भारतेली नेपाली साहित्यमा पत्र-पत्रिकाको सन्दर्भमा एक महत्त्वपूर्ण साहित्यिक पत्रिका हो ‘परदेशी‘। विगत २३ वर्षदेखि कोलकातादेखि लगभग १५० किमि टाढास्थित सलुवाबाट प्रकाशित हुने यस पत्रिकाले भारतमा पत्रिका प्रकाशनको खडेरीलाई केहीमात्रामा भए पनि ढाकछोप गरेको छ । यस साहित्यिक पत्रिकाका सम्पादक हुन् विकास कार्की ।
सन् १९६८ मा दार्जीलिङको सियोक चियाबारीमा जन्मेका कार्की पश्चिम बङ्गाल सरकार अधीन पुलिस विभागमा नोकरी गर्न पश्चिम मेदिनीपुर जिल्ला अन्तर्गत सलुवा पुगे । उनका विविध रचनाहरू ‘हिमालचुली’, ‘आजभोलि’, ‘सुनचरी’ लगायत विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित छन् । भारतका स्वाधीनता सङ्ग्रामी सहिद भगत सिंहको जीवनीलाई उनले बङ्गलाबाट नेपालीमा उल्था गरी प्रकाशित गरेका छन् । राँको-हस्तलिखित पत्रिका (सिलगढी), दर्शन-साहित्यिक पत्रिका (शिलङ्ग), प्रभात, सम्झना-साहित्यिक पत्रिका (कोलकाता) हरूको पनि उनले सम्पादन गरिसकेका छन् ।
पस्तुत छ, सम्पादक विकास कार्कीसँग साहित्यपाेस्टका लागि डुवर्स निवासी बिलाेक शर्माले गरेकाे कुराकानीकाे सम्पादित अंशः
आफ्नो बासस्थानबाट टाढा कर्मभूमिमा रहेर साहित्य सेवा गर्ने व्यक्तिहरूमा तपाईँको नाम अग्रपङ्क्तिमा आउँछ। सलुवा क्षेत्रमा साहित्यको बीजारोपण कसरी भएको थियो?
सलुवा पश्चिम बङ्गाल राज्यको सबैभन्दा ठूलो जिल्ला, पश्चिम मेदिनीपुरको खड्गपुर ब्लक अन्तर्गत रहेको छ। जो आवासीय, खाली जमीन र जंगल मिलाएर ६ सय ऐकर भूभागमा फैलिएको छ। यहाँ ‘पूर्वोत्तर सीमान्त बाहिनी’को मुख्यालय छ। १९०७ सालमा पूर्व बङ्गाल, वर्तमान बङ्गलादेशको राजधानी ढाकामा जन्मिएको यो बाहिनी देश स्वाधीन भएपछि विभाजन हुँदा पूर्व बङ्गाल पाकिस्तानमा परेकाले यो बाहिनी, ढाकाबाट सन् १९४८ मा, सलुवामा सर्यो। यहाँ स्थायी र अस्थायी गरेर लगभग ५/६ हजार गोर्खाली परिवार बसोबास गर्छन् तर यहाँ यति धेरै गोर्खाली परिवार हुँदाहुँदै पनि भाषा साहित्यको सेवाका निम्ति सङ्गठित रूपमा कुनै काम भएको थिएन। यसैले हामीले सङ्गठित रूपमा काम गर्नुपर्छ भनेर अङ्ग्रेजी दिनाङ्क १६/०८/१९९२ को दिन ‘अगमसिंह गिरी संस्थान’को गठन गरेर, आफ्नो भाषा, साहित्य, कला अनि संस्कृतिको संरक्षणको काम गरिरहेका छौँ। सन् १९९७ मा आएर हामीले साहित्यमाथि पनि केही ठोस काम गर्नुपर्छ भनेर ‘परदेशी‘ नामक साहित्यिक पत्रिकाको प्रकाशन आरम्भ गर्यौं, जो आज पनि निरन्तर प्रकाशित भइरहेको छ तर याद रहोस्-‘परदेशी’ सलुवाबाट प्रकाशित प्रथम साहित्यिक पत्रिका भने हैन। योभन्दा अघि नै सन् १९९० सालमा यहाँबाट ‘प्रभात’ नामक साहित्यिक पत्रिका प्रकाशित भइसकेको थियो। जो एक अङ्क मात्र प्रकाशित भयो। यति मात्र होइन, संस्थानले दार्जीलिङबाट विभिन्न पत्र-पत्रिका मासिक, त्रैमासिक, दैनिक आदि ल्याएर घर-घरमा दिएर पनि साहित्यप्रति मानिसको चाह बडाउने चेष्टा गरेको थियो। यसरी संस्थानले सलुवामा मातृभाषाको सेवार्थ काम गर्दै आएको छ।
प्रारम्भिक समयमा संस्थानलाई साहित्य प्रसारको काममा के–कति बाधाहरूको सामना गर्नुपर्यो?
सुरुका दिनहरूमा हामीलाई साहित्य प्रसारका निम्ति धेरै अपठ्यारो परिस्थितिहरूको सामना गर्नुपर्यो। सर्वप्रथम त यहाँका रैथाने नेपालीहरूको पठन-पाठनको विषय मातृभाषामा थिएन। यसैले उनीहरूलाई नेपाली भन्दा बङ्गला, हिन्दी सहज लाग्थ्यो। स्थानीय रैथाने गोर्खालीहरूको भाषा पनि परिष्कृत थिएन। खड्गपुरकाहरूले तेलेगु टोनमा, ब्यारेकपुरबाट आएकाहरूको बङ्गला टोन, भाक्सुबाट आएकाहरूको हिन्दी भाषा स्पष्ट झल्कन्थ्यो। यी सबलाई मध्यनजर राखी हामीले सबैलाई ग्राह्य र मन पराउने नेपाली सिनेमा सङ्गीतको माध्यमद्वारा भाषाको साहित्यको प्रचार गर्यौँ। उनीहरूमा नेपाली पत्र-पत्रिका पढ्ने रुचि बढाउन घर-घरमा पत्र-पत्रकाहरू लगेर दियौँ। हामीले ‘सुनचरी दैनिक’ समाचार-पत्र सिलगडीबाट मगाएर पढ्यौँ, पढायौँ। तीन-चार दिनको पेपर हप्तादिनमा आइपुग्दा पनि हामी लिन्थ्यौँ।
तपाईँको सम्पादनमा स्तरीय साहित्यिक पत्रिका ‘परदेशी‘ले विगत २३ वर्षदेखि १८ अङ्कहरू प्रकाशित गरसकेको छ। स्तरीय नेपाली साहित्यिक पत्रिकाको प्रकाशनको सन्दर्भमा यसलाई एउटा ऐतिहासिक माइल खुट्टी मान्न सकिन्छ। पत्रिकाको यस यात्रालाई तपाईँ कसरी हेर्नुहुन्छ?
भारतीय नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा ‘परदेशी’ साहित्यिक पत्रिकाले निश्चय पनि केही काम त गरेको छ जस्तो लाग्छ। अब यसको मूल्याङ्कन गर्ने काम तपाईँहरूको हो। मेरो दृष्टिकोणमा ‘परदेशी’ पत्रिकाले अझ धेरै कामहरू गर्नु छ। आजको तारिकमा भारतीय नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा निरन्तर कुनै पनि पत्रिका प्रकाशित भएको छैन। त्यसलाई हेरेर परदेशी पत्रिकाको सफलतामा गर्वानुभूति गर्छु।
पुलिस विभागमा कार्यरत रहेर साहित्यको सेवा गर्नु, निरन्तर पत्रिका प्रकाशन गर्नु सहज कुरा हैन। ‘परदेशी‘ प्रकाशनमा चुनौतीहरू पनि अवश्यै थिए होलान्….
मेरो कर्मक्षेत्र र साहित्यको सेवा दुई विपरीत ध्रुवहरू हुन्। व्यक्तिगत रूपमा साहित्यको लेखन त ठीकै छ। त्यसमा बाधा आउँने कुरा आएन तर जाति, भाषा, साहित्य सेवाका निम्ति, समष्टीगत काम गर्नु यो बढो चुनौतीपूर्ण हुन्छ। विभागीय चाप, बन्धन बीचमा काम गर्नुपर्ने अवस्था, समयको अभाव आदि कुराहरू छन्। पेशागत रूपले हामी २४ घण्टा अलर्ट रहनुपर्ने हुन्छ। हामीमा कुनै सरकारी विदा रहँदैन। न समयको कुनै ठेगान छ। यति हुँदाहुँदै पनि, मनमा इच्छाशक्ति भए, उपाय त भइहाल्छ नी।
‘परदेशी‘ले विशिष्ट भारतीय साहित्यकारहरूको ‘अभिनन्दन विशेषाङ्क‘-हरू प्रकाशित गरेर महत्त्वपूर्ण कार्य गरेको छ, यसको छोटो विवरण दिनुहोला।
अगमसिंह गिरी संस्थानले, सन् १९९७ सालमा आएर पत्रिका प्रकाशित गर्ने निर्णय गर्यो। त्यसपछि काम गर्दै जाँदा हामीलाई लाग्यो-कि सबैले स्रष्टाहरूको मृत्युपछि मात्र काम गरिरहेका छन्। हजारौँ रुपियाँ खर्च गरेर ठेलीका ठेली पुस्तक प्रकाशित गर्छन् जब कि एउटा स्रष्टालाई आफ्नो जीवनकालमै आफूले गरेको कार्यको म़ूल्याङ्कन भएको देख्न पाए, कति खुसी हुन्थे भन्ने लाग्यो र अगमसिंह गिरी संस्थानले यो काम गर्नुपर्छ भनेर स्रष्टाको जीवनकालमै, सन् २००८ बाट यसरी ‘अभिनन्दन विशेषाङ्क’ निकाल्न थाल्यो। संयोग कस्तो भने, कवि अगमसिंह गिरीको विचार पनि श्रष्टाको जीवनकालमै उनको सम्मान हुनुपर्छ भन्ने रहेछ। यो कुरा गिरीका समकालीन नभए तापनि उनका संसर्गमा काम गरेका वरिष्ठ साहित्यकार नरबहादुर दाहालले एक भेटमा भन्नुभएको थियो। यसरी ‘परदेशी’को अङ्क १० देखि हामीले सुरु गरेको यात्रा, आज पनि चलिरहेछ, निरन्तर। प्रथममा हामीले लोक साहित्यकार एम.एम. (मार्टिन माइकल) गुरुङमाथि काम गर्यौँ। यसमा हामीले उति सफलता पाएनौँ। रचनाहरू उति आएनन्। मैले अनुभव गरेको कुरा – त्यसबेला हामी जस्ताले गरेको काममा उति विश्वास गरेनन् रचनाकारहरूले। दोस्रो हामीले हायमनदास राई किरातमाथि काम गर्यौँ। तेस्रो सिक्किम निवासी महानन्द पौड्यालमाथि काम गर्यौँ। यसको विमोचन पाकिममा तत्कालीन सिक्किमका मुख्यमन्त्री श्री पवन कुमार चाम्लिङको बाहुलीबाट सम्पन्न भएको थियो। चौथो सानुमति राईमाथि गर्ने घोषणा त गर्यौ तर जसमाथि भर पर्यौँ र सबै रचनाहरू दियौँ, उसले विश्वासघात गरिदियो। यसैले यो अपूर्ण रह्यो। हालै २०२० मा हामीले वरिष्ठ कथाकार ‘श्री गुप्त प्रधान अभिनन्दन विशेषाङ्क’ प्रकाशित गर्यौँ। अहिले वरिष्ठ साहित्यकार नरबहादुर दाहालमाथि काम चलिरहेछ। यसरी हामीले आफ्नो बुतामा र केही शुभचिन्तकहरूको सहयोगमा ‘अभिनन्दन विशेषाङ्क’हरू प्रकाशित गरिरहेका छौँ।
तपाईँको तीन दशकभन्दा बढी साहित्यिक सङ्गलग्नता अनि सम्पादन कार्यको अनुभवको आधारमा भारतमा नेपाली पत्र–पत्रिकाको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
मेरो दृष्टिमा वर्तमान भारतीय नेपाली साहित्यिक पत्रिकाको अवस्था एकदमै राम्रो छैन। सचेत पाठकको अभाव, पाठकहरूमा फोस्रो जातीय चेतना हुनु र एउटा पत्रिका किनेर पनि साहित्यको भाषाको सेवा हुन्छ भन्ने भावनाको अभाव। आफूलाई शिक्षित मान्नेहरूमा पनि किताब पत्र-पत्रिका किनेर पढ्ने संस्कार नहुनु आदि कारण छन्। हाम्रो पत्र-पत्रिकाका दिगो नहुनुमा पनि उपर्युक्त कारणहरू जिम्मेवार छन्। व्यक्तिगत रूपमा रहरले जसले पत्रिका निकाल्छ, उसले दुईदेखि तीन अङ्क धान्नै सक्दैन। संस्थागत रूपमा जसले गर्छन्, उनीहरूमा केही कालको रहरपछि विवाद सुरु हुन्छ। हाम्रो समाजमा देखेर अनि यो मेरो मातृभाषाप्रतिको सानो योगदान हो, सम्झेर जुन दिनदेखि मानिसहरूले पत्रिकाहरू किन्न थाल्नेछन्, त्यो दिनदेखि हाम्रो साहित्यिक पत्रिकाको स्वर्णकाल सुरु हुनेछ। अर्को सबैभन्दा ठूलो कुरा के भने भाषा साहित्यप्रति स्थानीय शासनको निष्क्रियता। पहाड़मा हाम्रो हातमा शासन आएदेखि भएकै अधिकार पनि गुमायौँ। ठीकै छ, सरकाद्वारा प्रदान गरिएको नेपाली अकादमी नकारियो तर त्यसको विकल्पमा भाषा साहित्यको विकासका निम्ति के गर्यो? करौडौँको मालिक, दैनिक समाचारलाई लाखौँको विज्ञापन दिनुसक्छ तर आफ्नो बुतामा प्रकाशित गरिरहेको पत्रिकाहरूलाई पाँच हजारको विज्ञापन दिएर सहयोग गरौँ भन्ने भावना कसैको छैन। तब कसरी बाँच्छ साहित्यिक पत्रिका? भारतबाट प्रतिनिधिमूलक कुनै साहित्यिक पत्रिका छैन। ‘दियालो’, ‘चन्द्रिका’-हरू बिलाएर गए। साधारण पाठकदेखि विज्ञजनसम्मको प्यारो पत्रिका (जसलाई पढेर, जसबाट सिकेर धेरै कवि/साहित्यकार बनेका छन्) ‘बैँसालु’ र हाँस्य-व्यङ्ग्य पत्रिकाहरू सरकारी सहयोगको अभावमा मरेर गए। कसलाई दोस्याउनु? आफ्नै गाला आफ्नै लपेटा। यदि सरकारी सहयोग प्राप्त भए, साहित्यिक पत्रिकाहरूको भविष्य निश्चय राम्रो छ।
सम्पादको हैसियतमा तपाईँले सामना गर्नुपरेको ठूलो चुनौती के लाई मान्नुहुन्छ?
मलाई के लाग्छ भने एउटा सम्पादकले भोग्नुपरेको अप्ठ्यारोहरूमा सर्वप्रथम आर्थिक अवस्था नै हो। अर्को रचनाको अभाव। नाम चलेका रचनाकारहरूले हामीजस्ता सम्पादकहरूलाई नपत्याउने तर सबै हैनन्। सबैले स्तरीय पत्रिका खोज्ने। यस प्रसङ्गमा म सधैँ आभारी रहन्छु, भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार स्व. शरद् छेत्री सरप्रति। पत्रिकामा छापिएको विज्ञापनको भरमा उहाँले रचना पठाइदिनुहुन्थ्यो।
भाषिक शुद्धताको विषयमा वर्तमानका युवा पिँढीका लेखकहरू कति सचेत छन्?
मेरो दृष्टिमा वर्तमान पिँढीका युवा भाइ-बहिनीहरू आफ्ना लेखनमा भाषिक शुद्धाशुद्धिप्रति सचेतभन्दा पनि अल्मलिएका छन्। युवा जमातको के कुरा, हामी पत्रिकाको सम्पादकहरू नै अन्योलमा छौँ। भाषिक शुद्धता र एकरूपताको बहस पारसमणि प्रधानदेखि नै हो तर यसलाई लिएर कोही प्रतिबद्ध छैनन्। यस शुद्धताको कुरामा स्कुल/कलेजदेखि नै एउटा गोरेटो लिएर आउनुपर्छ तर त्यसो भएको छैन। साहित्यलेखन त पछि हो। बीच-बीचमा भाषाका विद्वान्हरूले भाषिक शुद्धाशुद्धिमा परिवर्तन ल्याउन पहल गरे। बनारसबाट सुरु भएको हलन्त हटाउने अभियानदेखि कालेबुङको बिन्दु हटाउने घोषणासम्म, समयानुसारको परिवर्तन हामीले देख्यौँ तर ती सब घोषणामात्रै भयो; काम भएन। फलस्वरूप जसलाई जे मन लाग्यो त्यही चलाए; चलाइरहेका छन्।
वर्तमानको अनलाइन पत्र–पत्रिकाको बढ्दो लोकप्रियतालाई कसरी हेर्नुहुन्छ? के यो छापामा आउँने पत्र–पत्रिकाहरूका निम्ति थप चुनौती बन्न सक्छ?
वर्तमानमा अनलाइन डिजिटल पत्र-पत्रिकाहरूको जुन लोकप्रियता बढ्दो छ, त्यो राम्रो कुरा हो। रचनाकारले पठाएको रचना, पारम्परिक छापा पत्रिकामा भन्दा चाँडो प्रकाशित हुने, लाखौँ पाठकले एकैपल्टमा हेर्न सक्ने र यो नष्ट भएर पनि नजाने। यस दृष्टिमा यसको पक्ष राम्रो छ तर छापामा आउने हाम्रो भाषाको पत्रिकाहरूलाई भने यसले खासै असर गर्दैन। कारण, यस अनलाइन पत्रिकाको आफ्नै तरिका छ। छापाको पत्रिकाका निम्ति साउँ अक्षर चिनेदेखि विद्वान्सम्म पाठक हुन्छन् तर अनलाइन पत्रिकाका निम्ति शिक्षित पाठक जरुरी छ। भन्नुको अर्थ, इन्टरनेट चलाउने ज्ञान हुनुपर्यो। यसर्थ, मेरो दृष्टिमा छापा पत्रिकालाई अनलाइन पत्रिकाहरूले चुनौती दिने कुरै आउँदैन।
अन्तर्वार्ताकार कवि तथा अनुवादक हुन्)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।