ग्राण्ड महफिल, सिजन – २ को ‘शृङ्खला – १५’ बैशाख २० गते शनिबार हुने भएको छ । गजलका शेरका पारखीहरू लाइभ गजल सुन्नका लागि ठीक २ बजे कालिकास्थानस्थित सर्वनाम थिएटर पुग्नु पर्नेछ जहाँ गजलकारत्रय केशव भट्टराई, डा. देवेन्द्र आचार्य र अंकित आचार्य ले आफ्ना शेरहरू स्रोतालाई सुम्पिने छन् ।
गजलकार तथा गजल अभियन्ता बाबु त्रिपाठीको प्रस्तुति रहने महफिलको प्रत्यक्ष स्रोता हुनका लागि १५० रूपियाँको टिकट लिनुपर्नेछ । यस ‘ग्राण्ड महफिल’को मिडिया पार्टनरका रूपमा साहित्यपोस्ट दैनिक (इ) पत्रिका रहेको छ ।
गजल त हामी सर्वनामै पुगेर सुनिहाल्छौँ । साहित्यपोस्टले महफिलमा शेरहरू बोकेर आउने तीन जना गजलकारसँग छोटो संवाद गरेको छ । प्रस्तुत छ, केशव भट्टराई, डा. देवेन्द्र आचार्य र अंकित आचार्य सँग गरिएको संवादको सम्पादित अंश;
===
१. नेपाली साहित्यमा गजल लेखनले लामो सफर गरिसकेको छ । यो गजलको सफरमा आफ्नो सफरलाई कस्तो पाउनु हुन्छ ?
केशव भट्टराईः नेपाली गजल आरोहअवरोह साथ आज यहाँसम्म आइपुगेको छ । वर्तमानको नेपाली गजललाई हेर्ने हो भने अहिलेसम्म को स्वर्णयुग हो । भोलि के होला भोलिलाई थाहा होला । म चाँहि यो सफरको विद्यार्थी र सहयात्री हुँ । मैले धेरै सिक्न बाँकी छ र लेख्न पनि बाँकी नै छ ।
डा. देवेन्द्र आचार्यः नेपाली साहित्यमा गजल को आफ्नै महत्त्व र इतिहास छ यो गजलको सफरमा म पनि आफूले आफूलाई एउटा इँटा सम्झन्छु र अनावरत रूपमा नेपाली गजलको उचाई अझ माथि पुर्याउन लागिरहेको एक गजलकार भन्न रुचाउँछु ।
अंकित आचार्यः नेपाली गजलको यात्राले विविध कालखण्डमा धेरै रूप र आयाम भोगेको छ । म आफैं यो यात्रामा एउटा साधकको रूपमा सामेल छु – जसले संसारलाई आध्यात्मिक दृष्टिकोणबाट बुझ्छ र त्यस अनुभूतिलाई गजलमार्फत अभिव्यक्त गर्छ । मेरो गजल लेखन यात्रा स्वयम् आत्मान्वेषणको यात्रा पनि हो ।
…
२. नेपाली साहित्यको गजल–सफरमा ‘गजल महफिल’ (ग्राण्ड महफिल) को भूमिका र योगदान चाहिँ के कस्तो पाउनु भएको छ ?
केशव भट्टराईः नेपाली गजलको विकासमा महफिलले निर्वहन गरेको भूमिका वर्तमानमा अभिभावकीय भूमिका हो । मोफसलका नयाँ सर्जकसम्म पुगेर निरन्तर सक्रियताका साथ गजल विधाका लागि महफिलले जुन योगदान दिएको छ त्यो नेपाली गजलको मेरुदण्ड जस्तो छ । यसलाई वर्तमानले र भविष्यले उच्च मूल्याङ्कन गर्नुपर्छ र गर्नेछ ।
डा. देवेन्द्र आचार्यः पछिल्लो समय जसरी सबै कुराहरुमा डिजिटल प्लेटफ्रम हाबी भएको छ पक्कै पनि नेपाली साहित्यमा पनि यसको प्रयोग बढ्दो छ र यो समयमा ‘गजल महफिल’ (ग्राण्ड महफिल) ले नेपाली गजलको इतिहासलाई जीवन्त राखेर गजललाई हिजो, आज र भोलिका पुस्तासम्म पुर्याएर नयाँ पिँढीहरूलाई गजल लेख्न निकै नै उत्प्रेरणा गरेको छ ।
अंकित आचार्यः ‘गजल महफिल’ (ग्राण्ड महफिल) ले नेपाली गजललाई एक किसिमको तीर्थ बनाएको अनुभव गरेको छु – जहाँ सिर्जनशील साधकहरू भेला भएर आफ्ना अनुभूतिहरू साटासाट गर्छन् । अनुभूतिहरूलाई सहजतापूर्वक साझा गर्न सकिने प्लेटफर्मका रूपमा म ग्राण्ड महफिललाई हेर्छु । यसले नेपाली गजल यात्रामा ऊर्जा, सम्मान र विस्तार दिएको छ ।
….
३. नेपालको परिप्रेक्ष्यमा, गजल के हो ? व्यक्तिगत रुपमा, तपाईं किन गजल नै लेख्नुहुन्छ ?
केशव भट्टराईः नेपालको परिप्रेक्ष्यमा गजल सबैभन्दा बढी लेखिने विधा र साहित्यमार्फत समसामयिक नेपाली समाजको चित्रणको प्रभावकारी माध्यम हो । सँगसगै ज्यादात्तर साहित्यकारको साहित्य प्रस्थानविन्दु पनि हो । व्यक्तिगत रुपमा म चाँहि आनन्दानुभूतिका लागि गजल लेख्छु ।
देवेन्द्र आचार्यः यो भनिरहँदा म कुनै नेपाली साहित्यको विद्यार्थी या शिक्षक त होइन तर पनि मलाई लाग्छ नेपालको परिप्रेक्ष्यमा गजल भनेको एक स्वतन्त्र विधि जहाँ काफिया, रदिफ र मतलाहरूको प्रयोग गरेर आफ्नो विचार, दृष्टिकोण र भावनालाई लेखनीमार्फत व्यक्त गरिन्छ । व्याक्तिगत रुपमा भन्नुपर्दा म सानैदेखि नै नेपाली गजलको श्रोता तथा पाठक हुँ र मलाई गजल सुनिरहँदा मैले मेरो मनको भावनालाई गजलमार्फत लेख्ने अभ्यास गरिरहे जसले आज मलाई हजुरहरू समक्ष एउटा रुप दिएको छ र म गजल लेख्ने गर्दछु ।
अंकित आचार्यः नेपालको सन्दर्भमा गजल एउटा सशक्त अभिव्यक्ति विधा हो – जसले सामाजिक यथार्थ, प्रेम, पीडा, प्रतिरोध, भावना र कल्पनालाई संक्षिप्त र सशक्त शैलीमा प्रस्तुत गर्छ । म संसारलाई आध्यात्मिक आँखाबाट हेर्छु र त्यो दृष्टिकोणलाई छोटा तर प्रभावशाली पंक्तिहरूमा उतार्न गजल सबैभन्दा उपयुक्त माध्यम लाग्छ । गजल मेरो भित्री यात्रा र विश्वबोधको अभिव्यक्ति हो । मेरो लागि गजल आत्मासँग संवाद गर्ने माध्यम हो ।
…
४. नेपाली साहित्यमा गजल विधामा सर्वाधिक विवादमा देखिन्छ, जुन तपाईँलाई थाहा छँदै छ । तपाईंको विचारमा यो किन भइरहेको छ ? सामधान के हुन सक्ला ?
केशव भट्टराईः समाज परिवर्तनशील छ । परिवर्तन संसारको नियम पनि हो । गजलको संरचना परिवर्तन हुँदैन तर स्वरूप भने सर्जकको रुचि अनुसार परिवर्तन होला । सर्जकले आफ्नो रुचि र क्षमता अनुसार गजल लेख्छ भनेँ त्यसमा अरुले विवाद गर्नु आवस्यक छैन । गजलकारले गजल लेख्नु पर्यो यसको समाधान नै उत्कृष्ट र कालजयी गजल लेखन हो । अरु तपसिलका कुरा हुन् ।
देवेन्द्र आचार्यः म त गजलमा विवाद देख्दिनँ किनकि यसमा खासै विवाद गर्नुपर्ने कारण नै छैन । गजलको एक नियममा अक्षर, काफिया, रदिफ मिलाएर तपाईँ आफ्नो विचार वा भावलाई व्यक्त गर्नुस् त्यो नै गजल हो । त्यसका लागि कुनै परिधिमा बाँधिएर गजल लेखिनुपर्छ भन्ने म ठान्दिनँ । यो केही साहित्यका ठालुहरूले झिकेको अनावश्यक बहसको विषय हो जस्तो लाग्छ। होइन भने आज नेपाली गजल यसरी समय अनुसार रुपान्तरित हुँदै यहाँसम्म पुग्दैन थियो होला ।
अंकित आचार्यः नेपाली साहित्यमा गजल विधामा देखिने विवाद मुख्यतः गजल र अगजल बहरमा बसेकोर नबसेको भन्ने विषयमा केन्द्रित देखिन्छ । बहर, मात्रासङ्ख्या, लय र छन्दका कुरामा असहमति हुँदा गजलको मौलिकता र स्वतन्त्रताको विषयमा बहस चर्किने गरेको छ । मलाई लाग्छ, जुनसुकै विधा जब व्यापक हुँदै जान्छ, त्यसमा विधिकालीन र नवप्रयोगबीच संघर्ष देखिन्छ । यस विवादको समाधान भनेको गजललाई निरन्तर लेखिरहनु, स्वतन्त्र रूपमा आफ्ना अनुभूतिहरू अभिव्यक्त गरिरहनु, र समवेदनशील रूपमा सचेतना फैलाइरहनु हो । हामीले गजल लेखनको प्राविधिक पक्षलाई सम्मान गर्दै, सिर्जनात्मक स्वतन्त्रता र आत्माभिव्यक्तिलाई पनि जोगाउनु आवश्यक छ । सक्रिय लेखन, स्वस्थ संवाद, र साहित्य र समाजप्रति सकारात्मक योगदान दिने हाम्रो प्रयास नै दीर्घकालीन समाधान हो ।
…
५. पछिल्लो समयमा प्रविधिका माध्यमबाट गजल, कविता तथा समग्र साहित्यले नै आफ्नो क्षेत्र फराकिलो बनाउँदै गइरहेको देखिन्छ । तपाईँले चाहिँ गजलमार्फत के कसरी यसको (समाजिक सञ्जाल, युट्युब, टिकटक) को प्रयोग गरिरहनुभएको छ ?
केशव भट्टराईः निश्चय पनि सामाजिक सञ्जालले विविध क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । आफ्ना विचार , भावनालाई अरूसम्म पुर्याउन सामाजिक सञ्जाल कोशेढुङ्गा सावित भएको छ । व्यक्तिगत रुपमा साहित्य साहित्यिक सिर्जना प्रयोजनका लागि मैले चाँहि सामाजिक सञ्जालको कम प्रयोग गर्ने गरेको छु ।
देवेन्द्र आचार्यः हो, एकदमै समय अनुसार साहित्य पनि प्रविधिमैत्री हुनु पर्दछ । मैले मात्र होइन सम्रग अहिलेका अधिकांश पाठकहरु नै साहित्यलाई डिजिटल प्लेटफर्ममार्फत प्रयोग गर्न थालिसक्नुभएको छ । मैले पनि पछिल्लो समय गजल र कवितालाई आम श्रोता माझमा पुर्याउन डिजिटल प्लेटफर्मलाई प्रयोग गरेको छु र मलाई यसको सकारात्मक प्रतिक्रियाहरू पनि आइरहेको छ । म आफैँ पनि टिकटकको राम्रो फलोवर्स भएको मान्छे हुँ र फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा नेपाली साहित्यलाई नियालिरहेको हुन्छु ।
अंकित आचार्यः हालसम्म म सामाजिक सञ्जाल, युट्युब वा टिकटकजस्ता माध्यमहरूमा गजलहरू सक्रिय रूपमा पोष्ट गर्ने क्रममा भने प्रवेश गरेको छैन । तर भविष्यमा म यस्ता प्रविधिहरूको रचनात्मक र सकारात्मक रूपमा उपयोग गर्दै आफ्ना अनुभूति, बुझाइ, विचार र सिर्जनाहरूलाई फैलाउने योजना बनाइरहेको छु । म चाहन्छु – प्रविधिको माध्यमबाट सिर्जनात्मक कलाले मानिसहरूलाई सन्देश दिन सकोस्, उनीहरूको चेतनामा सकारात्मक प्रभाव पारोस्, र साहित्य तथा समाजमा योगदान पुगोस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

ग्राण्ड महफिल संवादः ‘गजलमा देखिने विवादको समाधान आत्ममूल्याङ्कन हो !’
