भारतेली नेपाली साहित्य-पत्रकारिताको कुरा गर्दा कालेबुङका हीरा छेत्रीको नाम पहिलो लहरमा आउँदछ । एक कुशल सम्पादक, प्रखर व्यङ्ग्य लेखक, व्याकरणका अभिज्ञ ज्ञाता ५३ वर्षीय छेत्रीज्यू विगत चार दशकदेखि निरन्तर लेखनकार्यमा संलग्न छन् । अहिलेसम्म अनेकौँ पत्रपत्रिका अनि स्मारिकाहरूका सम्पादन गरिसकेका उनको एक अमूल्य कृति ‘भारतेली नेपाली पत्रपत्रिकाको शताब्दी‘ आज आम साहित्यपाठकले मात्र नभई शोध विद्यार्थीहरूले पनि खोजी खोजी पढ्ने गर्छन् ।

भाषिक शुद्धाशुद्धिका विषयमा युवावस्थादेखि नै उनी होमिएको देखिन्छ । भन्नुपर्दा, ‘ग्राउन्ड जिरो’ मा रहेर उनी यस कार्यमा साधनारत छन् । समाजका हरेक वर्गका मानिसहरूलाई लिएर विभिन्न कार्यशालाहरू गरेर उनले अनेकौँ लेखक, विद्यार्थी, शिक्षकहरूलाई भाषिक शुद्धताबारे अवगत गराएका छन् । अहिले सोही काम सुदूर मुम्बईबाट अनलाइनमार्फत निरन्तर गरिरहेका छन् ।

उनी अत्यन्त स्पष्टवादी मान्छे । कहीँकतै भाषिक अशुद्धि देखा परे लेख्ने व्यक्तिलाई सोझै प्रश्न तेर्स्याउँछन् र हपार्छन् पनि । युवावस्थादेखि नै दैनिक समाचारपत्रहरूमा भाषिक गल्तीहरू देखे सम्पादकलाई पत्र लेखेर स्पष्टीकरण माग्थे उनी । उनका ती रूखो प्रतिक्रियात्मक लेखहरू पनि छाप्न बाध्य हुन्थे सम्पादकहरू । सामाजिक सञ्जालमा उनीसित जोडिएकाहरू उनको यो अभ्याससँग राम्ररी परिचित छन् । भाषाको शुद्धाशुद्धि अनि एकरूपताप्रति उनको यो लगनशीलता आज सबैका निम्ति उदाहरणको विषय बनेको छ, साथै धेरै भाषासचेत व्यक्तिहरू आज उनको यस पहलसित जोडिएका पाउँछौँ ।

नेपाली भाषाको शुद्धाशुद्धि, बर्सौँदेखि चलिआएको हिज्जेगत तथा व्याकरणगत विवाद अनि भाषाको मानकीकरण सन्दर्भमा उहाँसँग लिइएको अन्तर्वार्ता यहाँ पाठकवर्ग समक्ष प्रस्तुत छ:

अन्तर्वार्ताकार: बिलोक शर्मा (डुवर्स)

१.   आफ्नो भाषाप्रति काम गर्नुपर्छ भन्ने मानसिकता तपाईँमा कसरी आउन सक्यो?

भाषाप्रति काम गर्नुपर्छ भन्ने जागरुकता त एकाएक नआएर साहित्यिक परिवेशमा शिक्षादीक्षा, रहनसहन हुन गएका कारण आएको हुनुपर्ने । अर्धचेत अवस्थामा आयो होला । यसरी नै आयो र यो घटनाबाटै आयो भन्ने त्यस्तो कुनै स्थिति याद आउँदैन तर भाषाप्रति मोह भने जब हाम्रो मातृभाषालाई भारतका तत्कालीन प्रधानमन्त्रीले विदेशी भन्ने लाञ्छना लगाए त्यतिखेरै जागेको हो । उतिखेर हामी मसिनै थियौँ । वरिष्ठ भाषाकर्मीहरू त्यस वक्तव्यको पुरजोर विरोध गरेर नाराबाजीसित धर्ना-जुलुस आयोजना गर्दै सडकमा उर्लिएका थिए । केटौले उमेरका हुनाले होहोरीमा लागेर हामी पनि अनेपाली भाषामा लेखिएका होर्डिङ, साइन बोर्ड, गाडीका नम्बरप्लेटहरू तोडफोड गर्ने काममा होम्मिएका थियौँ कालेबुङमा । सन् १९७९ –को कुरो हुनुपर्छ । यो घटना तर भाषिक चेतनाको प्रतिफल भने कदाचित् थिएन । ठिटौले उमेरको जोस मात्रै थियो । हुन सक्छ पछि गएर सङ्गत साहित्यिक भेटियो । गाउँघरको वातावरण पनि निकै साहित्यिक खालको थियो । यी नै भाषाप्रेमका आधार बने ।

२.   भाषिक शुद्धाशुद्धि लिएर काम गर्ने प्रेरणा कहाँबाट पाउनुभयो?

     भाषा शुद्ध लेख्नुपर्छ भन्ने र एकरूपताको अभियान भन्ने विषय १९८२-८३ –देखि बुझ्नथालेको जस्तो लाग्छ । त्यस समय मेन्युअल प्रेसमा छाप्पिएर ‘हिमालचुली’ दैनिक सिलगडीबाट निस्कन्थ्यो । त्यस पत्रिकामा भाषाविषयक रोचक रोचक चर्चाहरू पढ्न पाइन्थे । मलाई त्यसमा चाख लाग्थ्यो । मसित मेरी दिदी पनि साथ लागेर पढ्थिन् । दिदीको स्कुलमा नेपाली पढाउँथे भाइचन्द प्रधानजस्ता वैयाकरणले । दिदीले मलाई बेलुकी घरमा भाइचन्द सरले दिनभरि स्कुलमा सुनाएका व्याकरणका कुराहरू गर्थिन् । म मक्खै पर्थेँ । कालेबुङ उसै पनि स्व. पारसमणि प्रधान र स्व. रामकृष्ण शर्माजस्ता व्यक्तित्वहरूको वासभूमि । उनीहरूको सिँगौरी चलेका कुराहरू सुनिन्थ्यो । शुद्धाशुद्धिका ३२ बुँदा भन्ने पुस्तिकाहरू पढ्थ्यौँ । यसो हुँदा शुद्ध लेखनतिर सुस्तरी ध्यान जान थालेको थियो । शिक्षकहरू पनि जन्डा जन्डा भेट्यौँ । ‘उ वर्णको पछि न वर्ण भए चन्द्रबिन्दु लाग्दैन’ भन्दै कन्सिरी उखेलेको घटना सम्झिँदा आज पनि शरीर तातो हुन्छ । यहाँनेर एउटा घटना सुनाउन चाहन्छु सो के भने सन् १९८३ –तिर म दसौँ श्रेणीको विद्यार्थी हुँदा स्व. पारसमणि प्रधानले मलाई उहाँको निवासस्थानमा बोलाउनुभयो । मेरा लागि यो आठौँ वा नवौँ आश्चर्य थियो । म गइनँ, डरले । फेरि अचम्मको कुरा चाहिँ यसरी उहाँले मलाई बोलाउनुको कुनै कारण नै थिएन किनकि मैले त्यतिन्जेल केही लेखेको थिइनँ । लेखेको भए पनि दुईचार हँस्यौलीहरू लेखेर एकाध पत्रिकातिर पठाउँथेँ, हिमालचुलीको जनमत स्तम्भमा चिठीपत्र पठाउँथेँ । मलाई स्व. प्रधानले बोलाएको कुराबारे सबैले घरिघरि झकझकाइरहेको कारण सन् १९८४ –को मार्च २० तारिखका दिन आँटै गरेर उहाँलाई भेट्न भाग्यलक्ष्मी भवनको पहिलो तलाको बरान्डामा पुगेको घटना आँखाअघि झल्झली आउँछ । यतिखेर बुढासित भएका कुराहरूलाई मैले ‘पारसको प्रेम र हीराको हार’ भन्ने संस्मरणमा लेखिसकेको छु । यो घटनाले भने मलाई निकै उक्सायो एकरूपता वा शुद्धाशुद्धिको क्षेत्रमा ध्यान दिने किनभने यसअघि मैले उहाँको एकरूपता अभियानबारे धेरैवटा लेख र अन्तर्वार्ताहरू विभिन्न पत्रपत्रिकामा पढेको थिएँ र उहाँलाई मनमनै मन पराउन र उहाँसित डराउन थालेको थिएँ । मन पर्ने मान्छेसित डर लाग्छ नि, त्यस्तै । पछि पछि भाइचन्द प्रधान सरसित पनि मेरो निकै आत्मीयता बढ्यो । धेरैपछि पनि सुनचरी -का लागि उहाँको अन्तर्वार्ता गर्दा सरले मसित भाषाबारे निकै कुरा गर्नुभएको थियो । यी कुराहरू नै होलान् भाषाको एकरूपताप्रति चासो जगाउने ।

३. भाषाको शुद्धाशुद्धि जस्तो विषयमा काम गर्ने व्यक्ति सहजै भेटिँदैन । यहाँले यस विषयलाई यति गम्भीरताका साथ लिएको विशेष कारणहरू के के हुन्?

यस्तो विषयमा चासो लिनेहरू खुबै कम हुन्छन् । तपाईँको कुरा सही हो । यो मार्ग जोखिमले भरिएको छ । साहित्यका धेरै गद्य विधाका विषयहरूमा भाषिक चर्चा पनि एक हो । अन्यमा लेख्नुभन्दा यो एकदमै अपजसे मानिन्छ । यसमा अध्ययन चाहिन्छ अनि अभिरुचि पनि । हामी भुईँफुट्टेहरू हौँ । यद्यपि चासाको विषय भएकाले यही बाटो हिँड्न मन लाग्छ । कहाँसम्म पुगिने हो हेरौँ.. । यसैकारण यो बाटो रोजेको भन्ने चाहिँ खासै केही कारण छैन । आफ्नो मातृभाषा हो मायाँ लाग्छ । यसमाथि कसैले डेरो नजर गरेको मन पर्दैन । नेपाली वा गोर्खा जातिका समस्त जातगोष्ठीलाई एक छत्रछायामा जोड्ने यो मात्र एउटा आधार छ, अरू छैन । हामी आज ससाना खुद्रा कुरामा बाँडिएका छौँ तर नेपाली भाषा बोलेर मात्रै साथ छौँ । यो आधारमाथि कुठाराघात गर्ने धेरै प्रयास हुन्छ समय समयमा किनभने वैरीहरूलाई थाहा छ हामी भाषाले गर्दा मात्रै एकताको सूत्रमा बाँधिएका छौँ भनेर । यसैले यस आधारलाई तोड्ने धेरै विफल प्रयासहरू अघि अघि पनि भएकै हुन्, आजकल त झन् गुप्त र लुप्त भेषमा भइरहेको छ । यद्यपि यो दुष्प्रयास कदापि सफल हुने होइन किनकि नेपाली भाषालाई मायाँ गर्ने सबै जातगोष्ठीमै हामी नेपालीभाषीहरू छौँ । यसैकारण पनि नेपाली भाषा अनि भाषाको शुद्धाशुद्धिमाथि आफ्नो रुचि बढेको हुन सक्छ ।

हीरा छेत्री

४. हाम्रो समाजमा लेख्य भाषा अनि कथ्य भाषामा धेरै नै अन्तर पाउँदछौँ । यसका प्रमुख कारणहरू के मान्नुहुन्छ तपाईँ?

साह्रै अन्तर त देखिन्न । प्रायः नै हामी जे बोल्छौँ त्यही लेखिरहेका हुन्छौँ । हो, कति शब्दहरू भने विकृत रूपमा बोलिन्छन् र त्यही रूपमा लेखिने गरिएको हुँदा असजिलो लाग्छ । यद्यपि बोल्ने र लेख्ने भाषामा साह्रै अन्तर भएजस्तो लाग्दैन मलाई त । फेरि लेख्य अनि कथ्यमा अन्तर हुनु कुनै अचम्म होइन अनि यो हाम्रो समाजमा मात्रै होइन । एकरूपता, मानक भाषा वा शुद्धाशुद्धि भन्ने मुद्दा नितान्त रूपमा स्तरीय लेख्य भाषासित जडित विषय हो । कथ्य भाषा आँखाले देखिन्न, केवल सुनिन्छ । नेपाली एउटा विश्वभाषा हो जसको कथ्य रूपमा एकनासेपन आउनु असम्भव छ । अमेरिकामा बस्ने नेपाली र भुटानमा बस्ने नेपालीको बोली एउटै हुन सक्तैन । मान्छे बोलीले पनि चिनिन्छ । कतिजना भन्ने गर्छन् नि – दार्जीलिङे बोली, नेपालको जस्तो बोली, मैदाने बोली इत्यादि । कथ्य भाषा स्वतन्त्र रूपको हुन्छ भने लेख्यमा नियमनीति लागु हुन्छ र हुनुपर्छ । त्यसो हो भने एकरूपको भाषा देखिन्छ अनि सिक्नेलाई सहज हुन्छ ।

५. भाषालाई साँचो अर्थमा मायाँ गर्नेहरू हाम्रो समाजमा कति प्रतिशत छन् जस्तो लाग्छ तपाईँलाई?

भाषालाई मायाँ नगर्ने कोही पनि हुन्नन् । मायाँ पनि किसिम-किसिमको हुन्छ । घरमा कुकुरको बच्चा पालेपछि सुरुसुरुमा त्यसैसित सुत्छौँ, त्यसैलाई चाट्छौँ, सुमसुम्याउँछौँ यो पनि मायै हो । त्यो छाउरो अलि ठुलो भएपछि भतुवा कुकुरजस्तो घरबाहिर घुम्न थाल्छ कि भन्ने डरले खोर बनाएर राख्छौँ तर मायाँ गरिरहन्छौँ । दिनभरि गाउँ चाहारेर आयो भने सिकुवामा राख्छौँ । गन्हाउने भएपछि, उपियाँ लाग्न थालेपछि अलि टाढा लगेर बाँध्छौँ । छिःछिः र दुरदुर गर्छौँ । एकदिन मर्छ अनि आँसु चुहाउँदै त्यसलाई माटामा गाढ्छौँ वा नगरपालिकाको जिम्मामा सुम्पिन्छौँ । यसरी मरुन्जेल पनि हामीले यसलाई मायाँ गरिरहेकै हुन्छौँ तर डिग्रीमा कम र बेसी हुन्छ । त्यो बच्चो कुकुर र मर्ने बेलाको कुकुरलाई जुन डिग्रीको मायाँ गर्छौँ हामी त्यस्तै सबै स्तरका मायाँ हामी सबैले आआफ्ना तरिकाले भाषालाई गरिरहेकै हुन्छौँ । भाषासित भावनात्मक सम्बन्ध सबैको छ । २०१७ –को दार्जीलिङ पहाडको बन्दको कारक तत्त्व यही थिएन? त्यो बन्द पालन गर्नेहरूमा कहीँ न कहीँ, कतै न कतै भाषाप्रति मायाँ थियो । आआफ्नै डिग्रीको मायाँ । यसैले भाषाप्रति मायाँ नभएको नेपाली वा गोर्खा त यो संसारमा नहोला ।

तपाईँको प्रश्न हुन सक्छ भाषा बिगार्ने वा हेलचेक्र्याइँ गर्नेहरूतिर इङ्गित गरेर सोधिएको हो । यस्ताहरू पनि धेरै छन् । कतिले नजानेर गर्छन् त्यो क्षम्य छ तर धेरैले चाहिँ खेलाँची नै गर्छन् । जसले सही लेख्नुपर्ने हो लेख्दैनन् । नेपालीमा यति पढेको र यति काम गरेको चाहिँ भन्छन् तर लेख्नचाहिँ केटाकेटीले जस्तो लेख्छन् अनि कुन सही र कुन गलत हो त्यसको हेक्कासम्म राख्दैनन् । यस्ताहरूको हुल ठुलो छ हामीसित ।

६. पहाडमा त अब नेपाली माध्यमका विद्यालय पनि छैनन् भन्छन् नि?

हजुर छैनन् । छैनन् भनेर दुःखी हुनु कि खुसी हुनु? नेपाली माध्यमका विद्यालयहरूले हातमुख जोडिदिन्छन् कि अङ्ग्रेजी माध्यमले? रोजगारमुखी भाषा कुन छ? मान्छेको सबैभन्दा ठुलो आवश्यकता के हो? भाषा हो कि भात हो? रित्तो पेटले समाज, जाति, संस्कृति, धर्म, देश, साहित्य केही सोच्तैन । मानिसको जीवनमा यी सबै विषयहरू प्राथमिक आवश्यकता होइनन् । पहिलो जरुरत हो खाने कुरा । खाएर डम्म भएपछि अघाएको मान्छे पो गीत गाउँछ, नाच्छ, उफ्रिन्छ । भोकाले थोरै यसो गर्छन्? भन्नुको अर्थ के हो भने नेपाली माध्यम पढेर हामी पेट भर्न समर्थ छौँ । के हुँदा हो त हाम्रा बडेबडे साहित्यकारहरू, डाक्टरेटहरू, नेपाली भाषाका प्रोफेसरहरू, शिक्षकहरू, पत्रकारहरू किन आफ्ना छोराछोरीलाई नेपाली माध्यमका स्कुल पढाउँदैनन्? विद्यार्थीहरू पाइए स्कुल पनि त रहन्थ्यो होला नि । नेपाली पढाएर आफ्नो बालबच्चाको भविष्य बिगार्न को चाहन्छ?

जबसम्म नेपाली पढ्ने विद्यार्थीले रोजगार पाउने मौका आउँदैन, नेपाली माध्यममा पढेर उनीहरूको भविष्य जबसम्म सुनिश्चित हुँदैन तबसम्म यो प्रश्न नै हास्यास्पद हुनेछ । आज तपाईँ रोजगारमा हुनुहुन्छ, म रोजगारमा छु । मुटुमा हात राखेर, व्यावहारिक बनेर भन्नुहोस् के यो नेपाली माध्यममा पढ्नुभएको कारण सम्भव भएको हो? के हामी आफ्ना नानीहरूलाई नेपाली माध्यममा पढेको देख्न चाहन्छौँ? यसको विपरीत अरू भाषीहरूले मातृभाषामै पढ़्छन् त भनेर हामी तर्क दिन सक्छौँ । म पनि भन्छु, म अहिले महाराष्ट्र राज्यमा छु । यहाँका धेरै मेरा साथीहरू मराठी माध्यमा पढेकाहरू छन् । उनीहरूको भने यो भाषामा आधारित पदहरू सुरक्षित छन् । मराठीमा पढ्दा पनि उनीहरूले पेटपाला र आफ्नो गुजाराको मेलो गर्न सक्ने प्रचुर अवसरहरू पाउँछन् । हाम्रो यस्तो अवस्था छैन ।

प्रश्नमाथि प्रश्न गरेर मैले नेपाली माध्यमको शिक्षामाथि नकारात्मक टिप्पणी गरेको होइन । नेपाली भाषालाई जबसम्म हामी रोजगार वा पेटपालासँग प्रत्यक्ष रूपमा जोड्न सक्तैनौँ अथवा यसलाई जबसम्म हाम्रो व्यावसायिक भाषा बनाउन सक्तैनौँ तबसम्म यो भाषाको स्कुलमा पढाएर नानीहरूलाई नैराश्यको सिकार मात्र किन बनाउने? नेपाली भाषा जान्नेहरूको रिक्त पद वर्षमा कति निस्कन्छ? आजको दिनमा नेपाली पढ्ने वा नेपाली माध्यमको अध्ययन गर्नेको अन्तिम लक्ष्य शिक्षक पेसाबाहेक केही छैन । भाषालाई व्यावहारिक, व्यावसायिक, पेसागत बनाउनुपर्छ । व्यापारमा पनि नेपाली चल्नुपर्छ । विज्ञानमा पनि चल्नुपर्छ । तब गएर नेपाली पढ्नेहरूले अवसर पाउलान् तर के यो सम्भव होला त? सिक्किम राज्यले इच्छाशक्ति देखायो भने यो केही प्रतिशतसम्म सम्भव छ । राज्यको मूलभाषा नेपालीलाई समस्त सरकारी कामकाजको माध्यमको रूपमा प्रयोग गराउन सक्षम कुनै सरकार आयो भने धेरै नै रोजगार खोलिने हो । नेपाली पढेर जबसम्म पेटपाला हुने अवसर आउँदैन तबसम्म नेपाली माध्यमको विद्यालय आजको समयमा व्यावहारिक हुन्छ भन्ने मलाई कतै लाग्दैन । यसको अर्थ नेपाली भाषाको शिक्षा कामै नलाग्ने भन्ने चाहिँ कदाचित् होइन तर जहाँसम्म पापी पेटको प्रश्न छ त्यहाँ हामी व्यावहारिक नभई धरै छैन । अहिले वास्तवमा नेपाली पढेपछि पाइने रोजगारहरू हातका औँलामा गन्ती गर्न सकिन्छ । सबैभन्दा पहिले त शिक्षक त्यसपछि स्नातकोत्तर, एमफिल, डाक्टरेट, जेआरएफ, नेट, स्लेट इत्यादि के के गरेर प्राध्यापक । त्यो पनि उच्चकोटीको शिक्षकै त हो । त्यसपछि यदाकदा रिक्त पद देखा पर्छन् रेडियो, दूरदर्शन वा प्रसारभारती, संसद्‌तिर अनुवादक वा इन्टरप्रिटरको, आइटी सेक्टरतिर । त्यो पनि बहुतै कम अनि कन्ट्र्याक्टमा । नेपाली भाषा जान्ने मात्रै यो पदका लागि योग्य हुने भन्ने खालको कुनै पद छैन नै भन्दा हुन्छ ।

७. उसो भए नेपालीलाई कसरी रोजगारमुखी भाषा बनाउनुपर्ने त? तपाईँको जानकारी र अनुभवमा यसका उपायहरू देख्नुहुन्छ?

हुनुपर्ने के हो भने नेपालीभाषी बहुल क्षेत्रहरू दार्जीलिङ, सिक्किम, डुअर्स, आसाम, उत्तराखण्ड आदिमा जति पनि सरकारी दफ्तरहरू छन् त्यहाँका कर्मचारीहरू नेपाली हुनुपर्ने हो । कमसे सम ग्रुप सी अनि डी त अवश्यै हुनुपर्ने हो । दार्जीलिङको आम भाषा यदि नेपाली हो भने त्यहाँ नियुक्ति पाउने वा सरुवा भएर पुग्ने अधिकारी वा कर्मचारीहरू जसको दैनन्दिनी आम जनतासित सरोकार राख्ने हुन्छ, उनीहरू अनिवार्य रूपमा नेपाली बोल्न र लेख्न जान्ने हुनैपर्छ । यसो हुँदा ती अनेपालीहरूलाई नेपाली सिकाउने र पढाउने तालिम केन्द्रहरू खोलिन्छन् । यो एउटा सानो उदाहरण मात्रै हो । यस्ता अरू पनि धेरै कार्य छन् जो गर्न सकिन्छ । उदाहरणका लागि – सानो एउटा गाउँ छ । त्यहाँ एउटा निजी वा सरकारी ब्याङ्क सुरु हुने भयो भने कर्मचारीहरूले नेपाली जानेको हुनुपर्ने बाध्यता हुनुपर्छ किनभने त्यहाँ ९५ प्रतिशत ग्राहकहरू नेपालीभाषी पुग्नेछन् । चियाबारीका एक साधारण श्रमिक खाता खोल्न ब्याङ्क पुग्दा उसलाई किन बङ्गाली वा हिन्दी बोल्न कर लगाइन्छ? यहाँ उल्टो छ – कर्मचारीले ग्राहकको भाषा होइन ग्राहकले पो कर्मचारीको भाषा सिकेर आफ्नो काम बनाउनुपर्ने स्थिति छ । पुलिस अधिकारी बङ्गाली, न्यायाधीश  तमिल, डाकपाल हिन्दीभाषी, ब्याङ्क म्यानेजर तेलुगूभाषी छन् हाम्रातिर । जब क्षेत्रीय ज्ञान अनिवार्य गरिन्छ तब त्यसै क्षेत्रका उम्मेद्वारहरूले रोजगारी पाउने मौका अधिक रहन्छ र काम पाउन थालेपछि त्यसै भाषामा पढ्न रुचाउनेहरूको पनि सङ्ख्या बढ्न सक्छ ।

अरूतिर हेरौँ न – भारतीय रेल भनिन्छ । सुनिँदा त राष्ट्रियस्तरको सुनिन्छ नि । दार्जीलिङ मेलमा नेपालीभाषी टि.ई. हामी कतिजना छौँ? माल्दा उक्लेपछि बङ्गाली शतप्रतिशत, तल उडिस्सा झरेपछि उडिया, बिहारमा बिहारी हुन्छन् । हाम्रो भेकमा डुअर्सगामी, उत्तरपूर्वाञ्चलगामी रेलमा किन नेपालीभाषी कर्मचारीहरू छैनन्? अब किन छैनन् भनेर गनगन गर्ने पनि होइन, यो साधारण मुद्दा हो । यसलाई सही तरिकाले जनप्रतिनिधिले चाप दिएर सम्बन्धित विभागलाई पत्राचार गरिदिए यसमाथि अवश्यै काम हुने हो । अब जनप्रतिनिधिलाई काम कसले गराउने त भन्दा यो जिम्मा हुनुपर्ने हो हाम्रा भाषा र साहित्यको जगेर्ना गर्ने ठेका लिएर बसेका संस्थाहरूको तर उनीहरूमा कटिबद्धताको कमी छ । साँचो अर्थमा नेपालीभाषाको सेवा गर्न उनीहरू त्यहाँ बसेजस्तो देखिन्न । आफैँले पहल गरेर नेपालीभाषीले पाउनुपर्ने सुविधा ल्याउने संस्था बहुतै कम छन् । प्रस्ताव आएको खण्डमा त्यसमा केही काम गरेजस्तो चाहिँ गर्छन् तर स्वयम् अघि सरेर आएको खुबै काम त के देखिएकै छैन भन्दा पनि हुन्छ । हो, आजको दिनमा ग्रामीण क्षेत्रका ब्याङ्कतिर नेपालीभाषी कर्मचारीहरूको उपस्थिति केही मात्रामा वृद्धि भएको छ तर पनि उनीहरू त्यहाँ नेपालीभाषी भएको नाताले आरक्षण पाएर पुगेका होइनन् । ब्याङ्क भर्तीको कुनै पनि अधिसूचनामा क्षेत्रीय भाषाको जानकारीलाई अनिवार्य बनाइएको उदाहरण देखिएको छैन । होइन भने हेर्नुहोस् आई.बि.पि.एस. -को अधिसूचना, रेलवे भर्तीको विज्ञापन तर यसो गरिनुपर्ने हो ।

८. भाषाको संरक्षणमा साहित्यिक सङ्घ-संस्थाहरूको महत्त्वपूर्ण भूमिका हुने गर्छ । यस सन्दर्भमा संस्थाहरूको भूमिकालाई कसरी हेर्नुहुन्छ?

अघिल्लो प्रश्नमा पनि यसबारे अलिकति चर्चा भएको छ । यो प्रश्न एकदमै सान्दर्भिक अनि महत्त्वपूर्ण छ । यो प्रश्न तपाईँबाट नआएको भए पनि म स्वयम् सोध्न लगाउने थिएँ । यस प्रश्नको धेरै लामो स्पष्टीकरण र व्याख्या हुन सक्छ तर छोटकरीमा भन्ने कोसिस गर्नेछु ।

भूपी शेरचनको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढ्नुभएको छ प्रायः सबैले । उखानको रूपमा भन्नु हो भने ‘बाँदरको हातमा नरिवल ।’ मलाई दार्जीलिङ पहाड र सिक्किम अनि वरिपरिका इलाकाका साहित्यिक संस्थाहरूबाहेक अन्यत्रबारे धेरै अनुभव छैन । मूलतः नेपाली भाषाका अभिभावक संस्थाहरू यिनै क्षेत्रमा छन् । राजधानी दिल्लीको अटोनोमस बडी साहित्य एकेडेमीमा पनि नेपाली भाषाको परामर्श समिति अलग्गै छ । यो पनि अभिभावक नै हो । विश्वविद्यालयका नेपाली विभागहरू छन् ती पनि अभिभावकै हुन् । सिक्किममा नेपाली एकेडेमी पनि छ भनिन्छ । सबैलाई नभए पनि मेरो विचार ती संस्थाका कुर्सीधारक बहुसङ्ख्यकलाई लागु हुन्छ । के भने उनीहरू केवल चौकी ओगटेर बसेका छन् । नयाँ सोच, नयाँ विचार, व्यावहारिक विषयलाई लिएर गम्भीर छैनन् । दुईएकजना होलान् तर बहुसङ्ख्यामा कामचलाउ प्रवृत्ति हुनेहरू हुनाले एकलो बृहस्पतिको अवस्थामा इमानदारहरू मौन छन् । परम्परागत विचारमा उनीहरू धेर कुँजिएका छन् । तपाईँ पत्याउनुहुन्छ कि हुन्न मैले एक जना यस्तै संस्थाकी पदाधिकारी महिलासित बात गर्दा उनलाई नेपाली भाषामा पनि कम्प्युटरमा लेख्न सकिन्छ भन्ने जानकारी नभएको थाहा पाएँ । संस्थाको नीति निर्माण गर्ने कार्यकारी समितिमा जग्गा ओगट्ने धेरै जना लेखक-लेखिकाहरूलाई फन्ट भनेको थाहा छैन, देवनागरी टाइपिङको लेआउट थाहा छैन, डि.टि.पि. भनेको बुझ्दैनन्, नेपालीमा इमेल गर्न जान्दैनन्, आफ्नो व्यक्तिगत इमेल छैन, वाट्सअपमा नेपालीमा लेख्न सकिन्छ त्यसलाई फरवार्ड गर्न सकिन्छ, त्यसलाई कपी गरेर सम्पादन गर्न सकिन्छ भन्ने हेक्का छैन । होइन भन्नुहुन्छ भने अहिले मैले यो प्रश्नको उत्तर दिँदादिँदै तपाईँ स्वयम् जाँच गर्नुहोस् नेपाली भाषाका यस्ता कुन कुन संस्थाको निजी इमेल आइडी छ? अनि छ भने कतिको एक्टिभ छ? त्यो इमेल कसले ओपरेट गर्छ?  सामाजिक सञ्जालमा कुन कुन संस्था सक्रिय छन्? अहिलेको साहित्यिक परिवेश, एसियाली वा विश्वस्तरको साहित्यको विकास, नयाँ धारा, नयाँ अवधारणाहरूबारे उनीहरूको ताजा अपडेट कुन कुन पेजमा पढ्नुभएको छ? ती सबैको तुलनामा राजा पुनियानी एक्लैले जुन काम गरिरहेको छ त्यो देखेर लाज लाग्नुपर्ने हो तथाकथित साहित्यकार वा साहित्यिक संस्थाहरूलाई । मलाई गत सालको लकडाउनको समयमा कुनै एउटा साहित्यिक संस्थाबारे छोटो जानकारीको आवश्यकता पऱ्यो । संस्थाका पदाधिकारीहरूलाई अनुरोध गर्दा उनीहरूले हालमा लकडाउनको कारण संस्था बन्द रहेको अनि खुलिएपछि खोजखाज गरेर दिने भने । काम गर्ने तरिकामा हामी विकसित छैनौँ । हुनुपर्ने के हो भने कुनै पनि एक सक्रिय पदाधिकारीको हत्केलामै यो जानकारी रहनुपर्ने हो आजको तकनिकीको समयमा । आज दुनियाँ मेरी जेब मेँ भनेजस्तै संसार हत्केलामा छ । सभा, बैठक, गोष्ठी सब चोठाकोठामै बसेर गर्न सकिन्छ । हरेक दस्तावेजलाई डिजिटलाइज गर्न सकिन्छ । हाम्रा कति संस्थाहरूले यो काम गरेका छन् लौ भन्नुहोस्? यी सबै कुराहरूमा आजका युवाहरू पारङ्गत छन् । युवाहरू पनि ती संस्थामा छैनन् भन्ने होइन तर साधारण सदस्य बनाएर केवल चियाचमेना बाँड्ने, साउन्ड सिस्टम चेक गर्ने, चौकी ओसारपसार गर्ने  काममा उनीहरूलाई दलिन्छ । संस्थाहरू आज पनि भानुजयन्तीको निम्तो छापेर, त्यसलाई खाममा हालेर, बाहिरबाट हातले ठेगाना लेखेर बाँड्ने काममा व्यस्त छन् जब कि दुनियाँले ई-निम्तो थालेको एक दशक पुगिसक्यो । भाषा-साहित्यको मौलिक ज्ञानसम्म नभएका, वर्तमान स्थितिको साहित्यिक परिस्थिति नबुझेका, पत्राचार गर्नु भनेपछि एकअर्काको मुख ताकाताक गर्ने, नयाँ प्रस्तावहरू सरकार वा निकायहरूतिर तर्कसहित लेखपढ गर्ने दिशामा कुनै पहलै नगर्ने, इमेल गर्नुपरे साइबर क्याफेतिर धाउने व्यक्तिहरू पुराना अनि प्रख्यात संस्थातिर चौकी तताइरहेका छन् । तपाईँ पत्याउनु हुन्न होला आशुकवि मोतीप्रसाद शर्माको निधनमा शोकसभा हुँदा एक जना यस्तै ठुलै संस्थाका पदाधिकारीले दिवङ्गत साहित्यकारको नाम पहिलोपल्ट सुनेको कुरो गरेर अवाक् पारे । कतिवटा संस्थामा त विगत कति सालदेखि चुनाव भएको छैन, भए पनि त्यै अनुहार घरिघरि झुल्किन्छन् । यो कुरालाई म चुनौतीका साथ हुङ्कार दिन्छु अनि कसैले यसलाई झुटो दऱ्याउन सके म स्विकार्नेछु । अपवादका रूपमा हाम्रा पुराना चौकीधारकहरू कतै होलान् आधुनिक सोच राख्ने तर अधिकाधिक भने यस्ता छैनन् । यी संस्थाहरूका दायित्व मैले अघिल्ला प्रश्नहरूमा दिइसकेको छु । भाषालाई रोजगारमुखी बनाउने दायित्व यी संस्थाहरूको हो । मेरो सोझो तर्क हो पदाधिकारीहरू उमेर हेरेर होइन, काम हेरेर राखिनुपर्छ । युवाहरूलाई मौका दिनुपर्छ । उनीहरूको विचार सुनिनुपर्छ । जुन समाज समयअनुसार हिँड्न सक्तैन त्यो समाज बैसाखीमै दौडिरहेको हुनेछ ।

९. भारतमा नेपाली भाषाको मानकीकरण अझ पनि भएको छैन । यसका प्रमुख कारणहरू के के हुन्?

यो भन्नुभएको चाहिँ एकरूपको भाषा नै भन्नुभएको होला भन्ने बुझ्छु है म । नेपाली भाषाको मानक रूपको प्रयास भइरहेको छ तर जुन गतिमा हुनुपर्ने त्यस रूपमा भइरहेको देखिँदैन । यसका लागि भाषासम्बन्धी शिक्षा ग्रहण गरेका आधिकारिक व्यक्तित्वहरूतिर नै समाजले ताक्ने गरेको छ । हामी पनि उनीहरूलाई पछ्याउने नै हौँ । मानक रूप नहुनुका प्रमुख कारणहरू भनेर सोध्नुभयो तर थुप्रै कारणहरू छैनन् । एकदुई कारणले यो ढिल्याइ भएको हुन सक्छ । दलवाद, लिँढेढिप्पी, पूर्वाग्रह, समस्या सुल्झाउने दिशामा सकारात्मक पहलको कमी, कसैले गरेको प्रयासमाथि सुझाव अनि सल्लाहको साटो सोझो आक्रमण इत्यादि हुन सक्छन् मेरा विचारमा । यस्ता व्यक्तिगत वा दलबन्दीबाट माथि उक्लिएर भाषाको हितलाई सर्वोपरि ठानेर काम गऱ्यौँ भने नहुने केही छैन ।

१०. हामीमाझ नै भाषिक एकरूपताबारे विभिन्न मतहरू देखा परिरहेका छन् । थोप्लो, बिन्दी, चन्द्रबिन्दु आदिको प्रयोग गर्ने/नगर्ने विषयमा ठुलो वैचारिक विभिन्नता रहेको छ । यसले लेख्नेहरूलाई सही दिशा प्रदान गरेको छैन । झन् नवलेखकहरू त अन्योलमा छन् । के यसको समाधान झट्टै हुनुपर्ने होइन?

हो, यो समस्याको झट्टै निदान हुनुपर्ने हो तर आधिकारिक समाधान हुनुपऱ्यो । कसैले मेरो विचारमा यस्तो, फलानाले भनेको यस्तो सही हो, हामीलाई त यस्तै पढायो भन्ने तर्कले होइन एउटा सर्वमान्य वैज्ञानिक सहमती बनिनुपऱ्यो । त्यसमा जानकारहरू संलग्न हुनुपऱ्यो, सबैले आआफ्नो तर्क वा बुँदाहरू राख्नुपऱ्यो, सबैमाथि छलफल भएर निर्णय लिई बहुसङ्ख्यकको मान्यतासहित यस्ता विवादहरू सुल्झाउनुपऱ्यो । त्यो दिन कहिले आउला र यस्तो सर्वमान्य निर्णयलाई पालन गरौँला भनेर पर्खिनेहरूमा मै पनि पर्छु ।

जहाँसम्म थोप्लाको कुरा छ त्यसमा ठुलो मतभेद देखा पर्न थालेको छ । यसले भाषिक मात्र होइन तर राजनीतिक स्वरूप धारण गर्नलागेको देखिन्छ । राजनीति भन्नाले भोटको कुरो गरेको होइन । भारत र नेपालको भाषिक भिन्नताको आधार थोप्लो हुन लागेको देखिन्छ । जातीय चिह्नारीको सङ्कट भोगिरहेका भारतका अधिकतर भाषासचेत युवाहरूले थोप्लालाई भारतीय चिनारीको रूपमा अङ्गिकार गर्न थालेका छन् । उनीहरूले भाषाबारे पोखेका कतिपय मन्तव्यहरू विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल र साहित्यिक कार्यक्रमरूमा सार्वजनिक हुनथालेका छन् । निर्णय लिँदा युवाहरूको आवाजलाई पनि सुन्नुपर्छ । वैज्ञानिकता अनि भावनात्मकका दुवै पक्षलाई सन्तुलित ढङ्गमा मिलाउने काम गर्नुपर्छ तर यहाँ सन्तुलन बनिने सम्भावना छैन । निर्णय एकलकाँटे नै हुनेछ थोप्लाको विषयमा । कि चलाउने कि नचलाउने भन्ने नै हुन्छ । हामीले भारतीय परिप्रेक्ष्यको भाषाको तर्क गरेका हुनाले यसमा यो विषयलाई पनि आधार बनाउन आवश्यक छ । जसरी अमेरिकाको अङ्ग्रेजी र युरोपेली देशहरूको अङ्ग्रेजीमा हिज्जेगत भिन्नताहरू पाइन्छन् उसरी नै भारतेली अनि नेपालको नेपाली भनेर अलग गर्न सकिन्छ । मोबाइल किनेपछि कुन भाषामा सेटिङ गर्ने भनेर सोधिन्छ जब हामी अङ्ग्रेजी भनेर ओके गर्छौँ त्यतिखेर कुन अङ्ग्रेजी अमेरिकी कि युनाइटेड किङ्डम भनेर फेरि सोधिन्छ । त्यति विकसित भाषा हाम्रो नभए तापनि त्यसैअनुसार हामी पनि अग्रसर हुन सक्नेछौँ ।

बिन्दी र चन्द्रबिन्दु इत्यादिका कुराहरू पनि ती जानकारहरूकै निगरानीमा निर्णय हुने विषय हुन् । यद्यपि हामीले लाटा हिसाबले बुझ्दा बिन्दी अथवा अनुस्वार त नेपालीका मौलिक शब्दहरूमा प्रयोग हुँदैनन् । अनुस्वार प्रयोग भएका शब्दहरू संस्कृत हुन् । नेपालीका मौलिक शब्दहरूमा चन्द्रबिन्दु नै लाग्दछ । उदाहरण – ‘जान्छौँ’ सही हो ‘जान्छौँ’ गलत हो किनभने क्रियापद नितान्त रूपमा हाम्रो मौलिक रूपका हुन्छन् । हाम्रो भाषालाई अरू भाषाबाट अलग छुट्याउने तत्त्वहरूमा क्रियापद मुख्य हो ।

११. भाषा-व्याकरणअन्तर्गत कालेबुङ प्रस्तावना -का तपाईँ पनि एक जना प्रस्तावक हुनुहुन्छ । यसले भाषाका केही आफ्नै मानकहरू प्रस्तुत गरेको छ अनि धेरैले यसलाई प्रयोगमा पनि ल्याइरहेका छन् साथै यसको विपक्षमा पनि चर्चा गरिरहेका छन् । यो कालेबुङ प्रस्तावना -को आवश्यकता किन पर्न गयो – विस्तारमा जनाउनुहुन्छ कि?

कालेबुङ प्रस्तावनाबारे कुरो गर्नु हो भने यसको पृष्ठभूमिमा म कतिपय व्यक्तिगत विचार राख्छु – साह्रै सान्दर्भिक नहोला पनि । हामी भाषाप्रेमी कतिपय साथीहरू विशेषतः मलगायत सुधीर छेत्री, सञ्जय बिष्ट, राजकुमार छेत्री आदि कहिलेकतै भेटघाट हुँदा मानक रूप, एकरूपताका कुराहरू गर्ने गर्थ्यौँ, आज पनि गर्छौँ । सुधीर छेत्री विज्ञानका मास्टर भए पनि नेपालीमा एमए गर्ने धेरै जना भन्दा बेसी पकड भाषामा उनको छ । उनले नै मलाई पनि स्मरण गराइदिएका हुन् मैले एकरूपतामाथि सन् १९८४  –देखि नै लेख्ने गरेको रहेछु । एकदिन चरित्र प्रकाशन (अहिले प्रोडक्सन) –को कार्यालयमा बसिरहेको बेला सञ्जय सर र सुधीर सर दुई भाइ मकहाँ आए अनि भोलिपल्ट कालेबुङको साइन्स सेन्टरमा कालेबुङ प्रस्तावनाको सभा हुने र त्यसमा फलाना फलाना पनि आउनुहुने भन्ने सूचना दिँदै मलाई पनि निम्त्याए । त्यतिखेर कालेबुङ प्रस्तावना नभएर त्यसको नाउँ कालेबुङ घोषणा राखिएको थियो जस्तो लाग्छ मलाई । मेरो त रुचिको विषय भएको कारण पुग्ने नै मन बनाएँ । पुग्ने मात्रै होइन त्यहाँ पुगेर आफ्नो विचार पनि राख्ने भनी सोच्न थालिहालेँ किनभने हामी सबै चाहन्थ्यौँ कतै न कतैबाट यसबारे पहल त हुनैपर्छ अनि यदि कसैले अगुवाइ गर्न चाहन्छ भने त्यसमा सहयोग गर्नैपर्छ । यसरी बिरालाको घाँटीमा घण्टी बाँध्ने काम कालेबुङको उपमा प्रकाशन अनि साइन्स सेन्टरका श्री बि.बि. गुरुङज्यूको तत्परतामा भएको थियो जसलाई मैले आन्तरिक हृदयबाट समर्थन अनि स्वागत गरेँ । विमर्श लामो चल्यो । सभा सुनियोजित पनि नभएको कारण होला धेरै लामो गयो अनि सुरुको गाम्भीर्य अन्त्यमा पुगेर लुप्त हुँदै गएजस्तो लाग्यो । धेरजस्ता सहभागीहरू कालेबुङबाहिरबाट आएकाहरू हुनाले घर फर्किनै हत्तार हुन थाल्यो र अन्त्यमा कतिवटा मुद्दाहरू छुट्टिए । यो आयोजना पक्षको कमजोरी हो तर यति भनेर उनीहरूले आँटेको साहसलाई हामीले नकारात्मक तरिकाले हेर्नै हुँदैन ।

अब यसको आवश्यकता किन पर्नगयो भन्ने कुराको चुर एउटै त छ लेखाइमा एकरूपता । डा. पारसमणिको भूमिमा यसरी नेपाली लेखनमा एकरूपताको पहल हुनु ठुलो कुरो हो । नेपाली लेखनमा अनेकरूपता छ, अन्योल छ, भाँडभैलो छ । यति हुँदाहुँदै पनि नेपालीमा लेखिरहने बानी बसिसकेका धेरै छन् । उनीहरूलाई सही र गलत सिकाउने वा मार्गदर्शन दिने काम राम्रो तरिकाले भएको छैन । कालेबुङ प्रस्तावनाले यसरी अन्योलमा परेकाहरूलाई बाटो देखाउनका लागि पुरानै कतिपय सूत्रहरू बटुलबाटुल गरेर, नयाँहरू केही थपथाप गरेर, यसो गरे कसो होला भनी सबैअघि पस्केको हो । यसो गर्नुपर्छ भनेर आदेश दिएको होइन । आलोचना-प्रत्यालोचनाको ढोका खुल्ला राखेर एउटा परिवेश सिर्जना गर्ने प्रयास गरेको हो ।

पछि त्यस प्रस्तावनालाई पुस्तिकाको जामा पैऱ्याइदिएर विमोचन पनि गरियो अनि सार्वजनिक रूपमा सबैले पढेर एकरूपताको पक्षमा हल निस्कन्छ कि भन्ने आस गरियो तर भनेजस्तो प्रतिक्रिया आएन । आए पनि सिर्जनात्मक नभएर नकारात्मक धेर आए । कति जना उक्त समावेशमा छुट्न गएछन् उनीहरूले व्यक्तिगत रूपले लिएर सम्पूर्ण पहलप्रति नै नकारात्मक कुरो उठाए । मुद्दामा भन्दा हुद्दामा धेर ध्यान दिएर फलाना कसरी पुग्यो र फलाना कसरी छुट्टियो भन्ने कुरो राखे । खासमा त्यो त एउटा थालनी थियो । रिले रेसजस्तो त हो, एक जना दौडेपछि अर्कालाई ब्याटन दिइन्छ । प्रस्तावना हेरेर वा पढेर त्यसमाथि बहस गर्न पो अघि सर्छन् कि भनेर आशा गरेका आयोजकहरू पनि छपक्कै भए । अर्को कुरो, आयोजकहरूले यसलाई नियमितता दिने काम पनि गरेजस्तो लागेन । प्रचारप्रसारमा चुके । म पनि उक्त प्रस्तावनाको कार्यक्रममा भाग लिने एक जना सदस्य हुनाको नाताले मैले यसको कमीकमजोरीलाई अरूको मात्रै दोष भन्न कदापि सुहाउँदैन । जत्ति अरूको दायित्व छ मेरो पनि त्यत्तिकै छ तर मैले त्यसपछि जहाँ पनि, जतिखेर पनि भाषाको एकरूपतामाथि वार्ता गर्दा होस्, वादसंवाद गर्दा होस् यस प्रस्तावनाको कुरो झिकेको छु । यति मात्रै होइन मलाई कसैले पुस्तकादिको भूमिका लेख्न लगाए, रचना मागे वा प्रुफ हेरिमागे भने मैले कालेबुङ प्रस्तावनामा आधारित हो भने मात्रै भनेर शर्त राख्ने गरेको छु तर दुःखको कुरो प्रस्तावनाका अन्य साथीहरूले भने यसलाई नियमितता दिएजस्तो लागेको छैन । यति मात्रै नभएर हामी प्रस्तावकहरू नै पनि सम्पर्क विच्छिन्न भएका छौँ । एकअर्कामा वादविवाद छैन । यो पुस्तिकालाई उपमा प्रकाशनले व्यावसायिक रूपमा होस् वा साहित्यिक योगदानको रूपमा होस् जत्ति बिक्री-वितरण गऱ्यो झन्नै त्यति नै काम मैले व्यक्तिगत रूपमा गरेको छु तर मलाई थाहा छैन अरू कसकसले यो पुस्तिका चाहिने व्यक्तिहरूको हातहातमा पुऱ्याउन कति काम गरे । आज पनि मलाई आसाम, अरूणाचल, मिजोरम, मेघालयबाट पुस्तिका पठाइदिने आग्रह गरिरहन्छन् इच्छुकहरू । नेपालबाट एक समूहले मलाई पुस्तिका नभए सफ्ट कपी नै पठाइदिने आग्रह गरेको अहिलेदेखि होइन तर के कारणले हो मलाई उपमा प्रकाशनले पिडिएफ दिनुमा ढिलाइ गरिरहेको छ । हुन सक्छ प्रकाशनको व्यावसायिक उद्देश्यमा हान्ती होला तर भाषाको एकरूपतामा विकास हुन्छ भने हामीले पछिल्लालाई नै प्राथमिकता दिनुपर्छ तर मैले आज यतिका दिन बितिसक्दा पनि त्यस पुस्तिकाको पिडिएफ उपमाबाट पाएको छुइनँ जे होस् ।

१२. विगत दुई दशकको नेपाली भाषा (साहित्य) लेखनमा भाषिक शुद्धाशुद्धिको स्तर कहाँ छ?

विगत दुई दशक भन्नाले सायद २००० देखि यताको भन्ने बुझौँ होला । लेखनमा हामी यसै अन्योलबीच छौँ । मेरा गोरुको बाह्रै टक्का भन्ने गुटबाजीका सिकार बनेर विद्यार्थीहरू अलमल्ल परेका छन् । माथिल्लो तहमा यसरी दलबन्दी देखेर नेपाली भाषामा पढ्न रुचाउने विद्यार्थीहरूमा पनि एकप्रकारको हतोत्साह देखिन्छ । एउटाले यो ‘ठीक’ अर्काले यो ‘ठीक’ भनिदिँदा अलिअलि नै भए पनि रुचि देखाउने विद्यार्थीहरू नेपाली भाषादेखि मोहभङ्ग हुन थालेको प्रस्ट छ । हुन त यो चाहिँ नदिने बोज्यूले आइतबार बारेजस्तो पनि हो । उसै पनि नेपाली भाषा सिक्न, पढ्न भनेपछि छिः छिः र दुरदुर गर्ने हाम्रा युवाहरूलाई यस्ता विवादहरू बाँदरलाई लिस्नु जस्तै भएको छ । शुद्धाशुद्धिको स्तरको हिसाबमा नेपाली लेखनमा खासै ह्रास आएको देखिन्न । सही मार्गदर्शन पाए भने अहिलेको जमात नेपाली लेखनमा धेरै उत्साहित देखिन्छ । यसमा पनि दुई प्रकारको जमात छ तर । पहिलो गम्भीरतापूर्वक लागिपर्ने अनि दोस्रो समयकटनीका लागि लेखिटोपल्ने । जुन समूह कटिबद्ध भएर लागिपरेको छ तिनीहरूमा नेपाली भाषा सिक्ने, बुझ्ने, सही ढङ्गले लेख्ने इच्छा पाइन्छ । केवल नामका लागि, खानापूर्तिका लागि लेखिटोपल्ने दायित्वहीनहरूलाई भने लुतो न कन्याइ । उनीहरूलाई एकरूपतासित पनि केही मतलब छैन, शुद्धाशुद्धि त झन् कुन चराको नाउँ हो हो ।

१३. विगत दुई दशकमा प्रकाशित कृति, पत्र-पत्रिका आदिमा भाषिक त्रुटिहरू के-कति भेट्न भएको छ?

मनग्गे छ तर हामी स्पष्ट हुनुपर्ने एउटा मुख्य बिन्दु छ । सो के भने, भाषिक त्रुटि भनेर के बुझ्ने? मेरो सोझो हेराइमा नेपाली भाषाको लेखाइ शुद्ध हुनुपर्छ, बोल्ने कुराका तुलनामा । यसको अर्थ बोल्दा जस्तो बोले पनि छुट भन्ने पनि होइन । बोल्ने काम दुई प्रकारका मानिलिऊँ हामी । एक – आम जीवनमा बोल्ने कुरा । जस्तै घर, परिवार, गाउँ, दोकानपाट, बजार, सिनेमा, मेलापात अथवा सार्वजनिक स्थलमा बोलिने अनौपचारिक भाषा । यसमा हामी एकरूपता नखोजौँ । सम्भवै छैन खोज्न । अर्को – स्तरीय जीवनमा बोलिने कुरा । जस्तै गोष्ठी, सङ्गोष्ठी, भाषण, वक्तव्य, वक्तृता, साहित्यिक कार्यक्रम, स्कुल-कलेजमा विद्यार्थीहरूलाई पढाउँदा बोलिने, समाचार पढ्दा, ग्राउन्ड जिरो अथवा शून्यभूमिबाट रिपोर्टिङ गर्दा, एङ्करिङ गर्दा, उद्धोषण गर्दा आदि मौकामा शुद्ध बोल्नुपर्छ, सही बोल्नुपर्छ किनभने यी सबै औपचारिक अवसर हुन् । यहाँ गल्ती गर्नु हुँदैन । यहाँ भएको गल्ती अरूले सिक्नेछन् । अरूले भनेको सिक्ने इच्छा राख्नेहरूले । उदाहरणका लागि – मुख्य अतिथिले बोलेका कुरा सबैले ध्यान दिएर सुनिरहेका हुन्छन् । उनीहरूले सिक्छन् । फलानाले यसरी बोलेको पो ठीक रहेछ त भन्ने उनीहरूका मनमा छाप वा इम्प्रेसन बस्छ र पछ्याउँछन् त्यसैलाई । यो त भयो बोल्ने कुरा अथवा कथ्य भाषाका कुरा । अब हामी कुरा गरौँ लेख्य भाषाको । एकरूपता भन्ने चाहिँ मूल रूपमा लेख्य भाषासित सम्बन्धित मुद्दा हो ।

लेख्य भाषाको एकरूपतालाई पनि म आफैँले सजिलाका लागि दुई भागमा विभक्त गरेको छु । शुद्ध र सही । सुन्दा एउटै एउटै अर्थ दिनेजस्तो लागे पनि मैले यसलाई अझ मिहिन रूपमा खुट्याएर शुद्धचाहिँ हिज्जेसित सम्बन्धित अनि सही चाहिँ वाक्य गठनसित भनेर भाग लगाएको छु । उदाहरणका लागि – ठूलो भाउजुको भाइ मेरो सोल्टी पर्छ । यो वाक्य अशुद्ध भए पनि सही छ । अशुद्ध हिज्जेमा छ, व्याकरणगत नियममा छ तर अर्थ दिने उद्देश्यमा भने यो ठीक छ । अब यसले कुनकुन रूपको विवाद ल्याउँछ त्यो बुझौँ । पहिले अशुद्धतिर जाऔँ । ठुली, भाउजू वा भाउज्यू हुनुपर्ने हो शुद्ध रूप । अब सोल्टीको कुरो गरौँ । नेपालमा नेपालीहरू सोल्टी भनेर स्त्रीलिङ्ग बुझ्छन् भने हामी भारतमा पुरुषलाई बुझ्छौँ । उसो भए यहाँ प्रयोग गरिएको भाइलाई सोल्टी भन्नु शुद्ध हो कि होइन भन्ने अर्को विवाद उठाउन सकिन्छ । अहिलेलाई हामी भारतीय परिप्रेक्ष्यको कुरा गरौँ । अर्थोद्देश्य बुझ्नु हो भने भाउजूको भाइ सोल्टी ठिकै हो । अर्थ सही दिएको हुनाले वाक्य ठीक छ तर व्याकरणगत नियममा नभएका कारण यो अशुद्ध छ । एकरूपताले मूल रूपमा हिज्जे वा व्याकरणगत नियममा एक हुनुपर्छ भन्न खोज्छ । फेरि यसको अर्थ वाक्यगठनमा गल्ती भए पनि अर्थ बुझियो भने भइगयो त भन्ने पनि होइन । प्रधानमन्त्रीले भन्यो भनेर समाचार लेख्दा पनि कुरो त बुझिन्छ नि । अङ्ग्रेजीमा त The Prime Minister said भनेपछि टन्टै साफ तर नेपालीमा त्यस्तो हुँदैन । दर्जाअनुसार अथवा प्रोटोकल मिलाएर मर्यादापूर्वक बोल्नु वा लेख्नुपर्ने चलन छ । यसैले वाक्य सही पनि हुनुपर्छ र शुद्ध भाषाको प्रयोग गरिएको पनि हुनुपर्छ । यसैले हामीले लेख्दा ध्यान दिनुपर्छ शुद्ध लेखौँ । यो दायित्वमा सबैभन्दा अग्रणी हुन्छौँ सिकाउनेहरू, लेखकहरू, पत्रकारहरू, साहित्यकारहरू, सर्जकहरू, सम्पादकहरू । कतिसम्म भने राजनीतिक दल वा सामाजिक संस्थाहरू पनि यसबाट अछुत हुनु हुन्न । पर्चा, पोस्टर, ब्यानर लेख्दा पनि यस्ता कुराहरू ध्यान दिनैपर्छ । गीतकारहरूले व्याकरणिक गल्ती गरेका हजारौँ नमुना भेटिन्छन् । समाचारदाताहरूले लेखेको संवादमा मनग्गे हिज्जेगत र वाक्यगठनगत भूलहरू पाइन्छन् । सम्पादकहरूमा भाषाको ज्ञान हुनु आवश्यक छ । लेखकहरू भाषाबारे सचेत र जागरुक हुनु आवश्यक छ तर आजकलका पत्रपत्रिका हेऱ्यौँ भने हरेस लागेर आउँछ । तपाईँले सोध्नुभयो त्रुटिहरू कति भेट्नुहुन्छ भनेर । मैले यस्ता त्रुटिहरूको लामो सूची तयार गरेको थिएँ । यति धेरै बढेर गयो अन्त्यमा त्यो सूची बनाउनै छोडिदिएँ । नब्बेको दशकमा मैले ‘सुनचरी’मा आकाशवाणी खरसाङ, दिल्ली र गान्तोकबाट प्रसारित हुने समाचारहरूमा पाइने भाषिक गल्तीहरू कुन कुन तारिख भएको थियो मिति दिएरै लेखेँ तर आज पनि हालत जस्ताको त्यस्तै छ; सुध्रिएको छैन ।

१४. विगत केही समयदेखि अनलाइन पत्रकारिता अनि अनलाइन साहित्यको होडबाजी देख्नमा आइरहेको छ तर साथमा हिज्जेगत त्रुटिहरू पनि बग्रेल्तै देखा परिरहेका हुन्छन् । प्रिन्टिङ मिडियामा पनि यो रोग छदैछ । भाषाप्रति यो उदासीनता किन?

यो सामाजिक सञ्जालको कारण आजभोलि भाषा धेरै बिग्रेर गएको पक्कै हो किनभने आज मनको भाव पोख्न धेर सहज छ । आफूलाई के भन्ने मन लाग्यो एकै सासमा सामाजिक सञ्जालमा लेख्न सकिन्छ । फेसबुकले तो उदाङ्गो भएरै write something here, what’s in your mind now? इत्यादि भनेर उक्साइरहेकै हुन्छ खोल्नासाथ । यसो हुँदा हामी सङ्ख्यात्मक रूपमा लेखकहरू धेर भयौँ । गुणात्मकतामा कम । लेखेपछि त लेखक नै बन्नुपर्ने हो तर यस्ता लेखकहरूलाई हामी सर्जक पनि भनिहाल्छौँ । घर घरमै सर्जकहरू भयौँ हामी, गौँडागल्छेँडामै सर्जकहरू छौँ तर भाषाको सामान्य ज्ञान छैन, मौलिक आधार छैन लेखनको । यसो हुँदा स्तरीयतामा ह्रास आयो हाम्रो लेखनमा । जुन कुरा सजिलै पाइन्छ त्यसको महत्त्व हुँदैन । आज सोही भइरहेको छ । अघि अघि पुस्तक प्रकाशित गर्नु वा एउटा रचना नै प्रकाशित गर्न पनि फलामको चिउरा चबाउनुपर्थ्यो । सम्पादकले कपडछान (filter) गर्थे । यसैले लेखन्तेहरूले सिकेर, बुझेर मात्रै सही कुरा लेख्थे । आज आएको भाँडभैलो चाहिँ यी सबै माध्यमहरू सस्ता अनि सुलभ भएका कारण हुन् । यसमा लगाम कस्न धेरै हम्मे पर्नेछ । यो एउटा गम्भीर सामाजिक रोग हो । यसको अर्थ यो निको नहुने चाहिँ होइन; सकिन्छ गर्न तर यसका लागि गर्न सक्नेहरू अघि आउनुपर्छ ।

१५.   यी त्रुटिहरूलाई बारम्बार आँखाबाट ओझल गरिँदैछ । यसको दायित्व कसले लिने अनि भाषिक शुद्धताबारे बारम्बार गरिने लापर्बाहीमाथि कारबाही सम्भव छ/छैन?

मैले सन् १९९४ तिर होला ‘पर्चा एक चर्चा’ अनेक भन्ने रचना सुनचरीमा लेखेको थिएँ । त्यसमा गान्तोक सहरमा बाहिरबाट आई कुनै एक आयुर्वेदका वैद्यले उपचार गराउने विषयमा छापेको पर्चामा देखिएका नेपाली लेखाइमाथिको हेलचेक्र्याइँमाथि मैले औँलो उठाएको थिएँ । यसको प्रतिक्रिया स्वरूप एक निकै नाम चलेका सिद्धहस्त साहित्यकारले मेरो विचारको विरोधमा प्रतिक्रिया लेखे छद्मनाममा । त्यो छद्मनाममा उनले यसअघि र पछि पनि निकै लेख लेखेका थिए । भर्खरै मात्र उहाँको देहान्त भयो तर मैले असली लेखकबारे तत्कालै पत्तो पाइसकेको थिएँ । अहिले मुद्दा त्यो होइन, कुरो के हो भने मैले भन्न खोजेको यदि कसैले पनि आफ्नो व्यापार फिँजाउनका लागि नेपाली भाषाको प्रयोग गर्न चाहन्छ भने त्यसलाई हामीले सहृदय स्वागत गर्नुपर्छ मात्रै होइन उसलाई सघाउनु पनि पर्छ । नेपाली आम मान्छेको जनबोली भएका कारण ती हाकिमले आफ्नो पर्चा नेपालीमा छापे यसमा कुनै आपत्ति छैन तर हुनुपर्ने के हो भने ती हाकिमलाई कसै न कसैले त सिकाए, मार्गदर्शन गराए यसो गर्नका लागि । यस्तो अवस्थामा जुन केन्द्रमा यसरी नेपाली प्रयोग गरेर आफ्नो व्यापार वा कुनै पनि धन्दा फिँजाउन कोही चाहन्छ भने त्यहाँको आधिकारिक भाषा संस्थालाई पर्चा वा ब्यानर वा जेसुकै होस् त्यसको खेस्रा देखाएर स्वीकृत गराइनुपर्छ । सिक्किममा साहित्य एकेडेमीको लिनुपऱ्यो, कालेबुङमा नेपाली साहित्य अध्ययन समितिको, दार्जीलिङमा नेपाली साहित्य सम्मेलनको, खरसाङमा गोर्खा जन पुस्तकालको, सिलगडीमा देवकोटा सङ्घको यस्तै अन्य स्थानमा अन्य यस्ता संस्थाहरूको । कुनै पनि विषयको कुरा गरेको मैले । भोटबजारमा भोट मागिहिँड्ने पार्टीहरूले पनि यस्ता संस्थाहरूको स्वीकृति लिएर मात्रै आफ्नो पर्चा, पोस्टर बाँड्न वा टाँस्न पाउने नीति हुनुपर्छ । यस्तै संस्थाहरूले यी सामाजिक सञ्जालतिर देखा पर्ने भाषिक हेलचेक्र्याइँका कुराहरूमाथि सतर्क भएर मार्ग निर्देशनहरू जारी गर्न सक्नेछन् ।

१६. हाम्रो भाषालाई देशको संसद्‌ले मान्यता दिएको २८ वर्ष पुगेको छ । मान्यता पाउँदा युवा कार्यकर्ताको रूपमा जमिनी स्तरमा काम गर्ने कार्यकर्ता तपाईँ पनि हुनुहुन्छ । भाषाले मान्यता पाएको गौरवको क्षण अनि आजको यस समयलाई तुलनात्मक दृष्टिले हेर्दा के कस्ता भावनाहरू मनभित्र उर्लन्छन्?

भाषाले मान्यता पाउने अन्तिम क्षणमा आफू परोक्ष रूपमा सक्रिय रहेका हुनाले यसबारे साह्रै धेर चर्चा त गर्न सकिन्न । त्यतिखेर स्वयम् पनि सिक्किममा रहेका हुनाले भावनात्मक सम्बन्ध छ त्यस आन्दोलनको अन्तिम चरणबारे । हो, हामी खटेका हौँ । दिनरात चिठी काट्नु, बाँड्नु, घर घर पुऱ्याउनु, गोष्ठीमा आउने भि.आइ.पि. हरूको ड्युटी गर्ने इत्यादि । स्वयमसेवीका रूपमा गरिएका यी कामहरू थिए, त्यतिखेर त्यही उमेर थियो । सिक्किमको भूमिका अग्रणी थियो त्यतिखेर तर जसै भाषाले मान्यता पायो त्यो गुमेर गएको देखिन्छ । आज सिक्किम राज्य भारतको अभिभावक नेपालीभाषी राज्य हो तर त्यहाँबाट जुन रूपमा नेपाली भाषाको संरक्षण र विकासका लागि काम हुनुपर्ने हो त्यति भइरहेको देखिन्न । भाषाप्रति गम्भीर रूपले लागिपर्ने मन भएकाहरूको कमी हो वा इच्छा भएर पनि गर्न नपाइरहेको स्थिति हो दैव जानोस् ।

१७. भनिन्छ, सरकारले दिने भाषासम्बन्धित सुयोग-सुविधाहरू पनि हामी पूर्णरूपले लिन सकेका छैनौँ नि?

हजुर । हामी सोच्छौँ भाषाले मान्यता पायो अब सरकारले घर घर घुमेर हामीलाई सहुलियत दिनेछ । मान्छेको प्राण बचाउनलाई आवश्यक परेको भ्याक्सिन त दिन सकेको छैन नेपालीहरूलाई सहुलियत दिन्छ? यो त तपाईँ हामी जस्ता तथाकथित भाषाप्रेमी जागरुकहरूले पो खोज्नुपर्ने हो त के के पाइने रहेछ अनि त्यसलाई कसरी हात पार्ने भनेर । उदाहरणका लागि – कालेबुङमा सन् २०१५-१६ -तिर मैले चरित्र प्रकाशन (अहिले प्रोडक्सन) –मा नेपालीमा टाइपिङ सिकाइन्छ भनेर खेलाँचीमै फेसबुकमा लेखेपछि त्यसको कति धेर प्रतिक्रिया भयो भने मलाई नेपालीमा कम्प्युटर सिकाउन कर लाग्यो । म नाउँ लिन्नँ तर आजका प्रख्यात नेपाली लेखकहरूले त्यहाँ आएर नेपाली सिके । कतिले लुकी लुकी पनि सिके । त्यस प्रकारको सकारात्मक प्रतिक्रिया आएपछि हामीले चरित्रमा सिलेबस बनायौँ, क्लासको रुटिन बनायौँ, अभ्यासमाला बनायौँ, नेपाली टाइपिङ छिटो र सही हिर्काउने फर्मुला बनायौँ जो अद्यापि सुरक्षित छ । अन्त्यमा गएर जाँच गरेपछि हामीले प्रमाण पत्र पनि जारी गऱ्यौँ । यो त भयो जबरजस्तीको कुरा । अब यस्तै काम सरकारी मान्यताप्राप्त साहित्यिक संस्थाहरूले गर्न सक्तैनन्? उनीहरूले नेपाली सिकाइने कम्प्युटर सेन्टर खोल्नलाई सरकारसमक्ष प्रस्ताव प्रस्तुत गरेर विधायक, सांसदहरूको प्रभाव प्रयोग गरी आर्थिक अनुदान लिन सक्तैनन्? यसरी हामीले भारतमा लगभग १० भन्दा धेर नेपाली कम्प्युटर ट्रेनिङ सेन्टर सहजै खोल्न सक्नेछौँ । अब प्रश्न आउँछ त्यो सिकेर चै के गर्ने भन्ने? नेपाली भाषाको सबैभन्दा महत्त्वपूर्ण गुण हो यो देवनागरी लिपिमा लेखिनु । देवनागरीमा हिन्दी पनि लेखिन्छ, मराठी पनि । भारतको केन्द्र सरकारका कार्यालयहरूमा हिन्दीलाई बढावा दिइन्छ राष्ट्रभाषाका रूपमा । हिन्दी जान्नेलाई यसैले त्यहाँ प्राथमिकता दिइन्छ । यो त भयो टाइपिङको कुरा । अब यसरी नै हामी सञ्चार मिडिया, अनुवाद, इन्टरप्रिटेसन आदि विषयका तालिम केन्द्रहरू पनि खोल्न सक्छौँ । कहिलेकाहिँ विभिन्न विभागतिर अंशकालिक अथवा पार्ट टाइन अनुवादक वा इन्टरप्रेटरहरूको जरुरत परेको मैले देखेको छु । त्यतिखेर भनेजस्तो मान्छे नपाइँदा हाम्रै जातिलाई नोक्सानी पर्ने कतिवटा नकारात्मक काम भएका छन् ।

आज आसाममा नेपाली भाषा संरक्षणको दिशामा काम हुन थालेको सुन्दा हामीलाई कत्ति खुसी लागेको छ । त्यहाँ मात्रै होइन भारतभरि हामी यो काम गराउन सक्छौँ । नेपाली एउटा विश्व भाषा भएको कारण बाहिर पनि यो भाषाको मोल त्यत्तिकै छ, बस् हामीले जानेका छैनौँ जसलाई ।

१८. हजुरलाई एउटा अन्तिम प्रश्न सोधेर यो अन्तर्वार्ताको बिटो मार्नुपऱ्यो भन्दै छु । हालमा हजुरले नेपाली भाषाको संरक्षणका लागि केही गरिरहनुभएको छ कि?

मुम्बई एकदमै व्यस्त ठाउँ हो । यहाँ आइपुगेपछि आफू पनि व्यस्तताकै परिधिभित्र जाकिइनुपऱ्यो । कालेबुङमा हुँदा विद्यार्थी र शिक्षकहरूसित नेपाली कसरी शुद्ध लेख्ने भन्ने विषयमा कर्मशालाहरू व्यक्तिगत रूपमा सञ्चालन गर्दै थिएँ । स्कुल स्कुल घुमेर यस दिशामा काम गरेँ । स्कुललगायत गुरुहरूको तालिम केन्द्रमा पनि पुगेर उनीहरूसित चर्चापरिचर्चा गर्ने काम गरेँ । हालतले मुम्बई ल्यायो । यहाँ पनि कोसिस जारी छ । एउटा कर्मशालाको आयोजना गरेँ यहाँ पनि । उता र यता धेरै फरक छ । यहाँ भनेको नेपाली मान्छेले नेपाली बोल्नै नजान्ने, लेख्नै नजान्ने अवस्था पनि छ । उहिलेदेखि यहीँ भास्सिएका नेपालीका बालबच्चाहरू यतैको माध्यममा पढाइ गरेपछि नेपाली त लेख्ने त कुरै छाडौँ बोल्न पनि सक्तैनन् । कति चाहिँ जानेर पनि बोल्दैनन् । यस्ता केही पीडित युवाहरूलाई समय समयमा भाषाप्रति जाकरुक रहने चर्चा गर्नबाहेक स्थानीय स्तरमा त खासै केही गरिएको छैन तर अनलाइन माध्यममार्फत भने भारतभरिका नेपाली भाषामा रुचि राख्ने साथीभाइहरूसित सातामा एक वा दुईपल्ट अनलाइन नेपाली सिक्ने कर्मशाला यथावत् चलिरहेको छ । साथसाथै सामाजिक सञ्जालमा यस्ता भाषिक विषयहरूमाथि चर्चा हुने समूहतिर जोडिएर पनि वादविवादमा भाग लिने काम गरिरहेको छु ।

२०. हजुरको अन्तिम सन्देश के छ त भाषाबारे…..?

नेपाली हाम्रो मातृभाषा हो । यो संसारको सबैभन्दा धनी भाषाहरूमा एक हो । विश्वको कुनै भाषामा पनि नपाइने विशेषताहरू नेपालीमा छन् जसलाई हामीले बुझ्न सक्नुपर्छ । हामीले यथासक्य नेपाली भाषामा पाइने मौलिक शब्दहरूको जगेर्ना र प्रयोग गर्नुपर्छ । आफ्ना सिर्जनाहरूमा नेपालीपनलाई महत्त्व दिनुपर्छ । नेपाली भाषाको शब्द ढुकुटी गहिरो छ ।  ढुकुटीमा धान छ कुटी कुटी खान्छ भनेजस्तै हामीले यस भण्डारका शब्दहरूको सदुपयोग गर्नुपर्छ ।

जसले सिक्तै छ उसलाई सिक्न दिनुपर्छ । सुरुमै व्याकरण र शुद्धाशुद्धि खोज्नु हुँदैन । सिक्नेले जसरी पनि सिकोस् । सिकेपछि अलिक राम्रोसित जान्ने बनाउनुपर्छ र त्यतिखेर हिज्जेहरूको कुरा सिकाउनुपर्छ । साधारण रूपमा भन्नु हो भने शिशु कक्षातिर जस्तोसुकै होस् नेपाली लेखोस् भइहाल्छ । चार-पाँच श्रेणी पुगेपछि चाहिँ हिज्जे, शुद्धाशुद्धि, व्याकरणतिर ध्यान जाओस् र कट्मोरो नै भए पनि भाषा चलाओस् । जब उसले बोर्डको तयारी गर्न लाग्छ गल्ती नगरोस् । शुद्धाशुद्धिमा सिकाउनेहरू नै एकमत छैनन् भनेर उसले जे पायो त्यही नलेखोस् । शुद्ध नलेखे पनि सही लेखोस् । त्यसपछि एघार-बाह्रमा पुगेपछि त उसले स्तरीय लेख्नैपर्छ । स्नातकमा आएर सम्मान, अझ माथि उक्लेर कुन कुन स्तरमा पुग्नेहरू त विद्यार्थी रहँदैनन् । उनीहरू त सिकाउने, प्रशिक्षक, शोधकर्ता, विज्ञानी बनिसकेका हुन्छन् र उनीहरूबाट त कुनै पनि स्थितिमा गल्ती हुनु नै हुँदैन किनभने उनीहरूलाई हेरेर अनुजहरूले सिक्नेछन् ।

अन्त्यमा म हजुरलाई मेरो आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु – मेरो जीवनको पहिलो अन्तर्वार्ता हो यो अनि मेरो सबैभन्दा प्रिय विधा नेपाली भाषामाथि हुनाले मलाई धेरै राम्रो लागेको छ । हामी सबै मिली नेपाली भाषालाई अझ उन्नत बनाउने प्रयास गरौँ ।

जय नेपाली भाषा!!

(अन्तर्वार्ताकार कवि/अनुवादक हुन)               -(डुवर्स, भारत)

………………………………………………………………………………….