
साहित्यकार पुष्कर लोहनीको परिचय दिइरहनै पर्दैन । उनी एक मूर्तीभन्जक हुन्, चुनौतीका खेलाडी हुन्, विद्रोही हुन् । धेरैले यौन साहित्यकार भन्ने गरेको भए पनि उनी ‘फरक धार’ का लेखक हुन् । शुरुदेखि समातेको उही फरक धारमा, आज नब्बेको उमेरको सँघारमा उभिँदा पनि उनी कायम छन्, अविचलित छन् । वि.सं. १९९५ मा काठमाडौँमा जन्मेका लोहनीका प्रकाशित कृतिहरूमा ‘चहकदार माइन्टोल र पिलपिले लालटिन’, ‘भट्ट : मोतीराम भट्ट’, तथा ‘पाँच सय वर्ष : सुन हो कि घुन?’ जस्ता अनुसन्धान तथा समालोचना सङ्ग्रह, ‘कौडी’ र ‘ध्यान कविता’ जस्ता एकल कवितासङ्ग्रह, ‘पीपलबोट’ र ‘केराको थाम’ जस्ता प्रयोगात्मक कविताहरूका सङ्ग्रह, ‘आकाश विभाजित छ’ (सहलेखनमा प्रकाशित उपन्यास), ‘धरालाको टुप्पो’ कथासङ्ग्रह र उपन्यास ‘अदृश्य मान्छे’ आदि चर्चित छन् । उनका सन्दुकमा आख्यान, कविता र समालोचनाका निकैवटा पाण्डुलिपि कुनै प्रकाशकको ‘जोखिम’ पर्खेर बसेका छन् । गोली हान्ने आदेश दिनुपर्छ भनेर सिडिओ हुन नमान्ने लोहनी मानवतावादी लेखक हुन् । नेपाली साहित्यले आधुनिकतामा प्रवेश गरेको विन्दुदेखिकै अति थोरै जीवितमध्येका एक साक्षी लोहनीसँग छापामा नआएका धेरै कुराहरूको प्रथमदृश्या ज्ञान छ, सम्झना छ । अन्यायलाई ठाडो चुनौती दिँदै र जेलनेल सहँदै यहाँसम्म आएका लोहनीमा उही युवाकालीन जोश, उही उत्साह र उही ऊर्जा कायम छ । ‘साहित्यपोस्ट’ का लागि महेश पौड्यालले लोहनीसँग गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
…
लेख्न त धेरै विधा लेख्नुभयो । तर तपाईंलाई ‘कथाकार पुष्कर लोहनी’ भन्दा बढी न्याय हुन्छ भन्ने मेरो निजी ठम्याइ छ । आधार के भने, कथाबाट प्रवेश गरेर कथामै आफूलाई सर्वाधिक समर्पित गर्नुभएको छ । कथाकै विवेचना, विमर्श र प्रवर्धनमा बढी लाग्नुभएको छ । अहिले पनि मासिक रूपमा, घरमै साहित्यकारहरूलाई बोलाएर कथाको शृङ्खलाबद्ध विमर्श गराइरहनुभएको छ । केले कथातिर उन्मुख गरायो ?
हामी ज्ञानेश्वरको हाम्रो पुरानो घरमा बस्थ्यौँ । त्यहाँ हाम्री बूढी फुपू पनि हुनुहुन्थ्यो । उहाँ कथाकी खानी । सधैँ साँझ घरमा केटाकेटी भेला पारेर कथा सुनाउने । विशेष गरी शास्त्रका कथा र भूतप्रेतका कथा । ‘सेतो ख्याकको कथा’ त बाजेकै पालादेखि प्रख्यात रहेछ । हामीले भने यो कथा उनै बूढी फुपूका मुखबाट सुन्यौँ । त्यो ख्याक बुइँगलमा जान्थ्यो, आउँग्थ्यो रे । मेरो कलिलो मस्तिष्कमा त्यस कथाको प्रभाव कतिसम्म पर्यो भने, एक दिन मैले मेरै आँखाले सेतो ख्याकको आकृति देखेँ । वाल्यकालमा तिनै फुपूबाट सुनेका यस्तै प्रभावशाली कथाले मभित्र कथातिरको सम्मोहन जगायो । त्यस सम्मोहनले आजपर्यन्त छोडेको छैन । ‘मिस्टिक’ कथातिर बढी आकर्षित भएँ ।
तर रमाइलो कुरा के भने, शास्त्रीय र लोक कथा पढेर हुर्केको मान्छे, यौन कथाकार कहलायो । यो विचित्रको बेमेल चैँ कसरी?
संयोग विचित्रकै छ । फुपूले सुनाउने कथामा सेतो ख्याकको कथासँगै भूतका कथा हुँदै कृष्णका हुन्थे, रामका हुन्थे । कृष्णका पनि कस्ता भने पुतनासँगको प्रसङ्ग । पुतनाले कृष्णलाई स्तन चुसाउँदा चुसाउँदैको क्षण कृष्णले उसलाई मारेका थिए । कृष्ण भने वलिष्ठ, उनको पकड उस्तै बलियो । पुतनाले स्तन चुसाउनु र कृष्णले चुस्नु — यो ‘ब्रेस्ट कम्प्लेक्स’ हो भन्ने मैले त्यसै बेला बुझें । उता रामायणमा लक्ष्मणले सीतालाई रेखाभित्र सीमित गरेर राख्नु पनि आफ्नो पहुँचको घेराभित्र राख्नु रहेछ । यसै कथामा एकचोटि सीता लक्ष्मणरेखाभित्रै रहँदा, बाहिर भयङ्कर ठूलो आवाज आएछ । सीताले लक्ष्मणलाई जाऊ, रामलाई केही भयो कि हेर भनेर पठाउन चाहिछिन् । तर लक्ष्मणले रामलाई कसैले केही गर्न सक्दैन, जानै पर्दैन भन्दा, सीताले लक्ष्मणलाई आफूमाथि आशक्त भएको आरोपसम्म लगाइछिन् । यो कुराको सङ्केत मैले फुपूले भन्ने गरेका कथाबाटै पाएको हुँ । सीताको स्वभावमा पनि विचित्रको अस्थिरता र अतृप्ति थियो भन्ने उनै फुपूको कथाबाट मैले बुझेको हुँ । सायद मेरी फुपूभित्र पनि आफ्नै प्रकारको कुण्ठा वा दमित इच्छा थियो । त्यसैले, उनले मलाई सुनाउने कथाको छनोट पनि त्यसै प्रकृतिको हुन्थ्यो । यस प्रकारका कथाले मलाई मान्छेको यौनमनोविज्ञानतिर उन्मुख गरायो । पात्रहरूका क्रियाकलापमा म अतृप्तिहरूको अभिव्यक्ति देख्न थालेँ । त्यसै बोधले मेरा कथाहरूमा प्रविष्टि पाउन थाल्यो ।
तर तपाईंले लेख्ने गरेका कथा फुपूले बुझेका वा बुझाएका त्यति थोरै ग्रन्थीहरूमा सीमित छैनन् । ती यौन र मनोविज्ञानका विविध तह, आयाम र स्वभावमा आधारित छन् । यो वृहत् ज्ञान उनै फुपूबाट आएको हो भनेर पत्याउन त सकिएन नि?
फुपूले मलाई शास्त्रीय र लोककथा पनि फगत् नीतिकथा वा काल्पनिक आख्यान होइनन्, तिनमा मान्छेको मनोविज्ञान र कुण्ठाका अभिव्यक्ति पनि निहित हुन्छन् भनेर सोच्न सिकाउनुभएको हो । तर, पछि ममा अन्य कुराको पनि प्रभाव पर्यो । हाम्रो ज्ञानेश्वरको घरमा जग्गाजमीन र सम्पत्तिको भागबण्डा भएपछि बुवाले त्यहाँ बसिरहन उचित ठान्नुभएन । त्यसपछि १० सालतिर हामी गोविन्दप्रसाद लोहनीको धोबीधारास्थित घरमा डेरा बस्ने गरी बसाइँ सर्यौँ । लोहनी हाम्रा नातेदार थिए । भारत पढेका र मार्क्सवाद र फ्रायडवादका राम्रा ज्ञाता । आफैँ पनि राम्रा कथाकार । उनैका घरमा बसाइँ सरेपछि उनी मेरा गुरु हुन पुगे । उनले सुनाउने कथामा वर्गसङ्घर्षका र शक्तिसङ्घर्षका कथा हुन्थे, र कतिपयमा नारी पात्र कारक वा मध्यस्थकर्ता हुन्थे । कथालाई नयाँ कोणबाट सोच्नुपर्छ भन्ने उनको आशयमा मेरो अघि दुई विकल्प उभिए । कि मैले माक्सर्वादी दर्शन अपनाउनु पर्थ्यो, कि त फ्रायडवाद । सामान्य प्रकारका रैखिक सामाजिक यथार्थवादी कथातिर मेरो त्यति चासो थिएन । मार्क्सवादी कथा लेख्नु भनेको, एक अर्थमा शासनव्यवस्थाको विरुद्ध जानु थियो । बेला नै त्यस्तै – शासनव्यवस्था भनेकै राणा–शाहको व्यवस्था, सामन्तवादको सबैभन्दा ठूलो प्रतीक । उसकै हैकम, उसकै बोलबाला । यसै बेला मेरा बुवाले गोविन्दप्रसाद लोहनीकहाँ गएर, ‘ए हजुर, मेरो छोरो कम्युनिष्ट वा मार्क्सवादी चैँ नहोस् है’ भन्नुभएको रहेछ । आफ्नै र परिवारको सुरक्षाका लागि पनि मार्क्सवादी लेखन जोखिमपूर्ण थियो । त्यसैले, गोविन्द लोहनीले मलाई फ्रायडवादी लेखनतिर उन्मुख गराउनुभयो । उहाँकै सिफारिसमा मैले यस्ता धेरै पुस्तक पढेँ । र ममा यौनमनोविज्ञानको धेरथोर सैद्धान्तिक ज्ञान भयो ।
पाठ्यक्रमले चैँ के सिकाउँथ्यो त्यसताका ? कस्ता कथा पढाउँथ्यो?
पाठ्यक्रममा त हामीले पञ्चतन्त्रका कथा, इसपका नीतिकथा, नेपाली लोककथा, जातककथा, दन्त्यकथा आदि नै पढ्यौँ । यिनमा इसपका कथा नै बढी पढ्थ्यौँ होला । अनुवादमा उपलब्ध हुन्थे । मौलिक कथा पढेको सम्झना छैन । यस्ता कथाले पनि मभित्रको उदाउँदो कथाकारलाई मलजल गरे । विशेषतः शास्त्रीय कथालाई फरक दृष्टिकोणबाट हेर्न, बुझ्न र पुनर्लेखन गर्न सकिन्छ भन्ने जुन दृष्टिकोण ममा थियो, त्यसका लागि गतिलो सामल मैले यस्ता कथाबाट प्राप्त गरेँ ।
कथालेखनका प्रारम्भिक दिन सम्झौँ न । कस्ता थिए साथीसङ्गाती ? कोको थिए सम्पर्कमा ?
लेख्न त घरैमा गोविन्दप्रसाद लोहनीले सिकाउनुभयो । किशोरावस्था प्रवेश गर्दानगर्दै म केही लेख्न सक्ने भएँ । गोविन्दप्रसाद लोहनी आफैँ पनि एकदमै समाजिक र मिलनसार मान्छे । उहाँको घरमा लेखकहरूको जम्घट भइरहने । म त्यसै घरमा बस्ने, र मेरो डेरा फराकिलो । त्यसैले, लोहनीकहाँ आउने सबैजसो लेखक मेरै कोठमा पनि आउँथे, मलाई भेट्थे र गफिन्थे । त्यस बेला आउनेजाने लेखकहरूमा पोषण पाण्डे, भवानी भिक्षु, भवानी घिमिरे, तारानाथ सर्मा, दौलतविक्रम विष्ट, विजय मल्ल, गोविन्दबहादुर मल्ल गोठाले, शङ्कर लामिछाने, परशु प्रधान आदि सम्झन्छु ।
२०११ सालतिरको कुरा हो । यस्ता लेखकमा अधिकांश भने कि त मार्क्सवादी हुन्थे, कि त फ्रायडवादी लेखक । पोषण पाण्डेका घरमा चाहिँ फ्रायडवादी लेखकहरूको नियमित ‘फूलबारी गोष्ठी’ हुन्थ्यो । त्यहाँ दौलतविक्रम विष्ट, विजयबहादुर मल्ल, गोविन्द गोठाले आदि भेला हुन्थे । मार्क्सवादी खेमातिर चाहिँ गोविन्द लोहनी आफैँ, भरतमोहन अधिकारी, भवानी घिमिरे आदि थिए । यी सबैको सङ्गत भयो । गाइड गर्ने गोविन्दप्रसाद लोहनी छँदै थिए ।
मैल एसएलसी पास गरेर कलेज गएपछि गोविन्दप्रसाद लोहनीले मलाई बुझे पनि नबुझे पनि मौपासाका कथा पढ्न लगाए । ती कथाबाट मैले कथाको शुरुवात, मध्यविन्दु, उत्कर्ष, पटाक्षेप, कौतूहलता, चरित्रचित्रण आदिका बारेमा थाहा पाएँ । म त्यसै फोर्म्याटमा कथा लेख्न थालेँ । गोविन्द लोहनीको दिशानिर्देश महत्त्वपूर्ण रह्यो । कथामा सोझो कुरा होइन, कौतूहलपूर्ण तरिका अवलम्वन गरेको हुनुपर्छ, र अश्लील जस्तो लाग्ने कुरालाई सिधै होइन, विम्बात्मक तरिकाले लेख्नुपर्छ भन्ने कुरा मलाई लोहनीले नै सिकाएका हुन् । भावमा अश्लील जस्तो भए पनि मेरो अभिव्यक्तिमा आज पनि विम्बात्मकता कायम छ । भन्नेले यौनवादी भने पनि मेरो अभिव्यक्तिलाई सोझै अश्लील भनेर औँल्याउन भने कसैले पनि सकेका छैनन् ।
आफ्ना कथा छापिन थाल्दाको अनुभव सुनाउनू न । कस्तो थियो समय ? छपाउन कत्तिको पापड बेल्नुपर्थ्यो?
अब मैले समातेको धार मैले भनिहालेँ । यस्तो धार छापिहाल्न आँट गर्दैनथे सम्पादकहरू । १६ सालतिर म क्याम्पस पढ्दा ताका क्याम्पसमा साहित्यिक गतिविधि हुन्थ्यो । त्यसैबेला मैले एउटा कथा लेखेँ— ‘चिसो चुल्हो, तातो खरानी’ । मेरो स्टाइल नयाँ थियो । गोविन्द लोहनीले समेत तारिफ गरे । यो कथा क्याम्पसकै पत्रिकामा छापियो । तर तत्कालीन शासनव्यवस्थाको नजर भने सकारात्मक हुन सकेन । त्यसैले, कलिलो उमेरदेखि नै म तिनको आँखी भएँ । शङ्काकै घेरामा हुर्किएँ । १७ सालको परिवर्तनपछि त कति दुःख भयो भयो, भनेर साध्य छैन ।
तपाईंको धार नै अलि अपरम्परित, अलि असजिलो । यस्तो धारमा लेखेका कारणले अप्ठ्यारो त पर्ने नै भयो नि । केही ठोस सम्झना गरौँ न !
अप्ठ्यारो त ज्यादै । कस्तो भने, मुद्दै हाल्दिने । पञ्चायतको बिगबिगी भएको समय । श्लील–अश्लील भन्ने कुरा पनि दरबारले नै निर्धारण गर्ने । उसले नाइँ भनेपछि नाइँ, समाऊ भनेपछि समाइहाल्ने समय थियो ।
पुराना कुरा सम्झन्छु । परशु प्रधान, ताना सर्मा, पोषण पाण्डे, गोविन्द भट्ट आदि लेखकहरू मेरो घरमा आइरहन्थे । एकताका, साहित्यिक पत्रिका निकाल्ने रहुस चल्यो । १६ सालतिरै, केपी शैललाई सम्पादक बनाएर ‘इन्दु’ पत्रिका चलाउने भयौँ । उनी बम्बईमा हिरो हुन गएका, उता असफल भएर नेपाल फर्केका । सल्लाह के भयो भने हरेक अङ्कमा एक जना विशिष्ट लेखकलाई केन्द्रीय प्रतिभा बनाउने, र कुनै एकजना स्थापित समालोचकलाई लेखाएर उहाँकै बरेमा निर्भीक समालोचना छपाउने । शुरुमै हामीले कवि तथा गीतकार मविवि शाहलाई चुन्यौँ । दोस्रो बीपी, तेस्रो सम, र चौथो सिद्धिचरणमाथि विशेषाङ्क गर्ने सल्लाह भयो । पहिलो अङ्कमा, संयोगले, मविवि शाहमाथि लेखिएको एउटा खरो समालोचना चीनको सेनेटोरियमबाट कसैले हुलाकमार्फत पठाएको हाम्रो हातमा पर्यो । धेरैचोटि पढ्यौँ र छाप्ने निर्णय गर्यौँ । तर दुर्भाग्यवश्, छलफलकै क्रममा उक्त कागजमाथि हाम्रै कुनै साथीले मदिरा पिएको अवस्थामा अनायासै वान्ता गरिदिए, र सम्पूर्ण लेख सखाप भयो । छाप्न सकेनौँ । पछि अनुरोध गरेर तारानाथ सर्मालाई लेख्न भन्यौँ । शाहले कुन कुन गीत अरूका सिर्जनको प्रभावमा लेखेका थिए भन्ने कुरा हामीले पनि टिपायौँ । त्यसैको आधारमा सर्माले आफ्नो लेखमा मविवि शाह अरूको सिर्जना चोर्ने चोर हुन् भनेर लेखिदिए । छापियो । तर राजा महेन्द्र नभएर सर्जक मविवि शाहमाथि लेखिएको हुनाले खासै कार्बाही भएन । दोस्रो अङ्क बीपीमाथि गर्ने हाम्रो योजना बीपीका हितैसी टङ्कलालले थाहा पाएछन् । बीपीको खरो आलोचना भए कांग्रेसीहरूलाई आपत पर्छ भन्ने उनको जिकिर रह्यो । त्यसबेलासम्म २०१७ सालको कू भइसकेको थिएन । यता हामीलाई तारानाथलाई जागिर खुवाउनु पनि थियो । त्यसैले, तानाराथलाई पद्मकन्या क्याम्पसमा जागिर खुवाउने शर्तमा बीपीमाथिको अङ्क स्थगित गर्ने सल्लाह भयो । त्यही भयो । तानाराथले बीपीको सहयोगमा पद्मकन्या कलेजमा प्रवेश गरे ।
दोस्रो अङ्कमा बालकृष्ण सममाथि उनै तानासर्मालाई लेखायौँ । त्यसमा उनले समको ‘चिसो चुल्हो’ लाई ‘झुसिलो डकार’ भन्दिए । होहल्ला मच्चिइहाल्यो ।
यति हुँदा नहुँदै १७ साल आयो, निरङ्कुश पञ्चायतको समय शुरु भयो । अब सबै गडबड भइहाल्यो । हाम्रा सम्पादक केपी शैल थुनिए । मलाई चैँ समातेन ।
‘इन्दु’ ननिस्कने भएपछि मैले ‘बगैँचा’ नाम गरेको पत्रिका शुरु गरेँ । बामदेव पहाडी पनि मेरो समूहमा थिए । त्यसै बेला, पहिले हामीलाई चीनबाट लेख पठाउने स्नेहलता पन्त काठमाडौँ आइपुगिन् । उनको सानो आर्टिकल मैले छापेँ । त्यो छापिने बित्तिकै मलाई प्रहरीले समात्यो । पत्रिकालाई प्रतिबन्धित गरिदियो । तथापि, त्यो लेख बाहिर आयो । त्यस बेला मैले दौलतविक्रम विष्टको ‘एक साँझ’ भन्ने कथा पनि छापेको थिएँ । त्यस कथालाई अश्लील भएको मूल्याङ्कन गरेर, म सम्पादकमाथि मुद्दा चलाउने प्रयास भएछ । हुन त उक्त कथाको प्लट विष्टलाई दिएको पनि मैले नै थियो । संयोगले सरकारकै उपसचिव पदमा मेरो बुवा कार्यरत हुनुहुन्थ्यो । सात दिन थुनिएपछि बुवाको प्रभावका कारण म छुटेँ । आइन्दा यस्तो नगर्ने भन्ने कागज भने गराइयो ।
उता शक्तिशाली राजनीतिले आफ्नो नजिककी छोरीबेटीसँग विवाह गराइदिएर तारानाथलाई दरबारको निकटस्थ बनाइदिए । अलिपछि, दरबारका सचिवले ‘महेन्द्र माला’ को सम्पादकका रूपमा उनको नाम दरबारभित्रको सचिवाचलयमा घुसाइदिइहाले र सर्मालाई ठूलो धनराशिको मालिक पनि बनाइदिए । भन्न त तारानाथले आफूलाई दरबारले थुन्यो पनि भने, तर कुरा त्यस्तो थिएन । त्यसै बेला तानासर्माको ‘सूली’ भन्ने उपन्यास पनि प्रकाशित भयो, दार्जिलिङको श्याम ब्रर्दश प्रकाशनबाट । तर प्रकाशित कृतिमा मूल पाण्डुलिपिको एउटा ठूलै अंश गायब छ । पछि मैले थाहा पाएँ, त्यस अंशमा उबेलाका प्रख्यात नारी प्रतिभाहरूको घोर आलोचना थियो । अब त धेरै कुरो दरबारको पक्षमै भयो । दरबार खुशी हुनु थियो, भइहाल्यो ।
अर्को प्रसङ्गमा समको ‘चिसो चुल्हो’ लाई ‘झुसिलो डकार’ भनेर आलोचना गरेका उनै सर्माले समको तारिफ गरेर किताबै लेखे, साझाले छाप्यो । पुरस्कार थापे । झुक्याउन सक्ने कला उनमा थियो । यति भएर पनि, अङ्ग्रेजीको प्राध्यापक, कुनै देशको राजदूत अथवा प्रज्ञाप्रतिष्ठानको कुलपति हुने तारानाथ सर्माका कुनै पनि दाउ पूरा हुन सकेनन् । उनका यस्ता प्रवृत्तिलाई लक्षित गरेर मैले त्यस बेला पनि सात आठवटा लेख लेखेर छपाएँ, तर कुनैको पनि जवाफ उनीबाट आएन ।
कथाकार लोहनीका साथमा वार्ताकार पौड्याल

कथाकार लोहनीका साथमा वार्ताकार पौड्याल
भनेपछि साथीभाइ पनि खरा, जोखिम उठाउन माहिर । तपार्इं शङ्कर लामिछाने र भवानी भिक्षुसँग पनि निकट हुनुहुन्थ्यो भन्ने सुनिन्छ । उहाँहरूको स्वभाव बारे थोरै सुनौँ न !
गोविन्दप्रसाद लोहनीका घरमा धेरै जना आउने–जाने । मसँग पनि भेट हुन्थ्यो । बाक्लो भेटघाट गर्नेमा लामिछाने र भिक्षु पनि थिए । शङ्कर लामिछानेले त खै, अकालको मृत्युको आभास भएर हो कि, ‘मलाई केही भइहाल्यो भने मेरा छोराछोरीको जिम्मा पुस्करले लिन्छ,’ भनेर उनकी कान्छी श्रीमतीलाई भनेका थिए । भाउजू पनि मलाई भाइ भन्ने, माया गर्ने । पछि, दैवसंयोग नै भनौँ, लामिछाने दाइ बिते । उनका छोराछोरी मैले डिल्लीबजारमा खोलेको स्कुलमै पढे । प्रवेशिका सकेपछि अन्यत्र लागे ।
भवानी भिक्षु भने अचम्मका मान्छे । १२–१३ सालदेखि नै सङ्गत थियो । पुतली सडकमा बस्थे । पछि मेरै छेउ डेरा सरे । मान्छे मस्तमौजी । मासु पकाउनमा फेमस । आफैँ पकाउने । मसला कति राख्ने, केके राख्ने, कुन मासुमा खुर्सानी राख्नुपर्छ, कुनमा ल्वाङ, कुनमा अलैँची, कुनमा अलैँची हाल्नु हुँदैन, दालचिनी कति, कुनमा अदुवा… सब थाहा पाउने । तर चाख्न भनेपछि दुई टुक्राभन्दा बढ्दा कसैलाई नदिने । उनले पकाउन थालेपछि कोठै मगमग । आफैँ पकाउने ।
नेपाली, हिन्दी, मैथिली र अङ्ग्रेजीका ज्ञाता, शक्तिशाली बागदरबारमा भित्रैसम्मको सम्बन्ध थियो । गोमा दरबारबाट बाहिर आएपछि उनीसँग पनि नजिक भए । कवि प्रेम राजेश्वरी थापासँग त प्रेम नै थियो । मैले आफैँले देखेको, उनी भिक्षुलाई भेट्न आइरहन्थिन् । उनको तस्बीर आफ्नो अघिल्तिर राखिरहन्थे भिक्षु । पछि व्यवस्था अलि सहिष्णु भएपछि कांग्रेसका पनि निकट, भारतको पनि निकट भए । बालचन्द्र शर्मासँग त सारै निकट, एकछिन पनि नछोड्ने । शर्माकै सहयोगले उनी शुरुदेखि प्रज्ञाप्रतिष्ठानका सदस्य बने र गहन जिम्मेवारीमा रहे । उनले कविता, उपन्यास र कथालगायत विविध विधाका साहित्य लेखे पनि उनी मूलतः कथाकार हुन् । ‘शारदा’ पत्रिकाका जन्मदातामध्येका एक पनि हुन् उनी । उनका कथामा आधुनिकताको जुन पुट छ, र मनोविज्ञानको जुन सूक्ष्मता छ, त्यो उनका अग्रज र समकालीन — कसैमा पनि थिएन । मैनालीका कथामा आधुनिकताको स्पिरिट कम छ । बीपीको केन्द्रीय विधा कथा भएन, उपन्यास भयो । त्यसैले, आधुनिकतालाई त्यसको वास्तविक मर्मअनुसार परिभाषित गर्ने हो भने, त्यसको पायोनियर भवानी भिक्षु हुन्, मैनाली वा बीपी होइनन् । साहित्यिक पत्रकार अच्युतरमण अधिकारीले निकालेको भिक्षु विशेषाङ्कमा मैले भिक्षुको ‘त्यो फेरि फर्केला’ बारे विस्तृत चर्चा गरेको छु । त्यसमा पनि मैले यही तर्क गरेको छु । वास्तवमा, नेपाली साहित्यमा भिक्षुको ‘त्यो फेरी फर्केला’ जस्तो बेजोड कथा अर्को छैन ।
अहो । उसो भए, कथा साहित्यमा आधुनिकताको प्रस्थानविन्दु जसलाई मानिन्छ, त्यसमाथि पुनर्विचार गर्नुपर्ने देखियो नि !
देखियो । कुरा भवानी भिक्षुको मात्रै होइन । अन्यत्र पनि त्रुटि भएका छन् । कथा लेखनमा मैनालीभन्दा पनि अघि रूपनारायण सिंह प्रधान देखा परेका हुन् । तर, दार्जिलिङबाट सन् १९३८ मा निस्किएको पहिलो कथा सङ्ग्रह ‘कथाकुसुम’मा मैनाली, बीपी कोइराला, बालकृष्ण सम र पुष्कर शम्शेर समेटिए, तर सन् १९२० कै दशकमा कथा लेखिसकेका र सन् १९२६ मा त ‘अन्नपूर्णा’ र ‘परिवर्तन’ जस्ता कथा छापिसकका रूपनायारण समेटिएनन् । किताब आउँदैछ भनेर गरिएको विज्ञापनमा भने रूपानारायणको पनि नाम थियो भनेर समालोचक प्रा. डा. दयाराम श्रेष्ठले उल्लेख गरेका छन् । रूपनारायणको आख्यान कलासँग परिचित मलाई खुलदुली भयो, उनलाई यसमा किन राखिएन ? कुरा बुझ्ने सिलसिलामा म आफैँ दार्जिलिङ पनि गएँ, र केही बुझेँ । कारण के रहेछ भन्दा, भारतबाट बीए–बीएल सकेर वकालतको अभ्यास गर्नका लागि भनेर बीपी दार्जिलिङ पुगेका रहेछन् । त्यसबेलाका चर्चित वकील रूपनारायाण सिंहकै ल–फर्ममा काम गर्ने चाँजो मिलाइएको रहेछ । तर, वकालत वा ल–फर्मकै अन्य काम गर्ने क्रममा बीपीले नेपाली र अङ्ग्रेजी दुवै भाषामा आफूलाई चित्तबुझ्दो ढङ्गले प्रस्तुत गर्न नसकेको हुँदा रूपनारायण प्रधानले बीपीलाई उक्त कार्यका लागि अयोग्य ठहर गरेछन् । यो कुरा ज्ञवाली र धरणीधर कोइरालाई चित्त बुझेनछ । त्यसको बदला लिने हेतुले ज्ञवाली र कोइरालाले, ज्ञवाली आफूले सम्पादन गरेको ‘कथाकुसुम’ मा रूपनारायण प्रधानलाई स्थान दिएनन् । उनलाई ‘रोमान्टिक धारको’ भनेर घेराबाहिर राख्ने काम भएछ । यो कुरा मलाई साहित्यकार जगत् क्षेत्री र कुमार प्रधानले बताएका हुन् ।
धेरैले ‘कथाकुसुम’ लाई आधुनिक नेपाली कथा साहित्यको पहिलो सङ्कलन मान्ने हुँदा, रूपनायारणलाई त्यस पहिचानबाट च्युत गराइयो र मैनालीलाई पहिलो आधुनिक नेपाली कथाकार भनियो । तर, लेखन–प्रकाशनका हिसाबले रूपनायारण प्रधान नै पहिलो कथाकार हुन् । अर्कोतिर, आधुनिकताको स्पिरिटसहित उभिने कथाकारमा चाहिँ भिक्षु पहिलो आधुनिक नेपाली कथाकार हुन् । उनलाई पनि त ‘कथाकुसुम’ मा समेटिएन नि । लेखिएको, र हाल पढिँदै आएको आधुनिक नेपाली कथासाहित्यको इतिहासमा भएका यी त्रुटिलाई तत्काल सच्याउनु पर्दछ ।
यी कुरामा समयले, अध्येताले वा समालोचकहरूले थप अध्ययन गर्लान्, सच्याउनु पर्ने कुरा सच्याउलान् । कुराकारीको अन्त्यतिर एउटा व्यक्तिगत कुरा जान्न मन छ । तपाईंले हो भने पनि, होइन भने पनि, तपाईंको लेखनको परिचायक स्वभाव भनेको यौन लेखन नै हो । र यो अपजसिलो विषय हो । विषय चयनकै कारण तपाईंले सम्बन्धहरूमा भोगेको खटपट केही सम्झनु हुन्छ?
सम्झन्छु नि । केही त माथि पनि उल्लेख गरेँ । अरू पनि छन् । मेरो आख्यानका पात्रको स्वभाव एउटा हो, मेरो निजी स्वभाव फरक को । पात्रको स्वभावलाई मैमाथि आरोपित गरेर, मेरो स्वभावको व्याख्या गर्न मिल्छ र ? भर्जिनिया वुल्फका कतिपय पात्र लेस्बियन छन् । उसो भए, वुल्फ आफैँ पनि लेस्बियन थिइन् भन्न मिल्छ र ? अमृता प्रीतमका कतिपय पात्र फरक लैङ्गिक स्वभावका छन् । ती स्वभाव प्रीतमकै हुन् भन्न मिल्छ ? चेखभमा पनि यो लागू हुन्छ । मलाई पनि यस्तै आरोपहरू लगाए । ३१ वर्षको उमेरसम्म बिहे नगरी बसेको लोहनीको चरित्र ठीक छैन पनि भने । प्रेमा शाहसँग सम्बन्ध छ भनेर पनि हल्ला फिँजाए । इन्दिरा प्रसाईंसँगको मेरो आत्मीयतालाई समेत बङ्ग्याउन खोज्ने तथा सबैलाई भड्काएर एक्लो पार्न खोज्ने खेल चलिरह्यो । होहोमा दौडेर विरोध गर्न खोज्नेले केही लछार्न सक्दैनन् । तिनीहरू बारे लेखै लेखेर नङ्याइदिएको छु । प्रत्यालोचना लेखे भइहाल्यो नि, त्यस्ताले ।
मेरो स्वभाव फरक छ । स्नेह गर्ने र मलाई विश्वास गर्ने नारी लेखकहरू प्रशस्त छन् । अहिले पनि सहयोग गरिरहेको छु, यो उमेरामा पनि । धेरै समकालीन नारी लेखकहरू पाण्डुलिपि देखाउने नाममा, सच्याइमाग्ने नाममा मेरो निकट आउँथे र आउँछन् पनि । तर मैले मर्यादाको रेखा कहीँ, कतै पनि नाघिनँ । धेरै ठाउँ मलाई निषेध गर्ने प्रयास पनि गरे । यहाँसम्म कि, नेपाल एकेडेमीबाट निस्किएको प्रतिनिधि आधुनिक नेपाली कविता सङ्कलनमा मेरो कविता राख्दै राखेनन् । बरु, पछि गङ्गाप्रसाद उप्रेती र महेश पौड्यालको सङ्कलन–सम्पादनमा अङ्ग्रेजी सङ्ग्रहमा भने मेरो कविता छापियो । मेरो अनुभव के छ भने, कसैलाई लेखन वा अध्ययनमा गिराउन सकिएन भने व्यक्तिगत चरित्रमाथि आक्षेप लगाएर गिराउने प्रयास हुन्छ । तर म डराइनँ पनि, टेरिनँ पनि । म जे छु र हुँ, त्यसमा म कायम छु ।
घटेका घटना, अनुभव र भोगाइबाट कुनै पनि सफल साहित्यकार टाढा हुँदैन । खोतल्न पुग्छ आत्मीयताका साथ आफ्ना अभिव्यक्ति र शब्दलाई । प्रयोग गरिने तरिका तथा स्वाभाविकताबाट आजसम्म कोही पनि पलायन भएका छैनन् । पलायनवादी प्रवृत्ति देखिएका कति कृतिहरूलाई समालोचनाले समाइहाल्छ । झुक्याउने कलाको पनि विशेषता नभएको होइन, तर गहिरिएर त्यो प्रभावलाई आफ्नै ढाँचामा नढाल्ने हो भने त्यसको कुनै अस्तित्व हुँदैन । व्यक्ति आफैँबाट पनि प्रभावित हुन सक्छ, तर त्यस प्रभावलाई सजिलैसँग पचाउन सक्ने वातावरण लेखक स्वयंले सिर्जना गर्नु पर्ने हुन्छ । भित्री तहमा खोतल्नै पर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

