रामकुमार पाँडे नेपाली साहित्य र कलाका मानक व्यक्ति हुन् । कुनै बेला नेपाली विद्यार्थीले आफ्नो माध्यामिक विद्यालय पूरा गर्न रामकुमार पाँडेको रचना पढ्नै पर्ने बाध्यता थियो । हाँस्यब्यङ्ग्यमा लाग्नेहरुका लागि त रामकुमार पाँडे सम्पूर्ण कोर्स बुक नै हुन् भन्दा फरक पर्दैन ।
शिक्षा शंकायतर्फ पाँडे भुगोलका प्रथम प्राध्यापक पनि हुन् । उनैले विश्वलाई पहिलो पटक ‘उचाइ भुगोल’को विषय दिए । नेपाली भुगोलका विज्ञ टोनी हेगेनले उनलाई नेपाली भुगोलका अद्वितीय प्रतिभा भनेर सांर्वजनिक प्रसंसा गरेका थिए ।
एक सय भन्दा बढि पुस्तक लेखेका पाँडे अंग्रेजी भाषामा धेरै पुस्तक लेख्ने नेपाली पनि हुन् । ९ महिना जापान बस्दा विदेशीहरुका लागि त्यहाँको भुगोल बुझाउने पुस्तक नभेटेपछि उनले जापानी भुगोलको पुस्तक लेखेका थिए । अमेजन डट कममार्फत धेरै रोयल्टी पाउने नेपाली हुनुमा यहि पुस्तकको योगदान छ । उनका ८ वटा अंग्रेजी पुस्तक अहिले अमेजनले विक्रीमा राखेको छ ।
हास्यब्यङ्ग्य क्षेत्रलाई संघठित गरेर पहिलो पटक गाइजात्रा कार्यक्रम पनि पाँडेको नेतृत्वमा भएको थियो । उनैको हात समाएर अघि बढेका हाँस्यब्यङ्ग्य क्षेत्रका धेरै कलाकार अहिले नेपाली कला क्षेत्रमा चर्चित भएका छन् । मदन कृष्ण र हरिबंश आचार्यले धेरै पटक सार्वजनिक मञ्चमा पाँडेले हाँस्यब्यङ्ग्य क्षेत्रमा गरेको योगदान सम्झने गरेका छन् ।
साहित्यका विभिन्न किसिमका संस्था गठन गर्ने पाँडेको भागमा साना ठूला गरि १ सय ११ वटा विषयमा ‘पहिलो’ हुने सौभाग्य प्राप्त छ । बालसाहित्य, किशोर साहित्य, प्रौढ साहित्य, लोकसाहित्य, हाइकु, सिजो जस्ता फरक विषयमा कलम चलाएका पाँडे आज पनि एक दर्जन संस्थाको नेतृत्वतहमा छन् । नयाँ विषय देख्ने वित्तिकै हात हाल्ने र त्यस विषयमा कलम चलाउने व्यक्तिलाई संघठिन गरिहाल्ने प्रबृत्तिका कारण उनी ‘अस्थिर स्वभावका क्रियाशिल विद्वान’का रुपमा कवि समाजमा चर्चित छन् । यद्यपि उनी यसलाई समयको बाध्यता मान्छन् ।
७३ वर्षीय पाँडेसँग लेखक–पत्रकार अश्विनी कोइरालाले उनको ५० वर्ष लामो साहित्यिक व्यक्तित्व खोतल्ने प्रयास गरेका थिए । केहि पुरानो अन्तरवार्ता भए पनि यो अझै उपयोगी हुने भएकाले यहाँ प्रकाशित गरेका छौँ ।
भोलिपर्सी नै प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभा गठन हुँदैछ । तपाईंलाई कुलपति वा त्यस्तै केही प्रस्ताव आएको छैन ?
आए पनि जान्न ।
किन ?
प्रस्तावै आउँदैन, अनि कसरी जानु ? गाँठी कुरा के भने म कुनै पनि दलमा छैन । अहिलेसम्म प्राज्ञ त बनाएनन्, कुलपति त धेरै टाढाको कुरा । अब त म भन्दा धेरै जुनियर पनि कुलपति भैसके । अनि कसरी जानु ?
बुढो भइयो भनेर हो कि ?
म एक्लैले झण्डै प्रज्ञा प्रतिष्ठान जत्तिकै काम गरिरहेको छु । मानिस उमेरले बुढो हुने हो र ? एक सातापछि जापानमा अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन हुँदैछ । अहिले नेपालबाट त्यसको सम्पूर्ण तयारी गरिरहेको छु । म आफै कवि–लेखकलाई लिएर उता जाँदैछु । एक साथ दर्जनौ पुस्तकमा काम गरिरहेको छु । झण्डै दर्जन संस्था हाँकेको छु । बुढो मानिसले त काम गर्नै सक्तैन नि ।
मनोज गजुरेल, मह जोडीहरुले सार्वजनिक समारोहमा तपाईंको प्रसंसा गरेको सुनेको छु । तपाईं उहाँहरुको गुरु हो ?
होइन, पटक्कै होइन । प्रसंसा गर्नु उहाँहरुको महानता हो । प्रतिभाशाली मानिस आफ्नो मूल बिर्सदैनन् । उहाँहरुले आफ्नो मूलघर सम्झनु भएको हो । भएको के थियो भने नेपालमा गाइजात्रा त मनाइन्थ्यो तर त्यो बौद्धिक र संघठित थिएन ।
२०३३ सालको कुरा हो, सताब्दीपुरुष सत्यमोहन जोशी प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव हुनुहुन्थ्यो । उहाँलाई दरबारबाट परम्पराबाट चलिआएको गाइजात्रालाई प्रज्ञा प्रतिष्ठानले संयोजन गरेर चलाउनू भन्ने आदेश आएछ । त्यति मात्र होइन, त्यस विषयमा रामकुमार पाँडेसँग सल्लाह गर्नू भन्ने पनि आदेश भएछ । अब त्यो बेलाको शक्तिशाली दरबार, त्यसमाथि राजाका निजीसचिवले नै पाँडेसँग सल्लाह गर्नू भने पछि म सुरुदेखिसँग गाइजात्रामा जोडिएँ ।
राजा र प्रधानमन्त्रीका अघि हाँस्यब्यङ्ग्यकारहरुले प्रदर्शन गर्ने भएपछि नेपालभरिबाट प्रतिभाशाली मानिस आए । त्यसमध्ये नेपाली संस्कृतिलाई समेटेर बनाएको एउटा प्रहसनले नेपाली संस्कृतिको बेहिज्यत गर्यो भनेर केही निर्णयकहरुले त्यसलाई हटाउन चाहेका थिए । मैले चाहीँ नेपालीपन भएका कारण त्यो देखाउनै पर्छ भन्ने अड्डी लिएँ । दुई जना सामान्य केटाहरुको त्यो प्रदर्शन वास्तवमा सिर्जनशील थियो । पछि पो थाहा भयो, ती जोडी अरु कोही नभएर मदनकृष्ण र हरिबंश पो रहेछन् ।
हाँस्यब्यङ्ग्य कार्यक्रम गर्न दरबारले तपाईंलाई नै किन खोज्यो । राजावादी भएर हो ?
खासमा व्यङ्ग्यकार कहिल्यै कुनै सत्ताधारीको हुँदैन । नत्र कसरी व्यङ्ग्यकार हुने ? खासमा म पाटन कलेज पढ्दा हाम्रो अंग्रेजी शिक्षक हुनुहुन्थ्यो, नारायणप्रसाद श्रेष्ठ । त्यो बेला म कलेजमा स्टाण्डबाइ कमेडियन थिएँ । त्यो बेला टेलिभिजनहरु थिएनन्, त्यसैले टोल टोलमा हँसाउने युवाहरु सक्रिय हुन्थे, त्यस मध्ये म पनि एउटा थिएँ । त्यही बेला म पत्रपत्रिकामा हाँस्यब्यंग्य पनि लेख्न थालेको थिएँ । यी दुबै प्रतिभा नारायण सरले देख्नु भएको थियो । संयोगबस उहाँ राजा विरेन्द्रको निजी सचिव हुनुभयो । कलेज छँदा म विद्यार्थी युनियनको सचिव थिएँ र मैले गर्ने सिर्जनात्मक काम उहाँले देख्नु भएको थियो । यहि कारण प्राज्ञ नभए पनि गाईजात्राको कमिटीमा मलाई राखिने गरेको थियो ।
म आफू पनि हाँस्यब्यङ्ग्य लेख्ने र अभिनय पनि गर्ने भएकाले यसमा मेरो चासो थियो । सरकारी स्तरबाट गरिने र राजा–रानीले नै हेर्ने भएकाले कतिपय राम्रा कुरा पनि सेन्सरसीपमा पर्दथ्यो । तै पनि त्यो बेला गाईजात्राको निहुँमा धेरै नै काम भएको थियो । मलाइ लाग्छ, हाँस्यब्यग्यका लागि त्यो स्वर्ण युग थियो । त्यही दह्रो परम्पराका कारण आज हास्यब्यङ्ग्य कलाकार यो देशका सबैभन्दा विकाउ कलाकार भएका हुन् भन्ने लाग्छ ।
तर प्रजातन्त्र प्राप्ति पछि अचानक प्रज्ञा प्रतिष्ठानले गर्ने हाँस्यब्यङ्ग्य कार्यक्रम गर्न छाड्यो ? तपाईंहरुले विद्रोह पनि गर्नुभयो । त्यसको पृष्ठभूमि के थियो ?
प्रजातन्त्रपछि नेपाली कांग्रेसले इश्वर बराललाई उपकुलपति बनायो । उहाँ भारतमै पढ्नु भएको, जवहारलाल नेहरु विश्विद्यालयमा प्राध्यापक भएर उतै बस्नु भएकोले हुन सक्छ, उहाँलाई गाईजात्राको महत्व थाहा भएन । यो मल्लकालदेखि चलिआएको विशुद्ध नेपाली परम्परा थियो तर यसलाई उहाँले केवल प्रजातन्त्र प्राप्त गर्ने हतियार मात्रै भएको बुझ्नु भयो । उहाँले ‘एकेडेमीले यस्तो सस्तो र भद्दा खालको कार्यक्रम गर्न मिल्दैन’ भनेर एकेडेमीको कार्यक्रमबाट हटाइदिनु भयो । पहिले हामीले धेरै अनुनय विनय गर्यौं । अन्त्यमा हामी आफै भए पनि निजी रुपमा काम गरेर सरकारलाई देखाइदिन्छौँ भनेर हासने भन्ने संस्था खोल्यौं । त्यहि संस्थामार्फत हामीले गाईजात्रा देखायौं । वास्तवमा गाइजात्रा कार्यक्रम एउटा ब्राण्ड भइसकेको थियो । त्यसमाथि निजी ब्यवस्थापनमा सुरु गर्दा यो धेरै माथि गयो ।
यो विद्रोह एक प्रकारले कलाकार आफ्नो खुट्टामा आफैं उभिने कामको सुरुवात थियो । त्यसपछि नै तितेजिरे मेरिबास्सै कार्यक्रम एकातिर सुरु भयो । अर्कोतिर मह जोडीको छुट्टै कार्यक्रम भयो । टेलिभिजनहरुमा हाँस्यब्यङ्ग्य कार्यक्रमलाई निजी क्षेत्रले प्रायोजन गर्न थाल्यो । महजोडीहरुको मह सञ्चार खुल्यो । सबैले प्रगति गरे ।
आज तपाईंले जुटाउनु भएका कलाकारहरु छरिएका छन्, के कारणले यस्तो भयो ?
मेरो प्रस्ताव थियो, हाँस्यब्यग्य समाज नेपाल (हासने) दह्रो हुनु पर्छ । कार्यक्रमबाट उठेको आधा पैसा कलाकारले पाउनु पर्छ । अनि आधा पैसा संस्थामा आउनु पर्छ । यसो गर्दा कलाकारलाई अप्ठ्यारो पर्दा संस्था काम लाग्छ भन्ने मेरो अभियान थियो । तर नयाँ कलाकारहरु संस्थालाई बलियो बनाउने भन्दा पनि व्यक्तिगत कुरामा बढि ध्यान दिन थाले । संस्थामा भद्रगोल भएपछि मैले संस्था नै छाडिदिएँ ।
तपाईंको विचारमा हाँस्यब्यङ्ग्य विधाको कमजोरी के हो ?
विश्वभरि नै हाँस्यब्यङ्ग्यकारहरु कमेडियन पनि हुन्छन् र लेखक पनि हुन्छन् । उनीहरुका कृति गम्भीरतापूर्वक पढिन्छ र स्टेजमा पनि उनीहरुलाई पच्छ्याइन्छ । नेपालमा भने केही अपवाद बाहेक कमेडियन लेखक हुन सकेनन् । किनभने उनीहरुले साहित्य अध्ययन गरेनन् । जबकी मानिस जति अध्ययनशील भयो, उति गहिरो व्यङ्ग्य गर्न सक्छ । पञ्चायतकालमा एकेडेमीले गाइजात्राको सुरुवात गर्नुको पछि पनि यसलाई साहित्यको मूलविधा मानेकै कारणले हो । आजका कमेडियनहरु साहित्यकार त परको कुरा साहित्यका पाठक पनि हुन सकेनन् । यहि कारण व्यङ्ग्य केवल राजनीतिमा मात्र सीमित भयो । नेताको हाउभाउ र समाचार पढेर व्यङ्ग्य गर्ने चलन बढेर गयो । जसमा बौद्धिकता एकदमै कम हुन्छ । हुन त अरु क्षेत्रमा पनि साहित्यको अध्ययन गर्ने चलन छैन । स्वयं साहित्यकारहरु अध्ययनशील छैनन्, अरुको त के कुरा गर्नु र ?
तपाईं लेखेकै भरमा धेरै देश घुम्ने लेखकमा दरिनु भएको छ । विदेशमा साहित्य वा कलाको अवस्था कस्तो पाउनु भएको छ ?
चाहे पूर्वीय समाजमा होस् वा पश्चिमा समाजमा, एउटा कुरा समान छ । त्यो के भने मानिसले सम्पती कमाएपछि साहित्यकार र कलाकारको संगत गर्छन् । पुराना दरवारमा कवि र संगीतकर्मीहरु अनिवार्य रहन्थे । अंग्रेज आउनुअघि भारतमा भएका सयौं राज्यमा त्यहाँका दरवारमा कवि कलाकार राखेर उनीहरुका कुरा सुन्ने गर्दथे । संस्कृत साहित्यहरुमा पनि राजाले योगी र कविको निर्णय सुनेर मात्र फैसला गरेको पाइन्छ ।
फ्रान्स पुगेका बेला मैले त्यहाँको भब्य दरवार घुम्ने मौका पाएको थिएँ । लुई चौधौंको दरवारको भित्तामा जसरी कला सजिएका छन्, त्यसबाट पनि त्यो दरबारमा कलाकार र कविले सिर्जनाको उपल्लो तहमा पुगेर ती भित्ता सजाएको सजिलै महसुस गर्न सकिन्छ । अर्थात धन कमाएपछि मानिसले आनन्दका लागि गर्ने भनेकै कला साहित्यको अध्ययन र लेखक कविको संगत हो ।
त्यस्तै कोरियामा आज पनि सरकारी जागीर खाने मानिसले अन्य कुराको अतिरिक्त त्यहाँको परम्परागत कविता ‘सिजो’ सिर्जना गर्न जानेको हुनुपर्छ । किनभने साहित्य सिर्जना गर्ने कर्मचारीले नै जनताको पीर मार्का बुझ्छन् भन्ने मान्यता छ । नेपालमा भने मानिसले सम्पती कमाउनु पर्छ भन्ने बुझे तर सम्पती कमाएर आनन्दित हुने शैली पनि सिक्नु पर्छ भन्ने जानेनन् किनभने उनीहरुले साहित्य र कलाभित्र आनन्दको रहस्य छ भन्ने कुरा बुझेकै छैनन् ।
नेपालमा यो कुरा थाहा नहुनुको कारण के होला ?
विदेशीहरुले नेपालीहरुलाई यो कुरा बुझाउन चाहन्छन् । त्यसका लागि विदेशका विभिन्न कार्यशालामा पनि बोलाउँछन् । त्यहाँको साहित्य, संगीत कलाले त्यो देशलाई कति माथि पुर्यायो भन्ने कुरा बुझाउन पनि चाहन्छन् तर यस्ता कुरा सरकारी च्यानलमार्फत आउँछ । विदेश घुम्ने भनेपछि कर्मचारी र नेता–कार्यकर्ता नै यस्ता काममा अघि बढेर जान्छन् । त्यही क्षेत्रको संवेदनशील व्यक्तिलाई पठाए पो त्यो कुरा टपक्क टिपेर लेखक–कलाकारले ती कुरा बोकेर आउँछ र यहाँ त्यससम्बन्धी बहस हुन्छ । विषयसँग पर परसम्म सम्बन्ध नै नभएको मानिस गएपछि उसले के बुझ्छ र के ल्याउँछ ? मैले धेरै पटक यस्ता कार्यशालाहरुमा सरकारी कर्मचारीलाई भेटेको छु ।
एकपल्ट युएनडिपीले संस्थाको तर्फबाट मलाई र सरकारका तर्फबाट कुनै दुई जना विज्ञलाई पठाउन अनुरोध गरेको थियो । त्यहाँ पुगेपछि मात्रै मैले त्यो विषयसँग साइनो नभएका दुईजना सरकारीलाई भेटेँ । उनीहरु कार्यशालमा बस्दै नबसी घुमेर समय बिताए, मेरो थाप्लोमा सबै जिम्मेवारी छाडेर । खोज्ने हो भने यस्ता गैर विषयका मानिस सरकारी खर्चमा वा सरकारी कोटामा विदेश गएको पाउनु हुन्छ । यसैबाट थाहा हुन्छ, हामी सिकेर नयाँ काम गर्न चाहदैनौं । केवल कमाउन र घुम्न मात्रै चासो दिन्छौं ।
एक पटक नेपाली पत्रिकामा कार्टुनको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा तपार्ईंका बहस सुन्न पाइन्थ्यो । कार्टुनमा तपाईं कसरी जोडिनु भयो ?
२०२१ सालतिर ‘मायालु’ नामक सिनेप्रधान पत्रिका छापिन्थ्यो । त्यसमा म ब्यङ्ग्य लेख लेख्थेँ । लेखमा कार्टुन राख्दा राम्रो हुन्छ भन्ने कुरा आयो । त्यो बेला कार्टुन छाप्ने चलन भर्खर सुरु भएको थियो । यहि कारण ‘मायालु’मा पनि कार्टुन राख्ने कुरा भयो । म चित्र बनाउने हुँदा मैले नै एकपटक प्रयास गरेँ । त्यो सायद राम्रो भयो । त्यसपछि ‘कार्टुन सँवाद’ नामक स्तम्भ नै सुरु गर्न सम्पादकले आग्रह गरे । यसरी म कार्टुनिस्टका रुपमा पनि परिचित भएँ ।
जब प्रजातन्त्र आयो, कार्टुनहरु लोकप्रिय त भए तर कार्टुनिस्टलाई पत्रकार मान्न सम्पादकहरुले आनाकानी गर्न थाले । मैले कार्टुनिस्टहरुको एउटा संस्था गठन गरे । यहि संस्थामार्फत हामीले पत्रकार महासंघसँग कार्टुनिस्टलाई पनि पत्रकारको मान्यता दिनुपर्ने लविङ् गर्यौं । त्यही लविङले कार्टुनिस्टलाई पनि पत्रकार मान्यता दिलायो । पछि कार्टुनिस्टहरुको संस्था पुर्नगठन भएर दुर्गा बराल (बात्सायन) अध्यक्ष हुनु भएपछि यसले अझ इज्जत पायो ।
साहित्यको क्षेत्रमा चर्चित भए पनि तपाईंले भुगोल विषय पढ्नुभयो । यसको पछि कुनै कारण छ ?
साहित्यमा लागेर भोकभोकै परेका मानिस देख्दै हुर्केको केटो हुँ । त्यसैले आर्थिक भरथेगका लागि मैले भुगोल पढ्ने निर्णय गरेको थिएँ । त्यो बेला भुगोल नेपालका लागि नयाँ विषय थियो । यो मेरो दानापानी चलाउने भाँडो बन्यो । विदेशीहरुसँग काम गर्न पाइन्थ्यो । भुगोल बृहत क्षेत्र भएकाले ज्ञानको दायरा फरकाकिलो भयो । यहि कारण युएनडिपी, युनिसेफ, युनेस्को जस्ता संस्थामा काम गर्न पाइयो । यसले आर्थिक अभाव हुन दिएन ।
साहित्य त मेरो नशा मै थियो । जुन सुकै क्षेत्रमा गए पनि म साहित्यकै लागि जन्मिएको थिएँ । यसका लागि अतिरिक्त परिश्रम गर्नुपर्ने अवस्था थिएन । भुगोल विषय नै किन छानेँ भन्ने कुरा पनि रमाइलो छ । त्यो के भने भुगोलभित्र २ सय भन्दा बढि विषय पढ्नु पर्छ । पृथ्वीसँग जोडिएका हरेक कुरा भूगोलका विषय हुन् । भुगोल पढेकै कारण मैले हरेक विषयमा ब्यङ्ग्य गर्न सिकेँ । मलाई धेरैले भन्छन्, यति धेरै विषयको जानकारी कसरी राख्नुहुन्छ । यसको श्रेय म भुगोललाई नै दिन्छु । अझ जुनबेला देखि ‘उचाइ भुगोल’ को विषयमा विश्वमा परिचित भएँ, त्यसपछि त संसारको बाटो पनि खुल्यो, ज्ञानको बाटो पनि खुल्यो ।
तपाईंलाई ‘उचाइ भुगोलविज्ञ’ भनेर विदेशीले निकै प्रसंसा गरेको लेखहरु पढ्न पाइन्छ । विशेषगरि नेपाल विज्ञ टोनी हेगेनको प्रसंसाले तपाईंको व्यक्तित्व अन्तर्राष्ट्रिय हुन पुग्यो । के हो यो उचाइ भुगोल भनेको ?
उचाइका कारण मानिसको सम्यता कसरी विकास हुन्छ भन्ने अध्ययन गर्ने विषयलाई उचाइ भुगोल भनिन्छ । नेपाली भुगोल अध्ययन गर्दै जाँदा मैले के थाहा पाएँ भने एउटा निश्चित उचाइमा नेपाली बस्ती बसेको रहेछ । धेरै तल औलो लाग्ने र धेरै माथि जाडो हुने कारणले नेपाली पहाडी बस्तीहरुको विकाससँगै भाषा, संस्कृति र रहनसहन एकै किसिमको भएको रहेछ । यसअघि कुनै पनि भुगोल विज्ञले यसरी अध्ययन नगरेका कारण यसलाई छुट्टै विषय मानियो । पश्चिमाहरु यस्ता अनुसन्धानका विषयलाई निकै महत्व दिने भएकाले अलिअलि प्रसंसा भएको हो । मलाई खुसी लाग्छ ।
तै पनि तपाईंले विद्यावारिधि गर्नुभएन ? किन होला ?
साहित्यमा लागेका कारण समय भएन । फेरि मैले नयाँ विषय पहिल्याएँ । यो आफैमा विद्यावारिधि भन्दा ठूलो कुरा हो भन्ने लाग्यो । विदेशीहरु पनि यही भन्छन् । एउटा मानिसले सबै कुरा कहाँ गर्न सक्छ र ?
तर तपाईंमाथि नै सुकदेव राईले विद्यावारिधि गरिदिए, कस्तो लाग्छ ?
खुसी लाग्छ । ममाथि भन्दा पनि म र मजस्ता चार जना हाँस्यब्यग्यकारमाथि भन्दा राम्रो होला । कहिलेकाहीँ आफूले विद्यावारिधि नगरे पनि म पनि विद्यावारिधिको विषय भएँ भन्ने कुराले सन्तुष्टि दिन्छ ।
तपाईंका नाममा पहिलो पटक १ सय ११ विषयमा नयाँ काम गरेको रेकर्ड भएको छ भन्ने गरिन्छ । नयाँ नयाँ काम गर्न किन मन लाग्छ ? कि नयाँ रेकर्ड राख्ने सोख हो ?
नेपालमा नयाँ जे काम गरे पनि पहिलो पल्ट हुन पुग्छ । किनभने नेपालमा भएकै केही छैन । विदेशमा देखेर आउँछु, यहाँ भएको देख्दिन, गर्न मन लाग्छ । त्यसपछि त्यो काम पहिलो हुन पुग्छ । अरुले दुई–चारवटा मात्र नयाँ काम गर्ने हिम्मत गर्छन् । मलाई भने एउटा कुरा स्थापित भएपछि अर्को विषयमा हामफाल्न मन लागिहाल्छ । सोक होइन, आइपर्छ र गर्न मन लाग्छ । कुरा त्यति हो ।
नयाँ के गर्दै हनुहुन्छ ?
नेपालमा जे कुरा पनि विदेशीले बुद्धि दिने र हामीले त्यसैलाई महत्व दिएर लागू गर्दा हामीले राजनीतिक, सामाजिक र सांस्कृतिक धेरै कुरा गुमायौं । खासमा विदेशीले नेपाललाई कति बुझेको छ र ? उनीहरुको कुरा हामीले लागू गर्नु ? केही वर्ष यता बल्ल मेरो दिमाग यो कुरा घुस्यो । यहि कारण विदेशीलाई नेपाल बुझाउन अंग्रेजी भाषामा एउटा बृहत्तर नेपाल परिचय पुस्तक लेख्दैछु । यो निकै मोटो पुस्तक हुन्छ जस्तो छ । मुख्यतः त्यसैमा लागेको छु ।
अर्को सहायक तर महत्वपूर्ण काम पनि गर्दैछु । खासमा नेपालमा विश्वमा भन्दा धेरै कुरा नयाँ छन् । केवल हिमाल, बुद्ध र गोर्खालीले मात्र नेपाललाई चिनाउने होइन, हाम्रो देशमा सयौं कुरा अरु देशभन्दा फरक छ । त्यसलाई मैले गिनिज बुक अफ वल्र्ड रेकर्ड जस्तै नेपालका आफ्ना किसिमका किर्तिमानहरुको दर्जनौ स–साना पुस्तक निकाल्नु पर्छ भन्ने निष्कर्षमा पुगेको छु । एक दर्जन जति तयार भएका छन्, अरु एक दर्जन जति तयार पार्न सकिन्छ ।
सय भन्दा बढि पुस्तक लेखिसक्नु भयो, अरु सय वटा लेख्ने योजना हो ?
समयले साथ दिए मैले जम्मा गरेका धेरै विषय तयारी अवस्थामा छन् । त्यसैले सयले मान्दिन, हजार पुस्तक पुर्याऔं भन्ने पो सोच्दैछु । (लामो हाँसो)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।