‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार – २०८१’ का लागि ५ गैरआख्यान कृतिको छनौट भइसइसकेको छ । यो पुरस्कारको प्रायोजन कवि तथा समालोचक विनयकुमार भण्डारीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट ५ कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट गैरआख्यान पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । उत्कृष्ट ५ मा छनोट भएको कृति ‘बेरीतका रीतहरू’की स्रष्टा रीता न्याैपाने पहारीसँगको संवाद प्रस्तुत गरिएको छ ।
===
१. कहिले लेखक बन्छु भन्ने कल्पना नै नगरेको मान्छे लेखक बन्नुभयो । पहिलो पुस्तक साहित्यपोस्ट गैरआख्यान पुरस्कारको छोटो सूचीमा छनोट पनि भयो । कस्तो महसूस गरिरहनुभएको छ ?
मलाई अत्यन्त खुशी लागेको छ । जीवनका उतारचढाव र भोगाइलाई खुशी र आँशुका मसीले कागजमा उतार्दै गएँ, साहित्य भएछ । पुरस्कारका लागि भनेर लेखिनँ, तर यहाँसम्म आइपुग्न मलाई अगाडि बढोस् र बढेको देख्न चाहनु हुने धेरै शुभेच्छुकहरुको माया पाएँ । हर्षितका साथै गौरवान्वित भएकी छु ।
२. लेख्न र पुस्तक प्रकाशन गर्न हौसला दिने तपाईंका आफन्त शुभचिन्तक धेरै हुनुहुन्थ्यो । उहाँहरूलाई कसरी सम्झिनुहुन्छ ?
प्रकाशन र लेखनमा घच्घच्याउने सबै अर्थात् जीवन भोगाइ, वरिपरिको वातावरण, लेखक साहित्यकारहरू मेरा प्रेरणाका स्रोत हुनुहुन्छ । उहाँहरूकै कर, बलजोड र केही आफ्नै हुटहुटी पनि हो । उहाँहरूको प्रेरणा बेगर म, म हैन ।
३. तपाईंले जिउनु भएको जिन्दगी र साहित्यमा के फरक छ ? समानता चाहिँ के छ ?
फरकै छैन । म जीवन हुँ, र त साहित्य हुँ । जे जीवन बाँचेँ, त्यही लेखेँ । सबै समानता हो, सबै भोगाइ हो । जीवनभन्दा बाहिर गयो भने साहित्य तिलस्मी हुन्छ । म वास्तविक जीवनका दुःख, पीर, व्यथा लेख्छु, जीवनले कति धेरै हाँसो, रोदन, खुशी र पीडा दिएको छ भने – काल्पनिकतामा रमाउने मलाई फुर्सदै छैन ।
४. पुरस्कारको छोटो सूचीमा तपाईँको पुस्तकसहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईँका प्रतिस्पर्धीका रूपमा बलिया कृतिहरू छन् । तपाईँले पुरस्कार जित्नु वा नजित्नुले तपाईँको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ? तपाईँले ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?
पुरस्कारबाट हौसला मिल्छ । सबै छनोट भएका बलिया कृतिलाई पनि बधाई दिन चाहन्छु । तर, पुरस्कार मिलोस्, नमिलोस् मेरा जीवनका कथा बाँकी छन् । लेख्दै जानेछु । पुरस्कार मेरो लेखनको विराट वृक्षको एक सानो बीज हुनेछ, पाएँ भने यस राशिबाट अर्को पुस्तक जन्मिनेछ । मेरो जीवनको साहित्यिक यात्रामा अघि बढ्न यो एक दियालो हुनेछ, पथप्रदर्शक हुनेछ ।
५. अन्त्यमा, तपाईँका आगामी साहित्यिक यात्राका योजनाहरू के के छन् ? बताइदिनुहोस् न !
एक नियात्रा तयारीका क्रममा छ । केही कविताहरू, केही कथाहरू पनि छन् । म नेपालीमा मात्र लेख्छु । केही अनुवाद पनि चाहिने हो कि भन्ने महसूस भएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 








