साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अशेष मल्ल कसरी फुत्किए जुत्ता व्यापारबाट ?

नाट्यकर्मी अशेष मल्लका हजुरबुवा गजेन्द्र प्रधानाङ्ग पूर्वाञ्चलका पहिलो जुत्ता ब्यापारी हुन्, जसले कोसी नदीपूर्व र मेची नदी पश्चिमका धेरैजसो नेपालीलाई जुत्ता लगाउन सिकाएका थिए । त्यो क्षेत्रका अधिकांशले आफ्नो खुट्टामा पहिलो पल्ट लगाएको जुत्ता नै ‘दिनेश सुज’ थियो । अशेष मल्लका काकाको जन्मसँगै खोलिएका जुत्ताको नाम नै दिनेश सुज बन्न पुग्यो । त्यो यस्तो जुत्ता थियो, जुन जुत्ता लगाउनुलाई हिमाली शेर्पादेखि मधेसका जमीनदारसम्म गौरव गर्थे । उत्कृष्ट डिजाइनका जुत्ता काठमाडौंमा प्रधानमन्त्री, नेपाली सेना र खानदानी राणाका खुट्टामा पनि सजिन्थे ।

पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गरेपछि गोर्खाली सेनाको कोपभाजनमा परेर यो परिवार भक्तपुरबाट धनकुटा भासिएको थियो । यो परिवारका अधिकांश हाँगा बिँगा अहिले पनि पूर्वाञ्चल क्षेत्रमा विभिन्न व्यवशायमा संलग्न छन् । हजुरबुवादेखि सुरु भएको व्यापारमा अशेषका काकाहरु, दाजु–भाइहरु अहिले पनि अनेक व्यवशायमा सलग्न छन् । धनकुटाबाट झरेर विराटनगरमा फ्याक्ट्री खोल्दाताका बनेको बस्तीमा अहिले पनि घघडान ब्यापारीहरुको बसोवास छ । तर अशेष मल्ल र उनका दाजु मुकेश मल्ल भने कला क्षेत्रमा लागेर काठमाडौंको अर्कै संसारमा आइपुगेका छन् ।

अहिले दिनेश सुज नेपाली बजारबाट हराएको छ तर अशेष मल्ल कला क्षेत्रमा यस्तो नाम बन्न पुगेको छ, जसको नाम नेपाली साहित्यमा सधैं जिवित रहने छ । अशेष मल्ल यस्ता व्यक्ति हुन्, जसले ले पहिलो पटक सडक नाटकको जन्म दिए । उनको नाममा सानो उमेरमा प्राज्ञ भएको र युरोपमा नाट्य विषय पढाउने पहिलो नेपाली नाट्यकर्मीको ट्याग पनि झुण्डिएको छ ।

bahulako diary small and inside post

दुई दर्जन पुस्तक र सय भन्दा बढि नाटकका लेखक अशेष मल्ल ब्यापारी बन्न छाडेर किन नाट्यकर्मी बने ? नेपालको प्रजातान्त्रिक इतिहासमा सबैभन्दा लामो समय गिरिजाप्रसाद कोइरालाका निकट व्यक्ति भएर पनि किन शक्तिको प्रयोग गरेनन् ? आत्मकथा लेख्नका लागि टिपेर राखेर ९ महत्वपूर्ण घटनालाई हाम्रा सहकर्मी अश्विनी कोइरालामार्फत अशेष मल्लले बाहिर ल्याएका छन् ।

घटना नम्बर एक

अशेष मल्ल ७ कक्षामा पढ्थे । उनलाई जुत्ताको व्यवशायका लागि मानसिक तयार गरिदै थियो । उनी पढ्न तेज थिए तर उनका साथीहरु पढ्नै मन गर्दैन थिए । उनीहरुका कारण आफू पनि बिग्रन सक्छु भन्ने भय पलाउन थालेपछि उनले एउटा संस्था खोलेर साथीहरुलाई सहि बाटोमा ल्याउने सोच बनाए । त्यो बेला सरकारी तवरबाट नेपाल बाल संघठन नामक संस्था खुलेको थियो, जसले जिल्ला जिल्लामा वालवालिकाको सुधारात्मक कार्यक्रम गर्दथ्यो । यहि सिको गरेर उनले आफ्नो गाउँका बालबालिकालाई सिर्जनात्मक काममा लगाउन थाले ।

कार्यक्रम राम्रो हुने लक्षण देखेपछि दर्जन बढि साथीहरु बटुलेर आफ्नो घरको गोठमा एउटा ब्यानर बनाए र लेखे, ‘बाल सुधार संघ’ । त्यसलाई सबैले देख्ने ठाउँमा टाँसे र सुरु गरे, कविता लेखन प्रतियोगिता, बाल नाटक प्रशिक्षण ।

यो कामको गाउँमा त प्रशंसा त भयो तर अञ्चलाधीशलाई मन परेन । उनलाई प्रशासनबाट बोलावट भयो र त्यसो गर्न नमिल्ने तर्क गरियो ।

‘मलाई सरकारले बक्सिस देला भन्ने लागेको थियो तर बन्द गर्ने आदेश पो दिए ।’ आफ्नो जीवनको पहिलो झड्का सम्झिदै अशेष मल्ल भन्छन्, ‘मैले गाउँका केटाकेटी सुधार गर्ने पवित्र उद्देश्य बताएपछि अञ्चलाधीशले प्रधानमन्त्रीसम्म कुरा पुर्याएर सहयोग गर्ने वचन दिए । तत्काललाई भने बन्द गर्नै पर्ने आदेश दिए ।’

यो कुराले अशेषको कलिलो मनले प्रश्न गर्यो, राम्रो काम गर्दा सरकारले किन यसलाई नराम्रो देख्यो ? यसको कारण के छ ? उनले प्रधानमन्त्रीसँग भेट्ने जिद्दि गर्न थाले ।

हजुरबुवा चर्चित ब्यापारी, बुवा तत्कालीन अवस्थाका चर्चित लेखक, उनको कुरामा सुनुवाइ भयो र प्रधानमन्त्री किर्तिनिधि विष्ट धनकुटा गएको बेला किशोर अशेषलाई भेट्ने व्यवस्था मिलाइयो । सानो उमेर भए पनि अशेषले प्रधानमन्त्रीले बुझ्ने गरि बालबालिको समस्या र त्यसबाट बच्न ‘बाल सुधार संघ’ खोलेको कुरा तर्कपूर्वक सुनाए । अशेषको कुरा किर्तिनिधि बिष्टले धैर्यपूर्वक सुनेपछि भने, ‘तिम्रो जस्तै उद्देश्य राखेर श्री ५ को सरकारले प्रत्येक सदरमुकाममा नेपाल बाल संघठन खोलेको छ । त्यहीँबाट आफ्ना काम सुरु गर । सरकारले सहयोग गर्छ ।’

अशेषमा आफ्ना साथीहरुलाई कसरी सक्रिय एवं क्रियाशील बनाउनु पर्छ भन्ने चिन्ता थियो । किर्तिनिधि विष्ट भने बाल संघठनको घेरामा राखेर उनका गतिविधि निस्क्रिय बनाउन चाहन्थे । यहि एउटा घटनाबाट देशमा जनताले आफूले चाहे जस्तो काम गर्न नपाउने राजनीतिक व्यवस्था भएको महसुस अशेषलाई ज्ञात भयो । यो त्यही दिन थियो, उनले प्रधानमन्त्रीकै अघि मनमनै प्रतिज्ञा गरे, ‘म कसैको अधिनमा भएर बस्दिन तर आफ्नो तर्फबाट साथीहरुको स्थिति सुधार गरेरै छाड्छु ।’

घटना नम्बर दुई

देशका प्रधानमन्त्रीले समेत आफ्नो कुरा बुझ्न नसकेकोमा अनौठो लाग्यो । यहि बेला नेपाली कांग्रेसकी तत्कालीन चर्चित नेतृ दुर्गा पोखरेलले उनलाई विपी कोइराला र उनले स्थापना गरेको नेपाली कांग्रेस पार्टीको नीतिका बारेमा बताइन् ।

त्यो नीतिमा पञ्चायतका मान्छेले किन संघ संस्था खोल्न दिदैनन्, किन उनीहरु समाज सुधारका बाधक हुन् भनेर बताइएको थियो । दुर्गा पोखरेलले साँझ बिहान स्थानीय तमोर खोलाको किनारमा केही किशोर भेला गरेर उनले पञ्चायती व्यवस्था ढाल्ने गुप्त योजनाहरु बताइन् । यसका लागि गाउँ–गाउँमा विद्रोह सुरु भएको र युवाहरुले आफ्नो ठाउँबाट विभिन्न किसिमको विरोध सुरु गरेको फेहरिस्त सुरु गरिन् । तालिम सकिएपछि सबैले एक एक थान विपीको तस्विर पनि पाए । जुन तस्विर उनको कोठामा सजियो ।

‘खासमा त्यो मेरा लागि सामान्य मानिसको तस्विर थिएन, इश्वरकै तस्विर लागेको थियो । म पूरै भक्त भएको थिएँ ।

घटना नम्बर तीन

एक पल्ट अशेषका बुवा काठमाडौंमा जुत्ता पुर्याएर फर्कदा केही पत्रपत्रिका ल्याएका थिए । पत्र–पत्रिकामा कार्टुनहरु थिए र मन्त्रीहरुले गलत गरेका कुरा छापिएका थिए । उनलाई अनौठो लाग्यो । उनलाई पनि समाजमा गलत भएका कुरा छाप्न रहर लाग्यो ।

त्यसपछि के थियो, उनले हातैले ‘आँगन’ पत्रिका निकाले । एउटा निकालेपछि साथी राजेन्द्र प्रधानसँग मिलेर त्यसका ६–७ प्रति सारे । त्यो समाचारमा स्थानीय हेडसरले घरमा श्रीमती हुँदा हुँदै अर्की युवतीसँग लसपस गरेको समाचार मुख्य हेडिङ् बनाइएको थियो । त्यसबाहेक स्थानीय प्रहरीले गरेका गलत काम, ठूला बडाले हेपेका कुराहरु पनि थिए ।
एक रात धनकुटा बजारका विभिन्न स्थानहरुमा साथीहरुसँग मिलेर ७ प्रति पत्रिका टाँसे । एकाबिहानै त्यसले धनकुटाभरि हो–हल्ला मच्चियो । त्यो बेला उनी १५ वर्षका थिए । यति सानो मानिसले यो काम गरेको होला भन्ने कसैलाई भएन । यो कुरा निकै पछि खुल्यो, जसका कारण पञ्चायतकाल भरि उनले निकै दुःख पाए ।

घटना नम्बर चार

एक दिन उनी घरबाट धनकुटा बजार झर्दैथिए । बीचमा जेल पर्दथ्यो । बेला बेलामा उट्पट्याङ् काम गर्ने भएकाले उनी प्रहरी नजरमा एक नम्बरका बद्मास युवा थिए । ठूला बडाको छोरा भएकै कारण मात्र उनी जेल परेका थिएनन् तर सबैले उनलाई घुरेर हेर्दथे । त्यसैले उनी प्रहरीसँग केही तर्केर नै हिँड्थे । त्यो दिन उनी हिड्ने रोडा ओछ्याएको बाटोमा रगतै रगत थियो ।

अलिपर उनले देखे, प्रहरीहरुले दुई युवालाई खुट्टामा समाएर ढुंगामा घिसारेर सजाय दिइरहेका रहेछन् । बिहानदेखि उनीहरुलाई यसरी सजाय दिइएको रहेछ । पछि उनले थाहा पाए, ती युवा अरु कोहि नभएर नेपाली कांग्रेसका युवा जुम्लाहा नेता राम–लक्ष्मण रहेछन् । जसलाई केही पछि प्रहरीले धनकुटाबाट जेल सार्ने निहुँमा ओखलढुंगामा हत्या गरे । यो खवर उनले दुर्गा पोखरेलबाटै थाहा पाए ।

घटना नम्बर पाँच

दुई वर्ष एम ए पढ्ने निहुँमा काठमाडौं बस्ने अवसर पाएका थिए । पढाइ सकेपछि के गर्ने ? उनी अल्मलमा परे । सहयोग गर्ने कोही साथी थिएनन् । होस्टल छाड्न प्रशासनबाट दबाब आइरहेको थियो । सर्टिफिकेट हातमा च्यापेर उनी किर्तिपुरको चौरमै चुपचाप रुँदै बसे ।

अचानक उनको मनमा आयो, नाटक गर्ने इच्छा पैसा नभएका कारण हो । यहि खुला चौरलाई स्टेज बनाउने हो भने नाटक गर्न पाइन्छ । नाटक गर्दैछु भनेर खवर गरेपछि काठमाडौंमा बस्ने निहुँ पाइन्छ । किन रुने ?
अशेषको जीवनमा यो यस्तो घटना भयो, जसले उनको पूरै जीवन परिवर्तन गरिदियो । त्यहि दिन उनले मनमा सडककै नाटक देखाउने परिकल्पना जन्मियो र सडक नाटकको सुरुवात दियो । सडकमै देखाउन मिल्ने ‘हामी वसन्त खोजिरहेछौँ’ नाटक पनि लेखे । नेपाली साहित्यमा यहि नाटकलाई पहिलो सडक नाटक र यसका परिकल्पनाकार अशेष मल्ललाई पहिलो सडक नाटककारको उपाधि दिने गरिन्छ ।

घटना नम्बर छ

देशमा प्रजातन्त्र आयो र पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आयो । नाटकमार्फत प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यलाई साथसाथै हिँडाएको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नजिकबाट अनुभव गरेका थिए । यहि कारण उनी २०५० सालमा प्रज्ञा प्रतिष्ठानका प्राज्ञका रुपमा नियुक्त भए । त्यो बेला उनको उमेर जम्मा ४० वर्ष थियो । जुन कुर्सीमा वालकृष्ण सम, लेखनाथ पौडेल जस्ता महारथि बसेका थिए त्यो कुर्सीमा बस्न तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले भर्खरको युवालाई जिम्मेवारी दिएपछि उनले काम त गरे तर त्यो कुर्सीमा बसेनन् ।

उनको छेऊमा घुम्ने कुर्सी त्यतिकै रहन्थ्यो, उनी भने छेऊको साधारण कुसीमा बस्थे । करिब ५ वर्ष उनी प्राज्ञ हुँदा उनी घुम्ने कुर्सीमा कहिल्यै बसेनन् । जसको चर्चा अहिले पनि साहित्य जगतमा हुने गर्छ ।

घटना नम्बर सात

गिरिजाप्रसाद प्रधानमन्त्री भएका बखत कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहका समर्थकहरुले विद्रोह गरेका थिए । त्यसको नेतृत्वमा थिए, अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवा । आफ्ना समर्थकहरुसँग भेटघाट गर्न र नयाँ योजना बनाउन विद्रोही समूहले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय खोलेका थिए ।

प्रजातन्त्र आएपछि अशेष मल्ल प्रत्यक्ष राजनीतिबाट सन्यास लिइसकेका थिए । तर समउमेरका नेता विमलेन्द्र निधिका मिल्ने साथी भएकाले उनलाई खोज्दै त्यो अफिसमा पुगेका थिए । त्यहाँ पुग्दा उनले देखे, पुरानो जुत्ता खोजेर त्यसको माला बनाइदै थियो । गिरिजाप्रसाद कोइरालाले पार्टीमा हालिमुहाली गरेको देखेपछि त्यसको विरोधमा प्रधानमन्त्रीलाई आफ्नै कार्यकर्ताले जुत्ताको माला लगाउने योजना बनेको रहेछ । त्यसमा शेरबहादुर देउवाको नेतृत्वमा विमलेन्द्र निधि, प्रकाशमान सिंह जस्ता युवा नेताहरु जुर्मुराइ रहेका थिए तर अशेष मल्लकै अघि अनौठो घटना भयो । जुत्ताको माला लिएर गाडीमा चढ्नै लाग्दा नेपाली कांग्रेसका पुराना नेता महेन्द्रनारायण निधिले सबैलाई रोकेर भने, ‘जुत्ताको माला लगाउनु जरुरी छ ?’ सबैले जरुरी भएको बताएपछि भने, ‘ठिक छ, यत्रो इतिहास बोकेको पार्टीको सभापतिलाई जुत्ताको माला लगाउन जरुरी छ भने म रोक्दिन । तर आवेशमा निर्णय नगर । यो काम भोलि विहान पनि गर्न सकिन्छ ।’

वास्तवमा त्यो आवेशकै निर्णय थियो । भोलिपल्ट जुत्ताको माला लगाउनु मुर्खतापूर्ण काम हो भनेर उनीहरुले नै महसुस गरे । यो कुराले अशेषको जीवन नै परिवर्तन गरिदियो । त्यसपछि उनी कुनै पनि काम आवेशमा गर्दैनन् । जब कसैसँग रिस उठ्छ, उनी महेन्द्रनारायण निधिले त्यो बेला भनेको शब्द मनमा आइहाल्छ, ‘आवेशमा निर्णय नगर ।’

घटना नम्बर ८

अशेष मल्लले नाटक सम्बन्धी आर्जन गरेको आफ्ना सम्पूर्ण ज्ञान आगामी पुस्तालाई हस्तान्तरण गर्न चाहन्थे । यसका लागि एउटा नाटक घर, नाटक अध्ययन कक्ष र कला गतिविधि गर्ने भवन एकसाथ निर्माण गर्न चाहन्थे । यो बेला नेपाली कांग्रेस बढिरहेको चरम भ्रष्ट्राचार र नातावादबाट उनी यति दिक्क भएका थिए । देश बनाउने नेता पनि केही गर्न नसकिएको लाचारी प्रकट गरिरहेका थिए । देशका लागि ज्यानको बाजी लगाउने नजिकका नेताहरुमा पनि परम्परागत कार्यशैली देखेपछि एक दिन उनले सोचे, ‘के देशमा केही गर्नै नसकिने हो त ? समस्या अरुमा छ कि आफूमा ? उनले महसुस गरे, समस्या आफूमा छ, अरुमा होइन ।

इच्छा शक्ति भए जे पनि गर्न सकिन्छ भन्ने देखाउन उनी यो नाटकघरका लागि सरकारी–गैरसरकारी संस्था कसैसँग पनि एक पैसा सहयोग नलिने ‘भिष्मप्रतिज्ञा’ गरे । आफै नाटक लेखेर, स्वदेश–विदेशमा नाटक पढाएर र आफ्ना विद्यार्थीसँग केही शुल्क तथा पुस्तकको रोयल्टीबाट यस्तो नाटक घर स्थापना गर्न चाहन्थे । यसका लागि पञ्चायतकालमै दर्ता भएको सर्वनाम नाट्यघर बनाउन उनी लागिपरे । आफ्नो र श्रीमती सावित्री मल्ल कक्षपतिसँग भएका पैसा जम्मा गरेर काठमाडौंको बत्तिसपुतलीमा ८ आना जग्गा किने र करोडौं रुपैंया मूल्य बराबर भवनको जग हाले ।

यो भवन बन्न करिब १० वर्ष लाग्यो । नाटकबाट मात्र होइन, आफ्नो व्यक्तिगत सम्पती पनि त्यसमा हाले । सर्वनाम अहिले सबै सुविधायुक्त आधुनिक नाट्यघर बनेको छ । उक्त घरको भित्तामा लेखिएको छ, ‘यो नाटक घरमा…. कुनै सरकारी–गैरसरकारी संस्थाको एक पैसा लगानी भएको छैन तर यो देशको नाट्यकलामा समर्पित छ ।’

घटना नम्बर ९

अशेष मल्ल स्वभावले नै नास्तिक थिए । उनी साँझ मन्दिर गएर घन्टी बचाउने मान्छेसँग समेत दिक्क मान्थे । उनको चिन्ता मन्दिरको छेऊमा उभिएको रुखको टोड्कामा आराम गरिरहेका चराहरु प्रति हुन्थ्यो । दिनभरि थाकेर आएका चराहरुलाई समेत तथाकथित धार्मिक व्यक्तिले ‘डिस्टर्ब’ गरिरहेका छन् तर मानिसको शरीर जस्तै आस्था पनि परिवर्तनशील हुन्छ भन्ने कुरा उनले त्यो बेलासमम अनुभव गरेका थिएनन् । यस्ता नास्तिक व्यक्तिको दाँतमा ट्युमर पलायो । डाक्टरहरुले क्यान्सरको शंका गरे । छोराछोरी सानै थिए । भर्खरै जीवनले गति लिदै थियो तर अचानक मृत्यु सन्निकट आइदियो ।

बेलैमा उपचार नगरे समस्या आउने ठानेर परिवारलाई समेत थाहै नदिई उनी दिल्ली पुगे । त्यहाँको चर्चित क्यान्सर अस्पतालमा भर्ना भए पनि उनलाई विज्ञान र मानिसका सीमाहरु अनुभव भयो । जीवनभर केही गर्छु भनेर हिँडिरहेका मानिसहरु कुनबेला मृत्युमा पुग्नुपर्छ थाहै नहुने । यो महसुस गर्दै जाँदा उनमा ठूलो विषाद् भरिएर आयो । उनको छटपटि यति बढ्दै गयो कि कसैगरी पनि चित्त बुझाउन सकेनन् । ठिक यहि बेला कसो–कसो अस्पतालको बेडमा पल्टिएको एउटा हिन्दी म्यागेजिन उठाउन पुगे । त्यसको पुछारमा लेखिएको थियो—‘जहाँ विज्ञानको अन्त्य हुन्छ, त्यहाँ अध्यात्म सुरु हुन्छ । —साईबाबा’

त्यो बेलासम्म उनले साईबाबा भन्ने नाम सुनेका थिएनन् । यो एउटै वाक्यले उनलाई यति धेरै छोयो कि सबै थोक छाडेर उनी साईबाबाको पछि लागे । उनमा क्यान्सर रोग त देखिएन तर त्यही दिनदेखि उनको जीवन परिवर्तन भयो । म्यागेजिनमा लेखिएको त्यही वाक्यका कारण आज उनी करिब करिब साधु जस्तै जीवन बाँचेका छन् ।

प्रतिक्रिया
Loading...