नेपाली साहित्य परिषद्, मणिपुरका अध्यक्ष भवानी अधिकारीकाे जन्म सन्तोलाबारी, काङपोक्पी, मणिपुरमा ३० जनवरी १९६२ मा भएको थियो । अधिकारीका कोरौगी मसेक मङाल (मणिपुरी कवितासङ्ग्रह– २००३), मनका आवेग (निबन्ध– २०१५), आँखीझ्यालभित्र मणिपुर (निबन्ध–२०१७) र मेरो लोकताक (कविता–२०१८) कृति प्रकाशित छन् । त्यस्तै, अधिकारीका एउटा पिस्तोल एउटा कुन्द पुष्प (मणिपुरी कथासङ्ग्रहको नेपाली अनुवाद), मरुभूमि (उपन्यास मणिपुरीबाट नेपाली– साहित्य अकादमी) र नयाँ क्षितिजको खोज (नेपालीबाट मणिपुरी) अनुवाद कृति रहेका छन् ।
प्रस्तुत छ, हाल मन्त्रीपुख्री, इम्फाल निवासी अधिकारीसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीको सम्पादित अंशः
तपाईँको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ?
“निबन्ध” नै हुनुपर्दछ । टाडाबाट विवाहित आएका छोरी चेलीहरूका पत्र लेखनबाट सुरु भएको हो।
प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना हो ? कहिले कहाँ छापिएको थियो ?
“केटा-केटी” कविता– डी.एम. कालेज, इम्फालको बहुभाषिक स्मारिकामा नेपाली खण्डमा (मणिपुरी, अङ्ग्रेजी, हिन्दी आदि सहित नेपाली) प्रकाशित भएको थिय
जीवनको भोगाइ, प्राप्ति र पीडाका विम्बमिश्रित बाल्यवस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ? कहाँ र कसरी बित्यो बाल्यवस्था ?
जीवनमा पीडाको प्राप्ति सायद भएको छैन । बाल्यकाल गाउँ र गोठतिर बित्यो, प्रकृतिसँगका खेल, गाई भैँसी, बाख्रासँग।
साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनुहुन्छ ? प्रेरणा के कहाँबाट मिल्यो ?
प्रेरणा पढाइबाट प्राप्त भो । हिन्दीमा प्रेमचन्द, विद्यानिवास मिश्र, नेपालीमा त अनेक हुँदा हुँदै पनि लक्ष्मीप्रसाद देवकोटाबाट धेरै प्रेरित भएको अनुभव हुन्छ ।
समकालीन मणिपुरको लेखनलाई कसरी हेर्नुभएको हुन्छ ?
यहाँको समकालीन लेखन द्रुत गतिमा चलिरहेको छ । यसलाई सकारात्मक नजरले हेर्दछु ।
मणिपुरको नेपाली भाषा तथा साहित्यको अवस्था कस्तो छ ?
नेपाली भाषा सन्तोषजनक स्थितिमा छ । सबैले शुद्ध नेपाली घरमा बोलिन्छ । पुराण पूजाआजाका निमन्त्रणाहरू शुद्ध नेपालीमा छापिन्छन् । अझ विवाहको निम्तामा एउटा आदर्श मान्न सकिने कुराको उल्लेख हुनु जरुरी होला । अनेक भाषी दुल्हा-दुल्हनका साथीहरू हुन्छन् । हाम्रो निमन्त्रणा प्रथममा नेपाली र अर्को पन्नामा अङ्ग्रेजीमा छापिन्छ ।
मणिपुरको नेपाली साहित्यका सम्भावना र चुनौतीहरू के के हुन् ?
चुनौतीहरू अल्प ज्ञानमा महान् बन्न खोज्नेहरूबाट सदा रहन्छ । बहुसङ्ख्यामा रहेका स्थानमा यसले वाधा नगर्ला ? अल्प सङ्ख्यामा रहेका स्थानमा यसले धेरै क्षति पुऱ्याउँछ । अध्ययनको अति आवश्यकता रहन्छ ।
यी चुनौतीहरूलाई समाधान गर्न कसले के गर्नुपर्छ जस्तो लाग्छ ?
जागरूकता हुनु जरुरी छ । “अल्प ज्ञान” कुनै कार्यमा लाभदायक हुँदैन । युवाकालमा एक दुई रचनालाई ‘स्याबास’ भन्दै हौसला दिनुपर्ने यहाँको अवस्था छ । हामी यसको समाधानको प्रयासमा छौँ । बैठक, छलफल, अलिक धेर आफू पढने । अध्ययनबिनाको लेखन गहकिलो हुन सक्दैन यसको ज्ञान हुनु आवश्यक रहन्छ ।
मणिपुर त नेपाली कविताको आधारभूमि हो ! तुलाचन आले मगरलाई कसरी सम्झनुहुन्छ ?
गर्व छ, हामी भारतीय नेपाली साहित्यमा पहिलो रहेकामा । आले विषयका योजना छन्, कोरोनापछि छलफल हुनेछ ।
मणिपुरमा सबैभन्दा बढी लेखिएको विधा कुन हो ? किन बढी लेखिएजस्तो लाग्छ ?
कविता, सबैले साहित्य कविताबाट सुरु गर्दछ र पहिलो कृति केही अपवादबाहेक कवितै हुन्छ ।
मणिपुरमा सबैभन्दा कम्ति लेखिएका विधा कुन कुन हुन् ? किन कम्ती लेखिएजस्तो लाग्छ ?
समीक्षा, जीवनी, अभिनन्दन, स्मृति ग्रन्थहरू लेखिएका छैनन् भन्दा हुन्छ । यसमा लागिपर्ने मानिस ननिस्कनाले । गहिरो अध्ययनको आवश्यकताले पनि यसो भएको हुनुपर्दछ ।
अहिले सवाईको अवस्थाचाहिँ कस्तो छ ?
सवाई – एक दुई वयोवृद्धले लेख्दै हुनुहुन्थ्यो । यसका बदला आज मुक्तक, गजल देखा पर्दैछन् ।
नेपाली साहित्य परिषद् मणिपुरको अध्यक्षसमेत हुनुहुन्छ । परिषद्का भावी योजनाहरू के छन् ?
परिषद्लाई आर्थिक मजबुती दिन सकिन्छ कि भनी मणिपुर सरकारको ढोका ढकढक्याउन पुगेका छौँ । वार्षिक योजनामा हाम्रा लागि पनि केही रकम छुट्याइयोस् भन्ने हाम्रो माग छ । परिषद्लाई ठुलो परिधिमा उभ्याउने प्रयास छ ।
परिषद्का समस्या र चुनौतीहरू के के छन् ?
चुनौतीहरू अनेकपल्ट सोधिए । जीव नै त चुनौतीपूर्ण छ । साहित्यको समस्या साहित्यकारहरूलाई आर्थिक सङ्कट पनि हो । कष्टले प्रकाशनमा ल्याएको पुस्तकको बिक्री वितरण नहुनु ।
यी समस्या र चुनौतीहरू समाधान गर्न कसले के गर्नुपर्छ जस्तो लाग्छ ?
एउटा पाठक मञ्च तयार गरी पुस्तक बेच बिखन साथै पाठकको विस्तार गर्नु । संस्थागत र व्यक्तिगत प्रयास हुन आवश्यक । हाम्रा यहाँ सरकारी पक्षबाट ठुलो आशा राख्न सकिन्न । अनेक भाषा छन् । सबै भाषाले सबै सहुलियत पाउन सक्दैनन्। फेरि पनि हाम्रो प्रयास छ ।
विश्व साहित्यका धेरै कुरा उठ्ने गरेका छन् । नेपाली साहित्य विश्व साहित्यमा कहाँ छ ?
नेपाली साहित्यले मानवीय संवेदना कति बोक्न सक्छ, त्यसमा यो निर्भर हुन्छ । हाम्रा कुरा त्यहाँसम्म पुग्नुपऱ्यो । यसमा त अनुवादकको काम आउँछ । हाम्रो साहित्य अनुवाद हुनुपर्ने जति हुन सकेको छैन ।
नेपालभित्रको साहित्य र भारतीय नेपाली साहित्यलाई चाहिँ कसरी हेर्नुहुन्छ ?
दुइटा आफ्ना-आफ्ना धारा हुन् । दुई देशमा अघि बढिरहेको साहित्य हो । सुखद अनुभूति हुन्छ । केही भिन्नतासँगको भाषा । यो हुनु पनि पर्छ ।
साहित्यकारहरूको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?
साहित्यकारको दायित्व जातिको पथ प्रदर्शक हुनुपर्दछ । उसले सिधै आज्ञा दिनु होइन । आफ्ना कार्यले लेखनले सदा प्रेरित गर्न सक्नुपर्दछ । त्यसको विपरीत आ-आफ्नो समूह लिएर हिँड्ने प्रवृत्तिले यसलाई विशालताबाट साँघुरिएको बाटो देखाउँछ, जो हानिकारक हुन जानेछ ।
स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नुपर्दछ ?
विशेष युवाहरूलाई सही मार्गदर्शन गर्नु, तथा धेरै उनीहरूका लेखनसम्बन्धी चर्चाहरू गरी रहनु । युवाहरूका अलग्गै कार्यक्रमहरू गर्नु ।
साहित्यको समकालीन बजारलाई कसरी हेर्नु हुन्छ ?
भारतमा बजार छैन नै भन्नुपर्दछ । हाल सिलगढीतिर केही पुस्तक पसलहरू छन् तर यस विशाल देशमा सबैले त्यहाँ पुग्न सक्ने स्थिति रहँदैन । मणिपुर त अझ वल्लो छेउ हुनाले मुस्किल छ । पुस्तक लोकार्पणका दिन केही रकम उठ्नुबाहेक मणिपुरका स्रष्टाले बजार पाउँदैनन् ।
अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ?
हरेक क्षण बिर्सन नसक्ने नै छन् जस्तो लाग्छ ।
जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?
जीवन कर्मक्षेत्र हो । सुख दुःखसँग सामञ्जस्यतासँग अघि बढ्नु नै सफल जीवन हो ।
उहिले र अहिलेको लेखक अनि लेखनमा के के भिन्नता पाउनुहुन्छ ?
उहिले लेख्न धेरै प्रयास गरेर सकिन्थ्यो, हाल प्राविधिक सुविधाले तुरुन्तै सकिन्छ । छपाउन परे सम्पादकसम्म पुगेर परिमार्जित हुन्थ्यो । यसमा कति मौलिकताको हनन हुन्थ्यो पनि कि ? तर मर्यादित कुरा चुनिन्थे । आज म जस्तो लेख्छु त्यही सार्वजनिक हुन्छ । पहिले पाठक थोरै पाइन्थ्यो, लेखनको महत्त्व हुन्थ्यो । आज पाठ अनेक भएर लेखन गहन नभएको पीडा पनि एकतर्फ छ तर उत्कृष्ट पढ्नमा दुर्लभ चिजहरू पनि आज सुलभ प्राप्त छन् । यसले नकारात्मक मात्र होइन सकारात्मक कुराहरू पनि सँगसँगै छन् ।
तपाईंलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा केही जान्न सकिन्छ ?
प्रायः हिन्दी नै पढियो पहिले । अङ्ग्रेजी कम्ति नै पढियो । फेरि पनि अनुवादमा केही पढेता पनि प्रायः हिन्दी कविता, निबन्ध, उपन्यास मात्र यहाँ उल्लेख गर्नु ठिक हुनेछ ।
नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले के के गर्नुपर्ला ?
लेखनमा व्यापकता, माथि पनि भनियो हाम्रो साहित्यको अनुवाद हुनु अति जरुरी छ ।
विगतदेखि वर्तमानसम्म आइपुग्दा शासक र सर्जकका बिचको सम्बन्धलाई कुन रूपमा हेरिरहनुभएको छ ?
शासकले शासन गर्छ, सर्जकले सिर्जना । शासकले जित्नुपर्ने पनि हुन्छ । जित्नलाई अनेक नीति उसले अपनाउनुपर्छ । उसको समयावधि हुन्छ । पाँच-पाँच वर्षको अथवा देशका संविधान अनुसारको समय । यस समय अनुरूप उसले चल्नुपर्छ । स्रष्टाको कुनै चुनाव हार-जित रहँदैन । आफूभित्र नै समूह नीति चले अर्को कुरा तर लेखनमा समूह हाबी रहँदैन । सर्जकहरूको आदर सत्कार आफू ठुलो सर्जक, साना ठुलाको भावना राख्नाले सर्जकहरू उपेक्षित भएको अनुभव हुन्छ तर सर्जकको दृष्टि हेराइ दूरदर्शी हुन्छ, बुझ्झकी शासकहरूले यो बुझेको हुन्छ र उनीहरू सदा स्रष्टाको आदर गर्दछन् । दुर्भाग्य हाम्रा यता अथवा एसियाली देशहरूमा, यस्तो कम नै भएको हुन्छ ।
नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह र सुझाव दिनुहुन्छ ?
नवलेखनमा लाग्नेहरूलाई आएको विचार लेखिहाल्नू । प्रकाशनमा ल्याउनु नल्याउनु अलग कुरा । आफ्ना सिर्जनाहरू समेटेर राख्नू । विचारहरू बारम्बार आइरहँदैनन् । धामीले एउटा बिरामीको बिरामको पत्ता लाउन, जोखाना हेर्दा थान थापेर देउता भकाउनुपर्दछ । लेखक कविहरूको मानसिक थानबाट विचार प्रफुस्टित पनि जतिसुकै समयमा अथवा हरेक पलमा हुन सक्दैन । भएको प्रस्फुरण सम्हाली राखेको राम्रो । नवीनहरूको आफ्नो रचनामात्र अर्कालाई सुनाउने हतार देखिन्छ, यसले श्रोतालाई अरुचिकर पनि हुन जाला । अर्काको पनि सुन्नुपर्दछ । यसमाथिबाट अध्ययन अधिक गर्नुपर्दछ ।
जीवनका भावी लेखकीय योजना र इच्छाहरू के छन् ? के सार्वजनिक गर्न मिल्छ ? मिल्छ भने के के छन् ?
एउटा उपन्यास मणिपुरको जनजीवन दर्साएर लेखौँ कि भन्ने इच्छा । यसलाई परिकल्पनामात्र गर्दै छु । सार्वजनिक त गरियो, नहुन पनि सक्ला । अरू त यथावत् चलेकै छ ।
अहिले साहित्यमा लागेर के पाएँ र के गुमाएँ जस्तो लाग्छ ?
गुमाउनु त लिएर के आइएको थियो र गुमाउनु । मणिपुर राज्यलाई नेपाली साहित्य जगत्मा जोडन सकियो । यहाँ पाठ्यक्रममा एक विषय नेपाली मातृभाषा जो पहिल्यैदेखि थियो, बेलाबेला तलमाथि भइरहने । यसलाई मजबुत गरियो । मणिपुरका मूलवासी मणिपुरी साहित्य जगत्सँग नेपाली साहित्य परिषद्लाई जोडियो । गुमाउनु भनेको देशको (भारतको) पल्लो छेउ भएर होला, समय-समयमा हामीमाझै, हाम्रो कार्यको अनदेखा हुँदा मनमा ठेस लाग्दथियो । त्यो समय पनि धेर जति पार गरिएर आइयो भन्नुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।