
कविता‚ कथा‚ लघुकथा‚ समालोचना‚ संस्मरणजस्ता अनेक विधामा समान किसिमले संलग्न कुशल साहित्यकार हुन् खेमराज पाेखरेल । केही हप्ता पहिले स्रष्टा साँझ अमेरिकाले जुममार्फत आयोजना गरेको ‘उपन्यास चर्चा’ कार्यक्रममा हरि अधिकारीद्वारा लिखित उपन्यास ‘एक्लो नायक’ को पोखरेल गरेको समालोचनाले उनलाई चर्चाको चुलीमा पुऱ्यायो। उनको उदय एक सशक्त समालोचकको रूपमा भयो ।
नेपालको त्रिभुवन विश्वविद्यालयमा ३ दशकभन्दा बढी अध्यापन गराएका पोखरेलका दुई दर्जनभन्दा बढी विभिन्न विधाका पुस्तकहरू प्रकाशित छन् । सेवा निवृत्त जीवन व्यतीत गरिरहेका पोखरेलको हालको अमेरिका बसेर पनि नेपाली साहित्यको उन्ययनमा उनी सक्रिय रूपमा लागेका छन् ।
प्रस्तुत छ, विश्वराज अधिकारीले साहित्यपोस्टका लागि खेमराज पोखरेलसँग गरेको कुराकानीकाे सम्पादित अंश;
प्रवाशमा कसरी आइपुग्नुभयो ?

खेमराज पोखरेल (अमेरिका)
म सन् २००२ को डिसेम्बरमा पहिलोपल्ट अमेरिका आएको थिएँ । २००७ को जुनसम्म अमेरिकामा बसेको थिएँ । वर्षको लगभग ३६५ दिन नै काम गर्दा कामको महत्त्व र अर्थ पनि बुझेको थिएँ । अर्कोतर्फ भौतिक जीवनसौन्दर्यको पराकाष्ठा र यसले मानवजीवनमा पारेको प्रभाव देखेर विदीर्ण पनि भएको थिएँ । अमेरिका फेरि काम गर्ने हिसाबमा नफिर्ने सोचका साथ नेपाल फिरेको थिएँ ।
तर समय मेरा अधीनमा रहेन । मेरा छोरीहरू आफ्नै बुताले अमेरिकामा छिरेर स्थायी रूपले बस्न थालेपछि म नेपालमा एक्लो भएँ । सोचेँ – आफ्नो यो बुढ्यौलीउन्मुख जीवन । अनि आफ्नो भौतिक तथा शारीरिक अवस्थालाई हृदयङ्गम गरी सन्तानको सियाँल ताप्न अमेरिका छिरेँ । हाल म अमेरिकाको टेक्सस राज्यअन्तर्गत सान मार्कोस सहरमा बुढ्यौलीउन्मुख जीवन व्यतीत गर्दै छु । बुढ्यौलीउन्मुख भन्नुको कारण नेपालमा प्राध्यपनको जागिरबाट निवृत्त भएपछि छोरीहरूको सियाँलको आवश्यकताले पिछा लागी अमेरिका आएको हुँ । यहाँ आएपछि आयआर्जनका काम नगरेको हुनाले बुढ्यौलीउन्मुख भनेको हुँ ।
अचेल के गर्दै हुनुहुन्छ? कुनै पुस्तक–लेखनमा व्यस्त हुनुहुन्छ कि ?
योबेला अर्थआय उपार्जनका मापकमा म निष्क्रिय जीवन बिताइरहेको छु । त्यसकारण मसँग समय छ । समयभित्र परिवार छन् । परिवारलाई दिएर बचत रहेको समयमा म साहित्यको पाटीमा वास बस्ने गरेको छु । यही क्रममा केही लघुकथा‚ कथा‚ निबन्ध‚ कविताका कृतिहरू तयार भएर प्रकाशित भएका छन् । अहिले पनि म साहित्यलेखन कार्यमा नै छु । सो कार्यलाई व्यस्तचाहिँ भन्दिनँ । मन‚ दिमाग‚ परिवेश र जाँगर मिलेको बिन्दुमा लेखन कार्य गर्छु । किनभने पुग्नु कहीँ छैन । कहीँ नपुगिने यात्रामा साह्रै धेरै व्यस्त हुनुको पनि के काम र ?
तर पनि अहिले तयार भएर बसेका र प्रकाशनको चाँजो नमिलेका एक थान कथासङ्ग्रह‚ लघुकथासङ्ग्रह‚ संस्मरण‚ नियात्रा तथा समीक्षाका पुस्तकका सामग्रीहरू कम्प्युटरका फाइलमा कोच्चिएर बसेका छन् । एउटा उपन्यासको करिब-करिब ९० प्रतिशत सकिएको छ ; बिस्तारै तुर्छु । मैले हालको अवस्थामा कवितालाई भन्दा आख्यान तथा संस्मरण विधालाई अलि बढी ध्यान दिएको भने पक्कै हो ।
तपाईँ आफूलाई साहित्यको कुन क्षेत्रमा संलग्न रहेको भन्न रुचाउनुहुन्छ? लघुकथा‚ कथा‚ समालोचन वा संस्मरण?

अन्तर्वार्ताकारः विश्वराज अधिकारी
मैले साहित्यको सिर्जना गर्ने क्रमको सुरुवात कविताबाट गरेँ तर अचेल म लघुकथा‚ कथा‚ निबन्ध‚ संस्मरण‚ नियात्रा तथा उपन्यासमा रमेको छु । सोही क्रममा यता आएर मैले चिनेका/नचिनेका स्रष्टाहरूका पुस्तकहरूमा समीक्षा लेखेँ । यसको प्रयोजन रहर थियो तर पाठक‚ स्रष्टा तथा आधिकारिक घागडान समालोचकहरूले मेरो समीक्षालाई अत्यधिक मन पराएर मलाई उल्क्याइदिनुभएको छ । म यही उलामालामा लागेको छु । म मेरा समीक्षालाई पाठकीय नजर भन्न रुचाउँछु । किन भने मेरा समीक्षा/समालोचनाले समालोचनाका गुढ सिद्धान्तलाई प्रतिनिधित्व नगर्न सक्छन् । कुनै घेरा वा वादले म समीक्षा लेख्दिनँ । जसरी पाठक स्वतःस्फूर्त हुन्छ‚ त्यही पाठकीय अधिकारको उपयोग गरेर म समीक्षा लेख्छु । समालोचना लेख्छु ; पाठक प्रतिक्रिया लेख्छु ।
वर्तमानमा तपाईँका समालोचनाहरू प्रसिद्ध भएका छन् । समालोचना लेख्न कत्तिको सहज महसुस गर्नुहुन्छ ?
तारतम्यगत हिसाबमा समीक्षा/समालोचना लेखन साहित्यका अन्य विधाभन्दा गाह्रो र अपजसिलो हुन्छ । किनभने विश्वमा अनेक प्रकारका समालोचना सिद्धान्त छन् । तिनले विषयको हरेक कोणबाट समालोचना गर्दछन् । मार्क्सवादी‚ परम्परावादी‚ व्यक्तिवादी तथा उदारवादी‚ नवउदारवादी जस्ता अनेकन फलक छन् समालोचनाका । समालोचना गर्दा यी सिद्धान्त बुझ्नु नै पर्ने हुन्छ । अर्कातिर परम्परागत समालोचनामा साहित्यकार केन्द्रित स्तुतिमात्र हुने हुँदा लेखक त रमाउँछ तर पाठकलाई भने त्यति रमाइलो लाग्दैन । त्यसकारण वर्तमानमा समालोचनालाई पनि सिर्जनालाई जस्तै पाठकसँग जोड्नुपर्ने हुन्छ । यो कर्म जटिल र कठिन छ र पनि म समीक्षा समालोचना लेख्तै छु । त्यसकारण अहिलेलाई साहित्यको कुन विधा मेरो प्रमुख हो भन्न नै सकिनँ ।
आप्रवासमा रहेर पनि नेपाली साहित्यको सेवा गर्न सकिन्छ जस्तो लाग्छ ?
आप्रवासमा बस्नु भूगोलको कुरा मात्र हो । शरीर मात्र आप्रवासमा हो । भूगोलले साहित्यसेवामा केही फरक पार्दैन । भूगोलकै कुरा गर्दा पनि नेपालको अति दुर्गम गाउँबाट काठमाडौँ पुग्न ४/५ लाग्छ भने २४ घण्टामा अमेरिकाबाट नेपाल पुगिन्छ । त्यसकारण साहित्य सेवा गर्न आवास वा आप्रवास केहीले सजिलो हुने वा अप्ठ्यारो हुने कुरा होइन । मुख्य कुरा प्रतिभा‚ परिवेश‚ मनन‚ इच्छा र लगन हो । दैनिन्दिनीबाट जोगिएको समय साहित्यमा लाग्ने हो तर देश र देशवासीको भावनात्मक माया आप्रवासमा बढी हुने भएकाले यो मनोवैज्ञानिक पक्षले सायद साहित्य लेखनमा ऊर्जा पो थप्छ कि ।
साहित्य किन लेखिन्छ ? लेखकले आफूलाई सन्तुष्ट पार्न वा समाजलाई कुनै खास किसिमको सन्देश दिन साहित्य लेखिने हो ?
यो प्रश्न प्राविधिक रूपले अलि अपठ्यारो र बढी निजत्व भएको प्रश्न हो । मलाई लाग्छ कि लेखकले साहित्य सिर्जना गर्ने अनेक प्रयोजन हुने गर्छन् । नाम‚ दाम‚ काम तथा अनेकन उद्देश्यप्राप्तिका लागि पनि साहित्य लेखिन्छन् । यी कुरा प्राप्त गर्न लेखिने अखबारी‚ प्रकाशकउन्मुख वा अर्काले भनेको भनिएको विषयमा लेखिने साहित्य यसै कुराबाट परिलक्षित हुन्छन् जस्तो लाग्छ । वर्तमान युगमा साहित्यलेखन पेसा भएको छ तर जहाँसम्म मेरो सवाल छ‚ म साहित्यको सिर्जना आफैँ रमाउने अभिप्रायका साथ लेख्छु । विशुद्ध मेरा नजरमा समाजको कुन पाटोमा के गर्दा हित हुन्छ भन्ने लाग्दछ त्यही ब्यहोरा परिपूर्ति गर्न लेख्छु तर म पनि यही समाजको उत्पादन भएकाले मेरो लेखनी सोचले समाजलाई कुनै सुसन्देश दियो भने म ज्यादै पुलकित भने हुन्छु ।
नेपालमा लामो समयसम्म शिक्षण पेशमा संलग्न रहनुभयो ? नेपालको शिक्षा विकासमा कुनै उल्लेख्य योगदान पुऱ्याउनुभयो जस्तो लाग्छ ?
नेपालमा मैले १ वर्ष जति हाइस्कुलको हेड मास्टर भएर काम गरेँ । त्यसपछि करिब ३३ वर्ष त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसहरूमा प्राध्यापन गरेँ । कोर्सका पुस्तक लेखेँ । अनुसन्धानमूलक लेख लेखेँ । यो दौरान मूलभूत रूपमा मैले जागिर खाएँ । राज्यले मलाई दिएको दायित्व प्राध्यापन नै थियो । मैले आफ्ना हिसाबले अन्तर्हृदयका साथ सो दायित्व शतप्रतिशत निष्ठाका साथ निभाएँ । कहिल्यै आफ्नै आत्मा बेच्ने काम गरिनँ । यो कर्मले नेपालको शिक्षा विकासमा योगदान भयो कि भएन‚ मलाई पत्तो छैन । सरकार वा विश्वविद्यालयले न त कहिल्यै शिक्षामा योगदान गरेबापत पुरस्कार वा प्रशंसा दियो न त कहिल्यै खराब गरेबापत खबरदारी पत्र नै दियो । नेपालको शिक्षा विकासमा मैले के कति योगदान पुऱ्याएँ त्यो नेपाली समाजले मूल्याङ्कन गर्ने विषय हो।
तपाईँका कथाहरूमा निकै प्रगतिशील मुद्दाहरू उठाइएका हुन्छन् । जस्तै तपाईँको एउटा कथामा पतिले परित्याग गरेको एक महिलालाई उनकी छोरीहरूले दोस्रो विवाह गराइदिएको चर्चा छ। नेपालमा यस किसिमको स्थिति ल्याउनमा तपाईँका कथाहरूले कुनै खास भूमिका खेल्ने छन ?
वास्तवमा समाजको चरित्र प्रगतिशील हुन्छ । कसैले चाहँदैमा वा नचाहँदैमा समाजको प्रगतिशील गति रोकिन्न । यत्ति हो कि कसैको प्रगतिशील परिवर्तनको दर तीव्र हुन्छ भने कसैको अलि मत्थर । म अलि तीव्र परिवर्तनको दरलाई केन्द्रमा राख्छु । मेरो स्वभाव‚ खानपिन‚ रहनसहन‚ बोलीचाली‚ मान्यताका पुराना पक्षहरू परिवर्तित भएका छन् । यो परिवर्तनको दर तीव्र भएको महसुस गर्छु म । मेरो एउटा कथा ‘आफ्नै जीवन बाँच आमा’ मा कथाकी प्रमुख महिला पात्रकी तीनवटा छोरीहरूले आफ्ना पिताबाट अपहेलित तथा क्रूरतापूर्वक लखेटिएकी आमालाई अर्को मन‚ विचार र आवश्यकता मिल्ने पुरुषसँग बिहे गराइदिएको कथानक छ । आमा मरेपछि आफ्ना बाबुको अर्को बिहे गराउन तयार भएका सन्तानको कुरा त पाच्य छ समाजलाई तर बुबाको मृत्युपछि आमाको अर्को बिहे गर्न भने सामान्यतया समाज तयार छैन । यदाकदा नभएका पनि होइनन् । मेरो त्यो कथाले कठमुल्ला समाजलाई भने रन्थन्याउनुपर्छ । यसैलाई समाज परिवर्तनको खास भूमिका भन्ने हो कि ?
तपाईँका कथाहरूमा यौन–विषयलाई निकै चर्चामा राखिएको पाइन्छ । नेपालमा अन्य सामाजिक मुद्दा (गरिबी‚ अशिक्षा) हरू धेरै रहेको परिप्रेक्ष्यमा यौन विषय दोस्रो दर्जामा आउनुपर्ने होइन र?
संसारका सबै वादका मूलभूत जरो भनेको टाउको याने दिमागको कुरा‚ तर्कको कुरा‚ बुद्धिको कुरा तथा नाफा नोक्सानको कुरा पहिलो हो । दोस्रो तर उत्तिकै महत्त्वपूर्ण कुरा भनेको हृदयको कुरा हो । याने मायाममता‚ दया‚ त्याग‚ हृदयसँग जोडिएका विषय हुन् । हृदयको कुरा गर्दा दिमागको खुराफाती ज्ञानको केही अर्थ हुँदैन । तेस्रोमा आउँछ पेट । पेट याने भोकको कुरा । भोक लागेपछि दिमाग र हृदय हेरेर मान्छे बस्तैन । त्यसैले पेटको विषय निकै महत्त्वपूर्ण छ । चौथो पेटमुनिको कुरा हो । याने यौनका कुरा हुन् । जब मान्छेलाई यौनका ज्वारले पोल्न थाल्छ ऊ माथिका कुनै कुरा विचार गर्दैन । यौनप्राप्ति उसको प्रधान ध्येय रहन्छ । संसारभरिकै साहित्य यी मैले माथि उल्लेख गरेका चारैवटा विषयसन्दर्भका वरिपरि घुमेका हुन्छन् । मान्छेको जीवनमा ती चारैवटा विचार वा वादको बराबरी महत्त्व हुन्छ । यौन विषयबाहेक अन्य विषयमा लेख्दा समाजले कर्के नजर लगाउँदैन; सहज छ तर यौनका विषयमा लेखियो भने मान्छेले कम्मल ओढेर घिउ खान्छ भन्छु म । संसारभरिका हिसाबमा हेर्ने हो भने पनि सबैभन्दा बढी पढिएको वा हेरिएको सामाजिक सञ्जालमा यौन सामग्री नै पर्छ । त्यसकारण यौन दोस्रो दर्जाको विषय होइन । गरिबी‚ अशिक्षा‚ ज्ञान‚ विज्ञान र भोकजस्तै यौन पनि पहिलो प्राथमिकताको विषय हो । अब दायराको कुरा गर्ने हो भने लेखनीमा टाउका‚ हृदय‚ पेट तथा पेटमुनि सबै लेखनीका सीमा र दायरा त हुने नै भए । सीमाविहीन त के पो छ र ?
तपाईँसँगको कुराकानीमा‚ लघुकथा लेखनको सन्दर्भमा तपाईँ ‘बीज वाक्य’को निकै प्रयोग गर्नुहुन्छ। यो बीज वाक्य भनेको के हो?
लघुकथा बुनौटको लगभग अन्तिमतिर बिज वाक्य रहने गर्छ । यो बीज वाक्य भनेको कथानकको रानु वाक्य हो । लघुकथाको उद्देश्य यही बीज वाक्यमा निहीत हुन्छ । अन्य वाक्यहरूले सो बीजवाक्यले बोकेको अर्थभारलाई सहायक भएर परिपूर्तिमात्र गर्ने हुन् । जसरी महुरीको घारमा रानु हुन्छ र अन्य माहुरीहरू त्यही रानुको वरिपरि घुम्छन् त्यसैगरी लघुकथामा एउटा बीजवाक्य हुनुपर्दछ जसलाई अन्य वाक्यले घेर्नुपर्दछ ।
लघुकथा आजभोलि नेपाली साहित्यमा खुब लेखिएका छन् । लेखिने क्रम झनै बढेर गएको छ। यस सन्दर्भ ‘अधिकांश लघुकथा स्तरीय छैनन् भन्नेहरू पनि धेरै छन् । उनीहरूको यो भनाइमा सत्यता छ?
वास्तवमा आजभोलि नेपाली साहित्यमा भरमार लघुकथाहरू लेखिन थालेका छन् । साहित्यको विकासको प्रसङ्गमा यो सुखद पक्ष हो । जति धेरै लेखियो त्यति स्तरीय हुने हुन् तर आम पाठकदीर्घा तथा विज्ञदीर्घाले हाल लेखिँदै गरेका देखिँदै गरेका सबै लघुकथाहरू स्तरीय छैनन् भन्नु पनि जायज हो; सत्य हो । किनभने लघुकथाका अघिकांश लेखकहरू शब्दको सीमालाई मात्र लघुकथाको मापक मान्दछन् । छोटो हुनु वा लघु हुनु नै लघुकथा हो भनिठान्छन् । निसन्देह लघुकथा छोटो त हुन्छ‚ लघु त हुन्छ । तर यसका अनेक चरण र मर्म हुन्छन् । लघु हुनु लघुकथाको भौतिक स्वरूप मात्र हो । त्यसभित्र प्राण हाल्ने भनेको विशिष्ट बुनौट हो । कथानकको विशिष्ट आख्यानात्मक प्रस्तुति हो ।
त्यसैले वर्तमान कालमा दनादन लेखिँदै गरेका लघुकथाको अवस्था देखेर म अत्यन्त खुसी छु तर आलीधुर नाघेर लघुकथा लेखिँदा भने चिन्ता पनि लागेको छ । चामलमा बियाँ थप्ने क्रममा सबै चामलभित्र बियैँबियाँ भयो भने पो के गर्ने होला ? निफन्ने पो कसरी होला ? त्यसकारण लघुकथा लेख्ने लेखकले लघुकथाका बारेमा अलिकति चासो दिएर परिवर्तनशील हुन सकियो भने सुनमाथि सुगन्ध हुने थियो ।
आजकालका लघुकथाहरू लघुरूपमा प्रस्तुत हुने भन्दा पनि व्यङ्गको रूपमा प्रस्तुत हुने गरेका छन् । त्यस्तो हो र?
साहित्यका १० रस भनिएको छ साहित्य शास्त्रमा । लघुकथा पनि साहित्यकै आख्यानअन्तर्गतको एउटा छुट्टै उपविधा भएकाले उपरोक्त सबै रसमा लेख्न सकिन्छ । त्यसमध्येको एक व्यङ्ग्यप्रधान रस हो । शतप्रतिशत व्यङ्ग्यभाव हुनुपर्दछ भन्नेचाहिँ होइन ।
लघुकथामा स्थितिको पूर्ण वयान गर्न कठिन मात्र होइन असम्भव नै हुन्छ । यस सन्दर्भमा तपाईँ नेपाली साहित्यमा लघुकथा लेखनको भविष्य कस्तो देख्नुहुन्छ?
साहित्यको आख्यानमा अन्य उपविधाजस्तो सजिलो अलि हुँदैन लघुकथाको लेखन जस्तो लाग्छ मलाई । गागरमा सागर हाल्नुपर्छ लघुकथा लेखकले । आकारमा सानो तर विचारमा गहन हुनुपर्छ लघुकथा । लेखकले आफ्नो शिल्पीय दक्षताले एकदम छोटो लघुकथाभित्र स्थितिको पूर्ण बयान गर्न सक्छ; सकिन्छ । कथानक विस्तार तथा वाक्यविस्तारलाई रोक्न सकिएन भने वा आयामलाई ध्यान दिन सकिएन भने लघुकथामा स्थितिको पूर्ण बयान गर्न कठिन हुन्छ । पूर्ण बयान गर्न थालियो भने छोटा कथा वा कथा नै बन्न पुग्छन् । त्यसकारण लघुकथामा विशेष शिल्प चाहिन्छ भनिन्छ ।
‘अ नोभेल अन अ प्याराग्राफ’ भनिन्छ लघुकथालाई । अहिलेको व्यस्त जीवनमा साँच्चिकै एउटा प्याराग्राफमा एउटा उपन्यासको स्वाद हाल्न सकियो भने यसको विकासको गति नरोकिएला सायद ।
तपाईँ आफूलाई छोटा कथा लेखनको अभियन्ता भन्नुहुन्छ । छोटा कथाको आवश्यकता किन महसुस गर्नुभएको होला?
मेरो अबको यात्रामा छोटाकथातिर जाऊँ कि भन्दैछु । यता केही वर्षदेखि लघुकथा तथा कथा लेखिरहँदा लघुकथा र कथाका बिचमा एउटा खाडल देख्तैछु । त्यो खाडललाई न त लघुकथाले लघुकथा मान्दछ । न त कथाले कथा । उदाहरण नेपाली साहित्यजगत्मा लगभग ३०० शब्दको हाराहारीलाई लघुकथा भन्ने गरिएका छन् । त्यस्तै १००० शब्दभन्दा माथिका आख्यानलाई कथा भनिएको छ तर ३०० देखि १००० सम्मका आख्यानलाई कथाले लघुकथातिर र लघुकथाले कथातिर फालिदिएको वर्तमान अवस्था छ ।
फेरि अर्को महत्त्वपूर्ण कुरा के हो भने वर्तमानमा लघुकथा भनेर लेखिएका सामग्रीहरू बुनौट‚ प्रस्तुति तथा कथानकका हिसाबले अधिकांश छोटाकथा भएका छन् । तिनले लघुकथाको बुनौट प्रक्रिया अपनाएका छैनन् । ती पूर्णकथा पनि बनेका छैनन् । त्यसकारण छोटाकथाको एउटा फलक सुरु गर्ने हो कि भन्ने लागेको छ ।
छोटोकथा भनेको के हो र यसको लेखन विधि र रूप कस्तो हुन्छ?
छोटाकथालाई अधिकतम १००० शब्दको सीमा तोकियो भने सहज होला भन्ने ठानेको छु । कथाभन्दा छोटो आयाममा लेखिन्छ छोटाकथा । त्यसैअनुसार पात्रविधान‚ प्रयोजनविधान‚ कथ्यविधान‚ शिल्पविधान चयन गरिनुपर्दछ ।
नेपालमा छोटा कथा लेख्न प्रारम्भ कसले गरेको हो? कुनै छोटो कथाको कथाकार एवं कथाको शिर्षक के थियो?
खासमा भन्ने हो भने नेपाली साहित्यमा छोटाकथा भनेर कहिलेदेखि लेख्न थालियो भन्नेबारेमा अन्योलमा छु । मैले थाहा पाउँदा मनु ब्राजाकीको छोटाकथा भन्ने पुस्तक पढेर छोटा कथाबारे धारणा बनाएको हुँ । असाध्य घागडान कथाकार मनु ब्राजाकीले आफ्ना जीवनका अन्त्यतिर निकै दर्बिला छोटाकथा लेख्नुभएको छ । त्यसको नाम नै मनु ब्राजाकीका छोटाकथा भन्ने छ ।
लघुकथा र छोटा कथाबिच के अन्तर छ?
सबैभन्दा महत्त्वपूर्ण कुरा नै लघुकथा र छोटाकथाको विभेद थाहा पाउनु हो । प्रसिद्ध कथाकार मनु ब्राजाकी आफ्नै छोटाकथाको भूमिकामा आफूले लघुकथा लेख्न नसकेको र लेख्तै जाँदा छोटाकथा भएको कुराको आशय व्यक्त गर्नुहुन्छ । ठ्याक्कै हिसाबमा जस्तो शब्द सङ्ख्याको आँकलन लघुकथामा नहुने भए पनि ३०० शब्द लघुकथाका लागि पर्याप्त भन्दा पनि धेरै हुन्छ तर छोटाकथामा यो सीमा बढेर १००० शब्दसम्म पनि पुग्न सक्छ । लघुकथामा कथानकविस्तार र वाक्यविस्तार निषेध नै छ तर छोटाकथामा अलिकति कथ्यविस्तार र वाक्यविस्तार गर्ने छुट छ । लघुकथामा पात्र पनि एकदम थोरैको कल्पना गरिन्छ । बहुपात्र लघुकथाको बाधा हो भने छोटाकथामा पात्रमा पनि अलि लम्कन पाइन्छ । लघुकथामा कथानकको आयाम एक दम छोटो हुनैपर्छ भने छोटाकथामा त्यो आयाम अलि फराकिलो हुन्छ । लघुकथाको प्रयोजन पनि एकदम एक सूत्रीय हुनुपर्दछ तर छोटाकथामा प्रयोजनमा अलि व्यापकता ल्याउन सकिन्छ । लघुकथा निर्माणमा विशिष्ट शिल्पको दरकार पर्छ भने छोटाकथामा शिल्पमात्र भए पनि पुग्छ र मुख्य कुरा छोटा कथामा लघुकथाजस्तो जादुमयी कौतुहल समापन नहुँदा पनि हुन्छ; हुँदा पनि हुन्छ । लघुकथामा छोटाकथा अटाउँदैन तर छोटाकथामा लघुकथा अटाउँछ । छोटाकथाको समापनमा विपरीत भाव वा प्रभावउत्पादक भाव आउनैपर्छ भन्ने छैन । लघुकथामा अत्यधिक सूत्रता‚ तीक्ष्णता‚ कथानकको उत्कर्षता तथा हठात कौतुहलपूर्ण अन्त्यको कामना गरिन्छ भने छोटाकथामा यी कुरालाई दोस्रो महत्त्वमा राखिन्छ । आख्यान विधाको यी लघुकथा र छोटाकथा दुवै पूर्ण उपविधा हुन् ।
अमेरिका बसिरहनुभएको छ । साहित्य साधनामा लागिरहनुभएको छ । नवोदित साहित्यकारलाई केही भन्नुहुन्छ कि ?
के भन्नु र ? नेपाली साहित्य आकाशमा धेरैभन्दा धेरै साहित्यकारको जन्म होस् । धेरैभन्दा धेरै कृति लेखियून् । ती कृति स्तरीय होऊन् । विश्व साहित्य फलकमा चिनियून् । यसो गर्नका लागि स्थापित स्रष्टाले ओगटेको कोटेरी पनि ठूलो पार्नुपर्ने हुन्छ । ‘हाम्रालाई होइन‚ राम्रालाई’ भन्ने नीतिमा हिँड्नुपर्छ । नवोदित स्रष्टाले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने घमण्डबाट मुक्ति पाउनुपर्छ र आफ्नै लेखनीको जस्केलाबाट अनन्त आकाश हेर्नुपर्छ । निखार ल्याउनुपर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

