अफ्रिकाको सबैभन्दा ठूलो कम्पनी डाङ्गोटे ग्रुपमा एक जना नेपाली उच्च तहमा काम गर्छन् । डाङ्गोटेको स्थानीय देश नाइजेरियाको केन्द्रीय कार्यलयमा यी नेपाली आकर्षक तलब पाउने मध्ये पर्दछन् । तर आफ्नो यो तलबको ठूलो हिस्सा उनले समाजसेवामा लगाइरहेका छन् । वितग डेढ दशकदेखि अफ्रिकामा नेपाली चेलीहरुको तस्करी रोक्न र त्यहाँ छरिएर रहेका नेपालीहरुलाई संघठित गर्न पनि उनले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । नेपाली साहित्यमा पनि उनी कविता र नियात्रामा कलम चलाइरहेका छन् । एक वर्षअघि एउटा कविता संग्रहको प्रकाशन गरेका उनी हुन् हिक्मत थापा

गैरआवासीय नेपालीहरुको भाषा, साहित्य, संस्कृति एवं सम्पदा विभागका प्रमुखसमेत रहेका हिक्मत थापासँग यसपटक साहित्यपोस्टले अन्तरंग कुरा गरेको छ । हरेक आइतबार साहित्यपोस्टले फरक भूमि र फरक भाषा बोल्नेहरुका बीच रहेर पनि नेपाली भाषा र साहित्यका लागि मरिमेट्नेहरुको अन्तर्वार्ता गरिरहेको छ । यसै सिरिजको यो अंकका हामीले थापालाई प्रस्तुत गरेका छौँ ।

तपाईँका साहित्यकार पिता गगनसिंह थापा अब हामीमाझ रहनु भएन । आफ्ना पितालाई कसरी स्मरण गर्नुहुन्छ ?

वास्तवमा, विभिन्न काल खण्डमा समाजलाई, देशलाई र भाषा, साहित्य तथा संकृतिको क्षेत्रमा बुबाले योगदान दिनुभयो । त्यस्तै सुरुका दिनहरुको शैक्षिक क्षेत्रमा उहाँको सक्रिय योगदान रह्यो । विद्यालय स्थापना गराउने तथा पढाउने कार्यमा लाग्नु भयो । ३६, ४६ र ६२/६३ को प्रजातान्त्रिक तथा लोकतान्त्रिक जनआन्दोलनमा पनि उहाँ सक्रिय रुपमा सहभागी भई योगदान दिनु भयो । र नेपाली साहित्य पनि ३४/३५ सालदेखि जीवनकालभरी नै अविराम लेखिरहनु भयो ।

पछिल्लो समयको कुरा गर्दा अन्य कुराबाट अलग रहेर उहाँले सम्पूर्ण समय नितान्त साहित्यका लागि सुम्पनु भयो । विशेषतः उहाँले सुदूर पश्चिमको जनजीवन, भाषा, संस्कृति र दुःखपीडालाई नेपाली साहित्यभित्र समेटेर नेपाली साहित्यको भूगोललाई फराकिलो बनाउन योगदान गर्नु भयो भन्ने मलाई लाग्छ । उहाँले सिमान्तकृति भूगोल, संस्कृति, भाषा तथा समुदायभित्र पनि थिचिएका हेपिएकाहरुको पीडाव्याथा लेख्नु भयो । यसर्थ नेपाली साहित्यको आयतन तथा भूगोललाई फराकिलो बनाउन उहाँ विशेष योगदान छ । आशा छ, अनुसन्धानकर्ताहरुले उहाँको बारेमा समयक्रमसँगै खोज तथा अनुसन्धान गरेर उत्खनन् तथा गर्नुहुने छ ।

वीपी कोराइलाको गहिरो छाप तपाईँको बुबा थियो भनिन्छ । तपाईँको बुझाइमा खासमा विपीको के कुराले उहाँलाई प्रभावित पारेको थियो ?

हो, वीपीको गहिरो छाप थियो बुबामा । छापाभन्दा पनि उहाँ वीपीको असल अनुयायी हुनुहुन्थ्यो । उहाँ एक असल कार्यकर्ताका रुपमा तथा वैचारिक रुपमा वीपीको निकट रहनु भयो । वीपीको साहित्यिक प्लस राजनैतिक व्यक्तित्वको छापा उहाँमा परेको हुनुपर्छ । ३४/३६ मा स्थायी शिक्षकको जागिर छोडेर वीपीकै प्रेरणाले उहाँ नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लाग्नु भएको थियो ।

तपाईँले चाहिँ बुबाको नजरबाट, राजनैतिक व्यक्तित्को रुप र साहित्यिक व्यक्तित्वका रुपमा वीपीलाई कसरी बुझ्नु हुन्छ ?

बुबाकै कारणले सानैबाट म पनि साहित्यको नजिक रहेँ । केही बुझ्ने भएपछि राजनीतिप्रतिको चासो पनि बुबाकै कारण बढ्यो । आफूले नजान्दै र नबुझ्दै बुबाकै कारण वीपी भनेको एक आदर्श नेता हुन् भन्ने मलाई परिसकेको थियो । पछि वीपीका कृतिहरु पढ्ने भइसकेको पछि उनको फरक व्यक्तित्वसँग पनि मेरो साक्षात्कार भयो । नेपाली साहित्य र राजनीतिमा मात्र नभएर समृद्ध राष्ट्रका स्वप्नद्रष्टा, कुनै पार्टी विशेषको मात्र नभएर सम्पूर्ण राष्ट्रकै भिजेनरी नेतृत्वकर्ता हुनुहुन्थ्यो । मेरो बुझाइमा वीपी राजनीति तथा साहित्यमा आफ्नो फरक धारा स्थापना गर्न सक्षम रहनु भयो । साहित्यिक तथा राजनैतिक मात्र नभएर समग्र रुपमै वीपीको जस्तो विशाल व्यक्तित्व नेपालको इतिहास तथा भविष्यमा सायदै अर्कै पाइएला ।

तपाई स्वयम् पनि एनआरएनमा रहेर भाषा, साहित्य र संस्कृति विभागको नेतृत्व गरिरहनु भएको छ । तपाईँले बुझाइमा, बुबा (गगनसिंह थापा)को चाहिँ भाषा, साहित्य तथा संस्कृतिलाई लिएर दृष्टिकोण के थियो ?

मैले अघि पनि भनेँ, उहाँ वीपी कोइरालाबाट प्रभावित हुनुहुन्थ्यो ।

बुबाका कृतिहरु पढ्दा तपाईँ पाउनुहुन्छ, स्वरकल्पनाका कुरा हैन कि आफैँले बाचेको समाज र आफैँसँग बाचिरहेका समाजका व्यक्तिहरुका कुरा, शोषकका कुरा हैन कि शाषितहरुका कुरा । उहाँ लेखनलाई लिएर सिमान्तकृत समुदाय, भाषा तथा संस्कृतिभित्रका पनि सिमान्तकृत व्यक्ति तथा विषयवस्तुुसम्म पुग्नु भयो । र, त्यही लेख्नु भयो ।

अर्को कुरा, उहाँले तल्लो समुदायका पनि तल्लो मानिएका व्यक्ति र विषयवस्तुमाथि कलम चलाउनु भएको छ । उहाँले सुदूर पश्चित तथा कर्णाली प्रदेशका जीवनशैली, भेषभूषा, भाषा संस्कृति तथा रहनसहनलाई कृतिका रुपमा बाहिर ल्याउनु भएको छ । अझ भनौँ, समग्रमा नेपाली साहित्यले नदेखिरहेको अथवा पुग्न नसकेको, छुन नसकेको सुदूर पश्चिम तथा कर्णालीको कथा व्याथालाई नै उहाँले आफ्नो लेखनको मूलभूतरुपमा धरालत बनाउनु भएको छ । र, अरुले लेखिरहेकोभन्दा फरक वा साहित्यले छुन नसकेका आम सर्वसाधरणका कथा व्याथालाई लिपिबद्ध गर्नुपर्छ भन्ने सोच नै उहाँका दृष्टिकोण हो ।

बुबाकै कुरा गर्दा, रचना सिर्जनाको अवस्थामा भौतिक तथा मानसिक रुपमा उहाँलाई कस्तो पाउनुहुन्थ्यो ?

यो पछिल्लो दश वर्षको कुरा गर्दा, बुबा कृति लेख्नमा पूर्ण रुपमा हराउनु भयो । जुन उहाँको अध्ययन गर्ने तथा लेख्ने कोठा थियो, उहाँ अधिकांश समय त्यहीँ कोठामा हराइरहनु हुन्थ्यो । उहाँ जहिल्यै पनि आफूले लेख्न तथा अध्ययनको लागि समय नपुगेको बताउनु हुन्थ्यो । सायद उहाँले भय भइसकेको रहेछ कि, ‘अब चाँडै म जानु पर्ने छ, मसँग यो सबका लागि समय धेरै छैन ।’

पिता गगनसिंह थापाका साथ हिक्मत थापा

हालसम्म बुबाका सात आठ ओटा कृति प्रकाशित भए, तीन चारवटा प्रकाशित हुने तयारीमा छन् । पछिल्लो समय बुबा लेखनमै मात्र हराउनु भएकाले मलाई के थियो भने, अब उहाँसँग चार पाँच कृतिका पाण्डुलिपिहरु होलान् । उहाँ बितिसकेपछि छोरीहरुको साथमा मैलै उहाँको कोठामा पाण्डुलिपिहरु खोजेँ । चार पाँचवटा होइन, उहाँले त तीसवटा पाण्डुलिपि तयार पार्नु भएको रहेछ । जसलाई हामीले सुरक्षित राखेका छौँ । दुई तीनवटा मैले आफैँसँग पनि ल्याएको छु । जुन हामी विस्तारै प्रकाशित गर्दै जानेछौँ ।

त्यही पाण्डुलिपिहरुमध्ये उहाँले एउटा आफ्नै मृत्युपछिको कल्पना गरेर आफैँलाई पात्र बनाएर ‘अस्थाञ्चलको ढोकाबाट’ लेख्नुभएको रहेछ । त्यसमा चाहिँ उहाँले आफूले मृत्युवरण गरेपछि सन्तान्तले कसरी र के के गरेर अन्तिम बिदाई गरुन् लगायतका कुराहरु समेत समेट्नु भएको रहेछ । हामीले उक्त पाण्डुलिपि समयमै प्राप्त गरेकाले सम्भव भएसम्म उहाँले भनेअनुसार नै गर्यौँ ।

अँ, पछिल्लो समय उहाँ मानसिक तथा भौतिक दुवै रुपमा लेखन तथा अध्ययनमै हराउनु भयो । जसको फलस्वरुप अहिले बुबा नरहे पनि हामीसँग उहाँका तीसवटा पाण्डुलिपि छन् ।

नेपाली साहित्यमा तपाईँको बुबा अथवा गगनसिंह थापाको आफ्नै विरासत छ । तपाईँले पनि बुबाकै विरासतलाई पछ्याउनु भएको हो ?

ठ्याक्कै त्यस्तै त होइन । तर के हुँदो रहेछ भने, बाल्यकालमा पाएको वातावरणले धेरै प्रभाव पार्दो रहेछ । बुबाले प्रायः किताब पढिरहने, घरमा किताबहरु आइरहने, मान्छेहरु पनि त्यसै किसिमका भेला हुने हुँदो ममा पनि त्यसको प्रभाव पर्यो । ममा नजान्दा नजान्दै पनि बुबाको साहित्यिक प्रभाव सानैदेखि पर्दैआए छ । बुबाकै प्रभावले म नेपाली साहित्यको राम्रो पाठक भएँ । पढ्ने लत लाग्यो । र त्यही बुबाको प्रभाव र घरको वातावरणले लेख्न पनि प्रेरित गर्यो ।
यसर्थ, बुबाको विराज पछ्याएको भन्दा पनि उहाँको प्रभावले चाहिँ म भाषा तथा साहित्यतिर ढल्किन पुगेको हुँ ।

तपाईँलाई बुबा अर्थात् गगनसिंह थापाको व्यक्तित्वले आफ्नो साहित्यिक व्यक्तित्व छायामा परेको महसुस हुन्छ कि हुँदैन कहिलेकहीँ ?

पिताजीको साहित्यिक व्यक्तित्व अथवा क्षमतामा आफू पुग्न त म सक्छु जस्तो लाग्दैन मलाई । उहाँमा अध्ययन तथा विश्लेषण क्षमता उच्चा थियो । उहाँको उचाइमा त म पुग्न सक्दिनँ नै । उहाँको व्यक्तित्वको छायामा रहेरै पनि कुनै क्षेत्रमा थोरै माथि आउन सके भने त्यो मेरो लागि गौरवको कुरो हो । म त साहित्य र भाषाको क्षेत्रमा भर्खर बामे सर्दै छु । मलाई यो क्षेत्रमा उहाँकै व्यक्तित्वले सहयोग गरेको छ । र, गर्नेछ भन्ने कुरामा विश्वस्त छु ।

प्रसंग बदलौँ, तपाईँ हाल अफ्रिका बस्नु हुन्छ । भूगोलले टाढा रहेर पनि नेपाली भाषा साहित्यलाई प्रेम गर्नुहुन्छ । तपाईँको बुझाइमा भाषा र साहित्य भन्नु के रहेछ ? यसलाई देश र भूगोलसँग जोड्दाको योगफल के हुँदो रहेछ ?

भाषा, साहित्य तथा संस्कृतिको भूगोल देशको भन्दा धेरै फराकिलो हुँदो रहेछ । मलाई लाग्छ, भाषा र साहित्यले देश बनाउँछ, देशले भाषा र साहित्य बनाउँदैन । कुनै पनि समाज अथवा देशलाई भाषा र साहित्यले समृद्ध बनाउँछ । अहिले नेपाली भाषा ग्लोवल भइरहेको छ । भूगोलको रुपमा देश नेपाल भए पनि आज नेपालीहरु एक सयभन्दा बढी देशमा छरिएका छन् । जहाँ नेपाली भाषा र साहित्य पुगेका छन् । यसरी नेपाली भाषा तथा साहित्यले देशलाई विश्वभर चिनाइरहेको छ । फिँजाइरहेको छ ।

यसर्थ भाषा र साहित्य समृद्ध हुनु भनेको देश समृद्ध हुनु हो । विस्तारित हुनु भनेको देश विस्तारित हुनु हो ।

हाल तपाईँ एनआरएनमा रहेर भाषा, साहित्य तथा संस्कृति विभागको नेतृत्व गरिरहनु भएको छ । तपाईँको नेतृत्वमा समृद्ध भाषा र नेपाली साहित्यको विश्वव्यापीकरणका लागि के कस्ता काम भइरहेका छन् ?

यसमा अलिकति विस्तार जाऊँ । गैरआवासिय नेपाली संस्था जुन स्थापना भयो, यसको उदेश्य भनेकै प्रवासमा रहेका नेपालीहरुलाई जोड्नु थियो । उनीहरुले सिकेको ज्ञान र आर्जन गरेको अर्थलाई देशमा भित्र्याएर समृद्धिको बाटोमा अग्रसर हुनु पनि हो । त्यसका साथसाथै के पनि बुझिदै गइयो भने, नेपाली भावना जब बढ्दै जान्छ त्यसपछि संस्थाप्रति अपनत्व पनि बढ्दै जान्छ । यसर्थ नेपाली भावनाले जोड्ने भनेको त भाषा, साहित्य र संस्कृतिले नै रहेछ । त्यसैले भाषा, साहित्य र संस्कृतिमा पनि संस्थागतरुपमै काम गर्नु पर्छ भन्ने नेतृत्वको निष्कर्ष अनुसार यस विभाग सन् २०११ मा स्थापना भएको हो ।

मूलभूत रुपमा यसले प्रवासमा रहेका नेपालीहरुका साहित्यिक कृतिहरु प्रकाशन गर्दै आएको छ । प्रवासमा रहेका नेपाली बच्चाहरुले नेपाली भाषा पढाउने लगायतका काम पनि गर्दै आइरहेको छ । सोचेअनुसार गर्न नसके पनि, मेरो कार्यकालमा मूलतः प्रवासका लेखकहरुका रचनाहरु प्रकाशनमा काम गरिरहेका छौँ । यो वर्ष हामीले दुइटा पुस्तक प्रकाशन गर्दैछौँ । एउटा प्रवासका नेपाली लेखकहरुको नियात्रा संग्रह, जसको काम भइरहेको छ । र अर्को, प्रवासका गजलकारहरु गजल संग्रह, जुन प्रकाशनको क्रममा छ ।

त्यसैले हामीले प्रवासमा कुन देशमा बसेर कसले कुन विधामा कलम चलाइरहेका छन् भनेर कोश पनि तयार गर्न लागि रहेका छौँ । साथै, देशभित्र र बाहिर बसेर साहित्यको फरक विधामा कलम चलाइरहनु भएका स्रष्टाहरुलाई विभिन्न कार्यक्रममार्फत् जोडेर विमर्शसमेत गरिरहेका छौँ । कोरोनाका कारण इच्छा तथा योजना भए पनि भौतिक उपस्थितिमा कार्यक्रम गर्न सकिएको छैन । तर भर्चुअल माध्यमबाट हामी निरन्तर नेपाली साहित्य र यसका फरक फरक विधामा बहस गरिरहेका छौँ ।

अर्को महत्वपूर्ण कुरा चाहिँ, प्रवासमा रहेर नेपाली साहित्यमा कलम चलाइरहनु भएका स्रष्टा वर्षमा विशेष कृतिलाई अन्तराष्ट्रिय पुरस्कार दिने गरी अक्षय कोशको समेत स्थापना गर्न गइरहेका छौँ । जसका लागि हामी पच्चीस लाखको अक्षय कोश तयार गर्दैछौँ भने सन् २०२१ देखि प्रत्येक उत्कृष्ट कृतिलाई दुई लाख राशिको अन्तराष्ट्रिय पुरस्कार प्रदान गर्ने योजना बनाएका छौँ । त्यस्तै, समृद्ध नेपाली भाषा र साहित्यको विश्वव्यापीकरणका लागि अरु पनि थुप्रै साना कार्य गर्ने सोच बनाएका छौँ ।

तपाईँ भाषा साहित्यकै क्षेत्रमा काम गरिरहनुभएको अनुभवमा समृद्ध भाषा र नेपाली साहित्यको विश्वव्यापीकरणका लागि राज्यस्तरबाट कस्ताखालको पहल हुन आवश्यक देख्नु हुन्छ ?

मुख्य कुरा, राज्यस्तरबाट केही प्रयासहरु भएका होलान् । प्रज्ञा प्रतिष्ठान छ, उसले पनि आफ्नो तरिकामा गरिरहेकै छ । तर राज्यस्तरबाट हामीले सोचे र चाहे अनुरुप समृद्ध भाषा र साहित्यको विश्वव्यापीकरणका लागि जुन किसिमको भूमिका खेल्नुपथ्र्यो, पहल गर्नु पथ्र्यो, त्यो चाहिँ चाहिँ भएको छैन ।

नेपालीका अब्बल कृतिहरुलाई विभिन्न मूख्य भाषाहरुमा अनुवाद गरेर बजारीकरणमा पनि जुन किसिमको काम हुनुपथ्र्यो राज्यस्तरबाट, त्यतातिर ध्यानै जान सकेको देखिदैन । प्रवासमा भएका नेपालीहरुका लागि तथा अन्य नेपाली भाषा अध्ययन गर्न चाहानेका लागि नेपाली भाषाका विद्यालय तथा स्कूलहरु जुन रुपमा सञ्चालन गर्नु पथ्र्यो, त्यहीतिर पनि सरकारको ध्यान पुगेको देखिदैन । त्यस्तै समृद्ध भाषा तथा साहित्यका लागि राज्यले गर्ने लगानी पनि प्रयाप्त छैन । यस्ता विविध कुराहरुलाई सरकारले पनि ध्यानमा राखेर काम गर्ने तथा भाषा साहित्यमा काम गरिरहेका संघ संस्थासँग हातेमालो गर्नतर्फ राज्यस्तरको ध्यान जान आवश्यक छ ।