंठो नदी) संयुक्त नाटक निर्माणमा अभिनय र संयुक्त लेखन कार्य गर्ने मौका पाएँ । दक्षिण एशियाका कलाकारहरु (भारत, नेपाल, बाङ्लादेश, पाकिस्तान, श्रीलङ्का) मिलेर सिक्स्थ रिभर संयुक्त नाटकमा अभिनय र निर्माण गरी पाकिस्तानका विभिन्न सहर र बैङ्ककमा प्रदर्शन गरिएको थियो । दक्षिण एशियाली नाटक मञ्चको संस्थापक महासचिव भएर पाकिस्तान, बङ्लादेश र नेपालमा दक्षिण एशिया नाटक महोत्सव आयोजना गर्ने मौका पाएको थिएँ । सन् १९९६ मा पहिलोपटक नेपालमा मेरो संयोजकत्वमा अन्तर्राष्ट्रिय मुक्त नाटक (ओपेन एयर प्ले) महोत्सवको आयोजना भएको थियो । दक्षिण एशियाका रङ्गकर्मीहरुको प्रस्तुतिसँगै त्यसैबेला एउटा ठूलो हुरी (द बिग विण्ड) संयुक्त नाटक निर्माणको संयोजक भएर नेपालमा पहिलोपटक संयुक्त नाटक प्रदर्शन भएको थियो । यसमा नेपाल, भारत, बाङ्लादेश, पाकिस्तान, हङकङ्ग, ताइवान, थाइल्याण्ड, फिलिपिन्सबाट कलाकारहरु र अमेरिकाको सन् फ्रन्सिसको माइम ट्रुपका नाटक निर्देशक मिलेर संयुक्त नाटकको निर्माण भएको थियो । यसको मञ्चन नेपालपछि भारत, बाङ्लादेश, पाकिस्तान, हङकङ्ग र ताइवानमा भएको थियो । यसैको सफलतापछि सन् १९९६ हङकङ्ग अर्टिस्ट एशोसिएसन र सर्वनाम मिलेर आयो गोर्खाली (हियर्स कम गोर्खाज) हङकङ्ग र नेपालका एक–एक कलाकारद्वारा अभिनित नाटक हङकङ्गका विभिन्न ठाँउमा प्रदर्शन भएको थियो । यस नाटकमा मेरा अभिनय र निर्देशन रहेको थियो ।

नाटक गोष्ठी तथा प्रस्तुतिका लागि नेपालबाहिर रहँदा विश्व रङ्गमञ्चको बारेमा अध्ययन गर्न थालेँ । अनि नेपालका केही साप्ताहिक पत्रिकामा रङ्गमञ्चको स्तम्भ लेख्न थालेँ । यसरी नै नाटकले मलाई सन् १९९५ मा हङकङमा दोस्रो एशियाली नाटक महोत्सवमा एकल नाटक प्रस्तुति र नाटक कार्यशाला गोष्ठी सञ्चालन, भारतको दिल्ली (१९९५), उडिसा (१९९६), कलकत्ता (१९९६ र १९९८) मा गएर नाटक सम्बन्धी संयुक्त नाटक गोष्ठी गर्ने मौका दियो । सन् १९९७ मा बेलायतको एक्सेटर विश्वविद्यालयको आयोजनामा एक्सेटरमा आयोजित थिएटर इन इजुकेशन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी बनेको र एकल अभिनय म भनेको हामी प्रस्तुत गरको थिएँ भने सन् १९९९ को सम्मेलनमा ‘समुदायिक सडक नाटक’ विषयक कार्यपत्रको प्रस्तुतिसँगै रामको वाण एकल अभिनय प्रस्तुत गरेको थिएँ । सन् १९९७ मा भ्रमण वर्ष नेपालको प्रचार प्रसारका लागि साँस्कृतिक समूहको नेतृत्व गर्दै फ्रान्स र जर्मनीमा साँस्कृतिक कार्यक्रम प्रस्तुति र रङ्गमञ्च गोष्ठीमा सहभागि भएको थिए । त्यस्तै १९९८ मा युनेस्कोद्वारा भारतको दिल्लीमा आयोजित दक्षिण एशियाली समुदाय नाटक कार्यशाला गोष्ठीमा नेपालबाट सहभागी र एकल अभिनय प्रस्तुत गरेको थिएँ ।

सन् २००० मा नेदरल्याण्डको बर्गेनमा आयोजिक ९आईडीटीए– इन्टरनेशनल ड्रामा थिएटर एशोसिएसनको अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एशियामा राजनीति सडक नाटकको प्रभाव शीर्षकमा कार्यपत्र प्रस्तुत गरेको थिए । सन् २००० भारतको कलकत्तामा मुक्त नाटक सम्मेलन नेपाली कलाकारको प्रतिनिधित्व गर्दै नाटक लेखन, निर्देशनसहित अभिनय गरेको थिएँ । सन् २००१ मा बङ्लादेशको आरन्य नाट्य दलको आयोजनामा कार्यशाला गोष्ठीमा सहभागी र एकल अभिनय प्रस्तुत गरेको थिएँ । सन् २००१ मा एक्सेटर विश्वविद्यालयका चार जना रङ्गमञ्च अध्ययन गर्न आउने विद्यार्थीलाई नेपालको विभिन्न स्थानमा लगेर सडक नाटक प्रदर्शनसँगै कथा वाचन (स्टोरी टेलिङ्ग) प्रस्तुति र थिएटर तालिममा सहभागी बन्ने मौका पाएको थिएँ । सन् २००२ मा हङकङ्ग र नेपालको संयुक्त आयोजनामा संयुक्त नाटक मेट्रोपोटिनको लेखन र सह–निर्देशनमा सहभागी भएर नेपालबाट दुई जना कलाकारसहित सहभागी भएको थिएँ ।

क्यानडामा २००२ मा आएपछि सन् २००४ मा क्यानडाको अटवामा आयोजिक (आइडीटीए – इन्टरनेशनल ड्रामा थिएटर एशोसिएसन)को अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक समितिको सदस्य भएर सम्मेलन आयोजनामा सहयोग गरेको थिएँ । यसरी नेपाली रङ्गमञ्चलाई विश्वमा चिनाउन र सर्वनामलाई नेपालबाहिर परिचय दिलाउन मैले महत्त्वपूर्ण भूमिका खेलेको थिए । नेपालको अस्थिर राजनीतिक परिस्थिति र सक्षम भएर पनि सही मूल्याङ्कनबाट बञ्चित हुनुपर्ने अवस्थाले गर्दा २००२ मा विदेशिनु बाध्य बनायो । परिवारसँगै क्यानडाको टोरोन्टोमा आएपछि पनि नाटकलाई निरन्तरता दिन चाहेको थिएँ । यहाँका रङ्गसंस्थासँग सम्पर्क गरेपछि यहाँको महङ्गो बक्स अफिसको (हल र निर्माण खर्च उठाउन आफैँले टिकट बेच्नु पर्ने) चलनबारे थाहा पाएपछि अगाडि बढाउने आँटै आएन । यहाँ नेपाली नाटक प्रस्तुति गर्न धेरै अप्ठ्याराहरू छन् । मुख्य कुरा बक्स अफिस अर्थात टिकट बेँच्न नै गाह्रो हुन्छ । समुदायका लागि प्रस्तुत गर्दा उपस्थिति हुँदैनन् । त्यसैले मञ्चनलाई छोडेर लेख्ने काम भने गर्दै आएको छु । ‘नेता’ नाटक सङ्ग्रह क्यानडा आएर निकालेको हो ।

नाट्य क्षेत्रमा तपाईँ जस्ता प्रतिभाहरूको नेपालमा ठूलो खाँचो छ ? के तपाईँलाई नेपाल जाऊँ जस्तो लाग्दैन ?

नेपालमा रहँदा नाटकका क्षेत्रमा काम गर्दै आएको थिएँ । आजको सङ्गीत नाटक प्रज्ञाप्रतिष्ठानको स्थापनाका लागि सङ्घर्ष समितिको अध्यक्षता गरेर तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्भाव्यताको अध्ययनको प्रतिवेदनसमेत बनाउन लगाएर बुझाइएको थियो । तर प्रतिष्ठान बनेपछि राजनीति आस्थाका आधारमा कनिष्ठ र साहित्यकारलाई समेत सङ्गीत–नाटक प्रज्ञाप्रतिष्ठानमा मानोनित गरिएको छ । यस्तो अवस्थामा तपाईँ एक्लैले केही गर्न सक्नुहुन्न । त्यहाँ राजनीतिक आस्था राख्नै पर्छ र नेताको चाकरी गर्नैपर्छ, नत्र तपाईँको प्रतिभाले मात्रै नेपालमा केही हुँदैन । तर पनि अन्ततः फर्कने भनेको मेरो गन्तव्य नै मेरो देश हो । फर्कन्छु । अवश्य नै ।

रङ्गमञ्चमा तपाईँको सक्रियता जति देखिएको छ त्यतिकै सक्रियता साहित्यमा पनि देखिएको छ । तपाईँको रुचि मुख्य रूपमा केमा छ, साहित्य वा रङ्गमञ्चमा ?

मेरो रुचि नै रङ्गमञ्च हो । साहित्य लेखन मनकाे इच्छा मात्र हो ।

तपाईँ जस्तो स्वदेशमा नै अति चर्चित व्यक्ति के कति कारणले विदेश आउनु भयो ?

मेरो प्रवास प्रवेशको कारण त्यसबेलाको नेपालमा बढ्दै गएको असुरक्षित वातावरण हरेको छ । छोरीहरु एक जना सेन्ट मेरिजमा र एक जना मोर्डन इण्डियन स्कुलमा पढ्ने गर्थे । सन् २००० तिर माओवादीको आतङ्क बढ्दै गइरहेको थियो । अरु विद्यालयभन्दा बढी यी दुई विद्यालय उनीहरुको आँखामा किन परेको होला ? थाहा छैन । कहिले पुल्चोकमा विद्यार्थीलाई ओरालेर सेन्ट मेरिजको बस जलायो त कहिले कीर्तिपुरमा मोर्डन इण्डियन स्कुलको बस जलायो भन्ने जानकारी पाएपछि त्यसबेलाको सञ्चार माध्यमको कमी भएको अवस्थामा छोरीहरु खोज्दै जानु पर्थ्यो । अनि म आफैँ पनि विभिन्न गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका लागि विभिन्न गाउँमा सामुदायिक सडक नाटकको निर्माण तथा मञ्चनसम्बन्धी तालिम दिन जाँदा धेरैपटक सरकारी निकायबाट स्पष्टीकरणका लागि बोलाइने र एक प्रकारको बौद्धिक तनाव अनावश्यक लिनुपर्ने भएको अवस्थामा मैले पनि बाहिर जाने बाटो खोज्दा क्यानाडाको इमिग्रेसनसम्बन्धी जानकारी पाएर निवेदन गरेपछि सपरिवार मई २००२ मा यहाँ आएको थिएँ ।

नेपालमा बिहान भक्तपुर क्याम्पसमा पढाउने, दिउँसो सिमिजु कर्पोरेसन (जापानी निर्माण कम्पनी) मा प्रशासक प्रमुख भएर काम गर्ने । रेडियो नेपालमा दिन प्रतिदिन साप्ताहिक हास्यव्यङ्ग्य कार्यक्रम सञ्चालन गर्ने । साँझ प्रायः नाटकको पूर्वाभ्यास र नयाँ कार्यशाला गोष्ठी आदिका बारेमा काम गर्ने गर्थे । पुरै समय व्यस्त थिएँ, र राम्रो जीवनशैली थियो । तर समय र परिस्थितिले यहाँ आइपुगेँ ।

शिलाङ्गको हिन्दी हाइस्कूलमा अध्ययनरत् रहँदा इतिहास पढाउने उपाध्याय थर भएको नेपाली शिक्षकले कक्षामा भोलि भानुजयन्ती भएकोले नेपाली विद्यार्थीहरु बिहान सात बजे विद्यालयमा भेला हुन सूचना गर्नु भएको थियो । त्यसबेला सायद म कक्षा आठमा अध्ययन गर्दै थिएँ । स्कूलबाट बिदा पनि पाउने भएकोले भोलिपल्ट बिहान स्कूलमा धेरै नै विद्यार्थीहरु जम्मा भएका थियौँ । सरले हामीलाई लामबद्ध गरेर अगाडि दुई जनालाई भानु जयन्तिको ब्यानर समात्न लगाएको र तीन चार जनाको हातमा भानुभक्तको फ्रेममा राखिएको फोटोसहित त्यहाँबाट हिँड्दै गाडीखानामा रहेको गोर्खा पाठशालामा आयौँ । त्यहाँ पहिलोपटक नेपाली कवि गोष्ठीमा उपस्थित भएर कविताको अनुभव गरेको थिएँ । त्यसै वर्ष विद्यालयमा भएको तुलसी जयन्ती (गोस्वामी तुलसी दास) मा हिन्दी कविता सुन्ने मौका पाएको थिए । अनि अर्को वर्ष तुलसी जयन्तीमा विद्यार्थीबाट कविता वाचन गर्न चाहने विद्यार्थीको नाम सङ्कलन गर्दा मैले पनि आफ्नो नाम टिपाएको थिए । अनि तुलसी दिवसका दिन ‘जब जब साउनका महिना आयो …..’ भन्ने कविता सुनाएको थिए । त्यस वर्षपछिका भानुजयन्तीमा यसरी नै प्रभातफेरी गरेर विभिन्न स्थानमा खोलिएका गोर्खा पाठशालामा पुगेर गोष्ठीमा सहभागि बन्दै गए । मलाई लाग्छ भानुजयन्ती र तुलसी जयन्तीमा अरुले वाचन गरेको कविता सुनेर मेरो मनबाट पनि कविता निस्केको हुनुपर्छ ।

त्यसपछिका दिनहरुमा शिलाङ्गका नेपाली समुदायसँग सम्पर्क बढ्दै जान थाल्यो । ‘नेपाल सङ्गीत कला’ र सर्वोदय साँस्कृतिक सङ्घ साँगीतिक समूहसँग आबद्ध भएर साँस्कृतिक कार्यक्रमहरुमा मेन्डोलिन बजाउन थाले । कवि गोष्ठीको उपस्थितिले गर्दा मैले हिन्दीमा लेख्न थाले र पत्रिकामा प्रकाशित पनि हुन थाल्यो । नेपाली समुदायले विभिन्न चरणमा आयोजना गर्ने कविता गोष्ठीमा सहभागिता पनि बढ्दै जान थाल्यो । त्यसबेला गोपीनारायण प्रधान, कृष्णप्रसाद ज्ञवाली, भुपेन्द्र अधिकारी, टि.बि. कार्की, जगतबहादुर प्रधान, मोहन श्रेष्ठ, ध्रुव थापा आदि धेरै कविहरुका कविता सुनेको सम्झना छ । सन् १९७७ मा मित्र–मण्डली नामक नेपाली संस्थाको अध्यक्ष भएर साहित्यिक गोष्ठी र साँस्कृतिक कार्यक्रमहरुको आयोजना पनि गर्दै गए । त्यसपछि नेपाली भाषा साहित्यप्रति रुचि बढ्दै गएपछि अर्थशास्त्रमा स्नातक गरेपछि स्नातकाेत्तरको अध्ययन बीचमा नै छोडेर म नेपाली पढ्न त्रिविवि, कीर्तिपुर क्याम्पस भर्ना भएँ । कान्ति छात्रावासमा बस्दा विज्ञानका विद्यार्थी कमल कोइरालासँग भेट भयो । उहाँ छात्रावास समितिको साहित्य तथा साँस्कृतिक संयोजक हुनुहुन्थ्यो । छात्रावासबाट प्रत्येक शुक्रबार कोरोनेशन पार्कमा रहेको स्पोट्र्स क्लबमा कविता वाचन कार्यक्रम हुँदो रहेछ । कमलजीले मलाई पनि कविता लेखेर ल्याउनुपर्छ भनेपछि मैले नेपालीमा कविता लेख्न थाले । मेरो लेखनमा उनको योगदान पनि महत्त्वपूर्ण रहेको छ ।

तपाईँले के विषयमा विद्यावारिधि (पिएचडी) गर्नुभएको हो ?

मैले ‘विश्व रङ्गमञ्चमा सडक नाटकको प्रयोग’मा विद्यावारिधि गरेको हुँ ।

टोरन्टोका साहित्यिक होस वा गैरसाहित्यिक, त्यहाँका अनेक किसिमका गतिविधिहरूमा अति सक्रिय भएर संलग्न रहनुभएको पाइन्छ । यसरी विभिन्न गतिविधिमा संलग्न हुन के कुराले प्रेरित गर्छ ?

सानैदेखि नै समुदायको अगाडि हुर्केबढेकोले होला सङ्घसंस्थामा सधैँ नै संलग्न रही रहन मन पर्छ । तर पदको लागि हानाथाप गर्नेतिर भने कहिल्यै लागिनँ । क्यानडा आएपछि नेपाली साहित्य समाज, टोरन्टो, गैरआवासीय नेपाली सङ्घ क्यानडा, पशुपतिनाथ नेपाल साँस्कृतिक सङ्घ, नेपाल क्यानडा हेरिटेज सेन्टर (पशुपतिनाथ मन्दिर) आदिको संस्थापक भएर काम गर्ने मौका पाएँ । तर कहिल्यै पनि कुनै पदका लागि प्रतिस्पर्धा गरिएन । आज पनि म सबै संस्थाका लागि काम गरिरहेको छु ।

विदेशमा मानिस मुख्यगरी धन कमाउन आएको अनुभव गरिएको छ । तर तपाईँ त बढी समाजसेवामा नै लाग्नुभएको देखिएको छ। यस्तो किन होला ?

मैले माथि नै विदेश पलायन हुनुपरेको बारे भनिसकेको छु । धनभन्दा पनि मन कमाउन आएको हो । छोरीहरुलाई सुरक्षित र राम्रो शिक्षा दिएर उनीहरुको मन कमाउन । समुदायलाई चाहेको बेलामा आफूले जानेअनुसारले सहयोग गरेर उनीहरुको मन कमाउन । नेपालमा बिहान निस्केपछि रातीमात्रै घर फर्कनु पर्ने व्यस्तता थियो । आज म परिवार (श्रीमती) लाई धेरै समय दिएर उनको मन कमाउन आएको जस्तो लाग्छ । पैसा त नेपालमा पनि तीन–चार ठाउँमा काम गरेर कमाइरहेको थिएँ ।

अर्को कुरा, नेपालमा धन कमाउनु पर्ने मुख्य कारणमा सन्तानको शिक्षादीक्षा र स्वस्थ्य उपचारका लागि हुने गर्थ्यो । क्यानडा आएपछि यी दुवै कुराका बारेमा मैले सोच्नै परेन । यहाँको सरकारले धेरै कमाएर मात्तिनु पनि दिँदैन र कमाइ नभएर भोकै मर्न पनि दिँदैन । यसलाई भनिन्छ वास्तवमा समाजवाद । त्यसैले म धन कमाउनुभन्दा पनि शान्तिपूर्वक बिनात्रास बस्न आएको हो ।

लामो समयसम्म हिन्दीमा व्यङ्ग्य साहित्य लेख्नु भयो । अहिले किन चटक्क छाड्नु भयो ?

मैले हिन्दी चटक्कै छोडेको छैन । कहिलेकाहीँ हिन्दीमा पनि लेख्ने गर्छु । तर बढी लेखन नेपालीमा नै हुन्छ ।

नेपालमा लामो समयसम्म (२०४२ देखि २०६६) प्रध्यापन गरेर फेरि यो पेसा किन चटक्क छाड्नु भयो ?

मलाई नेपाल छोडेर आउनु पर्ने भएपछि मैले केही वर्षको आप्रवास विचरणपछि फेरी नेपालमा नै प्राध्यापन गर्न जानेछु भन्ने विचारले टोरन्टोमा आएपछि परिवारलाई छोडेर म नेपालमै फर्केँ । प्रारम्भदेखि नै मैले आफ्नो विदेशमा हुने प्रत्येक कार्यक्रममा सहभागी हुँदा त्यहाँको र विश्वरङ्गमञ्चका बारेमा अध्ययन गर्ने गर्थेँ । त्यहाँ रहेको पुस्तकालयमा गएर नाटकको उत्पत्तिका बारेमा पढ्ने गर्थे । त्यसैले टोरन्टो आएपछि नेपाल फर्कनअघि टोरन्टो विश्वविद्यालयको (यु एफ टी) नाटक शाखामा गएर त्यसबेलाका प्रमुखलाई (नाम बिर्सेँ) भेटेर मेरो विद्यावारिधि गर्ने इच्छा रहेको भनेर मैले ‘ओपन एयर थिएटर अफ साउथ एशिया’ सम्बन्धी बनाएको शोधप्रस्ताव (रिसर्च प्रपोजल) बुझाएर नेपाल फर्केको थिएँ । मेरो विषय नौलो, अझ भनौँ, आजसम्मकै पहिलो थियो । प्रमुखलाई प्रपोजल मन पर्यो । म नेपाल फर्केपछि उता विद्यावारिधि गर्नेबारे बताएपछि मेरा केही मित्रहरुले ढिलोचाँडो माओवादी जनयुद्ध समाप्त भएपछि देशमा फेरि जनताहरु बिनाडरत्रास बस्न सक्छन् । विदेशमा पलायन भएकाहरु फर्कन्छन् । त्यसैले मैले मेरो विद्यावारिधि नेपालमा दर्ता गराएर यहीँ बुझाए भने मेरो सेवा निरन्तर रहन्छ र म फर्केपछि मैले पेन्सन पनि पाउँछु अनि आरामले बस्न सकिन्छ भन्ने सल्लाह दिएपछि मैले मुनासिव लागेर विद्यावारिधिको लागि त्रिविविमा नै दर्ता गराएर विभिन्न अन्तर्क्रिया कार्यक्रममा सहभागी भएँ । मेरो विषय ‘विश्वरङ्गमञ्चमा सडक नाटक’ भएकोले विश्वका विभिन्न मुलुकहरुको नाटकका बारेमा अध्ययन गर्दै नाटकको व्युत्पक्ति र खुलामञ्च परम्पराका बारेमा अध्ययन गर्नुपर्ने भएकोले नेपालमा सामग्रीको अभाव पनि थियो । त्यसैले क्यानडामा गर्ने निर्णय गरेँ ।

क्यानडा फर्केपछि यसबारे युएफटी, नाटक विभागका प्रमुखसँग कुरा गरेँ । उनले एकपछि अर्को विद्यालयमा विद्यावारिधिका लागि दर्ता गर्न मिल्छ तर एकै समयमा मिल्दैन र यदि यहाँबाट गर्ने हो भने पहिला नाटकमा एम.एस.को अध्ययन पूरा गर्नु, त्यसपछि विद्यावारिधिलाई दर्ता गर्न सकिन्छ भन्ने जानकारी दिए । मैले केही वर्षमा फर्कने हो, त्यसैले नेपालमा नै गर्ने निधो गरेँ । यही कुरा प्रमुखलाई भनेर त्यहाँको नाटक विभागबाट मलाई सहयोग चाहिएमा त्रिविविबाट एउटा पत्र ल्याउनु र सहयोग गर्छु भनेपछि मैले सोहीबमोजिम युएफटीको सल्लाह सहयोगमा विद्यावारिधि यहीँबाट लेखेर त्रिविविमा बुझाएको थिएँ । त्यसैले यो पढाउने पेसा छोडे पनि आज पनि म सक्षम छु । विशेष गरेर खुलामञ्च नाटकको विषयमा । नेपाली भाषामा विश्वका विभिन्न मुलुकको रङ्गमञ्चीय गतिविधिका बारेमा पहिलोपटक लेखिएको छ । यसमा नेपाली रङ्गमञ्चको उत्पत्ति, विकास र बिस्तारलाई विस्तृत रुपमा अध्ययन अनुसन्धान गरिएको छ । मेरो शोधग्रन्थलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको छ ।

कुनै यस्तो कार्य छ जुन गर्न नपाएर आफूलाई ग्लानि भएको अनुभव गर्नुहुन्छ ?

मलाई चलचित्र बनाउने इच्छा छ । नेपालमा रहँदा चलचित्रमा खेल्ने मौका नपाएको हैन । तर त्यसबेला नाटकमा यसरी तल्लीन भएर लागियो कि चलचित्रतिर इच्छा नै लागेन । हुन त मैले केही टिभी चलचित्र र सिरियलमा अभिनय गर्नुका साथै निर्देशन पनि गरेको छु । त्यस्तै सामुदायिक विकाससम्बन्धी भिडियो चलचित्रका लागि आलेख लेख्ने र निर्देशन पनि गरेको छु । अनि अरुका लागि केही टेलीचलचित्रको स्क्रिप्ट पनि लेखिदिएको छु । चलचित्रमात्रै छुटेको छ । त्यो गर्न चाहन्छु । यहाँबाट रिटायर भएर गरिएला कि ?

अहिले नेपालीहरू जुन गतिमा विदेशिइरहेका छन्, त्यो नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकासको लागि ठिक हो ?

यो दैनिक पलायन हुनुपर्ने मनस्थिति र पलायन हुनका लागि लाखौँ खर्च गर्न तयार रहने श्रृंखला राम्रो हैन । तर के गरुन त ? नेपालमा खै त शान्तिपूर्ण तरिकाबाट शिक्षा आर्जन गर्ने वातावरण ? खै त बिनासोर्सफोर्स जागिर पाउने र योग्यताका आधारमा बढुवा पाउने वातावरण । खै त स्वच्छ तरिकाबाट व्यापार गर्ने वातावरण ? यो कोभिडकालीन महामारीमा जनताले मात्रै दुख भोगेको अलिखित तथ्याङ्क देखिन्छ । विदेशी मुलुकले आगमनका लागि स्वीकृति दिनेबित्तिकै लाखौँ युवाहरु निस्कन तयार भएर बसेका छन् । सरकारको रणनीतिले गर्दा देशको आर्थिक, सामाजिक, राजनीतिक विकास हुन सकेको छैन । राजनीतिक अस्थिरता र नेताहरुमा देखिने पदलोलुपताले गर्दा नेपालीहरु विदेशिनु बाध्य हुनुपरेको छ । शिक्षित वर्गका युवाहरुले देशको नेतृत्व नगरेसम्म पलायनवादले निरन्तरता पाउँदै जान्छ जस्तो लाग्छ मलाई ।

धन ठूलो हो कि ख्याति?

ठूलो त ख्याति नै हो नि । तपाईँको विशेष प्रतिभाले ख्याति दिलाउँछ । धनले दिन सक्दैन । यही ख्याति पाउन विदेशमा व्यापार गरेर ग्राहकमा बीचमात्र चिनिनेहरुले एनआरएन नामको संस्था खोलेर विश्वभर परिचित भएर ख्याति कमाएको उदाहरण नै छ नि । हामीले धनीहरुलाई उनीहरुले निर्माण गरेको ब्राण्डका नामबाट मात्रै चिन्दै आएका छौँ । तर प्रतिभाबाट ख्याति पाएकाहरुको परिचय घरघरमा पुगेको छ । यहीँ ख्याति पाउन अहिले एनआरएनमा हानाथाप चलेको छ । लाखौँ करोडौँ खर्च गरेर एनआरएनको चुनाव लड्ने गर्छन् । ती सब किन चाहियो ? सबैका बीच परिचित हुन हैन र ? तर प्रतिभाबाट ख्याति भएकाहरुलाई धन खर्चनु पर्दैन । त्यसैले मेरो विचारमा ख्याति नै ठूलो ।

के थप भन्न चाहनु हुन्छ?

मलाई आप्रवासी नेपाली साहित्यको इतिहासमा काम गर्ने इच्छा छ । मैले सन् २०१३ मा नै एघारवटा राष्ट्रको साहित्यिक गतिविधिका बारेमा सामग्री सङ्कलन गरिसकेको थिए । तर संस्थागत रुपमा सहयोग पाउन सकिनँ । नेपाली सहित्यको विश्वदर्पण निकाल्ने इच्छा छ । यसमा सबैको सहयोग चाहिन्छ । यसैलाई भविष्यको योजना मान्नु पर्ला ।

भानुभक्तको रामायणले हामी सबैलाई नेपालीपनको आभाष दिएको छ । भानुभक्तको योगदानलाई हामीले जयन्तीमात्र मनाएर हुँदैन । भानु जयन्तीको दिनलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसकाे रूपमा मनाउनु पर्छ भनेर मैले अनेसासका सन् २०१२ को डिसी सम्मेलनमा भनेको थिएँ । तर कसैले सुनेनन् । अन्ततः सन् २०१७ मा एनआरएनको भाषा सहित्य समितिले मलाई उत्तरअमेरिकाको संयोजक बनाएपछि भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रूपमा मनाउनु पर्छ भनेर बल्ल सन् २०१८ देखि मनाउन थालियो । त्यो पनि एनआरएनको भाषा साहित्य उपसमितिले मात्र । यसमा पनि सबैको एकमत नभएको देख्दा अचम्भ लाग्छ । नेपाली भाषा साहित्यका सेवक भनेर परिचय दिन्छन् । नेपाली संस्थामा पद लिएर बस्छन् । तर घरमा नै आफ्ना सन्तानसँग अङ्ग्रेजीमा कुरा गर्छन् । यो कस्तो भाषा सेवा हो ? हेर्नुस, भानुभक्त र बङ्गाली साहित्यकार रबिन्द्रनाथ टैगोरका बीचको भिन्नता । भानुभक्तको जन्म १३ जुलाई १८१४ मा भएको थियो भने रविन्द्रनाथ टैगोरको जन्म ७ मई १८६१ मा भएको थियो । भानुभक्त टैगोरभन्दा जेठो भएर पनि पहिला नेपाली शासक र पछिका दिनहरुमा नेपाली समाजले उनका लागि केही गर्न सकेको देखिँदैन । भारतमा भानुजयन्तीका दिन नेपाली भाषाका विद्यालयहरु बन्द रहन्छ । तर नेपालमा हामी कक्षाभित्र हुन्छौँ । टैगोरका रचनाहरु विश्वभरी फैलाइएको छ । उनको जन्मजयन्ती मेलाका रुपमा मनाइन्छ । टैगोर साहित्य महोत्सव मनाउने गरिन्छ । तर खै त भानुभक्तका बारेमा काम गर्ने संस्था ? कवि गोष्ठी गरेरमात्र भानु जयन्ती मनाएर हैन, भानुलाई विश्वव्यापी रुपमा चिनाएर भानु जयन्ती मनाउन सक्नु पर्छ । हामीले हाम्रा अग्रजलाई चिनाउन सकिरहेका छैनौँ भने हामी आफ्नो परिचय कसरी खोज्ने ?