आइतबार साहित्यपोस्टले फरक भूमि र फरक भाषा बोल्नेहरुका बीच रहेर पनि नेपाली भाषा र साहित्यका लागि मरिमेट्नेहरुको अन्तर्वार्ता गरिरहेको छ । यसै श्रृंखलाअन्तर्गत यस साता अमेरिकामा बसेर नेपाली साहित्यसृजनामा निरन्तर लागिरहनुभएका पर्यटन व्यवसायी पाेस्तक श्रेष्ठसँगकाे अन्तर्वार्ता प्रस्तुत गरेका छाैँ ।

एक दशकभन्दा लामाे समयदेखि अमेरिका बस्दै आएका श्रेष्ठकाे कथासंग्रह मुन्नी प्रकाशनकाे तयारीमा छ । प्रस्तुत छ, मुन्नीकै सेराेफेराेमा रहेर श्रेष्ठसँग साहित्यपाेस्टका लागि कृष्ण ढुङ्गेलले गरेकाे कुराकानीकाे संम्पादित अंशः

पोस्तकजी नमस्कार, कस्तो छ अमेरिकाको बसाई ?

नमस्ते कृष्णजी । अहिले व्यवसाय ‘कोमा’ अवस्थामा भएकोले फुर्सद नै फुर्सद छ । घडीमा ‘अलार्म’ राखेर ब्यूँझनु परेको छैन । कुनै भागदौड छैन । रुचीका केही ‘कोर्स’हरु गर्दैछु । ‘इन्टरनेट सर्फिंग’ गर्ने, हल्काफुल्का अध्ययन, यसरी नै समय बित्दैछ । कुनैबेला केही विषयवस्तु मस्तिष्कमा झिलिक्क गर्‍यो भने केही लेखी पनि हाल्छु । बस्, त्यति नै हो ।

अमेरिकाको बसाईको बीच नेपाली भाषामा कथासंग्रह ‘मुन्नी’ लिएर आउँदै हुनुहुन्छ । नेपाल हुँदैदेखि लेख्ने गर्नु हुन्थ्यो कि परदेशले नै लेखायो ?

विद्यार्थीकालदेखि नै साहित्यमा रुचि थियो । केही लेख्थेँ, तर ती आफ्नै डायरीमा सीमित थिए । पढाइ सकेपछि कर्मक्षेत्र पर्यटन बन्यो । गोरा छाला र हरियो डलरकै पछि दगुरियो । पढ्ने-लेख्ने कामबाट बिल्कुलै विमुख भइयो । सन् २००५ मा डिभी चिट्ठाको हुरीले अमेरिका हुत्त्यायो । त्यतिबेला ब्लगहरुको सायद भर्खर प्रादुर्भाव भइरहेको थियो । परदेशमा भएकोले नेपालको न्यास्रो मेट्न इन्टरनेटमा नेपालका समाचार, साहित्य, ब्लगहरु खोज्न थालियो । अर्काको रचना, ब्लगहरुमा कमेन्ट गर्न थालेँ । “तपाईँको लेखनशैली राम्रो रहेछ, आफैँ केही लेख्नु हुन्न ?” भनेर केही मित्रहरुले हौस्याउन थालेपछि मभित्र लेख्ने हुटहुटी जाग्यो । सायद म नेपालमै भइरहेको भए उदायचलदेखि अस्तायचलसम्म पर्यटककै सेवामा भागदौड गरिरहेको हुने थिएँ र केही लेख्ने थिइनँ होला । यो हिसाबले भन्नु पर्दा मलाई परदेशले नै लेखायो ।

तपाईँका यस कथासंग्रहमा कस्ता विषय र कुन समयमा लेखिएको कथाहरु संग्रहित छन् त ?

पोस्तक श्रेष्ठ

वास्तवमा मैले कुनै विषयवस्तु वा काल वा भूगोलभित्र सीमित रहेर लेख्छु भनेर लेखिनँ । कुनै बेला मस्तिष्कमा कुनै कुरा झिलिक्क गर्छ, त्यसबेला त्यो सल्किन्छ र कल्पनाको लपेटमा बल्ल विषयवस्तु वा काल प्रवेश गर्छन् । लेख्नु पर्छ भनेर जबर्जस्ती कहिले पनि घोत्लिएर बसिनँ । यी कथाहरु यस्तै दश-बाह्र वर्षअघिदेखि लेखिएका हुन् । नब्बेका दशक र त्यसपछिका समाज, परिवेश, घटनाहरु नै समेटिएका छन् । कुनै कथामा अमेरिकी परिवेश छ । कतै द्वन्दकालका प्रसंगहरु छन् । प्रेम-कथाहरु छन् । छुवाछुत, नारी-पुरुष बीचका भेदभावहरु, समाजका बिसङ्गतीहरुबारे पनि कथाहरु बोल्छन् । जे होस्, कथाहरुमा विविधता छ । कुनै एउटा कथाको पृष्ठभूमि अर्कोसँग मेल खाँदैन ।

नेपाली साहित्य उपन्यासको बाढी नै आइरहेको समय हो यो, तपाईँ किन कथासंग्रहमा ?

म साहित्यमा ताते-ताते गर्न सिक्दैछु । अहिले नै दौडिन खोज्नु ठीक हुन्न होला । कथाहरुबाटै आफ्नै लेखन क्षमता तिखार्न खोज्दैछु । दोस्रो कुरो, उपन्यास लेखनको लागि समर्पण, अध्ययन, अन्वेषण चाहिन्छ । समय उतिकै महत्वपूर्ण कुरा हो । एउटै कथाको विषयवस्तुले त चार-पाँच दिन वा हप्ताभरि  मथिङ्गललाई खल्बल्याइरहेको हुन्छ भने उपन्यासले त केही वर्ष नै खल्बल्याउनेछ । आफ्नो जिविकोपार्जनको काममा ध्यान दिनै पर्‍यो।

भनेपछि उपन्यासभन्दा कथा लेख्न सजिलो लागेर हो ?

हजुर, अवस्य पनि। तर मेरा प्राय: कथाहरुमा सिंगो उपन्यासका प्रारुप, संरचनाहरु छन् । यो कथासंग्रहलाई पाठकहरुले कसरी स्वीकार्छन् — कस्तो प्रतिकृया आउँछ — हेरौँ । त्यसपछि संग्रहमा भएका केही कथाहरुलाई उपन्यासको रुप दिने इच्छा चाँहि छ।

पुस्तक लेख्नुभन्दा प्रकाशक पाउनु गाह्रो भन्छन्, तपाईँलाई प्रकाशक पाउन कतिको गाह्रो भयो ?

वास्तवमा मैले पुस्तक लेखेर प्रकाशन गर्ने महत्वाकाँक्षा राखेको थिइनँ । भनौँ भने म ब्लगर र फेसबुके लेखक थिएँ । लेख्यो अनि आफ्नै फेसबूकमा पोष्ट गर्‍यो । होइन— यी रचनाहरु त इतिहासका दस्तावेजहरु हुन सक्छन् — यी सबै आम पाठकहरुसम्म पुग्नु पर्छ भनेर मेरा गुरु धनराज गिरी, पत्रकार मित्र कृष्ण ढुंगाना लगायत अन्य सुभेच्छुकहरुले पनि निरन्तर घच्घच्याउन थाल्नु भयो र म प्रकाशकको खोजीमा लागें । केहीसँग सम्पर्क भयो । नयाँ लेखक, नाम खासै नसुनिएको भएर होला, उहाँहरुले हिम्मत गर्नु भएन ।

पुस्तक प्रकाशन साहित्य सेवा हो, तर व्यवसाय पनि हो। लगानीको प्रतिफल आउने-नआउने कुरा हुन्छ। । म आफैँ व्यवसायी भएकोले उहाँहरुको द्विविधा बुझ्छु । त्यसैले कुनै गुनासो छैन । लिपि बुक्सका अर्जुन अधिकारीजीले भने अनलाइन छापाहरुमा मेरा केही रचनाहरु पहिलेदेखि पढ्नु भएको रहेछ र उहाँलाई मेरा रचनाहरुमा विश्वास रहेछ । त्यसैले मौका दिनु भयो— उहाँप्रति आभारी छु ।

परदेशमा बसेर देश लेख्दाका अनुभूति कस्ता हुँदा रहेछन् ? फरक भूगोलमा जुनसुकै कारणले पुगे पनि संवेदनामा त देश र देशकै माटो भरिएको हुँदो रहेछ है !

सही भन्नु भयो । रोजगार, अनि अवसरको खोजीमा नेपालीहरु जहाँ पुगे पनि मनभरि त नेपाल नै हुन्छ । हरेक भौतिक सुखसुविधा बीच रहेर पनि केही न केही अभाव महसुस भइरहेको हुन्छ— केही नपुगेको जस्तो, केही नभएको जस्तो । भावनाहरुमा देश आइरहन्छ ‍— त्यहाँ दनदनी आगो बल्दा यहाँ मन भत्तभत्ती पोलिरहेकै हुन्छ । सपनामा तिनै गाउँ-समाज, आफन्तहरु आइरहन्छन्।

परदेशमा बसेर लेख्दा एउटा समस्या के भने आफूले जुन समयमा नेपाल छोडियो, त्यही समयमा अड्किएको जस्तो लाग्दो रहेछ र लेखनमा उही पुरानो परिवेश आउँदोरहेछ । तर समाज भने अघि बढिसकेको हुँदोरहेछ । भाषा, लवाइ-खवाइ, जीवनयापन, प्रविधि आदिमा धेरै फरक आइसकेको छ जुन प्रवासमा बसेर लेख्नेहरु अद्यावधिक भइरहेका हुन्नन् ।

मुन्नी तपाईँको पुस्तकाकारको रुपमा नेपाली साहित्यका लागि पहिलो योगदान हो । भोलिका योजनाहरु के कस्ता छन् ?

योजना भनेर खासै योजना बनाएको त केही छैन । उपन्यास लेख्नु पर्छ कि भन्ने सोचसम्म आएको छ । चलचित्र क्षेत्रसँग सम्बन्धित केही परिचित मित्रहरुले स्क्रिप्ट लेख्नु पर्‍यो भनेर पनि घच्घच्याइरहनु हुन्छ । तर त्यो अलि प्राविधिक कुरो पनि भएकोले हात हाल्न सकेको छैन । अर्को समस्या समयाभाव पनि हो । अहिलेलाई भन्नु पर्दा उपन्यास लेखन नै मेरो आगामी लक्ष्य हो । फुटकर कथाहरु त लेखिरहने नै छु ।

तपाईँको मुन्नीलाई कहिलेसम्ममा पाठकले सुम्सुम्याउन पाउँछन् त ?

प्रकाशकज्यूको भनाई अनुसार हप्ता-दश दिनभित्र बजारमा पुग्न पर्ने हो ।

अन्त्यमा, संसारभरि फैलिएका नेपाली साहित्य अनुरागीलाई के भन्न चाहानुहुन्छ ?

संसारभर छरिएर पनि नेपाली साहित्यलाई माया गर्ने सबै पाठक तथा लेखकहरुलाई म नववर्ष २०२१ को शुभकामना व्यक्त गर्न चाहन्छु । आ-आफ्नो क्षमताले भ्यायसम्म नेपाली साहित्यलाई मलजल गर्ने काम कसैले नछोड्नूहोला । पुस्तकको रुपमा मुन्नी मेरो पहिलो प्रयास हो । पढिसकेपछि बिनाहिच्किचाहट टिप्पणी गरिदिनु हुन्छ भन्ने आशा गरेको छु ।