साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पितृसत्तात्मक समाजले विधवालाई पुनर्विवाहको निर्णय गर्न भयभीत बनाइदिएको छ

धनकुटाको पहाडी गाउँ, फँलाटेमा जन्मिएकी साहित्यकार भारती गौतम हाल अमेरिकास्थित फ्लोरिडा राज्यको जेक्सनभिल सहरमा बस्नुहुन्छ । प्रवासमा रहेर नेपाली साहित्यको विकासमा अति सक्रिय उहाँ विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध हुनुहुन्छ ।

‘आकाशमाथिको सहर’ (कवितासङ्ग्रह), ‘स्मृतिमा भीमू’ (संस्मरण), ‘अमेरिकामा आमा’ (संस्मरणात्मक उपन्यास) जस्ता कृतिहरू लेखेर चर्चित हुनुभएकी गौतमलाई नवीन कृति ‘विगत र बाडुली’ (संस्मरण) ले थप चर्चा प्रदान गरेको छ । विगत र बाडुलीले २०७७ सालको उत्तम शान्ति पुरस्कारसमेत प्राप्त गरेको छ ।

प्रस्तुत छ, साहित्यपोस्टका लागि विश्वराज अधिकारीले भारती गौतमसँग गरेको कुराकानी कुराकानीको सम्पादित अंश-

प्रवास वा विदेशमा बस्नुपरेको पीडालाई तपाईँले लेख्नुभएको संस्मरण “विगत बाडुलीमा निकै मार्मिक किसिमले प्रस्तुत गर्नुभएको के भविष्यमा नेपाल फर्केर स्थायी रूपमा उतै बस्ने योजना ?

प्रवासमा बस्नु परेको पीडाभन्दा पनि “विगत र वाडुली”मा जीवन हिँड्दै जाँदा छुटेका डोबहरू र त्यसको अनुभूतिलाई भावनाको मसी हालेर वर्तमान् कागजमा अभिव्यक्त गरिएको मात्र हो । भौगोलिक परिवेशको घेरा नकोर्दा पनि स्मृतिमा बल्झिने विगत चहऱ्याउने नै गर्छ । जहाँ बसेर लेखिएको भए पनि छुटेको अतीतसँग भएको भेट मार्मिक नै हुन्छ जस्तो लाग्छ ।

भविष्यमा नेपाल गएर स्थायी रूपमा उतै बस्ने योजना नै त अहिले बनाएको छैन, तर यसको उचित उत्तर पनि सायद  भविष्यकै गर्भमा होला । मान्छेको जीवनको खोलो बग्दै जाँदा कता कुन भङ्गालाबाट कताको नदीमा मिसिन्छ नियतिलाई मात्रै थाहा हुन्छ । ‘नेपाल फर्किएर स्थायी रूपले उतै बस्ने’ सिद्धान्त अनि आदर्शमा जति सही सुनिन्छ मेरो सन्दर्भमा व्यावहारिक रूपले अहिले  फरक नै हुन्छ । जीवनको बढी भाग यतै बितिसकेको वास्तविकता त एकातिर छँदै छ । यस सन्दर्भमा परिवारमा गरिएको भावनात्मक लगानी पनि धेरै यतै भैसकेछ । नेपालमा हुने आमाबुबाहरू पनि बिस्तारै छोराछोरीको वरिपरि हुन बाहिरिने  क्रम बढ्दै गएको देख्ता नेपाल गएर स्थायी रूपले बस्ने भन्ने हाम्रो सम्भावना त्यति बलियो लाग्दैन । फेरि पनि अहिलेको मुहुर्तमात्र निश्चित छ । अर्को मुहुर्तमा हुने निर्णय त्यही परिस्थितिलाई थाहा हुन्छ । नेपाल छोडेको चार दशक सकिन लाग्दा पनि नेपाली नागरिकताको कागजलाई सिरानीमुनि सम्हालेर राखेकी छु । थाहा छैन, यसले के भविष्यवाणी गरेको हो तर भौतिक रूपले  जहाँ भए पनि मेरो मुटु आखिरीसम्म पनि नेपालकै चालमा ढुकढुकाउने तथ्यबारे चाहिँ कुनै भविष्यवाणी नचाहिएला ।  नेपाल गएर बस्ने भन्दा पनि नेपालसँगै बस्ने स्थायी योजना भने निश्चित छ ।

विदेशको बसाई  खास गरी अमेरिका, बेलायत, क्यानाड, अस्ट्रेलियामा बस्ने नेपालीहरूको जीवन लोभलाग्दो भन्दै अहोरात्र विदेश पस्ने सपना देख्ने नेपालको युवा पिँढीलाई के भन्नुहुन्छ ? के आप्रवासी जीवन साँच्चीकै सुखद ?

“पर्खाल पछाडि सधैँ हरियो घाँस” भने झैँ साथमा भएको भन्दा हुन पाए हुन्थ्यो सधैँ लोभलाग्दो हुने तथ्य अनौठो हैन ।  लोभलाग्दो जीवन अनि टिठलाग्दो जीवन परिभाषामा नै सापेक्षिक अवधारणा हुन् । अर्काले लोभलाग्दो देख्ने जीवन भोग्नेका लागि त्यसको विपरीत पनि हुन सक्छ । आफूले अनुभव नगरी  अर्काको जीवन परैबाट लोभलाग्दो देख्नेहरूले आफ्नो जीवनभन्दा अर्काको जीवनमा बढी ध्यान दिएको हुनुपर्छ । अर्काको जीवन पढेर गरिएको निर्णय पनि अर्काकै लागिको हुँदैन र ?

‘लोभलाग्दो’ शब्द आफैँ नै असन्तोषी मनस्थितिको सूचक लाग्छ ।  यस्ता भ्रामक तथ्य अँगालेर अहोरात्र विदेश पस्ने सपना देख्ने युवा पिँढीलाई भन्ने मसँग केही छैन । केही भए पनि त्यो सुन्न कोही तयार हुँदैनन् । जसले जसरी जे भने पनि सुन्नेले आफूले सुन्न चाहेको मात्रै सुन्छ । पत्याउन चाहेको मात्रै पत्याउँछ । मेरो अनुभवले मथेको तथ्य ।

किनकि चमत्कारले विश्वलाई एउटै आँगनमा समेटेको अहिलेको परिस्थितिमा कुनै पनि मुलुकबारे अनुसन्धान र अध्ययन गर्न अप्ठ्यारो छैन । कुनै देशको नाम र प्रतिष्ठाको तस्बिरको भरमा त्यो देशमा हामफाल्नुअघि  गाम्भीर्यका साथ अनुसन्धान गरी आफ्नो क्षमता र त्यहाँको आवश्यकतालाई ध्यानमा राख्नु आवश्यक हुन्छ ।  “पुगेपछि एक थोक होला” को  निर्णय सबैलाई फापेको देखिएको छैन । यस्ता निर्णय लिनुअघि इमानदार भएर आफ्नै हृदयसँग सल्लाह लिनु सबैभन्दा सही हुन्छ । कागको पछि लाग्नुभन्दा पहिले कान छामेको राम्रो । दुई जना उस्तै व्यक्तिको  त अनुभव र परिस्थिति अनि त्यसको परिणाम उस्तै  हुँदैन भने कुनै समूहको जीवन पद्धतिलाई आधार मानेर चालिएका कदमले कसैलाई चरम सुखमा पुऱ्याएको छैन ।

धनी कहलिएका देशहरूमा बस्ने नेपालीहरूको जीवन साँच्चीकै सुखमय ? वा उनीहरूले सुखमा छु भन्ने भ्रम पालेका हुन वा दु:खी छु भन्न नचाहेका हुन?

धनी र गरिब देशले व्यक्तिको सुख, सन्तोष र जीवनस्तरमा फरक पर्छ भनी विश्वास गर्नु पनि भ्रम नै हो । सम्पन्न भनी  परिभाषित हुने मुलुकमा बस्ने सबै सन्तुष्ट र सुखी हुने अनि त्यसको विपरीत विपन्न मुलुकमा बस्नेहरू दुखी हुने भन्नेमा म  विश्वास गर्दिनँ । सुखमय जीवन र दुःखी जीवन सापेक्षिक कुरा हो । सुख केलाई भन्नेमा सबैको एकमत नहुन सक्छ । आफूसँग जेको अभाव छ त्यो भयो भने सुखी र सन्तुष्ट हुने विश्वास ती पाएपछि बिस्तारै गलत सावित हुँदै जान्छ । घर गाडी, बैङ्कमा पैसा, घरभरि परिवार हुने मान्छे त्यो सबै नहुने भन्दा सुखी र खुसी छ भनेर किटान गर्न गाह्रो हुन्छ ।

सुखीले म सुखी छु र दुखीले म दुखी छु भन्नुपर्ने या प्रमाणित गर्नुपऱ्यो भने त्यो दुवै स्थिति वास्तविक हुँदैन । अर्काले देखेको सुख र आफूले अनुभव गरेको सुख पनि सधैँ उही  हुँदैन । आफ्नु खुसी र सुखलाई अर्काको मापदण्डबाट नाप्ने  परम्परामा हुर्किएका हामी बाहिर खुसी खोज्ने गर्छौं । अनि अर्काले देख्न सक्ने खुसीको मात्र पछि लाग्छौँ ।  विश्व नै भ्रमण गरे पनि भेट्न नसकिने खुसी आफैँभित्र मात्र भेट्न सकिन्छ । अर्काले मात्र देख्न सक्ने खुसीको पछि दौडिने व्यस्ततामा आफूले अनुभव गर्ने खुसीबाट टाढिदै जान थालेका छौँ । अर्काको खुसी नाप्ने मापदण्डमा व्यस्त हामी आफ्नो खुसीसँग नै परिचित हुन छोडिसकेका हुन्छौँ । बस्ने मुलुक र  खुसीको मात्राको आपसमा कुनै साइनो छैन । यो सबै मृगमरिचिका हो ।

तपाईँले लेख्नुभएको कृति विगत बाडुली पढ्दा तपाईँले नेपालको घर (फ्लाँटे, कचिडे, धनकुट्टा) प्रति देखाएको माया अद्वितीय लाग्छ । तपाईँले आफू जन्मेको घर मात्र होइन, त्यहाँको माटो, आकाश, वायु, पर्वायवरण, रुख, वनस्पती, खेत, बारी आदिसँग पनि अपूर्व प्रेम गरेको दर्शाउनु भएको छ । अर्कोतिर तपाईँले अमेरिकासाई त्यागेर नेपालमा बसेको देखिएको छैन । लामो समयदेखि अमेरिकामा बसिरहनु भएको छ । यस्तो किन होला?

‘म’ निर्माणमा नेपाल, धनकुटा, फलाँटे, कचिडे सबै ठाउँको बराबर योगदान  छ ।  मेरो विगत अनि मेरो विगतसँग आबद्ध सबै ठाउँहरू मेरो जीवन निर्माणको ढुङ्गा, माटो, सिमेन्ट हुन् । छाया जस्तै विगतसँग चुडिएको जीवनको अस्तित्व धागो चुडिएको चङ्गाको जस्तै हो ।  म जन्मिएको दलान, बामे सरेको मजेरी, ताते गरेको आँगन, मैले दौडिने गरेका वन जङ्गल बजार मेरो अभिन्न अतीत हो । यी सबैको स्मृति र स्नेह भूगोलको सिमानासमेत पर्वाह नगरी मसँगै आएको छ ।

सभ्यताको आरम्भदेखि नै मान्छे एकै ठाउँमा बसेको छैन । गाउँ छोडेर अलिक परको बजार, त्यो छोडेर अझ परको टोल, त्यो छोडेर अर्कै जिल्ला, अन्चल गर्दै सर्ने मान्छेले समय परिस्थिति अनुसार दूरी तन्काउदै  गएको मात्रै हो । यस सन्दर्भमा म र मेरो परिवारले भूगोलको क्षेत्रफल अलिकति बढी नाघेको बाहेक नौलो केही भएको हैन । भूगोलले तोकेको अक्षांस र देशान्तरका अदृष्य रेखाले मनमा बार बार्दैन । माथि उल्लेख गरिएका सबै ठाउँमा अहिले फर्किएर म बसाइँ नै सरे पनि ती ठाउँ उस्तै भेटिदैनन् । धनकुटा, कचिडे, फलाटे, नेपाललाई नै मैले उस्तै देखे पनि ती ठाउँले मलाई उस्तै देख्तैनन् । मेरो स्मृतिमा बाहेक ती केही पनि उस्तै छैनन् । स्मृतिको मेरो पुस्तकमा भने ती सबै, ती सधैँ उसैगरी उस्तै रहिरन्छन् । मेरो शरीर कहाँ हुन्छ, त्यसले केही फरक पर्दैन कुनै असर पर्दैन । मैले छोडेँ ठानेको  परिवेशले मलाई कहिल्यै छोड्ने छैनन् । मेरो शरीरले अङ्गालेको भूगोल त तपसिलको विषय भयो ।

तपाईँको परिवार बहुराष्ट्रिय परिवार हो । आफूहरू नेपालको, बुहारी स्विडिस, बसाई अमरिकामा । परिवारभित्र रहेको बहुसंस्कृति, धर्म, परम्पराबीच कसरी सामञ्जस्यता ल्याउनुभएको ?

नेपालभित्र बितेका मेरा वर्षहरूभन्दा नेपालबाहिर बितेका वर्षहरू बढ्दै गएपछि राष्ट्रिय र अन्तर्राष्ट्रिय या जातीय अनि अन्तर्जातीय सबै प्रकारका साँधहरू बिलाउँदै गएछन् । मेरो अलिकति पृष्ठभूमि नेपालको अनि धेरे बसाई अमेरिकाको । छोरा र छोरीले फेर समातेका जीवनसाथीहरूको पृष्ठभूमिको आवरणमा मात्र बेग्लै । यहाँहरूले देख्नुभएको फरक रातो, कालो, नीलो र सेतो कपडा लगाउने अनि सोलु, भैरहवा, धनकुटा र डोल्पाबाट आउनेमा भेट्टिने अनि देखिने फरक जस्तै मात्र हो । आवरणको पर्दाभित्र मान्छेका दुई किसिममात्र बाँकी हुन्छ । लोग्नेमान्छे र स्वास्नीमान्छे  । यहाँहरूले यसरी औँल्याउदा बाहेक मेरो परिवारमा समावेश भएका ज्वाइँ र बुहारीलाई आफ्नै जस्तो हृदय भएका पुरुष र नारीमात्र देख्छु । त्यसबाहेक केही पनि देख्तिनँ । यसै पनि  मेरा छोराछोरीको जीवन मेरो जीवन हैन । छोराछोरीले आफ्नो जीवनसाथीबारे गर्ने निर्णयप्रतिको मेरो विश्वासले तथाकथित सबै विभेदहरू परास्त भैसकेको हुनुपर्छ । धर्म संस्कृति एवं परम्परा पनि आधारभुत मानवीय आचरणबाट नै निर्धारित भएको हुन्छ । एकअर्काप्रतिको आदर अनि आस्थाको  इँटा थपिदै गएपछि धर्म संस्कृतिको भवन आफैँ निर्माण हुन्छ । पछि गएर त्यही नै परम्परा बन्छ । मलाई यस्तो लाग्छ ।

तपाईँका रचनाहरू पढ्दा, ती रचनाहरू मनन एवं तीउपर चिन्तन गर्दा तपाईँ किशोरी अवस्थादेखि नै ज्यादै विज्ञाती एवं तपाईँमा ज्ञानको ठूलो भोक रहेको देखिन्छ । तपाईँलाई आफू सामान्य महिलाहरूभन्दा केही पृथक् रहेको छु जस्तो लाग्छ ?

शिक्षाप्रतिको मोह सायद मेरो वंशानुगत देन हुन सक्छ । मेरी आमा अनि बुबाका बुबाहरू, बुबाका हजुरबुबा मामाहरूदेखि उहाँहरूका धेरै नातेदारहरू विद्वान्, पण्डित, शिक्षक एवं ज्योतिषीहरू हुनुले पनि मभित्र शिक्षाको भोक स्वाभाविक भएको होला । जग्गा जोड्ने, व्यापार गर्ने,  घर थप्ने, सामानले त्यही घर भर्नेभन्दा पनि थोरै वारी, शिक्षण पेशा, घरभरि पुस्तक, काव्य रचनाको छलफलमा बितेको मेरो बाल्यकालले शिक्षालाई जीवनको अभिन्न अङ्ग मानेको स्वीकारेको हुनसक्छ । शिक्षा भोक एवं ज्ञानको तीर्खा  मेरो जन्मजात धर्म नै हुनुपर्छ । परिवेशले प्रदान गरेको वरदान हुनुपर्छ ।

महिलाहरू सामान्य र असामान्य हुन्छन् भन्नेमा म विश्वास गर्दिनँ । महिलाहरू सबै नै अनि सधैँ नै असामान्य हुन्छन् । हामी आफैँले आफूलाई सामान्य देख्ने गरेको बिडम्वनाले गर्दा समाजले महिलालाई त्यस्तैमा वर्गीकरण गर्न सकेको हुनुपर्छ । अन्य थुप्रै महिला दिदीबहिनीहरूभन्दा म भाग्यमानी चाहिँ पक्कै हुँ, तर पृथक हैन । विश्वका सबै महिलाहरूसँग उत्तिकै सम्भावना, शक्ति र सामर्थ्य रहेको हुन्छ ।

नेपाली समाजमा नव वा प्रौढ विधुवाहरूले पश्चिमी समाजमाझै विवाह गरेको पाइँदैन । समाजबाट भयभीत भएर विवाह गर्न इच्छुक प्रौढ विधुवाहरूलाई तपाईँ के सल्लाह दिनुहुन्छ ?

पितृसत्तात्मक समाजले विधवा महिलाहरूलाई पुनर्विवाहको निर्णय गर्न भयभीत बनाइदिएको हो । विदुर र विधवा उस्तै परिस्थितिका विपरीत लिङ्गी विशेषणको बीचको खाडल गहिर्याउन समाज र त्यसभित्रका पुरुषहरू नै सबैभन्दा बढी उत्तरदायी भएकोले यो परिस्थितिलाई सहज बनाउने जिम्मेदारी पनि उनैको हो । विवाह गर्न खोज्ने विधवा दिदी बहिनीलाई भन्दा पनि विधवालाई विवाह गर्न हिच्किचाउने पुरुष अनि त्यो विवाहलाई उत्तिकै मर्यादित स्वीकार्न नसक्ने समाजलाई चाहिँ आफूले लगाइराखेको ढोङ्गी परम्पराको चश्मा फेर्ने आग्रह गर्छु । धर्म, मान्यता र संस्कारका फाटेका पर्दाहरू पन्छाउन अनुरोध गर्छु ।

बहुसङ्ख्यक नेपालीहरू विदेशमा स्थायी किसिमले बसेका छन् । स्थिति यस्तोसम्म पनि कि लामो समयसम्म विदेशमा बसेका परिवारका तेस्रो पुस्ता (नातिनी, नाति आदि) ले नेपाली बोल्न लेख्न जान्दैन । यो तेस्रो पुस्ताका युवा युवतीहरू नेपाल फर्किंदैनन् बसिरहेको स्थानमा नै स्थायी किसिमले बस्ने छन् । यसरी यी तेस्रो पुस्ताका युवा युवतीहरू नेपाल नजाने स्थितिले केही नेपालीहरूकोनेपाली पहिचानसदाका लागि के समाप्त हुँदैन होला ?

भाषा कति पुस्तासम्म रहने अनि आफ्नो पहिचान हराउने भन्ने आशङ्का  कुनै तथ्यमा आधारित भए जस्तो लाग्दैन । भाषा त माध्यम मात्र हो । नेपालैभित्र पनि अनगिन्ती उपभाषाहरू छन् । जबसम्म हृदयमा नेपाल कुँदिएको हुन्छ नेपाली भाषाको अनुपस्थितिले त्यो हृदयलाई अनेपाली बनाउँछ भन्ने कुरामा म विश्वास गर्दिनँ । विदेशमा स्थायी किसिमले बसोबासो गर्ने तेस्रो पुस्ताले प्रष्ट नेपाली बोल्न नसकेको खट्किने नेपालका हजुरबुबा  हजुरआमाहरू नेपालमै बस्ने नाति नातिनीले फरर् अङ्ग्रेजी  बोलेकोमा गौरव गर्ने गरेको  मैले नै अनुभव गरेको बिडम्वना हो ।

पाँच कक्षादेखि अनिवार्य रूपले अध्ययन गर्ने गरेको अङ्ग्रेजीकै माध्यमबाट स्नाकोत्तर पूरा गरिसकेर अमेरिका पसेपछि बोल्न खोज्दा लर्बरिएको अङ्ग्रेजी म एक्लैको मात्र नहोला । बाह्र वर्ष ढुङ्ग्रामा भने जस्तै अर्कै भाषामा बोली फुटेका कसैले पनि अङ्ग्रेजी उच्चारणमा कहिल्यै पूर्णता हासिल गर्न सकेको हुँदैन । घरमा बोलिने सीमित वाक्यहरूको आधारमा मात्र भाषा निपुण हुने अपेक्षा सानु गमलामा गुराँस फुलाउनु जस्तै हुन्छ । टुटेफुटेको अङ्ग्रेजीलाई सच्याएर सुनिदिने यहाँको समाजको विपरीत हाम्रा छोराछोरीले बोलेको टुटेफुटेको नेपालीलाई सच्याएर बुझिदिने फराकिलो मन र समझदार कानको खाँचो आफ्नै अनुभवको निर्क्योल । नेपाली भाषामा हुर्किएका हामी बाबुआमा, हजुरबुबा हजुरआमाले  नेपाली बोल्न नछोडौँ । अर्को पुस्ताले केही पक्कै सिकेको हुन्छ तर यसलाई राष्ट्रियताको मापदण्डको अभियान बनाउनु आवश्यक छैन । भाषाले भन्दा हृदयले आफ्नो पहिचान जीवित राख्ने हो । नेपाली भाषा पटक्कै बोल्न नसक्ने पनि कहिले काहीँ नेपाली भाषाको जरैसमेत बुझ्नेभन्दा बढी नेपाली हुन सक्छन् । हृदयभित्र नेपाल रहेसम्म नेपाली ‘पहिचान’लाई केहीले पनि मेटाउन सक्तैन ।

अचेल के गर्दै हुनुहुन्छ ? कुनै कृति लेखन वा प्रकाशनको तयारीमा हुनुहुन्छ कि ?

पहिलो प्रश्नकाे एकै वाक्यको जवाफ मसँग छैन । समय यसै घरपरिवारसँग नै बितिराखेको छ । लेखन र प्रकाशन मेरो योजनाबद्ध कार्यक्रम कहिल्यै भएन । लेखन प्रकाशनको तनाव र दबाब मेरो लेखन आदतभित्र पर्दैन । सहज रूपले स्वतः स्फुरित  लहडले मात्र मलाई लेख्न घच्घच्याउने गर्छन् ।  लेख्ने र प्रकाशन गर्ने अगाडि नआएको धेरैजसो समय  राम्रा राम्रा पुस्तक पढ्न पनि मलाई उत्तिकै रमाइलो लाग्छ । लेख नभए पनि पढ प्रायः भैरहन्छ । यस मामिलामा अनुशासनका घेरामा बाँधिन नसकेको कहिलेकाहीँ खट्किन्छ । यसले निरन्तर टाउको भने दुखाउँदैन ।

तपाईँको लेखन हेर्दा तपाईँ संस्मरण साहित्यमा अति रुचिपूर्वक लाग्नु भएको देखिन्छ । किन होला ?

यो पनि योजनाअनुसार भएको हैन । हुन त लगातार निस्किएका तीनवटा संस्मरणात्मक पुस्तकहरूको प्रकाशनले त्यसो नभन्ला । तर मेरो लेखनको आरम्भ कविता, कथा अनि समालोचनाबाट भएको हो । तीसको दशकमा नै कविता, कथा एवं समालोचनाका फुटकर सिर्जना विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका भए पनि पुस्तकका रूपमा कथा र समालोचना अझै निस्किन सकेका छैनन् । त्यो अर्थमा मेरो रुची संस्मरण लेखनमा भएको भन्नलाई कुनै सबुतको आवश्यकता देखिँदैन । संस्मरणबाहेक अन्य कुनै विधाको लेखनले पनि  वास्तवमा मलाई तृप्तिको त्यति नजिक पुर्याउँदो रहेनछ । कथा, कविताजस्ता काल्पनिक लेखनभन्दा संस्मरण लेखनमा मलाई पटक्के प्रयास गर्नु पर्दैन ।  संस्मरण लेखनमा आफू इमान्दार भएको अनि उदार भएको अनुभव हुन्छ । आफूलाई जस्ताको तस्तै प्रस्तुत भएको पाउँछु । संस्मरणले मेरो हृदयको भित्री तहको गीत गाएको अनुभव हुन्छ । किन यस्तोको उत्तर मसँग छैन । मेरो भावना अनुभवसँग मिसिएर हृदयको फेदीबाट झरेपछि सायद अभिव्यक्तिको सङ्गीत बन्छ ।

संस्मरण आफ्नो सन्तुष्टिका लागि लेखिने हो वा जनचासोका लागि लेखिने हो ?

सैद्धान्तिक रूपमा संस्मरण किन लेखिन्छ ? यसकाे उत्तर मसँग छैन । संस्मरणले मलाई अतीतको यात्रामा गएर संवेदनाका चोटहरूसँग भेट गराउँछ । ती चोटहरूसँग फेरि भेट गरेपछि तीनले अलिक कम पीडा दिन्छन् ।  पीडासँग मेरो अलिकति मित्रता हुन्छ । आलै छोपिएका घाउ थिए भने तीनमामा खाटो बस्तै जान्छ । दुखेको मन सहलिँदै जान्छ । मेरा नितान्त व्यक्तिगत अभिव्यक्तिले एउटा मात्र अर्को हृदय स्पर्श गर्न सक्यो भने त्यसले दिएको सन्तुष्टि मैले फोसामा पाएको हो । नमागी प्राप्त वरदान जस्तो । मैले संस्मरण स्वभावतः आफ्नै सन्तुष्टीका लागि लेखेको हुन्छ ।

संस्मरणमा आफ्नो आफ्नो परिवारका कुराहरूलाई केन्द्रमा राख्नुपर्छ वा परिवार बाहिरका पनि ?

संस्मरण भनेको जीवन हिँड्दै गर्दा भेट्टिएका अनुभूतिहरू हुन् । हृदयमा अमीट छाप छोड्ने ती अनुभूतिका केन्द्रविन्दु जोसुकै र जेसुकै  हुन सक्छन् । परिवारभित्र, परिवारबाहिर, व्यक्ति, स्थान, घटना, जीवजन्तु, मौसम, सबै नै संस्मरणका केन्द्रविन्दु हुन सक्छन् ।  संस्मरण कुनै सीमित घेराभित्र अट्टाउन सक्तैन । अट्टाउनु पनि हुँदैन ।

संस्मरण लेखनका केही मानक वा नियमहरू छन् ?

मैले  यसबारे खोजी गर्नै बाँकी छ । छन् भने पनि मैले ती कुनैको अनुसरण गर्ने गरेको छैन । संस्मरण लेख्ता मैले पालन गरेका मानक नियम भनेको हृदयको गहिराईभित्र डुबुल्की मार्दा भेट्टिने अनुभूतिका मोतीको खोजी हो । एक एक गर्दै ती मोती  भेला पारेर ती नै मोतीहरूलाई उनेर मैले संस्मरणको माला बनाउने गरेकी छु । त्यही माला पाठकसमक्ष प्रस्तुत गर्ने गरेकी छु ।

प्रतिक्रिया
Loading...