यो अन्तरवार्ता वास्तवमा यसरी अपूरो आउला भन्ने अन्तरवार्ता लिने वा दिने कसैलाई पनि लागेको थिएन । यो अन्तरवार्ता यस्तो आधा नै रहनुमा समयको ठुलो खेलोफड्को छ । खासमा यो अन्तरवार्ताको पृष्ठभुमि धेरै पहिलेको घटनाले बनाएको थियो । जहाँ एक पटक अन्तरवार्ताका लागि अन्तरवार्ताकारले कसैलाई इमेल मार्फत प्रश्नोत्तर गरेका थिए । त्यो कति सफल भइदियो भने त्यो इमेल अन्तरवार्ता पछि पुस्तकाकारमा प्रकाशित नै हुन पुग्यो ।
अन्तरवार्ताकारलाई त्यहि पुरानो अनुभवले घच्घच्यायो र यो अन्तरवार्ता त्यसरी सुरु भयो तर चाहे जस्तो अन्त्य भने हुन सकेन । यद्यपि, यो अन्तरवार्ता विशेष छ । किन विशेष छ भन्ने कुरा अन्तरवार्ताकारकै लेखनबाट थप प्रष्ट हुनेछ । यो अन्तरवार्ता लिएका हुन्, गोविन्द गिरी प्रेरणाले । यहाँ गोविन्द गिरी प्रेरणाको शब्द जस्ताको तस्तै राखिएको छ ।
जगदीश घिमिरेको ‘साविती’ पहिला र ‘लीलाम’ पछि पढेको हुँ मैले । उनका खरा विचारहरु पनि पढेको हुँ र तिथिमिति याद नभए पनि २०३६ सालपछि मैले उनलाई भेटेको हुँ । लेखेपछि साहित्यमा केही न केही खलखल ल्याउने यी लेखकसँग मैले ३८।३९ तिरै हुनुपर्छ, लिखित अन्तरवार्ता लिएको थिएँ र ‘ज्योतिश्री’ पत्रिकामा प्रकाशित भएको थियो । पछि उनका सबैजसो रचनाहरु पढेपछि आमने सामने भएर अन्तरवार्ता लिने अवसर जुटेन । पछि एकपल्ट उनीसँग ईमेल मार्फत् लामै किताब हुने अन्तरवार्ता लिने कोशिस गरेको थिएँ, तर अनुकूल परेन । भईदियो के भने, उनले पहिलो प्रश्नको उत्तर नै तीनपल्ट सच्याएर रण्डा लाईलाईकन पठाए । त्यसरी हुँदैन भन्ने मलाई लाग्यो र मैले नित्य निरन्तर ६ महिनासँग ईमेलमा प्रश्नोत्तर गर्दै कमल दीक्षितसँग अन्तरवार्ता लिएँ र त्यो पुस्तकको रुपमा प्रकाशित भयो, ‘कमल दीक्षितसँग ईमेलवार्ता’ शिर्षकमा, नेपाली साहित्यमा यस किसिमको पहिलो पुस्तक ।
पछि जगदीश घिमिरेसँग फेरि ईमेलवार्ता गर्न जुर्मुराएँ । उनी आफ्नो मल्टिपल माईलोमासँग अन्तिम लडाईं लडिरहेको बेला थियो । उनी मेरा प्रश्नका उत्तर दिन सहज थिएनन् । छोटा, काम चलाउ र सरल जवाफ दिए मेरा प्रश्नहरुको ।
मैले प्रश्नको सिलसिला शुरु गर्नुअघि लेखें, ‘धेरै अघि तपाईंसँग ईमेलमा अन्तरवार्ता लिन खोजेको थिएँ, त्यो त्यत्तिकै भयो । अब त्यो अधूरो कुरामा लागौं कि ? म प्रश्न गर्दै जान्छु, तपाईंको जवाफ पछि अर्को प्रश्न पठाउँछु, हुन्छ ?’
उनले जवाफ पठाए, ‘प्रश्न पठाउनोस् । जवाफ पठाउँला । पहिलेका प्रश्नोत्तर त तपाईंसँग होलान् नी !’
प्रश्नोत्तरको सिलसिला शुरु भयो ।
प्रश्न नं १ – तपाईंले लेख्नु भएको सबभन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ ?
मलाई मेरो पहिलो रचना यो हो भन्ने यकिन छैन । पहिलो प्रकाशित पुस्तक ‘लिलाम’ (रत्न पुस्तक – २०२७ साल) उपन्यास मन पर्छ । मेरो छापिएको पहिलो रचना कुन हो, मलाई यकिन छैन । जनकपुरमा छापियो होला ।
प्रश्न नं २ – त्यसो भए लिलाम अघि लेखिएका कुनै पनि रचना तपाईंको स्मृति पटलमा अहिले छँदै छैनन् त ?
दर्जनौं रचना छन् तर सबभन्दा पहिले छापिएको रचना कुन हो भन्ने यकिन छैन पो भनेको ! मैले कुरा बुझाउन सकिन छु । अब बुझाँए कि ? तपाईले सोध्नु भयो ‘तपाईंले लेख्नु भएको सबै भन्दा पहिलो रचनालाई कसरी सम्झना गर्नुहुन्छ ? मैले जवाफ दिएँ – मेरो छापिएको पहिलो रचना कुन हो, मलाई यकिन छैन । जनकपुरमा छापियो होला । मेरो पहिलो प्रकाशित पुस्तक (रत्न पुस्तक २०२७ साल) ‘लिलाम’ मलाई मन पर्छ ।
यसमा मैले ‘लिलाम’ अघिका कुनै रचना सम्झन्न त भनिनँ जस्तो लाग्छ ।
प्रश्न नं ३ – लिलाम पहिलो कृति प्रकाशनपूर्वका रचनाहरूमध्ये घतलाग्दा रचना कुनै उल्लेख गर्न चाहनुहुन्छ कि ? कस्ता पृष्ठभूमिमा लेखिए, सम्झनुहुन्छ ?
करिब पचास वर्षअघिका कुरा हुन् । सबै ठिकसँग सम्झन्न तर मलाई मन परेका २०२७ अघिका कथा, कविता र लेखहरू पनि मेरा हालसाल प्रकाशित पुस्तकहरू अग्निसूत्र (कविता संग्रह), बर्दी (कथा संग्रह), स्थान काल पात्र (निवन्ध संग्रह) मा छन् ।
प्रश्न नं ४ – तपाईंको पहिलो उपन्यास लिलामको लेखनको पृष्ठभूमि के थियो ? कति समय लाग्यो त्यो उपन्यास लेख्न ?
रामेछाप, मन्थलीको गडवारी भन्ने माझी गाउँ र बहादुरे नामक माझीको कथा ।
प्रश्न नं ५ – त्यो उपन्यास लेख्न कति समय लाग्यो ?
लाग्यो होला २।४ महिना । ठीक याद छैन ।
२०२६ सालमा म पोखरा गएको थिएँ । भूपीजीलाई भेटेँ । कुराकानी गर्ने समय मागेँ । उहाँले हुन्छ भन्नु भयो । त्यो कुराकानी अन्तर्वार्ता रूपमा ‘रूपरेखा’ मा छापिएपछि बहुचर्चित भएको हो । त्यसको मुख्य कारण भूपीजीका तीखा र स्पष्ट जवाफ हुन् । त्यस बेलाको राज्यसत्ताको लागि कतिपय आग्रह थिए । म साहित्यको नवप्रवेशी २३ वर्षे केटो थिएँ । ‘साविती’ लेख्दै थिएँ । ‘साविति’मा मैले लेखेका कुराका कति बीज त्यहाँ छन् ।
प्रश्न नं. ६ – तपाईंले लेखन सुरू गर्दा तपाईंको दाई नगेन्द्रराज शर्माले कत्तिको लेख्नु हुन्थ्यो ?
उहाँ मभन्दा निकै वर्ष पहिलेदेखि लेख्नु हुन्थ्यो । तर उहाँको लेखनबारे उहाँसँग नै सोध्नु बेश होला ।
प्रश्न नं. ७ – उहाँले लेख्नु भएको कस्तो लाग्थ्यो तपाईंलाई ? पढ्नु हुन्थ्यो होला नि ?
पढ्थें । राम्रो लाग्थ्यो ।
प्रश्न नं. ८ – तन्नेरीमा प्रेमी र कवि सबै हुन्छन् भनिन्छ । सायद त्यसैले होला, धेरैले अलिपछि लेखनको बाटो छाड्छन्, तर तपाईंले लेखनमा निरन्तरता दिनुभयो, यो के कारणले होला ?
कुनै खास कारण छैन । मन लाग्यो । परिस्थिति बन्यो । बीस – एक्काइस वर्षदेखि लेख्ने रुचि भयो । वातावरण र संगत भयो । लेखेँ । साथी र अग्रजहरूबाट प्रोत्साहन पाएँ । रचनाहरू छापिए । लेख्ने बानी बस्यो । पछि लत जस्तै भयो । ऐजन ऐजन प्रक्रियाबाट लेखक भएँ ।
प्रश्न नं. ९ – डा. धीरेश्वर झा धीरेन्द्र त जनकपुरमै लेखन सम्पादनमा कृयाशील हुनुहुन्थ्यो होईन, तपाईं लेखनमा लाग्दा ? उनीसँगको संगत कस्तो रह्यो अनि कुनै प्रोत्साहन प्रेरणा पनि पाउनु भो कि ?
डा. धीरेश्वर झा ‘धीरेन्द्र’ जनकपुर कलेजमा पढाउनु हुन्थ्यो । उहाँ मैथिलीका ठूला साहित्यकार हुनुहुन्थ्यो । हिन्दी र विश्व साहित्यका पनि ठूला विद्वान हुनुहुन्थ्यो । म उहाँलाई मेरो साहित्य यात्राको पथ प्रदर्शक मान्दछु । उहाँको र मेरो सम्बन्ध बारे ‘अन्तर्मनको यात्रा’ मा लेखेको छु ।
प्रश्न नं. १० – काठमाडौं आएपछि तपाईंको कोको साहित्यकारहरूसँग सम्पर्क सम्बन्ध भयो ?
त्यसबेला काठमान्डौँमा भएका धेरै अग्रज, अनुज र समवयस्क साहित्यकारहरूसँग । नाम भन्न संभव छैन ।
प्रश्न नं. ११ – कवि भूपि शेरचनसँग तपाईंको उठबस थियो होइन ? अन्तरवार्ता पनि लिनुभएको थियो । कस्तो रह्यो उनीसँग सम्पर्क ?
भूपीजी सिनियर हुनुहुन्थ्यो । खासै उठबस भएन । उहाँसँग राम्रो परिचय थियो । उहाँका कविता मन पर्थे । त्यत्ति हो । त्यो अन्तर्वार्ता बहुचर्चित भयो । हालका वर्षमा पनि कति कतिवटा ठूला छापाले पुनमुद्रण गरे ।
प्रश्न नं. १२ – त्यो बहुचर्चित अन्तरवार्ता कसरी लिनुभयो ? त्यसबेलाका सन्दर्भ र प्रसंगहरु बताईदिनु होस् न ।
२०२६ सालमा म पोखरा गएको थिएँ । भूपीजीलाई भेटेँ । कुराकानी गर्ने समय मागेँ । उहाँले हुन्छ भन्नु भयो । त्यो कुराकानी अन्तर्वार्ता रूपमा ‘रूपरेखा’ मा छापिएपछि बहुचर्चित भएको हो । त्यसको मुख्य कारण भूपीजीका तीखा र स्पष्ट जवाफ हुन् । त्यस बेलाको राज्यसत्ताको लागि कतिपय आग्रह थिए । म साहित्यको नवप्रवेशी २३ वर्षे केटो थिएँ । ‘साविती’ लेख्दै थिएँ । ‘साविति’मा मैले लेखेका कुराका कति बीज त्यहाँ छन् ।
प्रश्न नं. १३ – पोखरा त्यति बेला केको सिलसिलामा जानु भएको थियो र कसरी उहाँसँग सम्पर्क हुन सक्यो, सम्झना छ ?
पोखरा डुल्न गएको थिएँ । एअरपोर्टमा देखेँ । मैले चिनजान गरेर भेट्न समय मागेँ । भाई, १३ प्रश्न उत्तर भैसके । अव यो वार्ता छिटै टुंग्याउनतिर लागौं ।
१३ फरवरी २०१३ मा मैले पहिलो प्रश्न पठाएको थिएँ । मैले जम्मा १३ प्रश्न पठाए पछि उनले नै टुँग्याउन आग्रह गरे । खासमा उनलाई शरीरले साथ दिई नरहेको अवस्था थियो ।
त्यै पनि मैले १८ मार्च २०१३ का दिन सोधें, ‘म तपाईंसँग लामो समय लिएर लामो अन्तरवार्ता लिन चाहन्थें । पहिला त्यो हुन सकेन । अहिले तपाईंलाई सहज रुपमा जवाफ दिन गाह्रो भएको अनुभव भैरहेको छ । विगतका १३ प्रश्नमा तपाईका जवाफ खुलेर आएका छैनन् । तपाईं यतिमै वार्ता बन्द गरौँ भन्दै हुनुहुन्छ । अहिले त प्रश्नको मूल पाटोमै पुगिएको छैन के गरौँ ? स्वास्थ्यको कारणले हो वा अन्य कारणले हो ? म यो सिलसिला अगाडि लैजान चाहन्छु तर तपाईंले चाहेमा मात्र त्यो सम्भव छ । के गरौ ?’
मैले ईमेल पठाएको एक घण्टा नबित्दै उनको जवाफी ईमेल आयो –
प्रिय भाई नमस्कार
मलाई अहिले relapse भएको छ र chemo को Full dose ले उपचार हुँदैछ । अतः यो श्रृङ्खला हाललाई स्थगित गरौं । पछि गरौंला ।
उनले पछि गरौंला भने पनि त्यो सम्भव भएन । उनले आफ्नो नश्वर देह त्याग गरे । यो नै उनीसँगको अन्तिम सम्वाद थियो ।
११ फरवरी २०२०, फल्स चर्च, भर्जिनिया, अमेरिका ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।