संयुक्त अधिराज्यको लन्डन सहरमा बसोबास गर्नुहुने डा. कृष्ण उपाध्यायको जन्मथलो भने इलाम हो । तर उहाँको बाल्यकाल र स्कले जीवन असम (भारत) मा  बित्यो ।  १९८४ पछि नेपालमा एम्नेस्टी इन्टरनेसनल पुनक्रियाशील गर्ने युवाहरूमध्येका एक उपाध्यायले सन् १९९१ देखि निरन्तर मानवाधिकारको क्षेत्रमा संलग्न रहेर काम गर्दै आउनुभएकाे छ ।  इन्सेकलगायत नेपालका विविध सङ्घसङ्गठनमा आबद्ध संस्थामा काम गर्नुभएका उहाँ बेलायतस्थित संसारकै सबैभन्दा पुरानो संस्था एन्टिस्लेभर इन्टरनेसनलमा करि १२ वर्ष संलग्न भएपश्चात् युरोपका अन्य मुलुकहरूमा पनि मानवाधिकारको क्षेत्रमा सक्रिय रहनुभएकाे छ । उहाँले मानवाधिकारको क्षेत्रमा विद्यवारिधी (पिएचडी) समेत गर्नुभएको छ । विद्यावारिधीको विषय ‘International Humanitarian Law and Vulnerability: The Tharu Experience of Nepal’s Internal Armed Conflict 1996-2006) रहेकाे थियो ।

मानवाधिकारको क्षेत्रमा क्रियाशील भएरै पनि उहाँ पछिल्लो समय साहित्यमा पनि क्रियाशील हुनुहुन्छ ।  प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले डा. कृष्ण उपाध्यायसँग गरेको कुराकानीकाे सम्पादित अंश;

तपाईँको मुख्य कार्य क्षेत्र के हो? अहिले कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ?

लामो समयपछिको मानवअधिकारको क्षेत्रमा नेपाल र नेपालबाहिर काम गरेका कारणले म सधैँ त्यही क्षेत्रमा काम गरी रहेको छु ।  पछिल्ला वर्षहरूमा नियमित कामको साटो विभिन्न अन्ताराष्ट्रिय सङ्गठनहरूका लागि कन्सल्टेन्सी गरिरहेको छु, विशेष गरी मेरो पिएचडीपछाडि ।  पछिल्लो अवधिमामा वासिङ्गटनस्थित ‘गुदविभ इन्टरनेसनल’ का लागिमा नेपालका इट्टाभट्टाको श्रमिकहरूको बीचमा अनुसन्धान गरेँ, कार्यक्रम बनाएँ, कार्यक्रम परीक्षण गरेँ र अनुगमनको विधि र प्रक्रिया तर्जुमा गरेर बेलायत फर्केको एक महिनामै कोरोनाले बन्दी बनायो तर पनि आफ्नो विषयसँग सम्बन्धित कन्सल्टेन्सी गरिरहेको छु ।  कोरोना अवधि मेरो लेखनको अवधि रह्यो ।  मैले ‘जदौ काठमाण्डू’ भन्ने कवितासङ्ग्रह प्रकाशित गरेँ, ‘प्रथम पुरुष’ (२०१४) लाई संशोधन गरेँ र तेस्रो संस्करण प्रकाशित गरेँ र ‘द घोस्ट्स इन द हिल्स’ नामक अङ्ग्रेजी उपन्यासमा पूरा समय दिएर लेखेँ र हाल यो अमाजनमार्फत बजारमा आएको छ ।  अहिले ‘नेपालको मानव अधिकारको इतिहास’ सम्बन्धी एउटा अनुसन्धानको तयारीमा छु ।

डा. कृष्ण उपाध्याय

तपाईँले लेख्नु भएको “द घोस्ट इन द हिल्स’ नाम गरेको उपन्यास अहिले नेपालभित्र मात्र होइन, बाहिर पनि निकै चर्चामा छ । यो उपन्यासमा के त्यस्तो विशेष कुरा उल्लेख गर्नुभएको छ ? अलि विस्तृतमा भनिदिनुहुन्छ?

यो उपन्यास निस्केको भरखर एक महिना भएको छ, तर नेपाली र अङ्ग्रेजी मेडियामा यसका बारेमा अमेरिका, बेलायत, अस्ट्रेलिया, नेपालमा प्रशस्तै समचार आए र  केही विवेचना पनि भयो ।  भारत, नेपाल र लगायत केही मुलुकमा पुस्तक चर्चा भए (book review ) पनि भए ।  अहिले पनि यो धेरै पाठकको हातमा पुगेको छैन ।

यो पुस्तक माओवादी आन्दोलनमा सरिक गराइएकी एक जना दलित बालिकको कथा हो ।  पहिलो कुरो त यो साहित्य हो त्यसैले पात्रहरू माओवादी आन्दोलनका प्रमुख पात्र होइनन्, यहाँ त्यो बेलाको नेतृत्व र आन्दोलनका प्रवृत्तिको सटिक वर्णन छ, गाउँमा भएका  भूमिसम्बन्धी द्वन्द्व र त्यससँग सम्बन्धित हिंसात्मक घटना छन्, द्वन्द्वमा बालबालिकाहरू कसरी संलग्न भए भन्ने र उनीहरूको युद्धमा सरिक हुँदाको कथा छ ।  दोस्रो, यो माओवादी आन्दोलनका समय (Timeline)  र तथ्याङ्क र तथ्यपरक छ तर घटनाहरूको पूर्णवर्णन भने काल्पनिक छन् । तेस्रो, यसले   त्यसबेलाका माओवादीको  आन्तरिक पक्षहरूलाई  उजागर गर्छ ।  चौथो, यो कथाकी नायिका जानकी भन्ने बालिकाले देखेको र भोगेको कथा हो, उसले गरको विद्रोहको कथा हो, सुराकीको कथा हो, बारमा काम गर्ने केटीहरूको कथा हो, जनतामा आधारित पत्रकारिताको कथा हो अनि हो जो सुकै भए पनि विभेद गर्ने, भ्रष्टाचार गर्ने, प्रकृतिको दोहन गर्नेहरूको विरुद्ध जानकीको कथा ।   पाचौँ, नेपालको भूमि व्यवस्थाबारेमा हामी सबैसँग रहेको केही भ्रमको उत्खनन र निवारण पनि हो कथाका रूपमा । छैटौँ, साहित्यका रूपमा, नेपालको यो कालखण्डलाई समेट्दा युद्ध र द्वन्द्वका दुवैको बीचको निष्पक्ष वर्णन पनि हो । सातौँ, माओवादी युद्धको उपादेयताका बारेमा नायिकाको सरल तर यक्ष प्रश्नहरूको उसका युद्धोत्तर गतिविधिहरूको गाथा पनि हो ।

तपाईँले लेख्नुभएको उपन्यासद घोस्ट इन द हिल्स” अङ्ग्रेजी भाषामा छ । विश्व प्रसिद्ध “बिक्री वेबसाइट” एमेजनमा उपलब्ध छ । नेपाली साहित्य विश्व बजारमा सजिलै बिक्री हुन सक्ने सम्भावना कस्तो छ ?

तथ्यगत रूपमा हेर्दा, अहिलेको विश्व बजारका पहिलो उपभोक्ताहरू नेपालबाहिरका नेपालीहरू पनि हुन् ।  स्वाभाभिक रूपले नेपालसँग सम्बन्धित नेपाली, नेपाली इतिहाससँग सम्बन्धित साहित्य सिर्जना उनीहरूका लागि आकर्षण हुन सकछ ।  तथ्याङ्क त्यति भरपर्दो नभए पनि नेपालबाहिर विकसित मुलुकमा कम्तीमा २ लाख यस्ता नेपाली परिवार बस्छन ।  सूचना प्रवाह हुने हो  भने र बीस प्रतिशत परिवारले मात्र किन्ने हो भने नेपाली साहित्यका उपभोक्ता नेपाल बाहिर कम देखिँदैनन् ।  त्यसबाहेक नेपालसँग चासो राख्ने गैरनेपालीहरू पनि यसको उपभोक्ता हुन सक्छन् तर फेरि बजारीकरणको समस्या नै रहन्छ ।  सूचना पुऱ्याउने उपाय हामीसँग छैन ।  त्यसैले अहिले समस्या भनेको सूचना प्रवाहको हो ।  नत्र राम्रा रचना जसले पनि पढ्छ, ऊ साहित्य अनुरागी हो भने ।  यो मेरो उपन्यासको मात्र होइन सबैमा लागु हुन्छ तर साहित्य रचना जाडाको ज्याकेटजस्तै रातारात जाँदैन । यसको गति अलिक धिमा हुन्छ जस्तो लाग्छ,  केही प्रचारित पुस्तकहरूबाहेक ।

नेपालमा उपलब्धताको समस्या छ ।  नेपालका लागि मूल्य पनि अलि धेरैजस्तो हुन्छ ।  त्यसका लागि केही विशेष व्यवस्था गर्नुपर्दछ ।

अन्तर्वार्ताकार- विश्वराज अधिकारी

तपाईँको एक कवितासङ्ग्रहको नामप्रथम पुरुष’ रहेको छ । प्रथम पुरुष भनेको के हो वा यो के को विम्ब हो?

प्रथम पुरुष हेर्दा अलिक गाह्रोजस्तो देखिन्छ ।  जसरी पढ्दा पनि यसको अर्थ आउँछ ।  यो ‘पहिलो प्रेम’ का रूपमा पनि पढ्न पाइयो ।  हाम्रो पूर्वीय दर्शनको आँखाले हेर्दा ‘आदिपुरुष’ का रूपमा  हेर्दा पनि  भयो ।  टुक्रा टुक्रा कथाको वर्णनको रूपमा प्रस्तुत यो सङ्ग्रह भए पनि एउटै विषय र तिनै पात्रको वरिपरि घुमिरहन्छ, सबै अवस्थामा ‘प्रथम पुरुष’ प्रथम प्रेम (एक मात्र प्रेम ) को रूपमा पनि आउँछ, परम पुरुष/आदि पुरुष/ब्रह्म  को रूपमा पनि आउँछ ।

आफ्नो एक कवितासङ्ग्रहको नाम तपाईँलेजदौ काठमाण्डू’ राख्नुभएको छ । जदौ शब्दको प्रयोग कुनै खास सन्दर्भमा गर्नुभएको हो?

यहाँ ‘जदौ’ ‘काठमाण्डू’ लाई गरिएको छ, ‘काठमाडौँ’ लाई होइन ।  ‘काठमाण्डू’ पुरातन हो भने ‘काठमाडौँ’ वर्तमान हो ।  जदौ अभिवादन हो पहिलेको तर यो असमान भाव छ यसमा, त्यसबेलाको असमान भावको (‘विष्ट’ लाई गर्ने) अभिवादनको सट्टा यहाँ ‘बाई बाई’ गरिएको भावमा जदौ शब्दले   त्यो परम्परा बोक्ने र निराश लाग्ने त्यो ‘काठमाण्डू’ लाई अभिवादन गरिएको छ र बिदा मागिएको छ ।

तपाईँद्वारा रचित दुई कवितासङ्ग्रहहरूजदौ काठमाण्डूप्रथम पुरुषनिकै चर्चामा छन तपाईँ आफ्ना कविताद्वारा पाठकहरूलाई केही सन्देश दिन चाहनुहुन्छ? वा तपाईँका कविताहरू स्वयंको आत्मसन्तुष्टिका लागि लेखिएको हो?

मेरो ‘प्रथम पुरुष’ र ‘जदौ काठमाण्डू’ दुइटा फरक प्रकृतिको लेखन हो ।   ‘जदौ काठमाण्डू’ कवितासङ्ग्रह हो प्रायः, अलिक सरल पनि छन् कविताहरू ।  केही एक अर्कासँग सम्बन्धित छन् तर धेरै छैनन् ।   ‘प्रथम पुरुष’  लाई पनि मैले ‘सङ्ग्रह’ नै भनेको छु तर यो एउटै विषय र पात्रलाई आधार बनाएर त्यो काव्यधारा बगेको छ । त्यसअर्थले प्राध्यापक लक्ष्मण गौतमले यसलाई खण्डकाव्य भन्नुभएको छ ।  मैले पनि यसलाई यसैगरी लिने गरेको छु ।  सरल भाषामा मैले यो एउटै कविता हो भन्ने गरेको छु ।  मैले भन्नुपर्दा मेरो काव्यलेखन प्रवृत्ति ‘प्रथम पुरुष’ नै हो ।  त्यो पढ्नेले मेरो पृथक् शैली र प्रयोग देख्न सक्नुहुनेछ । मेरा आगामी काव्यिक यात्रामा पनि यस्तै प्रवृत्ति रहिरहने छ  ।

दुवै आत्मसन्तुष्टिकै लागि लेखिएको हो तर त्यो विषयको उठान गर्दा अरूलाई पनि केही आनन्द दिन सकिन्छ भन्ने भाव रहेको हुन्छ ।  मैले लेख्दा त्यही भाव राखे । ‘प्रथम पुरुष’ले प्रेम र आध्यात्म चेत— चित्, अचित् र ईश्वर—को बारेमा  केही जिज्ञासा राख्छ ।  त्यही जिज्ञासामा आएको चेत पाठकसम्म लाने कोसिस गरेको छु, आधुनिक सन्दर्भमा ।

तपाईँका कविताहरू बुझ्नका लागि पहिले पढ्नुपर्छ, त्यसपछि मनन गर्नुपर्छ अनि त्यसपछि चिन्तन गर्नुपर्छ । अध्ययनका यी प्रक्रियाहरू पार गरेर तपाईँका कविताहरू सामान्य पाठकहरूका लागि बुझ्न गाह्रो हुँदैन ? तपाईँका कविताहरूमा विम्बको प्रयोग अत्यधिक मात्रमा भएको पाइन्छ । ज्यादै विम्ब प्रयोग गर्दा वा कविता सरल नहुँदा सामान्य पाठकहरूलाई तपाईँद्वारा लिखित कविताहरू बुझ्न (अर्थ लगाउन) कठिन हुन सक्छ । सामान्य किसिमका पाठकहरूले पनि बुझ्न सक्ने किसिमबाट पनि किन कविताहरू नलेख्नु भएको?

यदि त्यस्तो अनुभव गर्नुभएको छ भने मैले लेखकीय सन्तुष्टि पाएँ भन्ने अनुभव हुन्छ ।  अझ त्यो अध्ययन, मनन, चिन्तन फरक फरक कोणबाट भएछ भने झन् राम्रो ।  मलाई लाग्छ सबै पाठकहरूले सबै किसिमका कविता मन पराउनु हुन्न ।  जसलाई यसखाले मन पर्छ वहाँहरूले दुःख गर्नुहुन्छ र स्वाद लिनुहुन्छ । मलाई लाग्छ कविताका पाठकहरू प्रायस काव्यको कला पक्ष पनि मन पराउनुहुन्छ, त्यस्ता पक्षको खोजी सरल गीतमा त गर्नुहुन्छ ।  त्यसैले त्यति अप्ठ्यारो नहोलाजस्तो लाग्छ ।

तर तपाईँले भन्नुभएको कुरा सत्य हो । कहिले कहिले अलिक अप्ठ्यारा शब्द परे भने झिँजो लाग्छ पढ्न तर म जस्ता विषयहरूमा लेख्छु, त्यसमा बाहिरी अर्थ  उस्तै लागे पनि त्यसको  फरक शब्द प्रयोग गर्दा त्यसको भाव पक्ष अलिक समृद्ध हुन्छ जस्तो लाग्छ र अलिक सलील होला जस्तो लाग्छ ।

दोस्रो प्रश्नमा म के भन्न चाहन्छु भने, त्यो मेरो त्यो पक्ष अलिक सचेत रोजाइ हो ।  मलाई लाग्छ विम्बले, शब्दध्वनिले कविता समृद्ध बनाउँछ ।  विम्बहरू हाम्रा संस्कृतिका पुँजी हुन् ।  मलाई लाग्छ, आजका पाठक सबै सचेत हुनुहुन्छ, जो कविता पढ्नुहुन्छ वहाँहरू बुझ्नुहुन्छ । कहिले कहिले शब्दहरू अलिक कम प्रयोग हुने खालको हुन्छ तर खोज्यो भने त्यसले दिने अर्थ हुन्छ त्यसले भावमा प्राण भर्छ । एउटा कवितामा मैले ‘कैलाशकी कौतुकी’ भन्ने शब्द प्रयोग गरेको छु, त्यो नगर्दा हुन्थ्यो, जिज्ञासु अर्थ लाग्ने अर्कै सरल शब्द राख्दा हुन्थ्यो नि ।  ‘कैलाशकी  कौतुकी’ त पार्वती हुन्, उनी महादेवलाई प्रश्न गर्ने र त्यसपछि त्यस विषयमा परख गर्ने हुन् नि ।  त्यसैले यहाँ एउटा सामान्य जिज्ञासु मात्र होइन लोक हितका लागि सोधिएको गहिरो भावसहितको जिज्ञासुको अर्थ आउने भो ।  अलि झिजो होला तर पाठकलाई खोज्दा मज्जा पनि त आउँछ ।

प्रवासमा रहेर पनि आफूले नेपाली साहित्यको विकासमा उल्लेख्य योगदान पुऱ्याइरहनुभएको जस्तो तपाईँलाई लाग्छ?

म बडो विनम्रतापूर्वक भन्न चाहन्छु, म साहित्यमा अलिक ध्यान दिन थालेको हालसालै मात्र हो ।  कलेजकालमा अङ्ग्रेजीमा आठदशवटा लेखियो होला, अरूको पढेर नक्कल गर्दै । त्यसपछि कविता नेपाली लेख्नुपर्छ भन्ने लाग्यो, केही  नेपालीमा पनि लेखियो त्यसैबेला तर छपाइएन ।  त्यसपछि लामो कालसम्म लेखिएन, अरू काममै व्यस्त भैयो ।  दुइटा कवितासङ्ग्रह प्रकाशित छन् र एउटा अङ्ग्रेजी उपन्यास छ त्यति नै हो ।  त्यसले जति योगदान गरेको छ त्यति नै हो तर एउटा लागेको कुरो चैँ के हो भने म अलिक  फरक धार लिएर हिँड्ने कोसिसमा छु र धेरै लेख्ने भन्दा राम्रो लेख्न सके हुन्थ्यो भन्ने भाव राखेको छु ।

मानव अधिकारकर्मीक रूपमा रहेर निकै चर्चित रहनुभएकोमा साहित्य क्षेत्रमा आउन तपाईँलाई के कुराले प्रेरित गऱ्यो?

नेपालका साहित्यकारहरू सुरुवाती दिनमा कुनै न कुनै पेसासँग संलग्न हुन्छन् ।  कसैले त्यो पेसाबाट परिचय बनाउँछन् त कसैले साहित्यबाट ।  मेरो पनि त्यस्तै हो, मानवअधिकारको क्षेत्रमा काम गरियो तर पनि अरू पेसाका मानिसजस्तै लेख्न थालियो तर म भने समाज विज्ञानको मानिस भएको हिसाबले अनुसन्धान, रिपोर्ट आदि मार्फत आफ्ना कुरा राख्न सक्थेँ । केही कुरा त्यसमार्फत अभिव्यक्त गर्न सकिँदैन, तिनीहरूका आफ्नै सीमाका कारणले सबै भन्न चाहेको कुरा भन्न सकिँदैन ।  साहित्य यस्ता भाव र तथ्यलाई एकैचोटि व्यक्त गर्न सकिने सुन्दर विधा हो त्यसैले यो मेरो रोजाइ भयो ।  मैले शोषण, विभेद र अत्याचारका बारेमा धेरै लेखेँ तर ‘द घोस्ट इन द हिल्स’मा जस्तै सबै पक्ष त लेख्न सकिनँ नि त्यसैले त्यो लेख्नु पऱ्यो ।  अर्को, साहित्य व्यापक छ, सबै उमेर समूह र पेसाका मानिसले पढ्छन्, साहित्यमा त्यस्ता कुरा लेख्दा धेरै मानिसहरूकोमा सन्देश पुग्छ  त्यसैले मैले यो बाटो रोजेँ ।

नेपाली साहित्यको विकासमानेपाली डास्पोरा’ को विशेष योगदान छैन भन्नेहरू पनि छन । तपाईँलाई छ जस्तो लाग्छ भने त्यसका आधारहरू के के हुन?

धेरै योगदान छ नेपालबाहिर बसेर लेख्नेहरूको तर मलाई लाग्छ, चलनचल्तीमा भनिए पनि ‘डायस्पोरा साहित्य’ भनेर नछुट्याए हुन्थ्यो  । किनभने यो नेपाली साहित्यको विस्तारित क्षेत्र मात्रै हो र यो नेपाली साहित्यको अभिन्न अङ्ग हो ।