साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सङ्घर्षविहीन जीवन धान्नेहरू अपरिपक्व र कमजोर हुन्छन् – कृष्ण प्रधान

अहिले साहित्यमा लागेर धेरै पाएको छु जस्तो लाग्छ । गुमाउने कुरा गर्नुपर्दा लेखनमा व्यस्त भएकाले श्रीमतीसित गफ गर्ने होटल रेस्टुराँमा जाने क्रम गुमाएको छु । श्रीमती गनगन गर्छिन् ।

बुबा स्व. दलबहादुर प्रधान र आमा स्व. लक्ष्मीदेवी प्रधानका कान्छो पुत्ररत्नका रूपमा १४ फरवरी १९५६ मा कृष्ण प्रधानको जन्म भएको थियो । हाम्रो पहल नाट्य टोली, भारतीय गणतान्त्रिक लेखक सङ्घ र भारतीय गणतान्त्रिक नाटक सङ्घका अगुवा प्रधान सिलिगुडी बस्छन् ।

प्रधानका उल्का भ्रामरीमा परेका मुक्तकहरू  (मुक्तक, १९८२), गेरो सेतो परेवा (कविता, १९८८), गेरो छोरो (लामो कविता, १९९०), अपहरण भएका गीतहरू (गीत, १९९०), बेला भएकै छैन (लामो कविता, २०१५), खुट्टा तान्ने तपाईँहरूलाई सलाम (लामो कविता, २०१६), एक पाकिट जोक्स (जोक्स सङ्कलन, १९८८), सिलगढीमा नेपाली नाटक मञ्जनको छियासट्ठीऔँ वर्ष (२०१६), आइमाइको रिस (हास्यव्यङ्ग्य निबन्ध, १९९२), चारो (हास्यव्यङ्ग्य निबन्ध, २०१४), डरको हाउगुजी (हास्यव्यङ्ग्य निबन्ध,२००९), दार्जीलिङ कमेन्ट्री (हास्यव्यङ्ग्य निबन्ध, २०१६), आलु खाएर पेडाको धाक (हास्यव्यङ्ग्य एकाङ्की, २०१८), काम गर्ने केटी (हास्यव्यङ्ग्य एकाङ्की, २०१८), सिङ्साँढे (नाटक, २०१९), ओभानो सिउँदो (नाटक, २०१९),  नाँगेली (नाटक, २०२१),  प्रणम्य गुरुवर ! (साहित्यकार युवराज काफ्लेको जीवनी, २०१९) र भारतीय नेपाली हास्यव्यङ्ग्य निबन्ध (साहित्य एकेडेमी, नयाँ दिल्ली, २०१०), भारतीय नेपाली एकाङ्की सञ्चयन (साहित्य एकेडेमी, नयाँ दिल्ली, २०१५) लगायतका कृति प्रकाशित छन् ।

प्रस्तुत छ, कृष्ण प्रधानसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीको सम्पादित अंश-

कृष्ण प्रधान

कृष्ण प्रधान रहस्यमयी छ भन्छन् । अर्थात् तपाईँलाई रहस्यका रूपमा हेर्ने मानिसहरूको एउटा जमात नै छ नि । किन ॽ

तपाईँको प्रश्न आँटी छ । यस्तो प्रश्न आजसम्म मलाई कसैले गर्ने आँट गरेको छैन । तपाईँ आँटी हुनुहुन्छ । यस्ता आँटी व्यक्ति मलाई भक्कुचूर मनपर्छ किनभने म पनि आँटी छु । मलाई भगवान्‌बाहेक कसैसित डर लाग्दैन । अर्को कुरो मलाई कसैअघि ठ्याम्मै झुक्ने बानी छैन तर झुक्नु नै परे केही टिपेर उभिने प्रवृत्ति छ । मलाई कसैसित जदौ गर्ने बानी छैन, मभित्र खुशामदी रगत ता छँदैछैन दीपकज्यू ! कसैलाई खुसी पारेर ऐरै-गैरे-नत्थुखैरेको प्यारो हुनु छैन । जब कि अहिले खुसी पारे मात्र मानिसहरू (चाह विद्वान्‌ होस् कि साधारण निरक्षर) पक्षमा भइदिने साबिक रोगले यो समजा ग्रस्त छ । म हाकाहाकी, प्याचप्याच्ती भन्ने मान्छे ।

अर्को मुख्य कुरो तपाईँलाई खुलस्त पारूँ क्यारे ! तपाईँ र म बसेको समाजमा चाहे त्यो शिक्षामा होस्, चाहे त्यो सङ्गीतमा होस्, चाहे त्यो राजनीतिमा होस् वा साहित्यमा होस् । एक थरीका मानिसले ह्याँकुलाले मिचिरहेका हुन्छन् । उनकै सही गलत चलिरहेको हुन्छ । खासमा ती व्यक्ति केही गर्न सक्दैनन्, मात्रै ओठ मात्र चलाएर सबैलाई मक्ख र पक्क पारिरहेका हुन्छन् तर उनले खासै चाहिँ केही गरेका हुँदैनन्, गर्न पनि सक्दैनन् । त्यस्ता टपर्टुय्याँको म घोर विरोधी हुँ । हेर्नोस् दीपकजी, म ता काम पनि गर्ने मान्छे, मुख पनि चलाउने मान्छे । त्यस्ता टपर्टुय्याँ व्यक्तिको म छाया पनि हेर्दिनँ, उनलाई टेर्ने कुरै ता आएन….यसैकारण उनीहरूको नजरमा म रहस्य भएको होला । कृष्ण प्रधान रहस्यमय व्यक्ति भन्नेहरू जम्मैलाई मैले दुष्ट, दुर्जन तथा नीच व्यक्तिकै श्रेणीमा राखेको छु । मलाई रहस्य व्यक्तिको पगरी गुथाउनेहरूले खासमा मेरो एक प्रकारले निन्दा नै गरेका हुन् । आचार्य चाणक्यले ठिकै भनेका छन् –

“दह्यामानाः सुतीक्ष्णेन नीचा: परयSशोग्निना ।
अशवक्तास्पदं गन्तुं ततो निन्दं प्रकुर्वते ।।

तपाईँको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ॽ

मेरो साहित्यिक लेखनको पहिलो विधा नै हास्यव्यङ्ग्य निबन्ध हो ।

प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना हो ॽ  

मैले लेख्न थालेको सर्वप्रथम हास्यव्यङ्ग्य निबन्ध नै हो ।

दीपक सुवेदी

कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ॽ

मैले सातौँ श्रेणीमा पढ़्दै गर्दा ‘स्टेजमा म प्रथमपल्ट’ हास्यव्यङ्ग्य निबन्ध लेखेर स्कुलकै भानुजयन्ती कार्यक्रममा पठन गरे पनि नवौँ श्रेणीमा छँदा रामलाल अधिकारीको सम्पादनमा प्रकाशित हुने ‘बाडुली’ द्वयमासिक साहित्यिक पत्रिकामा ‘हिमालय’ शीर्षकको कविता छापिएको हो । पछि दसौँ श्रेणी उत्तीर्ण गरेपछि सोही हास्यव्यङ्ग्य निबन्ध ‘स्टेजमा म प्रथमपल्ट’ गोपालधारा (मिरिक) बाट माधव बुढाथोकीको सम्पादनमा प्रकाशित हुने मासिक साहित्यिक पत्रिका ‘बिरुवा’-मा प्रकाशित भएको हो ।

जीवनको भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित बाल्यवस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ॽ कसरी बित्यो बाल्यवस्था ॽ

ठिटौले उमेरदेखि नै पीडा, डिबडिब अवस्थाको लिङ्गेपिङमा हुर्रिँदै भए पनि बाल्यावस्था मिठाइलो र मज्जाइलो पाराले बित्यो । लेखाइ-पढाइमा निकै राम्रो भएकाले पाठशालाका शिक्षकशिक्षिकागण लगायत गाउँघरमा सबैको थै-थै ।

मेरो जन्म दार्जीलिङ जिल्लाको खरसाङ महकुमा अन्तर्गत खरसाङ प्रहरी आवासमा भएको हो तर बुवा प्रहरी विभागमा भएकाले उनी खरसाङबाट सरुवा भई सिलिगुडी प्रहरी कार्यालयमा आएपछि मेरो बाल्यकाल सिलिगुडीकै धुलो माटामा बित्यो ।  बाल्यावस्था मज्जामा नै बित्यो ।

साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ॽ प्रेरणा के कहाँबाट मिल्यो  ॽ

भुईँ क्लास (हामी यता ढुङ्गा क्लास भन्थ्यौँ त्यसबेला, अहिलेको अङ्ग्रेजी भाषामा हो भने नर्सरी) पढ्दादेखि नै पाठशालामा हुने विभिन्न कार्यक्रम (विशेष भानु जयन्ती)मा कहिले कविता आवृति गर्न, कहिले नाटकमा भाग लिनु पर्थ्यो । हाई स्कुल आएपछि मैले मेरो जीवनमा तीन जना गुरुहरू भेट्टाएँ । तीनै जना गुरुहरू त्यसताका साहित्यका प्रतिष्ठित स्रष्टाहरू थिए । ती गुरुहरू हुन् – रामलाल अघिकारी, समीरण ‘प्रियदर्शी’ र युवराज काफ्ले । यी तीन गुरुहरूमध्ये रामलाल अधिकारी र समीरण ‘प्रियदर्शी’ यो संसारमा छैनन् । उहाँहरूकै प्रेरणाले साहित्यप्रति रुचि भएको हो ।

किन हास्यव्यङ्ग्य क्षेत्रमा नै लाग्नुभयो ॽ  

जस्तो गुरु उस्तै चेला भन्छ होइन ? रामलाल सर र समीरण ‘प्रियदर्शी’हरूले हास्यव्यङ्ग्य साहित्य धेर मात्रामा लेख्थे । उनीहरूको हास्यव्यङ्ग्य प्रभावका साथसाथै त्यसताका (यो सन् १९५० वि.सं. २०२७ को कुरा हो) रामलाल सर स्कुलका प्रधानाध्यापक भएकाले स्कुलमा हुने कुनै पनि कार्यक्रमका निम्ति उनले नै मलाई हास्य एकाङ्की लेखेर स्कुलमा प्रदर्शन गर्नुपर्ने आदेश दिन्थे । आरम्भमा हास्य एकाङ्की लेख्नु गाह्रो परे पनि पछि पछि स्कुलमा मञ्चन हुने मेरो एकाङ्कीले मलाई प्रख्यात बनायो । त्यसपछि बानी बस्नु मात्र होइन हास्य एकाङ्कीपछि नाटकसम्म लेखेर सिलिगु़डी र यसका वरपर मञ्चनसमेत गराउने भएँ । मेरा हास्य एकाङ्की तथा नाटकले अद्यावधि बजार पिटेकै छ ।

फेरि दसौँ श्रेणी उत्तीर्ण गरेपछि, मलाई एउटा हास्य पत्रिका निकाल्न मन लाग्यो । समीरण सरसित कुरा गरेँ । उनले स्वीकृति दिनुमात्र होइन हास्य पत्रिकाको नामसमेत राखिदिएँ । हास्य पत्रिकाको नाम ‘कानेखुसी’ । सन् १९७४ (वि.सं. २०३१) देखि २०२० (वि.सं. २०२७) सम्म चलाएँ । तपाईँलाई स्मरण गराउन चाहन्छु, त्यसबेला मैले सम्पादन गरेको हास्य पत्रिका ‘कानेखुसी’ पाँच-पाँच हजार प्रति छापिन्थ्यो ।

अर्को जानकारी, म दसौँ श्रेणी पढ्दादेखि नै अल इन्डिया रेडियो, खरसाङमा सर्वप्रथमा मेरो हास्य नाटक प्रसारण भयो । त्यसपछि अल इन्डिया रेडियोले मलाई हास्य नाटक लेखनका निम्ति अनुबन्ध गऱ्यो । आजसम्म पनि मेरो हास्य नाटक अल इन्डिया रेडियोबाट प्रसारण हुने गर्दछ । यसरी हास्यव्यङ्ग्य क्षेत्रमा म लागेको हुँ….हिजोआज ता हास्यव्यङ्ग्य लेख्ने, हँसाउने एडिक्सनजस्तै भएको छ ।

हास्यव्यङ्ग्यमा त्यस्तो के छ जसले तपाईँलाई हास्यव्यङ्ग्य नाटक लेख्न हुटहुटी चलायो ॽ

हास्यव्यङ्ग्य नाटक लेख्न हुटहुटी लागेको कारण माथि नै भनिहालेँ । हास्यव्यङ्ग्यमा के छ त्यस्तो भन्नुहुन्छ , सब थोक छ नि हास्यव्यङ्ग्य नाटकमा । सर्वप्रथमा यस्ता नाटकले दर्शक, श्रोती वा पाठकलाई हँसाउँदा हँसाउँदै चिरिक्कै चिमोट्न सकिन्छ । दर्शक, श्रोती तथा पाठकलाई आकर्षण पार्न सकिन्छ । अनि संवादकै माध्यमद्वारा मज्जाले सोड्क्याउनु सकिन्छ।

विश्व साहित्यका धेरै कुरा उठ्ने गरेका छन् । नेपाली साहित्य विश्व साहित्यमा कहाँ छ ॽ

नेपाली साहित्य विश्व साहित्यकै हाराहारीमा छ भन्ने मेरो दाबी छ तर विश्व साहित्यबारे हामी त्यति जानकारी राख्दैनौँ । आ-आफ्नो ठाउँमा दुवै साहित्य सर्वेसर्वा छन् । हाम्रो नेपाली साहित्यमा पनि अन्य भाषामा अनुवाद हुन सके र यसको व्यापक प्रचार हुन सके….नेपाली साहित्यको स्तर विश्वले नै थाहा पाउनेथ्यो । हाम्रो यता ता एउटा जिल्लाबाट निस्केका पुस्तक वा पत्रपत्रिकाबारे केही थाहा हुँदैन । हिजोआज फेसबुकमार्फत धेरथोर थाहा भए पनि ती पुस्तक वा पत्रपत्रिका हाम्रो हात पर्दैन । यस्तो स्थिति छ हाम्रो ।

समकालीन लेखनलाई कसरी हेर्नुभएको हुन्छ ॽ

समकालीन संस्कृतको विशेषण शब्द हो । जसको शब्दकोशीय अर्थ हुन्छ, वर्तमानकालको, एकै समयको ; आधुनिक, एकै समयमा हुने । जसलाई अङ्ग्रेजीमा contemporary भनिन्छ । समकालीन लेखन भनौँ वा समकालीन साहित्य वा समकालीन आन्दोलनमा सबै साहित्यिक अभिव्यक्तिहरू सामिल छन् जुन उत्तर आधुनिकतावादपछि भएको हो । यसलाई एक अवधिद्वारा परिभाषित गरिएको छ ।

सन् १९४० (वि.सं. १९९७) को दशकमा दोस्रो विश्वयुद्धपछि धेरजसो विद्वान्‌हरू समकालीन साहित्य लेखनपट्टि ढल्केका देखिन्छन् । अहिलेसम्म पनि यो जारी छ । समकालीन साहित्यलाई मैले कसरी हेर्ने गरेको छु भने, समकालीन साहित्यमा विखण्डन, अविश्वसनीय कथन, शेली (लेखकहरू नकल), बदलिँदो कथन अनि नाटक र भाषामा अनिश्चितताको विशेषता ।

त्यसरी नै यस समकालीन लेखनलाई ऐतिहासिक रूपले उत्तराधुनिक सामग्रीद्वारा मान्यता प्राप्त भएको ठान्छु । यो कम्प्युटर, रोबोटिक्स, मुठ्ठीभाष (mobile phone), विश्वव्यापीकरणसित सम्बन्धित छ भन्ने मेरो हेराइ छ तर सबैले समकालीन लेखनमा त्यति भाँती पुऱ्याएको देखेको छैन मैले । जुन साहित्यकारले आफ्नो लेखनमा वर्तमान समयको शैलीगत, कलात्मक या विषयगत गुण आफ्ना पाठकवर्गलाई साझा गर्छन् ती नै समकालीन लेखन हुन्  तर यो कुरा स्विकार्नुपर्छ, समकालीन लेखनको धेरजसो भागहरू पश्चिमी साहित्यकारहरूबाट आयात भएको हो तर यो समकालीन लेखन वा साहित्य शब्द युरोपी र अमेरिकी साहित्यका निम्ति त्यति विशिष्ट मानिँदैन ।

भारतीय नेपाली साहित्यमा नाटकको अवस्था कस्तो छ ॽ  

नेपाली नाटक भन्नाले नाटक लेखन वा मञ्चनको कुरा यहाँ नगरे पनि म आफू पनि नाटकसित सम्बन्धित भएकाले नाट्य लेखन, प्रकाशन र मञ्चनको अवस्थामा खडेरी परेको देखिन्छ । भारतमध्ये असम, र दार्जीलिङ तथा कालेबुङमा जिल्लाबाट यहाँका रङ्गकर्मीहरूले आफ्नो बल-बुताले भ्याएर नाटक मञ्चन गरे तापनि यसले नियमितता बोक्न सकेको छैन । हिङ नभए पनि हिङ्को टालाकै रूपमा यहाँ नाटक मञ्चन हुने गर्दछ ।

जहाँसम्म नाट्यकृति लेखन र प्रकाशनको प्रश्न छ, त्यसको पनि अवस्था उस्तै उस्तै भए पनि बेलाबखत नाट्यकृति प्रकाशित भएको पाइन्छ । यसको पनि अवस्था थाङ्रा नपाएको काँक्राजस्तै नै छ ।

हास्यनाटकको अवस्थाचाहिँ नि ॽ

हास्यनाटकको अवस्था पनि उस्तै छ तर हास्यनाटकको निकै माग देखिन्छ । कालेबुङ, दार्जीलिङ बाहेक सिलिगुडीमा पनि हास्यनाटक मञ्चन हुँदा मनग्गे दर्शकवर्गको सहभागी हुन्छ तर यो पनि नियमित रूपमा मञ्चन हुन सकिरहेको छैन ।

नेपालभित्रको साहित्य र भारतीय नेपाली साहित्यलाई चाहिँ कसरी हेर्नुहुन्छ ॽ

नेपालभित्रको साहित्य र भारतीय नेपाली साहित्यको कुरो चल्यो कि मलाई नाटककार बालकृष्ण समले भनेका कुरा झलझली याद आउँछ । एकताका दार्जीलिङले भारतीय नेपाली साहित्यको नेतृत्व गरेर नेपाललाई उछिनेको थिय़ो । यस्तो उछिनाइ देखेर बालकृष्ण समले भनेका थिए, “आज दार्जीलिङले जे सोच्छ नेपालले भोलि सोच्छ ।” तर अचेल त्यो कुरो उल्टो भएको छ अनि भन्नुपर्छ, आज नेपालले जे सोच्छ दार्जीलिङ (भारत) ले भविष्यमा सोच्छ ।

नेपालभित्रको साहित्य धनी छ । भारतीय नेपाली साहित्यकारहरूले आफ्नो बलबुताले भ्याइन्जेल साहित्यको संरक्षण संवर्द्धन गर्ने काममा रगत पसिना फुर्मास गरिहेका छन् । प्रकाशको अभाव, बजार व्यवस्था निमिट्यान्नै छ जब कि नेपालमा चाहे प्रकाशन होस् वा बजार, व्यवस्था कता कता बलियो छ । यहाँ लेखकहरूले आफ्नौ गोजीको पैसा खर्च गरेर पुस्तक प्रकाशन गर्नुपर्ने बाध्यता छ । यसबाहेक पनि लेखनको क्षेत्रमा पनि नेपालभित्रको साहित्यले हामीलाई उछिनेको छ भन्ने मलाई लाग्छ ।

साहित्यकारहरूको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ॽ

समाज भनूँ वा साहित्य यी दुवैप्रति साहित्यकारले समान रूपले जिम्मेवारी (तपाईँको भाषामा दायित्व- हाम्रो यता यो शब्द बङ्गालीहरू धेर प्रयोग गर्छन्) निर्वाह गरेका हुन्छन्, हुनुपर्छ । साहित्यकार भनेको साधारण, लट्ठीबज्रे, सिल्ली नभएर अरूभन्दा बेग्लै प्रकारको संवेदनशील सामाजिक प्राणी हुन्छ । यसकारण साहित्यको जिम्मावारी आफ्नो समकालीन जीवनको चित्रण गर्नु हो । युगजीवनलाई नेतृत्व गरेर सो को पथप्रदर्शन गर्नुपर्छ भन्ने लाग्छ । विश्वभरिका प्रत्येक युगका साहित्यकारहरूले आफ्नो सजगताले यो जिम्मेवारी सम्मान र आदरका सात निर्वाह गरेका इतिहास साक्षी छ ।  कुनै वाद्ययन्त्रको कोमल तारमा वादकका औँली स्पर्श हुनासाथै झङ्कार हुन थाल्छ । साहित्यकारको हृदय, मनमस्तिष्क वाद्ययन्त्रको सूक्ष्म कोमल तारभन्दा कम्ती संवेदनशील हुँदैन । साहित्यकारको कोमल मन, संवेदनशील हृदयको झङ्कार नै तिनको कला वा साहित्यरूपमा प्रस्फुटित भएर भाषा साहित्य सँगसँगै ऊ आफू बसेको समाज, देश, जाति, संस्कृति तथा सिङ्गो राष्ट्रको अमर धरोहर बन्छ । एक जना जागरुक साहित्यकारले अहर्निश समाजको धुकधुकी छामेर तिनको गति वा दिशालाई उपयुक्त साहित्योपचारले बिसेक, चङ्गा पार्ने जिम्मेवारी पनि निर्वाह गर्नुपर्दछ । कवि पण्डित धरणीधर कोइराला शर्माले उनको ‘साहित्य सुधा’-कवितामा उहिल्यै भनिसकेका छन् –

“अति सुन्दर मानव-जीवन यो

          अझ सुन्दर पार्नु कसो गरि हो ?

                   गरि काव्य-सुधा रसपान अरे

          गर मानवजीवन सार्थक रे ।.

          न त झाँक्रि न वैद्य न ज्योतिषले

          उपचार गरीकन शान्ति दिने

          मन-रोग-निरोग गराइदिने

          बुझ काव्य-सुधा-रस औषधि हो ।।

(नैवेद्य, प्रथम संस्करण विंसं. १६७७)

कवि घरणीधर कोइराला शर्माले भनेझैँ  झाँक्री वैद्य ज्योतिषले उपचार गर्न नसक्ने तर साहित्यकारको सिर्जनाले ती सब बिसेक हुने कुरा गरेका छन् । साहित्यकारहरूले पनि समाजको रोग निवारण गर्ने साहित्य लेख्ने जिम्मावारी वहन गर्नुपर्छ भन्ने मेरो विचार छ ।

स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नुपर्दछ ॽ

म भारतको पश्चिम बङ्गाल राज्यमा वास गर्छु । पश्चिम बङ्गाल सरकारको सूचना अनि संस्कृति विभागको देखरेखमा कलकत्तामा बङ्ग्ला साहित्य एकेडेमी, बङ्ग्ला नाट्य एकेडेमी, बङ्ग्ला शिशु साहित्य एकेडेमी, बङ्ग्ला शिशु नाट्य एकेडेमी स्थापित गरेर बङ्गाली लेखकहरूलाई विभिन्न प्रकारले सहयोगका साथै पुरस्कार प्रदान गरिरहेका छन् । यसरी नै हिन्दी र उर्दू साहित्यलाई पनि यसरी नै प्रोत्साहित गरिरहेका छन् ।

पश्चिम बङ्गालमा बामफ्रन्टको समयमा दार्जीलिङको सूचना अनि संस्कृति विभाग (पश्चिम बङ्गाल सरकार)को देखरेखमा नेपाली एकेडेमी स्थापित गरिएको थियो । निकै दिन यसले जीवन धान्यो । त्यतिबेला नेपाली एकेडेमीले दार्जीलिङ भेकका साहित्यकारहरूका कृति प्रकाशित गर्नाका साथै साहित्य, सङ्गीत, नाटक तथा मूर्तिकारहरूलाई बर्सेनि नेपाली एकेडेमी पुरस्कारलगायत नगद पुरस्कारसमेत प्रदान गरेर नेपाली लेखकहरूलाई सहयोग उत्साह प्रदान गर्ने गर्दथ्यो ।

सन् १९८६ (वि.सं. १९२९) मा सुवास घिसिङको नेतृत्वमा दार्जीलिङमा गोर्खाल्याण्ड आन्दोलन सुरु भयो । आन्दोलनमा घिसिङले गोर्खा भाषा प्रयोग गरिनुपर्छ नेपाली भाषा होइन भन्ने फरमान जारी गरेपछि नेपाली एकेडेमी निष्क्रिय भएर गयो । आन्दोलन साम्य भएपछि फेरि नेपाली एकेडेमी पुनर्जागरण गर्ने सरकारले पहल गरे पनि नेपाली शब्दकै डरले पश्चिम बङ्गाल सरकारले नेपाली एकेडेमी बन्द गरेको गरेकै भयो । अद्यापि दार्जीलिङको नेपाली एकेडेमी फेरि सक्रिय गर्न सरकारले ध्यानै दिएको छैन ।

पश्चिम बङ्गालमा बङ्गाली, हिन्दी तथा उर्दू साहित्यकारले सरकारको सूचना अनि संस्कृति विभागबाट मनग्गे सहुलियत प्रोत्साहन पाए पनि हामी पश्चिम बङ्गालवासी नेपाली साहित्यकारको भाग्यमा त्यो जुरेको छैन ।

तपाईँको त अखबारीय लेखन तथा सम्पादनमा पनि लामै अनुभव छ । अखबारीय लेखन र साहित्य लेखनमा के कस्ता समानता र भिन्नताहरू रहेका छन् ॽ

साह्रै मनपर्दो र घतलाग्दो प्रश्न । अखबारी लेखन भनेको बगिजाने खोला हो । अखबारी लेखनको भाषामा भनिन्छ नि, दैनिक समाचार पत्रको आयु एक दिन मात्रै हुन्छ । अखबारमा छापिएका सामग्री पढेपछि ती अखबारहरू पसलतिर बेचिन्छन् …बेचिएका ती अखबारहरू सामान पोको पारिन्छ । त्यसो आयु शेष भयो भन्दा हुन्छ तर साहित्यिक पत्रपत्रिकामा लेखनचाहिँ बगरमा गजधम्म बसेको ठूलो चट्टान हो । न त्यसलाई पानीले बगाउन सक्छ न ता हावाले डगमगाउन सक्छ । साहित्यलेखन पनि दुरुस्तै त्यही हो ।

समानताको कुरा गर्नु हो भने, अखबारी लेखनमा तर साहित्यिक लेखनको लेपन हुनैपर्छ । यसकारण पत्रकारले साहित्यबारे केही जानेकै हुनुपर्छ । भनिन्छ नि, एक जना पत्रकार साहित्यकार हुन सक्तैनन् तर एक जना साहित्यकार पत्रकारचाहिँ पक्कै हुन सक्छन् ।

साहित्यको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ॽ

साहित्यको समकालीन बजार भन्ने प्रश्न अलिक स्पष्ट भएन । साहित्यको बजारबारे ता माथि नै भनिसकेको छु । अब जहाँसम्म साहित्यको समकालीन बजारको प्रश्न छ, यो बजार व्यापक छ, विस्तृत छ अनि छ फाँटिलो तर साहित्यको समकालीन बजारमा व्यापार गर्ने व्यापारीहरूको नचिताउने पाराले ढलीमली छँदैछ । जुङ्गा हेरेर भाग लाउने, आफ्नैलाई मात्र काखी च्याप्ने, परिणाम होइन परिमाण हेर्नेजस्ता व्यापारीहरू समकालीन साहित्यको बजारलाई धमिल्याएको छ ।

अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ॽ

मलाई मनपरेको प्रश्न । म सानादेखि नै फुटबल खेल ह्रेर्नु, खेल्नु मात्रै होइन रेडियामा आएको कमेन्ट्री सुन्न लालायित थिएँ । भविष्यमा ठूला फुटबलर हुन नसके पनि एक दिन चै म फुटबल कमेन्टर हुन्छु भन्नेमा दृढ थिएँ । सानामा फुटबल खेल्न जाँदा पनि म फुटबल नखेलेर एउटा कुनामा बसेर खाता लाम्चो गोलाकार पारी साथीहरूले फुटबल खेलेका कमेन्ट्री गर्थेँ । त्यतिबेला (आज पनि) अल इन्डिया रेडियो, खरसाङले दार्जीलिङमा हुने हर्ली कप, यशोदा गिरी फुटबल टुर्नामेन्ट, राधावल्लभ फुटबल टुर्नामेन्ट बाहेक पनि कलकत्ताका म्याचहरूको कमेन्ट्री प्रसारण गर्दथ्यो ।

त्यसताका हाम्रो घरको अवस्था राम्रो थिएन । घरमा एउटा रेडियोसमेत नभएकाले फुटबल कमेन्ट्री सुन्नु म हाम्रो प्रहरी आवासको पल्लोपट्टिका छेमाको घरमा जाने गर्दथे । त्यतिबेलामा हाम्रो पालामा अङ्कल, आन्टी भन्ने चलन थिएऩ । बुवाका साथीहरूलाई उमेरअनुसार काका, बडा वा मामा अनि आमाभन्दा सानाहरूलाई छेमा अनि ठूलाहरू बडी भन्ने गर्दथ्यौँ । अल इन्डिया रेडियो खरसाङले दुईवटा सेमिफाइनल र फाइनल म्याचका कमेन्ट्रीहरू प्रसारण गर्थ्यो । पहिलो दुईवटा म्याचको कमेन्ट्री ता छेमाको रेडियोबाट सुन्न पाएँ । आईतबारको दिन हुने फाइनल म्याचमा म कमेन्ट्री सुन्न छेमाको घर गएको थिएँ । ढोका बन्द थियो । कतिचोटि ढोका ढकढकाएँ….कसैले ढोका नखोलिदिँदा कमेन्ट्री सुन्ने काकाकुली तिर्सनामा छटपटिँदै घरमा आएर बेन्चीमा थचक्कै बसेँ । मन र ध्यान ता कमेन्ट्रीमै थियो ।

बुवा पश्चिम बङ्गाल प्रहरी विभागमा प्रहरी थिए । नाइट ड्युटी गरेर आएकाले बुवा पलङमा सुतिरहेका थिए । एकक्षण पछि बुवा उठेर मलाई सोधे, “हँ,…तँ ता यहाँ पो छस् ? कमेन्ट्री सुन्न गइनस् पल्लोपट्टिको छेमाकहाँ ?

मैले अस्वीकारात्मक मुन्टो हल्लाउँदा बुवाले फेरि सोधे, “किन नगाको अन्त कमेन्ट्री सुननु ?” – त्यसै । मैले के भनेको मात्र के थिएँ….बुवाले प्यान्टबाट उनको कालो मोटो पेटी झिकेर मलाई स्वाम् कि स्वाम् सोड्क्याउनुसम्म सोडक्याएँ । एकक्षण ता म पनि छक्कै परेँ बुवाले एक्कासि मलाई किन बेल्टले मरिन्जेल पिटे भनेर । जति पिटे बुवा त्यति नै बोल्दै गए, “अर्काको घरमा, अर्काको रेडियामा अर्का बोलेको सुन्नु जान्छस् हँ ?”

बुवाको पेटीको प्रहारलाई छेकावार लाउँदै अनि रुँदै बोलेँ म, जान्नँ…बुवा…जान्नँ । अर्काको घरमा, अर्काको रेडियामा अर्का बोलेको सुन्नँ जान्नँ ।”

प्रहार जारी छ, बुवाको गर्जाइले मेरो सातोपुत्लो उडिसकेको छ, बुवा बोलेको मात्र कानमा आइरहेछ, “जालास् साला….अब, अर्काको घरमा अर्काको रेडियामा अर्का बोलेको सुन्नु…बुझिस् ?”

पेटीको प्रहारले उफ्रिँदै बोलेँ, “जान्नँ बुवा….अबदेखि जान्नँ ।”

प्रहार यथावत् छ, बुवाको गर्जाइ उस्तै छ, “अबदेखि आफ्नै रेडियामा आफैँ बोल्लास् बुझिस् ?”

प्रहार रोक्ने प्रयास गर्दै रुन्चे स्वीकारोक्ति मेरो, “हुन्छ बुवा….रेडियामा म आफैँ बोल्ने हुन्छु ।

टिष्टा-रङ्गीतबाट कति बानी बगेर गए । बुवा छैनन् अहिले तर उनै बुवाले भनेका कुरा “अबदेखि आफ्नै रेडियामा आफैँ बोल्लास् बुझिस्?” मेरो कर्णकुँवरमा आजसम्म पनि गुन्जिरहन्छन् । बुवाको यिनै झपऱ्याइ, लाखेसले आज म उही अल इन्डिया रेडियो, खरसाङको एक्सपर्टड कमेन्टेटर भएको छु । बुवाले “रेडियामा आफैँ बोल्लास् बुझिस्?” भनेका कुराले नै म आजसम्म पनि रेडियामा कमेन्टेटर गर्न गर्छु ।

जब रेडियामा कमेन्ट्री गर्नका निम्ति म कमेन्ट्री बक्समाथि चढ्छु कमेन्ट्री बक्सलाई ढोगी उनै बुवाको स्मरण गर्दै भन्ने गर्दछु, “बुवा तिमीले रेडियामा आफैँ बोल्लास्” भनेका कुराले आज तिम्रा कान्छा छोरो रेडियामा आफैँ बोल्न कमेन्ट्री बक्समाथि चढेको छ । अब तिम्रा यो कान्छो छोरा आफैँ रेडियामा बोलेको स्वर संसारभिर तरङ्गित भएर कमेन्ट्री सुनिरहेका घर घरमा गुन्जिनेछ । अनि तिम्रा बुहारी, नातीहरू सबै आफ्नै घरमा आफ्नै रेडियामा आफ्नै बुवा, आफ्नै पतिको स्वर आफ्नै कानले सुन्नेछन् ।

यही नै मेरो जीवनको स्मरणीय, बिर्सिनै नसकिने क्षण हुन् । धन्य बुवा….तिम्रो बोली र लाखेसले मलाई सञ्जीवनीको काम गरेको छ । यी बिर्सिनै नसकिने क्षण मेरो मृत्युसितै बिलाउनेछन् । बुवालाई साष्टाङ्ग दण्डवत् ।

जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ॽ

जीवन भन्नु नै यसका चार मुख्य अङ्गहरू स्वतः आँखामा आइहाल्छन् । ती हुन् – बाल्यकाल, युवावस्था, जवानी र बूढेसकाल ।  बाल्यकाल मिठाइलो र मज्जाइलो हुन्छ । युवावस्थामा ता उडेको चरो समात्ने रोडा पनि पचाउने अदम्य शक्ति हुन्छ । भोक न भकारी शोक न सुर्ताका धनी ।  बूढेसकाल कसैलाई पनि मन पर्दैन तर बूढेसकालको सामना सबैले गर्नैपर्छ ।

जीवनलाई परिभाषित गर्नुपर्दा, जीवन सङ्घर्ष हो (Life is all about struggle) । सङ्घर्ष नै जीवन हो । सङ्घर्ष र जीवन एकै सिक्काका दुई पाटा हुन् भन्दा अतिशयोक्ति  नहोला किनभने हाम्रो जन्म नै सङ्घर्षलाई काखी च्यापेर नै भएको हुन्छ  अनि मृत्यु पनि सङ्घर्ष गर्दा गर्दै हुन्छ ।

सुनलाई आगामा हालेर निखारता ल्याइन्छ, फलामलाई आगामै गालेर जे चाह्यो त्यस्तै प्रकारको आकार दिन सकिन्छ । सोही प्रकारले सङ्घर्षले नै मानिसलाई विकासको भऱ्याङमा पुऱ्याउँछ । जीवनमा सङ्घर्ष अनिवार्य रूपले आउनैपर्छ । सङ्घर्षविहीन जीवन धान्नेहरू अपरिपक्व र कमजोर हुन्छन् । स्वामी विवेकानन्दले भनेका छन्, “तिम्रा बाटामा विघ्नवाधाहरू आएन भने तिमी गल्ती बाटामा छौ भन्ने ठान्नुपर्छ ।” जीवन ठूलो हुनुपर्छ अग्लो हुनुपर्छ । यो ता भयो जीवनको परिभाषा ।

मेरो व्यङ्ग्यकारिताको भाषामा जीवनलाई मैले यसरी परिभाषित गरेको छु

“कोही भन्छन् यो जिन्दगी भीरको चिन्डो

          कोही भन्छन् यो जिन्दगी लात्ते भकुन्डो

          कोही भन्छन् जताततै रक्सी खाएर

          मुख लुकाउने मुखन्डो

          म ता भन्छु जिन्दगानी यो नकच्चरो

          काकीको होटलमा रक्सी बाँकी खाएर

          तिर्नु नसक्ने लोन्द्र्याङ हो जिन्दगी ।

          कोही भन्छन् जिन्दगी एडिक्टको गफ

          कोही भन्छन् जिन्दगी हिसाबको रफ

          श्रीमती भन्छिन् जिन्दगी कानमा लगाउने टप

          म ता भन्छु जिन्दगी खोर्सानी चप ।”

उहिले र अहिलेको लेखक अनि लेखनमा के के भिन्नता पाउनुहुन्छ ॽ

उहिलेका लेखकहरू उनीहरूकै समाजका वरिपरिका कुरा लेख्थे अहिलेकाहरू अहिल्यैकै परिपाटीका लेख्छन् । जस्तै मेरो प्रिय विधा हास्यव्यङ्य हो । उहिले अच्छा राई “”रसिक”ले प्रखर हास्यव्यङ्ग्य लेख्थे । उनको समयमा समाजको स्थिति जे थियो त्यो अहिले हाम्रो समयमा छैन । हाम्रो समयको अवस्था, मानिसको चरित्र परिणत भएको छ । रसिकको पालामा नेताहरू सम्माननीय हुन्थे, पुलिसहरू पूजनीय हुन्थे । हाम्रो पालामा नेताहरू भ्रष्ट छन्, बलात्कारी छन् अनि पुलिसहरू पनि भ्रष्टाचार र घुसखोरीमा कम्ति छैनन् र नै अचेल हामी व्यङ्ग्यकारले अचेलका नेता र पुलिसमाथि व्यङ्ग्य प्रहार गर्छौँ । साहित्य लेखनमा पनि कुरो एउटै लागु हुन्छ ।

यसैबाट अनुमान लाउनोस् उहिले र अहिलेका लेखक र लेखनमा भिन्नता ।

नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह र सुझाव दिनुहुन्छ ॽ

नवोदितहरूले लेख्नभन्दा पहिले मन लाएर, घोत्लेर अग्रज साहित्यकारहरूका लेखौट अध्ययन गर्नुपर्छ । हेनतेन नभनेर पं. धरणीधर कोइरालो निम्न पद्यांश यहाँ राखेर यसैबाट नवोदितहरूलाई सुझाव दिन चाहन्छु –

  “पढि पूर्व र पश्चिम उत्तरका

              अरु दक्षिणका कविका कविता

              कविका कृति वा कविता-सरिता-

              बिच हेलिनपर्छ ल है अब ता ।।” (नैवैद्य)

सर्वप्रथम ता नवोदितहरूले पं. धरणीधर कोइराला “साहित्य सुधा” कविता कण्ठस्थ गर्नुपर्छ । आफूभन्दा अग्रजहरूलाई यस कविता अर्थ बुझाउनु लाउनुपर्छ ।

अध्ययन गरेर लेखिएका कुनै पनि सामग्री जैविक देखिन्छ….अर्काको होहोरीमा लागी लेख्छु भनेर लेखेको सामग्री हुच्चिङ नहालेको मोमोजस्तै हुन्छ ।

जीवनका भावी लेखकीय योजना र इच्छाहरू के छन् ॽ  के सार्वजनिक गर्न मिल्छ ॽ मिल्छ भने के के छन् ॽ

योजनाहरू थुप्रै छन् –

१.   अहिले हातमा प्रकाशनको लागि “काव्यशास्त्र” ग्रन्थको पाण्डुलिपि तयार छ । यो ग्रन्थ तयार पार्नु मलाई ३९ वर्ष लाग्यो ।

२.   हास्यव्यङ्ग्य नाटक “लकडाउन कमेडी” तयार छ

३.   दुई नाटक उर्मिला (लक्ष्मणकी पत्नीबारे लेखिएको) अनि मृत्युञ्जयी योद्धा (मेजर धनसिंह थापाको जीवनमाथि लेखिएको )

४.   हास्यव्यङ्य निबन्धहरू इङ्गलिश-नेङ्लिश-हिङ्लिश, नामको डर ।

५.   भारतीय नेपाली निबन्ध (पाण्डुलिपि तयार)

६.   भारतीय नाटक र नेपाली नाटककार

७.   स्नेही (उपन्यास, पाण्डुलिपि तयार)

८.   केही जीवन वृत्त (नाटककार, सामाजिक अभियन्ता)

९.   नाट्यशास्त्र – पाण्डुलिपि तयार

१०.  गीतसङ्ग्रह

अहिले साहित्यमा लागेर के पाए र के गुमाए जस्तो लाग्छ ॽ

अहिले साहित्यमा लागेर धेरै पाएको छु जस्तो लाग्छ । गुमाउने कुरा गर्नुपर्दा लेखनमा व्यस्त भएकाले श्रीमतीसित गफ गर्ने होटल रेस्टुराँमा जाने क्रम गुमाएको छु । श्रीमती गनगन गर्छिन् ।

प्रतिक्रिया
Loading...