बुबा टिकाराम उपाध्याय बराल र आमा पद्मादेवी उपाध्याय बराल कान्छा पुत्ररत्नका रुपमा मुक्तिप्रसाद उपाध्याय बरालको जन्म उत्तर शरणीया, गुवाहाटी, असममा भएको थियो । बराल बी.एस्सी. (गणित, रसायन र भौतिक विज्ञान १९७५) हुँदै  एम. ए (नेपाली १९९०) गरी सिलगढी कृष्णमाया मेमोरियल नेपाली उच्चतर स्कूलको शिक्षक पदबाट सन् २०१४ को ३१ डिसेम्बरमा अवकाश भएका थिए ।

बाल-विज्ञानमा आधारित उपन्यास मालतीका लागि साहित्य अकादेमी बालसाहित्य पुरस्कार २०१५ द्वारा पुरस्कृत बराल तीन दर्जनभन्दा बढी सङ्घसंस्था तथा पुरस्कारबाट पुरस्कृत एवम् सम्मानित भइसकेका छन्प्रस्तुत छ, हाल सिलगढी निवासी मुक्तिप्रसाद उपाध्याय बरालसँग साहित्यपोष्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंश;

तपाईंको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ?   

मेरो  पहिलो रचना– आखिर मेरै दिमाग न हो (कविता) सन् १९७१ मा लेखेको थिएँ । पहिलो कथाचाहिँ– ज्योतिबिनाको प्रकाश सन् १९७४ मा रेडियो गुवाहाटीबाट प्रसारित भएको थियो ।

प्रकाशनका दृष्टिले चाहिँ पहिलो कुन रचना हो र कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?

प्रकाशनका दृष्टिले पहिलो प्रकाशित रचना– गरिब देशको महँगो कोसेली (निबन्ध) भयो ।  जुन हिमालचुली दैनिक, सिलगढ़ी,  भारत, २ डिसेम्बर १९८२ मा प्रकाशन भएको थियो ।

मुक्तिप्रसाद उपाध्याय बराल

जीवनको भोगाइ, प्राप्ति र पीडाका बिम्बमिश्रित बाल्यवस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ? कसरी बित्यो बाल्यवस्था ?

आसामका एक जना नामी पण्डित टीकाराम उपाध्यायको कान्छो छोरो । बाउ-आमाको प्यारो भएकाले बा-आमासितै म धेर हिँड़्ने गर्थे। बिहेबटुलो पूजा आजामा बाको पछि लाग्थेँ म। गुवाहाटी शहरमा पनि घर अनि गाउँमा पनि घर। गाउँमा धान काट्ने माड़्ने आधदिमा पनि सहयोग गरियो। गाउँमा आफ्नै  नाउँ लिएर साथीहरूसित  ब्रह्मपुत्रमा माछा मार्ने जाइन्थ्यो। बलौटे बगरमा खेलिन्थ्यो। बालुवामा माछा पोले खाइन्थ्यो। पढ़ाइमा ठिकैको मात्रै थिएँ। संस्कृत पढ़ाउने विचार थियो बाको। माध्यमिकमा (एसएलसी) संस्कृतमा भन्दा गणितमा राम्रो नम्बर आएकाले विज्ञान पढ़ने सबैको सल्लाह भएकोले विज्ञानमा स्नातक गरियो।

साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनु हुन्छ ? क-कसको प्रेरणा के कहाँबाट मिल्यो ? तपाईं त नाटक पनि लेख्नुहुन्छ । के छ जसले तपाईँलाई नाटक लेख्न हुटहुटी चलायो ?  

म स्कुल पढ़दा देखिनै गुवाहाटीमा साहित्यिक वातावरण थियो। हुन त मलाई सानै देखि अभिनय मन पर्ने हो। गाउँघरमा हुने पूजाआजामा पनि नाटक हुने गर्थे। आमा, मामा. दाजु सबै सङ्गीत नाटक प्रेमी। असमका विभिन्न ठाउँबाट पढ़्नका लागि गुवाहाटी आउने केही विद्यार्थीहरू हाम्रो घरमा कोठा भाड़ा लिएर बस्थे। उनीहरू गुवाहाटीमा हुने नेपाली साहित्यका विभिन्न गतिविधिहरूमा सामेल हुन्थे । रेडियोमा लीलबहादुर क्षत्रीज्यूले नाटकहरू पनि गराउने गर्नु हुन्थ्यो। हाम्रै घरमा बस्ने लोकनाथ उपाध्याय चापागाइँ, गोपाल नेवार, नरबहादुर शाही, दुर्गा मिश्र आदिले रेडियोमा नाटक र अन्य कार्यक्रमहरू पनि गर्ने गर्थे। म उनीहरूको पछि लागेर प्रायः सानैदेखि रेडियो स्टेशन जान्थेँ। रेकर्डिङ रूममा बसेर स्टुडियो रूममा हुँदै गरेको रेडियो नाटक हेर्थेँ। रमाइलो पनि लाग्थ्यो अनि हाँसो पनि उठ्थ्यो। हाँसो उठ्ने कारण के थियो भने, खै खै कत्तिको ज्वरो आएछ भनी कलाकारहरू सम्वाद सँगै पात्रको निधार नै छाम्न पुग्थे। रेडियो नाटक त देखिने कुरो होइन त्यसर्थ निधार छाम्न किन गएको होला जस्तो लागेर हाँसो उठ्थ्यो मलाई।

अभिनय मन पर्ने हुनाले चलचित्र निकै हेरिन्थ्यो। साथै गुवाहाटीमा हुने असमीया, हिन्धी आदि नाटक हेर्ने गर्थेँ। मैले स्कुले जीवनमा नै असमका विभिन्न थिएटरकै नाटकहरू लगायत अन्रराष्टिय नाटक फ्रेङ्केस्टाइन, टाइटेनिक आद् पनि हेरिसकेको थिएँ। कतै नाटक मञ्चन भएको थाहा पाए कुदिहाल्ने।

अल गुवाहाटी स्टुडेन्ट युनियनको मिटिङहरूतिर म प्रायः गइरहन्थेँ।

गुवाहाटी स्टुडेन्ट युनियनको मिटिङहरूमा त्यसबेला को को आउँथेँ ?

अन्तर्वार्ताकार : दीपक सुवेदी

युनियनका मिटिङहरूमा डा. भीमकान्त उपाध्याय, धनपति उपाध्याय, हरि शर्मा, दुर्गा मिश्र, गोपाल नेवार, लोकनाथ छेत्री, मनोहर शर्मा (धेरैको नाम बिर्सिएँ) आदिसित मेरो भेट त्यतिबेलै भएको हो । कलेज पढ्ने हुँदा अविनाश श्रेष्ठ, बादल सुवेदी, गोपाल बहादुर नेपाली, शिव छेत्री, किशोर गिरी, देवी उपाध्याय, लक्ष्मी उपाध्याय, चम्पा गुरूङ, नीता गुरूङ आदि सबै छात्र सङ्घका सक्रिय सदस्य बनिएका थिए । कलेज पढ्ने हुँदा अविनाश श्रेष्ठ, बादल सुवेदी, गोपालबहादुर नेपाली, शिव छेत्री, किशोर गिरी, देवी उपाध्याय, लक्ष्मी उपाध्याय, चम्पा गुरूङ, नीता गुरूङ आदि सबै छात्र सङ्घका सक्रिय सदस्य बनिएका थिए ।

के के गर्नुभएको थियो त्यसबेला ?

चलचित्र च्यारिटी गरेर हामीले गोर्खा स्कुललाई आर्थिक सहयोग पनि गरेका थियौँ । हामीमा त्यतिबेला युवा जोश थियो । अविनाश र गोपाल साहित्य लेखनमा प्रवेश गरिसकेका थिए । हाम्रो त्यो समूह प्रेमसिंह सुवेदी र गोपाल नेवारको सम्पर्कमा आयो । प्रेमसिंह सुवेदी भनेका धुरन्धर नाटककार हुन् । उनले सन् १९४८ देखि नै विजय यात्रा नाटक लिएर गुवाहाटीमा नेपाली नाटकमा एउटा क्रान्ति नै ल्याएका थिए । प्रेमसिंहले हाम्रो युवासमूहलाई नाटक गर्न अभिप्रेरित गरेर गोपाल नेवारको सक्रियतामा नेपाली कला परिषद् भन्ने एउटा संस्थाको पनि नामाकरण गरियो । सन् १९७१ मा प्रेमसिंह सुवेदीद्वारा लिखित नाटक भ्रातृ रेखा गुवाहाटीको जिल्ला पुस्तकालय भवनमा भव्यताका साथ तिहारको दिन मञ्चन भएको थियो । त्यो टिकट काटेर हेर्नुपर्ने नाटक थियो । गुवाहाटी, गान्धी बस्तीका कहिल्यै नाटक नगरेका अनुभवहीन नयाँ पुस्तालाई एक महिनासम्म गोपाल नेवार र नाटककार प्रेमसिंह सुवेदीले अभिनय सिकाउने भगीरथ प्रयास गरेका थिए । हाम्रो आत्मबल बढ़ेको थियो । मनबहादुर शाही, दुर्गा छेत्री, उमा शर्मा, मुक्ति उपाध्याय, लाली सिंह, अशोक नेवार, नरबहादुर छेत्री, रतन शर्मा, मोहन शर्मा, राम बराल आदि कलाकारहरूले त्यस नाटकमा अभिनय गरेका थिए भने अभिनय नगरे तापनि सहयोगी मित्रका रूपमा अविनाश श्रेष्ठ पनि हाम्रो साथमा थिए । सङ्गीत किशोर गिरीको थियो। हामी कलाकारहरूले दिनभरि टिकट बेचेर साँझ रिहर्सल गर्ने गर्थ्यौँ । त्यस नाटकमा म नारदको भूमिकामा थिएँ । यसरी गुवाहाटीमा नेपाली असमीया हिन्दी नाटक गरियो । नेपाल बैघुन्धुरा र चन्द्रगढ़ीमा शिक्षकता गर्दा पनि विद्यार्थीहरूलाई नाटक गराएँ । सिलगढीमा गराएँ । विद्यार्थीबाट विभिन्न ठाउँमा नाटक प्रतियोगिता हुँदा नाटक चाहिने भयो र नाटक लेख्न थालेँ ।

आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनु हुन्छ र किन ?

सङ्गीत प्रेमी भएकाले बरू गीत लेख्न आउँछ तर कविता आउँदैन । अभिनेता भएकाले अभिनय गर्न मन पर्छ । त्यसैले नाटक र चलचित्र लेखनतिर धेर झुकाउ भयो । नाटकमा अभिनय गरेको देखेर चलचित्रमा पनि प्रवेश पाएको हो । पहिलो कृति मेरो नाटक नै हो अनि विज्ञान उपन्यास ।

भारतीय नेपाली साहित्यमा नाटकको अवस्था कस्तो छ ?

भारतीय नेपाली साहित्यमा नाटक विधाको अवस्था त्यति नराम्रो छैन । तर अन्य विधाभन्दा केही पिछडिएको चाहिँ छ ।

बालसहित्यमा पनि तपाईंका उत्तिकै कृतिहरु प्रकाशित भएका छन् । एकाडेमीबाट पुरस्कृतसमेत हुनुभएको छ । नेपाली बालसाहित्यको अवस्थाचाहिँ कस्तो छ ?  

नेपालमा बालसाहित्यको राम्रो परिवेश छ । राष्ट्रभाषा नै नेपाली भएकाले बालसाहित्य लेखन, पठन आदिमा बढी सक्रियता छ । विभिन्न सङ्घ, संस्था आदिले वर्षेनी धेरै बालसाहित्य पुरस्कार आदि पनि दिने गरेकाले बालसाहित्य लेखन सक्रिय छ। नाम चलेका विद्वान् प्रौढ लेखकले पनि नेपालमा बालसाहित्य लेखेको पाइन्छ । तर भारतमा साहित्यमा नाम चलेका लेखकले बालसाहित्यमा कलम चलाएको कमै पाइन्छ । कलेज र विश्वविद्यालका विद्वान्हरू यस दिशामा देखिँदैनन् भन्दा हुन्छ । भारतमा नेपाली बालसाहित्य संस्थान छैन । समग्रमा भन्नुपर्दा नेपालीमा बाल साहित्य लेखन भारतमा अवहेलित छ। बालसाहित्य लेखनमा अध्ययनको कमि छ । एउटा खुसीको कुरा पनि छ, सो के भने, उत्तर बङ्ग विश्वविद्यालयको स्नातक तहमा बालसाहित्य समावेश गरेकाले यो विधा अब फस्टाउँछ बन्ने लागेको छ । यसैसाथ एउटा जानकारी गराइ राखौँ, साहित्य अकादेमी बालसाहित्य २०१५ पुरस्कार पाएको मेरो मालती किशोर उपन्यास स्नातक तहमा पढाइ हुन थालेको छ ।

भारतीय नेपाली बालसाहित्यको अवस्थालाई चाहिँ कसरी हेर्नु हुन्छ ?

सन् २०१० बाट साहित्य अकादेमी नयाँ दिल्लीले बालसाहित्य पुरस्कार दिन थालेपछि सायद पुरस्कारको लोभले अहिले अलिअलि लेखिँदै छ, त्यो पनि सन्तोषजनक चाहिँ भन्न सकिँदैन । भारतीय नेपाली बालसाहित्यको अवस्था दयनीय छ। लेखे पनि धेरै चाहिँ शिशु साहित्यमा नै रम्ने गर्छन्। अध्ययन र विषयवस्तुको छनौटमा केही कमजोर देखिन्छ। भन्नुपर्दा बालसाहित्यमा समकालीन सोच भित्रिन सकेको छैन । परम्परागत शैली यथावत छ अनि शिशु कविता धेर लेखिन्छन्।

तपाईंले चलिचित्रमा पनि धेरै काम गर्नु भएको छ । चलचित्रको क्षेत्रमा चाहिँ केले प्रवेश गरायो ?

नाटकले नै चलचित्रमा प्रवेश गराएको हो

कुनकुन चलचित्रमा काम गर्नु भयो ?

मैले चलचित्रमा अभिनय तथा लेखन गरेका चलचित्रहरु –

  • भूल, चरित्र अभिनेता, सिलगढी, १९९३.
  • उद्धार, टेलिफिल्म (दिल्ली दूरदर्शन), चरित्र अभिनेता, १९९४.
  • पिया कर गावँ, (साद्री), मुख्य चरित्र अभिनेता, मुम्बाइ, १९९५.
  • पश्चाताप (श्रृङ्खला), चरित्र अभिनेता.कलकत्ता, १९९६
  • खरको छानो, मुख्य चरित्र अभिनेता, काठमाडौँ, १९९८.
  • माझी दाइ, मुख्य चरित्र अभिनेता तथा पटकथा-सम्वाद लेखन, काठमाडौँ, २०००.
  • हाम्रो जिन्दगी, कथा लेखन तथा अभिनय, काठमाडौँ, २०००.
  • कसलाई आफ्नो भनुँ, (श्रृङ्खला), सुरूको २५ श्रृङ्खलामा सम्वाद लेखन, टी.भी. लाइभ, दिल्ली, २००२.
  • आमाको काख, सम्वाद लेखन, काठमाडौँ, २००६.
  • म कसरी भनुँ, मुख्य चरित्र अभिनेता तथा पटकथा लेखन, मणिपुर, २००६.
  • मावेर आँचल, (राजवंशी), मुख्य चरित्र अभिनेता, सिलगढी, २००७.
  • प्रेमेर माला, (राजवंशी), पटकथा-सम्वाद लेखन, सिलगढी, २००७.
  • प्रेम पथ, मुख्य चरित्र अभिनेता तथा पटकथा-सम्वाद लेखन, काठमाडौँ, २००७.
  • घर परिवार, (साद्री), मुख्य चरित्र अभिनेता, सिलगढी, २००८.
  • एउटै भूल, पटकथा-सम्वाद लेखन, काठमाडौ, २००८.
  • नागपास,(राजवंशी), मुख्य चरित्र अभिनेता, कलकत्ता, २००८.
  • कालोभारी, पटकथा-सम्वाद लेखन, गान्तोक, सिक्किम, २००९. कथाकार – शङ्करदेव धकाल, (सुटिङ भएन) ।
  • डढेलो, पटकथा-सम्वाद लेखन, सिक्किम, २००९. (सुटिङ भएन)
  • के साइनोले बोलाउँ, मुख्य चरित्र अभिनेता, सिक्किम, २०१०.
  • किन मायामा, पटकथा-सम्वाद लेखन, सिक्किम तथा काठमाडौँ, २०१०.
  • चिना, पटकथा-सम्वाद लेखन, खर्साङ, २०१०. कथाकार – ग्याल्पो लामा । (सुटिङ भएन)
  • अधिकार, पटकथा-सम्वाद लेखन, सिक्किम, २०१२.
  • सैँया (बङ्ग्ला), मुख्य चरित्र अभिनेता, सिलगढी, २०१४.
  • माइ टियर्स, (हिन्दी), मुख्य चरित्र अभिनेता, सिलगढी, २०१४.
  • सानु लामाका तीनवटा कथा (स्वास्नी मान्छे, संयोग, कमला) लाई टेलिश्रृङ्खलाका लागि पटकथा-सम्वाद लेखन, दुरदर्शन, सिक्किम, २०१५.
  • जीवन काँडा कि फूल, पटकथा-सम्वाद लेखन, काठमाडौँ, २०१६.
  • परिणाम, मुख्य चरित्र अभिनेता, काठमाडौँ, २०१६.

छायाङ्कन हुन बाँकी ——-

  • हाम्रा कोपिला, (बालचलचित्र, पटकथा सम्वाद लेखन) , दुरदर्शन, सिक्किम २०१८.
  • रैथाने, (रण काफ्लेको उपन्यासमा आधारित चलचित्र, असम, पटकथा सम्वाद लेखन् ) २०१९.
  • अन्तिम सुन्तला (अमेरिका निवासी किशन उपाध्यायको जीवनीमा आधारित, पटकथा सम्वाद लेखन) २०२०.
  • म सँग जाउँ (निर्देशक विनोद विष्टको कथामा पटकथा सम्वाद लेख्दै।)
  • प्रेम प्रतीक्षा (निर्देशक विनोद विष्टको कथामा पटकथा सम्वाद लेख्दै।)

चलचित्रको क्षेत्रमा अहिले के गर्दै हुनुहुन्छ ?

पटकथा सम्वाद लेखन अलिअलि चलेको भए तापनि कोरोनाको महामारीले सुटिङ रोकिएको छ। मैले लेखेका माथिका अन्तिम चारवटा चलचित्र कोरोनाले गर्दा फ्लोरमा ओर्लिन पाएका छैनन् ।

चलचित्र र साहित्य लेखनमा के कस्तो अन्तरको अनुभव पाउनु भयो ?

साहित्य लेखन भन्नाले लेखक कल्पानामा विचरण गरेर आफ्नो ज्ञान र अध्ययनलाई अघि राखेर परिवेश परिस्थिति अनुसारका समस्यामा कथा बुनिन्छ । पहिले पहिलेका विश्वस्तरकै चलचित्र हेर्दा साहित्यिक कृतिमाथि धेरै चलचित्र बनिएको पाइन्छ । कथालाई धारावाहिक रूपमा अघि बढ़ाउन दृश्य संयोजन गर्नु अर्थात् पहिले पटकथा लेख्नु पर्छ । त्यसको अनुभव र ज्ञान छैन भने अफ्ठ्यारो पर्छ । कुनै सीन कहाँ कसरी समाप्त भएको छ अनि त्यसलाई फेरि कसरी कहाँबाट अघि बढाउनु पर्ने भन्ने कुरा मुख्य हो । क्यामेरा वा छायाङ्कन लगायत सम्पादन अर्थात् एडिटिङको अनुभवले लेखन खँदिलो बनाउँछ । सम्वाद लेखन र दृश्यहरूको कलात्मक प्रस्तुतिमा चलचित्र धेरै भर पर्छ । साहित्य लेखन र चलचित्र लेखन धेरै फरक विधा हो ।

विश्व साहित्यका धेरै कुरा उठ्ने गरेका छन् । नेपाली साहित्य विश्व साहित्यमा कहाँ छ ? 

अघि बढ़्ने प्रयासमा निकै ठूलो फड़्को हाल्दै छ । विश्व साहित्य कुद्न थाल्दा हाम्रो साहित्य बामे सर्दै थियो भन्छन् ज्ञानीहरू । तर अहिले विश्व साहित्यको हाराहारी कुद्दै छ । द्रुत प्रगति छ भन्नुपर्छ । विश्व गरिमा करणको यस युगमा अब पनि हामी आ-आफ्नो कोठामा बसेर सङ्कुचित भावनामा अल्झिएर मात्रै हुँदैन । खुल्ला छ साइबर जगत, आदानप्रदान बराबर हुनुपर्छ । अक्षर अक्षरको आदानप्रदानमा हाम्रो भाषा र साहित्यको उन्नति अनि परिचय लुकेको छ ।

समकालीन लेखनलाई कसरी हेर्नुभएको हुन्छ ?

समकालीन भन्नाले के बुझिन्छ ? एकै समयको वा एकै समयमा भएको, उही बखतको । दौँतरी वा समसामयिक भन्ने बुझिन्छ । यो भयो शब्दकोषको अर्थ । समकालीनतालाई हाम्रा साहित्यकार मोहनराज शर्माले यसरी भनेका छन्, “समकालीन वास्तवमा अस्थिर एवम परिवर्तनशील प्रवृत्ति र धारणा हो । यसको समय सीमित हुन्छ र यो एतत्कालीन हुन्छ । एतत्कालीन भएकाले समकालीनको अस्तित्व वर्तमान मात्रै हुन्छ ।” अनि अर्का विद्वान् इन्द्रबहादुर राईले भनेका छन् –  “समकालीन र आधुनिक दुवै धारणाको वर्तमान प्रतिको साचेत्य समेत लगाइएको छ  … दुवै यसरी काल र गुणका सँगसँगैमा बोधक हुँदा समकालीन र आधुनिकताको धारणालाई समानार्थीभन्दा बिजाइ नहोला नै ।”

भानुभक्त, लेखनाथ, देवकोटाकालीन समयको आफ्नै समकालीन थियो भने अहिले आफ्नै छ । समकालीन भनेको समयले दिएको सोच भन्नुपर्छ । समय अनुसारको ज्ञान, विज्ञान, राजनीति, दुषण, प्रदुषण, पर्यावरण, शैली आदि लेखनमा प्रवेश पाउनु नै समकालीन लेखन भन्नुपर्ला ।

नेपालभित्रको नेपाली साहित्य र भारतीय नेपाली साहित्य भनेर सिमाना छुट्याउँछन् नि । कसरी हेर्नु हुन्छ ?  

हुन त भारतीय नेपाली साहित्यमा नेपालको नेपाली साहित्यको प्रभावको सीमा छुठ्याउने धारिलो रेखा कोर्ने ठाउँ छ र ? भानुभक्तको नाम र कामबिना भारतीय नेपाली साहित्यको जग बसाउन सकिन्छ र ? भारतमा रामयणलाई आत्मादेखि स्वीकार गरेर पढिन्छ। सर्वाधिक भानुजयन्ती भारतमा मनाइन्छ भन्ने कुरा धक फुकाएर भन्न सकिन्छ । भानुको सालिक पनि सर्वप्रथम भारतमा स्थापित गरिएको हो अनि अझै हुँदै छन् । नेपाली साहित्यका मोतीराम सम्पूर्ण नेपाली साहित्य संसारकै गहना हुन्। जुनसुकै नेपाली साहित्यको प्रसङ्गमा उनको उपस्थिति नहुने कुरै छैन। नेपाली साहित्यका त्रिरत्न लेखनाथ, सम र देवकोटालाई नछोई भारतीय नेपाली साहित्यको कल्पना गर्न सकिन्छ र ? त्यसरी नै सुधपाबिना न नेपाली साहित्य पूर्ण हुन्छ न त भारतीय नेपाली साहित्य । सन् १९२४ मा स्थापित भएको दार्जिलिङको नेपाली साहित्य सम्मेलनले १९३८ मा कथा कुसुम प्रकाशित गरेर सम्पूर्ण नेपाली साहित्य कै लागि ठूलो काम गऱ्यो । तर त्यस साहित्य कृतिमा सबै नेपालका कथाकार छन् । साहित्यमा नेपाल र भारत भन्ने सोच छँदै थिएन ।

भारतीय नेपाली साहित्यको अलग चिनारी प्रस्तुत गर्नुपर्ने अवस्थाचाहिँ कहिलेदेखि आएको हो ?

भारतीय नेपाली साहित्य र नेपालको नेपाली साहित्य भन्ने सोचको विकास भएको धेर भएको छैन । भारतमा नेपाली भाषाको मान्यता आन्दोलन सुरू भएपछि अनि नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचीमा मान्यता पाएपछि देखि मात्रै भारतीय नेपाली साहित्यको अलग चिनारी प्रस्तुत गर्नु पर्ने भएको हो । भारत सरकारका विभिन्न साहित्यिक संस्थाहरू जस्तै साहित्य अकादेमी नयाँ दिल्ली, भारतीय भाषाहरूको केन्द्रिय संस्थान मैसुर, नेशनल बुक ट्रष्ट अफ इण्डिया नयाँ दिल्ली आदि संस्थाहरू त्यसबाहेक पनि गैर सरकारी संस्थाहरूले पनि भारतीय संविधानको आठौँ अनुसूचीमा भएका भाषाहरूको विकासमा अनुदान, विभिन्न कार्यक्रम, कार्यशाला लगायत पुरस्कारहरूको पनि धोषणा गर्ने गर्छ । नेपाली भाषा साहित्यका स्रष्टाले समुचित सम्मान पाइरहेका छन् । भारतमा नै लेखिएका व्याकरण, शब्दकोश, साहित्य इतिहास, अनुवाद आदिको आवश्यकता अनिवार्य हुन थाल्यो । त्यसका लागि भारतमा प्रकाशन भएका र भारतीय नेपाली लेखकले नेपाली भाषामा लेखेको हुनुपर्ने भएकाले भारतीय नेपाली साहित्यको आफ्नै चिनारी आवश्यक हुनु भनेको त नेपाली संसारकै लागि गर्वको कुरा हो । भारतबाहेक संसारका अन्य कुनै देशमा नेपाली भाषाले राष्ट्रिय मान्यता पाएको मलाई भने थाहा छैन ।

भारतीय नेपाली साहित्यको विकासको अवस्थाचाहिँ कस्तो छ ?

भारतीय नेपाली साहित्यको विकासमा जोश र जाँगर अथाह छ । धेरैपल्ट चिप्लिएर लडछ तर पनि उठने कोशिश छोडदैन । भारतीय नेपाली साहित्यले चिप्लिएर लड़्नबाट जोगिनलाई सानो त्यान्द्रो नै समाउन पायो भने ठूलो आड़ हुने थियो । नेपाली साहित्यको विकास संसारको कुनै पनि कुनाबाट भए तापनि त्यो नेपाली साहित्यकै भँडार भरिने कुरा हो। त्यसर्थ नेपाली भाषाको एउटा सिङ्गो राष्ट्र भएकाले नेपालले यसतर्फ सोच अघि बढ़ाउनु पर्छ । किनभने विश्वमा नेपाली साहित्यको स्वरूपले राष्ट्रको चिनारी बढ्छ । त्यसर्थ नेपालले भारतीय नेपाली भाषा र साहित्यलाई टेवा पुऱ्याउनु, प्रेरणा र प्रोत्साहन दिनु नै पर्ने हो । भारतीय नेपाली भाषा र साहित्यले पनि केही थोरै  सिक्किम र धेरै मात्रामा नेपालबाट आशा गर्नु अनुचित मान्न पटक्कै सकिँदैन । जसरी संसारका झण्डै पचासवटा अङ्ग्रेजी भाषी देशले बेलायतलाई आशाको नजरले हेरिरहेका हुन्छन् । अनि सोहीअनुरूप सहयोग पनि प्राप्त गरिरहेका छन् र त अङ्ग्रेजी भाषाले संसार ढाक्न सकेको हो ।

साहित्यकारहरूको दायित्व के कस्तो हुनु पर्दछ जस्तो लाग्छ ?

त्यति ठूलो उपदेश त म कहाँ दिन सकुँला र ? साहित्यकार हुन त पहिले आफूले पाइआएको प्रतिभा हुनुपऱ्यो, त्यसपछि साहित्यमा रुचि । केवल आफ्नो कल्पनाको बाइपङ्खी घोडामा चढेर लेख्ने धेरै छन् । रुचिले मात्रै भएन पढ्नु पऱ्यो, ज्ञान लिनु पऱ्यो, अनुभव बटुल्नु पऱ्यो अनि मात्र लेख्नु पऱ्यो । विश्व साहित्यलाई विचार गरेर समकालीन सोच र प्रवृत्ति नेपाली साहित्यमा पनि भित्र्याउन सक्नु लेखकको ठूलो दायित्व भन्नु पर्दछ ।

स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नु पर्दछ ?

भाषा साहित्यको उत्थान र स्रष्टाहरूको प्रोत्साहनकालागि राज्य वा राष्ट्रको ठूलो भूमिका रहेको हुन्छ। पुस्तक प्रकाशन देखि लिएर, बिक्री वितरण लगायत विभिन्न पुरस्कार आदि प्रदान गरेर प्रोत्साहन प्रदान गर्नै पर्छ। त्यस दिशामा भारतले निकै काम गर्दैछ। सम्विधानले मान्यता दिएकै भाषा भारतमा बाइसवटा छन्। सबैलाई बराबर न्याय दिने कोशिश साहित्य अकादेमीको देखिन्छ। नेपालमा पनि प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाले काम गरिरहेकै देखिन्छ।

 साहित्यको समकालीन बजारलाई कसरी हेर्नु हुन्छ ?

बजार भन्नाले बिक्री वितरणको कुरा हो भने भारतमा नेपाली पुस्तकको कुनै बजार छैन भन्दा हुन्छ । नेपालीहरू यस क्षेत्रमा कमजोर नै देखिन्छन् । पुस्तक किनी नदिएर पनि पुस्तक पसलहरूको कमि भएको होला । पुस्तक प्रेम कम भएर हो कि किन्ने मानिस पनि अति सीमित छन् ।

अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ?

नबिर्सिने घटना वा क्षण धेरै छन् । बाल्यकालका, युवाकालका, जीवन सङ्घर्षका, नाटकका, चलचित्रका, कुन भनौँ ? यस प्रश्नले त्यसको त एउटा संस्मरण नै लेख्ने सोच जन्मायो । केही त लेखेको पनि छु । अहिलेलाई नाटकको एउटा घटना रोचक होला ।

सन् १९७१ मा प्रेमसिंह सुवेदीद्वारा लिखित नाटक भ्रातृ रेखा गुवाहाटीको जिल्ला पुस्तकालय भवनमा भव्यताका साथ तिहारको दिन मञ्चन भएको थियो । त्यो टिकट काटेर हेर्नुपर्ने नाटक थियो । गुवाहाटी, गान्धी बस्तीका कहिल्यै नाटक नगरेका अनुभवहीन नयाँ पुस्तालाई एक महिनासम्म गोपाल नेवार र नाटककार प्रेमसिंह सुवेदीले अभिनय सिकाउने भगीरथ प्रयास गरेका थिए। हाम्रो आत्मबल बढेको थियो । मनबहादुर शाही, दुर्गा छेत्री, उमा शर्मा, मुक्ति उपाध्याय, लाली सिंह, अशोक नेवार, नरबहादुर छेत्री, रतन शर्मा, मोहन शर्मा, राम बराल आदि कलाकारहरूले त्यस नाटकमा अभिनय गरेका थिए भने अभिनय नगरे तापनि सहयोगी मित्रका रूपमा अविनाश श्रेष्ठ पनि हाम्रो साथमा थिए । सङ्गीत किशोर गिरीको थियो । हामी कलाकारहरूले दिनभरि टिकट बेचेर साँझ रिहर्सल गर्ने गर्थ्यौँ । त्यस नाटकमा म नारदको भूमिकामा थिएँ ।

त्यस नाटकमा घटेको एउटा घटना म कहिल्यै बिर्सन सक्दिनँ । नाटकमा दिदीको भूमिकामा रहेकी उमा शर्माले ओछ्यान परेको बिरामी भाइलाई तिहारको टिको लगाउन पहिले दियो लिएर प्रदक्षिणा गर्छिन् । दियो भुइँमा राखेर कलश लिएर प्रदक्षिणा गर्ने हुँदा दिदीको मजेत्रामा दियाको आगाले समाउँछ र मजेत्रो हुरहुरी बल्न थाल्छ । अभिनयमा एकोहोरिएको हुनाले दिदीलाई सो कुरा थाहा हुँदैन । तर नेपथ्यमा भएका कलाकारलगायत निर्देशक, लेखक आदि सबैको सो घटनाले होस नै उड्छ । कराएर वा बोलेर भन्न पनि मिलेन । सबैको मनमा त्राहि मच्चिएको थियो । त्यतिबेला अचानक मेरो बुद्धिको बिर्को कसरी खुल्यो कुन्नि, कसैलाई केही नभनी, “नारायण नारायण” भन्दै मैले मञ्चमा प्रवेश गरेँ । त्यो देखेर एकपल्ट फेरि सबै मूर्तिवत् भएछन् । यसले काम बिगार्ने त होइन कतै ? अब यो मुक्तिले के गर्ने हो भन्ने सबैका अनुहारमा एउटै प्रश्न आएछ । मैले हतार हतार दिदीचाहिँको जिउबाट मजेत्रो तानेर भुइँमा झारेँ र खुट्टाले आगो निभाउँदै यस्तो सम्वाद बोलेछु – “नारायण नारायण, भाइप्रति दिदीको यस्तो आत्मीय प्रेमको उदाहरण विरलै पाइन्छ । आफ्नो मजेत्रामा अग्नि संयोग भएको पनि दिदीलाई थाहा भएनछ । यस्तो प्रेमको बन्धन तोडेर यमराजले तिम्रो भाइलाई कदापि लान सक्दैनन् । तथास्तु, नारायण नारायण ।”

रिफ्लेक्स एक्सनबाट अचानक आएको सम्वाद बोल्दै म मञ्चबाट बाहिर निस्किना साथ प्रेमसिंह सुवेदी र गोपाल नेवारले अँगालो हालेर माया गर्दै मलाई स्याबासी दिए । अन्य कलाकारहरू पनि साह्रै खुसी भए । मञ्चबाहिर आएपछि पो म आफै छक्क परेँ । कुन्नि कहाँबाट मलाई त्यस्तो बुद्धि आयो ?

चलचित्रको पनि सुनिहालौं –

मावेर आँचोल भन्ने राजवंशी चचलचित्रको सुटिङको पहिलो दिन पहिलो टेकका लागि म मेकअपमा बसेको थिएँ। डाइरेक्टर बैजु सिंहले मलाई पहिले टेकको सम्वाद दिए। मेकअप गर्दै मैले हेर्न थालेँ। एकछिन पछि बैजु सिंह, कमल राई, टिकम शर्मा र शिव ढकाल मेरो छेउमा आएर मलाई अनुरोध गर्दै उनीहरूको विचार सुनाए। फूलस्केप पेपरको दुई पन्नाको तीन जना पात्र भएको एउटा सीन (दृश्य) रहेछ। त्यो सीन उनीहरूले एकै टेकमा लिने विचार गरेछन् र मलाई भन्न आएछन्। वान टेक वान सीन निकै गाह्रो कुरा हो। कलाकार भएका नाताले मैले नाइँ भन्नु भएन। कोशिश गर्छु। तर समय अलिकति दिनुपर्छ भनेर मैले भनेपछि उनीहरूले हुन्छ भनेर गए र सोही अनुरूप उनीहरूले राउण्ड ट्रली राखेर क्यामेरा मिलाउने थाले। एउटा कुनामा गएर मैले चाहिँ सम्वाद रट्न थालेँ। तीनजनाको सम्वाद भएकाले कसले के भनेपछि मेरो सम्वाद आउँछ सो ठ्याक ठ्याक मनमा राख्नुपर्ने भयो। सकेसम्म कण्ठस्त गरेँ। आधाघण्टा जतिमा सेट रेडि भयो भनेर मलाई बोलाइयो। क्यामेरालाई ढोगेँ र डाइरेक्टर, क्यामेराम्यान र सहयोगीहरूसित हात मिलाएर टेक दिन तयार भएँ। राउण्ड ट्रलीमा क्यामेरा राखेर मेरो आगमनबाट सुरू गरेर घर मालिक र उसकी छोरीको सम्वाद खिच्न थालियो। बोल्दा बोल्दै काहिँ कतै गल्ती नभै मैले र साथमा भएका कलाकारले सीन पूरा गऱ्यौ। सीन सकिनासाथ बैजु सिंह, कमल राई, टिकम शर्मा र शिव ढकाल आएर मलाई जुरूक्क बोकेर धन्यवाद दिए। म छक्क परेँ। उनीहरू खुशी भएको एउटा कारण रछ। त्यो राजवंशी चलचित्र थियो। त्यही सीनमा खेल्ने अन्य कलाकार राजवंशी मातृभाषा बोल्ने थिए। म भने नेपाली मातृभाषा बोल्ने कलाकार परेँ। नेपालीहरूले राजवंशी भाषा बोल्न सक्दैनन् भनेर त्यो रादवंशीले आफ्नै राजवंशी साथी मेरो ठाउँमा खेलाउने विचार राखेको रहेछ। तर बैजु सिंह, कमलाराई, टिकम शर्मा र शिव ढकाल मुक्ति सरले सक्छ भनेका रहेछन्। मैले वान सीन वान टेक पूरा गरिदिँदा उनीहरूको विश्वासले जित्यो र खुशी भएका रहेछन्। अनि त्यो राजवंशीलाई उनीहरूले भने – हाम्रा नेपालीहरूमा राम्रा कलाकार छन्। कलाकारको जात कलाकार मात्रै हो। नेपाली राजवंशी होइन।

यदि सो कुरा साथीहरूले मलाई टेक लिनुभन्दा पहिले भनेका भए सायद मेरो मनमा एउटा डर पस्ने थियो र गल्ती पनि हुने थियो होला । साथीहरूले पहिले नभनेर बुद्धिको काम गरे ।

अहिलेलाई यति नै यस्ता रोचक प्रसङ्ग मौका परे अझै भनौँला ।

 जीवनलाई परिभाषित गर्नु पर्यो भने के भन्नु हुन्छ ?

त्यस्तो ज्ञानी र दार्शनिक व्यक्ति म होइन साधारण मानिस हुँ र अलि अलि लेख्छु त्यतिमात्रै । म यति जान्दछु यो जीवन भगवानको सुन्दर सृजना र आशीर्वाद हो । जीवनलाई माया गर्नुपर्छ अनि यसलाई शिक्षा, ज्ञानले सजाएर आफ्नो परिवार र साथीभाइहरूसित रिस राग नराखी आनन्दकासाथ पूर्णरूपले बाँच्नुपर्छ । भगवानलाई सम्झेर आफ्नो कर्म गर्नुपर्छ ।

तपाईंलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा केही जान्न सकिन्छ ?

केही जान्न सक्नुहुन्न । असमीया माध्यममा पढेको मान्छे हुँ म । पारिवारिक जीवनमा पस्नुभन्दा अघि मैले असमीया, बङ्गला, र केही नेपाली पुस्तक पढेको थिएँ । विज्ञानको विद्यार्थी भएकाले सुरूमा साहित्यबाट केही टाढै भइएछ । अहिले आएर भाषा साहित्यको विद्यार्थी हुनुपर्ने रहेछ भन्ने विचार आउँछ । विश्वस्तरीय लेखक अलि अलि पढेँ मैले जस्तै – गीता पढेँ, देवकोटा पढेँ, नाटककार भएकाले बालकृष्ण पढेँ, मोहनराज पढेँ अनि कोइराला पढेँ, इन्द्रबहादुर राई पढेँ. लीलबहादुर छेत्री पढेँ, डा.गोविन्दराज पढेँ, कृष्ण धरावासी पढेँ, शरदचन्द्र पढेँ, रवीन्द्रनाथ पढेँ, प्रेमचन्द्र पढेँ, कालिदास पढेँ, के के पढेँ पढेँ धेरै पढेँ । हाम्रा नेपाली लेखकहरूका उत्कृष्ट रचना अनुवादद्वारा छर्न सके विस्वस्तरीय नै बन्ने छन्। नाटकमा रुचि भएकाले असमीयाका अरूण शर्मा, भवेन्द्रनाथ शइकीया आदि बङ्गलामा रवीन्द्रनाथ, बादल सरकार आदिका नाटक अनि पश्चिमी साहित्यका सेक्सपियर, बर्टोल्ड ब्रेष्ट, हेनरी इब्सन आदि केही पढेको छु ।

 नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि क-कसले के के गर्नुपर्ला ?

नेपालीमा पनि धेरै स्तरीय कृति लेखिएका छन् । अनुवाद माध्यमले हाम्रा कृतहरू विश्वमा पुऱ्याउनु पर्छ । विश्वमा भाषिक, साहित्यिक र सांस्कृतिक एकता र समन्वयका लागि अनुवाद एउटा सशक्त माध्यम बन्न पुगेको कुरा कसैले नकार्न सक्दैन । कुनै पनि भाषा र साहित्यलाई विश्वव्यापी बनाउने शक्ति अनुवादमा पाइन्छ । संसारका विश्व प्रसिद्ध कृतिहरू नेपालीमा अनि हाम्रा कृतिहरू विश्वका विभिन्न भाषामा अनुवाद हुनु अति नै महत्त्वपूर्ण कुरा हो अनि यसको अपर्झट आवश्यकता देखिन्छ । अनुवादले हामी पनि विश्वमा चिनिन्छौँ अनि अब त चिनिनु पनि पर्छ । ‘आजसम्म अङ्ग्रेजीमा लेखिएका मूल कृति ३५% ले मात्रै नोवेल पुरस्कार पाएको देखिन्छ। अन्यथा सबै अनुवाद गरिएका कृतिले पाएका छन् ।’

वितगदेखि वर्तमानसम्म आइपुग्दा शासक र सर्जकका बीचको सम्बन्धलाई कुन रूपमा हेरिरहुनुभएको छ

म आफैँमा रमाउँछु । राजनीति र शासकहरूसित सम्पर्क पनि छैन उनीहरूबारे जान्ने विचार पनि छैन । कोइराला, बाजपेयी जस्ता लेखक, कविका कृति भने पढ़्ने गर्छु । अन्यथा त्यसतर्फ सोचेर खेर फ्याल्ने समय पनि छैन । शासकहरूसित हात जोड्न पनि जान्नँ । नागरिकको हैसियतले केवल भोट खसाल्ने जिम्मेवारी पूरा गर्छु ।

नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह र सुझाव दिनु हुन्छ ?

अक्षर लेख्ने रहरले मात्रै पनि पुग्दो रहेनछ । साहित्य, परिवेश,  परिस्थिति, भाषा आदि सबैसित हातेमालो गरेर सम्यक अध्ययन गर्नसक्नु पर्दोरहेछ अनि मात्रै निःसर्त सृजना प्रभावकारी बन्ला भन्ने मेरो विचार छ । अक्षर थुपारेर मात्रै त भएन नि ।

जीवनका भावी लेखकीय योजना र इच्छाहरू के छन् ? के सार्वजनिक गर्न मिल्छ ? मिल्छ भने के के छन् ?

सक्दो लेख्ने अक्षर स्थपना गरेर जाने विचार छ । अहिले अन्य कुनै रहर छैन । प्रकाशनमा कोरोनाले केही रोकेको मात्रै छ।

अनुवाद साहित्यमा प्रकाशोन्मुख कृतिहरू —

  • विषन्न वनानी (उपन्यास), नेपालीबाट बङ्ग्लामा, प्रकाशक – साहित्य अकादेमी, कलकत्ता ।.(प्रेसमा)
  • सन्थाली लोक कथा सङ्ग्रह, सन्थालीबाट नेपालीमा अनुवाद, प्रकाशक – साहित्य अकादेमी, कलकत्ता । (प्रेसमा)
  • अक्षर अर्केष्ट्रा (कविता सङ्ग्रह), मन प्रसाद सुब्बा, नेपालीबाट बङ्ग्ला अनुवाद । (प्रकाशोन्मुख)।
  • नयाँ क्षितिजको खोज (उपन्यास) नेपालीबाट बङ्गला अनुवाद, साहित्य अकादेमीको परियोजना। (लेखिँदै)

प्रकाशोन्मुख मौलिक कृतिहरू –

  • बुच्के छपड़ी (संस्मरण संकलन), प्रेसमा
  • पर्थ हुँदै सिडनी (नियात्रा), प्रेसमा
  • स्वच्छ डोनाउको किनारतिर (नियात्रा), प्रेसमा
  • शरद पूर्णिमाकी रम्य रमिता (नाटक), प्रेसमा
  • फेरि यस्तै उस्तै (लेख सङ्ग्रह), प्रकाशोन्मुख
  • केही सत्य केही कथ्य (कथा सङ्कलन), प्रकाशोन्मुख
  • केही समीक्षा (समीक्षा सङ्ग्रह), प्रकाशोन्मुख
  • यात्रै यात्रा (उपन्यास) लेखनमा अन्तिम स्पर्ष दिँदै।

अहिले साहित्यमा लागेर के पाए र के गुमाए जस्तो लाग्छ ?

गुमाएको केही पनि छैन। भारतमा साहित्यिक प्रकाशन नहुँदा कमाएको पैसा साहित्य सेवामा खर्च गरिँदै छ। पैसो छातीमा बोकेर लाने कुरो आएन। त्यसर्थ सकेसम्म अक्षरमा लगानी गरेर जाउँ भन्ने विचार छ। यदि कसैले त्यसलाई केही गुमाएको सम्झिन्छ भने केही भन्नु छैन।