‘साहित्यपोस्ट काव्य पुरस्कार – २०८१’ का लागि ५  काव्य कृतिको छनौट भइसइसकेको छ । यो पुरस्कारको प्रायोजन कवि तथा गीतकार उत्तम भौकाजीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट ५ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । उत्कृष्ट ५ मा छनोट भएको कृति मायाको आयतनको स्रष्टा मधुसुदन घिमिरेसँगको संवाद प्रस्तुत गरिएको छ ।

१. सानै उमेरमा कविताकृति प्रकाशनमा ल्याउनुभयोर साहित्यपोस्ट काव्य पुरस्कारको छोटो सूचीमा पनि पर्न सफल भयो । कस्तो अनुभव भइरहेको छ?

उमेर ‘सानो’ वा ‘ठूलो’ भन्ने सवालमा मेरो त्यस्तो कुनै स्पेसिफिक धारणा छैन । पाठक, समीक्षक र यहाँहरूले नै फिल गर्नुहोला म र मेरो कविताको उमेर कति हो भनेर । मलाई सम्झना छ, म सानै उमेरदेखि कविताहरू लेख्थेँ । ती ‘अकविता’ थिए, त्यो अर्कै कुरा । कक्षा ७ मा हुँदा ब्रेलपेपरका लगभग १०० पानाको एउटा उपन्यास भनेर लेखेको थिएँ, जुन खास उपन्यास बनेको थिएन । यसरी हेर्दा, मैले साहित्यका धेरै विधामा ‘कलम चलाउने दुस्साहस’ गर्दै गएँ ।

म २०५७ सालमा जन्मेको भए पनि, मलाई आफ्नो साहित्यिक यात्रा लामो लागेको छ । मेरा कविताहरू उत्कृष्टै त नहोलान्, तर मेरो यसका लागि गरेको यात्राचाहिँ पक्कै छोटो छैन । जहाँसम्म साहित्यपोस्ट काव्य पुरस्कारको कुरा छ – साँचो भन्नुपर्दा, मेरो टेन्डेन्सी पुरस्कार, प्रतियोगिता जस्ता कुराहरूबाट अलि टाढै रहने रहेछ । तर, मेरो कृति उत्कृष्ट पाँचभित्र परेको खबर पाउँदा स्वाभाविक रूपमा रोमाञ्चित र खुशी नै महसूस भएको छ ।

२. तपाईंको जीवन र साहित्यमा के समानत पाउनु हुन्छ भिन्नता चाहिँ के रहेछ ?  

म यदाकदा भन्ने गर्छु – साहित्य मेरा लागि एउटा साइकोलोजिकल थेरापी’ हो, र मेरो मानसिक स्वास्थ्यसँग यसले प्रत्यक्ष  सम्बन्ध राखेको छ । जीवनमा जे कुराले मलाई प्रभाव पारेको महसूस हुन्छ ती सबै कतै न कतै गएर मेरा सिर्जनामा अभिव्यक्त हुन्छन् । साहित्य मेरा लागि जीवनलाई प्रोसेस गर्ने एउटा माध्यम हो कि जस्तो लाग्छ ।

कहिलेकाहीँ, समानताभन्दा भिन्नता अलि फ्यासिनेटिङ लाग्छ मलाई । जीवन भनेको अनिश्चितताको यात्रा हो जहाँ घटनाहरू जस्ताको तस्तै घट्छन्, अभिनयको कुनै गुञ्जायस हुँदैन । व्यक्तिगत रूपमा, कतिपय सीमितताका कारणले सबै कुरामा मेरो ‘एक्सेस’ हुँदैन । त्यसैले कहिलेकाहीँ म ‘फ्यान्टासीमा बाँच्ने गर्छु’ । त्यसलाई साहित्यले सहायता गरिरहेको हुन्छ । रोचक कुरो भनेको, साहित्यमा आफ्नो फ्यान्टेसीलाई पनि ठाउँ दिन पाउँछु, जुन मेरो वास्तविक जीवनमा सम्भव नभएको हुन सक्छ । साहित्य एउटा यस्तो क्यानभास हो जहाँ म जीवनका रङहरूलाई आफ्नो तरिकाले मिसाउन सक्छु । जीवन जस्तो छ त्यस्तै हुन्छ, साहित्य चाहिँ जस्तो बनाउन सकिन्छ त्यस्तै हुन्छ । यही नै केही समानता, र केही भिन्नता हो जस्तो लाग्छ मलाई ।

३. मायाको आयतनभित्र छोटा आयतनका प्रेमिल कविताहरू छन् । खासमा मायाको आयतनचाहिँ छोटो हुँदो रहेछ कि लामो ?

यहाँले राख्नुभएको प्रश्न आफैँमा रोचक छ । मेरो कृति ‘मायाको आयतन’भित्र छोटा आकारका कविताहरू छन्, तर यसको अर्थ मायाको आयतन छोटो नै हुन्छ भन्ने होइन । मायाको आयतन कति छोटो, कति लामो, कति साँघुरो वा कति गहिरो भन्ने कुरा पाठक र समीक्षकहरूले निर्णय गर्दै हुनुहोला । मेरो बुझाइ चाहिँ मायाको आयतनमा अधिकांश कविताहरूको आयतन गहिरो नै छ भन्ने लाग्छ ।

कतिपय अवस्थामा हामीलाई आफ्नै भावनाहरू एकदम साना जस्ता लाग्छन्, तर तिनै साधारण ठानिएका भावनाहरूको प्रभावले हाम्रो जीवनमा गहिरो असर पारिरहेका हुन्छन् । मलाई लाग्छ, मायाको आयतन छोटो र लामो दुवै हुन्छ । यो मायाको प्रकृति, परिस्थिति र त्यसलाई अनुभव गर्ने व्यक्तिको संवेदनशीलतामा निर्भर गर्छ । मेरो कवितासङ्ग्रहमा चाहिँ मैले मायाका ती छोटा तर गहिरा आयतनहरूलाई समेट्ने प्रयास गरेको छु, जहाँ थोरै शब्दमा पनि असीम प्रेमको अनुभव गराउन सकियोस् । मायाको आयतनभित्र प्रेम छ, यो सत्य त हो तर पूर्ण सत्य भने होइन । त्यो चाहिँ कविता पढेपछि नै अनुभव गर्ने कुरा होला ।

४. पुरस्कारको छोटो सूचीमा तपाईँको पुस्तकसहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईँका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ तपाईँले ‘साहित्यपोस्ट काव्य पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

हेर्नुस्, म धेरै साहित्यिक कार्यक्रममा हिँडिरहेको हुँदिनँ । मलाई धेरै साहित्यिक व्यक्तित्वहरूले पनि चिन्नुहुन्न । नेपाली साहित्यमा मेरा लागि एक्सपोजर कम नै छ । त्यसैले पनि पुरस्कारको छोटो सूचीमा पर्नु मेरा लागि ठूलो कुरा हो । मेरा प्रतिस्पर्धीका रूपमा रहेका अन्य चार कृतिहरू पनि आफैँमा निकै बलिया र उत्कृष्ट छन् भन्ने मलाई राम्ररी थाहा छ । तर पुरस्कार जित्नु वा नजित्नुले  मेरो साहित्यिक यात्रामा दीर्घकालीन अर्थ राख्दैन भन्ने लाग्छ । जितिहाले चाहिँ मैले भनेको जुन साहित्यिक एक्सपोजरको कुरो छ, त्यो मिल्ने अवसर पक्कै रहनेछ । केही समयका लागि एउटा स्पटलाइट दिलाउन सक्छ भन्ने हो ।

साहित्यपोस्ट काव्य  पुरस्कार जितेँ भनेचाहिँ त्यसको केही रकमबाट दृष्टिसम्बन्धी अपाङ्गता भएका युवाहरू माझ सानो कविता वाचन कार्यक्रम या कविता वाचन प्रतियोगिता गराउने कुरा अहिले झट्ट मनमा आएको योजना हो । यसले मेरो लेखनका लागि पनि नयाँ विचारहरू जन्माउनेछ भन्ने लाग्छ । समग्रमा, त्यो आर्थिक राशि मेरो साहित्यिक यात्राका लागि र अरूलाई पनि साहित्यसँग जोड्नकै लागि खर्च हुनेछ भन्नेमा विश्वस्त छु ।

५.अन्त्यमातपाईँका आगामी साहित्यिक यात्राका योजनाहरू के के छन् बताइदिनुहोस् न ।

मसँग आगामी साहित्यिक यात्राका लागि केही योजनाहरू छन् । केही समय यता कथा लेखनमा पनि सक्रिय छु । मेरो पहिलो कृति कवितासङ्ग्रहको रूपमा आयो, तर कथा सङ्ग्रह पनि आउन सक्थ्यो । अर्थात् दुवै आउनु नै छ, खालि अघिपछि मात्रको कुरा हो ।

म आजकल मेरा पुराना कथालाई केही परिमार्जित गर्दैछु । विशेषगरी मनोवैज्ञानिक पक्ष र मानसिक स्वास्थ्यलाई जोड्दै केही प्रयोगात्मक शैलीका कथाहरू लेख्ने सोच छ । साथै, कतै-कतै अपाङ्गतालाई हेर्ने आम मानिसको दृष्टिकोण, जुन कहिलेकाहीँ देवत्वकरण या दानवीकरण गर्ने खालको हुन्छ — त्यसलाई चिर्दै एउटा मिडल पोइन्टलाई समातेर केही कथाहरू लेखौँ भन्ने पनि छ । यी सबै विषयवस्तुहरूमा म फुर्सदको समयमा बिस्तारै काम गरिरहेको छु । यस अर्थमा मेरो अबको मुख्य योजना भनेको एउटा कथासङ्ग्रह ल्याउने हो । त्यसका लागि फेरि सबै कुराले फेबर त पक्कै गर्नुपर्ने हुन्छ । हेरौँ, कसरी अगाडि बढ्छ । जे होस्, म साहित्य कोरिरहेकै हुनेछु ।