भारतको दार्जीलिङवासी कवि योगिता राई एक चर्चित कवि हुन् । कवि राई, कविता लेखेर नेपाली साहित्यलाई धनी बनाउन मात्र हैन तर नवयुवाहरूलाई पनि साहित्य लेखनमा निरन्तर अगाडि बढ्न सहयोग गर्छिन् । दार्जीलिङका युवा साहित्यकारहरूले निर्माण गरेको कला सङ्गम मञ्च (कलम) जसले धेरै साहित्यिक क्रियाकलाप गर्दै आइरहेको छ त्यसमा पनि यिनी सक्रिय छिन् तथा अरू सामाजिक कार्यमा पनि सक्रिय देखिन्छिन् ।
प्राय: ठुल्ठुला साहित्यिक हल्ला भन्दा पर बसेर कविता लेख्न रुचाउने कवि योगिता एक शक्तिशाली नारी हस्ताक्षर हुन् । नेपाली साहित्यलाई यिनले , ‘समय बोध कविता सङ्ग्रह (२०१९)’, ‘समय स्वर कविता सङ्ग्रह (२०२२)’, ‘प्रिय दुश्मन कविता श्रृङ्खला (२०२३)’, ‘साड़ीको उमेर कविता सङ्ग्रह (हिन्दीबाट नेपालीमा अनुवाद प्रकाशोन्मुख )’ लगायत अन्य फुटकर कविता एवम् कथाहरू पनि दिएकी छिन् । यिनै चर्चित कवि योगिता राईसित कवि राकेश क्रान्तिकारीले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत छ-
तपाईं कविता किन लेख्नुहुन्छ ?
– कविता लेख्दा आनन्द लाग्ने गर्छ । आफूले देखेका र मनमा लागेका कुरालाई कवितामा अभिव्यक्त गर्न पाउँदा सन्तुष्टि अनुभूत गर्ने गर्छु ।
तपाईंले कविता मार्फत कस्ता विषय उठाउनु चाहनुहुन्छ ?
– एउटा कुरा कवितामा कस्ता विषय भन्ने भन्दा पनि समाजका कुन कुराले कवि हृदयलाई लेख्न कर लगाउँछ भन्ने कुरा महत्त्वपूर्ण होला । समसामयिक विषय विशेष समाजका विकृति विरुद्ध नै कवितामा अभिव्यक्त गर्ने गर्छु । अर्को प्रेम त छँदै छ ।
तपाईंका कवितामाफर्त पाठकले आनन्द पाउँछन् कि नयाँ चेतनाको विकास ?
– त्यो प्रश्न त पाठकको अधिकारभित्र पर्छ भन्ने म ठान्दछु । होइन र ?
भारतीय नेपाली साहित्यमा नारी लेखिका स्थिति अहिले कस्तो रहेको पाउनुहुन्छ ?
– भारतेली नेपाली साहित्यमा नारी लेखिका स्थिति म सन्तोषजनक नै मान्छु।
अहिलेको कविताको ट्रेन्ड कस्तो रहेको छ ?
– यस्तो-उस्तो ट्रेन्ड भनेर भनिहाल्न सक्दिनँ । तर भिजुअल कविताले खुट्टा तन्काइरहेको अवस्था हो कि जस्तो लाग्दैछ ।
तपाईंको युवा साहित्यकारसँग राम्रो संलग्नता छ, अहिलेका पुस्ता के लेखिरहेका छन् ? कस्तो लेखिरहेका छन् ?
– एक-दुईजना बाहेक प्रायः युवा कविहरूले समाजका जिउँदो समस्या र संघर्षबारे नै लेखिरहेका छन् चाहे त्यो अस्तित्वको होस् वा चियाबारी वा बेरोजगारी । सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ अध्ययन र अनुभूति हुन् जसले कविताको छुट्टै ओजन रहेको अनुमान लगाउन सकिन्छ ।
कविलाई पुरस्कारले केही दिन्छ ?
– थप जिम्मेवारी ।
कविलाई साहित्यिक समूह, साहित्यिक कार्यक्रमको कति आवश्यकता छ ?
– व्यक्तिगत रूपमा आवश्यकता खासै पर्दैन । तर आफैलाई साहित्य सेवाप्रति सक्रिय र ऊर्जाशील बनाउने काम भने निरन्तर गर्छ ।
प्राय लेखकहरूले अरू लेखकका कृति पढ्दैनन् भन्ने चर्चा छ, तपाईं त्यसभित्र पर्नुहुन्छ कि हुन्न ?
– सके जति पढ्ने गर्छु । घरको काम गरिरहेको समय पनि अडियो साहित्य सुनिरहेको हुन्छु ।
‘हाम्रोमा लेख्ने मान्छे धेरै र पढ्ने मान्छे थोरै छन्’ भनिन्छ, हो ?
– त्यो पनि पूर्ण सत्य होइन होला । मान्छेले आफ्नो मन परे र इच्छा लागे अनुसार केही त पढ्छन् भन्ने मलाई विश्वास छ ।
साहित्यप्रति नव पुस्तालाई आकर्षित गर्न के कदम उठाउनु पर्ला जस्तो लाग्छ ?
– यो कार्य विद्यालयबाट शुरू भइदिए अत्यन्त राम्रो हो ।
आगामी दिनमा कस्ता कृति पढ्न पाइएला तपाईंको ?
– हाल अर्कै काममा अल्झिएको हुनाले यतिखेर भन्न असमर्थ छु ।
तपाईंको अनुवाद कृति पनि प्रकाशोन्मुख छ, अनुवाद गर्न कति सजिलो कति गाह्रो ?
– अनुवाद गर्नु चुनौती नै रहेछ भन्ने कुरा मैले बोध गरेँ । शब्द/वाक्यका सही अर्थ भाषाको सही चयन र भावनालाई सही प्रस्तुत होस् भनी निकै विचार पुऱ्याउनुपर्ने रहेछ ।
हाम्रोतिर अनुवाद साहित्य लेखन धेरै कम छ, किन होला ? कि हामीलाई अनुवाद साहित्य नचाहिएर हो ?
– अन्यको तुलनामा कम हुनसक्छ तर मैले कतिपय अन्य भाषामा लेखिएका पुस्तकहरू नेपालीमा पढेकी हुनाले अनुवाद साहित्य कम छ भनेर भनिहाल्न सक्दिनँ । जति हुनुपर्ने त्यति भने भएको छैन भन्ने चैं लागेको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 










