दोलखा जिल्लाको दोलखामा जन्म भएका डाक्टर मधुकृष्ण श्रेष्ठले इन्जिनियरिङ विषय अध्ययन गर्न लामो समय रुसको मास्कोमा बिताए । त्यहाँबाट नै उनले इन्जिनियरिङ विषयमा विद्यावारिधि पनि गरे । साहित्यमा अति नै रुचि राख्ने श्रेष्ठ पेसाले इन्जिनियर हुन् र अचेल न्युयोर्कमा बसोबास गर्छन् ।

नेपाली साहित्य जगत्मा ‘क्वान्टम साहित्य’ प्रवेश गराउने चर्चित साहित्यकार मधुकृष्ण श्रेष्ठलाई नेपालमा क्वान्टम साहित्यको जन्मदाता एवं प्रयोगकर्ता मान्ने गरिन्छ । प्रस्तुत छ, क्वान्टम साहित्यबारे नेपाली साहित्यकार एवं पाठकहरूलाई अवगत गराउने उद्देश्यले साहित्यपाेस्टका लागि विश्वराज अधिकारीले श्रेष्ठसँग गरेका कुराकानीकाे सम्पादित अंश;

अचेल के गर्दै हुनु हुन्छ । वर्तमानको तपाईँको साहित्यिक गतिविधिबारे केही प्रकाश पारिदिनु हुन्छ?

कोरोना महामारीको चपेटामा विश्व आक्रान्त भैरहेका बेला प्रतिकूल परिवेशमा सामान्य कामधन्दा गर्नुको साथै मानव-सभ्यताको निकट भविष्यबारे चिन्तन-मनन गर्ने र साहित्यिक लेखनलाई निरन्तरता दिने प्रयास गरिरहेको छु ।

यसको अतिरिक्त, पहिलो नेपाली साहित्यिक वेभ -पोर्टल ” फ्रिनेपाल डट कम्” मार्फत लाईभमा विश्व-अन्तरक्रिया कार्यक्रम “समय र सिर्जना” सञ्चालन गर्ने एवं “साप्ताहिक सिर्जना” प्रकाशनलाई नियमित रूपमा अघि बढाउने कामहरू  भैरहेका  छन् । विश्व नेपाली साहित्य महासङ्घ, अनेसास, अनेसलगायत विभिन्न सङ्घ-संस्थाले आयोजना गर्ने भर्च्युअल साहित्यिक कार्यक्रमहरूमा समयले भएसम्म सहभागी हुने गरेको छु । क्वान्टम साहित्यको विकास-कार्य  र  यसैसँग सम्बन्धित कृति-लेखनको काम पनि  भैरहेको छ ।

डा. मधुकृष्ण श्रेष्ठ “माधुर्य”

तपाईँ मास्कोमा लामो समयसम्म बसेर अमेरिका आउनुभएको हो । मस्को के लागि जानुभएको थियो?

सिभिल इन्जिनियरिङ विषयमा उच्च अध्ययन गर्नका लागि तत्कालिन सोभियत सङ्घ गएको थिएँ ।  अध्ययनपश्चात् नेपालमा चलिरहेको लामो सशस्त्र द्वन्द्वका कारण मस्कोमै  रहेर विद्यावारिधि पूरा गर्न विवश भएँ ।

तपाईँको पेशागत क्षेत्र के हो?

मेरो पेशागत क्षेत्र सिभिल इन्जिनियरिङ हो, जसमा मूलत: भवन निर्माण, सडक निर्माण र पूल निर्माणजस्ता  विषयहरू पर्दछन् । न्युयोर्क बसाइमा भवन निर्माणसम्बन्धी कामहरू मै केन्द्रित भएँ ।

साहित्य क्षेत्रमा तपाईँ निकै सक्रिय देखिनुहुन्छ । साहित्यमा लाग्न तपाईँलाई के कुरा-व्यक्ति,विचार, घटना ले प्रेरित गऱ्यो?

समयको “निर्धारित-फ्रेम”मा बाँधिएर जीवन बाँच्नुपर्ने अवस्थाले गर्दा साहित्य क्षेत्रमा सोचेजस्तो सक्रिय हुन नसके पनि जसोतसो सामान्य उपस्थिति जनाउने कर्म भने चलिरहेकै छ । वाल्यकालमा स्कुलको वातावरण र घरको परिवेशले साहित्यप्रति आकर्षित गऱ्यो , विभिन्न साहित्यिक प्रतियोगिताहरूमा प्रथम स्थान ल्याउन थालेपछि त्यो “प्रथम अहम्” ले प्रेरित गऱ्यो, पहिलो कविता-कृति “मैले खोजेको आकाश-धर्ती”को प्रकाशनपश्चात् समालोचक र अग्रज  साहित्यकारहरूको हौसलाले झनै प्रेरित गऱ्यो  र बारम्बार मेरो साहित्यिक रचनाहरूको चोरी-प्रकाशनको विविध प्रकरण र घटनाहरूले मभित्र आत्मबल बढायो ।

नेपालमा ‘क्वान्टम साहित्य’को जनक वा प्रथम प्रयोगकर्ता तपाईँ हो ? वा अरू को हो ?

नेपाली साहित्यले विश्व साहित्यबाट धेरै कुराहरू ग्रहण गरेको देखिन्छ, हामीले पनि नेपाली साहित्यमा विविध प्रयोगहरू गरेर विश्वलाई दिन मिल्ने कुनै नयाँ कार्य गर्न सके राम्रो हुने थियो भन्ने भावनामा डुबेर चिन्तन-मनन गर्ने क्रममा ‘क्वान्टम साहित्य’ को अवधारणा जन्मेको हो मेरो मानस-पटलमा, त्यसपछि कविता र कथा विद्याहरूमा नूतन सोचको विविध प्रयोगहरू गर्दै आएको हुँ । नेपालमा मैले ‘क्वान्टम साहित्य’ को अन्य जनक वा प्रथम प्रयोगकर्ताको नाम सुनेको छैन ।

विश्वराज अधिकारी (अमेरिका)

क्वान्टम साहित्य भनेको के हो?

सङ्क्षेपमा भन्नुपर्दा, क्वान्टम साहित्य  – यो विश्व साहित्यमा एउटा नूतन सोच हो, प्रयोग हो, वैज्ञानिक चिन्तन हो, एउटा सिर्जनात्मक प्रस्तावना हो जो स्थिर (Static) वाद  वा कोरा सिद्धान्तका प्रचलित संरचना, मान्यता र परिधिहरू नाघेर अगाडि बढ्छ । यो आफैँमा कुनै सिद्धान्त, वाद वा धारा होइन, बरु यसले “काव्य-तत्त्व” लाई  स्वतन्त्र हुन  दिएर नैसर्गिक सिर्जनालाई बढावा दिन्छ । कुनै पनि निर्धारित सिद्धान्त वा पूर्वनिर्धारित संरचनामा लेखन बाँधिएपछि त्यसको बहुआयामिक अस्तित्व समाप्त नभएपनि खुम्चिने सम्भावना नहोला भन्न सकिन्न । क्वान्टम साहित्य जीवन र जगतलाई बहुआयमिक दृष्टिकोणले हेर्ने नव क्वान्टम दर्शन(Neo -Quantum Philosophy)को एउटा विद्या हो ।  क्वान्टम साहित्य अन्तर्गत साहित्यका सबैजसो विद्याहरूको अस्तित्व-निर्वाह सम्भव छ, जस्तो कि क्वान्टम कथा, क्वान्टम कविता, क्वान्टम निबन्ध, क्वान्टम उपन्यासआदि । अहिले विश्वमा क्वान्टम कम्प्युटर, क्वान्टम गणित, क्वान्टम उपचार-विधि, क्वान्टम विज्ञान, क्वान्टम मनोविज्ञानजस्ता शब्द संयोजनहरू सामान्य बनिसकेका छन् ।

यसरी नव-क्वान्टम दर्शन वा क्वान्टम साहित्यको प्रसङ्ग चलिरहँदा क्वान्टम भन्ने शब्द आफैँमा के हो भन्ने जिज्ञासा उठ्नु स्वाभाविक छ ।

ल्याटिन भाषामा क्वान्टम भन्ने शब्दले मात्रा ( Quantity) वा परिमाण (magnitude)लाई जनाउँछ । यसको आधुनिक बुझाइले कुनै पनि अन्तःक्रियामा संलग्न हुने पदार्थ ( Matter) वा ऊर्जा (Energy)को सम्भव भएसम्मको न्युनतम असतत मात्रा (Discrete unit) लाई इङ्गित गरेको पाइन्छ । भौतिक विज्ञानको प्रचलित परिभाषा अनुसार क्वान्टम (Quantum) भनेको विकिरणको आवृत्ति (Frequency of the radiation) को अनुपातमा संलग्न हुने ऊर्जाको असतत परिमाण हो । भौतिक शास्त्री माक्स प्लाङ्क (Max Planck) ले सन् १९०० मा प्रस्तुत गरेको कार्यपत्रमा  गणितीय समीकरण-सूत्रमा ऊर्जाको इकाई (Unit) को रूपमा सामान्य बोलीचालीको शब्द “क्वान्टम” प्रयोग गरेपछि उक्त शब्दले वैज्ञानिक क्षेत्रमा व्यापकता पाएको हो । क्वान्टम विज्ञानको विकास भएपछि नै सुक्ष्मतम पदार्थ र ऊर्जाको प्रकृतिको व्याख्या सम्भव भएको हो, यसले जीवन र जगत्लाई हेर्ने परम्परागत दृष्टि र मान्यताहरूको थप कायापलट गरिरहेको छ ।

नव क्वान्टम दर्शन र क्वान्टम साहित्यमा “क्वान्टम” भन्ने शब्दले विचार, सोच, चिन्तन वा प्रकृतिमा विद्धमान कुनै पनि तत्त्वको सुक्ष्मतम अस्तित्वलाई बुझाउँछ । क्वान्टम साहित्यमा “काव्य-तत्त्व” भनेको मूल(केन्द्रिय) विचारको एक झिल्को अर्थात् एक क्वान्टम विचार हो जो विस्तारित हुँदै गएपछि एउटा पूर्ण  रचनाको रूपमा अभिव्यक्त हुन्छ । यसरी नव-क्वान्टम दर्शन र क्वान्टम साहित्यमा विशेषणको रूपमा प्रयोग हुने क्वान्टम भन्ने शब्दलाई भौतिक विज्ञानमा ऊर्जा वा पदार्थको सूक्ष्मतम मात्रा (परिमाण) जनाउनका लागि प्रयोग गरिन्छ भने साहित्यमा चाहिँ  क्वान्टको अर्थ पृथक् हुन्छ र साहित्यमा यसलाई विचार (चेतना) को सूक्ष्म मात्राको रूपमा वा काव्य तत्त्वको रूपमा लिने गरिन्छ ।

नव-क्वान्टम दर्शन र क्वान्टम साहित्यको सोचको आरम्भ कसरी भयो ?

सामान्यतः  मानव सभ्यतामा प्रयोग भएका अधिकांश सिद्धान्त र विचारधाराहरू असफल भएपछि यो संसारकोलागि समय-सापेक्ष, वैज्ञानिक  र जीवनोपयोगी दर्शनको अभाव भैरहेको छ । अस्तित्वमा रहेर जीवनलाई प्रत्यक्ष प्रभाव पार्ने आधारभूत तत्त्वहरूलाई गौण मानेर रचना गरिएका  दर्शनहरूको विकल्पको खोजी नयाँ चुनौतीमात्र होइन आजको समयका लागि अपरिहार्यता पनि बन्न पुगेको छ भन्दा अतिशयोक्ति  नहोला । क्वान्टम दर्शन भौतिक विज्ञानमा आधारित छ ।  नव-क्वान्टम दर्शनको आधार  भौतिक विज्ञान र पराभौतिक क्षेत्र दुवै हो ।

मान्छे र संसारलाई चलायमान बनाउने मूल-तत्त्व नै चेतना हो, जड अवस्थामा त्यो एक क्वान्टम स्वर-तरङ्ग हो जो कुनै स्वरूपमा अभिव्यक्त हुने गर्दछ : मूर्त-अमूर्त दुवै चेतनाको अनन्त खेल हो, अनुभूतिहरूको मेल हो, तर्कको भेल हो; त्यसैले हामी शब्दको बैशाखी टेकेर अर्थ र दर्शन खोज्नमा अभ्यस्त छौँ – अर्थ शून्यताको पनि हुन्छ, अनुपस्थितिको पनि हुन्छ  । यो सबै कुराको रहस्य बुझ्न म अन्तर्मनको बहुमुखी आयामहरूमा हराउने गर्दछु: यथार्थको सिमाना दृष्टिकोणको जग्गाभन्दा पर छ, निकै पर । आज विज्ञानले पदार्थको  मात्र होइन चेतनाको अस्तित्व पनि स्विकारिसकेको छ;  जीवन र जगत्लाई बहुआयमिक दृष्टिकोणले हेर्ने नव-क्वान्टम दर्शन आफैँमा एउटा नूतन खोज हो, अनुसन्धान हो, अध्ययन हो ।  नव-क्वान्टम दर्शनको प्रयोगको आरम्भ क्वान्टम साहित्यमा भैरहेको छ ।

 क्वान्टम साहित्य लेख्नुको उद्देश्य के हो र यो कसरी अन्य विद्या भन्दा फरक छ?

कुनैबेला पृथ्वीलाई चेप्टो भनेर बयान गरिन्थ्यो, जीवन विकास-क्रमको सन्दर्भमा चार्ल्स डार्विनको Evolution सिद्धान्तलाई सत्य मानिन्थ्यो, पदार्थ र चेतनाको अन्तःसम्बन्धमा चेतनाको भूमिकालाई  गौण मानिन्थ्यो – विज्ञानको अन्वेषणले तिनीहरूलाई गलत साबित गर्दै अधिकांश मान्यताहरूको कायापलट गराइदिएको छ, समयको अस्तित्वमाथि नै प्रश्न-चिह्न खडा गरेको छ र समयलाई ऊर्जाका रूपमा हेरिनुपर्दछ जस्ता धारणाहरू अघि सारिएका छन्  , जीवनलाई “प्रक्रिया” को संज्ञा दिइँदै छ,  ब्रह्माण्डको उत्पत्ति र स्पेसको आयामबारे चित्तबुझ्दो सिद्धान्तहरू उपलब्ध नहुँदा थप अनुसन्धानहरू भैरहेका छन्  । पछिल्लो दशकमा टड्कारो देखिएका हजारौँ परिवर्तनहरूमध्ये जीवन र जगत्बारे प्रत्यक्ष सरोकार राख्ने दर्शन, मनोविज्ञान, अर्थशास्त्रजस्ता महत्त्वपूर्ण पक्षहरूलाई अति नै  प्रभावित पारेको देखिन्छ । सिङ्गो विश्वलाई एउटै “भर्च्युअल गाउँ” बनाएर मानवजीवनमा अद्भूत उथलपुथल मच्चाइरहेको सञ्चार र सूचना प्रविधिको  विकासले नूतन चिन्तन र मान्यताहरूलाई मार्ग प्रशस्त गर्न नौलो परिवेश सृजना  गरेको छ । लेखक र पाठकको दूरी न्यून गराएको छ, रचना सम्प्रेषण-प्रक्रिया सहज र सरल बनाइदिएको छ । प्रकृति सम्पूर्ण सम्भावनाहरूको श्रोत, मानिस सम्भावनाको केन्द्र र मानवीय चेतना विकास र परिवर्तनको मूल कारकको रूपमा देखिएको छ । पूर्वी जगत्मा विचार र दर्शनको भरपूर खानी छ, पश्चिमी जगत्मा विज्ञानको सम्भावना छ – यी दुई धारलाई समन्वय गर्दै नयाँ धारको साहित्य सिर्जना गर्नुका साथै जीवन र जगत्का बहुआयमिक एवं सूक्ष्म पक्षहरूलाई उजागर गर्नु  नै क्वान्टम साहित्यको मूल उद्देश्य हो ।

यसले वैज्ञानिक, मनोवैज्ञानिक, भौतिक र पराभौतिक यथार्थलाई कुनै पनि वाद, सिद्धान्त, सूत्रको घेराबन्दीबाट मुक्त भएर स्वच्छन्द, परिस्कृत, कलात्मक शैली/ ढङ्गले अभिव्यक्त गर्दै आफ्नो पृथक् पहिचान निर्माण गरिरहेको छ ।

क्वान्टम साहित्यको उद्गम भूमि कहाँ हो?

क्वान्टम साहित्यको उद्गम भूमि मेरो मानसपटल नै हो । क्वान्टम साहित्यले मेरो मानसपटलबाट जन्म पाउँदा म त्येति खेर ‘रुस महासङ्घ’को राजधानी मस्कोमा थिए । झन्डै एक दशकअघि मेरो बसोबास मस्कोमा थियो ।

क्वान्टम साहित्य अन्य विद्याझैँ किन चर्चामा नआएको होला?

नेपाली साहित्यमा पछिल्लो समयमा के कस्ता नूतन प्रयोगहरू भैरहेका छन् , के कस्ता चिन्तन र दर्शनहरूको विकास भैरहेका छन् भनी    चासो राख्ने अन्वेषक, समालोचक र जिज्ञासुहरूले क्वान्टम साहित्यबारे विभिन्न भाषामा अन्तर्वार्ता  र लेखहरू प्रकाशन गरेका छन्  । म आफैँले पनि आफू सहभागी हुने गरेको  प्रत्येक कार्यक्रममा क्वान्टम साहित्यको “विज्ञापन / वकालत/ भाषण”, प्रचार-प्रसार सहित नव-क्वान्टम दर्शनको परिचय दिने अथकित प्रयास गरिरहेको नै छु । व्यक्ति विशेषले थाह नपाएको निहुँमा “चर्चा मै नआएको” भनेर ठोकुवा गर्न मिल्ला र? – एउटा प्रतिप्रश्न  उठाउने दुस्साहस  गरेँ ।

क्वान्टम साहित्यको भविष्य कस्तो देख्नुहुन्छ?

समय परिवर्तनशील छ र सोही अनुरूप मान्यताहरू पनि परिवर्तन भैरहन्छन् – यो प्रकृतिको नियम हो । कुनै समयमा शास्त्रीय छन्दबिना कविता लेखिँदैनथ्यो, कुनै कुरा लेख्न प्वाँख वा निगाँलोलाई कलमका रूपमा प्रयोग गरिन्थ्यो, अहिले अवस्था पृथक् छ – यो अन्तर्वार्ताको उत्तरहरू सोझै डिजिटल अक्षरमा लेखिएका छन् । लेखकको लेख-रचना छाप्न धेरै महिना र कृति प्रकाशन गर्न केही वर्ष कुर्नुपर्थ्यो ।  अहिले मानिसको जीवनशैली, प्रविधि, चिन्तनका विषयवस्तुलागायत धेरै कुराहरूमा आमूल परिवर्तन आइसकेका छन् । नव-क्वान्टम दर्शन र क्वान्टम साहित्य समयसापेक्ष मात्र होइन समय सँगसँगै निरन्तर चलिरहने हुँदा यिनीहरूको राम्रो वर्तमान र उज्ज्वल भविष्य देखिरहेछु । क्वान्टम साहित्यको  आयामहरूलाई हामीले क्षितिजसँग तुलना गर्न सक्छौँ: एउटा गाउँबाट हेर्दा अर्को गाउँको डाँडोमा घाम अस्ताउँछ, त्यो गाउँमा पुगेपछि थाह हुन्छ कि घाम उदाउने र अस्ताउने क्षितिज अर्कै छ –  यो सापेक्षिक बुझाइको अन्त्य हुँदैन । क्वान्टम साहित्य समयको माग हो , यसको आरम्भ छ अन्त छैन, यो अमूल्य  जीवनको अनन्त यात्राजस्तै लागिरहेछ ।

क्वान्टम साहित्यमा रुचि राख्नेहरूका लागि यसको अभियन्ता बनेर सहकार्य गर्दै अघि बढ्नका लागि ढोका खुला छ कि छैन ? क्वान्टम कविता लेख्न चाहनेहरूलाई के कस्तो सुझाव दिन चाहनुहुन्छ ? पाठकहरूलाई के भन्न चाहनुहुन्छ? 

क्वान्टम साहित्य विश्व साहित्यमा बनिरहेको नयाँ राजमार्ग हो – थोरै प्रारम्भिक कामहरू भैरहेका छन् , गर्न पर्ने  कामहरू धेरै छन् , जो जो स्रष्टाहरू यसमा  सहभागी  हुनुहुनेछ – सबैको समान सम्मान र साझा उत्तरदायित्व  हुनेछ, प्रवेशद्वार खुल्ला छ र हुनेछ । राजमार्ग बनाउनेको मात्र हुँदैन, सबैको हुन्छ – यो त्यस्तै खुल्ला “प्लाटफर्म”/प्रयोगशाला हो । यहि परिप्रेक्षमा क्वान्टम साहित्यबारे सुन्ने, चिन्तन -मनन  गर्ने र चासो  राख्ने  महानुभावहरूलाई केही  कुरा भन्न चाहन्छु –

सर्जक र अभियन्ताहरूलाई : स्वागत छ, सहकार्य गरौँ ।  समयले  नूतन सिर्जनाको अपेक्षा गरिरहेको छ । नयाँ  साहित्य सिर्जनाका लागि स्वस्थ बहस  गरौँ , नूतन सोचहरूको समीक्षा गरौँ ।  नयाँ अभियानको अभिन्न अङ्ग बनौँ । जड सिद्धान्त, वाद, धारा, सूत्र-पद्धति वा पूर्वाग्रहहरूबाट स्वतन्त्र हुँदै सर्जकको सहज अनुभूति, विविध विचार र  नैसर्गिक भावनालाई कलात्मक शैलीमा सशक्त रूपमा अभिव्यक्त गराउनका लागि नूतन प्रयोगहरू गरौँ, नयाँ साहित्यको खेतीपाती गरौँ क्वान्टम साहित्यको जग्गामा !

पाठकहरूलाई: लेखक वा सर्जकहरूले जेजस्तो लेख्छ, जे जति गर्छ मूलत: त्यो सबै पाठकहरूकै लागि हुन् ।  झट्ट सुन्दा “क्वान्टम” भन्ने शब्दले भौतिक विज्ञानलाई नै बढी इङ्गित गरेजस्तो प्रतीत भए पनि यसलाई सहज  रूपमा जुन साहित्यिक धरातलमा ओरालेर प्रयोग  गर्ने काम  भएको छ- यो अलौकिक घटना (Phenomenon ) पक्कै होइन, यसलाई राम्रोसँग बुझ्न सकिन्छ ।  प्रज्ञान,विज्ञान, मनोविज्ञान, भौतिक, पराभौतिकजस्ता विविध आयामहरूलाई आत्मसात् गर्दै नयाँ साहित्यको सृजना गर्ने सामान्य अभियान हो – क्वान्टम साहित्य, जसको क्वान्टम विज्ञानसँग “नँग – मासु” को कुनै सम्बन्ध छैन । अबका साहित्य कस्तो हुनुपर्दछ भन्नेबारे आ-आफ्नो  पाठकीय सोच, समीक्षात्मक चिन्तन र प्रतिक्रियाहरू दिने गर्नुहोस्, लेखकहरूलाई झक्झाक्याउनुहोस् – यसले लेखक र पाठकबिच अन्तःक्रियात्मक  सम्बन्ध विस्तार गर्न सहयोग पुग्नेछ ।

मैले क्वान्टम साहित्यबारे धेरै ठूलो बखान त गरेँ तर थोरै भए पनि क्वान्टम कविता प्रस्तुत नगरेको खण्डमा हाम्रो अन्तःसंवाद अधुरो हुने सम्भावित जोखिम पनि देखिरहेछु, त्यसैले क्वान्टम कविताको नाममा प्रकाशित भएका धेरै रचनाहरूमध्ये दश वर्षअघि लेखिएको पहिलो  लामो कविता “समुद्र र म ” को केही अंश र केही वर्षअघि लेखिएको पूर्ण कविता “जीवन-चक्र दृष्यहरूमा … ” प्रस्तुत गर्ने जमर्को गरिरहेछु :

 

क्वान्टम कविता -१

“समुद्र र म “

…” मिराज ” को बिस्कुन सुकाएर बसेको मरुभूमिलाई

नस्टाल्जा “ओयसिस !” बल्झिरहेको बेला

नदेखेर समय-एक्सरे

समुद्रको गीत गाइदिएछु…

यो असमन्जस घडीमा

सारेगमको सप्तक फोरेर टाढा-टाढा भागिरहेछन् पीडा-स्वरहरू

दुखको न्युक्लिएस वरिपरि आ-आफ्नै कक्षमा भौँतारिरहेका –

मरुभूमि

पानी

तितर-बितर छौँ अहिले आफ्ना अक्ष/कक्षबाहिर-

ठोकिएर अनुपस्थित समयको गजधम्म भित्तामा

जहाँबाट प्रारम्भ हुन्छ

शून्यताको महायात्रा !

यो दृश्यको उपस्थिति –

शब्दमा छैन / आवाजमा छैन

रूपमा छैन / रङ्गमा छैन

तरङ्गै तरङ्गको क्वान्टम संसार:                                          

पदार्थ, चेतना र ऊर्जाको त्रिवेणी

म त्यहीँ हराउन थालेँ

क्वान्टम-आँधीभित्र देख्दैछु:

सृष्टिकर्तासँगको गोप्य वार्तालाप धाइरहन्छ नित्से

दास क्यापिटल रुजु गराउन कुदिरहन्छ मार्क्स

कलम खोज्दै हिँड्छन् सेक्सपिएर र तोल्स्तोई

पसिना पुछ्दै हेगेललाई कुरिरहेछ आइन्स्टाइन

र दुःखको क्रेमाटोरियामा लम्पसार क्राइस्टमाथिका प्रश्न-ट्याग देखिरहेछु –

“…किन मारिन्छन् देह आफूलाई “देवता हुँ” भन्नेहरूको ?

किन ढालिन्छन्  देह आफूलाई “महामानव हुँ” भन्नेहरूको …?”

शनैः शनैः अस्तु बग्छन्

क्वान्टम-नदीमा…. !

प्रत्यक्ष इन्द्रिय-अनुभूतिद्वारा दुर्गम-क्षेत्र घोषित

क्वान्टम-संसार:

प्रकाश र तरङ्गहरूको लेकबेँसी

जहाँबाट निस्केको अराजक स्वतन्त्रता-

मेरा सामु ब्रह्माण्ड बनेर घुमिरहेछ

एक-एक मुठी जिजीविषा लिएर

प्रत्येक मान्छे आइरहन्छ / गइरहन्छ

म बाहिरको “म” तिम्रा सामु हिँडिरहेछ… 

अवतार-लीलाका आगामी दृष्यहरूमा

खेल्दै आत्म-अस्वीकृत भूमिका

सुखान्त नाटक ” द ग्याङ्ग अफ गड्स ” को

जहाँ सृष्टि

सत्यको अग्नि-युद्धमा होमिएर

उद्गम-विन्दुमा फर्कन्छ

भगवान्को हलुङ्गो लास बोकेर …

सौन्दर्य र रङ्गहरूको जुलुसबाहिर  

भोक र शोकको अस्तित्व-कण-

अर्थात् एक डल्लो परमाणु फोर्दा

चोइँटिएका ‘हेग्स बोसोन’

‘भगवान्को धूलो’ हो कि ?

हेर्दै छु ….

नबुझेर किनाराको अर्थ

शून्यतामा

   बगिरहेँ

         म  

            बगिरहन्छु …

सिर्जनाको आयाम नाप्न

ज्ञान/ विज्ञानले

भ्रमको जङ्गल हुर्काएको समय

यतिखेर –

घडीको सुइबिना कतै हिँडिरहेको होला…

यता-

काव्य-धुनी जगाएर

मभित्र समाधिस्थ कवि –

कलमको भिरबाट ओर्लेर

शब्द-संसारमा हिड्न थाल्छ

अमूर्त अनुभूतिहरूसँगै

शब्दको हरियो लेउ वा शैलीको ठाडो ओरालोमा चिप्लेर

एकाएक ऊ लड्छ, फेरि उठ्छ

र सिर्जनाको नूतन जग्गातिर अघि बढ्छ ….

यो अभ्यस्तताको मज्जाभित्र घन्किरहेछ

जन्मनु र मर्नुको निर्विकल्प/ मौन स्वीकारोक्ति !

र जीवनलाई उन्मुक्तिको सान्त्वना दिँदै

म तिम्रा आँखा सामु –

झुल्किरहन्छु

अस्ताइरहन्छु

झुल्किरहन्छु…

क्वान्टम कविता – २

“जीवन-चक्र दृष्यहरूमा …”

जीवन कोलाइडरमा

छेदित / विच्छेदित

सृष्टिको एक कण

म –

संसारको रङ्गमञ्चमा

पात्र-दर्शक-निर्देशक बनेर

अपरिमित दृश्यहरू खेलिरहेछु

द्वैध पर्दाहरूमा :

रङ्ग र सुवासको एउटा समीकरण >सौन्दर्यको नाममा –

फूलहरू फूलिरहेछन् /फक्रिरहेछन्

फूलहरू चुँडिएका छन् /झरिरहेका छन् 

….. ….. ….. ….. …..

गति र स्पेसको एउटा मिलन >विचरणको नाममा –

चराहरू चरिरहेका छन् / उडिरहेका छन्  

चराहरू झारिएका छन् / झरिरहेका छन्

….. ….. ….. ….. …..

ऊर्जा र आकारको जम्काभेट > द्रव्यको नाममा

नदीनाला बगिरहेका छन् / जमिरहेका छन्

नदीनाला छेकिएका छन् / सुकिरहेका छन्

….. ….. ….. ….. …..

स्वर र भावनाको संश्लेषण> सङ्गीत वा धूनको नाममा

बाँसुरीहरू ब्युँझेका छन् / बजिरहेका छन्

बाँसुरीहरू मौन छन् / फुटिरहेका छन्

….. ….. ….. ….. …..

य-

सरि …..

स्वेत-दूलोबाट –

केही निस्किरहेका छन्

कृष्ण-दूलोभित्र

केही हराइरहेका छन्

“आरम्भ र इति” को समीकरणमा –

अस्तित्ववोधको

प्रत्येक चेतन-अवतार “म”

जीवनको पर्याय हुँ

फरक फरक दृष्यहरूमा !

….. ….. ….. ….. …..

यो नित्य परिवर्तन

प्रकृतिको अभिव्यञ्जना

मान्छेको जीवन –

एम्बुस छल्दै गरेको अस्तित्वलाई

भोगाइले बर्साउने मीठो चुम्बन रहेछ

भोगाइले लुट्ने जङ्गली संसर्ग रहेछ !