सात दशकभन्दा लामो समयको नेपाली साहित्यको तथ्य, सूचना र दस्ताबेजहरूको अलिखित इतिहासका साक्षी हुन् ८४ वर्षीय नरबहादुर दाहाल । जसको जन्म पिता स्व. जीतबहादुर दाहाल र माता स्व. मनमाया दाहालका जेष्ठ पुत्ररत्नका रूपमा ५ सेप्टेम्बर १९३७ मा कालेबुङमा भएको थियो । दाहालका प्रकाशित कृतिहरू उन्माद (कविता, १९५८), वरपीपल (कथा, १९६०), मध्यरातको तारा (उपन्यास, १९६४), तिम्रो प्रीत नै मेरो गीत (कविता, १९७०), नरेन्द्रप्रसाद कुमाइँ (जीवनी, २०००), गङ्गाप्रसाद प्रधान (जीवनी, २०११) र गोर्खा महानायक डम्बरसिंह गुरूङ (जीवनी, २०१५) रहेका छन् । दाहालद्वारा सम्पादित कृति अमर कथा (कथा, १९६२), सिक्किम प्रसङ्ग (लेख, १९६८), सेलको माला (हास्य व्यङ्ग्य कविता, १९६६) र अजम्बरी गङ्गाप्रसाद प्रधान (लेख, २०१५) रहेका छन् भने पत्रपत्रिकामा अरूणोदय (१९४९), उद्गम (१९५०), सधैँ गौरव राख्ने छौँ गोरखाको (१९६०), गोर्खा (१९६२), सङ्गम (१९६८), प्रतिनिधि (१९७५) लगायत रहेका छन् ।
चलचित्रको वितरक, कथा, कविता, उपन्यास, जीवनी, बालसाहित्यदेखि साहित्येतिहाससम्मका विभिन्न विधामा दाहालले कलम चलाइरहनुभएको छ । २०१० देखि कालेबुङलाई छोडेर सुकुना (दार्जीलिङ) मा बसोबास गरिरहनुभएका नरबहादुर दाहालसँग साहित्यपोस्टका लागि दीपक सुवेदीले गरेको कुराकानीकाे सम्पादित अंश;
जीवनको भोगाइ, प्राप्ति र पीडाका विम्बमिश्रित बाल्यवस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ? कहाँ र कसरी बित्यो बाल्यवस्था ?
मेरो बाल्यकाल सम्पूर्ण रूपमा दार्जीलिङ जिल्लाको कालेबुङमा बित्यो । त्यसबेला हाम्रो परिवार आजजस्तो ठूलो थिएन । आमा बाबासँग सानैमा बिछोडिनुपरेकाले हजुरआमा र हजुरबाबाको संरक्षणमा हुर्किएँ । एउटी बैनी थिई जसको लालनपालन काकाको घरमा भयो । एक्लो नाति भएकाले खुबै लाडप्यारसित पालन पोषण भयो । अभिभावकहरू अल्पशिक्षित थिए । उनीहरूलाई आफूले पढन नपाएको धोको थियो । यसैले ‘पढीगुणी के काम हलो जोत्यो खायो माम’ को जमाना भए पनि छोरा नातिको शिक्षाप्रति उनीहरू ज्यादै आग्रही थिए । यसैले समय अनुसारको शिक्षा हासिल गरेँ ।
नेपालमा कवि कलाकारसँग तपाईँको कतिको उठबस भयो ? के गर्नु भयो साहत्यिमा प्रवेश गर्दा सुरुका दिनमा ?
एकताका सन् १९५५/६० तिर कालेबुङमा जति पनि साहित्यिक र सांस्कृतिक कार्यक्रमहरू हुन्थे सबै मेरै आयोजनामा हुन्थ्यो । मैले नेपालका रेडियो कलाकार तारादेवी, नातिकाजी, शिवशङ्कर, पुष्प नेपाली इत्यादि घुम्दै कालेबुङ आएका थिए । उनीहरूले एउटा कार्यक्रमका निम्ति अनुरोध गरे । मैले उनीहरूको कार्यक्रम कालेबुङमा आयोजन गरेँ । योबाहेक पारिजात र मञ्जुलको राल्फा, गणेश रसिक र हिरण्य भोजपुरेको लेकाली इत्यादि कार्यक्रमको अभिभारा पनि ममाथि नै पऱ्यो । त्यसकालमा नेपाली सङ्गीत कला निकेतन नामक संस्थाको म १२ वर्ष अध्यक्ष रहेँ । जसले कालेबुङमा प्रतिवर्ष सङ्गीत प्रतियोगिता आयोजन गर्थ्यो । योबाहेक अम्बर गुरूङ नाइट जस्ता कार्यक्रमहरू पनि हुन्थे । साहित्यिक कार्यक्रमहरूमा सिद्धचरण, भवानी भिक्षु, केदारमान ‘व्यथित’ इत्यादिको सम्मान कार्यक्रमहरू आयोजन गरियो ।
उसबेला तपाईँका समकालीन र सहकर्मीहरू को को हुनुहुन्थ्यो ? कसरी सम्झनुहुन्छ ?
त्यस बेलाका मेरा समकालीन सहकर्मी एक जनालाई मात्र सम्झन्छु । ती हुन् अर्जुनकुमार प्रधान । उनी सहकर्मीमात्र न भएर संरक्षक पनि थिए । उनी कालेबुङका सम्पन्न परिवारका छोरा थिए । यसरी कार्यक्रम गर्नुपर्दा उनी सम्पूर्ण खर्च आफैँ गर्थे । यति मात्र होइन उनी निर्भिक पनि थिए । उनी आगो सहन्थे तर अन्याय सहँदैनथे । उनी अन्यायको विरोधमा जहिले पनि अग्रसर हुन्थे । उनी मेरा समकालीन सहकर्मी थिए । यसैले हामीले गरेको प्रत्येक कार्यक्रम सफल हुन्थ्यो । कुनै पनि संस्था सङ्गठनहरूमा सहकर्मी सदस्यहरू थेरै हुन्छन् तर एक दुई जना निःस्वार्थ सहकर्मीहरूको परिश्रम र त्यागले मात्रले संस्थाको कार्यक्रम सफल हुन्छ । म यसरी नै मेरा सहकर्मी संरक्षक अर्जुनकुमार प्रधानलाई सम्झन्छु ।
उसबेला कुनकुन कार्यक्रममा भाग लिन नेपाल जानुभयो ? अहिले ती दिनलाई कसरी सम्झनुहुन्छ ?
म कहिले तीर्थयात्रीको रूपमा र कहिले विभिन्न साहित्यिक एवम् सांस्कृतिक कार्यक्रमहरूमा भाग लिन नेपाल गएको हुँ । यसरी धेरैपल्ट नेपाल भ्रमणमा गए पनि निम्नलिखित कार्यक्रमहरूमा गएको अविस्मरणीय छ ।
(क) मदन पुरस्कार वितरण सन् १९५७ मदन स्मारक गुठीको निमन्त्रणामा काठमाडौँ भ्रमण । काठमाडौँको ‘बगर’ पत्रिकाको सन् १९९८ को अङ्कमा एउटा नियात्रा ‘फ्ल्यासब्ल्याकमा काठमाडौँ यात्रा’ प्रकाशित छ । त्यसमा यसको सविस्तार वर्णन छ ।
(ख) मुनामदन नाटक लिएर जुलाई सन् १९६२ मा राजा महेन्द्रको जन्मोत्सवमा काठमाडौँ भ्रमण ।
(ग) नेपाली साहित्य संस्थानको उद्घाटन र नेपाल राष्ट्रव्यापी साहित्य सेमिनार–केदारमान व्यथितको निमन्त्रणामा सन् १९६३ मा अगमसिंह गिरी, महानन्द पौडेल र मैले पर्यवेक्षक प्रतिनिधिको रूपमा भाग लिएका थियौँ । मैले ‘राष्ट्र निर्माणमा साहित्यकारको भूमिका’ शीर्षक कार्यपत्र पढेको थिएँ । यसै कार्यक्रममा राजा महेन्द्रले कवि अगमसिंह गिरीलाई स्वर्णपदक प्रदान गर्नुभएको थियो । यस कार्यक्रमको अध्यक्षता डा. ऋषिकेश शाहले गर्नुभएको थियो । अन्य कार्यपत्र पढ्नेहरूमा डा. तारानाथ शर्मा, बालकृष्ण पोखरेल इत्यादि पनि थिए । मेरो यो कार्यपत्र संस्थानको मुखपत्र ‘हिमानी’ मा प्रकाशित छ ।
(घ) राजा वीरेन्द्रको राज्याभिषेकमा नेपालबाहिरको सांस्कृतिक टोलीको नेतृत्व सन् १९७१ यसका निम्ति शुभराज्याभिषेक पदक ।
(ङ) महाकवि शताब्दी सम्मान ग्रहण गर्न काठमाडौँमा सन् २०१० मा ।
(च) अन्ताराष्ट्रिय देनिरुख पुरस्कार ग्रहण गर्न सन् २०१४ काठमाडौँमा ।
तपाईँ पहिलोपटक नेपाल प्रवेश गर्दाको क्षण के कस्तो थियो ।
नेपालको मदन पुरस्कार वितरण समारोहमा भाग लिन म पहिलोपल्ट सन् १९५७ मा काठमाडौँ गएको थिएँ । यो मदन पुरस्कार वितरणको दोस्रो वर्षको कार्यक्रम थियो । यस वर्ष साहित्यमा लीलाध्वज थापाको ‘मन’ उपन्यासको पाण्डुलिपिलाई पुरस्कार दिइएको थियो ।
आयोजकमा उसबेला कोको हुनुहुन्थ्यो ?
यो कार्यक्रमको आयोजक मदन पुरस्कार गुठी थियो ।
त्यस कार्यक्रममा कोको जानुभएको थियो ?
यस कार्यक्रममा भाग लिन समालोचक रामकृष्ण शर्मा र म काठमाडौँ गएका थियौँ । रामकृष्ण शर्मा मदनपुरस्कार गुठीका सल्लाहकार हुनुहुन्थ्यो ।
अनि दोस्रोपटक चाहिँ कुन कार्यक्रममा कोको जानुभयो ?
दोस्रोपल्ट म नेपाली साहित्य संस्थानको उद्घाटन (सन् १९६३) मा भाग लिन पर्यवेक्षक प्रतिनिधिको रूपमा काठमाडौँ गएको थिएँ । यस कार्यक्रमको आयोजक नेपाली साहित्य संस्थान थियो । यसमा केदारमान ‘व्यथित’, कृष्णचन्द्रसिंह प्रधान इत्यादि थिए । दार्जीलिङबाट हामी अगमसिंह गिरी, महानन्द पौड्याल र म थियौँ । यसै समारोहमा राजा महेन्द्रले अगमसिंह गिरीलाई स्वर्णपदक दिएका थिए । मानवतावादी नेता डा.ऋषिकेश शाहले अध्यक्षता गरेको यस सत्रमा मैले ‘राष्ट्र निर्माणमा साहित्यकारको भूमिका’ कार्यपत्र पढेको थिएँ । जो संस्थानको मुखपत्र ‘हिमानी’ मा प्रकाशित छ । अन्य कार्यपत्र पाठ गर्नेहरूमा बालकृष्ण सम, महानन्द सापकोटा, तारानाथ शर्मा, बालकृष्ण पोखरेल इत्यादि पनि थिए ।
नेपाली चलचित्रको अवस्था कस्तो थियो त्यतिबेला ?
चलचित्र बनेकै थिएनन् । सूचना विभागको निर्देशक त्यतिबेला नारायणप्रसाद बास्कोटा थिए । पहिलोपटक सूचना विभागले भर्खर हिरा सिंहको निर्देशनमा ‘आमा’ बनाएको थियो । मैले यसलाई असम र पूर्वाञ्चल क्षेत्रका सिनेमाघरमा पुऱ्याएको थिएँ ।
उसबेला तपाईँ नेपाली चलचित्रसँगका ती दिनलाई कसरी सम्झनुहुन्छ ? किन चलचित्रबाट टाढा हुनुभयो ?
मैले नेपाली चलचित्र वितरण गर्नुपरेको लामो कथा छ । मैले भारतबाटै ४८ वटा नेपाली चलचित्र सिक्किम, भोटाङ, दार्जीलिङ र भारतको उत्तर पूर्वाञ्चलका मेघालय, आसाम, नागालैन्ड, अरूणाचल, मणिपुर र मिजोराममा वितरण गरेको हुँ । मलाई चलचित्र वितरणको सामान्य अनुभव थियो । त्यसबेला नेपाली चलचित्र निर्देशक निर्माताहरूमा तुलसी घिमिरे र शम्भु प्रधान जस्ता मेरा कालेबुङका शुभचिन्तक भाइहरूले धेरै सुविधा र सहुलियतसित उनीहरूले बनाएका नेपाली चलचित्र वितरणको अभिभारा लिने आग्रह गर्नुभयो । यसरी लगभग १८ वर्ष यस व्यवसायका निम्ति म गौहाटीमा बसेँ । त्यसबेला अहिले जस्तो टी.भी.मा नेपाली फिल्म हेर्न पाइँदैनथ्यो । केबल पनि थिएन । न त नेपाली फिल्मको सि.डि. नै पाइन्थ्यो । यसैले नेपाली फिल्म हेर्न सिनेमा हलमै जानुपर्थ्यो तर केही पछिदेखि यी सबै पाइन थालेपछि हलमा फिल्म चल्न छाड्यो अनि म फर्केर आएँ ।
तपाईँको पहिलो प्रकाशित रचना चाहिँ कुन हो ?
सन् १९५० मा ‘उन्माद’ शीर्षकमा पहिलोपटक कविता लेखेको थिएँ तर कलकत्ताबाट लैनसिंह वाङ्देलको सम्पादनमा प्रकाशित हुने ‘प्रभात’ पत्रिकामा वरदान उपनामबाट ‘स्मरण’ शीर्षकको कविता छापिएको थियो ।
कथा चाहिँ कुन हो ?
पारसमणि प्रधानको सम्पादनमा प्रकाशित भारती पत्रिकामा सन् १९५२ मा ‘मान्छे’ शीर्षकको कथा छापिएको थियो ।
बालकृष्ण सम, माधवप्रसाद घिमिरेहरूसँगका कुनै अविस्मरणीय क्षण छैनन् ?
बालकृष्ण सम मेरा आराध्य हुनुहुन्छ । काठमाडौँ जाँदा उहाँलाई नभेटी म कहिले फर्किनँ । उहाँसित मेरो पत्र व्यवहार पनि थियो । यस्ता उहाँका केही पत्रहरू मसित अझ पनि छन् । उहाँसितको भेटघाटमा धेरै रोचक संस्मरणहरू सुन्न पाइन्थ्यो । एकताका तेन्जिङ शेर्पाले सगरमाथा आरोहण गर्दा नेपाल सरकारको प्रतिनिधि भई सोलोखम्बु तेन्जिङलाई लिन गएको संस्मरण सुनाउनुभएको थियो । माधवप्रसाद घिमिरे मेरा प्रिय कवि हुनुहुन्थ्यो । शारदाका फुटकर ‘गौरी’ का कवितालाई यो खण्डकाव्य हो भनेर समालोचक रामकृष्ण शर्माले तोक लगाएर लेख लेखेपछि मैले कवि घिमिरेलाई घचघच्याएर खण्डकाव्यको रूपमा ‘गौरी’ छाप्न लगाएको हुँ । यसका लागि ‘गौरी’ पहिलो संस्करणको भूमिका हेरे हुन्छ ।
देवकोटालाई चाहिँ कहिले कहाँ देख्नुभयो ?
म आठ वर्षको थिएँ । देवकोटा त्यतिबेला कालेबुङ आएका थिए । उनले वेदको अङ्ग्रेजीमा अनुवाद गरेर सुनाएका थिए । त्यसबेला देवकोटाले दौरा सुरुवाल र रुम्जाटारे सेतो मफलर लगाएका थिए ।
बालकृष्णलाई चाहिँ कसरी सम्झनुहुन्छ ?
बालकृष्ण सम ‘क्याकटसको बोटमा क्यामेलियाको फूल’ हुन् । छात्र अवस्थामा नै प्रह्लाद, अमरसिंह, नियमित आकस्मिकता इत्यादि पढेर उहाँप्रति मेरो श्रद्धा पलाएको हो । मेरा बालकृष्ण सममाथि धेरै संस्मरणहरू प्रकाशित छन् । यस्ता संस्मरणहरू यहाँ दिएर साध्य हुँदैन । उहाँ सदा सश्रद्धा स्मरणीय हुनुहुन्छ ।
अरू स्रष्टाहरूसँग कस्तो सम्बन्ध थियो तपाईँको ?
नेपालका इतिहास शिरोमणि बाबुराम आचार्य, कविशिरोमणि लेखनाथ, ऐतिहासिक राममणि आदि शारदाका सम्पादक ऋद्धिबहादुर मल्ल, देवकोटा इत्यादिसित एकैपल्ट दर्शन भेट भयो । सिद्धिचरण, भवानी भिक्षु र केदारमान व्यथितलाई दार्जीलिङमा बोलाएर सम्बोधन गरिएको हो । एकताका नेपालका उत्तम कुँवर, बालमुकुन्ददेव पाण्डे, पुरूषोत्तम बस्नेत, वासु शशि, पोषण पाण्डे, प्रेमा शाह, भवानी घिमिरे, कमल दीक्षित, वासुदेव लुइँटेल, विपिनदेव ढुङ्गेल इत्यादि सबै मेरा घनिष्ट मित्रहरू थिए । मित्रताका नाताले मैले सम्झनुपर्ने नेपालमा अहिले पनि धेरै छन् ।
२०७७ साल फागुनको अन्तिम सातामा सम्पन्न अन्ताराष्ट्रिय धरान कला साहित्य पर्यटन महोत्सव २०७७ मा तपाईँको वरपिपल कथाको धेरै प्रसङ्ग उठ्यो । किन र उक्त कथालाई कसरी सम्झनुहुन्छ ?
धरानको साहित्यिक र संस्कृतिक महोत्सव साहित्य र संस्कृतिलाई पर्यटनसित जोडेर लेखक, कवि र संस्कृतिविद्हरूको जुन भेला धरान उपनगरपालिकाको एउटा १३ नम्बर वडाले गरेको थियो । त्यो अभूतपूर्व थियो । यसले नेपालका अन्य नगरपालिका र उपनगरपालिकाहरूलाई समेत नगरपालिका भनेको बाटोघाटो बनाउने मात्र होइन यसले साहित्य र संस्कृतिको विकासमा ध्यान पुऱ्याउनुपर्छ भन्ने सन्देश दिएको थियो ।
वरपिपल मेरो सन् १९६० मा छापिएको कथासङ्ग्रह धरानका स्कुलहरूमा त्यसबेला पाठ्यपुस्तकमा राखिएको रहेछ । जसलाई आजका विद्वान्हरू डा. टङ्क न्यौपाने, दधिराम सुवेदी इत्यादिले पढेर एस.एल.सी. पास गरेको कुरा उहाँहरूले उल्लेख गर्नुभएको हो । मेरा कुनै कृति साधारण पाठकहरूले पनि चाख लिएर पढेको थाह नलागेको जमानामा धरानमा एस.एल. सी. मा मेरो कथासङ्ग्रह वरपिपल पाठ्यपुस्तकमा रहनु मेरा लागि खुसी तथा गर्वको विषय थियो ।
कथामा त्यस्तो के छ जसले तपाईँलाई कथालेख्न हुटहुटी चलायो ?
मैले जीवनलाई धेरै नजिकबाट देखेँ । राजनैतिक, सामाजिक अनेक घटनाहरू मेरा जीवनमा घटे । अनेक प्रकारका मानिसहरूसित मेरो भेट भयो । उनीहरूबाट पनि उनीहरूका जीवनका रोचक घटना सुनेँ । यी सबै संरक्षणका निम्ति कथामात्र एउटा माध्यम हुन सक्थ्यो । मैले मेरा कथाहरूमा पनि यिनै र यस्तै पात्रहरूलाई हालेको छु । मेरा कतिपय कथाहरूमा दार्जीलिङका मानिसहरूले बिर्सन लागेका कतिपय राजनैतिक घटनाहरू पनि छन् ।
विश्व साहित्यका धेरै कुरा उठ्ने गरेका छन् । नेपाली साहित्य विश्व साहित्यमा कहाँ छ ?
विश्व साहित्यबारे जति जानकारी नेपालका लेखकहरूलाई हुन्छ त्यति हामीलाई हुँदैन । यो ज्यादै बृहद् विषय भएकाले यसमा मैले केही भन्न चाहिनँ ।
समकालीन लेखनलाई कसरी हेर्नुभएको हुन्छ ?
समकालीन लेखन विभिन्न अवधारणा अनुसार लेखिँदैछ । एकप्रकार राम्रै छ ।
नेपालभित्रको साहित्य र भारतीय नेपाली साहित्यलाई चाहिँ कसरी हेर्नुहुन्छ ?
मूल रूपमा दुवै एउटै हुन् । नेपालको नेपाली साहित्य नेपालको परिवेशमा लेखिएको हुन्छ । नेपालका नेपालीहरूको जन जीवन, समस्या र गतिविधि यिनमा देखा पर्छ । भाषामा केही सामान्य अन्तर देखा पर्छ । भारतको नेपाली साहित्य भारतको परिवेशमा लेखिएको हुन्छ । यहाँको नेपाली जनजीवन आफ्नै प्रकारको छ । साहित्यमा तिनै जनजीवन चित्रण गरिएको हुन्छ । भारतका एकै ठाउँमा नेपालीहरू छैनन् । दार्जीलिङ र सिक्किमका नेपालीहरूको जनजीवन आसामका नेपालीहरूसित मिल्दैन । भाषामा पनि केही पार्थक्य छ । उता देहरादुन भाग्सूतिरका नेपालीहरूको आचार, व्यवहार, भाषा बेग्लाबेग्लै छ । यसैले सबैमा स्थानीयताको प्रभाव पर्ने हुनाले साहित्यमा पनि सामान्य अन्तर देखिनु स्वाभाविक हुन जान्छ ।
साहित्यकारहरूको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?
साहित्यकारहरूको दायित्व राष्ट्र निर्माणमा योगदान पुऱ्याउने हुनुपर्छ । साहित्यकार भनेको बुद्धिजीवीवर्ग हुन् । उनीहरू सधैँ सचेत हुनुपर्दछ । उनीहरूको भावना उच्च र निर्मल हुनुपर्दछ । उनीहरू विवेकशून्य हुनु हुँदैन । उनीहरूको भावना दूषित भयो भने उनीहरूको सिर्जना क्षयोन्मुखी हुन्छ । उनीले आफ्ना सिर्जनाले समाज, जाति र देशको मार्गदर्शन गर्नुपर्छ ।
स्रष्टाहरूको प्रोत्साहनका लागि राज्यले के कस्तो भूमिका खेल्नुपर्दछ ?
स्रष्टाहरूलाई प्रोत्साहन दिन राज्यले गर्नु पर्ने अनेकौँ कामहरू छन् । लेखकहरूलाई मान सम्मानसहित पुरस्कारको व्यवस्था गर्नुपर्छ । आर्थिक सहयोग र अग्रज र वरिष्ठ साहित्यकारहरूलाई पेन्सन दिनुपर्छ । लेखकहरूका कृतिहरू खरिद गरी पुस्तकालयहरूमा वितरण गर्नुपर्छ । साहित्यिक संस्था सङ्गठनहरूलाई अनुदान दिनुपर्छ, इत्यादि धेरै कुराहरू छन् । मुख्य रूपमा लेखकहरूलाई बचाउने योजनाहरू तयार गर्नुपर्छ किनभने साहित्यकारहरू बाँचे मात्र साहित्य बाँच्दछ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यलाई कसरी हेर्नुभएको छ ? यसले के गरेदेखि हुन्थ्यो भन्ने लाग्छ ?
प्रज्ञा प्रतिष्ठान नेपालको अर्धसरकारी प्रतिष्ठान हो । उनीहरूको भाषा र साहित्यका निम्ति आफ्नै योजनाहरू होलान् । यसमा हाम्रो भन्नु केही छैन तर पनि भाषा र साहित्यको नाताले नेपालबाहिरका नेपालीहरूका निम्ति प्रज्ञा प्रतिष्ठानको कतिपय दायित्व छ । भारतका कतिपय अति विशिष्ट लेखकहरू जस्तै गङ्गाप्रसाद प्रधान, पारसमणि प्रधान, रामकृष्ण शर्मा, रूपनारायण सिंह, शिवकुमार राई, इन्द्रबहादुर राई इत्यादिका जन्म शताब्दीमा एउटासम्म कार्यक्रम गरेर उनीहरूलाई श्रद्धाञ्जलि दिनुपर्ने हो । अति विशिष्ट साहित्यकारहरूको चित्राङ्कित हुलाक टिकट निकाले अझ हामीबिचको सम्बन्ध सुखद हुन्छ । भारतका विभिन्न विश्वविद्यालयहरूमा नेपालीमा एम.ए.को पढाइ चलिरहेको छ । त्यहाँ एम. फिल. र पि.एच.डी.का लागि शोधको काम पनि चलिरहेको छ । यिनीहरूका लागि पाठ्यक्रममा कतिपय प्रज्ञा प्रतिष्ठानका पुस्तकहरू पनि परेका छन् । जो हाल अप्राप्य भई छात्रछात्राहरूले कठिनाइ भोग्नुपरिरहेछ । यस्ता पुस्तकहरूको पुनर्मुद्रणको व्यवस्था गर्नुपर्छ । नेपालबाहिरका लागि अलगै साहित्यिक पुरस्कारजस्ता अरू पनि कतिपय कुराहरू छन् ।
साहित्यको समकालीन बजारलाई कसरी हेर्नुहुन्छ ?
साहित्यको समकालीन बजार भारत र नेपालमा एकनास छैन । भारतको बजारभन्दा नेपालको बजार ठूलो छ । फेरि नेपालका नेपाली साहित्य अन्ताराष्ट्रिय बजारमा पनि फैलिँदै जाँदैछ तर भारतमा नेपाली साहित्यका पाठकहरूमा न्यूनता आएको छ । यहाँ पुस्तक पढ्ने प्रवृत्ति नै हराएर जाँदैछ । नेपालबाहिरका नेपाली साहित्यले अन्ताराष्ट्रिय बजार पाउन सकेका छैनन् । भारतमा अघि हेरि केही राम्रो छ तर नेपालमा भारतभन्दा धेरै राम्रो छ ।
अहिलेसम्मका नबिर्सने क्षण कुन हुन् र किन ?
धेरै छन् तर बाल्यकाल नै सबैभन्दा राम्रो लाग्छ किनभने हजुर आमाको जति माया र प्यार कसैबाट पाइनँ ।
जीवनलाई परिभाषित गर्नुपऱ्यो भने के भन्नुहुन्छ ?
जीवन नगरी नहुने एउटा यात्रा हो । कोही समय पूरा गरेर विश्राम लिन्छन् । कोही बिचैमा थाकेर बस्छन् ।
उहिले र अहिलेको लेखक अनि साहित्य लेखनमा के के भिन्नता पाउनुहुन्छ ?
उहिले भाषा साहित्य, नैतिक शिक्षा र समाज सुधारका निम्ति लेखिन्थ्यो । यसैले यहाँ जन भाषाको चलन थियो । अहिले साहित्य विभिन्न अवधारणा अनुसार लेखिँदैछ । साहित्यमा विभिन्न प्रयोगहरू भइरहेका छन् । साधारण पाठकहरूसम्म आजको साहित्य पुग्न सकेको छैन जस्तो लाग्छ । आजको नेपाली साहित्य दिनदिनै दुर्वोध्य र क्लिष्ट भएर पाठकहरूदेखि टाढा जाँदैछ । उहिले बाजेका पालामा रुपियाँ गन्थे डालामा अहिले हाम्रा पालामा मकै छैन डालामा ।
तपाईँलाई उत्कृष्ट लागेका विश्वस्तरीय सर्जक र सिर्जनाका बारेमा केही जान्न सकिन्छ ?
खोई त्यस्तो केही देखिएको छैन । महाकवि देवकोटापछि त्यस्ता नेपाल र भारतमा कतै होलान् जस्तो पनि लाग्दैन ।
नेपाली साहित्यको स्तरीकरण र विश्वव्यापीकरणका लागि ककसले के के गर्नुपर्ला ?
यस्तो विषय व्यापक रूपले विद्वान्हरू बसेर छलफल गर्नुपर्छ ।
नयाँ लेख्ने अथवा नवोदित स्रष्टाहरूलाई के सल्लाह र सुझाव दिनुहुन्छ ?
नयाँ लेखकहरूले गीतामा भनेजस्तै फलको आशा नराखी कर्म गर्नुपर्छ । लेखनमा निरन्तरता दिनुपर्छ । लेखन सँगसँगै अध्ययन पनि हुनु जरुरी छ । लेखकहरूको भाषा शुद्ध हुनुपर्छ । प्रमाणिक कुराहरू लेख्नुपर्छ । भावना शुद्ध राखेर साहित्य सिर्जना गर्नुपर्छ ।
जीवनका भावी लेखकीय योजना र इच्छाहरू के छन् ? के सार्वजनिक गर्न मिल्छ ? मिल्छ भने के के छन् ?
धेरै दिनदेखि मेरा कुनै कृतिहरू पुस्तकाकारमा प्रकाशित भएका छैनन् । यस्ता केही कृतिहरू प्रकाशनमा लाग्नु छ । नेपाली भाषा र साहित्यमा शोध गर्नेहरूको सङ्ख्या दिनदिनै बढ्दै गइरहेको छ तर शोध सामग्रीहरू उपलब्ध छैनन् । दार्जीलिङका धेरै पुस्तकालयहरू आन्दोलनकालमा जलेर स्वाहा भए । कतिपय घरमा भएकाहरू रद्दीमा मिल्किए । अझ पनि सरकारी तहबाट यस्ता सामग्रीहरू सङ्कलन र संरक्षणको दार्जीलिङ, सिक्किम कतै प्रावधान छैन । यस्ता अभिलेखालय निर्माण गरेर शोध सामग्रीहरू संरक्षण गर्ने इच्छा छ । यो सम्भव भएन भने नेपालीभाषा, साहित्य र संस्कृतिका शोधार्थीहरूले शोध सामग्रीहरूका निम्ति धेरै कष्ट उठाउनुपर्नेछ ।
तपाईँको आत्मवृत्तान्त चाहिँ कहिलेसम्म आउँछ ?
मेरो आत्मवृत्तान्तका केही भाग कलकत्ता छेउ सलुवा भन्ने ठाउँको विशिष्ट पत्रिका ‘परदेशी’ को आगामी अङ्कमा निस्कन्छ । जुन अङ्क मेरो अभिनन्दन विशेषाङ्कको रूपमा चाँडै निस्कँदैछ । अहिले हालैमा सिलगढीको ‘नयाँ सरोकार’ पत्रिकाले पनि अन्तरवार्ता र लेखहरूद्वारा मेरा विचारहरूलाई प्रमुखता दिएको छ ।
अहिले साहित्यमा लागेर के पाए र के गुमाएजस्तो लाग्छ ?
मैले साहित्यमा लागेर साहित्यकारहरूको एउटा ठूलो परिवार पाएँ तर केही गुमाएजस्तो लाग्दैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।