
मोहत्तरीमा जन्मिनु भएको राजबाबु श्रेष्ठ सक्रिय साधक हुनुहुन्छ । उहाँका `बन्द फ्रेमभित्रको चिठी´ (उपन्यास – २०५७), हराएका छोराहरू (कवितासङ्ग्रह – २०७७), देशको चिना (मुक्तकसङ्ग्रह), यादका वस्तीहरू (गीतिसङ्ग्रह-२०७८) प्रकाशित भइसकेका कृति हुन् भने भर्खरै उहाँको नयाँ कथासङ्ग्रह `फिर्दोसको साँचो´ लोकार्पण भएको छ । प्रस्तुत छ, यसै सेरोफेरोमा साहित्यकर्मी जनक कार्कीले राजबाबु श्रेष्ठसँग कथालगायत विभिन्न विषयमा गरेको कुराकानीको सम्पादित अंशः
…
फिर्दोसको साँचो कथासङ्ग्रहले नेपाली कथाको आयाममा के के कुरा खोल्न सक्ला ?
मलाई लाग्छ, मेरो “फिर्दोसको साँचो” कथासङ्ग्रहले नेपाली कथाको आयाममा सर्वप्रथम त विभेदको खिया लागेको भोटे ताल्चा खोल्ने काम गर्छ । “फिर्दोसको साँचो”ले नेपाली आख्यान बजारमा दिनानुदिन पाठकहरूबाट साहित्य पठन कार्य न्यूनीकरण हुँदै गइरहेको अवस्थामा थप उर्जा, जोश, जाँगर र नयाँ जिज्ञासा अवस्य सिर्जना गर्नेछ भन्नेमा म ढुक्क छु ।
अहिले आख्यान बजारमा लेखकहरूका उही पुरानै शैलीका लेखन, विषय–वस्तु र लेखक बन्ने होडबाजीले गर्दा पाठकहरू साहित्य पठन चाखदेखि कोसौँ दूर भागिरहेका अवस्थामा, मेरो यो “फिर्दोसको साँचो”मा प्रयोग गरिएका नयाँ आख्यान लेखन शिल्प–शैली, यथार्तवाद, पकृतिवाद, पकृतवाद, अतियथार्तवाद, नयाँ कन्टेन्ट, फरक विचारधारा र दर्शन आदिले गर्दा पनि ती निदाइरहेका पाठकहरूलाई पुनः ब्युझाउने कार्य गर्छ भन्नेमा म ढुक्क छु भन्दा कत्ति पनि अतिशयोक्ति नहोला भन्छु म ।
म त भन्छु, प्रत्येक नेपाली साहित्यकार लेखकहरूले मेरो “फिर्दोसको साँचो” पढून् र नेपाली साहित्य जगतमा मेरो “फिर्दोसको साँचो”जस्तो नयाँ लेखन शैलीको एक नयाँ आयाम कायम गर्दै पाठकहरूलाई पठनमा महत्वपूर्ण सहयोग गर्दै नयाँ जोस र जाँगर भित्रैदेखि उमारून् भन्दै मेरो यो “फिर्दोसको साँचो” यस अभियानको पहिलो उदाहरण बन्नेछ भन्नेमा म ढुक्क छु ।
यहाँले यस कथासङ्ग्रहबाट कस्ताकस्ता कथा पाठकलाई व्यक्त गर्न खोज्नुभएको छ ?
उत्पीडन, विभेद, लैङ्गिक विभेद, सामाजिक विभेद र बलात्कार, प्रेम–विवाह विभेद, अन्तरजातीय विभेद, नारी शोषण, पितृसत्तात्मक विभेद र वंश धान्न छोरै चाहिँन्छ भन्ने पितृसत्तात्मक अवधारणा विरुद्ध सन्देश, ढुङ्गा र पत्थरमा होइन ईश्वर र अदृश्य अलौकिक एउटा यस्तो अमूर्त शक्ति जसले तीनै लोक अथवा ब्रम्हाण्ड नै चलायमान बनाउने शक्ति नै ईश्वर हुन् भन्ने अभियानहरूको प्रतिनिधित्व गर्छ मेरो यो “फिर्दोसको साँचो”ले भन्नेमा म ढुक्क छु ।
यहाँले कथाको संरचना, शिल्प–शैली र प्रस्तुतिमा केही नौला काम गर्नुभएको छ ?
अवश्य गरेको छु, नितान्त भिन्न र पृथक् गरेको छु । यस बारेमा मैले माथिका प्रश्नको उत्तरमा नै बिस्तार रूपमा व्याख्या गरिसकेको छु ।
कथाले तपाईंलाई झकझाउँछ कि कथालाई तपाईंले झकझकाउनुहुन्छ ?
कथाले मलाई कदापि झकझकाएको होइन, बरु मैले उल्टै कथालाई नै निद्राबाट झकझकाएको हुँ । किनभने, पाठकहरू मेरा कथाहरूमा नितान्त झस्किने गर्छन् भन्ने कुरामा म विश्वस्त छु । अब, तपाईं नै भन्नुहोस् जब पाठकहरू मेरा कथाहरू पढ्दा झस्किने गर्छन् भने के मैले नै उल्टै कथाहरूलाई झकझकाएको होइन त ?
समकालीन नेपाली कथाको अवस्था कस्तो देख्नुभएको छ ?
मलाई त्यसबारेमा केही भन्नु छैन । जहाँसम्म लाग्छ, म मौन बसेकै राम्रो । म मात्र आफ्नो कथाको बारेमा बोल्छु ।
तपाईंलाई पछिल्लोपटक मनपरेको कुनै एउटा कथा सम्झिन पर्यो भने ?
मन्दिरा मधुश्रीको “मासुको मूल्य” यो कथा मलाई असाध्यै मनपर्छ ।
यहाँलाई मनपरेका कुनै तीनवटा कथासङ्ग्रहका नामहरू भन्न सक्नुहुन्छ ?
राजुबाबु श्रेष्ठज्यूको “बेनामे जर्नेल”, डा. अशोक थापाज्यूको “सन्तापको धून” र महेश पौडेलज्यूको “अपरिचित अनुहार” ।
यहाँलाई मनपर्ने तीनजना कथाकारहरूमा ककसलाई सम्झिनुहुन्छ ?
डा. राजुबाबु श्रेष्ठ, महेश पौडेल र डा. अशोक थापा । यी तीनैजना मेरा आदरणीय कथाकारहरू हुन् । यसकारण पनि मेरा लागि आदरणीय हुन् कि उहाँहरूले मलाई सपोर्ट गर्नुहुन्छ । जसले मलाई सपोर्ट गर्नुहुन्छ म उहाँहरूको नाम मनमा लेखेपछि म कहिल्यै मेट्दिनँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

