साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

इन्द्रबहादुर राईले मार्क्सवादी साहित्य अँगालेकाे कुरा सत्य होइन

डुवर्सेली समाज दार्जीलिङको जस्तो एकभाषी-प्रभुत्व भएको समाज होइन, यो बहुभाषिक छ। पूर्वमा सुनकोश नदीदेखि पश्चिममा टिस्टा नदीसम्म फैलिएको विस्तृत डुवर्सभूमिमा गोर्खा, आदिवासी, बङ्गाली, बिहारी, मुसलमान, टोटो, राभा, कोचे, मेचे, राजवंशी, गारो, भोटियालगायतका जातिहरूको मिश्रित बसोबासो छ।

भारतेली नेपाली साहित्यमा लिनैपर्ने नाम हो युवा सर्जक रूपेश शर्मा । तीन दशकदेखि अनवरत साहित्यलेखनमा सक्रिय शर्मा विशेषरूपले समालोचना लेख्न रूचाउँछन् । प्रगतिवादी साहित्य उनको चासोको विषय रहेको छ।

डुवर्सको बाग्राकोटमा ३० अप्रेल, सन् १९७६ मा जन्मेका समालोचक शर्माले नेपालीमा स्नातकोत्तर गरेका छन् भने हाल बाग्राकोटमै शिक्षकका रूपमा कार्यरत छन् । प्रस्तुत छ, समालोचक शर्मासँग डुवर्सेली नेपाली साहित्यको इतिहास र वर्तमान तथम भारतेली नेपाली साहित्यमा प्रगतिवादको परिदृश्यबारे साहित्यपाेस्टका लागि बिलाेक शर्माले गरेकाे कुराकानीकाे सम्पादित अंशः

भारतीय नेपाली साहित्यको सन्दर्भमा डुवर्सको उपस्थितिलाई कसरी हेर्नुहुन्छ ?

डुवर्समा नेपाली साहित्यको प्रामाणिक इतिहास ९२ वर्ष पुरानो हो। तुलनात्मक रूपमा, साहित्यमा डुवर्सको गति र प्रगति केही धीमा छ। भारतीय नेपाली साहित्येतिहासको प्रारम्भिक चरणहरूका गहिरो अध्ययन गर्ने अध्येताहरूले नेपाली साहित्यमा त्यसबेलादेखि नै डुवर्सको दर्बिलो उपस्थिति खुट्याउन सक्नेछन्। भारतमा पहिलो मौलिक नेपाली नाटक ‘जीवन लीला’ (सन् १९३० मा पेदोङमा मञ्चित/१९३१ मा पुस्तकाकारमा प्रकाशित) लेख्ने नाटककार डुवर्सको थालझोड़ा निवासी इन्द्रमान राई हुन्। कर्मक्षेत्र कालेबुङ र दार्जीलिङ रहे तापनि उनी मूलतः डुवर्स निवासी थिए। बद्रीनारायण प्रधान डुवर्सका अर्का त्यस्ता स्रष्टा हुन्, जसले सम्पूर्ण नेपाली साहित्यमै पहिलोपल्ट दार्शनिक कार्ल मार्क्सको जीवनी ‘महर्षि कार्ल मार्क्स’ (सन् १९४७) लेखे, जो ‘गोर्खा’ (तत्कालीन सम्पादक रणधीर सुब्बा) पत्रिकामा अक्टोबर-नोभेम्बर, १९४७ मा धारावाहिक रूपमा प्रकाशित भएथ्यो। उनले यो जीवनी लेख्दा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना समेत भएको थिएन। मेक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास ‘आमा’ उनले १९५२ मा नै अनुवाद गरिसकेका थिए, जसको केही अंश पारसमणि प्रधानद्वारा सम्पादित ‘भारती’ पत्रिकामा १९५३ मा प्रकाशित भएथ्यो।

डुवर्समा हाम्रो जनसाङ्ख्यिक अवस्थान, आर्थ-सामाजिक जीवन, समाज-सांस्कृतिक परिवेश अनि जातीय-भाषिक अतिक्रमणका अनेकौँ कारणहरूले डुवर्सेली साहित्यले अन्य ठाउँमा जस्तो मलजल पाउन सकेन। तथापि, हैकमसिंह राईहरूले गढेको ऐतिहासिक परम्परालाई डुवर्सका साहित्यकारहरूले आफ्नै बलबुतामा अघि बढ़ाउने प्रयास गरिरहे। आज भारतीय नेपाली साहित्यमा डुवर्सका सर्जकहरूले एउटा दर्बिलो र प्रभावकारी उपस्थिति दिइसकेका छन्। डुवर्सप्रतिको पुरानो प्रतिमान फेरिँदैछ। यहाँका युवा स्रष्टाहरूले पाठक/समालोचकहरूका ध्यान तानिरहेका छन्। अबका मूल्याङ्कन र साहित्येतिहासमा डुवर्सको उपस्थिति उपेक्षित होइन, अपेक्षित छ।

विभिन्न भाषाभाषीहरूको प्राधान्य रहेको डुवर्समा नेपाली साहित्यले कसरी आफूलाई उभ्याइरहेको छ? यसबारे केही भन्नुहुन्छ?

रूपेश शर्मा

डुवर्सेली समाज दार्जीलिङको जस्तो एकभाषी-प्रभुत्व भएको समाज होइन, यो बहुभाषिक छ। पूर्वमा सुनकोश नदीदेखि पश्चिममा टिस्टा नदीसम्म फैलिएको विस्तृत डुवर्सभूमिमा गोर्खा, आदिवासी, बङ्गाली, बिहारी, मुसलमान, टोटो, राभा, कोचे, मेचे, राजवंशी, गारो, भोटियालगायतका जातिहरूको मिश्रित बसोबासो छ। यहाँको सामाजिक-सांस्कृतिक संरचना नै बेग्लै छ। यस्तो बहुभाषिक समाज, जहाँ कुनै समुदायले राज्यसत्ताबाट लामो समयदेखि जातीय वञ्चना र उत्पीड़नहरू झेल्दै आइरहेको छ, त्यहाँ आफ्नो मौलिक अस्तित्वको सुरक्षा चुनौतीपूर्ण हुन्छ। हामीले दार्जीलिङमा जस्तो आर्थिक- शैक्षिक- सांस्कृतिक- सामाजिक एवं राजनीतिक विकास र लाभका समतुल्य अवसरहरू पाउन सकेका छैनौँ। अनेकौँ प्रतिकूलताबीच यहाँको नेपाली/गोर्खा समाजले आफ्नो जातीय मौलिक परिचयलाई गौरवशाली निरन्तरता दिनु डुवर्सको उल्लेखनीय विशेषता हो। हामी साहित्यमार्फत डुवर्सेली समाजको आत्मप्रकाश गरिरहेका छौँ।

साहित्यका सबै विधामा डुवर्सेली समानान्तर हिँड्न नसकिरहेको स्थिति छ। यसको कारण के मान्नुहुन्छ?

यो असन्तुलन म अन्यत्र पनि देख्छु। अभिव्यक्ति सुगमताका कारण कवितातर्फ आकर्षण बढ़ेको हुनसक्छ। तर स्तरीय लेखनको कमी सबै विधामा भेटिन्छ। उपन्यास, नाटक, समालोचना, नियात्रा जस्ता विधा तुलनात्मक रूपले पछि छन्। सिर्जनशीलता, अध्ययन-चिन्तनको संस्कृति, गतिवर्धन साहित्यिक परिवेश आदिको अभावले साहित्यको विकासधारालाई पनि प्रभावित तुल्याउँछ। सामाजिक-बौद्धिक आन्दोलन र चेतनाको निरन्तर विकास प्रक्रियाबाट नै साहित्यका धाराहरू समृद्ध बन्दै जान्छन्।

कथाकार बद्रीनारायण प्रधानदेखि अबीर खालिङसम्म आइपुग्दा डुवर्सको कथायात्रा हामी सुनौलो पाउँछौँ। स्तरीयउर्वरशीलताको यो परम्परामा अहिले डुवर्सको स्थिति कस्तो छ?

हो, बद्रीनारायण प्रधानहरूका कथालेखनको विरासत समृद्धशाली छ । प्रधानले १९५०-५२ तिरै केही अब्बलकोटिका कथा लेखेका थिए। उनीपछि चन्द्रवीर प्रधान, एसएन छेत्री, मटिल्डा राई, कमला खप्तावली, मायादेवी योञ्जन, जगदीश खरेल, कितापसिंह राई, विष्णु शर्मा अधिकारी, इन्द्रबहादुर गुरुङ, श्रीनारायण प्रधान, डीबी राई, अबीर खालिङ जस्ता डुवर्सका प्रतिनिधि कथाकारहरूले डुवर्सेली कथा साहित्यलाई समृद्ध बनाएका छन्; भारतीय नेपाली साहित्यमा उल्लेखनीय योगदान दिएका छन्।

अन्तर्वार्ताः बिलोक शर्मा

डुवर्सबाट शङ्कर प्रधान, मनोज योञ्जन, मदन खड्का, कृष्ण योञ्जन ‘गडबड़े’ आदिका पनि कथाकृति प्रकाशित छन्। पुराना पुस्ताका स्थापित साहित्यकार विष्णुप्रसाद गौतमले डुवर्सेली कथालेखनको प्रारम्भिक चरणको विकासमा सक्रिय भागिदारिता जनाएका छन्। कृष्णभक्त खड्काका फुटकर कथाहरू सङ्कलित भएर प्रकाशोन्मुख अवस्थामा छन्।

डुवर्सको कथा साहित्यको भविष्य गुणात्मक रूपले अझ राम्रो हुनेछ भन्ने कुरामा म आशावादी छु । बद्रीनारायण प्रधानका उच्चकोटिका कथाहरूको सङ्कलन/सम्पादन  भइरहेको छ। अबीर खालिङले कथा-शिल्पकारितालाई उच्चता प्रदान गरेका छन्। हाल अशोक रोकाले एक सिद्धहस्त कथाकार हुनुको परिचय दिएका छन्। १९९७ मा नै एउटा कथा सङ्ग्रह प्रकाशित गरेर पनि ओझेल परेका रोकालाई उनको दोस्रो कथा सङ्ग्रह (२०२०)-ले एक कुशल कथाकारको रूपमा स्थापित गराएको छ। वेगवसन्त थापाले आफ्ना फुटकर कथाहरूमार्फत राम्रो सम्भावना दर्शाएका छन्।

समकालीन नेपाली कथाका प्रवृत्ति, कथ्यशिल्प, अन्तर्वस्तु, उदात्त सौन्दर्यको पहिचान एवं कालचेतप्रतिको सञ्चेतनाले कथालेखनमा सर्जकको उपस्थिति र अवस्थानलाई चिनाउँदछ। हामीले डुवर्सका प्रारम्भिक चरणका कथाकारहरूका कथा पनि सङ्कलित रूपमा पाउन सकेका छैनौँ। यी कथाहरूको खोजी, सम्पादन र अध्ययन आवश्यक देखिन्छ।

अहिलेसम्मका प्रकाशित कृतिहरूबारे कुरा गर्दा डुवर्समा कविता विधा सबैभन्दा बढ़ी मौलाएको पाउँछौँ। यसका प्रमुख कारणहरू केके मान्नुहुन्छ?

मैले भनिहालेँ नि, यो झुकाउ सम्पूर्ण नेपाली साहित्यकै हो। कवितामा अभिव्यक्ति-स्वतन्त्रता बढ़ी भएर पनि यस्तो हुनसक्छ। आजको कवितामा गद्यशैलीकै बोलबाला छ, जहाँ कविहरूले बोधगम्य, परिचित र प्रभावशाली विम्ब-विधान, शिल्पशैली र भाव प्रक्षेपणद्वारा भावकमा शीघ्र प्रभाव जमाउने सामर्थ्य राख्दछन्। यद्यपि कविता विधा मौलाए पनि स्तरीय र शक्तिशाली कवितालेखन सोही प्रकारले मौलाएको पाइँदैन। कृतिगत रूपमा, लोकनाथ प्रधान ‘स्वार्थी’-कृत ‘बिरुवा’ (१९६६) कविता सङ्ग्रहबाट शुरु भएको डुवर्सेली कवितायात्रामा पुराना-नयाँ पुस्ताका धेरै कविहरूले योगदान दिएका छन्। डुवर्सका युवा पुस्ताका कविहरूमा वेगवसन्त थापा, अबीर खालिङ, पवित्रा लामा, प्रदीप लोहागुण, अशोक विश्व, गणेश गजमेर, राजीव विश्व, बिलोक शर्मा, निर्मल आग्रह, रूपेश विश्व, अनन्त श्रेष्ठ, सुदर्शन तामाङ आदिले समकालीन भारतीय नेपाली कविता साहित्यमै डुवर्सलाई प्रतिनिधित्व गरिरहेका छन्। डुवर्सेली कविता गुणात्मक-उर्वरशीलताको दिशामा अघि बढ्न आवश्यक देखिन्छ। यो गुणात्मकता आत्मचेत र विश्वचेतबाट दिग्दर्शित भएमा त्यसले लेखनमा नयाँ आयाम थप्नसक्छ भन्ने मलाई लाग्छ।

यहाँ लेखिने/लेखिएका कविताहरू अनि भारतका अन्य प्रान्तका कविताहरूमा केही भिन्नता देख्नुहुन्छ कि?

कविताको मूलगामी धारामा कलाचेत, समयचेत, विश्वचेत, मूल्यचेत, अन्तरवस्तु जस्ता पक्षहरूले सौन्दर्यमूल्य वहन गरेका हुन्छन्। कलाको उच्चतम अभिव्यक्तिले यथार्थको पुनर्सिजन गर्दछ। कलाको सौन्दर्यबोधीय अर्थले पाठकलाई पनि ऊ बाँचेकै सामाजिक सङ्कल्पना र सापेक्षतातर्फ डोहोऱ्याउँदछ। कविको विशिष्ट सौन्दर्यमूल्यले भावकको सामूहिक एकात्मकतालाई संयोजन गर्ने सामर्थ्य राख्ने हुनाले नै यसले पाठकलाई मानसिक-सांस्कृतिक परिष्करणबाट नयाँ सौन्दर्य र आनन्दको अनुभूति गराउँदछ। सर्जकले समाजको धुकधुकी सुन्न सकेन भने त्यहाँ कलाको प्रतिनिधि स्वर अङ्कित हुँदैन। सिर्जनामा यो अन्तरवस्तुको पहिचान महत्त्वपूर्ण पक्ष हो। यसरी हेर्दा, समकालीन भारतीय नेपाली कविताको मूल स्वर समकालीन यथार्थको उदात्तीकरण, सामाजिक अन्तरविरोध, परिचयको राजनीति, राष्ट्रिय चिन्हारीको सङ्कट, जातीय चेतना, अस्तित्व-रक्षा, चियाबारी समस्या, वैश्विक प्रतिरोधी-चेतना र त्यसप्रति ऐक्यबद्धता, राष्ट्रप्रेम जस्ता अनेकौँ आयाममा मुखरित छ।

डुवर्सका कविताहरूमा खासगरी चियाबारी-उन्मुक्ति, राष्ट्रिय चिन्हारी, जातीयप्रेम, देशभक्ति, भाषिक अतिक्रमण, मातृभाषा प्रेम, शैक्षिक समानाधिकार, वर्ग-उन्मुक्ति, मानवतावाद जस्ता विषयवस्तुले बाक्लो अभिव्यक्ति पाएका छन्। चिया श्रमिकहरूका क्रन्दन, चित्कार र उन्मुक्ति डुवर्सेली कविताका सघन काव्याभिव्यक्ति हुन्। प्रगतिशील चेतना र निम्नवर्गीय संवेदनशीलता डुवर्सेली कविताहरूमा पाइने महत्त्वपूर्ण पक्ष हुन्।

निबन्ध विधामा धेरथोर रचनाहरू प्रकाशित देखिए तापनि कृतिगत रूपमा कुरा गर्दा परिदृश्य बेग्लै छ नि?

हो, यो तीतो यथार्थलाई हामीले स्वीकार गर्नैपर्छ। डुवर्समा नेपाली साहित्यको लेखनको प्रारम्भ नै निबन्धबाट भएको हो। जीवन नामदुंगको हालैको अन्वेषणअनुसार, सन् १९२९ मा देहरादूनबाट प्रकाशित ‘गोर्खा संसार’-मा हैकमसिंह राईद्वारा लिखित ‘दया’ निबन्ध डुवर्सको पहिलो साहित्यिक रचना हो। यसभन्दा अघि हैकमसिंह राईकै ‘गोर्खा समाज सुधारको आवश्यकता’ निबन्धलाई हामीले डुवर्सेली साहित्यको प्रारम्भबिन्दु मान्दै आएका थियौँ।

डुवर्समा फुटकर रूपमा निबन्धमा कलम चलाउनेहरूमा बद्रीनारायण प्रधान, तारानारायण श्रेष्ठ, कितापसिंह राई, इन्द्रबहादुर गुरुङ, कृष्णभक्त खड्का, जनार्दन थापा, ललित न्यासुर, दुर्गा चामलिङ, गोपालसिंह विश्व, प्रभात थापा, सीताराम धिताल, अबीर खालिङ आदि प्रमुख छन्। लेख, आलेख, आलोचना आदिलाई पनि निबन्ध भन्ने चलन प्रायः सबैतिर पाइन्छ। तर निबन्धको विधागत स्वरूप, संरचना र सैद्धान्तिक प्रस्टताका साथ निबन्ध लेख्ने निबन्धकार डुवर्सबाट अजय खड्का हुन्। उनको निबन्ध सङ्ग्रह ‘पखेटा चलुञ्जेल’ नेपाली साहित्यकै एक अब्बल कोटिको सङ्ग्रह मानिएको छ। खड्कामा हामीले निबन्ध साहित्यको भविष्य देखेका छौँ।

साहित्यको शल्यक्रिया गर्न समालोचनाको आवश्यकता पर्दछ। डुवर्सको ९२ वर्षको साहित्य यात्रामा केकति कृतिहरू समालोचित भएका छन्

समालोचनाले कृतिहरूको शल्यक्रिया मात्र गर्दैन, अपितु त्यसको आलोक र लोकमङ्गलकारी पक्ष चिनाउने काम पनि गर्दछ। साहित्यमा समालोचकहरूको न्यून उपस्थिति भएकोले सिर्जनात्मक मूल्याङ्कनहरूमा पनि न्यूनता आउनु स्वाभाविक छ। फेरि, हरेक सिर्जनाले समालोचकको ध्यान खिच्छ नै भन्ने पनि छैन। तथापि, डुवर्सका राम्रै कृतिहरूको पनि ठीकसँग समालोचना हुनसकेको छैन। त्यसैकारण मैले आफ्नो कृति ‘सिर्जना र दृष्टि’ (सन् २०१७)-मा नौमध्ये डुवर्सका चारजना स्रष्टाका कृतिको विस्तृत अध्ययन गरेको छु। हामीले आफ्ना कमजोरीहरू सुधार्नुपर्छ, सँगसँगै मूल्यवान र उल्लेखनीय कामहरूलाई पनि चिनाउनुपर्छ।

मूल्याङ्कन भनेको सही कामहरूको सही पहिचान हो। डुवर्समा मात्र होइन, अन्यत्र पनि धेरै राम्रा कामहरूको सही मूल्याङ्कन हुनसकेको छैन। यो समाजको चेतनादृष्टिमा पनि भर पर्दछ। डुवर्स आफैले चाहिँ अग्रज पुस्ताको मूल्याङ्कनमा उदाहरणीय काम गरिरहेको छ। बद्रीनारायण प्रधान, कितापसिंह राई, इन्द्रबहादुर गुरुङहरूलाई उनीहरूका मृत्युपछि डुवर्सले नयाँ मूल्य प्रदान गरेको छ। स्रष्टाहरूको मूल्याङ्कन सन्दर्भमा कृतिको समालोचना भन्दा माथि उठेको छ आज डुवर्स।

जहाँसम्म कृतिगत मूल्याङ्कनको प्रश्न छ, डुवर्सको स्थिति सन्तोषजनक छैन। डुवर्सबाहिरका सर्जकले डुवर्सका कृतिहरूमाथि के-कति समीक्षा वा मूल्याङ्कन गरेका छन्, त्यसको एकमुष्ठ अध्ययन हामीसँग उपलब्ध छैन। तर, नेपालको ‘भानु’ (सन् १९८४), सिक्किमको ‘स्रष्टा’ (सन् १९९४), वाराणसीको ‘उदय’ (सन् २०१०) जस्ता पत्र-पत्रिकाले ‘डुवर्स विशेषाङ्क’ नै निकालेर डुवर्सेली साहित्यलाई डुवर्सबाहिर प्रोत्साहन र प्रवर्धन गरेका छन्। केही वर्षअघि मात्र जीवन नामदुंगकृत डुवर्सकेन्द्रित एउटा समालोचना कृति ‘डुवर्सः एक अध्ययन’ (सन् २०१७) प्रकाशित भएको छ। नौ दशकको साहित्य-इतिहासमा डुवर्सबाहिरका कुनै सर्जकले डुवर्सका कृतिहरूमाथि यति विस्तृत अध्ययन गरेको यो नै पहिलो घटना हो। डुवर्सबाट मननारायण प्रधान, रूपेश शर्मा, गोपालसिंह विश्व आदिले आफ्ना समालोचनात्मक कृति र मूल्याङ्कनद्वारा डुवर्सेली साहित्यको आत्मा चिनाउने प्रयास गरिरहेका छन्। डुवर्सका कृतिहरू अपेक्षाअनुरूप मूल्याङ्कित हुन नसक्नुमा सँगसँगै दायी छन्- डुवर्सप्रतिका पूर्वाग्रह र समालोचकहरूका ध्यान खिच्न नसक्ने हाम्रा सिर्जना। मलाई लाग्छ, हाम्रो काम अधिकार र कर्तव्य जस्तै दोहोरो जिम्मेवारीबाट प्रेरित हुनुपर्दछ।

सन् २०१७ मा प्रकाशित तपाईंको समालोचनाकृतिसिर्जना र दृष्टि’-ले भारत र नेपाल दुवैतिर राम्रो चर्चा पाएको देखियो। यो मान्यतालाई तपाईं कसरी लिनुहुन्छ?

मेरो पहिलो कृतिले नै पाठक, विद्वान समालोचक तथा साहित्यकारहरूबाट जुन प्रेरणादायी टिप्पणी र प्रतिक्रियाहरू प्राप्त गऱ्यो, त्यसले मलाई आफ्नो कामप्रति थप जिम्मेवार बनाएको छ। यस्ता मूल्यवान टिप्पणीहरूलाई मैले चुनौती, अपेक्षा र कार्यभारका रूपमा लिएको छु। भारत र नेपालमा मेरो कृतिमाथि विद्वान समालोचकहरूले पुस्तक-चर्चा गर्दै विशद् मन्तव्य राखिदिनुभयो। नेपालका प्रसिद्ध पत्रिकाहरू ‘कान्तिपुर’, ‘साप्ताहिक नेपाल’ र ‘समकालीन साहित्य’-मा समीक्षात्मक निरूपणहरू छापिए। पुस्तकमाथि प्रख्यात प्रगतिवादी साहित्यकारहरूले गर्नुभएको बहुमूल्य मन्तव्यले ममा गहिरो छाप छोड़ेको छ। यी प्रतिक्रिया मेरा ऊर्जा हुन्। यसलाई मैले उत्साहप्रद-गम्भीरतासँग लिएको छु।

समालोचनालाई सिर्जनाको अनुयायी मानिन्छ नि? समालोचना पहिला कि सिर्जना? सिर्जना नभए समालोचना हुँदैन?

यो त अण्डा पहिला कि चल्ला पहिला भनेजस्तो भएन र? सिर्जनामा आलोचनात्मक दृष्टिबिन्दु हुनु त्यसको मूल गुण हो। तपाईं जुन सिर्जना गर्नुहुन्छ, त्यो आफैमा सामाजिक सरोकार, ती मुद्दाहरूमा तपाईंको आलोचनात्मक हेराइ, दृष्टिकोण र समस्या निराकरणका अपेक्षाहरूबाट दिग्दर्शित हुन्छ। कुनै पनि सर्जकको सौन्दर्यबोधीय चेतना विचारधारात्मक हुन्छ, भलै उसले निरपेक्ष साहित्यको कुरा किन नगरोस्। सिर्जना र समालोचना दुवैले एकअर्काका औचित्य, मूल्य र सामाजिक चेतनाको मूलगामी धारालाई बोकेका हुन्छन्। समाजको सौन्दर्यबोधीय क्षमताले साहित्य-कलाको मूल्यलाई आलोकित पार्दछ। हिन्दीका साहित्यकार देवीशंकर अवस्थीले सिर्जना र समालोचनालाई पारस-रत्नसँग तुलना गरेका छन्। एउटा पारस (शालिग्राम)-ले सुन उत्पन्न गर्छ, अर्को पारस (कसी)-ले त्यसको परीक्षण। तपाईंसँग कसी छैन भने कसरी चिन्नुहुन्छ सिटी गोल्ड हो कि चौबीस क्यारेट? जबकि आजको समय छ अकबरी सुनलाई पनि कसी लगाउनुपर्ने। समालोचना आजको समयको ‘बौद्धिक उपस्थिति’ (नामवर सिंह) र ‘सभ्यताको समीक्षा’ (मुक्तिबोध) हुन्छ भने तपाईं कसरी यसलाई परजीवी र अनुयायी-सिर्जना भन्न सक्नुहुन्छ? पुस्तक समीक्षा वा मूल्याङ्कनलाई मात्र ‘समालोचना’ मान्ने ‘फर्म्याटिज्म’-ले यस्ता प्रश्नहरू जन्माउँछन्। आलोचनात्मक गतिशीलताबिनाको समाज सिर्जनात्मक हुनसक्दैन। त्यस्तो समाज/साहित्य त रूढ़ र वर्चस्ववादी विचारधाराको दास बन्छ। प्रश्न उठाउने र त्यसको हल खोज्ने बौद्धिक उत्सुकताले नै समाजलाई आलोचनात्मक गति प्रदान गर्दछ। साहित्यमा सामाजिक गतिशीलताको धुकधुकी छाम्न सक्नु प्रमुख समालोचनाधर्मिता हो।

समालोचनाको निम्ति अन्य साहित्यको पनि गहन अध्ययनको आवश्यकता पर्दछ। यहाँ रूपेश शर्माबाहेक हाल अन्य समालोचक देखा नपर्नुको कारण अध्ययनप्रतिको सर्जकहरूको उदासीनतालाई मान्नुपर्ने हो?

समालोचनाका लागि गम्भीर अध्ययन, निर्भीक लेखन, बौद्धिक पोषण, वस्तुपरक मूल्याङ्कन र तथ्यपरक विश्लेषणको आवश्यकता पर्दछ। यसका लागि तपाईंसँग धैर्य, लगाव, साधना र मेहनतको बढ़ी नै खाँचो हुन्छ। अन्य विधाका तुलनामा समालोचकले अतिरिक्त बौद्धिक भूमिका निभाउनु पर्छ। आलोचनाले ‘एन्टी थेसिस’-को बौद्धिकता प्रदान गर्न सक्यो भने समाज नयाँ ‘तत्त्वबोध’-बाट लाभान्वित हुन्छ। त्यसैले सिर्जनाको मूल्याङ्कनमा मात्र होइन, गतिरोध अन्वेषण र निराकरणमा पनि समालोचकले योग दिएको हुन्छ। स्वाभाविक छ, यस्तो जिम्मेवारी वहन गर्नका लागि सर्जक निर्वाहमुखी भएर पुग्दैन।

आलोचनात्मक परिवेशप्रति जुन समाज सहिष्णु हुन्छ त्यहाँ समालोचकहरूले प्रोत्साहन पाउँछन्। भिडले जे गऱ्यो त्यसैलाई पछ्याउने, राम्रा-नराम्रा सबै कुराको अन्ध अनुगामी हुने अनि आलोचनात्मक बौद्धिकतालाई निरुत्साहित गर्ने समाजमा यो जोखिम मोल्ने धेरै हुँदैनन्। समाजको हरेक क्षेत्रमा आलोचनात्मक संस्कृति विकास भएको छ भने मात्र साहित्यको आलोचना विधा पनि राम्रोसँग फस्टाउन सक्छ। आफ्ना आलोचकहरूप्रति आक्रामक हुनु जताततैका राज्यसत्ताको गणतन्त्रविरोधी चरित्र नै हो। तर, हाम्रो समाजमा त साहित्यिक सत्तादेखि व्यक्तिसत्तासम्म जिज्ञासा, प्रश्न र सन्देहप्रति आँखा तर्छ। यसप्रकारको असहिष्णुता समालोचना-विकासको हितमा छैन।

डुवर्सेली समालोचनामा हामी जीवन नामदुंगलाई विशेष रूपले सम्झना गर्दछौँ। सन् १९७७ मा सामसिङ उच्च माध्यमिक विद्यालयमा शिक्षकको नियुक्ति पाएर आएपछि डुवर्स बसाइमा उनले धेरै साहित्यिक अवदान दिए। उनको पहिलो कृति ‘नेपाली साहित्यका भौप्वालहरू’ (१९७८) सामसिङबाटै प्रकाशित भयो, जो समालोचना कृति हो। यसको लगभग ४० वर्षपछि उनले डुवर्सकेन्द्रित समालोचना ग्रन्थ प्रकाशित गरे- ‘डुवर्सः एक अध्ययन’ (२०१७)। डुवर्सको साहित्येतिहासलाई बुझ्न सकिने यो एउटा महत्त्वपूर्ण सन्दर्भ ग्रन्थ हो। यसपछि सामसिङबाटै ‘केही साहित्यिक अध्ययन र मूल्याङ्कन’ (सन् १९९१) लिएर देखा परे समालोचक मननारायण प्रधान। डुवर्सेली समालोचनाको क्षेत्रमा यो कृतिलाई कोशेढुङ्गा मानिन्छ। तीन दशकको अन्तरालपछि मात्र अहिले उनी दोस्रो समालोचनाकृति प्रकाशनको तयारीमा जुटेका छन्। समालोचना क्षेत्रमा अहिले सक्रिय छन् रूपेश शर्मा। उनको ‘सिर्जना र दृष्टि’ (२०१७)-लाई समालोचकहरूले एक उल्लेखनीय कृतिको रूपमा हेरेका छन्। हामीले डुवर्समा अर्का एक अध्येता पाएका छौँ- गोपालसिंह विश्व। उनी मूलतः सम्पादक, खोजी निबन्धलेखक तथा अनुसन्धाता हुन्। अनुसन्धानात्मक, खोजमूलक र इतिहासपरक लेखनमा उनले छुट्टै छाप र आधिकारिकता प्राप्त गरिसकेका छन्। ‘सन्दर्भः डुवर्स र गोर्खाहरू’ (सन् २०१८)-मा समाविष्ट लेख ‘डुवर्समा नेपाली साहित्यको विकासक्रमः एक परिचयात्मक अध्ययन’ र ‘डुवर्सका केही साहित्यिक व्यक्तित्वहरू’ (२०२०)-ले डुवर्सको साहित्येतिहासलाई अद्यावधिक रूपमा बुझ्न महत्त्वपूर्ण सन्दर्भका काम गर्छन्। दुवै कृतिमा उनको मूल्याङ्कनपरक विशेषता देख्न पाइन्छ।

डुवर्सका केही विशिष्ट सर्जकका कामलाई पनि एकमुष्ठ रूपमा व्यवस्थित गर्न सकिएको छैन। बद्रीनारायण प्रधानका छरिएका आलोचनात्मक लेखहरूले भारतीय नेपाली समालोचनाकै उल्लेखनीय ग्रन्थ हुने सामर्थ्य राख्दछन्। त्यसको सङ्कलन भइरहेको छ। जनार्दन थापा डुवर्सले पाएको एक विशिष्ट बौद्धिक प्रतिभा, अध्येता र मार्क्सवादी चिन्तक हुन्। मार्क्सवादी दृष्टिकोणका उनका कृतिगत/राजनीतिक विश्लेषण-संश्लेषणले भरिएका लेखहरूले नेपाली प्रगतिवादी साहित्य र चिन्तनलाई नयाँ उँचाइमा पुऱ्याएका छन्। नब्बेको दशकदेखि डुवर्समा प्रगतिवादी साहित्यको विकासमा उनले नेतृत्वदायी भूमिका निभाउँदै आएका छन्। विभिन्न पत्र-पत्रिकामा छरिएका उनका डेढ़ सय जति आलोचनात्मक लेखहरूको विधागत रूपमा पुस्तक प्रकाशित हुन सके प्रगतिवादी साहित्य-समालोचना थप समृद्ध बन्नेछ। युवा पुस्तामा समालोचना क्षेत्रमा सम्भावना बोकेका सर्जक हुन्-राजीव विश्व। उनको ‘अध्ययन केही’ (२०१८) लाई ‘लेखहरूको सङ्ग्रह’ भनिए तापनि यसमा समालोचनात्मक धार पाइन्छ। अन्य समीक्षकहरूले पाठकहरूको ध्यान खिच्न सकेका छैनन्। समग्र नेपाली साहित्यमै समालोचकहरूको न्यून उपस्थितिलाई तुलनात्मक रूपमा अध्ययन गर्नु हो भने डुवर्सको स्थिति अस्वाभाविक लाग्दैन।

 उपन्यास, नाटक, नियात्रा विधाहरूलाई डुवर्सले हेला गरेकै हो त? तपाईंको विचार?

डुवर्समा अहिलेसम्म सातवटा मात्र उपन्यास लेखिएको छ, जसमध्ये तीनवटा विष्णु शर्मा अधिकारी एक्लैले लेखेका छन्। बद्रीनारायण प्रधानले दुईवटा अनि प्रकाश घिसिङ र गङ्गा प्रधानले एक-एकवटा उपन्यास लेखेका छन् । बद्रीनारायण प्रधानले पछिल्लो कालमा दुईवटा उपन्यास लेखिरहेका थिए, तर उनको निधन भएकोले त्यो अधुरै रह्यो। युवा पुस्ताका कुनै लेखकले अहिलेसम्म उपन्यास विधामा हात नहाल्नु चिन्ताको विषय छ।

नाटक र नियात्राको अवस्था पनि यस्तै छ। सम्पूर्ण भारतीय नेपाली साहित्यमै पहिलो नाटक डुवर्सका स्रष्टाले लेखेका भए पनि यस विधामा यहाँका स्रष्टाहरूको उर्वरशील उपस्थिति भेटिन्न। बद्रीनारायण प्रधान, कृष्णभक्त खड्का, कितापसिंह राई, एसएन छेत्री आदिले नाटकमा राम्रो सम्भावना बोकेका थिए, तर उनीहरूका नाटकका पुस्तक प्रकाशित भएनन्। बद्रीनारायण प्रधानको ‘सन्तान’ पूर्णाङ्की नाटक अप्रकाशित नै छ। कृतिगत रूपमा पहिलो नाट्यकृतिको पाँच दशकपछि मात्र डुवर्समा अर्को नाटकको पुस्तक प्रकाशित भएको तथ्य छ। कुनै क्षेत्रको साहित्यिक गतिशीलताका लागि यसप्रकारको समयको ठूलो अन्तराल खट्कने कुरा हो। डुवर्सबाट इन्द्रबहादुर गुरुङ, टीका पराजुली, नरेन्द्र खड्का र शङ्कर प्रधानका नाट्यकृतिहरू मात्र प्रकाशित भएका पाइन्छन्।

नियात्राको विधागत संरचना, मूल्यगत स्वरूप र तत्त्वहरूका आधारमा हेर्दा डुवर्समा नियात्रा छैनको बराबर छ। बद्रीनारायण प्रधान, कितापसिंह राई आदिले यस विधामा छिटपुट कलम चलाएको पाइन्छ। पछिल्लो समय शङ्कर प्रधान (‘पूर्वोत्तर’/२०१८; ‘दक्षिण-पश्चिम’/२०१९) र आशबहादुर लिम्बु (‘अनन्त आस्थाका अक्षरहरू’/२०१९)-ले यात्रा संस्मरण/विवरणका रूपमा आफ्ना कृतिहरू प्रकाशमा ल्याएका छन्। शङ्कर प्रधानका दुई पुस्तक सपाट यात्रा-वर्णनले भरिएका छन् भने आशबहादुर लिम्बुले धार्मिक यात्रा/तीर्थाटनलाई केही रमणीयता र रसात्मकता प्रदान गरेका छन्।  प्रधानका तुलनामा लिम्बुले नियात्राका प्रवृत्तिलाई केही छुन सकेको देखिन्छ।

साहित्यको अति महत्त्वपूर्ण पक्ष अनुवाद साहित्यमा हामी कहाँ उभिएका छौँ?

नेपाली साहित्यमा अनुवादको कुरा गर्नेबित्तिकै बद्रीनारायण प्रधानको नाम हामी शीर्षस्थ स्थानमा लिने गर्दछौँ। अनुवाद साहित्यको उषाकालमा बद्रीनारायण प्रधानले सन् १९५२ मा नै मेक्सिम गोर्कीको विश्वप्रसिद्ध उपन्यास ‘मदर’ नेपालीमा अनुवाद गरेका थिए। प्रगतिशील साहित्य, खासगरी रसियाली साहित्य भारतीय नेपाली साहित्यमा चिनाउने व्यक्ति बद्रीनारायण प्रधान नै हुन्। मेक्सिम गोर्कीलाई उनैले हामीबीच परिचित गराए। उनका अनूदित कृतिहरू मेक्सिम गोर्कीको ‘आमा’ (सन् १९७६), फा-हियानकृत ‘बौद्ध देशहरूको परिभ्रमण’ (२०००) र अलेक्जाण्डर रस्किनको ‘भोल्गाको गड़तीरबाट’ (२००८) प्रसिद्ध छन्। उनले विख्यात रसियाली प्राच्यविद् डा. जर्ज रोयरिकबाट कालेबुङमा रसियाली भाषा पनि सिकेका थिए। उनका अन्य थुप्रै अनुवाद-रचना पत्र-पत्रिकामा छरिएका छन्, जसको सङ्कलन भइरहेको छ। डुवर्सका अर्का अनुवादक हुन् कितापसिंह राई। उनले साहित्य अकादमीको अनुबन्धमा ‘मोलेयरका दुई नाटक’ १९९८ मा नै अनुवाद गरेका थिए। अङ्ग्रेजी भाषामा उनको राम्रो दखल थियो। डुवर्सबाट अनुवादमा सम्मानपूर्वक लिनुपर्ने नाम हुन्-सामसिङ निवासी गङ्गासिंह राई। देवकोटाकृत प्रसिद्ध खण्डकाव्य ‘मुनामदन’-लाई उनले सन् १९९६ मा अङ्ग्रेजीमा अनुवाद गरेका थिए। अनुवाद शिल्प, अनुसिर्जना (ट्रान्सक्रिएशन) र भाव-समझ हेर्दा यो एक स्तरीय अनूदित कृति बन्न पुगेको छ। तर अनुवाद साहित्यको सन्दर्भ आउँदा यो कृतिको खासै चर्चा भएको पाइँदैन। अनुवाद साहित्यमा डुवर्सका दुई स्रष्टा डा. जीवन राणा (‘डा. विद्याविन्दु सिंहका कविताहरू’, २००४) र शङ्कर प्रधान (‘विराटाकी पद्मिनी, २००९)-ले क्रमैले सन् २००८ र सन् २०१५ मा अनुवादमा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका कुरा पनि यहाँ उल्लेख गर्न आवश्यक ठान्दछु।

डुवर्सका प्रतिभाशाली अनुवादक हुन्-बिर्ख खड्का डुवर्सेली। मूलरूपमा डुवर्स निवासी अनि सिलगढ़ीमा स्थायी बसोबासो गर्दै आएका उनले शुरुदेखि नै आफ्नो नामको पछि ‘डुवर्सेली’ उपनाम जोड्नुले डुवर्सप्रतिको उनको भावनात्मक प्रेम र संवेदनशीलता प्रस्ट हुन्छ। हिन्दी भाषामा एउटा समालोचनापरक ग्रन्थ नै प्रकाशित गरिसकेका उनको भारतीय हिन्दीभाषी साहित्य संसारमा ठूलो परिचय छ। हिन्दी साहित्यका स्थापित संस्थाहरूद्वारा उनलाई प्रतिष्ठित राष्ट्रिय/अन्तरराष्ट्रिय पुरस्कार समेत प्राप्त भएका छन्। नेपाली साहित्यलाई मौलिक रूपमै हिन्दी साहित्यमा स्थापित गराउने श्रेय पनि जान्छ उनलाई। हिन्दीबाहेक बङ्गला, अङ्ग्रेजी, उर्दु, साद्री भाषामा पनि उनको गहिरो ज्ञान छ। उनका अनूदित कृतिहरू हुन्- बंकिम चन्द्र च्याटर्जी (अङ्ग्रेजीबाट नेपालीमा अनुवाद/मोनोग्राफ, १९९६), गिर्मी शेर्पाकृत ‘हिपोक्रीट चाँप-गुराँस’ कविता सङ्ग्रह (नेपालीबाट हिन्दीमा अनूदित, १९९९) र जस योञ्जन ‘प्यासी’कृत ‘शान्ति सन्देह’ कविता सङ्ग्रह (नेपालीबाट हिन्दीमा अनूदित, २०१५)।

समकालीन पुस्तामा डुवर्सका अनुवादकहरूमा अर्का सक्रिय नाम हुन्-जीवन राणा। बङ्गला, हिन्दी, अङ्ग्रेजी, साद्री, मगरलगायतका थुप्रै भाषाहरूमा उनको ज्ञान रहेको कुरा उनका अनूदित कृतिहरूबाट बुझ्न सकिन्छ। विभिन्न भाषामा उनका आधा दर्जनभन्दा बढ़ी अनूदित कृति प्रकाशित छन्, जसमध्ये ‘देवी चौधरानी’ (बंकिम चन्द्र च्याटर्जीको बङ्गला उपन्यासको नेपालीमा अनुवाद, २००५), ‘युद्ध आर योद्धा’ (अगमसिंह गिरीको खण्डकाव्य ‘युद्ध र योद्धा’-को बङ्गलामा अनुवाद, २००२), ‘मगर समाज और संस्कृति’ (डुवर्सका बङ्गला साहित्यकार प्रमोद नाथको पुस्तक ‘उत्तरबंगेर मगर समाज ओ संस्कृति’-को हिन्दीमा अनुवाद, २०१८), ‘गीताञ्जली’ (बङ्गलाबाट मगर भाषामा अनुवाद, २०११) उल्लेखनीय छन्। उनका दुई अनुवाद ‘डुवर्स’ (मणिकुमार थापाको गीति काव्य नेपालीबाट अङ्ग्रेजीमा) र ‘भानुभक्त रामायण’ (नेपालीबाट मगर भाषामा) प्रकाशोन्मुख रहेको जानकारी पाइएको छ। अनुवाद क्षेत्रमा डुवर्सबाट यसप्रकारको बहुभाषिक सिर्जनात्मक आदान-प्रदान उल्लेखनीय प्राप्ति हुन्। साहित्य अकादमीको अनुबन्धमा डुवर्सका स्रष्टाहरूले केही कृतिको अनुवाद गरेका छन्, जसमध्ये एउटा उल्लेखनीय कृति हो- दिलमान राई ‘चोट’-द्वारा अनूदित ‘कालरेखा’ (सन् २०११)। तेलेगु साहित्यका महाकवि शेषेन्द्र शर्माको प्रसिद्ध समालोचनाकृति ‘कालरेखा’ डुवर्सका गजलकार दिलमान राई ‘चोट’-ले सोझै तेलेगु भाषाबाट नेपालीमा अनुवाद गरेकाले पनि यो कृतिको विशेष महत्त्व रहेको छ। उनी केन्द्रिय जल आयोगमा सरकारी कर्मचारीको रूपमा रहेर स्थानान्तरण हुँदै दक्षिण भारत पुगे र त्यहाँ लामो समय सरकारी सेवा पुऱ्याए। त्यसै समय उनले द्रविड़ भाषा परिवारको तेलेगु भाषा सिके। जयगाउँ निवासी उनी हाल हैदराबादमा सपरिवार अवकाशकालीन जीवन बिताइरहेका छन्।

डुवर्समा अनुवाद साहित्यको कुरा गर्दा हामी कृष्णभक्त खड्कालाई भुल्न सक्दैनौँ। बङ्गला, अङ्ग्रेजी, हिन्दी भाषामा पकड भएका उनले स्वामी विवेकानन्दका सम्पूर्ण खण्डहरूको बङ्गलाबाट नेपालीमा अनुवाद गरेर कोलकाता पठाएका थिए, तर सम्बन्धित संस्थाले प्राविधिक कारण देखाएर अहिलेसम्म ती अनूदित खण्डहरू प्रकाशित गरेको छैन। दार्जीलिङका प्रसिद्ध साहित्यकार कृष्णसिंह मोक्तानका दुई उपन्यास ‘चरणधुली’ र ‘जीवन परिक्रमा’ पनि उनले बङ्गलामा अनुवाद गरेको जानकारी पाइएको छ, तर तिनले पनि अहिलेसम्म प्रकाशनको मुख देख्न पाएका छैनन्। उनको हालै देहान्त भएको छ।

यसबाहेक अनुवादको क्षेत्रमा काम गर्ने डुवर्सका सर्जकहरू विष्णु शर्मा अधिकारी (‘अमर ध्वनितत्व’, सन् १९७१), शङ्कर प्रधान (‘विराटाकी पद्मिनी’, सन् २००६; ‘प्रायश्चित’, सन् २०१७) आदि हुन् भने गङ्गाप्रसाद प्रधान र लोकनाथ प्रधानका अनुवादहरू पनि फुटकर रूपमा प्रकाशित भेटिन्छन्। डुवर्सबाट अहिले अनुवादमा आफ्नो दर्बिलो उपस्थिति दिइरहेका छन् युवा अनुवादक बिलोक शर्माले। नेपाली साहित्यका प्रतिष्ठित कविहरूका कविता बङ्गला भाषामा अनुवाद गरेर उनले राष्ट्रिय/अन्तरराष्ट्रिय वेभ पोर्टल/जर्नल र डिजीटल मीडियामार्फत सार्वजनिक गरिरहेका छन्। उनी अनूदित कविताहरूको पुस्तक प्रकाशन गर्ने तयारीमा छन्।

यी सबै कार्यहरूलाई डुवर्सको उपलब्धिको रूपमा मात्र खुम्च्याउनु सही होइन भन्ने मलाई लाग्दछ।

डुवर्सका साहित्यिक गतिविधिमा युवाहरूको सहभागिता केकस्तो छ?

पछिल्ला समयहरूका तुलनामा अहिले डुवर्सेली साहित्यमा युवा पुस्ताको सहभागिता उत्साहजनक छ। हामीपछि पनि डुवर्समा अहिले दुई युवा साहित्यिक पुस्ता सिर्जना र साहित्यिक गतिविधिमा सक्रिय छ। डुवर्समा हामीले ‘जेनेरेशन ग्याप’ हटाउने सक्दो प्रयास गरिरहेका छौँ।

अबीर खालिङ, वेगवसन्त थापा, रविन खवास, अनन्त श्रेष्ठ, रूपेश शर्मा, अजय खड्का, अमीर सुन्दास, पुष्पन प्रधान जस्ता सर्जकहरूले साहित्य-कला-सङ्गीतको क्षेत्रमा अग्रज पुस्ता र युवा पुस्तालाई जोड्ने सेतुको काम गरिरहेका छन्। उमेश प्रधान, हर्कु तामाङ, दुर्गा राई चामलिङ, दिलीप घिमिरे, नारायण प्रधान, चन्दन भट्टराई, किरण उपाध्याय, संजोग लामा, कृपेन्द्र गुरुङ, नामगेल लामा जस्ता युवा सर्जकहरू साहित्य-कला सिर्जना र सङ्गठन दुवैमा सक्रिय छन्। डुवर्स युवा साहित्य संवादमार्फत युवा पुस्ताका तेस्रो हाँच नयाँ सम्भावना बोकेर अघि आएको छ, जसमा नारायण काफ्ले, ज्योत्स्ना घतानी, निगम बस्ताकोटी, उपासना भूजेल, नवराज धमला, पूजन राई, अविषेक दर्नाल, प्रशान्ति राई आदिका कविताहरूले हाम्रो ध्यान खिचेका छन्। साहित्य परिक्रमा (बाग्राकोट), सिर्जनशील समूह (कालचिनी), डुवर्स नेपाली साहित्य सभा (वीरपाड़ा), नेपाली साहित्य प्रतिष्ठान (दलसिंहपाड़ा), डुवर्स युवा साहित्य संवाद लगायतका साहित्यिक संस्थाहरूमार्फत डुवर्सका वर्तमान दोस्रो-तेस्रो युवा पुस्ताका कवि-साहित्यकारहरूले आफ्ना प्रतिभा निखार्न मञ्च र प्रोत्साहन पाइरहेका छन्। डुवर्स नेपाली साहित्य विकास समिति, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, भानु सांस्कृतिक सङ्घ जस्ता डुवर्सका अभिभावक संस्थाहरूले नयाँ-पुराना सबै पुस्ताका प्रतिभा र सर्जकहरूलाई सिर्जनात्मक अभिप्रेरणा दिइरहेका छन्। कविता विधामा डुवर्सबाट नवयुवाहरूले राम्रो सम्भावना दर्शाएका छन्।

तपाईं एक जना मार्क्सवादी सिद्धान्तलाई मानेर साहित्य लेख्ने सर्जक हुनुहुन्छ। मार्क्सवादी साहित्यलाई प्रगतिवादी साहित्य पनि भनिन्छ। अन्य विचारधाराका साहित्यलाई किन प्रगतिवादी साहित्य भन्न सकिन्न?

महत्त्वपूर्ण प्रश्न गर्नुभयो। प्रगतिवादलाई लिएर हाम्रो यता धेरै भ्रम छ। त्यसकारण प्रगतिवाद र प्रगतिशीलता पदावलीमा देखिएको अन्योलताबारे स्पष्ट हुन आवश्यक छ भन्ने मलाई लाग्छ। प्रगतिवादलाई अङ्ग्रेजीको ‘प्रोगेसिभिज्म’-को सपाट नेपाली रूपान्तरणको रूपमा हेर्ने गरिएकोले पनि यस्ता प्रश्नहरू उब्जन्छन्। ‘प्रोगेस’-ले नेपाली ‘प्रगति’ बुझाउँछ; ‘इजम’-ले सैद्धान्तिक मान्यता।

‘प्रगतिवाद’ नेपाली साहित्यमा प्रचलित पदावली भएकोले नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ र ‘प्रज्ञा दर्शन कोश’-ले क्रमैले यो सिद्धान्तलाई ‘मार्क्सवादबाट प्रभावित साहित्यिक सिद्धान्त’ र ‘कार्ल मार्क्सको दार्शनिक चिन्तनबाट प्रभावित आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक विचारधारा एवं मान्यताहरूमा आश्रित संस्कृति-दर्शन’-को रूपमा परिभाषित गरेका छन्। विश्वका अधिकांश देशमा यसका लागि सोझै ‘मार्क्सवादी साहित्य’, ‘समाजवादी यथार्थवाद’ जस्ता पदावली प्रयुक्त छन्। नेपाली साहित्यमा पनि प्रचलित ‘प्रगतिवाद’-को दार्शनिक आधार सोझै मार्क्सवाद हो। अर्थात् प्रगतिवादलाई नै मार्क्सवादको साहित्यिक अवतरण भनिन्छ। कुनै पनि चीजलाई हेर्ने मार्क्सवादी दर्शन र विचारधारालाई आत्मसात गरी साहित्य लेख्ने सर्जकहरू प्रगतिवादी हुन्।

विचारधारा एउटा ऐतिहासिक शृङ्खलाको परिणाम हुँदछ। सर्जकका विचार, आस्था, लोकविश्वास, लोकपरम्परा, सांस्कृतिक चेतना, जीवन-जगतप्रतिको हेराइ, रचनादृष्टि, विश्वास आदि सबै दर्शनको ऐतिहासिक अनि आनुभाविक मूल्य-शृङ्खलासँग सम्बन्धित हुन्छन्। विचार निर्माणमा सामाजिक सङ्घर्षको इतिहास जोड़िएको हुन्छ। यसमा निज अनुभूति, भावनात्मक संवेग एवं वस्तुगत प्रभावको एकत्व र संयोजन हुन्छ। चेतना नै संसारको चालक शक्ति हो वा यो पदार्थको एउटा विशिष्ट गुण? चिन्तनमा यो महत्त्वपूर्ण प्रश्न हुन्छ। तर, अधिकांश सर्जक यो कुरा स्वीकार गर्न मान्दैनन्।

मार्क्सले आफ्ना जम्मै पूर्व भौतिकवादीहरूका अवधारणालाई वैज्ञानिक, गतिशील र परिवर्तनकामी सिद्धान्तमा फेरे र ऐतिहासिक भौतिकवाद एवं द्वन्द्वात्मक भौतिकवादी वैज्ञानिक दृष्टिकोण संसारलाई दिए। संसारलाई हेर्ने, बुझ्ने र फेर्ने यही दृष्टिकोणलाई हामी मार्क्सवादी दर्शन भन्छौँ। साहित्यमा यो विचारधारा कला-चिन्तनको मार्क्सवादी सौन्दर्यशास्त्रको रूपमा विकसित छ। प्रगतिवादलाई सम्पूर्ण प्रगतिहरूको ‘वाद’-को रूपमा बुझ्नु हुँदैन। नेपाली साहित्यमा प्रगतिवादको स्थापना यसरी भएको पनि होइन। त्यसैले अन्य विचारधाराका साहित्यलाई किन प्रगतिवादी नभनिएको भन्ने गुनासो पोख्ने ठाउँ छैन।

प्रगतिशील र प्रगतिवादी साहित्यलाई एउटै विचारधाराका साहित्यको रूपमा हेर्ने गरिन्छ। यी दुवै पर्याय नै हुन् त?

प्रगतिवादलाई बुझ्ने सन्दर्भमा माथिकै प्रश्नको अन्योलता यहाँ पनि दोहोरिएको छ। प्रगतिवाद र प्रगतिशील बारे अझ स्पष्ट पार्न थप दुई-चार कुरा भनौँ। ‘प्रगति’-मा ‘वादी’ र ‘शील’ शब्द जोड़िएर यी दुई पदावली बनिएका छन्। तर तिनका आ-आफ्ना ऐतिहासिक विकासक्रम, प्रवृत्ति र सैद्धान्तिक पृष्ठभूमि छन्। स्वाभाविक रूपमै ‘वाद’-ले सिद्धान्त र दार्शनिक अवधारणालाई बुझाउँदछ भने ‘शील’-ले प्रवृत्तिगत विशेषतालाई।

मार्क्सवाद वा प्रगतिवाद जन्मनभन्दा सदीयौं अघि पनि समाजमा प्रगतिशील चेतना र चिन्तन विद्यमान थियो। सामन्ती युगमा शास्त्रीयतावाद र सामन्ती चिन्तनधारालाई स्वतःस्फूर्त यथार्थवादले चुनौती दियो। अठाह्रौँ शताब्दीमा फ्रान्सेली क्रान्ति (१७८९) सम्पन्न भयो- स्वतन्त्रता, समानता र भातृत्वको नारा लिएर। यो पुँजीवादी क्रान्ति सामन्ती व्यवस्थाको विरुद्ध प्रगतिशील थियो। साहित्यमा नयाँ प्रगतिशील चेतनाहरू आए व्यवस्था परिवर्तनसँगै। एक समय प्रगतिशील भूमिका खेलेको पुँजीवादी यथार्थवाद पुँजीवादका कमजोरीहरूसँगै अप्रगतिशील बन्दै गयो। पुँजीवादी यथार्थवादको ठाउँमा आलोचनात्मक यथार्थवाद थप प्रगतिशील भयो। साहित्य विकासका हरेक कालखण्डमा यथास्थितिवाद र क्रान्तिकारी आशावाद जस्ता दुवै थरिका साहित्यिक प्रवृत्ति पाइन्छन्।

बीसौँ शताब्दीमा जन्मिएको समाजवादी यथार्थवादले आफूमा विगतको प्रगतिशील विरासतलाई आत्मसात गऱ्यो। यो प्रगतिशील मात्र होइन, त्योभन्दा माथि अग्रगामी, वैज्ञानिक, परिवर्तनकामी र क्रान्तिकारी विचारधारा हो। साहित्यमा प्रगतिवादले मार्क्सवादको यही विश्व दृष्टिकोणलाई आत्मसात गर्छ। यो प्रगतिशीलताको गुणात्मक रूपान्तरण हो। प्रगतिवाद जन्मनका लागि प्रगतिशीलताले आधार र जग प्रदान गरेको छ। यसैले यी दुई धारालाई एकअर्काका पर्यायका रूपमा हेर्ने गरिएको छ। तर यी दुई चिन्तनधारामा धेरै फरक र सैद्धान्तिक फड्को पाइन्छ।

केही मानिसले भन्ने गरेको सुनिन्छ- ‘साहित्य स्वभावले नै प्रगतिशील हुन्छ।’ तर साहित्यको ‘प्रगतिशीलता’ पक्षधरीय हुन्छ। यो पक्षधरतामा विश्वभरिका साहित्यकारहरू विभाजित छन्- ‘कला कलाका लागि कि कला जीवनका लागि?’ ‘जीवन’ भनेपछि हामी बहुसङ्ख्यक मानव जीवन नै बुझ्दछौँ। साहित्यमा प्रगतिशीलता समाजको सर्वबृहत् उत्पीड़ित समुदायको हित, मुक्ति, प्रगति, स्वतन्त्रता र मानवीय मूल्यहरूसँगको सरोकार र त्यसको सौन्दर्यबोधसँग सम्बन्धित हुन्छ। जीवनदायी, गतिशील, वैज्ञानिक, क्रान्तिकारी र विकासोन्मुख चिन्तनधारा नै प्रगतिशील हुने भएकोले प्रगतिशील साहित्यको विशेषता परिवर्तनकामी हुन्छ, यथास्थितिवादी होइन।

भारतेली नेपाली साहित्यका शिखर पुरुष इन्द्रबहादुर राईले मार्क्सवादी साहित्यलाई अँगालेर पनि पछि त्यागेका थिए। मार्क्सीय प्रगतिवादले उहाँलाई किन छुन सकेन?

यो सन्दर्भमा एउटा कुरा भनिराखौँ, हाम्रो साहित्यमा प्रगतिवादलाई लिएर ‘मार्क्सीय प्रगतिवाद’, ‘एङ्गेल्सीय प्रगतिवाद’, ‘लेनीनीय प्रगतिवाद’ आदि जस्ता पदावली चलाइएको पाइन्छ, जो त्रुटीपूर्ण छ। मार्क्सवादी सिद्धान्त र सौन्दर्यशास्त्रलाई समृद्ध बनाउन एङ्गेल्स, लेनिन, स्टालिन, माओ आदिले महत्त्वपूर्ण दार्शनिक योगदान दिएका छन्। यी दार्शनिकहरू मार्क्सवादी दार्शनिक परम्पराका प्रमुख सिद्धान्तकार हुन्। उनीहरूले मार्क्सवादी दर्शनलाई नै समृद्ध बनाए। त्यसकारण मार्क्सवादी साहित्यका लागि यसप्रकारको पदावली प्रयोग मार्क्सवादको मूल्य र मर्म विपरीत छ।

जहाँसम्म इन्द्रबहादुर राईले मार्क्सवादी साहित्यलाई अँगालेका थिए भन्ने कुरा छ, त्यो पनि सत्य होइन। कुनै पनि साहित्य-सिद्धान्तको अध्येता हुनु र त्यसलाई अँगाल्नु दुई फरक-फरक कुरा हुन्। इन्द्रबहादुर राई मार्क्सवादका राम्रा अध्येता थिए। तर, उनी सिद्धान्तगत, सिर्जनात्मक र राजनीतिक रूपमा मार्क्सवादी थिएनन्। उनको प्रसिद्ध पुस्तक ‘नेपाली उपन्यासका आधारहरू’ (१९७४)-मा डीपी अधिकारीका दुई उपन्यास ‘आशमाया’ र ‘धरती अझै बोल्दैछ’-को मार्क्सवादी सैद्धान्तिक आधारबाट समालोचना र विश्लेषण गरिएकाले उनलाई ‘भारतीय नेपाली प्रगतिवादी समालोचना परम्पराका प्रखर समालोचक’ भनी टिप्पणीहरू गरिएको पाइन्छ। सन् १९८० को दशकका शुरुआती वर्षहरूमा उनले मार्क्सवाद र प्रगतिवादी साहित्यको खुलेरै विरोध गरे। प्रगतिवादी साहित्यविरोधी उनको लेख ‘साहित्यको अपहरणः मार्क्सवादिक प्रतिबद्धता’ पहिला ‘कलश’ पत्रिकामा छापियो र पछि पुस्तक आकारमा (१९८३)। ‘कलश’-मा यो लेख प्रकाशित भएपछि बद्रीनारायण प्रधानले ‘छाल’ (१९८१) पत्रिकामा यो लेखको आलोचना गरे अनि प्रगतिवादी साहित्यको सैद्धान्तिक मान्यतामा प्रतिबद्धताका साथ खड़ा भए। सम्पूर्ण नेपाली साहित्यमै यो बहसलाई एउटा ऐतिहासिक घटनाको रूपमा हेरिन्छ। यसै त, ‘कृतिमा लीलालेखनगत आधार’-को-बीस सूत्रीय घोषणाको तेस्रो सूत्रमा राईले अन्य सैद्धान्तिक आधार झैँ “मार्क्सवादीय ‘आइडलजि’-को सिद्धान्त”-बाट पनि लीलालेखनले आधार र सकार प्राप्त गरेको बताएका छन्। मार्क्सवादको विरोधमा लेखिएको ‘साहित्यको अपहरण’ पुस्तकाकारको रूपमा १९८३ मा छापिएको हो जबकि यो बीस सूत्रीय घोषणा पहिला ‘रूपरेखा’-मा सन् १९७७ मा र त्यसको दुई वर्षपछि ‘कठपुतलीको मन’ (सन् १९७९)-मा प्रकाशित भएको थियो। मार्क्सवादको विरोध (१९८३) र उपयोग (१९७९)-को यो राजनीति अत्यन्त विरोधाभासी छ। राईमा देखिएको मार्क्सवादप्रतिको ‘सकार’ र ‘नकार’-को लीला आफैमा भ्रान्तिमय छ। यसैले इन्द्रबहादुर राईले एक समय मार्क्सवादलाई अँगालेका थिए भन्ने भनाइ तथ्यपरक छैन।

भारतेली नेपाली साहित्यमा पनि उत्तरआधुनिकतावाद भित्रिइसकेको देखिन्छ। नेपाली साहित्यमा यसलाई भित्र्याउने श्रेय इन्द्रबहादुर राईलाई नै जान्छ पनि भनिन्छ। मार्क्सवादी र उत्तरआधुनिकतावादीबीच किन यस्तो कटाक्ष छ?

नेपाली साहित्यमा ‘लीलालेखन’ फ्रान्सेली उत्तरआधुनिकतावादी सिद्धान्तकार ज्याक डेरिडाद्वारा प्रतिपादित विनिर्माणवाद (डिकन्सट्रक्सन)-को ‘नेपाली संस्करण’-को रूपमा भित्रिएको कुरा समालोचकहरूले खुलेरै लेखेका छन्। यसमा पूर्वीय र पाश्चात्य दर्शनका विभिन्न ‘सकार’-हरूलाई आधार गरिएको बताइएको छ। उत्तरआधुनिकतावाद मार्क्सवादी महाख्यानको विरोधी छ। यसले मुक्तिकामी सिद्धान्तलाई खारेज गर्छ। हरेक चीजको ‘अन्त्य’ भयो भन्दै मान्छेलाई निराश, कुण्ठित, आत्मपराजित, व्यक्तिवादी र पलायित बनाउने उत्तरआधुनिवादी विचारको दार्शनिक सार शून्यवाद हो। उपभोक्तावादबाहेक सब भ्रम हो यसका लागि। यो नवउदारवाद र भूमण्डलीकरणको वैचारिक-सांस्कृतिक चिन्तनको रूपमा विकास भएको छ। तर, प्रगतिवाद मार्क्सवादी विश्वद़ृष्टिकोण, द्वन्द्वात्मक भौतिकवादको सैद्धान्तिक अवधारणा अनि एकता-सङ्घर्ष-मुक्ति-प्रगतिको महाख्यानमा आधारित छ। मार्क्सवाद परिवर्तनकारी छ र यसले क्रान्तिकारी परिवर्तनद्वारा शोषणविहीन समाजको निर्माणमा जोड़ दिन्छ। मार्क्सले दर्शनको भूमिकालाई कोरा व्याख्याको विषय मात्र ठानेनन्, परिवर्तनको बौद्धिक हतियार माने। मार्क्सवादी वैज्ञानिक सिद्धान्तले जब विश्व फेर्नुपर्ने आह्वान गऱ्यो, तब आदर्शवादी दर्शनका अनुयायी, अध्यात्मवादी, पुँजीवादी, साम्राज्यवादी; रूपवादी, विमर्शवादी, निरपेक्षतावादी अनि गैर-पक्षधरवादी जम्मै-जम्मैले मार्क्सवादको विरोध गर्न थाले। उनीहरूसँग मार्क्सवादले विश्वमा क्रान्तिकारी सङ्घर्ष र वैचारिक लड़ाइँ लडिरहेको छ। मार्क्सवाद ‘भूत’ भइसक्यो भनेर उत्तरआधुनिकतावादीहरू चिच्याइरहेका छन्। तर सबभन्दा बढ़ी उनीहरू नै मार्क्सवादको ‘भूत’-बाट तर्सिरहन्छन्। खासमा यो कथित ‘भूत’ र ‘उत्तर’-को लड़ाइँ समकालीन विश्वको शक्तिशाली विचारधारा र सत्ताशाली विचारधारा बीचको लड़ाइँ पनि हो भन्ने मलाई लाग्दछ। त्यसैले यी दुईमा समन्वय र मैत्रीपूर्ण सम्बन्ध हुनसक्छ भनेर कल्पना मात्र गर्नु पनि हास्यास्पद छ।

मार्क्सवादमा पनि नवमार्क्सवाद, उत्तरमार्क्सवाद जस्ता अवधारणाहरू आएको धेरै भइसक्यो। मार्क्सवादभित्रैबाट विकास भएका यस्ता धारणालाई तपाईं कसरी हेर्नुहुन्छ?

‘नव-मार्क्सवाद’, ‘उत्तर-मार्क्सवाद’ जस्ता पदावलीका कारण यो मार्क्सवादकै विकसित रूप हो कि भन्ने भ्रम पर्न जान्छ। मार्क्सवादकै नाममा आएका यी ‘उत्तर’-वादीहरू क्रान्तिकारी मार्क्सवादीहरूलाई ‘शास्त्रीयतावादी’, ‘जड़सूत्रवादी’ आदिको संज्ञा दिन्छन्। उनीहरू वर्ग सङ्घर्ष, दर्शनको आमूल परिवर्तनकारी भूमिका, आधार र अधिरचनाको मार्क्सवादी मान्यता जस्ता मूल मर्म अनि निरन्तर क्रान्तिको मार्क्सवादी सिद्धान्तप्रति अविश्वास प्रकट गर्छन्। मार्क्सले भनेका छन्, “दार्शनिकहरूले अहिलेसम्म संसारको व्याख्या मात्र गरेका छन्, तर मूल कुरा त यसलाई फेर्नु हो।” ‘नव’ र ‘उत्तर’ मार्क्सवादीहरू मार्क्सवादको यो मर्मप्रति उदासीन छन्। उनीहरू भन्छन्- ‘मार्क्सले नियतत्त्ववादलाई एकमात्र आर्थिक आधार माने, जो गलत हो; आजको विश्वमा वर्ग-सङ्घर्षको परिभाषा फेरिएको छ।’ मूलरूपमा, ‘नव’ र ‘उत्तर’ मार्क्सवादमा हामी क्रान्तिकारी आशावाद र भविष्यद़ृष्टि निरीह बनेको पाउँछौँ। उनीहरू मार्क्सवादलाई समृद्ध बनाउने एङ्गेल्स, लेनिन, स्टालिन र माओका महत्त्वपूर्ण दार्शनिक अवधारणा र सौन्दर्यशास्त्रीय चिन्तनप्रति असहमति जनाउँछन्। उनीहरू बढ़ी आलोचनावादी/विमर्शवादी छन्।

मलाई यतिबेला हिन्दीका विख्यात साहित्यकार मेनेजर पाण्डेयको व्यङ्ग्यात्मक शैलीले भरिएको भनाइ सम्झना भइरहेछ- “राजनीतिमा शब्दहरूको अर्थ बद्लिन धेरै समय लाग्दैन। कैयौँपटक त अर्थ बद्लिने मात्र होइन, अर्थै उल्टा हुन्छ। यो राजनीतिकै भाषाको चमत्कार हो कि सिद्धान्तमा हिँड्नेहरूलाई रूढ़िवादी भनिन्छ अनि अवसरवादीहरूलाई आधुनिक।” अहिले त झन् यो राजनीतिले लगातार चमत्कार गरिरहेछ-‘नवआधुनिक’, ‘उत्तरआधुनिक’, ‘उच्चाधुनिक’, ‘उत्तर-उत्तरआधुनिक’ आदि पदावलीहरूमा।

भारतेली साहित्यमा विगत ३० वर्षमा देखिएका नयाँ अवधारणा/आन्दोलन/सिद्धान्तहरूबीच प्रगतिवादको उपस्थिति केकति छ? विस्तृतमा बताइदिनु हुन्छ कि?

पछिल्लो तीस वर्ष भन्नाले हामी नब्बेको दशकको शुरुआती वर्षहरूबाट भएका साहित्यिक आन्दोलन, मान्यता र नयाँ लेखनहरू बुझ्न सक्छौँ। यस अवधि ‘सङ्क्रमण’ (१९९३), ‘विचलन’ (२००६), ‘किनारीकरण’ (२००८), ‘हस्तक्षेप’ (२०१५), ‘समावेशी’ (२०१५), ‘उत्तर लीलालेखन’ (२०२०) जस्ता अवधारणाहरू देखा परेका छन्।

प्रगतिवादमा पछिल्ला ३० वर्षको स्थितिबारे कुरा गर्नअघि भारतमा प्रगतिवादी साहित्यको पृष्ठभूमिबारे थोरै भए पनि चर्चा गर्न आवश्यक ठान्दछु। हामीकहाँ गोर्खा जातिको आत्मनिर्णयको अधिकारको चेतनालाई साहसिक ढङ्गमा मुखर गर्ने पहिलो मार्क्सवादी चिन्तक गणेशलाल सुब्बा हुन्, जो भारतमा नेपाली प्रगतिवादी समालोचनाको ठोस आधार निर्माण गर्ने पहिलो साहित्यकार पनि हुन्। दार्जीलिङ्गे समाजमा प्रगतिवादी चेतनाको थालनी १९४० को दशकबाट भएको पाइन्छ।

प्रारम्भिक चरणमा रतनलाल ब्राह्मण, गणेशलाल सुब्बा, बद्रीनारायण प्रधानहरूको वामपन्थी चिन्तन, कार्यशैली र जातीय मुक्तिको चेतनाले ठूलो बौद्धिक वृत्तलाई आकर्षित गऱ्यो अनि प्रगतिशील साहित्यकारहरू वैचारिक/साङ्गठनिक रूपमा ध्रुवीकृत भए। सन् १९४७ मा दार्जीलिङमा स्थापित भयो ‘प्रगतिशील नेपाली साहित्य परिषद्’। ईश्वर बराल, दान खालिङ, अगमसिंह गिरी, वीरेन्द्र, अच्छा राई ‘रसिक’, लक्खीदेवी सुन्दास, नरेन्द्रप्रसाद कुमाई आदि प्रतिष्ठित साहित्यकारहरूको पहलमा यो सङ्गठन बनिएको थियो। यसरी नै १९५३ मा वीरेन्द्रको अगुवाइमा ‘प्रगतिशील नेपाली साहित्य परिषद्’ गठन भयो। यो आधार थप बलियो भयो १९७८ मा ‘विकल्प’-को स्थापनाले। प्रगतिशील साहित्य-कला र संस्कृतिलाई प्रवर्धन गर्न बद्रीनारायण प्रधान, वी. योन्जन, रत्न बान्तवा, नन्द हाङ्खिम, वीरेन्द्र, पदम लामा, कृष्ण गिरी, धनवरी पुरी, पी. अभाव, पी. अर्जुन, धर्मराज बमजन, मनबहादुर गुरुङ, भक्त राई, लक्ष्मण श्रीमल, एमबी राई, मोहन दुखुन आदिको सक्रियतामा यो गठित थियो। नब्बेको दशकमा डुवर्स-तराई अनि दार्जीलिङ क्षेत्रमा चलेको प्रगतिशील चेतना विकासको आन्दोलनले मार्क्सवादी सिद्धान्त र साहित्यको अध्ययन तथा चिन्तन-परम्परामा महत्त्वपूर्ण विकास गरेको पाइन्छ। प्रगतिवादी स्रष्टाहरू वैचारिक तथा सिर्जनशील अभियानमा एकजुट हुने पछिल्लो कड़ी दार्जीलिङमा २०१६ मा गठित राष्ट्रिय सङ्गठन प्रगतिशील लेखक-कलाकार सङ्घ हो, जसका संस्थापक अध्यक्ष टीका ‘भाइ’ र महासचिव रूपेश शर्मा रहेका छन्।

पूर्वोत्तर भारतमा जातीय उत्पीड़नविरुद्धको विद्रोही स्वर, कटुवालका प्रगतिवादी धारका कविताहरू, १९७९ मा भएको ‘विदेशी बहिष्कार’ आन्दोलनले जन्माएको असुरक्षाका कारण जातीय एकताको आवश्यकता जस्ता घटनाक्रमले प्रगतिशील साहित्यको आधार निर्माण गरेको देखिन्छ। प्रेमसिंह सुवेदी र गोकुलप्रसाद जोशीहरूबाट शुरु भएको यस क्षेत्रको प्रगतिवादी साहित्य-चिन्तन विकासमा दुर्वासा उपाध्याय, दिल साहनी, रूपनारायण पाठक, रवि शर्मा, जमदग्नि उपाध्याय, तुलबहादुर माले, धर्मलाल भुसाल, चन्द्रेश्वर दुबे, वैद्यनाथ उपाध्याय, युद्धवीर राणा, रूद्र बराल, भक्तप्रसाद गौतम, अविकेशर शर्मा आदिले महत्त्वपूर्ण योगदान दिएका छन्।

भारतमा प्रगतिवादी साहित्यको एकमुष्ठ अध्ययन अहिलेसम्म हुनसकेको छैन। अझ, पर्यायवाची जस्तै बनेर प्रगतिवाद र प्रगतिशील साहित्य हुर्किएका छन्। धेरै कृतिहरूमा प्रगतिवाद र प्रगतिशीलताका सैद्धान्तिक आधार एवं प्रवृत्तिहरू खुट्याउन थप अध्ययन र गम्भीर-विश्लेषणको खाँचो छ। एक समयमा प्रगतिवादी देखिएका साहित्यकारहरू पछिल्ला कालखण्डमा अर्कै धारामा बहेका पाइन्छन्। कैयौँ साहित्यकारहरूमा सैद्धान्तिक एवं व्यावहारिक विचलन भेटिन्छन्। यो वक्ररेखीय विकासक्रमले भारतीय नेपाली प्रगतिवादी धारालाई धेरै पेचिलो बनाइदिएको छ।

अध्येता, साहित्येतिहासकार, विश्लेषक र सर्वेक्षकहरूले गरेका थोरै अध्ययन पनि यसकारण स्पष्ट छैन। प्रगतिवादी मूल्य र मान्यताका दृष्टिबाट हेर्दा कतिपय सर्जकलाई ‘प्रगतिवादी’ भन्नु उचित हो वा होइन भन्ने विवाद उठ्न सक्छ। निम्न सर्जक र कृतिहरूमा संसारलाई हेर्ने र सौन्दर्यबोध गर्ने मार्क्सवादी, वस्तुवादी, द्वन्द्ववादी, समाज-वैज्ञानिक, क्रान्तिकारी, परिवर्तनकामी रचनादृष्टि र चिन्तनधारा पाइन्छन्।

जीवनी/दर्शनः बद्रीनारायण प्रधान (महर्षि कार्ल मार्क्स/१९४७ मा पत्रिकामा; १९८१ मा पुस्तकाकारमा; नव चेतनाका चिर मशालः गणेशलाल/१९९९; गफसफमा रतनलाल ब्राह्मण/२००८ सम्पादकः मोहन पी.दाहाल), एसबी बान्तवा र सीबी सुब्बा (मार्क्सवाद (पहिलो पुस्तक)/१९७०), आर्बी (काका बाबु/१९८९; पहाड़ी कुइरोभित्र पहिलो लालतारा/१९९१; महान लेनिनको संक्षिप्त परिचय र उनका कतिपय बहुमूल्य कथन/१९९२; महान क्रान्ति-नायक माओत्सुतुङ/१९९४), मोहन पी. दाहाल (झुक्दै नझुक्ने पहाडको छोरो/१९९३; गणेशलाल सुब्बाः व्यक्तित्व र कृतित्व/१९९९); गणेशलाल सुब्बा (इतिहासको दर्शन/२००६ सम्पादन)

काव्यः वीरेन्द्र सुब्बा र दानियल खालिङ (एकान्त/१९५०), महाकवि मोहन दुखुन (मन्दाकिनी/१९८५; कर्मायण/२००४-दुवै महाकाव्य); गोपाल ‘गाउँले’ (अझै एउटा छोरो जन्माउन बाँकी छ/१९८३), पवन चामलिङ ‘किरण’ (अन्तहीन सपनाः मेरो विपना (सन् १९७१-८५ सम्मका कविताहरू)/१९८६; म को हुँ?/१९९३), विकास गोतामे (लड़ वीरबहादुर! तिमी लड़!/१९८८; रगतका रेखाहरू/१९८९; केही नवीनतम कविताहरू/१९९२; कृष्णचुड़ा, लाली गुराँस, ताल गाछ र धुप्पीका रूखहरू/१९९३), पी. अभाव (शिखर पुग्ने क्रममा/१९९९; शब्दाञ्जलि/२०१४), भीमा राई ‘तोलाछा’ (हिउँ फुलेको देशमा तिमी हाम्रो मान्छे/२००१; बुद्धकुमार मोक्तान (कुल्लीको गीत, गीति खण्डकाव्य/२००१), रचना ‘अनाकार’ (क्रान्तिको शंखनाद गर्न तिमी अब ब्यूँझ), ऋषि राई (मनका तरङ्गहरू कविता सागरमा), भीम दाहाल (समृद्ध व्यथाः कङ्गाल अभिव्यक्ति/१९९६; रगतका हस्ताक्षर/२०००), तुम्बेहाङ लिम्बु (भग्न पर्खालको सयपत्री/१९९८),  विजयकुमार सुब्बा (तेस्रो दृश्यको नेपथ्यतिर/२००४), विद्रोही साइँला (कहिले ब्यूँझेला मेरो गाउँ!/२०११); टीका ‘भाइ’ (पैतालातल्तिर/२०१२), राजा पुनियानी (अर्को लश्कर/२०१३); आर.बी.राई (आरबी राई कविताहरूमा/२०१६ सङ्कलकः निर्देश ‘परिमल’), पदम लामा र मदन राई (जनवादी गीति गुच्छ/२००० सङ्कलक/प्रकाशकः निर्देश ‘परिमल’), रुद्र बराल (तेस्रो आँखो/२०२०)

समालोचनाः गणेशलाल सुब्बा (गणेशलाल सुब्बाका साहित्यिक समालोचना र अन्य लेखहरू/२००० सम्पादकः डा. मोहन पी. दाहाल), बद्रीनारायण प्रधान (इन्द्रबहादुर राईको कमिटमेन्ट (‘छाल’ पत्रिकामा दुई अङ्कमा प्रकाशित/१९८१-८४), वी. योन्जन (प्रगतिवादी साहित्यको भूमिका/१९८५ सम्पादन; क्रान्तिधर्मी पाँच उपन्यास र उपन्यासकार/१९९६; यथार्थवादी साहित्य र समालोचना/२००६), रत्न बान्तवा (क्रान्तिकारी रचनाकार विकास गोतामे/१९९३), जस योञ्जन ‘प्यासी’ (‘समद़ृष्टि’-मा समाविष्ट केही समालोचना/२०१६), रूपेश शर्मा (सिर्जना र द़ृष्टि/२०१७), अविकेशर शर्मा (आदिकविको चिरफार/२०२०)

कथाः धनवीर पुरी (नयाँ बाटो/सन् १९८५; मुक्ति-उन्मुक्ति/२००४; पैतालामुनिको जून/२०१७), बद्रीनारायण प्रधान (संगत/२००२), असीत राई (सन्त्रस्त जिजीविषा/२००६), मणिप्रसाद राई (सुनको सपना/२००३), डी.बी.राई (नफुटेको सपना/२००३), नन्द हाङ्खिम (सत्ता ग्रहण/२०१२),रुद्र बराल (चरित्रहरूको खोजीमा अल्मलिँदा/२०१४)

उपन्यासः हर्क योञ्जन ‘विरही’ (दुई मुहान एक स्रोत/१९७२), जय धमला (कहीं उज्यालो कहीं अँध्यारो/१९७९), असीत राई (यन्त्रणा/१९८०; नयाँ क्षितिजको खोज/१९८०), बद्रीनारायण प्रधान (मौली/१९९३), भीम दाहाल (विद्रोह/२००५), रूपनारायण पाठक (दोसाँध/१९९८), रवि शर्मा (अर्को बाटो; संग्राम), राजबहादुर राई (रङ्दु कमानको परिवेशभित्र/२००८)

निबन्धः विजयकुमार सुब्बा (जीवनको निम्ति/२०१०), कुमार नेपाली (मनले चाहेका यथार्थहरू/२०१२), अजय खड्का (पखेटा चलुञ्जेल/२०१५), रुद्र बराल (ब्रह्मपुत्रका लिगेसीहरू/२०२१)

आन्दोलन/इतिहास/समाजशास्त्रमा मार्क्सवादी दृष्टिकोणः जमदग्नि उपाध्याय (जाति समस्या र नेपाली जाति (ऐतिहासिक वस्तुवादको दृष्टिकोणमा/१९८९), जनार्दन थापा (नेपाली-गोर्खाली भाषा विवाद र केही राष्ट्रिय सङ्कटहरूका पृष्ठभूमि/१९९२; भाषा समस्या र मार्क्सवाद (नेपाली भाषा मायन्ता आन्दोलनको सन्दर्भमा)/१९९३), शेरबहादुर सुब्बा (नेपाली भाषा बनाम गोर्खा भाषा/१९९२), आर्बी (नारी सुरक्षा, अधिकार र मुक्ति/१९९९; हाम्रो वासभूमिमा चियाबारी मजदुर आन्दोलनको पहिलो चरण फेरि नयाँ चरण/२०००; १९५५ सालको ऐतिहासिक चियाबारी आन्दोलन यसअघि र त्यसपछि/२००५), टीका ‘भाइ’ (हाम्रो जातीय मुक्ति सङ्घर्षको सय वर्ष/२००८)।

भारतीय नेपाली प्रगतिवादी साहित्यमाथि एकमुष्ठ अध्ययन र अनुसन्धानका लागि उपर्युक्त कृतिहरूले सम्भावनाका ढोका उघारिदिनेछन् भन्ने विश्वास लिएको छु।

अन्तर्वार्ताकार कवि/अनुवादक हुन्             

 

प्रतिक्रिया
Loading...