काठमाडौँमा हुँदा लामो समयसम्म पत्रकारिता रहनु भएका कृष्णराज खनाल अहिले अमेरिकाको नोर्थक्यारोलिनामा बस्नुहुन्छ । साहित्यमा सक्रिय रहने प्रवासीहरूमध्ये खनाल पनि एक हुन् । प्रस्तुत छ, विश्वराज अधिकारीले कृष्णराज खनालसँग गरेको सङ्क्षिप्त कुराकानीको सम्पादित अंशः
अचेल के गर्दै हुनु हुन्छ? कुनै कृति लेखन वा प्रकाशनको तयारीमा हुनु हुन्छ?
गुरमित विश्वविद्यालयमा काम गर्छु । लेखपढ सामान्य प्रक्रिया हो । विद्यालयमा रहँदा होस् वा घरमा पढ्ने र लेख्ने काम निरन्तर चलिरहेको छ । लेख रचनाहरू प्रकाशन पनि भइरहेका छन् । कृति पनि लेखिरहेको छु ।
तपाईँको साहित्यिक कृति ‘स्वप्नलोकका गुरमितहरू’ कस्तो कृति हो? पाठकहरूलाई प्रस्ट पारिदिनु हुन्छ कि?
स्वप्नलोकका गुरमितहरू लामो कविता हो । यो एउटै बसाइमा पढेर सकिने रचना हो । अमेरिकामा पैसा फल्छ र टपाटप टिप्न पाइन्छ भन्ने आम नेपालीको सोचाइ अनुरूप अनेकन बहाना बनाएर अमेरिका छिरेका तमाम नेपालीको यो एउटा दु:ख र विरहको कथा र गाथा हो । छिमेकी राष्ट्र भारतबाट धेरै वर्ष पहिला अनेकन दु:ख पाएर अमेरिका छिरेर हाल कन्भिनेन्स स्टोर, ग्यास स्टेसन वा होटल र रेष्टुरेन्ट चलाएर बसेको पन्जाबी गुरमित यो कविताको प्रतिनिधि पात्र हो । जसले हामीजस्ता अनेकन बहाना बनाएर यस स्वप्नलोकमा आएका वा छिरेका तमाम नेपालीहरूलाई गाँस, वास र कपासको प्रबन्ध गरिदिएका छन् । हामीलाई यिनै क्षेत्रमा काम दिएका छन् । जसका कारण नेपालीहरू अमेरिका आउनासाथ कहाँ जाने र के गर्ने भन्ने समस्याबाट मुक्त भए । यसमा गुरमितको स्वभाव, आनीबानी र नेपालीहरूले यस्तो काम गर्दा भोग्ने पीडा र अर्कातर्फ पाइने हरिया हरिया नोठको मज्जालाई मैले यस कृतिमार्फत उतार्ने कोसिस गरेको छु ।
स्वप्नलोकका गुरमितहरू लेख्न तपाईँलाई के कुराले प्रेरित गर्यो?
स्वप्नलोकका गुरमित लेख्न मलाई मैले गरेको कामले नै प्रेरित गरेको हो । म यसको भुक्तभोगी हुँ । मैले गुरमित र गुरमित विश्वविद्यालयमा करिब एक दशक काम गरेँ । यो कृति त्यसैको सेरोफेरोमा रचना गरिएको छ । गुरमितका आनीबानी मात्र होइन, यहाँका निम्न र मध्यमवर्गीय मानिसको चाहना र रुचि र उनीहरूको स्वभावलाई पनि यहाँ उतार्ने कोसिस गरेको छु ।
प्रवासमा रहेर पनि नेपाली साहित्यकारहरूले नेपाली साहित्यको विकासमा खास योगदान पुर्याए जस्तो लाग्छ?
प्रवासमा रहेका मानिसले पनि नेपाली साहित्यको विकासमा योगदान गरेकै छन् । प्रवासमै लेखिएका कुनै कुनै कृतिहरू नेपाली साहित्यको मूलधारमा समेटिएका छन् । यसलाई नजर-अन्दाज गर्न सकिँदैन । तर मूल समस्या गुणात्मक हो । साहित्यको मर्म र अभिप्रायलाई नबुझेका मानिसहरूले फुर्सदको समय निकालेर निकाली दिऊँ न त एउटा कृति भन्ने अभिप्रायले अधिकांश कृतिहरू प्रकाशन गरिएका छन् । यसले गुणलाई बढाउनुभन्दा परिमाणात्मक रूपमा बढी देखिन्छ ।
तुलनात्मक रूपमा नेपालमा साहित्य लेख्नेहरू धेरै तर साहित्य पढ्नेहरू कम हो?
नेपालमा पढ्ने मात्र तर नलेख्नेको सङ्ख्या पनि प्रशस्त छ । पाठकहरू नै भएनन् भने त लेख्नेहरूको सङ्ख्या पनि कम हुन्थ्यो कि ? बजारमा नाम चलेका लेखकको कृति पढिने क्रम विश्वव्यापी हो । नेपालमा पनि तिनै लेखकको कृति बढी बिक्री हुने गरेका छन् । नयाँ-नयाँ लेखकहरू पनि मूलधारमा आउनका लागि प्रयास गरिरहेका छन् । यो खुसीको कुरा हो ।
हाम्रो साहित्यिक क्षेत्रमा ‘गुटबन्दी’ धेरै छ भन्छन् । त्यस्तो हो?
नेपाली साहित्यमा गुटबन्दी बढेको कुरा मैले पनि सुनेको हुँ । नेपाली साहित्य दस बाह्र जनाको मुठ्ठिमा कैद भएको छ भनेर भन्ने पनि सुनिन्छ । पत्रपत्रिकामा पढ्दा पनि तिनै लेखक, साहित्यकारहरूको मात्र पढ्न पाइन्छ । यो साहित्यका लागि राम्रो होइन तर पाठकले जुन मन पराउँछन् र जुन कृतिले पाठकलाई स्वान्त सुख दिन्छ त्यही नै पढ्ने हो ।
पुरस्कृत कृतिहरू बढी बिक्री हुने गर्दछन् तर पुरस्कृत नभएका कृतिहरू पाठकहरूले पढ्नै दिँदैनन’, नेपाली साहित्यको सन्दर्भमा यो भनाइ उचित छ ?
यो सर्वव्यापी नियम हो । तर यो जहिलेसुकै पनि लागु हुँदैन । मदन पुरस्कार र नोवेल पुरस्कार पाएका कतिपय कृति पट्यारलाग्दा हुन्छन् । कतिपय उत्कृष्ट पुस्तकहरूले यी पुरस्कार नपाएका पनि छन् । तथापि पुरस्कृत कृतिले पाठकको मनमा एक किसिमको तरङ्ग ल्याइदिन्छ र उनीहरू यस्तै पुस्तक पढ्छन् । नेपाली साहित्यको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ ।
कुनै पनि कृति स्तरीय हुनुको मापदण्ड के हो ? पुरस्कार पाउनु ? सङ्ख्यात्मक रूपमा बढी बिक्री हुनु? पत्र पत्रिकामा बढी चर्चा पाउनु?
कुनै पनि कृतिको मापन गर्ने मूल व्यक्ति पाठक हो । पाठकको मन मस्तिष्कमा बसेका कृतिहरू जीवन्त हुन्छन् । कुनै पनि कृति पुरस्कृत हुनु भनेको त्यस कृतिप्रति मानिसको सद्भाव र आकर्षण भने निश्चय नै बढी हुन्छ भन्ने मेरो मान्यता छ । पुरस्कार पाएपछि मानिस-मानिसबीच चर्चा हुन्छ, पत्रपत्रिकामा स्थान पाउँछ अनि बिक्री बढी हुन्छ । यी तीनबीच अन्योन्याश्रित सम्बन्ध छ ।
नेपालका प्रवासी साहित्यकारहरूले कुन कुरामा विशेष जोड दिएर लेख्नुपर्छ ?
आफू बसेको र भोगेको धरातललाई नै विषयवस्तु बनाउनुपर्छ भन्ने मेरो मान्यता छ । आफूले नदेखेको र नभोगेको कुरालाई विषयवस्तु बनाउँदा साहित्यले दिने गहिराइ पुग्दैन । सिपी झिक्नका लागि समुद्रको गहिराइसम्म डुबुल्की लगाउनै पर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।